“परमेश्वरले चाहनुहुने जीवनशैली”
१९९८-१९९९ अधिवेशन नजिकै छ!
अक्टोबरदेखि डिसेम्बरसम्म भारतमा मात्र १७ वटा अधिवेशनहरू संचालन गर्ने तालिका मिलाइएको छ। शुक्रबारदेखि आइतबारसम्म संचालन हुने यो तीन दिने जमघट तपाईं नजिकैको शहरमा हुने सम्भावना छ। प्रायजसो ठाउँहरूमा हरेक दिन बिहान ९:३० बजे संगीतबाट कार्यक्रम सुरु हुनेछ।
विश्वका विभिन्न भागहरूमा राज्य प्रचारकार्यको प्रगति रिपोर्ट शुक्रबार बिहानी कार्यक्रमको विशेषता हुनेछ। “ख्रीष्टको छुडौती—परमेश्वरले चाहनुभएको छुटकारा” शीर्षकको मुख्य भाषणले अधिवेशनको मूल विषयलाई जोड दिनेछ।
अपराह्नमा “आमाबाबु हो—परमेश्वरको मार्ग छोराछोरीलाई होसियारीसाथ सिकाउनुहोस्” शीर्षकको गोष्ठीले यहोवालाई माया गर्न र उहाँको सेवा गर्न साना केटाकेटीहरूलाई कसरी उत्प्रेरित गर्ने, त्यसबारे सुझाउहरू प्रस्तुत गर्नेछ। “के मृत्युपछि पनि जीवन छ?” भाषणपछि अपराह्नको कार्यक्रम समाप्त हुनेछ।
शनिबार बिहानको कार्यक्रमले यहोवाका साक्षीहरूको चेला बनाउने कार्यलाई निम्न तीन भागमा प्रस्तुत गर्नेछ: “मानिसहरूलाई जीवनको मार्गमा हिंड्न मदत गर्ने,” “मानिसहरूलाई भेट्टाउने चुनौती” र “ख्रीष्टले आज्ञा गर्नुभएका सबै चेलाहरूलाई सिकाउने।” बिहानको कार्यक्रमको समापनमा नयाँ चेलाहरूका लागि बप्तिस्माको प्रबन्ध मिलाइनेछ।
“अन्त नहुने जीवनको प्रत्याशासहित सेवा गर्ने” भाषणबाट शनिबार अपराह्नको कार्यक्रम सुरु हुन्छ। उक्त भाषणले परमेश्वरको सेवा गर्ने हाम्रो व्यक्तिगत कारणहरूलाई प्रार्थनापूर्वक विचार गर्न हामीलाई प्रोत्साहित गर्छ। “परमेश्वरको मार्ग सिकाउने ‘पुरुषहरूमा वरदानको’ मूल्यांकन गर्ने” र “व्यक्तित्व—पुरानो त्याग्नुहोस् र नयाँ धारण गर्नुहोस्” भाषणहरूले एफिसी अध्याय ४ का पदहरू केलाउँदै गरिएका ज्ञानोद्दीपक जाँच प्रस्तुत गर्छ। त्यसपछि “आफूलाई संसारबाट निष्कलंक राख्नुहोस्” र तीन भाग भएको “युवाजनहरू हो—परमेश्वरको मार्ग पछ्याउनुहोस्” गोष्ठी भाषणद्वारा धर्मशास्त्रीय सल्लाहहरू प्रस्तुत गरिनेछ। अपराह्नको कार्यक्रम “सृष्टिकर्ता—उहाँको व्यक्तित्व तथा मार्गहरू” शीर्षकको भाषणपछि समापन हुन्छ।
आइतबार बिहानको कार्यक्रममा बाइबल पुस्तक इजकिएलका अन्तिम अध्यायहरू र तिनका भविष्यसूचक पूर्तिहरूबारे तीन भाग भएको गोष्ठी छलफल गरिनेछ। बिहानको कार्यक्रमलाई तीन विश्वासी हिब्रू जवानहरूको विश्वासमा आधारित नाटकीय वेशभूषासहितको नाटकले समष्टिगत रूपमा पेश गर्नेछ। अधिवेशनको विशेषता त्यस अपराह्न दिइने “अनन्त जीवनमा लाने एक मात्र मार्ग” विषयक जनभाषण हुनेछ।
यी तीनै दिन उपस्थित हुनुभएर पक्कै पनि तपाईं आध्यात्मिक तवरमा लाभान्वित हुनुहुनेछ। प्रत्येक कार्यक्रममा उपस्थित हुन तपाईंलाई हार्दिक स्वागत छ र यी सम्पूर्ण कार्यक्रमहरू निश्शुल्क प्रस्तुत गरिनेछन्। तपाईंलाई नजिकै पर्ने अधिवेशन स्थलको लागि यहोवाका साक्षीहरूको स्थानीय राज्यभवनमा सम्पर्क राख्नुहोस् अथवा यस पत्रिकाको प्रकाशकसित पत्राचार गर्नुहोस्।