प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w96 ११/१ pp. २२-२७
  • पचास वर्षभन्दा लामो समयसम्म ‘स्थानान्तरित’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पचास वर्षभन्दा लामो समयसम्म ‘स्थानान्तरित’
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मेरा प्रश्‍नहरूका जवाफहरू
  • गिरफ्तार
  • मृत्युदण्ड
  • युद्धपश्‍चात्‌का क्रियाकलापहरू
  • अब एक्लो होइन
  • यहोवाको प्रचुर आशिष्‌
  • यहोवाको मायालु छत्रछायामा सेवा गर्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • यहोवालाई जे दिनुपर्ने हो, त्यो दिएँ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • युवावस्थादेखि धैर्यपूर्वक यहोवामा भर पर्दै आएको
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • राजनैतिक कार्यकर्ताबाट एक जना तटस्थ मसीही
    ब्यूँझनुहोस्‌!—२००२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
w96 ११/१ pp. २२-२७

पचास वर्षभन्दा लामो समयसम्म ‘स्थानान्तरित’

इमान्वेल पाटरकिसको वृत्तान्तमा आधारित

उन्‍नाइस शताब्दीअघि प्रेरित पावलले यस्तो असामान्य निमन्त्रणा पाए: “म्यासिडोनियामा आएर हामीलाई मदत गर्नुहोस्‌।” पावलले “सुसमाचार प्रचार गर्न” त्यस नयाँ सुअवसरलाई सहर्ष स्वीकारे। (प्रेरित १६:९, १०) मैले त्यतिअघि निमन्त्रणा पाएको त हैन तैपनि यशैया ६:८ को मनोभावअनुरूप “म हाजिर छु। मलाई पठाउनुहोस्‌” भनी नयाँ इलाकाहरूमा ‘जान’ राजी भएको ५० वर्ष नाघिसक्यो। मेरा अनगिन्ती यात्राहरूले गर्दा मैले स्थायी पर्यटक भन्‍ने नाउँ कमाएँ तर मेरा क्रियाकलापहरूको पर्यटनसित कुनै सम्बन्ध थिएन। मलाई जोगाउनु भएकोमा कैयन्‌ चोटि मैले होटेलको कोठामा पुग्ने बित्तिकै घुँडा टेकेर यहोवालाई धन्यवाद चढाएको छु।

म क्रेटको यरापट्रे शहरमा जनवरी १६, १९१६ का दिन जन्में र हाम्रो परिवार असाध्यै कट्टर धर्मपरायण थियो। आमाले सानैदेखि म र मेरी दिदी तथा दुइ बहिनीहरूलाई आइतबार चर्च लैजानुहुन्थ्यो। मेरो बुबा भने घरै बसेर बाइबल पढ्‌न रुचाउनुहुन्थ्यो। म बुबा भनेपछि हुरुक्कै थिएँ। उहाँ इमानदार, सद्‌गुणी तथा क्षमाशील हुनुहुन्थ्यो तर म नौ वर्षको हुँदा उहाँको मृत्यु भयो र त्यसले मलाई गहिरो आघात पुऱ्‍यायो।

म पाँच वर्षको हुँदा स्कूलमा यो पद पढेको मैले अझै बिर्सेको छैनँ: “हाम्रो वरपरका सबै कुराले परमेश्‍वरको अस्तित्त्वलाई झल्काउँछ।” हुर्कंदै जाँदा म त्यसबारे पूर्णतया विश्‍वस्त भएँ। तसर्थ, ११ वर्षको उमेरमा मैले भजन १०४:२४ विषयक एउटा निबन्ध लेखें: “हे परमप्रभु, तपाईंका कार्यहरू कस्ता किसिम किसिमका छन्‌। ती सबै तपाईंले आफ्नो बुद्धिले बनाउनुभएको हो। पृथ्वी तपाईंको सम्पत्तिले परिपूर्ण छ।” म प्रकृति देखेर मोहित हुन्थें र मूल रूखको छहारीबाट हावाले अन्यत्र उडाओस्‌ भनेर पखेटा भएका बीउहरूजस्ता साना कुराहरूमा पनि म दंग पर्थें। मैले निबन्ध बुझाएको एक हप्तापछि शिक्षकले सम्पूर्ण कक्षा र पछि सम्पूर्ण स्कूललाई त्यो पढेर सुनाउनुभयो। त्यतिबेला शिक्षकहरू साम्यवादी धारणा विरुद्ध संघर्षरत थिए र परमेश्‍वरको अस्तित्वको पक्षमा मेरो कुरा सुन्‍न पाउँदा खुशी भए। म चाहिं सृष्टिकर्ताप्रति आफ्नो विश्‍वास प्रकट गर्न पाएकोमै मक्ख परें।

मेरा प्रश्‍नहरूका जवाफहरू

यहोवाका साक्षीहरूसित सन्‌ १९३० दशकको सुरुतिरको भेटघाट अझै ताजा छ। इमान्वेल लिओनाडाकिसले क्रेटको सबै शहर तथा गाउँमा प्रचार गर्दैथिए। मैले तिनीसित थुप्रै साना पुस्तिकाहरू लिएँ तर मेरो ध्यानाकर्षण गरेको पुस्तिका चाहिं मृतकहरू कहाँ छन्‌? (अंग्रेजी) भन्‍ने थियो। म मृत्युको डरले यतिसम्म काँप्थें कि मेरो बुबाको मृत्यु भएको कोठामा समेत पस्दिन थिएँ। यो पुस्तिका बारम्बार पढेर मृतकहरूबारे बाइबलको शिक्षा सिकिसकेपछि मेरो अन्धविश्‍वासी डर हराएको महसुस गरें।

वर्षको एक चोटि गर्मी महिनामा साक्षीहरू हाम्रो शहरमा आउँथे र मेरोनिम्ति थप साहित्यहरू ल्याउँथे। बिस्तारै बिस्तारै मैले धर्मशास्त्र बुझ्न थालें तर अर्थोडक्स चर्च धाउन भने छाडिनँ। तथापि, छुटकारा (अंग्रेजी) पुस्तक पढेपछि मेरो जीवनले अर्कै मोड लियो। यसले यहोवाको संगठन र शैतानको संगठनबीचको भिन्‍नता स्पष्टसित देखायो। त्यहाँदेखि मैले बाइबल तथा वाच टावर सोसाइटीका साहित्यहरू फेला परेजति सबै नियमित तवरले पढ्‌न थालें। ग्रीसमा यहोवाका साक्षीहरू प्रतिबन्धित भएकोले लुकेर राती राती पढ्‌थें। तैपनि, आफूले सिकिरहेका कुराहरूबारे असाध्यै उत्साही भएकोले अरूलाई नबताई बस्नै सक्दिन थिएँ। धेरै समय नबित्दै प्रहरीले ममाथि आँखा नचाउन थाले र साहित्यहरू भेटाउन रात होस्‌ या दिउँसो, जुन पायो त्यही समयमा मकहाँ खानतलास गर्न थाले।

सन्‌ १९३६ मा म प्रथम चोटि सभामा उपस्थित भएँ र त्यो थियो, १२० किलोमिटर टाढा इराक्लियनमा। साक्षीहरूलाई भेट्‌न पाउँदा म असाध्यै खुशी भएँ। तिनीहरूमध्ये अधिकांश साधारण मानिसहरू थिए र प्रायजसो किसानहरू भए तापनि सत्य यही हो भनी विश्‍वस्त हुन तिनीहरूले मलाई मदत गरे। मैले त्यति नै खेर यहोवालाई समर्पण गरिहालें।

मेरो बप्तिस्मालाई म कहिल्यै बिर्सन सक्दिनँ। सन्‌ १९३८ को एउटा रातको घटना हो, मेरा दुइ बाइबल विद्यार्थीहरूलगायत मलाई भाइ लिओनोडाकिसले निष्पट अँध्यारोमा समुद्री किनारा लैजानुभयो। प्रार्थना गरिसक्नुभएपछि हामीलाई पानीमा चुर्लुम्मै डुबाउनुभयो।

गिरफ्तार

मेरो प्रथम प्रचारकार्य उल्लेखनीय थियो भन्‍नु अत्युक्‍ति नहोला। मैले स्कूलको एक जना पुरानो साथीलाई भेटें। तिनी पादरी बनेका रहेछन्‌ र हाम्रो राम्रो छलफल भयो। तर विशपको आदेशअनुसार तिनले मलाई गिरफ्तार गर्नुपर्छ भनी पछि बताए। नजीकैको गाउँबाट प्रहरी आऊञ्जेल हामी नगरपिताको कार्यालयमा पर्ख्यौं तर बाहिर एउटा ठूलो भीड जम्मा भइसकेको थियो। अतः मैले त्यहीं कार्यालयको युनानी नयाँ नियम लिएर तिनीहरूलाई मत्ती अध्याय २४ मा आधारित भाषण दिन थालें। सुरुमा त मानिसहरूले सुन्‍न चाहेका थिएनन्‌ तर पादरीले हस्तक्षेप गरे। तिनले भने, “उहाँलाई बोल्न दिनुहोस्‌। यो हाम्रै बाइबल हो।” मैले डेढ घण्टाजति बोल्न सकें। तसर्थ, सेवकाईमा प्रथम दिन नै मेरो प्रथम जनभाषण दिने अवसर पनि भयो। मैले भाषण सिध्याऊञ्जेल पनि प्रहरी आइ नपुगेको हुँदा नगरपिता तथा पादरीले मलाई शहरबाट भगाउन एक हूल मानिस लगाउने निधो गरे। सडकको पहिलो घुम्तीमा पुग्दा तिनीहरूको ढुंगा वर्षाबाट बच्न म यथाशक्य छिटोछिटो दौडन थालें।

भोलिपल्ट दुइ जना प्रहरी तथा विशपले मलाई मेरो कार्यस्थलमा आएर गिरफ्तार गरे। मैले थानामा तिनीहरूलाई बाइबलबाट साक्षी दिने मौका पाएँ तर कानुनी आवश्‍यकताअनुसार मेरा बाइबल साहित्यहरूमा विशपको छाप नभएको हुँदा धर्मपरिवर्तन तथा अनधिकृत साहित्यहरू वितरण गरेको आरोप लगाइयो। मुद्दा स्थगित गरेर मलाई रिहा गरियो।

मेरो मुद्दा एक महिनापछि सुरु भयो। आरोपलाई खण्डन गर्दै मैले भनें, प्रचार गर भनी ख्रीष्टको आज्ञा पालन गर्नु सिवाय अरू केही गरेको छैन। (मत्ती २८:१९, २०) न्यायाधीशले व्यंग्यात्मक ढंगमा यस्तो जवाफ दिए: “बाबु, त्यो आज्ञा दिने व्यक्‍तिलाई क्रूसमा टाँगियो। तर दुःखको कुरा, तिमीलाई पनि त्यस्तै सजाय दिने अख्तियार मसित छैन।” तथापि, एक अपरिचित जवान अधिवक्‍ताले मेरो पक्षमा बोल्दै भने, साम्यवाद तथा नास्तिकवाद सर्वत्र फैलिएको समयमा समेत परमेश्‍वरको वचनको पक्षमा बोल्न तयार जवान मानिसहरू पाउँदा अदालतले गौरव महसुस गर्नुपर्ने हो। त्यसपछि तिनी मकहाँ आएर न्यायाधीशहरूसित सुरक्षित मेरो लिखित बयानको लागि बधाई दिए। म असाध्यै जवान भएको कुरामा प्रभावित भएर तिनी मेरो पक्षमा निश्‍शुल्क वकालत गर्न तयार भए। कम्तीमा पनि तीन महिना पाउने सजायको साटो मैले झ्यालखानामा केवल दश दिन बिताएँ र ३०० ड्राक्मा जरिवाना तिरें। त्यस्तो विरोधले यहोवाको सेवा गर्ने र सत्यको पक्षमा बोल्ने मेरो कटिबद्धतालाई झनै सुदृढ बनायो।

अर्को चोटि पनि गिरफ्तार हुँदा बाइबल उल्लेख गर्न म खप्पीस भएको न्यायाधीशले देखे। तिनले विशपलाई तिनको कार्यालयबाट निक्लन आग्रह गर्दै यसो भने: “तपाईंले आफ्नो काम पूरा गर्नुभयो। अब उहाँलाई म सँभाल्छु।” त्यसपछि उहाँले आफ्नो बाइबल निकाल्नुभयो र हामीले दिउँसोभरि परमेश्‍वरको राज्यबारे कुरा गऱ्‍यौं। त्यस्ता घटनाहरूले मलाई कठिनाइको बावजूद अघि बढिरहन प्रोत्साहित गरे।

मृत्युदण्ड

सन्‌ १९४० मा मलाई सैनिक सेवाको लागि बोलाइयो र म किन भर्ती हुन सक्दिनँ भनी बुझाउँदै पत्र लेखें। दुइ दिनपछि प्रहरीले मलाई गिरफ्तार गरेर बेसरी चुटे। मलाई अल्बेनियाको सेनामा पठाइयो र युद्धमा भाग लिन इन्कार गरेकोले मलाई कोर्टमार्सल गरियो। मेरो अडान सही हो वा गलत, त्यो जान्‍नभन्दा मेरो उदाहरणले सिपाहीहरूमा पार्नसक्ने असरबारे चिन्तित छौं भनी सैन्य अधिकारीहरूले मलाई बताए। मलाई मृत्युदण्ड सुनाइयो तर कानुनी त्रुटिले गर्दा धन्‍न, दश वर्षको लागि कडा यातना शिविरमा पठाइयो। त्यसपछिका केही महिनाहरू अत्यन्त कठिन परिस्थितिमाझ ग्रीसको झ्यालखानामा बिताएँ र त्यतिबेलाका शारीरिक असरहरू आजसम्म भोग्दैछु।

तर झ्यालखानाले मलाई प्रचार गर्न रोकेन। त्यसो पटक्कै भएन! वार्तालापहरू सुरु गर्न सजिलो थियो किनभने एक जना नागरिक सैनिक झ्यालखानामा देखेर थुप्रै छक्क पर्थे। यसै सिलसिलामा एक निष्कपट जवान मानिससितको छलफल बाइबल अध्ययनमा परिणत भयो र हामी झ्यालखानाको चोकमा अध्ययन गर्थ्यौं। अठ्‌तीस वर्षपछि मैले यो मानिसलाई एउटा सम्मेलनमा भेटें। तिनी सत्य स्वीकारेर लेफ्कास्‌ टापुमा मण्डली निरीक्षकको हैसियतमा सेवारत थिए।

सन्‌ १९४१ मा हिटलरका सेनाहरूले युगोस्लाभियामा अतिक्रमण गर्दा हामी दक्षिणमा पर्ने प्रेभेजाको झ्यालखानामा सारियौं। यात्राको दौडान हाम्रा गाडीहरूमा जर्मनहरूले बम प्रहार गरे र हामी कैदीहरूलाई खान दिइएन। आफूसित भएको सानो टुक्रा पाउरोटी खाइसकेपछि मैले परमेश्‍वरलाई यसरी प्रार्थना गरें: “तपाईंले मलाई मृत्युदण्डबाट जोगाइसक्नुभएपछि भोकले मरोस्‌ भन्‍ने चाहनुहुन्छ भने तपाईंकै इच्छा पूरा होस्‌।”

भोलिपल्ट हाम्रो हाजिर लिइसकेपछि अफिसरले मलाई छेउमा बोलाए र मेरो नाउँ ठेगाना तथा आमाबाबुबारे सोधपुछ गर्नुका साथै म झ्यालखानामा हुनुको कारण केलाएपछि तिनले मलाई आफूसितै लगे। तिनले मलाई शहरमा अफिसरहरूको भोजनकक्षमा लगे र पाउरोटी, चीज तथा भेडाको सेकुवा राखिएको टेबल देखाउँदै ती खाऊ भने। तर अरू ६० जना कैदीहरू भोकै भएको हुँदा मेरो अन्तस्करणले यो खान अनुमति दिंदैन भनी बताएँ। अफिसरले यस्तो जवाफ दिए: “म सबैलाई त खुवाउन सक्दिनँ! तिम्रो बुबा मेरो बुबाप्रति असाध्यै उदार हुनुभएको थियो। त्यसकारण अरूप्रति होइन तर तिमीप्रति मेरो नैतिक दायित्व छ।” मैले जवाफ दिएँ, “त्यसो हो भने, म फर्कन्छु।” तिनले एकछिन सोचे र आफूले सकेजति भोजन लैजान मलाई एउटा ठूलो झोला दिए।

झ्यालखानामा फर्किसकेपछि मैले झोला बिसाउँदै भनें: “महाशयहरू, यो तपाईंहरूका लागि हो।” संयोगको कुरा, अरू कैदीहरूले तिनीहरूको दुःखद अवस्थाको लागि त्यसको एक दिनअघि ममाथि दोष थोपरेका थिए किनभने म तिनीहरूसित कुमारी मरियमलाई प्रार्थना गर्दिनथें। तथापि, एक साम्यवादी मेरो पक्षमा खडा भएका थिए। अब खाना देखेपछि तिनले अरूलाई भने: “कहाँ गयो त तिमीहरूको ‘कुमारी मरियम’? यस मानिसले गर्दा तिमीहरू मर्छौ भनेको हैन, खै त, उल्टो उसैले हामीलाई खाना ल्यायो।” त्यसपछि तिनी मकहाँ फर्केर यसो भने: “इमान्वेल! आएर हाम्रो लागि प्रार्थना गरिदिनुस्‌।”

त्यसको थोरै समयपछि जर्मन सेनाहरूको कारण झ्यालखानाका सुरक्षाकर्मीहरू भाग्नुपऱ्‍यो र फलस्वरूप कैदीहरू भाग्ने मौका खुल्यो। मैले पनि बाटो तताएँ र सन्‌ १९४१ मे महिनाको अन्तमा एथेन्स जानुअघि अरू साक्षीहरू भेटाउन पट्रास गएँ। त्यहाँ मैले लुगाफाटा तथा जुत्ताको बन्दोबस्त गरें र एक वर्षपछि नुहाउन पाएँ। जर्मनहरूको त्यहाँ आधिपत्य छऊञ्जेल तिनीहरूले मलाई प्रचार गर्न बारम्बार रोक्थे तर कहिल्यै गिरफ्तार गरेनन्‌। एक जनाले यसो भने: “जर्मनीमा हामी यहोवाका साक्षीहरूलाई गोली ठोक्छौं। तर यहाँ त हाम्रा सबै शत्रुहरू साक्षीहरू भए हुन्थ्यो!”

युद्धपश्‍चात्‌का क्रियाकलापहरू

युद्धको चपेटामा परेर पनि नपुगेझैं सन्‌ १९४६ देखि १९४९ सम्म गृहयुद्धले ग्रीस अझ भताभुंग भयो र त्यसमा हजारौंको ज्यान गयो। सभाहरू धाउँदासमेत गिरफ्तार हुन सकिने अवस्थामा बलियो रहिरहन भाइहरूलाई निकै प्रोत्साहन चाहिएको थियो। भाइहरूको तटस्थ अडानको लागि थुप्रैलाई मृत्युदण्ड सुनाइयो। तर यसको बावजूद धेरैले परमेश्‍वरको राज्य सन्देशलाई स्वीकारे अनि हरेक हप्ताजसो एक वा दुइ जनाले बप्तिस्मा लिन्थे। सन्‌ १९४७ तिर सोसाइटीको एथेन्सस्थित कार्यालयमा म दिउँसो काम गर्थें र राती चाहिं परिभ्रमण निरीक्षकको हैसियतमा मण्डलीहरूमा जान्थें।

सन्‌ १९४८ मा संयुक्‍त राज्यमा सम्पन्‍न वाचटावर बाइबल स्कूल अफ गिलियडमा उपस्थित हुने निमन्त्रणा पाउँदा म खुशीले गद्‌गद्‌ भएँ। तर एउटा समस्या थियो। विगतका कानुनी निस्साहरूले गर्दा मैले राहदानी पाउन सकिनँ। तथापि, मेरो एक जना बाइबल विद्यार्थीको हाकिमसित राम्रो चिनजान थियो। धन्‍न, यस विद्यार्थीले गर्दा केही हप्ताभित्रै राहदानी पाएँ। तर जानुभन्दा केही दिनअघि प्रहरीधरहरा वितरण गरेकोमा मलाई गिरफ्तार गर्दा चिन्तित भएँ। एक जना प्रहरीले मलाई एथेन्सको सुरक्षा प्रहरी प्रमुखकहाँ लगे। तिनी त मेरै छिमेकी रहेछ भनी थाह पाउँदा अवाक्‌ भएँ! प्रहरीले म गिरफ्तार हुनुको कारण बताएपछि पत्रिकाहरूको मुट्ठा तिनलाई दिए। मेरो छिमेकीले आफ्नो टेबलबाट एक मुट्ठा प्रहरीधरहरा झिकेर यसो भने: “मसित त ताजा अंकहरू छैनन्‌। म एउटा लिऊँ?” त्यस्ता मामिलाहरूमा यहोवाको हस्तक्षेप देख्न पाउँदा म कति ढुक्क भएँ!

सन्‌ १९५० को १६औं गिलियड कक्षा मेरो लागि अत्यन्तै राम्रो अनुभव भयो। त्यसको अन्ततिर मलाई साइप्रस खटाइयो र त्यहाँ पनि पादरीहरूको विरोध ग्रीसमा जत्तिकै भीषण भएको थाह पाएँ। अर्थोडक्स पादरीहरूद्वारा उस्काइएका धार्मिक हठधर्मीहरूको हूलसित हाम्रो धेरै चोटि मुठभेड भयो। सन्‌ १९५३ मा साइप्रसको लागि मेरो प्रवेश अनुमति नवीकरण गरिदिएन र मलाई तुर्कीको इस्तानबुलमा खटाइयो। यहाँको बसाइँ पनि छोटो थियो। प्रचारकार्यमा राम्रा परिणामहरू भए तापनि तुर्की तथा ग्रीसबीच राजनैतिक तनाउले गर्दा म अर्को कार्यभार सँभाल्न इजिप्ट जानुपऱ्‍यो।

झ्यालखानमा छँदा म भजन ५५:६, ७ सम्झिरहन्थें। त्यहाँ भनिएअनुसार दाऊद मरुभूमितिर भाग्ने तिर्सना गर्थे। मलाई पनि त्यस्तै हुनेछ भनेर कहिल्यै सोचेको पनि थिइनँ। सन्‌ १९५४ मा कैयन्‌ दिन रेल तथा नाइल नदीमा डुंगाद्वारा थकाइलाग्दो यात्रा गरिसकेपछि म बल्ल आफ्नो गन्तव्य अर्थात्‌ सुडानको खार्तुम पुगें। म नुहाएर सुत्नबाहेक अरू केही गर्न चाहन्‍नथें। तर त्यतिबेला मध्याह्न थियो भनेर होसै भएन। छतको ट्यांकीमा जम्मा गरेको पानीले मेरो टाउको खुइल्यायो र तालु राम्ररी निको नहोऊञ्जेल महिनौंसम्म टोप लगाउन बाध्य भएँ।

सहारा मरुभूमिको बीचमा, नजीकैको मण्डलीभन्दा सोह्र सय किलोमिटर टाढा बस्नुपर्दा म प्रायजसो एक्लो महसुस गर्थें तर यहोवाले मलाई सँभाल्नुभयो र आफ्नो काममा लागिरहन सुदृढ पार्नुभयो। कहिलेकाहीं असाध्यै अप्रत्याशित स्रोतबाट प्रोत्साहन पाउँथें। एक दिन मैले खार्तुम संग्रहालयका निर्देशकलाई भेटें। तिनी खुला विचारका थिए र तिनीसित चाखलाग्दो छलफल भयो। म ग्रीक मूलको भनी थाह पाएपछि छैटौं शताब्दीतिरको चर्चमा फेला परेका चीजबीजहरूमा भएको लेखोट अनुवाद गर्न संग्रहालयमा जाने कि भनेर मलाई सोधे। गुम्सिएको भुइँतल्लामा पाँच घण्टा बिताइसकेपछि यहोवाको नाउँ, टेट्राग्रमाटनमा लेखिएको एउटा प्लेट भेटाउँदा म कति हर्षित भएँ होला, कल्पना गर्नुहोस्‌! युरोपमा यदाकदा चर्चहरूमा यहोवाको नाउँ देख्न पाउनु अनौठो कुरा होइन तर सहारा मरुभूमिको बीचमा चाहिं पक्कै अनौठो हो।

सन्‌ १९५८ को अन्तरराष्ट्रिय सम्मेलनपछि मलाई मध्यपूर्व, पूर्व तथा भूमध्यसागर वरपरका २६ वटा देश तथा इलाकाका भाइहरूलाई प्रान्त निरीक्षकको हैसियतमा भेट्‌न खटाइयो। कठिन परिस्थतिबाट कसरी उम्किने हो, मलाई प्रायजसो थाह हुन्‍नथियो तर यहोवाले सधैं बाटो देखाइदिनुभयो।

केही देशहरूमा पृथक साक्षीहरूप्रति यहोवाको संगठनले देखाउने हेरचाह देखेर म सधैं प्रभावित हुन्थें। एक चोटि मैले इस्ट इन्डिजका एक जना भाइलाई भेटें र तिनी तेल खानीमा काम गर्थे। देशभरि साक्षीको नाउँमा तिनी मात्रै थिए जस्तो छ। तिनले दराजमा १८ विभिन्‍न भाषाका प्रकाशनहरू राख्थे र आफ्ना सहकर्मीहरूलाई दिन्थे। सबै विदेशी धर्महरू प्रतिबन्धित भएको त्यस मुलुकमा समेत हाम्रो भाइले सुसमाचार प्रचार गर्ने आफ्नो जिम्मेवारी बिर्सेनन्‌। तिनलाई भेट्‌न तिनको धर्मका प्रतिनिधि पठाइएको देखेर सहकर्मीहरू प्रभावित भए।

म सन्‌ १९५९ मा स्पेन तथा पुर्तगाल पुगें। ती दुवै देशमा त्यतिबेला सैन्य तानाशाही थियो र यहोवाका साक्षीहरूको कार्यमा कडा प्रतिबन्ध थियो। एक महिनाभित्र मैले सयभन्दा बढी सभाहरू सञ्चालन गर्न सकें र कठिनाइहरूको बावजूद हार नमान्‍न भाइहरूलाई प्रोत्साहन दिएँ।

अब एक्लो होइन

मैले अविवाहित रहेर २० वर्षसम्म यहोवाको पूर्ण-समय सेवा गरिसकेको थिएँ तर अब भने कुनै निश्‍चित बासस्थानबिनाको अनवरत यात्राहरूले गर्दा अचानक वाक्क महसुस गर्न थालें। यति नै खेर मैले ट्युनिसियामा विशेष अग्रगामी गरिरहेकी आनी ब्यानुचीलाई भेटें। हामीले सन्‌ १९६३ मा विवाह गऱ्‍यौं। यहोवा र सत्यप्रति तिनको प्रेम, सेवकाईप्रति समर्पणका साथै शिक्षण कला तथा विभिन्‍न भाषाहरूको ज्ञान उत्तरी तथा पश्‍चिमी अफ्रिका र इटालीका मिसनरी तथा क्षेत्रीय कार्यको दौडान ठूलो आशिष्‌ साबित भयो।

सन्‌ १९६५ अगस्तमा म र मेरी पत्नीलाई डाकर, सेनेगल खटाइयो। मैले त्यहाँको स्थानीय शाखा कार्यालयलाई व्यवस्थित गर्ने सुअवसर पाएँ। राष्ट्रपति लाओपोल सेंगोरका कारण धार्मिक सहिष्णुताको लागि सेनेगल उल्लेखनीय थियो। सन्‌ १९७० को दशक मलावीका साक्षीहरूले खप्नु परेको भीषण सतावटको दौडान यहोवाका साक्षीहरूको पक्षमा मलावीका राष्ट्रपति बन्डालाई पत्र लेख्ने अफ्रिकी राष्ट्र प्रमुखहरूमध्ये तिनी एक थिए।

यहोवाको प्रचुर आशिष्‌

सन्‌ १९५० मा गिलियडबाट साइप्रस जाँदा मसित सातवटा सुटकेस थियो। तुर्की जाँदा पाँचवटा मात्र थियो। तर यात्रा गर्दा गर्दा २० किलोग्राम वजन मात्र बोक्ने बानी लगाउन बाध्य भएँ र त्यसमा फाइलहरू तथा “फुच्चे” टाइपराइटर पनि हुन्थ्यो। एक दिन मैले वाचटावर सोसाइटीका तत्कालीन अध्यक्ष, भाइ नोरलाई यसो भनें: “तपाईं मलाई भौतिकवादबाट जोगाउनुहुन्छ। मेरो सरसम्पत्ति भन्‍नु नै २० किलोग्राम हो र राम्रै चलिरहेको छ।” थुप्रै चीजबीजहरू नभएकोमा मैले कहिल्यै वञ्चित भएको महसुस गरिनँ।

यात्राको दौडान मेरो मुख्य समस्या भन्‍नु नै, देशभित्र पस्नु र त्यहाँबाट निस्कनु थियो। प्रचारकार्य निषेधित एउटा मुलुकमा एक चोटि भन्सार अधिकृतले मेरा फाइलहरू खानतलास गर्न थाले। यो त्यहाँका साक्षीहरूका लागि खतरा हुनसक्थ्यो। अतः आफ्नो ज्याकेटबाट मेरी श्रीमतीको पत्र झिकेर भन्सार अधिकृतलाई यसो भनें: “तपाईंलाई चिठीपत्र पढ्‌न मन लाग्छ जस्तो छ। त्यो फाइलमा त छैन तर मेरी पत्नीले पठाएको चिठी पनि पढ्‌न चाहनुहुन्छ कि?” लाजले भुतुक्क भएर तिनले क्षमा माग्दै मलाई जान दिए।

सन्‌ १९८२ देखि म र मेरी पत्नी दक्षिण फ्रान्स, नाइसमा मिसनरीको हैसियतमा सेवा गर्दैछौं। अस्वस्थताको कारण म पहिलेजति गर्न सक्दिनँ। तर त्यसो भन्दैमा हाम्रो आनन्द सेलाएको चाहिं छैन। ‘हाम्रो परिश्रम व्यर्थमा’ होइन भनी देखेका छौं। (१ कोरिन्थी १५:५८) वर्षौंको दौडान मैले अध्ययन गरेका थुप्रै व्यक्‍तिहरूलगायत मेरै परिवारको ४० जनाभन्दा बढी सदस्यहरू अहिले विश्‍वासपूर्वक यहोवाको सेवा गरिरहेको देख्न पाएको छु।

मैले ‘स्थानान्तरित’ जीवनमा गर्नुपरेका त्यागहरूप्रति मलाई पटक्कै अफसोच छैन। आखिर, यहोवा र उहाँको पुत्र ख्रीष्ट येशूले जति त्यागहरू हामीले गर्नु परेकै छैन। तर सत्य थाह पाएको विगत ६० वर्षबारे सोच्दा म साँच्चै भन्‍नसक्छु, यहोवाले मलाई प्रचुर मात्रामा आशिष्‌ दिनुभएको छ। हितोपदेश १०:२२ ले भनेझैं “परमप्रभुको आशिषले धनसम्पत्ति ल्याउँछ, उहाँले तीसित दुःख पठाउनुहुन्‍न।”

निस्सन्देह, यहोवाको “करुणा जीवनभन्दा उत्तम छ।” (भजन ६३:३) वृद्धावस्थाका असुविधाहरू बढ्‌दै जाँदा म प्रार्थनामा प्रेरित भजनरचियताका यी शब्दहरू दोहोऱ्‍याउँछु: “हे परमप्रभु, तपाईंमानै म भरोसा गर्छु, मैले कहिल्यै शर्माउन नपरोस्‌। किनकि तपाईं मेरो आशा हुनुहुन्छ, मेरो बाल्यकालदेखिनै तपाईं मेरो भरोसा हुनुहुन्छ। हे परमेश्‍वर, बाल्यकालदेखिनै तपाईंले मलाई शिक्षा दिनुभएको छ, र अहिलेसम्म पनि तपाईंको उदेकको कार्यहरू मैले घोषणा गरेको छु। हे परमेश्‍वर, म बूढ़ो हुँदा र मेरो कपाल फुलिसक्दा पनि मलाई नत्याग्नुहोस्‌।”—भजन ७१:१, ५, १७, १८.

[पृष्ठ २५-मा भएको चित्र]

अहिले मेरी पत्नी, आनीसित

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने