समय र अनन्तकाल—त्यसबारे हामीलाई के थाह छ?
“मानव अनुभवमा सबैभन्दा रहस्यमय कुरा समय जस्तो देखिन्छ” भनी इनसाइक्लोपीडीया उल्लेख गर्छ। हो, समयलाई सरल भाषामा व्याख्या गर्नु असम्भवै छ। हामीले समय “गयो,” “बित्यो,” “उड्यो” र हामी आफै पनि “समय सँगसँगै हिंडिरहेका” छौं समेत भन्ने गर्छौं। तर त्यसो भन्नुको मतलब के हो, हामीलाई पनि थाह छैन।
भनिन्छ, समय “दुई घटनाहरूबीचको दूरी” हो। तर हाम्रो आफ्नै अनुभव हेर्दा भने समयले कुनै घटनाको मतलब नराखेको जस्तो देखिन्छ। कुनै घटना भए पनि, नभए पनि समय चलिरहेकै हुन्छ। एक शास्त्रविद् वास्तवमा समय भन्ने कुरा छँदै छैन, यो मनोकल्पित कुरा मात्र हो भन्ने दाबी गर्छन्। त्यसोभए, हामीले समयको दौडान संगालेका अनुभवहरू हाम्रो कल्पनाको एउटा सानो अंश मात्र हुन् त?
समयबारे बाइबलको दृष्टिकोण
बाइबलले समयको कुनै परिभाषा दिंदैन। यसबाट समय के हो भनी पूर्णतया बुझ्ने क्षमता मानिसको छैन भन्ने अनुमान लगाउनसक्छौं। यो हामीलाई बुझ्न गाह्रो लाग्ने विशाल अन्तरिक्ष जस्तै हो। सम्भवतः समयबारे पूरा ज्ञान परमेश्वरसित मात्र छ किनभने उहाँ मात्र “अनादिदेखि अनन्तसम्म” हुनुहुन्छ।—भजन ९०:२.
बाइबलले समयको परिभाषा नदिए तापनि समयलाई वास्तविकताको रूपमा प्रस्तुत गर्छ। बाइबलले सुरुमै बताएअनुसार परमेश्वरले सूर्य, चन्द्र तथा ताराजस्ता “ज्योतिहरू,” “चिह्नहरू, ठहराइएका चाड़हरू, दिनहरू र वर्षहरू” सृष्टि छुट्याउनुभयो। बाइबलमा लिपिबद्ध थुप्रै घटनाहरू समयअनुसार उल्लिखित छन्। (उत्पत्ति १:१४; ५:३-३२; ७:११, १२; ११:१०-३२; प्रस्थान १२:४०, ४१) परमेश्वरबाट अनन्तकाल अर्थात् अनन्त जीवनको आशाको आशिष् प्राप्त गर्ने हो भने समयअनुसार बुद्धिमानीपूर्वक चल्नुपर्छ भनेर पनि बाइबलले बताउँछ।—एफिसी ५:१५, १६.
अनन्त जीवन—के यो तर्कसंगत कुरा हो?
समय वास्तवमा के हो भनी बुझ्न नै गाह्रो भइराखेको बेलामा थुप्रै मानिसहरूको निम्ति अनन्त जीवन वा सधैंभरि बाँच्ने विचार मात्र पनि गोलमालको कुरा हो। यसको एउटा कारण त समयको निकटम सम्बन्ध सधैं जन्मनु, हुर्कनु, बूढो हुनु वा मृत्युको चक्रसित हुन्छ। तसर्थ हामी बूढो हुने प्रक्रियालाई नै समयसँग जोड्ने गर्छौं। थुप्रैको निम्ति यसबारे अन्यथा सम्झनु नै समयप्रति राख्दै आएको विचारधाराभन्दा ठीक विपरीत हुनेछ। तिनीहरूले प्रश्न गर्लान्, ‘मानिस मात्र किन बूढो हुने प्रक्रियामा समयको अधीनमा नभएको?’
अक्सर यस्तो तर्क गर्दा मानिसहरू अन्य प्राणीहरूभन्दा थुप्रै कुराहरूमा भिन्न छन् भन्ने कुराको वास्ता गरिंदैन। उदाहरणका लागि, पशुहरूसित मानिसले जस्तो सोचविचार गर्ने क्षमता छैन। पशुहरू सृजनशील हुन्छन् भनी अनेकन् दाबीहरू गरिए तापनि तिनीहरू आफ्नो सहज ज्ञानको क्षमताभन्दा बढी सृजनशील हुनसक्दैनन्। तिनीहरूसित नता कलात्मक गुण हुन्छ नता मानिसहरूले जस्तो प्रेम र मूल्यांकन नै व्यक्त गर्नसक्छन्। मानिसको जीवन अर्थपूर्ण होस् भनेर यति धेरै गुण तथा योग्यताहरू दिइएका छन् भने बाँच्ने सन्दर्भमा चाहिं किन बढी समय नदिइएको त?
अर्कोतर्फ, सोचविचार गर्न नसक्ने कुनै कुनै प्रकारको रूख हजार वर्षसम्म बाँच्नु तर मान्छेको आयुचाहिं जम्मा ७० देखि ८० वर्ष मात्र हुनु, छक्कलाग्दो कुरा होइन र? कुनै सृजनशील वा कलात्मक गुण नभएको कछुवा २०० वर्ष बाँच्नसक्नु तर ती गुणहरू प्रचुर मात्रामा भएका मानिसचाहिं १०० वर्ष पनि बाँच्न नसक्नु अतार्किक कुरा होइन र?
समय र अनन्तकालबारे मानिसले पूरा बुझ्न नसके तापनि अनन्त जीवनको आशा पूर्णतया बाइबलमा आधारित कुरा हो। बाइबलमा “अनन्त जीवन” भन्ने पदावली झन्डै ४० चोटि प्रयोग गरिएको छ। तर परमेश्वरको उद्देश्य मानिस सधैंभरि बाँचोस् भन्ने हो भने किन अहिलेसम्म पूरा नभएको त? यस प्रश्नको जवाफ अर्को लेखमा छलफल गरिनेछ।