प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w22 डिसेम्बर pp. २-७
  • हामी सधैँभरि बाँच्न सक्छौँ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हामी सधैँभरि बाँच्न सक्छौँ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा सधैँभरि अस्तित्वमा हुनुहुन्छ
  • हामी सधैँभरि बाँच्न सृष्टि गरिएका थियौँ
  • यहोवाको उद्देश्‍य परिवर्तन भएको छैन
  • सुन्दर भविष्य नजिकै छ!
  • तपाईँ कसरी सधैँभरि बाँच्न सक्नुहुन्छ?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • के अनन्त जीवन साँच्चै सम्भव छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • अनन्त जीवन एउटा सपना मात्र होइन
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • के तपाईं सधैंभरि बाँच्न चाहनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
w22 डिसेम्बर pp. २-७

अध्ययन लेख ४९

हामी सधैँभरि बाँच्न सक्छौँ

“परमेश्‍वरले दिनुहुने वरदान . . . अनन्त जीवन हो।”—रोमी ६:२३.

गीत १४७ वाचा अनन्त जीवनको

परिचयa

१. अनन्त जीवनको प्रतिज्ञामा मनन गर्दा हामीलाई कस्तो लाभ हुन्छ?

यहोवाले उहाँप्रति आज्ञाकारी हुनेहरूलाई “अनन्त जीवन” दिने प्रतिज्ञा गर्नुभएको छ। (रोमी ६:२३) यस प्रतिज्ञामा मनन गर्दा उहाँप्रतिको हाम्रो प्रेम अझ बलियो हुन्छ। यसबारे सोच्नुहोस्‌: यहोवा हामीलाई यत्ति धेरै माया गर्नुहुन्छ कि हामी उहाँबाट कहिल्यै अलग नहोस्‌ भनेर यस्तो सुन्दर उपहार दिने प्रतिज्ञा गर्नुभएको छ।

२. अनन्त जीवनको प्रतिज्ञाले हामीलाई के गर्न मदत गर्छ?

२ अनन्त जीवनको प्रतिज्ञाले हामीलाई परीक्षाहरू सहन मदत गर्छ। शत्रुहरूले हाम्रो ज्यानै लिने धम्की दिए तापनि हामी यहोवाको सेवा गर्न छोड्‌नेछैनौँ। किन? किनकि मृत्युसम्मै यहोवाप्रति वफादार रह्‍यौँ भने उहाँले हामीलाई सधैँभरि बाँच्ने आशासहित फेरि जीवित पार्नुहुनेछ भनेर हामीलाई थाह छ। (युह. ५:२८, २९; १ कोरि. १५:५५-५८; हिब्रू २:१५) मानिस सधैँभरि बाँच्न सम्भव छ भन्‍ने कुरामा किन पक्का हुन सक्छौँ? आउनुहोस्‌, यसको केही कारण विचार गरौँ।

यहोवा सधैँभरि अस्तित्वमा हुनुहुन्छ

३. यहोवाले हामीलाई सधैँभरि जीवित राख्न सक्नुहुन्छ भन्‍ने कुरामा हामी किन विश्‍वस्त छौँ? (भजन १०२:१२, २४, २७)

३ यहोवाले हामीलाई सधैँभरि जीवित राख्न सक्नुहुन्छ किनकि उहाँ जीवनको मूल हुनुहुन्छ र उहाँ आफै पनि सधैँभरि जीवित रहनुहुन्छ। (भज. ३६:९) यहोवा सधैँभरि अस्तित्वमा हुनुहुन्छ भनेर देखाउने केही बाइबल पद विचार गरौँ। भजन ९०:२ ले यहोवा “अनादिदेखि अनन्तसम्म” हुनुहुन्छ भनेर बताउँछ। भजन १०२ ले पनि त्यही कुरा बताएको छ। (भजन १०२:१२, २४, २७ पढ्‌नुहोस्‌।) भविष्यवक्‍ता हबकुकले पनि स्वर्गमा हुनुहुने हाम्रा बुबाबारे यस्तो लेखे: “हे यहोवा, के तपाईँ अनन्त कालदेखि हुनुहुन्‍न र? हे मेरा परमेश्‍वर, मेरा पवित्र परमेश्‍वर, तपाईँको अन्त कहिल्यै हुँदैन।”—हब. १:१२.

४. यहोवा सधैँभरि अस्तित्वमा हुनुहुन्छ भन्‍ने कुरा पूर्णतया बुझ्न नसके पनि हामीले किन चिन्ता गर्नुपर्दैन?

४ के तपाईँलाई यहोवा “सदाको लागि” अस्तित्वमा हुनुहुन्छ भन्‍ने कुरा बुझ्न गाह्रो लाग्छ? (यसै. ४०:२८) धेरैलाई गाह्रो लाग्छ। एलिहुले परमेश्‍वरबारे यसो भने: “मानिसले उहाँका वर्षहरू पत्ता लगाउन सक्दैन।” (अय्यु. ३६:२६, फुटनोट) तर कुनै कुरा बुझ्न सकिँदैन भन्दैमा त्यो कुरा सत्य होइन भन्‍न मिल्दैन। जस्तै: हामीले विद्युतीय शक्‍तिले कसरी काम गर्छ भन्‍ने कुरा पूर्णतया बुझ्न सक्दैनौँ भन्दैमा त्यो शक्‍ति अस्तित्वमै छैन भन्‍न मिल्छ र? पक्कै मिल्दैन। त्यसैगरि यहोवा सधैँभरि अस्तित्वमा हुनुहुन्छ भन्‍ने कुरा हामीले पूर्ण रूपमा कहिल्यै बुझ्न सक्दैनौँ। तर त्यसो भन्दैमा उहाँ सधैँभरि अस्तित्वमा हुनुहुन्‍न भन्‍न मिल्दैन। हामीले सृष्टिकर्ताको अस्तित्वबारे कत्तिको बुझ्न सक्छौँ भन्‍ने कुराले उहाँको अस्तित्व छ कि छैन भन्‍ने कुरा निर्धारण गर्दैन। (रोमी ११:३३-३६) सूर्य र तारालगायत पूरै भौतिक ब्रह्‍माण्ड अस्तित्वमा आउनुअघि नै यहोवा अस्तित्वमा हुनुहुन्थ्यो। “उहाँले आफ्नो शक्‍तिले यो पृथ्वी सृष्टि गर्नुभयो।” हो, उहाँले “आकाशलाई फैलाउनु”-अघि नै उहाँ अस्तित्वमा हुनुहुन्थ्यो। (यर्मि. ५१:१५; प्रेषि. १७:२४) मानिस सधैँभरि बाँच्न सम्भव छ भन्‍न सकिने अर्को कारण के हो?

हामी सधैँभरि बाँच्न सृष्टि गरिएका थियौँ

५. पहिलो मानव दम्पतीले कस्तो आशा पाएको थियो?

५ यहोवाले जीवजन्तुलाई नभई मानिसलाई मात्र सधैँभरि बाँच्ने आशासहित सृष्टि गर्नुभएको थियो। तर उहाँले आदमलाई यस्तो चेतावनी पनि दिनुभएको थियो: “असल र खराबको ज्ञानको रूखको फलचाहिँ खाँदै नखानू किनकि जुन दिन तिमीले त्यो खान्छौ, त्यही दिन तिमी मर्नेछौ।” (उत्प. २:१७) आदम र हव्वाले यहोवाको आज्ञा पालन गरेको भए तिनीहरू कहिल्यै मर्ने थिएनन्‌ अनि कुनै समयमा गएर उहाँले तिनीहरूलाई “जीवनको रूखको फल” खाने अनुमति दिनुहुने थियो। यसको मतलब तिनीहरू ‘सधैँभरि बाँचिरहने थिए।’b—उत्प. ३:२२.

बाइबलमा प्रयोग गरिएको “सधैँभरि” शब्द

हिब्रू शब्द ओहलाम-लाई अक्सर “सधैँभरि” भनेर अनुवाद गरिन्छ। बाइबलमा यस शब्दले विगतमा लामो समयसम्म अस्तित्वमा रहेको वा भविष्यमा लामो समयसम्म अस्तित्वमा रहने कुरालाई बुझाउँछ, जसको सुरुवात वा अन्तबारे केही बताइएको छैन। (यहो. २४:२; भज. २४:७, ९) यस शब्दले कहिल्यै अन्त नहुने कुरालाई पनि बुझाउँछ। यस अर्थमा यहोवा सदासर्वदा रहिरहनुहुन्छ भन्‍न सकिन्छ। (भज. १०२:१२, २४, २७) यस हिब्रू शब्दलाई नयाँ संसार अनुवाद-मा प्रसङ्‌गअनुसार “सधैँभरि,” “सदासर्वदा,” “अनन्त” वा “धेरै वर्षअघि” भनेर अनुवाद गरिएको छ।

६-७. (क) मानिसलाई मर्न बनाइएको थिएन भनेर कुन कुराले पनि देखाउँछ? (ख) तपाईँ नयाँ संसारमा के गर्न चाहनुहुन्छ? (चित्रहरू हेर्नुहोस्‌।)

६ केही अनुसन्धानकर्ताले बताएअनुसार मस्तिष्कले हाम्रो जीवनकालमा जति जानकारी सञ्चय गर्छ, त्योभन्दा कैयौँ गुणा धेरै जानकारी सञ्चय गर्न सक्छ। सन्‌ २०१० मा प्रकाशित विज्ञानसम्बन्धी एउटा पत्रिकाअनुसार हाम्रो मस्तिष्कमा झन्डै २५ लाख जिबी (गिगाबाइट) जानकारी अटाउन सक्छ, जुन ३० लाख घण्टा (३०० वर्षभन्दा धेरै) लामो टिभी कार्यक्रमबराबर हो। तर हाम्रो मस्तिष्कमा त्योभन्दा अझ धेरै जानकारी अटाउन पनि सक्छ। यसबाट के स्पष्ट हुन्छ भने यहोवाले मस्तिष्कलाई हामीले ७०/८० वर्षको जीवनकालमा हासिल गर्नेभन्दा कता हो कता धेरै जानकारी अटाउन सक्नेगरि डिजाइन गर्नुभएको छ।—भज. ९०:१०.

७ परमेश्‍वरले “मानिसको हृदयमा सधैँभरि बाँच्ने विचार . . . राखिदिनुभयो” भनेर बाइबल बताउँछ। (उप. ३:११) त्यसैले हामीसित सधैँभरि बाँच्ने बलियो इच्छा छ। हामीले मृत्युलाई शत्रुको रूपमा हेर्नुको एउटा कारण यही हो। (१ कोरि. १५:२६) सिकिस्त बिरामी भयौँ भने के हामी केही नगरी हात बाँधेर बस्छौँ र? पक्कै बस्दैनौँ। हामी अस्पताल जान्छौँ र रोगसित लड्‌न डाक्टरले दिएको औषधी खान्छौँ। वास्तवमा हामी आफ्नो ज्यान बचाउन आफूले सक्नेजति सबै गर्छौँ। साथै हामीले माया गर्ने व्यक्‍तिको मृत्यु हुँदा हामीलाई गहिरो चोट पुग्छ र त्यो चोट लामो समयसम्म रहन्छ, चाहे त्यो व्यक्‍ति सानो बालक होस्‌ वा वृद्ध। (युह. ११:३२, ३३) यदि यहोवाले मानिसलाई मर्न बनाउनुभएको भए के उहाँले हामीलाई सधैँभरि बाँच्ने इच्छा र त्यस्तो क्षमता भएको शरीर दिनुहुने थियो र? हामी सधैँभरि बाँच्नको लागि बनाइएका थियौँ भन्‍ने कुराको अरू पनि थुप्रै चित्तबुझ्दो कारण छन्‌। यहोवाले विगतमा र वर्तमान समयमा गर्नुभएका कामहरूले उहाँको सुरुको उद्देश्‍य परिवर्तन भएको छैन भनेर कसरी देखाउँछ, आउनुहोस्‌ विचार गरौँ।

चित्रहरूको सँगालो: टेबुलमा बसिरहेका एक वृद्ध भाइको छेउमा थुप्रै औषधी छन्‌; तिनी बाइबल पढ्‌दै नयाँ संसारमा पूर्ण रूपमा स्वस्थ भएपछि गर्न सकिने कुराहरूबारे कल्पना गर्दै छन्‌। १. डुङ्‌गा चढिरहेका छन्‌। २. चित्र बनाइरहेका छन्‌। ३. झरनाको छेउमा हिँडिरहेका छन्‌।

नयाँ संसारमा आफूले गर्न सक्ने कुराहरूबारे हामी कल्पना गर्न सक्छौँ (अनुच्छेद ७ हेर्नुहोस्‌)c

यहोवाको उद्देश्‍य परिवर्तन भएको छैन

८. यहोवाको उद्देश्‍यबारे यसैया ५५:११ बाट कस्तो आश्‍वासन पाउन सक्छौँ?

८ आदम र हव्वाले पाप गरे अनि त्यसले गर्दा तिनीहरूको सन्तान पनि मर्न थाले। तैपनि यहोवाले आफ्नो उद्देश्‍य परिवर्तन गर्नुभएन। (यसैया ५५:११ पढ्‌नुहोस्‌।) उहाँ अझै पनि वफादार मानिसहरू सधैँभरि बाँचून्‌ भन्‍ने चाहनुहुन्छ। आफ्नो उद्देश्‍य पूरा गर्न यहोवाले गर्नुभएका प्रतिज्ञाहरू र उहाँले चाल्नुभएका कदमहरूबाट हामी यो निष्कर्षमा पुग्न सक्छौँ।

९. परमेश्‍वरले कस्तो प्रतिज्ञा गर्नुभएको छ? (दानिएल १२:२, १३)

९ यहोवाले मरेका मानिसहरूलाई फेरि जीवित पार्ने र तिनीहरूलाई सधैँभरि बाँच्ने मौका दिने प्रतिज्ञा गर्नुभएको छ। (प्रेषि. २४:१५; ति. १:१, २) उहाँ मरेका मानिसहरूलाई जीवित पार्ने तीव्र इच्छा गर्नुहुन्छ भन्‍ने कुरामा अय्युब विश्‍वस्त थिए। (अय्यु. १४:१४, १५) भविष्यवक्‍ता दानिएललाई मरेका मानिसहरू सधैँभरि बाँच्ने आशासहित जीवित हुनेछन्‌ भन्‍ने कुरा थाह थियो। (भज. ३७:२९; दानिएल १२:२, १३ पढ्‌नुहोस्‌।) येसुको समयका यहुदीहरूले पनि यहोवाले आफ्ना वफादार सेवकहरूलाई “अनन्त जीवन” दिन सक्नुहुन्छ भन्‍ने कुरा बुझेका थिए। (लुका १०:२५; १८:१८) येसुले थुप्रै चोटि यस प्रतिज्ञाबारे कुरा गर्नुभयो र उहाँ आफैलाई पनि यहोवाले फेरि जीवित पार्नुभयो।—मत्ति १९:२९; २२:३१, ३२; लुका १८:३०; युह. ११:२५.

सारपतकी विधवाले फेरि जीवित पारिएको आफ्नो छोरालाई खुसी हुँदै स्वागत गर्दै छिन्‌।

एलियाले एउटा केटोलाई फेरि जीवित पारेको घटनाबाट हामी कस्तो आश्‍वासन पाउन सक्छौँ? (अनुच्छेद १० हेर्नुहोस्‌)

१०. मरेकाहरूलाई फेरि जीवित पारिएका घटनाहरूले के प्रमाणित गर्छ? (चित्र हेर्नुहोस्‌।)

१० यहोवा जीवनदाता हुनुभएकोले उहाँसित मरेकाहरूलाई जीवित पार्ने शक्‍ति छ। उहाँले भविष्यवक्‍ता एलियालाई सारपतमा बस्ने विधवाको छोरालाई फेरि जीवित पार्ने शक्‍ति दिनुभयो। (१ राजा १७:२१-२३) यहोवाको मदत पाएर भविष्यवक्‍ता एलिसाले पनि सुनेम्मी स्त्रीको छोरालाई फेरि जीवित पारे। (२ राजा ४:१८-२०, ३४-३७) यी तथा अन्य घटनाहरूले यहोवासित मरेकाहरूलाई जीवित पार्ने शक्‍ति छ भनेर प्रमाणित गर्छ। पृथ्वीमा छँदा येसुले पनि आफ्नो बुबाबाट त्यस्तो शक्‍ति पाउनुभएको थियो। (युह. ११:२३-२५, ४३, ४४) अहिले येसु स्वर्गमा हुनुहुन्छ र उहाँलाई “स्वर्ग र पृथ्वीको सबै अधिकार” दिइएको छ। त्यसैले उहाँसित “चिहानमा हुनेहरू सबै”-लाई अनन्त जीवनको आशासहित फेरि जीवित पार्ने अख्तियार छ।—मत्ति २८:१८; युह. ५:२५-२९.

११. फिरौतीको बलिदानले गर्दा अनन्त जीवन पाउन कसरी सम्भव भयो?

११ यहोवाले आफ्नो प्यारो छोरालाई किन पीडादायी मृत्यु भोग्न दिनुभयो? येसुले यसको कारण यसरी बताउनुभयो: “परमेश्‍वरले संसारलाई यत्ति धेरै प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र छोरा दिनुभयो ताकि ऊमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्‌ तर उसले अनन्त जीवन पाओस्‌।” (युह. ३:१६) परमेश्‍वरले हाम्रो पाप ढाक्न फिरौतीस्वरूप आफ्नो छोरा दिनुभएकोले हामीले अनन्त जीवन पाउन सम्भव भयो। (मत्ति २०:२८) प्रेषित पावलले परमेश्‍वरको उद्देश्‍यको यस महत्त्वपूर्ण भागबारे यस्तो लेखे: “एकै जना पुरुषले गर्दा मृत्यु आयो, त्यसकारण मरेकाहरू पनि एकै जना पुरुषद्वारा फेरि जीवित पारिनेछन्‌। जसरी आदमले गर्दा सबै मर्दै छन्‌, त्यसरी नै ख्रिष्टले गर्दा सबैलाई जीवित पारिनेछ।”—१ कोरि. १५:२१, २२.

१२. यहोवाको राज्यले कसरी उहाँको उद्देश्‍य पूरा गर्नेछ?

१२ येसुले आफ्ना अनुयायीहरूलाई परमेश्‍वरको राज्य आओस्‌ र पृथ्वीमा उहाँको उद्देश्‍य पूरा होस्‌ भनेर प्रार्थना गर्न सिकाउनुभयो। (मत्ति ६:९, १०) परमेश्‍वरको उद्देश्‍यको एउटा भाग पृथ्वीमा मानिसहरू सधैँभरि बाँचून्‌ भन्‍ने हो। यो उद्देश्‍य पूरा गर्न यहोवाले आफ्नो छोरालाई मसीही राज्यको राजा नियुक्‍त गर्नुभएको छ। यहोवाले पृथ्वीबाट १ लाख ४४ हजार जनालाई जम्मा गर्दै हुनुहुन्छ, जसले उहाँको उद्देश्‍य पूरा गर्न येसुसँगै मिलेर काम गर्नेछन्‌।—प्रका. ५:९, १०.

१३. यहोवा अहिले के गर्दै हुनुहुन्छ र तपाईँले के गर्नुपर्छ?

१३ यहोवाले “ठूलो भीड”-का मानिसहरूलाई जम्मा गर्दै हुनुहुन्छ र तिनीहरूलाई आफ्नो राज्यको प्रजा हुन तालिम दिँदै हुनुहुन्छ। (प्रका. ७:९, १०; याकु. २:८) संसारका धेरैजसो मानिस घृणा र युद्धले गर्दा विभाजित छन्‌ तर ठूलो भीडका मानिसहरू तिनीहरूमाझ कुनै पनि किसिमको घृणालाई ठाउँ दिँदैनन्‌। तिनीहरू प्रतीकात्मक रूपमा आफ्नो तरबार पिटेर हलोको फाली बनाउँदै छन्‌। (मिका ४:३) तिनीहरू युद्धमा भाग लिँदैनन्‌ बरु मानिसहरूलाई साँचो परमेश्‍वर र उहाँको उद्देश्‍यबारे सिकाएर “साँच्चैको जीवन” भेट्टाउन मदत गर्छन्‌। (१ तिमो. ६:१९) परमेश्‍वरको राज्यलाई समर्थन गरेकोले परिवारका सदस्यहरूले तिनीहरूको विरोध गर्न सक्छन्‌ वा तिनीहरूले आर्थिक कठिनाइ भोग्नुपर्ने हुन सक्छ। तर यहोवा सधैँ तिनीहरूको आवश्‍यकता पूरा गर्नुहुन्छ। (मत्ति ६:२५, ३०-३३; लुका १८:२९, ३०) यी तथ्यहरूले परमेश्‍वरको राज्य वास्तविक हो र यसले उहाँको उद्देश्‍य पूरा गरिरहनेछ भन्‍ने कुरामा हामीलाई ढुक्क बनाउँछ।

सुन्दर भविष्य नजिकै छ!

१४-१५. मृत्युलाई नामेट पार्ने यहोवाको प्रतिज्ञा कसरी पूरा हुनेछ?

१४ येसु अहिले स्वर्गमा परमेश्‍वरको राज्यको राजा हुनुहुन्छ र उहाँले यहोवाका सबै प्रतिज्ञा पूरा गर्नुहुनेछ। (२ कोरि. १:२०) सन्‌ १९१४ देखि येसुले आफ्ना शत्रुहरूमाथि विजय हासिल गर्दै आउनुभएको छ। (भज. ११०:१, २) येसु र उहाँका सहशासकहरूले चाँडै आफ्नो विजययात्रा पूरा गर्नुहुनेछ र सबै दुष्टलाई नाश गर्नुहुनेछ।—प्रका. ६:२.

१५ हजार वर्षीय शासनको दौडान येसुले मृतकहरूलाई ब्युँताउनुहुनेछ र आज्ञाकारी मानिसहरूलाई त्रुटिरहित अवस्थामा पुऱ्‍याउनुहुनेछ। अन्तिम जाँचपछि यहोवाको नजरमा धर्मी ठहरिएका मानिसहरूले “पृथ्वी अधिकार गर्नेछन्‌ र तिनीहरू त्यहाँ सधैँभरि रहनेछन्‌।” (भज. ३७:१०, ११, २९) अनि “सबैभन्दा अन्तमा” हाम्रो ‘शत्रु मृत्युलाई नामेट पारिनेछ।’—१ कोरि. १५:२६.

१६. यहोवाप्रति वफादार रहनुको सबैभन्दा मुख्य कारण के हुनुपर्छ?

१६ यस लेखमा छलफल गरिएझैँ सधैँभरि बाँच्ने हाम्रो आशा पूर्णतया परमेश्‍वरको वचनमा आधारित छ। यस आशाले हामीलाई अन्तको दिनको यस कठिन समयमा वफादार रहन मदत गर्छ। यदि हामी सधैँभरि बाँच्ने इच्छाले मात्र यहोवाको सेवा गर्छौँ भने उहाँलाई खुसी बनाउन सक्दैनौँ। हामी यहोवा र येसुप्रति वफादार रहनुको सबैभन्दा मुख्य कारण उहाँहरूप्रतिको गहिरो प्रेम हुनुपर्छ। (२ कोरि. ५:१४, १५) यही प्रेमले हामीलाई उहाँहरूको अनुकरण गर्न र भविष्यको आशा अरूसित बाँड्‌न उत्प्रेरित गर्छ। (रोमी १०:१३-१५) निःस्वार्थ र उदार हुन सिक्यौँ भने हामी यहोवाले साथी बनाउन चाहनुहुने किसिमको मानिस बन्‍न सक्नेछौँ।—हिब्रू १३:१६.

१७. हामी प्रत्येकको जिम्मेवारी के हो? (मत्ति ७:१३, १४)

१७ के हामी अनन्त जीवन पाउनेहरूमध्ये हुनेछौँ? यहोवाले हामी सबैको लागि जीवन पाउने मौकाको ढोका खुला राख्नुभएको छ। तर जीवनतर्फ लैजाने बाटोमा हिँडिरहने जिम्मेवारी हाम्रो आफ्नै हो। (मत्ति ७:१३, १४ पढ्‌नुहोस्‌।) सधैँभरि बाँच्न पाउँदा हाम्रो जीवन कस्तो हुनेछ? यस प्रश्‍नको जवाफ अर्को लेखमा छलफल गर्नेछौँ।

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • मानिसलाई सधैँभरि बाँच्नको लागि बनाइएको थियो भन्‍न सकिने कस्ता प्रमाणहरू छन्‌?

  • मानिस सधैँभरि बाँचून्‌ भन्‍ने यहोवाको उद्देश्‍य परिवर्तन भएको छैन भनेर किन भन्‍न सक्छौँ?

  • हामीले अनन्त जीवन पाउन चाहनुको मुख्य कारण के हुनुपर्छ?

गीत १४१ जीवन—एउटा चमत्कार

a के तपाईँ सधैँभरि बाँच्न पाउने समयको प्रतीक्षा गर्दै हुनुहुन्छ? यहोवाले मृत्युको डरविना सधैँभरि बाँच्न पाउने समयको प्रतिज्ञा गर्नुभएको छ। यस लेखमा यहोवाले त्यो प्रतिज्ञा पूरा गर्नुहुनेछ भन्‍ने कुरामा पूर्णतया भरोसा गर्न सकिने केही कारणबारे छलफल गर्नेछौँ।

b “बाइबलमा प्रयोग गरिएको ‘सधैँभरि’ शब्द” भन्‍ने पेटी हेर्नुहोस्‌।

c तस्बिरको व्याख्या: एक वृद्ध भाइ नयाँ संसारमा आफूले गर्न चाहेका केही कुरा कल्पना गर्दै छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने