प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w99 ५/१५ pp. २९-३१
  • शावल—प्रभुको निम्ति छानिएका पात्र

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • शावल—प्रभुको निम्ति छानिएका पात्र
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • शावलको पारिवारिक पृष्ठभूमि
  • शावलको शिक्षा
  • आफ्ना योग्यताहरूको सदुपयोग
  • येसु सावललाई रोज्नुहुन्छ
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • “मण्डलीमा शान्ति छायो”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
  • खेदो गर्ने व्यक्‍तिले तेजिलो ज्योति देख्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • “आज्ञापालन बलिदानभन्दा उत्तम हो”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
w99 ५/१५ pp. २९-३१

शावल—प्रभुको निम्ति छानिएका पात्र

टार्ससको शावल ख्रीष्टका अनुयायीहरूको घोर विरोधी थिए। तर प्रभुले तिनलाई पछि अर्कै काममा प्रयोग गर्नुहुने थियो। शावल जुन कुराको घोर विरोध गर्थे त्यसैको उल्लेखनीय प्रतिनिधि हुने थियो। येशूले यसो भन्‍नुभयो: “अन्यजातिहरू, राजाहरू र इस्राएलका सन्तानका सामु मेरो निम्ति मेरो नाउँ चलाउनालाई तिनी [शावल] एक छानिएका पात्र हुन्‌।”—प्रेरित ९:१५.

कृपा पाएर प्रभु येशू ख्रीष्टको छानिएका पात्र भएपछि अरूको “हानि गर्ने” शावलको जीवन पूर्णतया परिवर्तन भयो। (१ तिमोथी १:१२, १३) स्तिफनसलाई ढुंगा हान्‍न र येशूका चेलाहरूलाई आक्रमण गर्न उक्साउने शावलको जोस तिनी मसीही प्रेरित पावल बनेपछि एकदमै भिन्‍नै काममा प्रयोग गरियो। स्पष्टतः येशूले शावलका असल गुणहरू देख्नुभयो। कस्ता गुणहरू? शावल को थिए? तिनको पृष्ठभूमिले तिनलाई कसरी साँचो उपासना अघि बढाउने उपयुक्‍त व्यक्‍ति बनायो? के तिनको अनुभवबाट हामी केही सिक्नसक्छौं?

शावलको पारिवारिक पृष्ठभूमि

सा.यु. ३३ पेन्तिकोसको केही समयपछि स्तिफनसको हत्या हुँदा शावल “युवक” थिए। लगभग सा.यु. ६०-६१ तिर फिलेमोनलाई पत्र लेख्दा तिनी “बूढ़ा” थिए। (प्रेरित ७:५८; फिलेमोन ९) शास्त्रविद्‌हरूअनुसार, प्राचीन समयमा “युवक” भन्‍नाले २४ देखि ४० वर्षसम्मको हुनसक्थ्यो भने “बूढा” भन्‍नाले ५० देखि ५६ वर्षसम्म हुनसक्थ्यो। अतः येशू जन्मनुभएको केही समयपछि पावलको जन्म भएको हुनसक्छ।

त्यतिखेर यहूदीहरू संसारका विभिन्‍न ठाउँहरूमा बसोबास गर्थे। तिनीहरू अन्य देशहरूको कब्जामा परेर, दास र निर्वासित भएर, व्यापारको सिलसिलामा अनि स्वेच्छाले बसाइँ सरेर यहूदाबाट यत्रतत्र छरिएका थिए। तिनको परिवार त्यसरी यत्रतत्र छरिएको यहूदी भए तापनि तिनीहरू व्यवस्थाप्रति निष्ठावान्‌ छन्‌ भनेर जोड दिंदै शावलले यसो भने, “आठौं दिनमा मेरो खतना भएको हो। म इस्राएल जातिको बिन्यामीन कुलको, हिब्रूहरूको हिब्रू, व्यवस्थाको विषयमा हो भने, एक फरिसी।” आफ्नो कुलको प्रतिष्ठित व्यक्‍ति अर्थात्‌ इस्राएलका प्रथम राजाको नाउँअनुसारै शावलको हिब्रू नाउँ राखिएको थियो। जन्मले रोमी भएको हुनाले टार्ससको शावलको पौलुश भन्‍ने ल्याटिन नाउँ पनि थियो।—फिलिप्पी ३:५; प्रेरित १३:२१; २२:२५-२९.

शावल जन्मले रोमी हुनुको मतलब तिनका पूर्खाहरूमध्ये एक जनाले रोमी नागरिकता पाएका थिए। कसरी? यसका थुप्रै सम्भावनाहरू छन्‌। जन्मसिद्ध अधिकारको अलावा कुनै व्यक्‍ति वा समूहलाई कुनै योग्यताको कारण, राजनैतिक स्वार्थका लागि वा अधिराज्यको खातिर गरिएका कुनै उल्लेखनीय कार्यको निम्ति पनि नागरिकता दिइन्थ्यो। रोमी दासत्वबाट मुक्‍त हुनसक्ने अथवा रोमी नागरिकले बन्धनमुक्‍त गरेको व्यक्‍तिले रोमी नागरिक प्राप्त गर्थ्यो। त्यसैगरी लामो समयसम्म सेवा गरेर रोमी सेनाबाट अवकाशप्राप्त गरेका सिपाहीहरूले पनि रोमी नागरिकता प्राप्त गर्थे। रोमी उपनिवेशहरूमा बसोबास गर्ने स्थानीय बासिन्दाहरूले समयमा रोमी नागरिक प्राप्त गर्नसक्थ्यो। भनिन्छ, कुनै समयमा ठूलो रकम घूस दिएर पनि रोमी नागरिकता प्राप्त गर्न सकिन्थ्यो। शावलको परिवारले कसरी नागरिकता प्राप्त गरे, पक्कासँग भन्‍न सकिंदैन।

शावल रोमी प्रान्त सिलिसियाको (अहिले दक्षिण टर्कीमा) मुख्य शहर तथा राजधानी टार्ससका थिए भनेर हामीलाई थाह छ। त्यहाँ थुप्रै यहूदीहरू बसोबास गरे तापनि शावलको जीवन अन्यजातिहरूको संस्कृतिद्वारा पनि प्रभावित भएको थियो। टार्सस युनानीवादका लागि प्रसिद्धि कमाएको विशाल अनि समृद्ध शहर थियो। त्यहाँ प्रथम शताब्दीमा ३,००,००० देखि ५,००,००० जति जनसंख्या थियो भन्‍ने अनुमान लगाइएको छ। यो एसिया माइनर, सिरिया अनि मेसोपोटामियाको राजमार्गमा अवस्थित व्यापारिक केन्द्र थियो। व्यापार तथा अनाज, दाखमद्य अनि सुती कपडा उत्पादन हुने वरिपरिका उर्वर तराईले गर्दा टार्सस समृद्ध भएको थियो। त्यहाँ फस्टाउँदै गएको कपडा उद्योगले बाख्राको भुत्लाबाट कपडा उत्पादन गर्थ्यो र ती कपडाद्वारा पालहरू बनाइन्थ्यो।

शावलको शिक्षा

शावल अथवा पावलले पाल बनाउने काम गरेर आफ्नो जीवन धान्‍ने अनि मिसनरी कार्यमा टेवा पुऱ्‍याउने प्रबन्ध आफै मिलाए। (प्रेरित १८:२, ३; २०:३४) तिनी बसोबास गरेको टार्सस शहरमा पाल बनाउने काम सामान्य थियो। शावलले जवान छँदा नै आफ्नो बुबाबाट पाल बनाउने काम सिकेको हुनुपर्छ।

शावलको भाषाज्ञान राम्रो थियो। खासगरी तिनी रोमन साम्राज्यका जनसाधारणले बोल्ने युनानी भाषामा दक्ष थिए र त्यो तिनको मिसनरी कार्यमा मूल्यवान साबित भयो। (प्रेरित २१:३७–२२:२) तिनका लेखोटहरू विश्‍लेषण गर्ने व्यक्‍तिहरूअनुसार तिनी युनानी भाषामा पोख्त थिए। तिनले प्रयोग गरेका शब्दावलीहरू शास्त्रीय वा साहित्यिक नभएर तिनले अक्सर उद्धरण गर्ने हिब्रू धर्मशास्त्रको युनानी अनुवाद सेप्टुआजिन्ट जस्ता छन्‌। यो प्रमाणको आधारमा थुप्रै शास्त्रविद्‌हरू शावलले सम्भवतः यहूदी पाठशालामा युनानी भाषामा राम्रो प्राथमिक शिक्षा हासिल गरेका थिए भन्‍ने अड्‌कल काट्‌छन्‌। “प्राचीन समयमा विशेषगरि युनानी भाषामा निश्‍शुल्क राम्रो शिक्षा हासिल गर्न सकिंदैनथ्यो; त्यसको लागि पैसा तिर्नु पर्थ्यो” भनी शास्त्रविद्‌ मार्टिन हेन्जल बताउँछन्‌। तसर्थ, शावलको शिक्षाले तिनी सुसम्पन्‍न परिवारका थिए भनी देखाउँछ।

सम्भवतः करिब १३ वर्षको हुँदा शावलले आफ्नो घरदेखि ८४० किलोमिटर टाढा यरूशलेममा अध्ययन गर्न थाले। तिनले फरिसी परम्पराका प्रसिद्ध अनि सम्मानित गुरु गमलीयलका चरणमा शिक्षा हासिल गरे। (प्रेरित २२:३; २३:६) अहिलेको विश्‍वविद्यालय बराबरको उक्‍त शिक्षाले गर्दा तिनी यहूदीहरूमाझ प्रतिष्ठित भए।a

आफ्ना योग्यताहरूको सदुपयोग

युनानी तथा रोमी शहरको यहूदी परिवारमा जन्मेको हुनाले शावलको तीनवटा पृष्ठभूमि थियो। निस्सन्देह, त्यहाँको बहुभाषीय सभ्य पृष्ठभूमिले तिनलाई ‘सबैका निम्ति सबै कुरा’ हुन मदत गऱ्‍यो। (१ कोरिन्थी ९:१९-२३) पछि आफ्नो रोमी नागरिकताले गर्दा तिनले आफ्नो सेवकाईलाई कानुनी रूपमा रक्षा गरे अनि रोमी साम्राज्यको उच्च अख्तियारवालालाई सुसमाचार सुनाए। (प्रेरित १६:३७-४०; २५:११, १२) निस्सन्देह, शावलको पृष्ठभूमि, शिक्षा र व्यक्‍तित्वबारे येशूलाई थाह थियो। किनकि उहाँले हननियालाई यसो भन्‍नुभयो: “जाऊ किनकि अन्यजातिहरू, राजाहरू र इस्राएलका सन्तानका सामु मेरो निम्ति मेरो नाउँ चलाउनालाई तिनी एक छानिएका पात्र हुन्‌, किनकि मेरो नाउँको खातिर तिनले अवश्‍य कस्तो कष्ट भोग्नुपर्छ, सो म तिनलाई देखाउनेछु।” (प्रेरित ९:१३-१६) सही मार्गदर्शन दिइएपछि शावलले आफ्नो जोस टाढा टाढाका क्षेत्रहरूमा परमेश्‍वरको राज्य सन्देश फैलाउन प्रयोग गरे।

येशूले शावललाई विशेष कार्यको निम्ति छनौट गर्नु मसीही इतिहासमा एउटा अद्वितीय घटना थियो। यद्यपि, वर्तमान समयका मसीहीहरूका आफ्नै योग्यता तथा गुणहरू छन्‌ जसलाई सुसमाचार फैलाउन प्रभावशाली ढंगमा प्रयोग गर्न सकिन्छ। येशूले तिनीबाट के चाहनुहुन्छ भन्‍ने थाह पाएपछि शावल पछि हटेनन्‌। तिनले परमेश्‍वरको राज्य गतिविधि अघि बढाउन सक्दो गरे। के तपाईंले पनि त्यसै गरिरहनुभएको छ?

[फुटनोट]

a शावलले गमलिएलबाट के विषयमा कस्तो शिक्षा हासिल गरे भन्‍ने सन्दर्भमा प्रहरीधरहरा, जुलाई १५, १९९६, पृष्ठ २६-९ हेर्नुहोस्‌।

[पृष्ठ ३०-मा भएको पेटी/चित्र]

रोमी नागरिकताको जन्मदर्ता र प्रमाणपत्र

अगस्टसले सा.यु. ४ र ९ मा दुइटा ऐन लागू गरेर रोमी नागरिकहरूले आफ्नो वैध बच्चाको जन्मदर्ता गर्नुपर्ने कानुन बनाए। बच्चा जन्मेको ३० दिनभित्रमा जन्मदर्ता गर्नुपर्थ्यो। बच्चाको आमाबाबुले दर्ता कार्यालयमा न्यायाधीशसामु आफ्नो बच्चा वैध अनि रोमी नागरिक हो भनेर बताउनुपर्थ्यो। आमाबाबुको नाउँ, बच्चाको लिंग, नाउँ अनि जन्म तिथि पनि दर्ता गरिन्थ्यो। यस्ता कानुन लागू हुनुअघि पनि सबै रोमी नगरपालिका, उपनिवेश अनि आवासस्थलहरूमा प्रत्येक पाँच वर्षमा जनगणना गरेर रोमी नागरिकको जन्मदर्ता गरिन्थ्यो।

व्यवस्थित ढंगमा राखिएका अभिलेखहरू उल्लेख गरेर ऐनहरू देखाइन्थ्यो। त्यस्ता प्रमाणित अभिलेखका पाण्डुलिपिहरू (पट्याएर राख्न हुने) स-साना काठका फल्याकहरूमा लेखिएको हुन्थ्यो। केही शास्त्रविद्‌हरूको विचारअनुसार पावलले तिनी रोमी नागरिक भएको दाबी गर्दा त्यसको पुष्टि दिन प्रमाणपत्र तयार पारेको हुनुपर्छ। (प्रेरित १६:३७; २२:२५-२९; २५:११) रोमी नागरिकतालाई “ठूलो कुरा” मानिने अनि रोमी नागरिकले थुप्रै विशेषाधिकारहरू पाउने हुनाले जालसाजी गरेर त्यस्ता प्रमाणपत्रहरू बनाउनुलाई गम्भीर अपराध ठानिन्थ्यो। कसैको कागजपत्र नक्कली प्रमाणित भएमा त्यसलाई मृत्युदण्ड दिइन्थ्यो।

[स्रोत]

Historic Costume in Pictures/Dover Publications, Inc., New York

[पृष्ठ ३१-मा भएको पेटी/चित्र]

शावलको रोमी नाउँ

प्रत्येक रोमी पुरुषहरूको नाउँ कम्तीमा तीनवटा शब्दहरूले बनिएको हुन्थ्यो। ती हुन्‌, तिनको नाउँ, कुलको नाउँ (तिनको कुल वा वंश) अनि जात। यसको एउटा प्रसिद्ध उदाहरण गायस जुलियस सिजर हो। बाइबलमा अग्रिपाको पूरा रोमी नाउँ उल्लिखित नभए तापनि सांसारिक लेखोटहरूअनुसार तिनको पूरा नाउँ मार्कस जुलियस अग्रिपा थियो। गल्लियोको पूरा नाउँ लुसिअस जुनियस गल्लियो थियो। (प्रेरित १८:१२; २५:१३) तीनवटा नाउँमध्ये अन्तिम दुई नाउँ भएका व्यक्‍तिहरूको धर्मशास्त्रीय उदाहरण पन्तियस पिलातस (तल शिलालेख दिइएको छ), सर्गियस पौलस, क्लौडियस लायसिअस र पोर्सिअस फेस्तस हुन्‌।—प्रेरित ४:२७; १३:७; २३:२६; २४:२७.

पौलुश, शावलको पहिलो नाउँ थियो वा दोस्रो, ठोकेर भन्‍न सकिंदैन। कसैलाई आफ्नो परिवार र चिनजानहरूले अनौपचारिक रूपमा अर्कै नाउँले बोलाउनु असाधारण कुरा थिएन। यसबाहेक, शावल जस्तो गैररोमी नाउँ पनि प्रयोग गर्न सकिन्थ्यो। एक शास्त्रविद्‌अनुसार, “शावल रोमी नाउँ हुनसक्दैन तर रोमी नागरिकलाई उपनाउँ-को रूपमा दिइएको यो स्थानीय नाउँको महत्त्व थियो।” बहुभाषीय इलाकाहरूमा पुरुषहरूले आफ्नो कुन नाउँ प्रयोग गर्ने भनेर परिस्थितिअनुसार विचार गर्थ्यो।

[स्रोत]

Photograph by Israel Museum, ©Israel Antiquities Authority

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने