तपाईं कसरी नम्रता प्रदर्शित गर्न सक्नुहुन्छ?
साँचो नम्रता परमेश्वरको नजरमा मूल्यवान् हुन्छ। याकूबले लेखे: “परमेश्वरले अभिमानीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ।” (याकूब ४:६) यहाँ याकूबले हिब्रू धर्मशास्त्रका केही वाक्यहरूलाई संकेत गरिरहेको हुनसक्छ। “परमप्रभु उच्च हुनुभए, तापनि उहाँले नम्रहरूलाई कदर गर्नुहुन्छ। तर घमण्डीहरूलाई उहाँले टाढ़ैबाट चिन्नुहुन्छ।” “मानिसको अभिमानी नजर खसालिनेछ र मानिसहरूको सेखी झारिनेछ, औ परमप्रभु मात्र त्यस दिन उच्च हुनुहुनेछ।” “अभिमानी मानिससित परमेश्वरले त्यस्तै व्यवहार गर्नुहुन्छ, तर नम्रहरूमाथि उहाँले निगाह गर्नुहुन्छ।”—भजन १३८:६; यशैया २:११; हितोपदेश ३:३४.
प्रेरित पावलले पनि विनम्र हुन प्रोत्साहन दिए। तिनले लेखे: “तिमीहरू सबै एउटाले अर्कोप्रति नम्रताको व्यवहार गर। किनभने परमेश्वरले घमण्डीहरूलाई विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ।”—१ पत्रुस ५:५.
ख्रीष्टले बसाल्नुभएको नम्रताको उदाहरण
तपाईं सोध्नुहोला, नम्र भएर के फाइदा छ र? तर साँचो मसीही हुन प्रयास गर्नेहरूको लागि जवाफ एउटै छ अर्थात् नम्र हुनु भनेको ख्रीष्ट जस्तै हुन खोज्नु हो। येशूले स्वर्गीय संसार छोडेर पृथ्वीमा स्वर्गदूतहरूभन्दा पनि तल्लो स्तरको तुच्छ मानिसजस्तै हुने विशेष कार्यभार स्वीकारेर नम्रता प्रकट गर्नुभयो। (हिब्रू २:७) उहाँ परमेश्वरको पुत्र हुनुभए तापनि आफ्नो धर्म विरोधीहरूले गरेका अपमान सहनुभयो। उहाँले आफ्नो मदतको लागि स्वर्गदूतको थुप्रै पल्टनहरू झिकाउन सक्नुहुन्थ्यो तापनि उहाँ संयमी हुनुभयो।—मत्ती २६:५३.
अन्ततः येशूको अपमान गर्दै उहाँलाई शूलीमा झुन्ड्याइँदा पनि उहाँ आफ्ना पिताप्रति विश्वासी नै रहनुभयो। त्यसैले, उहाँबारे पावलले यसरी लेख्न सके: “तिमीहरूमा यो मन होस्, जो ख्रीष्टमा पनि थियो। उहाँले परमेश्वरको स्वरूपमा भएर परमेश्वरसितै बराबरको हुनालाई, जोगाइराख्ने धन जस्तो सम्झनुभएन, तर आफूलाई रित्याईकन कमाराको रूप लिएर मानिसहरूको समानतामा हुनुभयो। औ रूपमा मानिसजस्तो भएर मृत्युसम्मै आज्ञाकारी हुनुभयो, क्रूसको मृत्युसम्मै आफूलाई होच्याउनुभयो।”—फिलिप्पी २:५-८.
त्यसोभए, हामी कसरी साँचो नम्रता प्रकट गर्नसक्छौं? अनि व्यवहारमा घमण्डी हुनुको साटो कसरी नम्र हुनसक्छौं?
नम्र मानिसले कस्तो प्रतिक्रिया व्यक्त गर्छ
उसोभए हामी आफ्नो काम गर्ने ठाउँ वा मसीही सेवामा कसरी नम्रता प्रकट गर्नसक्छौं त्यसलाई ध्यान देऔं। कुनै पनि काम राम्ररी पूरा गर्न हाकिम, प्रबन्धक र निरीक्षकहरूको आवश्यकता पर्छ। कुनै एकले निर्णय लिनैपर्छ। त्यसबेला तपाईं कस्तो प्रतिक्रिया व्यक्त गर्नुहुन्छ? के तपाईं यस्तो तर्क गर्नुहुन्छ, “मैले के गर्नुपर्छ के गर्नु पर्दैन सिकाउने उसको के अधिकार। म यहाँ ऊभन्दा धेरै अघिदेखि काम गरिरहेछु।” हो, तपाईं घमण्डी हुनुहुन्छ भने अधीनमा बस्न झर्को लाग्नसक्छ। अर्को तर्फ नम्र मानिसले ‘विरोध अथवा फोस्रो घमण्डले केही नगर्ने, तर नम्रतामा एउटाले अर्कोलाई आफूभन्दा श्रेष्ठ ठानेर’ काम गर्ने प्रयास गर्छन्।—फिलिप्पी २:३.
तपाईं, आफूभन्दा सानो केटाकेटी वा कुनै स्त्रीले सल्लाह दियो भने कस्तो प्रतिक्रिया व्यक्त गर्नुहुन्छ? तपाईं नम्र हुनुहुन्छ भने त्यसबारे अवश्य विचार गर्नुहुनेछ। तर घमण्डी हुनुहुन्छ भने त्यो सल्लाह निको मान्नुहुन्न र तुरुन्तै इन्कार गर्नुहुनेछ। के तपाईं आफ्नै पतनतर्फ लैजानसक्ने किसिमको प्रशंसा वा चापलुसी रुचाउनुहुन्छ अथवा तपाईंको उन्नति गराउने सल्लाह?—हितोपदेश २७:९; २९:५.
के तपाईं हन्डर खान तैयार हुनुहुन्छ? नम्रताले तपाईंलाई अय्यूबले जस्तै कठिन परिस्थितिहरूको सामना गर्न र सहन मदत दिन्छ। यदि तपाईं घमण्डी हुनुहुन्छ भने अलिकति दुःख आउने बित्तिकै वा कसैले पक्षपात गरे जस्तो लाग्ने बित्तिकै चित्त दुखाउनुहुन्छ वा विरोध गर्नुहुन्छ।—अय्यूब १:२२; २:१०; २७:२-५.
नम्रता मायालु र क्षमाशील हुन्छ
केही मानिसहरूलाई, “मलाई माफ गर्नुस्। मैले गल्ती गरें। तपाईंले ठीकै भन्नुभएको रहेछ।” भन्न अप्ठ्यारो लाग्छ। किन? अति घमण्डी भएकोले! तथापि, निष्कपट क्षमायाचना गर्न जानेको भए प्रायः विवाहितहरूबीच उत्पन्न हुने कतिपय बहस सजिलै रोकिने थियो होला।
कसैले तपाईंको चित्त दुखायो भने के तपाईं तिनलाई क्षमा गर्न तैयार हुनुहुनेछ? अथवा घमण्डी भएर केही दिन वा महिनौंसम्म बोल्न इन्कार गर्दै द्वेष राखिछोड्नुहुन्छ? अथवा बदला लिन रिसइबी राख्नुहुन्छ कि? कतिपय मानिसहरू यस्तो इबीकै कारण मारिएका छन्। कतिको चाहिं चरित्र हत्या गरेर पनि बदला लिइएका छन्। त्यसको ठीक विपरीत नम्र मानिस मायालु र क्षमाशील हुन्छन्। किन? किनभने प्रेमले खराबीको वास्ता गर्दैन। इस्राएलीहरूलाई आफ्नो घमण्ड त्यागेको खण्डमा यहोवा क्षमा गर्न तयार हुनुहुन्थ्यो। येशूका नम्र चेलाहरू पनि बारम्बार क्षमा गर्न तयार हुनुपर्छ।—योएल २:१२-१४; मत्ती १८:२१, २२; १ कोरिन्थी १३:५.
नम्र व्यक्तिले ‘मानमा अर्कोको बढ़ता कदर गर्छन्।’ (रोमी १२:१०) न्यू इन्टरनेशनल भर्सन यसो भन्छ: “आफूलाई भन्दा अरूलाई ठूलो मानेर आदर गर।” के तपाईं अरूको क्षमता र सीपको मूल्यांकन गर्दै प्रशंसा गर्नुहुन्छ? अथवा अर्काको प्रतिष्ठामा धब्बा लगाउन दोषमात्र खोतल्नुहुन्छ? हो, के तपाईं अरूको निष्कपट प्रशंसा गर्न तयार हुनुहुन्छ? यदि यी कामहरू गर्न अप्ठ्यारो लाग्छ भने तपाईंको मनमा भएको डर र घमण्ड नै त्यसको जड हुनसक्छ।
घमण्डी मानिस अधीर हुन्छ। नम्र मानिस धीरजी र सहनशील हुन्छ। तपाईं नि? कसैले दुर्व्यवहार गरेजस्तो लाग्ने बित्तिकै तपाईंको मनमा चसक्क परिहाल्छ कि? यस्तो प्रतिक्रिया देखाउनुको अर्थ सहनशील नहुनु हो। तपाईं नम्र हुनुहुन्छ भने आफ्नैबारे मात्र बढ्ता सोच्ने गर्नुहुन्न। येशूका चेलाहरूले पनि आफ्नैबारे मात्र बढ्ता सोच्दा को ठूलो भन्ने विषयमा कस्तो चर्को बहस भयो, सम्झनुहोस् त। “हामी नालायक दास हौं” भन्ने कुरा तिनीहरूले बिर्से!—लूका १७:१०; २२:२४; मर्कूस १०:३५-३७, ४१.
फ्रान्सेली लेखक भोल्टेरले नम्रतालाई “आत्मामा विनयी हुनु . . . र घमण्डको ओखती” भनी व्याख्या गरे। हो, नम्रता भनेको हृदयको विनयीपन हो। नम्र मानिस भित्रैदेखि झुक्छन्, घमण्डी हुँदैनन्। तिनी शालीन अनि शिष्ट हुन्छन्।
उसोभए, किन नम्र हुने प्रयत्न गर्ने? किनभने विनम्र व्यक्तिलाई परमेश्वर मन पराउनुहुन्छ र यसले ईश्वरीय निर्देशन स्वीकार्न मदत गर्छ। दानियल विनम्र भएको हुनाले पनि परमेश्वरले “अति प्रिय” मान्नुभयो र तिनलाई दर्शन दिन आफ्ना स्वर्गदूत पठाउनुभयो! (दानियल ९:२३; १०:११, १९) नम्रताले गर्दा तपाईं थुप्रै इनामहरू पाउन सक्नुहुन्छ। यसैबाट तपाईंलाई माया गर्ने साँचो मित्रहरू बनाउन सक्नुहुन्छ। अझ त्योभन्दा पनि महत्त्वपूर्ण कुरा तपाईंले यहोवाको आशिष् पाउन सक्नुहुन्छ। “नम्रता र परमप्रभुको भयले धन, मान र जीवन ल्याउँछ।”—हितोपदेश २२:४, नयाँ संशोधित संस्करण।
[पृष्ठ ७-मा भएको चित्र]
नम्रतापूर्वक क्षमायाचना गर्नाले आनन्दित जीवन बिताउन सकिन्छ