पावलका सहकर्मीहरू—तिनीहरू को थिए?
बाइबलको प्रेरितको पुस्तकमा तथा पावलका अन्य पत्रहरूमा प्रथम शताब्दीका मसीही मण्डलीका सयौं सदस्यहरूबारे उल्लेख गरिएको छ जसको “अन्यजातिहरूको प्रेरित[सित]” सम्बन्ध थियो। (रोमी ११:१३) तिनीहरूमध्ये हामीलाई कोही कोहीबारे थुप्रै कुराहरू थाह छ। सायद तपाईं पनि अपोल्लस, बर्णाबास र सिलासका गतिविधिहरूसित परिचित हुनुहुन्छ। अर्कोतर्फ, तपाईंलाई अर्खिपस, क्लोदिया, डामारिस, लिनस, परसीस, पुडेन्स र सोपाटरबारे भने त्यति थाह नहुनसक्छ।
विभिन्न समयावधि तथा परिस्थितिहरूमा पावलको सेवकाईमा साथ दिने थुप्रै व्यक्तिविशेषहरूले सक्रिय भूमिका निर्वाह गरे। अरिस्तार्खस, लूका र तिमोथीजस्ता व्यक्तिहरू थुप्रै वर्ष प्रेरित सँगसँगै थिए। कोही तिनीसित झ्यालखानामा थिए भने कोही तिनको यात्राको दौडान सँगै थिए वा कोहीले तिनको अतिथिसत्कार गरे। दुःखको कुरा, सिकन्दर, डेमास, हर्मोजेनस र फाइगेलस मसीही विश्वासमा स्थिर रहेनन्।
पावलका अन्य केही साथीहरू जस्तै असिंक्रितस, हर्मस, जुलिया वा फिलोलोगसहरूको नाउँबाहेक हामीलाई अरू केही थाह छैन। नेरियसकी बहिनी वा रूफसकी आमा वा क्लोएका घरानाकाहरूको हामीलाई नाउँसमेत थाह छैन। (रोमी १६:१३-१५; १ कोरिन्थी १:११) तर जे होस्, यी सयौं व्यक्तिविशेषहरूबारे हामीसित जति जानकारी छ, त्यसबाट प्रेरित पावलले कसरी काम गर्थे भनी केही ज्योति पाउनसक्छौं। साथै थुप्रै सँगी विश्वासीहरूसँग काम गर्दा हुने फाइदाहरूबारे पनि सिक्नसक्छौं।
सहयात्री तथा अतिथिसत्कार गर्नेहरू
प्रेरित पावलले आफ्नो सेवकाईको दौडान धेरै यात्रा गरे। एक लेखकअनुसार प्रेरितको पुस्तकमा लिपिबद्ध स्थल तथा समुद्रबाट तिनले यात्रा गरेको दूरी मात्र हिसाब गर्दा १६,००० किलोमिटरभन्दा बढी हुन्छ। त्यतिबेला यात्रा गर्नु थकाइ लाग्दो काम मात्र नभई खतरनाक पनि थियो। तिनले भोगेका थुप्रै कठिनाइहरूमध्ये केही, डुंगा पल्टिनु, नदीहरूका जोखिम, सुनसान स्थानका जोखिम, समुद्रका जोखिम आदि थिए। (२ कोरिन्थी ११:२५, २६) यस्ता परिस्थितिहरूमा पावलसित प्रायः कोही न कोही हुन्थ्यो।
पावलसँगै यात्रा गर्नेहरू पावलको सहयात्री र प्रोत्साहनको स्रोत तथा सेवकाईमा सहयोगी हुन्थे। कहिलेकाहीं नयाँ विश्वासीहरूको आध्यात्मिक आवश्यकताको ख्याल राख्न पावलले तिनीहरूलाई त्यहीं छोड्थे। (प्रेरित १७:१४; तीतस १:५) तर सुरक्षा तथा यात्रा गर्दा सामना गर्नुपर्ने कठिनाइहरूलाई विचार गर्दा सहयात्री हुनु आवश्यक थियो। त्यसैले सोपाटर, सिकन्डस, गायस र त्रोफिमसजस्ता व्यक्तिहरूले पावलको सेवकाई सफल हुनुमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे।—प्रेरित २०:४.
पावलप्रति देखाइएको अतिथिसत्कार पनि उत्तिकै मदतकारी साबित भयो। पावल शहरमा आइपुगेपछि चाहे त्यहाँ प्रचार अभियान थाल्नु होस् वा एक रात बास बस्नु, पहिला बस्ने ठाउँ खोज्नुपर्थ्यो। पावलजस्ता धेरै यात्रा गरेका व्यक्तिलाई करैले भए पनि थरिथरिका ओछ्यानहरूमा सुत्नुपऱ्यो होला। तिनी पक्कै पनि धर्मशालाहरूमा बस्नसक्थे तर इतिहासकारहरूअनुसार ती “असुरक्षित र नराम्रा” हुन्थे। त्यसैले सम्भव भएसम्म पावल सँगी विश्वासीहरूसितै बस्थे।
पावललाई अतिथिसत्कार गर्ने कोही कोही व्यक्तिहरूको नाउँ हामीलाई थाह छ। ती हुन्— अक्वीला र प्रिस्किला, गायस, जेसन, लिडिया, मनासोन, फिलेमोन र फिलिप। (प्रेरित १६:१४, १५; १७:७; १८:२, ३; २१:८, १६; रोमी १६:२३; फिलेमोन १, २२) फिलिप्पी, थिस्सलोनिका र कोरिन्थजस्ता स्थानहरूमा बस्न ठाउँ पाएको हुँदा ती स्थानहरूलाई पावलले आफ्नो मिसनरी गतिविधि व्यवस्थित गर्ने मुख्य आधार बनाए। कोरिन्थमा तीतस युस्तसले पावललाई आफ्नो घरमा बस्न दिए। फलस्वरूप, तिनले त्यहाँ प्रचारकार्य गर्न सके।—प्रेरित १८:७.
थुप्रै मित्रहरू
पावलका मित्रहरूलाई विभिन्न तरिकामा सम्झिइन्छ किनभने तिनीहरूले तिनलाई विभिन्न परिस्थितिमा भेटे। उदाहरणका लागि, मरियम, परसीस, फिबी, त्रिफेना र त्रिफोसा सबै महिला सँगी विश्वासीहरू थिए र तिनीहरूको कडा परिश्रमको निम्ति सराहना गरियो। (रोमी १६:१, २, ६, १२) पावलले क्रिस्पस, गायस र स्तिफनसको घरानालाई बप्तिस्मा दिए। डियनुसियस र डामारिसले एथेन्समा तिनीबाट सत्यको सन्देश स्वीकारे। (प्रेरित १७:३४; १ कोरिन्थी १:१४, १६) “प्रेरितहरूमध्ये प्रख्यात” एन्ड्रोनिकस र युनियस जो पावलभन्दा पहिलादेखि विश्वासी थिए, तिनीहरूलाई पावलले “साथी-कैदीहरू” भने। सायद तिनीहरू पावलसितै कुनै बेला झ्यालखानामा परेका थिए। ती दुई जस्तै हेरोदियन, यासोन, लुसियस र सोसिपेटरलाई पनि पावलले “मेरा कुटुम्बहरू” भने। (रोमी १६:७, ११, २१) यहाँ चलाइएको युनानी शब्दको अर्थ “सहदेशवासी” हुनसक्ने भए तापनि यसको प्रमुख अर्थ “एउटै पुस्ताको रगत नाता” हो।
सुसमाचारको खातिर पावलका थुप्रै मित्रहरूले यात्रा गरे। पावलका चिरपरिचित सहयात्रीहरूबाहेक अखाइकस, फोर्टुनाटस र स्तिफनस आ-आफ्नो मण्डलीको आध्यात्मिक अवस्था पावललाई बताउन कोरिन्थदेखि एफिसससम्म आए। क्रेट टापुमा सेवा गरिरहेका तीतसलाई भेट्न अर्त्तिमास र टाइकिकस यात्रा गर्न तयार थिए र जीनस पनि अपोल्लससित जान लागेका थिए।—१ कोरिन्थी १६:१७; तीतस ३:१२, १३.
अरू कोही कोहीको चाहिं पावलले छोटो तर चाखलाग्दो जानकारीहरू दिएका छन्। उदाहरणका लागि, इपेनितस “एशियाको पहिलो विश्वासी” थिए, इरास्तस कोरिन्थमा “शहरका तहबीलदार” थिए, लूका वैद्य थिए, लिडिया बैजनी रंगको लुगा बेच्थिन् र तर्तियसले पावलको तर्फबाट रोमीहरूको लागि पत्र लेखिदिन्थे। (रोमी १६:५, २२, २३; प्रेरित १६:१४; कलस्सी ४:१४) यी व्यक्तिविशेषहरूबारे अझ बढी जान्न चाहनेहरूले यी संक्षिप्त विवरणहरूबाट नै चाखलाग्दो जानकारीहरू पाउन सक्छन्।
पावलका अन्य मित्रहरूले व्यक्तिगत सन्देशहरू पाए। ती अहिले बाइबलमा लिपिबद्ध छन्। उदाहरणका लागि, कलस्सीहरूलाई लेखेको पत्रमा पावलले अर्खिपसलाई यस्तो सल्लाह दिए: “तिमीले प्रभुमा जुन सेवा पाएका छौ, त्यो पूरा गर्नालाई होशियार रहनू।” (कलस्सी ४:१७) स्पष्टतः इयोदिया र सिन्तकेबीच केही मतभेद थियो। त्यसैले पावलले फिलिप्पीमा एक नाउँ थाह नभएको “जोड़ीदार” मार्फत “प्रभुमा एउटै मनका होओ” भनी अर्ती पठाए। (फिलिप्पी ४:२, ३) साँच्चै यो हाम्रोलागि पनि राम्रो सल्लाह हो।
कैदमा हुँदा वफादार समर्थन
पावल निकै चोटि कैदमा परेका थिए। (२ कोरिन्थी ११:२३) ती समयहरूमा स्थानीय साक्षीहरूले तिनको कठिनाइ कम गर्न सक्दो गरेका हुनुपर्छ। पावल पहिलो चोटि रोममा कैदी हुँदा दुई वर्षसम्म आफैले बाहालमा लिएको डेरामा बस्न पाएका थिए र साथीहरू तिनलाई भेट्न आउनसक्थे। (प्रेरित २८:३०) त्यस समयावधिमा तिनले एफिसस, फिलिप्पी र कलस्सीका मण्डलीहरूलाई र फिलेमोनलाई पत्र लेखे। ती पत्रहरूबाट पावल कैदमा हुँदा तिनीसित को को घनिष्ठ थिए भनी थाह पाउन सकिन्छ।
उदाहरणका लागि, फिलेमोनका दास ओनेसिमसले पावललाई रोममा भेटे। त्यस्तै गरी टाइकिकसले पनि पावललाई भेटे अनि तिनीहरू दुवै सँगै फर्के। (कलस्सी ४:७-९) फिलिप्पीदेखि आफ्नो मण्डलीको उपहार बोक्दै लामो यात्रा गर्ने इपाफ्रोडाइटस पनि थिए र तिनी पछि बिरामी भए। (फिलिप्पी २:२५; ४:१८) रोममा पावलसँगै काम गर्ने अरिस्तार्खस, मर्कूस र जस्तस भन्ने येशू पनि थिए जसबारे पावलले यसो भने: “परमेश्वरको राज्यको निम्ति मेरा सहकर्मी र मलाई सान्त्वना दिने मानिसहरू, यिनीहरू मात्र हुन्।” (कलस्सी ४:१०, ११) यी सबै विश्वासी जनहरूलगायत अलि राम्रोसित थाह भएको तिमोथी र लूका साथै डेमास थिए। डेमासले पछि संसारप्रतिको प्रेमको कारण पावललाई त्यागे।—कलस्सी १:१; ४:१४; २ तिमोथी ४:१०; फिलेमोन २४.
स्पष्टतः तिनीहरू कोही पनि रोमका थिएनन् तैपनि तिनीहरू पावलसँगसँगै हिंडे। सायद कोही कोही तिनी कैदमा परेकाले नै मदत गर्न गएका थिए। निस्सन्देह, कोही कोहीले तिनको निम्ति यताउता दौडधूप गरे, कसैलाई टाढा टाढा विशेष कार्यमा पठाइयो र अझ अरू कोहीलाई पावलले आफ्नो पत्रहरू लेख्न लगाए। यी व्यक्तिहरू पावल तथा परमेश्वरको कार्यप्रति अति वफादार थिए भन्ने कस्तो उत्कृष्ट साक्षी!
पावलका कुनै कुनै पत्रहरूको अन्तमा हेर्दा तिनी सम्भवतः मसीही भाइबहिनीहरूको माझमा थिए भनी थाह पाउँछौं र तिनीहरू सबैको नाउँ लिइसाध्ये थिएन। विभिन्न अवसरहरूमा तिनले लेखे, “सबै पवित्र जनहरूले तिमीहरूलाई सलाम भन्दछन्” वा “मसँग हुने सबै जनाले तिमीलाई सलाम पठाएका छन्।”—२ कोरिन्थी १३:१३; तीतस ३:१५; फिलिप्पी ४:२२
पावल रोममा दोस्रो चोटि थुनामा परेको बेला अझै आफ्ना सँगी विश्वासीहरूबारे सोचिरहेका थिए र त्यतिबेला तिनलाई शहीद बनाउने सम्भावना बढी थियो। तिनी अझै सक्रिय हुनुका साथै कुनै कुनै गतिविधिको योजना मिलाइरहेका थिए। तीतस र टाइकिकसलाई विशेष कार्यमा पठाइएको थियो, क्रेसेन्स गलातिया गएका थिए, इरास्तस कोरिन्थमा नै थिए, त्रोफिमस मिलेटसमै बिरामी परिरहेका थिए तर मर्कूस र तिमोथीचाहिं पावललाई भेट्न आउने थिए। पावलले तिमोथीलाई दोस्रो पत्र लेख्दा लूका तिनको साथमा भए तापनि युबलस, पुडेन्स, लिनस र क्लोदियालाई पनि शुभकामना पठाए। निस्सन्देह, तिनीहरूले पावललाई सक्दो मदत गरिरहेका थिए। त्यति नै बेला पावल आफैले प्रिस्किला र अक्वीला तथा ओन्सिफरसको घरानालाई अभिवादन पठाए। तथापि, दुःखको कुरा समस्याको समयमा डेमसले तिनलाई त्यागे र अलेकज्याण्डरले तिनलाई ज्यादै खराबी गऱ्यो।—२ तिमोथी ४:९-२१.
“हामी परमेश्वरका सहकर्मी हौं”
पावल आफ्नो प्रचार गतिविधिमा विरलै मात्र एक्लो पर्थे। टिप्पणीकार इ. अर्ल एलीस भन्छन्: “तिनी थुप्रै मित्रहरूको साथमा मिसनरी कार्यमा लागिरहेका चित्र हाम्रो मनमा आउँछ। साँच्चै पावल मित्रहरूबिना कमै अवसरहरूमा मात्र थिए होलान्।” परमेश्वरको पवित्र आत्माको डोऱ्याइमा पावलले थुप्रै मानिसहरू काममा लगाउन सके र प्रभावकारी मिसनरी अभियानको प्रबन्ध गरे। तिनी वरपर घनिष्ठ मित्र, अस्थायी सहयोगी, कोही कडा व्यक्तित्व भएका र थुप्रै नम्र सेवकहरू थिए। तैपनि तिनीहरू सहकर्मीहरू मात्र थिएनन्। तिनीहरूले पावलसित थोरै समय काम वा संगत गरे तापनि मसीही प्रेम तथा व्यक्तिगत मित्रका बन्धन बलियो थियो।
प्रेरित पावललाई “मित्रता गाँस्न सिपालु” भनिएको छ। तिनले राष्ट्रहरूलाई सुसमाचार सुनाउन निकै योगदान गरे तर तिनले एक्लैले गर्ने प्रयास गरेनन्। तिनले सहयोग गरे र व्यवस्थित मसीही मण्डलीको पूर्ण फाइदा उठाए। पावलले प्राप्त भएका नतिजाहरूको निम्ति कहिल्यै श्रेय लिएनन् तर नम्रतापूर्वक तिनी दास हुन् र वृद्धिको निम्ति सबै आदर परमेश्वरलाई गर्नुपर्छ भनी स्वीकारे।—१ कोरिन्थी ३:५-७; ९:१६; फिलिप्पी १:१.
हुन त, पावलको समय हाम्रोभन्दा फरक थियो तर आज मसीही मण्डलीका कोहीले पनि आफू स्वतन्त्र हुनसक्छु या हुनुपर्छ भन्ने सोचाइ राख्नु हुँदैन। बरु सधैं परमेश्वरको संगठन, हाम्रो स्थानीय मण्डली तथा हाम्रो सँगी विश्वासीहरू सँगसँगै काम गर्नुपर्छ। हामीलाई अनुकूल अनि प्रतिकूल समयमा तिनीहरूको मदत, समर्थन तथा सान्त्वना चाहिन्छ। हामीले ‘संसारमा भएका दाज्यूभाइहरूको’ भाग हुने अनमोल सुअवसर पाएका छौं। (१ पत्रुस ५:९) विश्वास तथा दयापूर्वक सँगसँगै आपसमा सहयोग गर्दै काम गऱ्यौं भने पावलले जस्तै हामीले पनि “हामी परमेश्वरका सहकर्मी हौं” भन्नसक्छौं।—१ कोरिन्थी ३:९.
[पृष्ठ ३१-मा भएका चित्रहरू]
अपोल्लस
अरिस्तार्खस
बर्णाबास
लिडिया
ओन्सिफरस
तर्तियस
टाइकिकस