प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w99 २/१ pp. ३-५
  • घमण्डको मूल्य—कति चर्को?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घमण्डको मूल्य—कति चर्को?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • नम्रताको पाठ
  • अहंकारको मूल्य
  • घमण्डले तपाईंलाई खोक्रो पार्न नपाओस्‌
  • अभिमान अनि आत्मसम्मान
  • के घमण्डी हुनु गलत हो?
    ब्यूँझनुहोस्‌!—१९९९
  • नम्रता मानिसको कमजोरी हो या बल?
    ब्यूँझनुहोस्‌!—२००७
  • तपाईं सैतानलाई जित्न सक्नुहुन्छ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • जातीय घमण्डबारे कस्तो विचार राख्नुहुन्छ?
    ब्यूँझनुहोस्‌!—१९९८
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
w99 २/१ pp. ३-५

घमण्डको मूल्य—कति चर्को?

जानाजान होच्याउन खोज्ने मानिससित के तपाईंले कहिल्यै व्यवहार गर्नुपरेको छ? तपाईंको प्रबन्धक, मालिक, हाकिम अथवा तपाईंकै नातेदारले के तपाईंसित तुच्छ व्यवहार गरेको छ? तपाईंलाई त्यो मानिस कस्तो लाग्यो? के तपाईं तिनको व्यक्‍तित्व प्रति आकर्षित हुनुभयो? पक्कै हुनुभएन! किन? किनभने घमण्डले गर्दा अरूसितको सम्बन्ध बिग्रन्छ र कुराकानी ठप्प हुन्छ।

घमण्डीले आफू सबैभन्दा ठूलो छु भनेर अरू जम्मै मानिसलाई होच्याउँछ। त्यस्तो मानिसले कहिल्यै अर्काको प्रशंसा गर्दैन। बरु ऊ “हुन त हो तर उसको यो समस्या, त्यो गल्ती पनि छ” भन्दै दोषहरू कोट्याउँदै हिंड्‌छ।

चाँदी जस्ता शब्दहरूमा सुनौला विचारहरू नामक किताबले घमण्डले मानिसलाई “कहिल्यै भलाई गर्दैन। ऊ घमण्डले यति बिघ्न फुल्छ कि अरूले उसमा प्रशंसा गर्न लायक केही कुरा देख्दैनन्‌” भनी वर्णन गर्छ। उसोभए घमण्डी मानिसको नजिक अप्ठेरो महसुस हुनु के अचम्म पार्ने कुरा हो त? वास्तवमा प्रायः घमण्डीले चुकाउनु पर्ने मूल्य नै साँचो मित्रहरू गुमाउनु हो। उक्‍त पुस्तक फेरि भन्छ, “त्यसको ठीक विपरीत, संसारले नम्रहरूलाई मन पराउँछ, आफ्नो नम्रतामाथि घमण्ड गर्नेहरूलाई होइन तर साँच्चै नै नम्रहरूलाई।” बाइबलले पनि यसै कुरालाई जोड दिंदै भन्छ: “अहंकारले मानिसलाई तल खसाल्छ, तर नम्र मानिसले सम्मान पाउँछ।”—हितोपदेश २९:२३.

तथापि मानिसहरूसितको मित्रतामा घमण्डले पुऱ्‍याउनसक्ने आँच भन्दा पनि महत्त्वपूर्ण कुरा परमेश्‍वरसँगको सम्बन्धमा त्यसले कसरी क्षति पुऱ्‍याउँछ? घमण्डी, हठी र जान्‍नेसुन्‍ने हुन खोज्ने मानिसलाई परमेश्‍वर कुन दृष्टिले हेर्नुहुन्छ? उहाँसितको सम्बन्धमा घमण्ड अथवा नम्रताको केही महत्त्व छ?

नम्रताको पाठ

हितोपदेशका प्रेरित लेखक यसो भन्छन्‌: “नाशको अघि अहंकार र पतनको अघि अभिमान आउँछ। अहंकारीहरूसित लूटका माल बाँड़नुभन्दा खाँचोमा परेकाहरूसित नम्रपूर्वक बस्नु असल हो।” (हितोपदेश १६:१८, १९) यो कत्तिको बुद्धिमानी सल्लाह थियो भन्‍ने कुरा इस्राएली अगमवक्‍ता एलीशाको समयताकका अरामी सेनापति नामानको उदाहरणले पुष्टि गर्छ।

नामान कोरी थिए। आफ्नो रोग निको पार्ने हेतुले एलीशासित औपचारिक रूपमा भेट्‌न पाउने आशा गर्दै तिनले सामरियाको यात्रा गरे। तर त्यसको ठीक विपरीत अगमवक्‍ताले नामानलाई आफ्ना चाकर मार्फत यर्दन नदीमा सातपल्ट डुबुल्की मार्नु भन्‍ने निर्देशन पठाए। यस्तो व्यवहार र सल्लाहलाई नामानले आफ्नो अपमान ठाने। अगमवक्‍ता आफै बाहिर निस्की व्यक्‍तिगत रूपमा तिनीसित भेटेर कुरा गर्नुको साटो आफ्नो चाकर पठाउने? अनि अरामको नदी यर्दनभन्दा के कमको थियो र त्यहाँ डुबुल्की मार्न! तिनलाई त्यसो लाग्नुको कारण घमण्ड थियो। परिणाम? आनन्दको कुरा अन्ततः तिनले बुद्धिमानी सल्लाह स्वीकारे। “यसैले तिनी रथबाट ओर्ले, र परमेश्‍वरका जनले भनेबमोजिम सातपल्ट डुबुल्की मारे, औ तिनको शरीरको छाला सानो बालकको जस्तै भयो, र तिनी शुद्ध भए।”—२ राजा ५:१४.

कहिलेकाहीं थोरै भए पनि नम्रता देखाउँदा थुप्रै लाभहरू हुन्छन्‌।

अहंकारको मूल्य

तथापि, घमण्डको कारण हामीले कहिलेकाहीं चुकाउनुपर्ने मूल्य लाभ वा फाइदाको दायराभित्र मात्र सिमित नहुनसक्छ। त्यस्तै अर्को स्तरको घमण्ड “इभ्रस” भन्‍ने युनानी शब्दमा पाइन्छ। युनानी विद्वान्‌ विलियम बार्कलेअनुसार “[इभ्रस] शब्द घमण्ड र निर्दयताको मिश्रण हो, . . . जसले अहंकारी व्यवहार गरेर अरू मानिसको अपमान गर्न उक्साउँछ।”

यस्तो किसिमको चरम-सीमानै नाघ्ने गरी गरिने घमण्डको स्पष्ट उदाहरण बाइबलमा पाइन्छ। यस्तो घमण्ड अम्मोनका राजा हानूनले देखाएका थिए। धर्मशास्त्रमाथि अन्तरदृष्टि (अंग्रेजी) यसरी व्याख्या गर्छ: “नाहाशले दृढ मित्रभाव देखाएकोले तिनको मृत्यु हुँदा तिनको छोरा हानूनलाई सान्त्वना दिन दाऊदले आफ्ना दूतहरू पठाए। तर त्यहाँका अरू शासकहरूले ती दूतहरू दाऊदले त्यस शहरलाई कसरी जित्न सकिन्छ भनी जासुसी गर्न पठाएको हो भनेर हानूनको कान भरे। त्यसैले तिनीहरूको दाह्री र लुगा जाँघ आधा-आधा काटेर बेइज्जती गरी पठाए।”a यस घटनाबारे बार्कले आफ्नो दृष्टिकोण यसरी प्रकट गर्छन्‌: “यो हेला, अत्याचार अनि अपमान जम्मैको मिश्रण हो।”—२ शमूएल १०:१-५.

हो घमण्डी मानिसले अशिष्टतापूर्वक, अरूको अपमान गर्नसक्छन्‌। त्यस्तो मानिस निष्ठुर भई अरूलाई आघात पुऱ्‍याएर अझ लाजले रातोपिरो भएको अनि ग्लानि महसुस गरेको हेर्न आनन्द मान्छन्‌। तर अरूको आत्मसम्मानमा ठेस वा घात पुऱ्‍याउनु दुईधारे तरवारजस्तो हो। त्यसले मित्र गुमाउनुका साथसाथै शत्रु पनि कमाउँछ।

मसीहीहरूका मालिकले “आफ्नो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नु” भन्‍ने आज्ञा दिनुभएको छ। उसोभए के तिनीहरूले त्यस्तो घातक घमण्ड गर्न सुहाउँछ र? (मत्ती ७:१२; २२:३९) यो परमेश्‍वर अनि ख्रीष्टको स्तर विपरीत हो भनेर स्पष्ट हुन्छ। यस सन्दर्भमा बार्कले यस्तो गहन टिप्पणी गर्छन्‌: “[इभ्रसले] परमेश्‍वरलाई चुनौती दिन उक्साउँछ।” त्यस्ता मानिसहरू भन्छन्‌: “ईश्‍वर छैन।” (भजन १४:१) अथवा भजन १०:४ अनुसार: “दुष्टले आफ्नो मुखको घमण्डमा भन्छ, “उहाँले केही लेखा राख्नुहुन्‍न,” “परमेश्‍वर हुँदै हुनुहुन्‍न” भन्‍ने त्यसका सबै विचार छन्‌।” त्यस्तो घमण्ड वा हठले मित्र वा नातेदारहरूबाट मात्र होइन परमेश्‍वरबाट पनि टाढा लैजानेछ। कत्रो मूल्य चुकाउनुपर्ने!

घमण्डले तपाईंलाई खोक्रो पार्न नपाओस्‌

घमण्ड विभिन्‍न किसिमका हुनसक्छन्‌। जस्तै, राष्ट्रियता, रंग, वर्ग अनि जाति, शिक्षा, सम्पत्ति, प्रतिष्ठा अनि सत्ता जस्ता कुराहरूबाट उत्पन्‍न हुने विभिन्‍न किसिमको घमण्ड। एक वा अर्को तरिकामा सजिलै तपाईंभित्र पसेर घमण्डले तपाईंको व्यक्‍तित्वलाई खोक्रो पार्नसक्छ।

थुप्रै मानिसहरू ठूलाबडा वा आफ्नै बराबरीका मानिसहरूसित व्यवहार गर्दा नम्र देखिन सक्छन्‌। तर, हेर्दा नम्रजस्तो देखिने त्यस्ता मानिसहरू अख्तियारमा पुगेपछि के हुन्छ? छिट्टै ऊ सबैलाई आफ्ना खुट्टाको धूलो सम्झेर व्यवहार गर्ने तानाशाह हुनपुग्छ र अरूको जीवन नै नीरस बनाइदिन्छ! कसैकसैले औपचारिक पोसाक वा ओहोदा इंगित गर्ने पदक लगाउँदा यस्तो हुनसक्छ। जनताले तिनीहरूको चाकरी गर्नुपर्छ जनताको होइन भन्‍ने विचार गर्दै सरकारी कर्मचारीहरूले समेत रूखो व्यवहार गर्नसक्छन्‌। घमण्डले तपाईंलाई रूखो, भावशून्य बनाउनसक्छ भने नम्रताले दयालु बनाउनसक्छ।

येशूले चाहनुभएको भए आफ्ना चेलाहरूसित घमण्डी अनि रूखो व्यवहार गर्न सक्नुहुन्थ्यो। उहाँ सिद्ध अनि परमेश्‍वरको पुत्र भएर असिद्ध, आवेगी, जंगी चेलाहरूसित व्यवहार गर्दैहुनुहुन्थ्यो। तैपनि उहाँको कुरा सुन्‍नेहरूलाई कस्तो निमन्त्रणा दिनुभयो? “हे सबै मेहनत गर्ने, र बोझले दबिएका हो! मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा तिमी आफैले बोक, र मसँग सिक। किनभने म विनयी, र नम्र हृदयको छु। अनि तिमीहरूले आफ्ना आफ्ना आत्मामा विश्राम पाउनेछौ। किनकि मेरो जुवा सजिलो र मेरो भारी हलका छ।”—मत्ती ११:२८-३०.

के हामी सधैं येशूको यो उदाहरणको नक्कल गर्न अग्रसर हुन्छौं? अथवा के हामी रूखो, जिद्दी, तानाशाह, निर्दयी, घमण्डी छौं? येशूले जस्तै विश्राम दिनुहोस्‌, नदबाउनुहोस्‌। घमण्डको विनाशकारी प्रभावको प्रतिकार गर्नुहोस्‌।

अभिमान अनि आत्मसम्मान

घमण्डसँग सम्बन्धित तर सकारात्मक अनि असल खाले गुन “व्यवहारिक आत्मसम्मान” पनि हो। आत्मसम्मान भनेको आफ्नो आदर हो। यसको मतलब अरूले तपाईंबारे कस्तो दृष्टिकोण अपनाउँछन्‌ भनेर चिन्तित हुनु हो। यस्तो आत्मसम्मान छ भने तपाईं आफ्नो रूपरंग अनि इज्जत प्रति ध्यान दिनुहुन्छ। त्यसैले एउटा स्पेनी उखानले “तिमी मलाई आफ्नो साथी चिनाऊ, म तिमी कस्तो छौ बताइदिन्छु” भनेर ठीकै भन्छ। यदि तपाईं फोहोरी, अल्छी, असभ्य र अश्‍लील बोलीभएकाहरूसित संगत गर्नुहुन्छ भने तपाईं पनि त्यस्तै हुनुहुनेछ। तिनीहरूको बानी तपाईंमा पनि सर्नसक्छ र तिनीहरूले जस्तै तपाईंले पनि आत्मसम्मान गुमाउनुहुनेछ।

तथापि, आत्मसम्मानको अर्को उग्ररूप पनि छ जुन घमण्ड नै हो। ती हुन्‌ अभिमान अथवा आडम्बर। येशूको समयका शास्त्री तथा फरिसीहरू आफ्ना रीतिरिवाज तथा अति धर्मी देखिने पहिरनको घमण्ड गर्थे। येशूले तिनीहरूलाई यस्तो चेताउनी दिनुभयो: “तिनीहरू आफ्ना सारा काम मानिसहरूलाई देखाउनाको निम्ति गर्दछन्‌। किनभने तिनीहरू [अझ धर्मी देखिन] आफ्ना व्यवस्था पत्री ठूला बनाउँछन्‌, र आफ्ना वस्त्रका झुम्काहरू लामो तुल्याउँछन्‌, औ भोजहरूमा मुख्य स्थान र सभाघरहरूमा मुख्य मुख्य आसनहरू, चाहन्छन्‌ र बजारहरूमा सलाम खोज्छन्‌ र मानिसहरूबाट गुरु कहलाइन रुचाउँछन्‌।”—मत्ती २३:५-७.

त्यसैले व्यवहारिक आत्मसम्मान भनेको सन्तुलित मनोवृत्ति हो। नबिर्सनुहोस्‌, यहोवाले मानिसको हृदय हेर्नुहुन्छ बाहिरी रूपरंग होइन। (१ शमूएल १६:७; यर्मिया १७:१०) आत्मधर्मी हुनु परमेश्‍वरको धार्मिकता होइन। तथापि, अब ध्यान दिनुपर्ने प्रश्‍न छ, घमण्डको चर्को मूल्य नचुकाउन हामी कसरी साँचो नम्रता खेती गर्नसक्छौं?

[फुटनोट]

a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित।

[पृष्ठ ४-मा भएको चित्र]

थोरै नम्रताले नामानलाई ठूलो लाभ पुऱ्‍यायो

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने