कोलिजियन्टहरू—बाइबल अध्ययनले तिनीहरूलाई भिन्न बनायो
के तपाईंले कोलिजियन्टहरूबारे सुन्नुभएको छ?
सत्रौं शताब्दीमा हल्याण्डबासीको यो सानो धार्मिक समूह अन्य प्रमुख चर्चहरूभन्दा फरक थिए। कसरी अनि हामीले तिनीहरूबाट के सिक्नसक्छौं? यो थाह पाउन आउनुहोस्, हामी पहिलाको कुरा पल्टाएर हेरौं।
सन् १५८७ मा याकोबस् आर्मिनस (वा याकूप हार्मनसेन) आमर्स्टडाम शहर आइपुगे। जागिर पाउन तिनलाई केही गाह्रो भएन किनभने तिनको बायोडाटा राम्रो थियो। तिनले २१ वर्षको उमेरमा हल्याण्डको लाइडेन विश्वविद्यालयबाट स्नातक गरे। त्यसपछि तिनले अर्को छ वर्ष स्वीजरल्याण्डमा प्रोटेस्टेन्ट सुधारवादीको उत्तराधिकारी थियोडर डे बेजाको डोऱ्याइमा धर्मसिद्धान्त अध्ययन गरे। त्यसैले त आमर्स्टडामका प्रोटेस्टेन्टहरू २७ वर्षीय आर्मिनसलाई पास्टरको रूपमा नियुक्त गर्न खुसी थिए! तर केही वर्षपश्चात् चर्चका थुप्रै सदस्यहरूले आफ्नो छनौटमाथि पछुतो गर्न थाले। किन?
पूर्वनिर्धारित भविष्यको विवाद
आर्मिनस पास्टर हुनेबित्तिकै आमर्स्टडामका प्रोटेस्टेन्टहरूबीच पूर्वनिर्धारित भविष्यको सिद्धान्तबारे खटपट हुनथाल्यो। क्यालभिनवादीहरूको मुख्य आधार नै त्यही सिद्धान्त थियो तर चर्चका अन्य कोही कोही सदस्यहरूलाई परमेश्वरले पहिल्यै कसले मुक्ति र कसले दण्ड पाउने भनी पूर्वनिर्धारित गर्नु क्रूर र अन्यायी जस्तो लाग्न थाल्यो। आर्मिनस बेजाको विद्यार्थी भएको कारण क्यालभिनवादीहरूले तिनले यस सिद्धान्तका विरोधीहरूलाई सच्याउने छन् भन्ठानेका थिए। तथापि, क्यालभिनवादीहरू पक्क पर्नेगरि आर्मिनसले उल्टै विरोधीहरूको पक्ष लिए। सन् १५९३ सम्ममा यो विवादले यति चर्काचर्की रूप लिइसकेको थियो कि त्यस सिद्धान्तलाई समर्थन गर्ने र अस्वीकार गर्ने प्रोटेस्टेन्टहरूको दुई समूह भयो।
केही वर्षभित्रै यस स्थानीय विवादले देशभरिकै प्रोटेस्टेन्टहरूमा विभाजन ल्यायो। आखिरमा नोभेम्बर १६१८ मा यसको निर्णय गर्ने समय तय गरियो। सेना र जनसाधारणको समर्थन पाएका क्यालभिनवादीले विरोधीहरूलाई (त्यतिबेला तिनीहरूलाई अंग्रेजीमा रिमोन्सट्रान्ट भनिन्थ्योa) राष्ट्रिय सभा, प्रोटेस्टेन्ट साइनोड अफ डोरडेक्टमा बोलाए। सभाको अन्तमा सबै रिमोन्सट्रान्ट सेवकहरूलाई एउटा छनौट गर्ने मौका दिइयो: कहिल्यै प्रचार नगर्ने भनी कागजात गर्ने वा देश छोड्ने। थुप्रैले निर्वासित हुन रोजे। क्यालभिनवादीका कट्टर समर्थकहरूले रिमोन्सट्रान्ट सेवकहरूले छाडेका पदहरू सँभाले। क्यालभिनवादीहरूको जीत भयो, धर्मसभाले त्यस्तै होस् भन्ने आशा गरेको थियो।
कोलिजियन्टहरूको सुरुआत तथा वृद्धि
अरू ठाउँमा जस्तै लाइडेन नजिकै वरमर्डन गाउँको रेमोस्ट्रान्ट मण्डलीमा अर्को पादरी आए। तथापि, अन्य ठाउँमा जस्तै त्यस मण्डलीले धर्मसभाद्वारा नियुक्त गरेको पादरीलाई स्वीकारेन। यसबाहेक, १६२० मा जीवनलाई नै खतरामा पारेर रेमोस्ट्रान्ट सेवक वरमर्डन जाँदा मण्डलीका केही सदस्यहरूले तिनलाई पनि अस्वीकार गरे। यी सदस्यहरूले कुनै पादरीको मदतबिना मानिसहरूले थाहै नपाउने गरी धार्मिक सभाहरू सञ्चालन गर्न थालेका थिए। पछि यी सभाहरूलाई कलेज र त्यहाँ उपस्थित हुने मानिसहरूलाई चाहिं कोलिजियन्टहरू भन्न थालियो।
कोलिजियन्टहरूको उत्थान कुनै धार्मिक सिद्धान्तको खातिर नभई परिस्थितिको कारण सुरु भयो तर परिस्थिति सधैं त्यस्तै रहेन। किसबर्ट भ्यान डर कोडे नामक मण्डलीका सदस्यले पादरीहरूको निरीक्षणबिना उक्त समूहले प्रथम शताब्दीका मसीहीहरूले जस्तै बाइबलअनुरूप कामकुराहरू गरिरहेको दाबी गरे। कुनै सीप सिक्न अनिच्छुक मानिसहरूको निम्ति जागिरको प्रबन्ध मिलाउन प्रेरितहरूको मृत्युपछि पादरी वर्ग बनिएको हो भनी तिनले दाबी गरे।
सन् १६२१ मा भ्यान डर कोडे र उनको जस्तै विचारधारा भएका सदस्यहरूले नजिकैको गाउँ राइन्सबर्गमा सभाहरू गर्न थाले।b केही वर्षपश्चात् जब धार्मिक सतावट साम्य भएर सहिष्णुता कायम भयो, कोलिजियन्टहरूका सभाहरूबारे देशभरि चर्चा हुनथाल्यो अनि इतिहासकार सिगफ्रेड जिलर्भबर्गले भनेझैं “हरेक प्रकारका मानिसहरूलाई” आकर्षित गर्न थाल्यो। तिनीहरू रिमोस्ट्रान्ट, मेनोनाइट्स, सोसिनियन तथा धर्मविद्हरूसमेत थिए। कृषकहरू पनि थिए। अरू चाहिं कवि, मुद्रक, चिकित्सक तथा व्यवसायीहरू थिए। दार्शनिक स्पीनोजा (बेनिडिक्टस डे स्पीनोजा), स्कूल शिक्षक योहान आमोस कोमिनियस (वा यान कोमेन्सकि) लगायत प्रख्यात चित्रकार रेमब्रान्डत भ्यान राइनले बौद्धिक तवरमा यस गतिविधिको समर्थन गरे। यी धर्मी मानिसहरूको भिन्नाभिन्नै धारणाहरूले कोलिजियन्टहरूको विश्वासको विकासमा निकै प्रभाव पाऱ्यो।
सन् १६४० पछि यस सक्रिय समूह वृद्धि हुन थाल्यो। कलेजहरू रोटरडाम, आमर्स्टडाम, ल्युवार्डन तथा अन्य शहरहरूमा पनि स्थापना भयो। इतिहासका प्राध्यापक एन्ड्रु सि. फिक्स्का अनुसार १६५० देखि १७०० वर्षबीच “कोलिजियन्टहरू . . . १७ औं शताब्दीमा हल्याण्डमा सबैभन्दा महत्त्वपूर्ण तथा प्रभावकारी धार्मिक समूह भए।”
कोलिजियन्टहरूको विश्वास
कोलिजियन्टहरूको विश्वासको मुख्य आधार तर्कशक्ति, सहिष्णुता र वाक् स्वतन्त्रता भएको कारण तिनीहरू कुनै पनि धर्म मान्न स्वतन्त्र थिए। तैपनि केही सामान्य विश्वासहरूले गर्दा तिनीहरूमा एकता थियो। उदाहरणका लागि, सबै कोलिजियन्टहरूले व्यक्तिगत बाइबल अध्ययनको महत्त्वलाई जोड दिन्थे। हरेक सदस्यले “अरू कसैको मार्फत नभई आफैले अनुसन्धान गरेर परमेश्वरलाई चिन्नुपर्छ” भनेर एक कोलिजियन्टले बताएका थिए। अनि तिनीहरूले त्यसै गरे। उन्नाइसौं शताब्दीका इतिहासकार ज्याकोबस सि. भ्यान स्लीअनुसार त्यतिबेलाका अन्य धार्मिक समूहहरूभन्दा कोलिजियन्टहरूसित बाइबलको बढी ज्ञान थियो। विरोधीहरूले समेत कोलिजियन्टहरूको यस्तो निपुणता साथ बाइबल चलाउनसक्ने क्षमताको प्रशंसा गरे।
कोलिजियन्टहरूले जति धेरै बाइबल अध्ययन गर्दै गए त्यति नै तिनीहरूको विश्वास प्रमुख चर्चहरूको भन्दा भिन्न हुँदै गयो। सत्रौं देखि २० औं शताब्दीका केही स्रोतहरू तिनीहरूले अंगालेका केही विश्वासबारे बताउँछन्।
प्रारम्भिक चर्च। प्रारम्भिक चर्च सम्राट कन्सटनटाइनको समयमा राजनीतिमा मुछिन थालेपछि ख्रीष्टसँगको करार भंग भयो तथा पवित्र आत्माबाट प्रेरित हुन पनि छोडे भनी १६४४ मा एक कोलिजियन्ट तथा धर्मविद् आदम बोरिलले लेखे। फलस्वरूप तिनले अझ यसो भने, झूटा उपासनाको वृद्धि भयो र यो आजसम्मै व्याप्त छ।
धार्मिक सुधार। लुथर तथा क्यालभिनको नेतृत्वमा १६ औं शताब्दीमा चर्चमा त्यति धेरै धार्मिक सुधार भएनन्। बरु, प्रख्यात कोलिजियन्ट तथा चिकित्सक ग्यालिनस अब्राहाम्स्जनअनुसार (१६२२-१७०६) धार्मिक सुधारको कारण चर्चमा कलह तथा घृणा व्याप्त भयो। साँचो धार्मिक सुधारले हृदय परिवर्तन गर्नुपर्ने हो र ती सुधारकहरू त्यही कुरामा विफल भए।
चर्च तथा पादरी। स्थापित चर्च भ्रष्ट, सांसारिक तथा ईश्वरीय अख्तियारबाट टाढिएका थिए। धर्मलाई गम्भीरतापूर्वक लिने जो कोहीले पनि जानाजानी पापमा सहभागी नहुने हो भने आफ्नो चर्च छोड्नु नै बेस हुन्छ। पादरीहरूको कार्यालयले धर्मशास्त्र विपरीत कामकुराहरू गरिरहेको छ र यो “मसीही मण्डलीको आध्यात्मिक हितको निम्ति हानिकारक” छ भनी कोलिजियन्टहरूले भने।
परमेश्वरको राज्य तथा प्रमोदवन। आमर्स्टडाम कलेजका एक संस्थापक डानियल डि ब्रिनले (१५९४-१६६४) ख्रीष्टको राज्य मानिसको हृदयमा हुने आध्यात्मिक अवस्था होइन भनी बताए। रोटरडामका कोलिजियन्ट शिक्षक जेकब ओस्टेन्सले “कुलपिताहरू पार्थिव प्रमोदवनको प्रतिक्षामा थिए” भनी बताए। त्यस्तैगरि कोलिजियन्टहरू पनि पृथ्वी प्रमोदवनमा परिणत हुने समयको प्रतिक्षामा थिए।
त्रिएक। केही प्रमुख कोलिजियन्टहरूले सोसिनियनहरूको विश्वासबाट प्रभावित भई त्रिएकको शिक्षा अस्वीकार गरे।c उदाहरणका लागि, डानियल ज्वीकरले (१६२१-७८) तर्कभन्दा विपरीत कुनै पनि सिद्धान्त जस्तै त्रिएक “असम्भव र झूटा” हो भनी लेखे। कोलिजियन्ट राइनर रुलाउले १६९४ मा आफ्नै बाइबल संस्करण प्रकाशित गरे। यूहन्ना १:१ को पछिल्लो भाग “औ वचन परमेश्वरनै थियो” भनी अनुवाद गर्नुको साटो “औ वचन देवतानै थियो” भनी अनुवाद गरे।d
साप्ताहिक सभाहरू
सबै कोलिजियन्टहरूको विश्वास एउटै नभए तापनि विभिन्न शहरमा तिनीहरूको कलेजको सञ्चालन प्रायः एउटै तरिकामा हुन्थ्यो। कोलिजियन्टहरू स्थापना भएको सुरुसुरुतिर सभाहरूको निम्ति पहिल्यै तयार गरिंदैनथ्यो भनी इतिहासकार भ्यान स्ली बताउँछन्। सबैले “अगमवाणी” बोल्नुपर्ने भन्ने पावलका शब्दहरूको आधारमा सबै पुरुषहरूले कलेजमा बोल्न पाउँथे। (१ कोरिन्थी १४:१, ३, २६) फलस्वरूप, सभाहरू रातभरि पनि चल्थ्यो र उपस्थित कोही कोही “मस्त निदाउँथे।”
पछि सभाहरू अझ व्यवस्थित हुन थाले। कोलिजियन्टहरू आइतबार मात्र होइन तर हप्ताको अन्य दिन पनि साँझमा भेला हुन थाले। त्यस वर्षका सभाहरूको निम्ति वक्ता तथा मण्डलीका सबैले पहिल्यै तयार पार्न सकोस् भनी छलफल गरिने बाइबल पदहरू तथा वक्ताको नाउँहरू कार्यक्रममा प्रकाशित गरिन्थ्यो। सभाको थालनी गीत तथा प्रार्थनाद्वारा गरेपछि वक्ताले बाइबल पदहरू व्याख्या गर्थे। आफ्नो भाषण सकेपछि वक्ताले छलफल गरिएको विषयमाथि टिप्पणी गर्न आमन्त्रित गर्थे। त्यसपछि दोस्रो वक्ताले सोही पदहरू कसरी लागू हुन्छ देखाउँथे। प्रार्थना तथा गीतद्वारा सभाको समापन गरिन्थ्यो।
फ्राइजल्याण्ड प्रान्तको हार्लिगन शहरका कोलिजियन्टहरूले सभाहरू समयमै सिध्याउन एउटा राम्रो तरिका अपनाएका थिए। निर्धारित समयभन्दा बढी बोल्ने वक्ताले सानो जरिवाना तिर्नुपर्थ्यो।
राष्ट्रिय सभाहरू
कोलिजियन्टहरूले ठूलठूला सभाहरू गर्नुपर्ने आवश्यकता पनि देखे। अतः १६४० देखि देशभरिका कोलिजियन्टहरू वर्षको दुई चोटि (वसन्त र गर्मी याममा) राइन्सबर्गमा भेला हुन्थे। यस्ता जमघटहरूद्वारा तिनीहरूले “टाढा टाढाका आफ्ना भाइहरूको विचार, भावना, विश्वास तथा क्रियाकलापसित परिचित हुने” मौका पाए भनी इतिहासकार फिक्स् लेख्छन्।
कोही कोलिजियन्टहरूले गाउँलेहरूको कोठा भाडामा लिन्थे भने कोही चाहिं ३० वटा कोठा भएको कोलिजियन्टहरूको ग्रोटे होस वा हवेलीमा बस्थे। त्यहाँ ६० देखि ७० जनालाई एकै चोटि खाना दिइन्थ्यो। बेलुकीको भोजनपछि हवेलीको ठूलो बगैंचामा टहलेर ‘परमेश्वरको सृष्टिबाट आनन्द उठाउने, कुराकानी गर्ने वा आध्यात्मिक कुरामा मनन गर्न सक्थे।’
सबै कोलिजियन्टहरूको निम्ति बप्तिस्मा महत्त्वपूर्ण नभए तापनि थुप्रैले बप्तिस्मा लिए। अतः ठूला जमघटहरूमा बप्तिस्मा पनि एउटा भाग हुनथाल्यो। इतिहासकार भ्यान स्लीअनुसार यो समारोह अक्सर शनिबार बिहान हुन्थ्यो। गीत तथा प्रार्थनापछि डुबुल्की लिनुको महत्त्वबारे भाषण दिइन्थ्यो। अनि वक्ताले बप्तिस्मा लिन चाहनेहरूलाई “म जीवित परमेश्वरका पुत्र येशू ख्रीष्टमा विश्वास गर्छु” भनी आफ्नो विश्वास स्वीकार्न आमन्त्रित गर्थे। प्रार्थनाद्वारा भाषण अन्त गरेपछि उपस्थित सबै बप्तिस्मा गर्ने ठाउँमा जान्थे र पुरुष तथा स्त्रीहरू घुँडा टेकेर बस्थे र पानी तिनीहरूको कुमसम्म पुग्थ्यो। अनि बप्तिस्मा दिने व्यक्तिले बिस्तारै नयाँ विश्वासीको टाउको पानीमा डुबाउँथ्यो। त्यस समारोहपछि सबै अर्को भाषणको निम्ति आ-आफ्नो ठाउँमा फर्कन्थे।
शनिबार साँझ पाँच बजे चाहिं छोटो बाइबल पढाइ, गीत तथा प्रार्थनाद्वारा सभाको महत्त्वपूर्ण भाग सुरु हुन्थ्यो। वक्ताहरूको अभाव नहोस् भनी रोटरडाम, लाइडेन, आमर्स्टडाम तथा उत्तर हल्याण्डले पालैपालो हरेक सभाको निम्ति वक्ताहरूको प्रबन्ध मिलाउँथे। आइतबार बिहान चाहिं प्रभुको साँझको भोज मनाइन्थ्यो। भाषण, प्रार्थना तथा गीतपछि पुरुषहरू अनि स्त्रीहरूले रोटी तथा दाखमद्य खान्थे। आइतबार साँझ अझ धेरै भाषणहरू दिइन्थ्यो अनि सोमबार बिहान अन्तिम भाषणको निम्ति सबै भेला हुन्थे। यस्ता अधिवेशनहरूमा दिइएका अधिकांश भाषणहरू व्यवहारिक हुनुका साथै व्यवहारिकतामाथि जोड दिइन्थ्यो।
राइन्सबर्गका गाउँलेहरू यस्ता भेटहरू खुसीसाथ आयोजना गर्थे। अठारौं शताब्दीका टिप्पणीकारअनुसार त्यहाँ ओइरिएका अतिथिहरूले खाना तथा पेयपदार्थमा निकै पैसा खर्च गर्थे जसले गर्दा गाउँलेहरूको राम्रो आम्दानी हुन्थ्यो। यसबाहेक हरेक अधिवेशनपछि कोलिजियन्टहरूले राइन्सबर्गका गरिबहरूलाई चन्दा दिन्थे। यस्ता सभाहरू १७८७ देखि बन्द हुँदा निस्सन्देह गाउँलेहरूले क्षति महसुस गरे। त्यसपछि कोलिजियन्टहरू हराउन थाले। कसरी?
तिनीहरू किन हराए
सत्रौं शताब्दीको अन्तसम्म धर्ममा तर्कको भूमिकाबारे विवाद हुनथाल्यो। केही कोलिजियन्टहरूले ईश्वरीय प्रकाशभन्दा मानव तर्कलाई बढी महत्त्व दिनुपर्छ भन्न थाले तर अरू सहमत भएनन्। अन्ततः यही विवादले गर्दा सम्पूर्ण कोलिजियन्टहरूमा विभाजन भयो। यस विवादका दुई पक्षका प्रमुख व्यक्तिहरूको मृत्युपछि मात्र कोलिजियन्टहरूमा पुनः एकता भयो। तैपनि यस विभाजनपछि तिनीहरू “कहिल्यै पहिलाको जस्तो हुन सकेनन्” भनी इतिहासकार फिक्स् टिप्पणी गर्छन्।
अठारौं शताब्दीका प्रोटेस्टेन्ट चर्चहरू सहिष्णु हुनु पनि कोलिजियन्टहरू हराउनुको एउटा कारण हो। कोलिजियन्टहरूको तर्कशक्ति तथा सहिष्णुताको सिद्धान्त अधिकांशले स्वीकार्न थालेपछि “कुनै समय कोलिजियन्टहरूको अलग्गै बल्ने एक्लो चहकिलो ज्योति अन्य समूहहरूसित मिसिन थाल्यो।” अठारौं शताब्दीको अन्तसम्ममा अधिकांश कोलिजियन्टहरू मेनोनाइट्स तथा अन्य धार्मिक समूहहरूसित छ्यासमिस भइसकेका थिए।
सबै कोलिजियन्टको विचार एउटै होस् भन्ने धारणा नभएको कारण तिनीहरूको मान्छेपिच्छे फरक फरक विचारहरू हुन्थ्यो। तिनीहरूले त्यो कुरा स्वीकारे र अतः प्रेरित पावलले मसीहीहरूलाई सल्लाह दिएझैं “सबैले एउटै कुरा” बोल्ने दाबी गरेनन्। (१ कोरिन्थी १:१०) तथापि, त्यति नै बेला कोलिजियन्टहरू आधारभूत मसीही विश्वासहरूमा एकता हुने दिनको पर्खाइमा थिए।
कोलिजियन्टहरूको समयमा सही ज्ञान नभएको तथ्यलाई विचार गर्ने हो भने तिनीहरूले आजका थुप्रै धर्महरूको निम्ति उदाहरणीय नमुना बसाले। (दानियल १२:४ तुलना गर्नुहोस्।) तिनीहरूले बाइबल अध्ययनलाई जोड दिनु प्रेरित पावलको यस सल्लाहअनुरूप थियो: “सबै कुराको जाँच गर।” (१ थिस्सलोनिकी ५:२१) लामो समयदेखि विश्वास गर्दै आएको धार्मिक विश्वास तथा प्रचलनहरू बाइबल आधारित होइन भनी थाह पाए। यो थाह व्यक्तिगत बाइबल अध्ययनबाट याकोबस् आर्मिनस तथा अरूले पाएपछि तिनीहरूले प्रमुख धर्महरूभन्दा भिन्न हुने आँट गरे। के तपाईंले पनि त्यसै गर्नुहुन्थ्यो?
[फुटनोटहरू]
a सन् १६१० मा धर्मसिद्धान्तका विरोधीहरूले डच शासकलाई औपचारिक विरोधपत्र पठाएका थिए। सोही घटनापछि तिनीहरूलाई कट्टर विरोधीहरू अर्थात् रिमोन्सट्रान्ट भनिन थालिएको हो।
b यस स्थानले गर्दा कोलिजियन्टहरूलाई राइन्सबर्गहरू पनि भनिन्थ्यो।
c नोभेम्बर २२, १९८८ को ब्यूँझनुहोस्!-को (अंग्रेजी) पृष्ठ १९ मा “सोसिनियनहरू—तिनीहरूले किन त्रिएकको शिक्षा इन्कार गरे?” हेर्नुहोस्।
d Het Nieuwe Testament van onze Heer Jezus Christus, uit het Grieksch vertaald door Reijnier Rooleeuw, M.D. (हाम्रो प्रभु येशू ख्रीष्टको नयाँ अनुवाद, राइनर रुलाउ, एम.डि.-ले युनानीबाट गरेको अनुवाद)
[पृष्ठ २४-मा भएको चित्र]
रेमब्रान्डट भ्यान राइन
[पृष्ठ २६-मा भएका चित्रहरू]
कोलिजियन्टहरूको सुरुआत भएको वरर्मडनको गाउँ तथा बप्तिस्मा लिने डे भिलेट नदी
[पृष्ठ २३-मा भएको चित्रको स्रोत]
पृष्ठभूमि: साभार, American Bible Society Library, New York