परमेश्वरले चाहनुहुने जीवनशैली पछ्याउन कटिबद्ध
परमेश्वरलाई सेवा गर्न चाहनेहरूको निम्ति “परमेश्वरले चाहनुहुने जीवनशैली” अधिवेशनमा थुप्रै राम्रा कुराहरू प्रस्तुत गरिएको थियो! एक प्रतिनिधिले अधिवेशनबारे यसो भनिन्, “निर्देशन, प्रोत्साहन तथा ज्योतिको निम्ति अति उत्तम अवसर।”
अर्का प्रतिनिधिले यसो भने, “आनन्द लिनुपर्ने, विचार गर्नुपर्ने तथा ग्रहण गर्नुपर्ने थुप्रै कुराहरू थिए।” आउनुहोस्, हामी सम्पूर्ण कार्यक्रमलाई विचार गरौं।
येशू ख्रीष्ट—बाटो, सत्य र जीवन
अधिवेशनको पहिलो दिनको विषय यही थियो। (यूहन्ना १४:६) अधिवेशनमा सँगै भेला हुनुको हाम्रो उद्देश्यबारे पहिलो भाषणले बतायो: सर्वोत्कृष्ट जीवनशैली अर्थात् परमेश्वरले चाहनुहुने जीवनशैलीबारे अझ बढी सिकाइन हामी भेला भएका हौं। यहोवाले आफ्नो मार्गमा कसरी हिंड्ने भनी आफ्ना जनहरूलाई सिकाउनुहुन्छ। उहाँले बाइबल, “विश्वासी र बुद्धिमान दास” अनि पवित्र आत्माद्वारा सिकाउनुहुन्छ। (मत्ती २४:४५-४७; लूका ४:१; २ तिमोथी ३:१६) यस ब्रह्माण्डको सर्वोच्च व्यक्तिद्वारा निर्देशन पाउनु साँच्चै एउटा सुअवसर हो!
त्यस दिनको विषयलाई ध्यानमा राख्दै मुख्य भाषणको विषय थियो “ख्रीष्टको छुडौती—परमेश्वरले छुटकारा दिनुहुने तरिका।” परमेश्वरले चाहनुहुने जीवनशैलीअनुरूप चल्न यहोवाको उद्देश्यमा येशू ख्रीष्टको भूमिका बुझ्नु अत्यन्तै महत्त्वपूर्ण छ। वक्ताले यसो भने: “येशू ख्रीष्टको छुडौतीको बलिदानबिना आफ्नो विश्वास वा कामको आधारमा कसैले पनि परमेश्वरबाट अनन्त जीवन पाउन सक्दैन।” त्यसपछि, तिनले यूहन्ना ३:१६ उद्धृत गरे, त्यहाँ यसो भनिएको छ: “परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने प्रत्येक नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।” ख्रीष्टको छुडौतीको बलिदानमा विश्वास गर्नुको अर्थ हामीले सत्यको सही ज्ञान लिनुपर्छ। परमेश्वरलाई आफ्नो जीवन समपर्ण गरेको पानीको बप्तिस्माद्वारा प्रतीकात्मक रूप दिनु तथा येशू ख्रीष्टले बसाल्नुभएको उदाहरणअनुरूप जीवन बिताउनु पनि समावेश छ।—१ पत्रुस २:२१.
अपराह्नको कार्यक्रमको सुरुमा “प्रेमको जीवनशैली कहिल्यै विफल हुँदैन” विषयक भाषण थियो। यस भाषणमा १ कोरिन्थी १३:४-८ मा लिपिबद्ध प्रेमबारे उत्कृष्ट वर्णनका पदहरू एक एक गरी छलफल गरियो। त्यस भाषणमा आत्मत्यागी प्रेम साँचो मसीहीधर्मको चिनारी हुनुका साथै परमेश्वर तथा छिमेकीप्रतिको प्रेम यहोवाले अनुमोदन गर्नुहुने उपासनाको महत्त्वपूर्ण भाग हो भनी श्रोतागणलाई सम्झाइएको थियो।
त्यसपछि “आमाबाबु हो—आफ्ना छोराछोरीलाई परमेश्वरले चाहनुहुने जीवनशैली सिकाउनुहोस्” विषयक तीन भाग भएको गोष्ठीको पालो थियो। परमेश्वरको वचन पढ्ने तथा अध्ययन गर्ने सन्दर्भमा असल नमुना बसालेर आमाबाबुले आफ्ना छोराछोरीलाई परमेश्वरको सेवा गर्न मदत गर्नसक्छन्। परिवारको आवश्यकताअनुसार नियमित पारिवारिक अध्ययन गरेर छोराछोरीको मनमा सत्य ठप्प बसाउन मदत गर्नसक्छन्। मण्डलीको क्रियाकलाप तथा क्षेत्र सेवकाईमा भाग लिन पनि छोराछोरीलाई मदत दिनु आवश्यक छ। यस दुष्ट संसारमा ईश्वरभीरु छोराछोरी हुर्काउनु चुनौती भए तापनि त्यसका इनामहरू धेरै हुनेछ।
यस गोष्ठीपछिको भाषणको विषय थियो “यहोवाले तपाईंलाई आदरयोग्य भाँडो बनाऊन्।” जसरी एक कुमालेले माटोका भाँडाहरू बनाउँछ त्यसरी नै परमेश्वरले उहाँलाई सेवा गर्न चाहनेहरूलाई बनाउनुहुन्छ। (रोमी ९:२०, २१) उहाँले आफ्नो वचन तथा संगठन मार्फत सल्लाहहरू दिनुभएर उहाँको सेवा गर्न चाहनेहरूलाई आदरयोग्य भाँडो बनाउनुहुन्छ। हामीले आफू तयार भएको देखायौं अनि सुअवसरहरूप्रति पनि प्रतिक्रिया देखायौं र उहाँद्वारा निर्देशित हुन इच्छुक भयौं भने यहोवाले हाम्रा योग्यताहरू प्रयोग गर्न मदत गर्नुहुनेछ।
अब भने कार्यक्रमको रमाइलो भागको पालो थियो। त्यो हो, “मिसनरी क्षेत्रमा सेवा।” हाल २,३९० मसीही सेवकहरू मिसनरीको हैसियतमा १४८ मुलुकहरूमा कार्यरत छन्। तिनीहरूले वफादारी र जोसको उत्कृष्ट उदाहरण बसालेका छन् र अन्य मुलुकहरूमा सेवा गर्ने यस सुअवसरको निम्ति तिनीहरू कृतज्ञ छन्। अन्तरराष्ट्रिय अधिवेशनहरूको यस भागमा मिसनरीहरूले मिसनरी जीवनको चुनौती तथा आनन्दहरूबारे बताए।
प्रथम दिनको अन्तिम भाषणको विषय थियो, “के मृत्युपछि पनि जीवन छ?” शताब्दीऔंदेखि मानिसजातिलाई यस प्रश्नले अलमल्याइरहेको छ। हरेक संस्कृतिका मानिसले यस विषयबारे बुझ्न खोजेका छन्। जवाफको खोजमा थुप्रैले अनुमानहरू लगाएका छन्। मानिसहरूको संस्कृति तथा धर्मपिच्छे जवाफहरू भिन्नाभिन्नै छन्। तैपनि, मानिसहरूले सत्य सिक्नु आवश्यक छ।
अन्ततः वक्ताले मृत्युपछि हामीलाई के हुन्छ? (अंग्रेजी) नामक ३२ पृष्ठे रंगीन पुस्तिका विमोचन भएको घोषणा गरे। यो पुस्तिकाले मानिसभित्र केही अमर तत्त्व छ भन्ने शिक्षाको जरा खोतल्नुका साथै यो धारणा आज संसारभरिका प्रायः सबै धर्महरूको मूल शिक्षा कसरी हुनपुग्यो, त्यसबारे अनुसन्धान गरेको छ। हामी वास्तवमा को हौं, हामी किन मर्छौं, मरेपछि हामीलाई के हुन्छ र मृतक तथा जीवितहरूका लागि के आशा छ भन्नेबारे बाइबलले के भन्छ यसले स्पष्ट तथा पढूँ पढूँ लाग्ने गरी व्याख्या गरेको छ। पुस्तिकाले मृत तथा जीवितहरूको निम्ति कस्तो आशा छ, त्यसबारे पनि बताउँछ। सत्य खोज्नेहरूको निम्ति यो पुस्तिका ठूलो आशिष् साबित हुनेछ!
कसरी हिंड्नुहुन्छ ठीकसँग हेर्नुहोस्
अधिवेशनको दोस्रो दिनको निम्ति कस्तो सुहाउँदो विषय! (एफिसी ५:१५) बिहानको कार्यक्रमले प्रचारकार्य तथा चेला बनाउने कार्यमा ध्यान केन्द्रित गऱ्यो। दैनिक पदको छलफलपछि “मानिसहरूलाई जीवनको मार्गमा हिंड्न मदत गर्ने” भाषणसहित कार्यक्रम अघि बढ्यो। यस जरुरी काम गर्दा सकारात्मक मनोवृत्ति हुनुका साथै अरूसित सत्य बाँड्नु सुअवसर र कर्तव्य दुवै हो भनेर स्वीकार्नु आवश्यक छ। सा.यु. प्रथम शताब्दीमा अधिकांश मानिसहरूले परमेश्वरको वचन स्वीकारेनन्। तथापि, विरोधको बावजूद “अनन्त जीवनका लागि नियुक्त भएकाहरू जत्तिले विश्वास गरे।” (प्रेरित १३:४८, ५०; १४:१-५) आज पनि परिस्थिति त्यस्तै छ। अधिकांशले बाइबल सत्य बेवास्ता गरे तापनि हामी साँचो हृदय भएकाहरूको खोजी गरिरहनेछौं।—मत्ती १०:११-१३.
अर्को भाषणमा मानिसहरूलाई जीवनको सन्देश सुनाउने चुनौतीबारे छलफल गरिएको थियो। धेरैभन्दा धेरै मानिसहरूलाई राज्य सन्देश सुनाउनको निम्ति हामी समझदार र चंखो हुनु आवश्यक छ। थुप्रै मुलुकहरूमा सुसमाचारका प्रकाशकहरूले टेलिफोन साक्षी र व्यापारी इलाकामा प्रचार गरेर असल नतिजा हासिल गरिरहेका छन् र भेट्न गाह्रो पर्ने मानिसहरूलाई भेटिरहेका छन्।
“ख्रीष्टले आज्ञा गर्नुभएका सबै कुरा चेलाहरूलाई सिकाउने” भाषणले हामी आफ्नो सेवकाईमा दक्ष हुनुपर्ने महत्त्वमाथि ध्यानकेन्द्रित गऱ्यो। अरूबाट सिक्दै जाँदा र मण्डलीका सभाहरूमा पाइने उत्कृष्ट प्रशिक्षणहरू व्यवहारमा उतार्दा हाम्रो शिक्षण कला तिखारिन्छ। हामी आफ्नो शिक्षामा दक्ष हुँदै जाँदा बाइबल सत्य सिकाएर अरूलाई मदत गर्ने कार्यमा हामी झन् झनै आनन्दित हुन्छौं साथै सन्तुष्ट महसुस गर्नेछौं।
बिहानको कार्यक्रमको अन्तिम भाषण समर्पण र बप्तिस्माबारे थियो। हामीले परमेश्वरमाथि पूर्ण भरोसा राख्यौं र उहाँको इच्छाअनुसार गर्न साँच्चै प्रयास गऱ्यौं भने उहाँले हामीलाई आशिष् दिनुहुनेछ साथै सँभाल्नुहुनेछ भनी वक्ताले प्रकाश पारेका थिए। बुद्धिमान् पुरुषले लेखे: “आफ्नो सबै चालमा उहाँ [परमेश्वरलाई] सम्झी र उहाँले तेरा बाटोहरू सुगम तुल्याइदिनुहुनेछ।” (हितोपदेश ३:६) परमेश्वरको मार्गअनुरूप जीवन बिताउन थालेको प्रमाणस्वरूप आनन्दमय बप्तिस्मा कार्यक्रम नै अधिवेशनको मुख्य भाग थियो।
मध्यान्तरपछि अपराह्नको कार्यक्रम “अनन्त जीवनलाई ध्यानमा राखेर सेवा गर्ने” भाषणद्वारा सुरु भयो। परमेश्वरलाई सेवा गर्ने आज्ञाकारी मानिसहरू पृथ्वीमा हुनेछन् भन्ने उहाँको उद्देश्य पूरा हुनेछ। अतः अनन्त जीवनलाई ध्यानमा राखेर हाम्रो विचार, योजना तथा आशा यहोवाको सेवामा केन्द्रित गर्नु कत्ति उपयुक्त हुनेछ! “परमेश्वरको . . . दिन[लाई]” ध्यानमा राख्दै हाम्रो उद्देश्य उहाँलाई अनन्तसम्म सेवा गर्ने हो भनी सम्झनु अत्यावश्यक छ। (२ पत्रुस ३:१२) परमेश्वरको न्यायदण्ड येशूले कहिले दिनुहुन्छ भनी ठीक समय थाह नभएकोले हामी सजग हुनुपर्छ र हामी निःस्वार्थ मनोभावसहित यहोवालाई सेवा गर्छौं भनी दिनहुँ प्रमाण दिने अवसर पाउँछौं।
त्यसपछिका दुइटा भाषणमा पावलले एफिसीहरूलाई लेखेको पत्रको चौथो अध्याय छलफल गरियो। हामीमाझ आध्यात्मिक तवरमा “वरदान” भएका पुरुषहरूबारे पनि छलफल गरिएको थियो। यी प्राचीनहरूले हाम्रो आध्यात्मिक लाभको निम्ति सल्लाह तथा निर्देशन दिने गर्छन्। पावलको प्रेरित पत्रले मसीहीहरूलाई “नयाँ मानिसलाई धारण” गर्न पनि आग्रह गर्छ। (एफिसी ४:८, २४) ईश्वरीय व्यक्तित्वमा अनुकम्पा, दया, विनम्रता, विनय, धैर्य र प्रेमजस्ता गुणहरू पनि समावेश छन्।—कलस्सी ३:१२-१४.
हामी कसरी हिंड्छौं ठीकसँग हेर्नुमा आफूलाई संसारबाट निष्कलंक राख्नु पनि समावेश छ र यही थियो अर्को भाषणको विषय। मनोरञ्जन, सामाजिक क्रियाकलाप र भौतिक कुराहरूको छनौटमा सन्तुलित हुनु आवश्यक छ। संसारबाट निष्कलंक रहने सन्दर्भमा याकूब १:२७ को सल्लाह लागू गर्दा परमेश्वरसित हाम्रो सम्बन्ध राम्रो हुनुका साथै अन्तस्करण सफा हुनेछ। उद्देश्यपूर्ण जीवन पनि बिताउनसक्छौं र शान्ति, आध्यात्मिक समृद्धि तथा राम्रा संगतिहरूको आनन्द उठाउनेछौं।
त्यसपछिको पालो थियो तीन भाग भएको गोष्ठी, “युवाजनहरू हो—परमेश्वरको मार्ग पछ्याउनुहोस्।” परमेश्वरले तिनीहरूलाई प्रेम गर्नुहुन्छ र साँचो उपासनामा लागिरहने तिनीहरूको प्रयासको मूल्यांकन गर्नुहुन्छ भनी थाह पाएर युवाहरूले विश्वासी भई परमेश्वरको सेवा गर्न आफ्नो ज्ञानेन्द्रिय शक्तिलाई प्रशिक्षण दिनुपर्छ। ज्ञानेन्द्रिय शक्ति विकास गर्ने एउटा तरिका परमेश्वरको वचन दिनहुँ पढेर र मनन गरेर हो। यसो गर्दा हामीले यहोवाको मार्ग सिक्नसक्छौं। (भजन ११९:९-११) आमाबाबु, प्राचीन तथा सोसाइटीका प्रकाशनहरूबाट पाइने परिपक्व सल्लाह स्वीकार्दा पनि हामीले ज्ञानेन्द्रिय शक्ति विकास गर्नसक्छौं। ज्ञानेन्द्रिय शक्तिको सही अभ्यासद्वारा युवाहरू भौतिक कुराहरूमा व्यस्त रहनु, फोहर बोली बोल्नु र परमेश्वरबाट अलग्गिएको संसारको मनोरञ्जनमा मात्र लाग्नुबाट सतर्क रहन्छन्। परमेश्वरले चाहनुहुने मार्ग अपनाएर जवान, वृद्ध सबैले साँचो सफलताको आनन्द उठाउनसक्छन्।
त्यस दिनको अन्तिम भाषणको विषय थियो, “सृष्टिकर्ता—उहाँको व्यक्तित्व र उहाँका तौरतरिकाहरू।” करोडौं मानिसहरूले अझै परमेश्वरलाई चिनेका छैनन् भनी बताएपछि वक्ताले यसो भने: “जीवनको साँचो अर्थ बुझ्नु भनेको हाम्रोजस्तै भावनाहरू भएको सृष्टिकर्ता परमेश्वरलाई चिन्नु; उहाँको व्यक्तित्वबारे थाह पाउनु अनि उहाँको तौरतरिकाअनुसार चल्नु हो। . . . मानिसहरूलाई सृष्टिकर्ताको अस्तित्व स्वीकार्ने तथा उहाँसित सम्बन्धित कुराहरूको अर्थ बुझ्ने मदत दिन तपाईंले हाम्रो संसार र हामीबारे जानकारी प्रस्तुत गर्न सक्नुहुन्छ।” त्यसपछि वक्ताले बुद्धिमान् तथा मायालु सृष्टिकर्ताको अस्तित्वका प्रमाणहरूबारे छलफल गरे। भाषणको अन्तमा के तपाईंको चासो राख्नुहुने सृष्टिकर्ता हुनुहुन्छ? (अंग्रेजी) नामक नयाँ पुस्तक विमोचन गरियो।
“बाटो यही हो। यसैमा तिमीहरू हिंड़”
अधिवेशनको तेस्रो दिनको विषय यही थियो। (यशैया ३०:२१) कार्यक्रमको सुरुमा इजकिएलको मन्दिरको दर्शनबारे उत्साहबर्धक तीन भागको गोष्ठी थियो। वर्तमान समयका परमेश्वरका जनहरूका निम्ति यसले गहन अर्थ राख्छ किनभने यो हाम्रो समयको शुद्ध उपासनासित सम्बन्धित छ। यस दर्शन बुझ्ने मुख्य बुँदा हो, यहोवाको महान् आध्यात्मिक मन्दिरले शुद्ध उपासनाको निम्ति उहाँले गर्नुभएको प्रबन्धको प्रतिनिधित्व गर्छ। दर्शनका विभिन्न पक्षहरूबारे छलफल गर्दा श्रोतागणले शेष अभिषिक्त जनहरू तथा राजा वर्गका सम्भाव्य सदस्यहरूले गरिरहेको कार्यमा आफूले पुऱ्याइरहेको सहयोगबारे पनि विचार गरे।
सोही दिन बिहान भेषभूषा लगाएर बाइबलमा आधारित नाटक देखाइयो। नाटकको शीर्षक थियो, “परिवारहरू हो—दिनहुँ बाइबल पढ्ने बानी बसाल्नुहोस्।” त्यो नाटकमा बेबिलोनका राजा नबूकदनेसरले निर्माण गरेको सुनको मूर्तिसामु दण्डवत् गर्न इन्कार गर्ने तीन हिब्रूहरूको विश्वास र साहस चित्रण गरिएको थियो। बाइबल एउटा पुरानो पुस्तक मात्र होइन तर यसका सल्लाहहरू साँच्चै जवान, वृद्ध सबैका निम्ति लाभकारी छ भनी देखाउनु यस नाटकको उद्देश्य थियो।
अपराह्नको समय थियो, जनभाषणको र त्यसको विषय थियो “अनन्त जीवनमा लाने एक मात्र मार्ग।” मानिसजाति पाप तथा मृत्युको वशमा पर्नुका कारणहरू पत्ता लगाएपछि वक्ताले यी विचारोद्दीपक शब्दहरूसहित आफ्नो भाषण टुंग्याए: “यो अधिवेशनको मूल बाइबल विषय यशैया अध्याय ३० को पद २१ हो। त्यहाँ यसो भनिएको छ: “तिमीहरूका कानले तिमीहरूका पछिल्तिर यसो भन्ने शब्द सुन्नेछौ, ‘बाटो यही हो, यसैमा तिमीहरू हिंड़।’ ” हामी यो आवाज कसरी सुन्छौं? परमेश्वरको वचन, पवित्र बाइबल पढेर अनि महान् प्रशिक्षक, यहोवा परमेश्वरले बाइबल तथा आधुनिक समयको मसीही संगठनद्वारा प्रदान गर्नुहुने निर्देशन पालन गरेर। निस्सन्देह, अनन्त जीवनतिर लैजाने एक मात्र मार्ग यही हो।”
त्यस हप्ताको प्रहरीधरहरा अध्ययन लेखको सारांशपछि अधिवेशनको अन्तिम भाषणको पालो थियो र यसको विषय थियो, “यहोवाले चाहनुहुने मार्गमा हिंडिरहनुहोस्।” सुरुमा कार्यक्रमका मुख्य बुँदाहरू पुनरावृत्ति गरियो। त्यसपछि वक्ताले परमेश्वरले चाहनुहुने मार्गमा हिंडिरहन प्रस्तावना प्रस्तुत गरे।
यी जगमगाउने शब्दहरूसहित प्रस्तावना अन्त गरियो: “धर्मशास्त्रीय सिद्धान्त, सल्लाह, निर्देशनअनुसार जीवन बिताउनु नै अहिले जीवन बिताउने सर्वोत्तम तरिका हो भनेर हामी विश्वस्त छौं र यसले भविष्यको लागि उत्तम आधार तयार गर्छ ताकि हामीले साँच्चैको जीवनलाई बलियो गरी पक्रिराख्न सक्नेछौं। सबैभन्दा महत्त्वपूर्ण कुरा, हामी यो प्रस्तावना गर्छौं किनभने हामी सम्पूर्ण हृदय, मन, शक्तिले यहोवा परमेश्वरलाई प्रेम गर्छौं।” उपस्थित सबैले ठूलो स्वरले हो भनी यसप्रति सहमति देखाए।
[पृष्ठ ८-मा भएको पेटी/चित्र]
के तपाईंको चासो राख्नुहुने सृष्टिकर्ता हुनुहुन्छ?
यस शीर्षक भएको नयाँ पुस्तकले सृष्टिकर्ता यहोवाको अस्तित्वको प्रमाण तथा उहाँका गुणहरूबारे छलफल गर्छ। यस पुस्तक विशेषगरि पर्याप्त सांसारिक शिक्षा हासिल गरेको तर परमेश्वरमाथि विश्वास नगर्ने मानिसहरूलाई ध्यानमा राखेर लेखिएको हो। यस १९२ पृष्ठे पुस्तकले परमेश्वरमा विश्वास गर्ने मानिसहरूको विश्वासलाई अझ बलियो बनाउनेछ र उहाँको व्यक्तित्व तथा तौरतरिकाहरूको मूल्यांकन गर्नेछन्।
के तपाईंको चासो राख्नुहुने सृष्टिकर्ता हुनुहुन्छ? पुस्तकले पाठकले परमेश्वरमा विश्वास गर्छ भन्ने अनुमान लगाउँदैन। बरु, यसले हालका वैज्ञानिक आविष्कार तथा धारणाहरूले कसरी सृष्टिकर्ताको अस्तित्वको प्रमाण दिन्छ भनी छलफल गर्छ। अध्यायका शीर्षक यस्ता छन्, “तपाईंको जीवन अझ अर्थपूर्ण कसरी हुनसक्छ?” “हाम्रो ब्रह्माण्ड कसरी अस्तित्वमा आयो—एक विवाद” तथा “तपाईं एकदमै अनुपम हुनुहुन्छ!” अरू अध्यायहरूले बाइबल कसरी ईश्वर प्रेरित पुस्तक हो भनी छलफल गर्छ। नयाँ पुस्तकले बाइबलको समष्टिगत दृष्टिकोण पनि दिन्छ जसले सृष्टिकर्ताको व्यक्तित्व र तौरतरिका प्रकाश पार्छ। यस पुस्तकले परमेश्वरले किन यति धेरै दुःखकष्ट रहिरहन दिनुभएको भनी छलफल गर्ने मात्र होइन तर यो उहाँले सधैंको निम्ति अन्त गर्नुहुनेछ भनेर पनि बताउँछ।
[पृष्ठ ७-मा भएका चित्रहरू]
थुप्रैले बप्तिस्मा लिए
[पृष्ठ ७-मा भएका चित्रहरू]
यहोवाका साक्षीहरूको परिचालक निकायको सदस्य ए. डि. श्रोर्डर नयाँ पुस्तिका विमोचन गर्दै
[पृष्ठ ८, ९-मा भएका चित्रहरू]
यस रोमाञ्चकारी नाटकले दिनहुँ बाइबल पढ्न प्रोत्साहित गऱ्यो