प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w99 ५/१५ pp. १०-१५
  • यहोवाले हामीलाई उहाँको मार्ग देखाओस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाले हामीलाई उहाँको मार्ग देखाओस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाले बाटो देखाउनुहुन्छ
  • कोही कोही यहोवाको बाटोमा हिंडे
  • किन कोही कोहीले यहोवाको मार्ग त्यागे
  • आहाजको खराब उदाहरण
  • मिश्रमा यहूदीहरूसित यर्मिया
  • यहोवाको मार्गमा हिंड्‌नेलाई उहाँ आशिष्‌ दिनुहुन्छ
  • झूटा ईश्‍वरहरूका विरुद्धमा साक्षीहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • के तपाईं परमेश्‍वरसित हिंड्‌नुहुनेछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • यहोवाको मार्गमा हिंडिरहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
w99 ५/१५ pp. १०-१५

यहोवाले हामीलाई उहाँको मार्ग देखाओस्‌

“परमेश्‍वरको मार्ग सिद्ध छ, परमप्रभुको वचन जाँचमा पक्का ठहरियो।”—२ शमूएल २२:३१.

१, २. (क) सबै मानिसहरूले कुन आधारभूत आवश्‍यकता महसुस गर्छन्‌? (ख) हामीले कसको उदाहरण अनुकरण गर्नु बेस हो?

सारा मानिसजातिलाई डोऱ्‍याइको खाँचो छ। निस्सन्देह, हामी सबैलाई जीवनमा डोऱ्‍याइ चाहिन्छ। हो, यहोवाले हामी सबैलाई बुद्धि र असल खराब छुट्याउने मदतको लागि अन्तस्करण दिनुभएको छ। तर हाम्रो अन्तस्करणबाट भरपर्दो डोऱ्‍याइ पाउन त्यसलाई प्रशिक्षण दिनु खाँचो छ। (हिब्रू ५:१४) सही निर्णय गर्न सही जानकारीको साथै त्यो जानकारी केलाउनसक्ने प्रशिक्षण पनि चाहिन्छ। (हितोपदेश २:१-५) तैपनि जीवनको अनिश्‍चितताले गर्दा हामीले चाहेजस्तो निर्णय गर्न सकिरहेका हुँदैनौं। (उपदेशक ९:११) भविष्य कस्तो छ भनेर हामी आफ्नै भरमा थाह पाउन सक्दैनौं।

२ यी र अन्य थुप्रै कारणहरूले गर्दा अगमवक्‍ता यर्मियाले यसप्रकार लेखे: “हे परमप्रभु, मलाई थाह छ, कि मानिसहरूको मार्ग त्यो आफैमा छैन। आफ्नो पाइलालाई ठीक मार्गमा हिँड़ाउने शक्‍ति मानिसमा छैन।” (यर्मिया १०:२३) अहिलेसम्म बाँचेकाहरूमध्ये सबैभन्दा महान्‌ पुरुष येशू ख्रीष्टले निर्देशन पालन गर्नुभयो। उहाँले यसो भन्‍नुभयो: “पिताले जे गर्नुहुन्छ, त्यो नदेखेसम्म पुत्र आफैले केही गर्नसक्‍तैन, किनभने उहाँ जे गर्नुहुन्छ, पुत्रले पनि तिनै काम त्यही किसिमले गर्छ।” (यूहन्‍ना ५:१९) त्यसकारण येशूको अनुकरण गर्दै यहोवाको डोऱ्‍याइ माग्नु एकदमै बुद्धिमानी कुरा हो! राजा दाऊदले यस्तो भजन गाए: “परमेश्‍वरको मार्ग सिद्ध छ, परमप्रभुको वचन जाँचमा पक्का ठहरियो, उहाँमा शरण लिनेहरूका निम्ति उहाँ ढाल हुनुहुन्छ।” (२ शमूएल २२:३१) आफ्नै बुद्धिले हिंड्‌नुको साटो यहोवाको मार्गमा हिंड्यौं भने हामीले भरपर्दौ डोऱ्‍याइ पाउनेछौं। परमेश्‍वरको मार्ग तिरस्कार गर्दा विपत्ति आइपर्छ।

यहोवाले बाटो देखाउनुहुन्छ

३. यहोवाले आदम र हव्वालाई कसरी डोऱ्‍याउनुभयो र कस्ता प्रत्याशाहरू दिनुभयो?

३ आदम र हव्वाको उदाहरणलाई लिनुहोस्‌। तिनीहरू पापरहित थिए तर निर्देशन चाहिन्थ्यो। अदनको सुन्दर बगैंचामा सबै कामकुराको योजना बनाउने काम यहोवाले आदमकै जिम्मामा छोड्‌नुभएन। तर परमेश्‍वरले आदमलाई काम अह्राउनुभयो। सर्वप्रथम, आदमले पशुहरूको नाउँ राख्नु परेको थियो। त्यसपछि परमेश्‍वरले आदम र हव्वाको लागि चिरकालीन लक्ष्यहरू दिनुभयो। तिनीहरूले आफ्नो सन्तानले पृथ्वी भरेर पृथ्वीका सबै जीवित प्राणीहरूको हेरचाह गर्नुपर्थ्यो। (उत्पत्ति १:२८) यो कुनै सानोतिनो काम थिएन तर समयको दौडान समस्त पृथ्वी प्रमोदवनमा परिणत हुनेथियो र सम्पूर्ण सिद्ध मानवजाति र पशुप्राणी मिलीजुली बस्नेथिए। यो एकदमै राम्रो प्रत्याशा थियो! साथै, आदम र हव्वा यहोवा परमेश्‍वरप्रति आज्ञाकारी हुँदै उहाँसित कुराकानी गर्न सक्नेथिए। (उत्पत्ति ३:८ तुलना गर्नुहोस्‌।) सृष्टिकर्तासित चिरकालीन व्यक्‍तिगत सम्बन्ध कायम गर्न पाउनु एकदमै अद्‌भुत सुअवसर थियो!

४. आदम र हव्वाले कसरी धोका दिए र अवफादार भए अनि कस्तो विपत्तिजनक परिणाम भयो?

४ यहोवाले प्रथम मानव जोडीलाई अदनको बगैंचामा भएको असल र खराबको बोटको फल खान निषेध गर्नुभयो, यसले तिनीहरूलाई यहोवाको मार्गमा हिंड्‌ने इच्छा अर्थात्‌ आज्ञाकारीता झल्काउने मौका प्रदान गऱ्‍यो। (उत्पत्ति २:१७) तर चाँडै त्यो आज्ञाकारीताको जाँच भयो। छली शब्दहरू प्रयोग गरेर शैतानले बहकाउन खोज्दा आदम र हव्वाले यहोवाप्रति वफादारी देखाउनुपर्ने थियो। आज्ञाकारी रहिरहने हो भने उहाँका प्रतिज्ञाहरूमा भरोसा देखाउनुपर्ने थियो। दुःखको कुरा, तिनीहरू वफादार रहेनन्‌ अनि यहोवाप्रति भरोसा राखेनन्‌। शैतानले हव्वालाई स्वतन्त्र हुने प्रलोभन देखाउँदा यहोवाले झूट बोल्नुभएको आरोप लगाए। उनी बहकाउमा परिन्‌ र परमेश्‍वरप्रति अनाज्ञाकारी भइन्‌। आदम पनि उनको पछि लागेर पापमा मुछिए। (उत्पत्ति ३:१-६; १ तिमोथी २:१४) परिणामस्वरूप तिनीहरूले ठूलो क्षति भोग्नुपऱ्‍यो। यहोवाको मार्गमा हिंडेर उहाँको उद्देश्‍य पूरा गर्दै जाँदा तिनीहरूको आनन्द झन्‌ झन्‌ बढ्‌दै जानेथियो। तर त्यसो नभएर तिनीहरूको जीवन निराशा र पीडाले भरियो अनि अन्तमा मृत्युका दास भए।—उत्पत्ति ३:१६-१९; ५:१-५.

५. यहोवाको दीर्घकालीन उद्देश्‍य के हो र त्यो पूरा गर्न उहाँले विश्‍वासी मानवहरूलाई कसरी मदत गर्नुहुन्छ?

५ तैपनि, यस पृथ्वी सिद्ध, पापरहित मानिसहरूका लागि प्रमोदवन हुनेछ भन्‍ने आफ्नो उद्देश्‍य यहोवाले बदल्नुभएन। (भजन ३७:११, २९) अनि उहाँको मार्गमा हिंड्‌ने र सुरुको प्रतिज्ञा पूरा भएको हेर्ने आशा राख्ने मानिसहरूलाई डोऱ्‍याइ प्रदान गर्न छोड्‌नुभएको छैन। सुन्‍ने कान भएको हामी प्रत्येकलाई यहोवाको आवाजले सधैं यसो भनिरहन्छ: “बाटो यही हो, यसैमा तिमीहरू हिँड़।”—यशैया ३०:२१.

कोही कोही यहोवाको बाटोमा हिंडे

६. पुरातन समयमा यहोवाको मार्गमा हिंड्‌ने दुई जना पुरुषहरू को थिए र परिणाम कस्तो भयो?

६ बाइबलको विवरणअनुसार आदम र हव्वाका सन्तानहरूमध्ये थोरै मात्र यहोवाको बाटोमा हिंडे। यिनीहरूमध्ये पहिलो व्यक्‍ति हाबिल थियो। तिनको असामयिक मृत्यु भए तापनि यहोवाको अनुग्रह पाएरै मरे र यसैकारण परमेश्‍वरले तोक्नुभएको समयमा “धर्मी[को] . . . पुनरुत्थान” हुँदा तिनको पनि हुनेछ। (प्रेरित २४:१५) तिनले पृथ्वी र मानवजातिको लागि यहोवाको महान्‌ उद्देश्‍य पूरा भएको देख्नेछन्‌। (हिब्रू ११:४) यहोवाको मार्गमा हिंड्‌ने अर्को व्यक्‍ति हनोक थिए। तिनले यस रीतिरिवाजको अन्तबारे गरेको भविष्यवाणी यहूदाको पुस्तकमा लिपिबद्ध छ। (यहूदा १४, १५) हनोकको पनि असामयिक मृत्यु भयो। (उत्पत्ति ५:२१-२४) तैपनि, “उनले परमेश्‍वरलाई रिझाएका थिए भन्‍ने उनको गवाही भएको थियो।” (हिब्रू ११:५) तिनको मृत्युपछि हाबिलजस्तै पुनरुत्थान हुने आशा पाए र यहोवाको उद्देश्‍य पूरा भएको हेर्नेहरूमध्ये हुनेछन्‌।

७. नूह र तिनको परिवारले कसरी यहोवाप्रति वफादारी र भरोसा देखाए?

७ जलप्रलयअघिको संसार दुष्टतामा खस्कँदै जाँदा यहोवाप्रति वफादार हुनु झन्‌ झन्‌ गाह्रो हुन थाल्यो। त्यो संसार अन्त हुनुअघि यहोवाको मार्गमा हिंड्‌नेहरू थोरै मात्र थियो। नूह र तिनको परिवारले यहोवाको कुरा सुने अनि उहाँमा भरोसा राखे। तिनीहरूले आफूलाई अह्राइएको काम पूरा गरे अनि त्यतिबेलाको संसारका दुष्ट प्रचलनहरूमा लोभिन इन्कार गरे। (उत्पत्ति ६:५-७, १३-१६; हिब्रू ११:७; २ पत्रुस २:५) तिनीहरूको वफादारी र आज्ञाकारीताको लागि हामी कृतज्ञ हुनसक्छौं। यसैले गर्दा जलप्रलयमा तिनीहरूको विनाश भएन र हाम्रा पुर्खाहरू भए।—उत्पत्ति ६:२२; १ पत्रुस ३:२०.

८. परमेश्‍वरको मार्गमा हिंड्‌न इस्राएल राष्ट्रले के गर्नुपर्ने थियो?

८ समय बित्दै जाँदा यहोवाले विश्‍वासी याकूबका सन्तानहरूसित करार बाँध्नुभयो र तिनीहरू एउटा विशेष जाति भए। (प्रस्थान १९:५, ६) आफूले करार बाँध्नुभएका मानिसहरूलाई यहोवाले लिखित व्यवस्था, पूजाहारीवर्ग र अटुट भविष्यसूचक डोऱ्‍याइ मार्फत निर्देशन प्रदान गर्नुभयो। तर त्यो निर्देशन पालन गर्ने या नगर्ने जिम्मा इस्राएलीहरूकै हातमा थियो। यहोवाले आफ्नो अगमवक्‍ता मार्फत इस्राएलीहरूलाई यसो भन्‍नुभएको थियो: “हेर, आज म तिमीहरूका सामने आशिष र अभिशाप राख्तैछु। आज मैले तिमीहरूलाई आदेश गरेका परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू पालन गऱ्‍यौ भने आशिष पाउनेछौ। औ परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू नसुनेर तिमीहरूले नजानेका अन्य देवताहरूका पछि लागेर आज मैले आदेश गरेका मार्गबाट तर्क्यौ भने तिमीहरूले सराप पाउनेछौ।”—व्यवस्था ११:२६-२८.

किन कोही कोहीले यहोवाको मार्ग त्यागे

९, १०. कस्तो अवस्थाले गर्दा इस्राएलीहरूले यहोवामाथि भरोसा गरेर उहाँप्रति वफादार हुनुपऱ्‍यो?

९ आज्ञाकारी हुने हो भने इस्राएलीहरू पनि आदम र हव्वाजस्तै परमेश्‍वरमा भरोसा राख्दै उहाँप्रति वफादार हुनुपर्ने थियो। इस्राएल एउटा सानो राष्ट्र थियो र चारैतिर झगडालु छिमेकीहरू थिए। दक्षिणपश्‍चिममा मिश्र र इथियोपिया थियो। उत्तरपूर्वमा सिरिया र अश्‍शूर थियो। नजिकै पलिस्ती, अम्मोन, मोआब र एदोम थियो। कुनै न कुनै समय यी सबै इस्राएलको शत्रु साबित भएका थिए। यसबाहेक ती सबै राष्ट्रहरूको धर्म खास फरक थिएन। तिनीहरू सबै मूर्तिपूजा, ज्योतिषविद्यामा लागेका थिए भने कहिलेकाहीं त घिनलाग्दो यौन प्रचलनमा संलग्न हुनुका साथै केटाकेटीहरूको बलि चढाउँथे। इस्राएलका छिमेकीहरूले ठूलो परिवार, प्रशस्त कटनी र युद्धमा विजयको लागि यी देवहरूको मुख ताक्थे।

१० एक मात्र परमेश्‍वर, यहोवाको उपासना गर्ने इस्राएल मात्रै थियो। उहाँले तिनीहरू आज्ञाकारी भएको खण्डमा ठूलो परिवार, प्रशस्त उब्जनी र शत्रुहरूबाट सुरक्षा दिने प्रतिज्ञा गर्नुभयो। (व्यवस्था २८:१-१४) तर दुःखको कुरा, इस्राएलका थुप्रैले त्यसो गरेनन्‌। अनि यहोवाको मार्गमा हिंड्‌नेहरूले आफ्नो वफादारीको कारण दुःख भोग्नुपऱ्‍यो। कोही कोहीले शासना भोगे, गिल्ला खपे, कोर्राको पिटाइ खाए, थुनामा परे अनि संगी इस्राएलीहरूको हातमा मृत्युसमेत भोगे। (प्रेरित ७:५१, ५२; हिब्रू ११:३५-३८) विश्‍वासी व्यक्‍तिहरूको लागि त्यो निकै ठूलो परीक्षा भएको हुनुपर्छ! तर यहोवाको मार्गबाट त्यति धेरै मानिसहरू किन तर्किए? इस्राएलको इतिहासको दुइटा उदाहरणले हामीलाई तिनीहरूको गलत सोचाइ बुझ्न मदत गर्छ।

आहाजको खराब उदाहरण

११, १२. (क) अरामबाट खतरा आइपर्दा आहाजले के गर्न इन्कार गरे? (ख) आहाजले सुरक्षाको लागि कुन दुइटा स्रोतको मुख ताके?

११ आहाजले सा.यु.पू. आठौं शताब्दीमा यहूदाको दक्षिणी राज्यमाथि शासन गरे। तिनको शासन शान्तिमय थिएन। एक चोटि सिरिया र इस्राएलको उत्तरी राज्य मिलेर आहाज विरुद्ध उठे अनि “तिनी र तिनका प्रजाको मन पनि कामे।” (यशैया ७:१, २) तथापि, यहोवाले मदत दिने प्रस्तावका साथै उहाँलाई जाँचेर हेर्ने निमन्त्रणा दिनुहुँदा आहाजले ठाडै इन्कार गरे! (यशैया ७:१०-१२) फलस्वरूप, यहूदाको हार भयो अनि निकै धनजनको क्षति भोग्नुपऱ्‍यो।—२ इतिहास २८:१-८.

१२ आहाजले यहोवालाई जाँच्न चाहेनन्‌ तर अश्‍शूरका राजासित मदत माग्न भने पछि परेनन्‌। तैपनि, यहूदाले आफ्ना छिमेकीहरूको हातमा दुःख भोगिरहे। अश्‍शूरका राजाले आहाजको विरोध गरेर “तिनलाई कष्ट” दिन थालेपछि राजाले “आफूलाई परास्त गर्ने दमीशकका देवताहरूलाई बलिदान चढ़ाएर भने, ‘अरामका राजाहरूका देवताहरूले तिनीहरूलाई सहायता गरे। तिनीहरूले मलाई सहायता गरून्‌ भनी म पनि तिमीहरूलाई बलिदान चढ़ाउनेछु।’ ”—२ इतिहास २८:२०, २३.

१३. अरामका देवहरूको मदत खोजेर आहाजले के देखाए?

१३ केही समयपछि यहोवाले इस्राएललाई यसो भन्‍नुभयो: “म परमप्रभु तेरा परमेश्‍वर हुँ, जसले तेरो फायदाको निम्ति तँलाई सिकाउँछ। जसले तँ जाने बाटोमा तँलाई डोऱ्‍याउँछ। यदि तैंले मेरा आज्ञाहरू पालन गरेको भएता तेरो शान्ति नदीझैं र तेरो धार्मिकता समुद्रका छालहरूझैं हुनेथियो!” (यशैया ४८:१७, १८) यसरी अरामका देशहरूको मदत माग्दा आहाजले तिनी ‘हिंड्‌नुपर्ने मार्गबाट कत्तिको तर्किएका रहेछन्‌’ भनी देखाए। तिनी अरू राष्ट्रहरूको पूरै बहकाउमा परे अनि सुरक्षाको लागि यहोवाको साटो झूटो स्रोतको मुख ताके।

१४. आहाजले झूटा देवहरूको मदत माग्नुको किन कुनै बहाना थिएन?

१४ अरामका लगायत अन्य राष्ट्रका देवहरू केही गर्न नसक्ने “मूर्तिहरू” थिए। (यशैया २:८) अरामी देवहरूभन्दा यहोवा सर्वश्रेष्ठ हुनुहुन्छ भनेर यसअघि राजा दाऊदको शासनकालमा स्पष्ट भइसकेको थियो। (१ इतिहास १८:५, ६) साँचो सुरक्षा दिन सक्नुहुने “ईश्‍वरहरूका ईश्‍वर र प्रभुहरूका परमप्रभु, महान्‌ परमेश्‍वर, शक्‍तिशाली र भययोग्य” यहोवा हुनुहुन्छ। (व्यवस्था १०:१७) तर आहाजले यहोवालाई तिरस्कार गरेर सुरक्षाको लागि अन्य राष्ट्रका देवहरूको मदत मागे। यसको परिणाम यहूदाको लागि विपत्तिजनक भयो।—२ इतिहास २८:२४, २५.

मिश्रमा यहूदीहरूसित यर्मिया

१५. यर्मियाको समयमा मिश्रका यहूदीहरूले कस्तो पाप गरे?

१५ आफ्ना जनहरू एकदमै अवफादार भएको हुँदा सा.यु.पू. ६०७ मा यहोवाले बेबिलोनीहरूको हातमा यरूशलेम र त्यसको मन्दिर विनाश हुन दिनुभयो। यो राष्ट्रका प्रायजसो मानिसहरू बेबिलोनमा निर्वासित भए। तर कोही भने निर्वासनमा लगिएनन्‌ र त्यसमध्ये यर्मिया पनि थिए। राज्यपाल गदल्याहको हत्यापछि यो समूह भागेर यरूशलेम गए र यर्मियालाई पनि सँगै लगियो। (२ राजा २५:२२-२६; यर्मिया ४३:५-७) त्यहाँ तिनीहरूले झूटा देवहरूलाई बलि चढाउन थाले। यर्मियाले ती अविश्‍वासी यहूदीहरूसित तर्क गरेर बुझाउन खोजे तर तिनीहरूले एकोहोरो जिद्दी गरे। तिनीहरू यहोवातिर फर्कन इन्कार गरे अनि “स्वर्गकी रानीको“ निम्ति धूप बाल्न नछोड्‌ने बताए। किन? किनभने तिनी र तिनीहरूका पुर्खाहरूले “यहूदाका शहरहरूमा र यरूशलेमका गल्लीहरूमा” त्यसै गरेका थिए र तिनीहरूले ‘भरपेट खान पाएका थिए, तिनीहरूको फलिफाप भएको थियो र तिनीहरूमाथि कुनै किसिमको विपत्ति आएको थिएन।’ (यर्मिया ४४:१६, १७) यहूदीहरूले यसो पनि भने: “तर स्वर्गकी रानीलाई धूप बाल्न र अर्घ चढ़ाउन छोड़ेपछि हामीलाई सबै किसिमको अभाव हुँदै आयो, औ तरवार र अनिकालद्वारा हामी भस्म हुँदै गयौं।”—यर्मिया ४४:१८.

१६. मिश्रका यहूदीहरूले कस्तो गलत तर्क गरे?

१६ मान्छेले आफूलाई मनपर्ने कुरा मात्र सम्झन खोज्छ, होइन र? वास्तवमा तथ्य के थियो? यहोवाले दिनुभएको मुलुकमा यहूदीहरूले झूटा देवहरूलाई बलि चढाएका थिए। आहाजको समयमा जस्तै कहिलेकाहीं तिनीहरूले धर्मत्यागको कारण दुःख भोगे। तथापि, यहोवा आफूले करार बाँध्नुभएका मानिसहरूसित “रीस गर्नमा ढीलो” हुनुभयो। (प्रस्थान ३४:६; भजन ८६:१५) उहाँले आफ्ना अगमवक्‍ताहरूलाई पठाएर तिनीहरूलाई पश्‍चात्ताप गर्न आग्रह गर्नुभयो। कहिलेकाहीं, राजा विश्‍वासी हुँदा यहोवाले आशिष्‌ दिनुभयो र प्रायजसो मानिसहरू अविश्‍वासी भए तापनि आशिष्‌बाट लाभ उठाए। (२ इतिहास २०:२९-३३; २७:१-६) मिश्रमा भएका यहूदीहरूले आफ्नो मातृभूमिमा आशिष्‌ पाउनुको कारण झूटा देवहरूको आशिष्‌ हो भन्ठान्‍नु एकदमै गलत कुरा थियो!

१७. यहूदाले आफ्नो भूमि र मन्दिर गुमाउनुको कारण के थियो?

१७ सा.यु.पू. ६०७ भन्दा अघि यहोवाले यहूदाका मानिसहरूलाई यो आग्रह गर्नुभएको थियो: “यो वचन पालन गर, र म तिमीहरूका परमेश्‍वर हुनेछु, औ तिमीहरू चाहिं मेरो प्रजा हुनेछौ। औ जुन मार्गको विषयमा म तिमीहरूलाई आज्ञा गर्दछु त्यसैमा हिँड़ र तिमीहरूको भलो हुनेछ।” (यर्मिया ७:२३) ‘यहोवाले आज्ञा गर्नुभएको मार्गमा हिंड्‌न’ इन्कार गरेको हुँदा यहूदीहरूले आफ्नो मन्दिर र भूमि गुमाउनुपऱ्‍यो। हामीले पनि त्यस्तो गल्ती नगरौं।

यहोवाको मार्गमा हिंड्‌नेलाई उहाँ आशिष्‌ दिनुहुन्छ

१८. यहोवाको मार्गमा हिंड्‌नेहरूले के गर्नुपर्छ?

१८ अहिले, विगतमा जस्तै यहोवाको मार्गमा हिंड्‌न वफादार हुनुपर्छ, उहाँको मात्रै सेवा गर्न कटिबद्ध हुनुपर्छ। यहोवामाथि भरोसा गर्नुपर्छ अर्थात्‌ उहाँका प्रतिज्ञाहरू भरपर्दा छन्‌ र ती अवश्‍य पूरा हुनेछन्‌ भन्‍ने पूर्ण विश्‍वास हुनुपर्छ। यहोवाको मार्गमा हिंड्‌न यताउता नतर्की उहाँको नियमकानुन र उहाँको उच्च स्तर पालन गर्ने आज्ञाकारीता चाहिन्छ। “परमप्रभु धर्मात्मा हुनुहुन्छ, उहाँ धर्म-कर्म निको मान्‍नुहुन्छ।”—भजन ११:७.

१९. आजकल थुप्रैले कुन ईश्‍वरको उपासना गर्छन्‌ र परिणाम के भएको छ?

१९ आहाजले सुरक्षाको लागि अरामका देवहरूको मुख ताके। मिश्रका इस्राएलीहरूले पुरातन मध्य पूर्वमा जताततै उपासना गरिने “स्वर्गकी रानीले” प्रशस्त धनसम्पत्ति दिनेछ भन्‍ने आशा गरे। आजकल मानिसहरूले मूर्ति मात्र होइन अरू थुप्रै कुराको उपासना गर्छन्‌। येशूले यहोवालाई त्यागेर “धनको” उपासना गर्ने विरुद्ध चेताउनी दिनुभयो। (मत्ती ६:२४) प्रेरित पावलले भने, “लोभ, जो मूर्तिपूजा हो।” (कलस्सी ३:५) तिनले त्यस्ता व्यक्‍तिहरूबारे बताए “जसको ईश्‍वर पेटै हो।” (फिलिप्पी ३:१९) हो, आजकल मानिहरूले उपासना गर्ने प्रमुख कुराहरू पैसा र भौतिक कुराहरू हुन्‌। भनौं भने, धार्मिक झुकाउ भएका थुप्रै मानिसहरूले पनि ‘अनिश्‍चित सम्पत्तिमा आशा’ राख्छन्‌। (१ तिमोथी ६:१७) यी देवहरूको सेवामा धेरैले निकै मेहनत गर्छन्‌ र केही इनाम पनि पाएका छन्‌। जस्तै, एकदमै राम्रो घर, महँगो चीजबीज अनि विलासी भोजनहरूको उपभोग गर्छन्‌। तर सबैले यस्तै सम्पन्‍नता उपभोग गर्न पाएका छैनन्‌। अनि ती सबै सुविधा पाइसकेपछि पनि सबैलाई त्यो पूर्णतया सन्तोषजनक लाग्दैन। ती स्थायी होइनन्‌ र आध्यात्मिक आवश्‍यकता पूरा गर्दैन।—मत्ती ५:३.

२०. हामीले कस्तो सन्तुलन कायम गर्नुपर्छ?

२० हो, यस अन्तिम रीतिरिवाजमा हामी व्यवहारिक भएर चल्नुपर्छ। हाम्रो परिवारको भौतिक आवश्‍यकताहरू प्रबन्ध गर्न व्यवहारिक कदम चाल्नुपर्छ। तर हामीले परमेश्‍वरको सेवा गर्नुभन्दा उच्च जीवनस्तर, पैसाको लोभ वा अरू त्यस्तै कुराहरूलाई बढी महत्त्व दिन थाल्यौं भने मूर्तिपूजामा फसेका हुनेछौं र यहोवाको मार्गमा हिंडिरहेका हुनेछैनौं। (१ तिमोथी ६:९, १०) तर स्वास्थ्य समस्या, आर्थिक वा अन्य समस्याहरू आइपर्दा के गर्ने? हामी मिश्रका यहूदीहरूजस्तो नहोऔं जसले परमेश्‍वरलाई सेवा गरेको कारण यस्ता विपत्तिहरू आइपरेको भनी उहाँलाई दोष दिए। आहाजजस्तो नभई बरु यहोवालाई जाँचौं। वफादार भई डोऱ्‍याइको लागि यहोवा परमेश्‍वरतिर फर्कौं। उहाँको डोऱ्‍याइमा भरोसा राखौं अनि हरेक अवस्था सामना गर्न बल तथा बुद्धिको लागि प्रार्थना गरौं। अनि निर्धक्क भएर यहोवाको आशिष्‌ पर्खौं।

२१. यहोवाको मार्गमा हिंड्‌नेहरूले कस्तो आशिष्‌ पाउँछन्‌?

२१ इस्राएलको इतिहासलाई हेर्दा यहोवाले उहाँको मार्गमा हिंड्‌नेहरूलाई प्रशस्त आशिष्‌ दिनुभयो। राजा दाऊदले यस्तो भजन गाए: “हे परमप्रभु, मेरा शत्रुहरूका कारणले गर्दा तपाईंको धार्मिकतामा मलाई डोऱ्‍याउनुहोस्‌।” (भजन ५:८) यहोवाले वरपरका राष्ट्रहरूमाथि तिनलाई विजयी तुल्याउनुभयो र यिनीहरूले नै पछि आहाजलाई दुःख दिए। सुलेमानको शासनकालमा इस्राएलमा शान्ति र संवृद्धि छाएको थियो अनि मिश्रका यहूदीहरूले पछि यस्तै सुखशान्तिको लालसा गरे। यहोवाले आहाजको छोरा, हिजकियाहलाई पराक्रमी अश्‍शूरीहरूमाथि विजयी तुल्याउनुभयो। (यशैया ५९:१) हो, ‘पापीहरूको मार्गमा खड़ा नहुने’ तर परमेश्‍वरको व्यवस्थामा प्रसन्‍न रहने भक्‍त जनहरूप्रति यहोवाले आफ्नो हात शक्‍तिहीन तुल्याउनुभएन। (भजन १:१, २) अहिले पनि कुरा त्यस्तै हो। त्यसोभए अहिले हामी यहोवाको मार्गमा हिंडिरहेका छौं भनेर कसरी पक्का हुनसक्छौं? यो प्रश्‍नको जवाफ यसपछिको लेखमा छलफल गरिनेछ।

के तपाईंलाई सम्झना छ?

◻ यहोवाको मार्गमा हिंड्‌न हामीसित कस्ता गुणहरू हुनु अत्यावश्‍यक छ?

◻ आहाजको सोचाइ किन गलत थियो?

◻ मिश्रका यहूदीहरूको तर्कमा के गल्ती थियो?

◻ यहोवाको मार्गमा हिंड्‌ने कटिबद्धतालाई हामी कसरी बलियो बनाउन सक्छौं?

[पृष्ठ १३-मा भएको चित्र]

आहाजले यहोवाको साटो अरामका देवहरूको मुख ताके

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने