सार्वजनिक सम्पत्तिको दुरुपयोग—किन?
“मेरो भन्नु केही छैन।” साऊ पाऊलुको रमाइलो टोलको भर्खरै रंगाएको भित्तामा यी शब्दहरू ठूलठूला अक्षरहरूमा लेखिएका थिए। यसरी भित्तामा लेख्नु तपाईंलाई सार्वजनिक सम्पत्तिको साधारण दुरुपयोग जस्तो लाग्ला। तर अर्काको भित्तामा यसरी लेख्नु पनि एक प्रकारको सार्वजनिक सम्पत्तिको दुरुपयोग हो।
मानिलिनुहोस्, अर्काको पर्वाह नगर्ने केही बदमाशहरूले तपाईंको नयाँ गाडी तोडफोड गरे। या सबैलाई काम लाग्ने सार्वजनिक सम्पत्तिलाई बिगारे वा ध्वस्त गरिदिए। त्यस्तो तिनीहरूले किन गर्छन्? किन सार्वजनिक सम्पत्तिको दुरुपयोग जताततै भइरहेको छ भनेर के तपाईंले कहिल्यै सोच्नुभएको छ? यस्तो लाग्छ, प्रायजसो ठाउँहरूमा सार्वजनिक सम्पत्तिको ख्याल नगर्नेहरूले टेलिफोन बुथ अनि सार्वजनिक सवारीसाधनहरू तोडफोड गरेर वा कामै नलाग्नेगरी बिगारेर रमाइलो गर्छन्। तिनीहरूका मुख्य तारो रेल तथा बसहरू हुन्। यसो हेर्दा सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्नेहरू केही कुराको पर्वाह गर्दैनन् जस्तो देखिन्छ। तर हामीले देखेका र भोग्नु परेका प्रायजसो सार्वजनिक सम्पत्तिको दुरुपयोगको मुख्य कारण के हो?
आफ्नो टोलीले फुटबलमा हारेको देख्दा रियो दे जेनेरोका मार्कोa नाउँ गरेको युवक यति बिघ्न निराश भए कि तिनले विजयी टोलीको समर्थकहरू भएको बसमा ढुंगा हान्न थाले। या क्लाउसलाई विचार गर्नुहोस्। आफूले स्कूलमा राम्ररी पढ्न नसक्दा तिनी यति बिघ्न रिसाए कि ढुंगा हानेर झ्यालहरू फुटाइदिए। तथापि, तिनको बुबाले त्यसको क्षतिपूर्ति गर्नुपर्दा त्यो “रमाइलो मान्ने” कुरा भएन। एर्भिन नाउँ गरेको अर्को केटो स्कूल जानुको साथै सानोतिनो काम पनि गर्थ्यो। अरूले तिनी र तिनका साथीहरूलाई भद्र ठान्थे। तर फुर्सत पायो कि तिनीहरू टोलका सार्वजनिक सम्पत्तिको बिगार गर्थे। एर्भिनको आमाबाबुलाई यसबारे केही थाह थिएन। भाल्टर नाउँ गरेको अनाथ, साऊ पाऊलुको सडकहरूमा जीवन बिताउन बाध्य थिए। तिनको मिल्ने साथीहरू सडककै बदमाशहरू थिए र तिनीहरूले जे जे गर्थे तिनले पनि त्यही गरे। तिनले मार्शल आर्ट पनि सिके। सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्ने मानिसहरू अनि त्यसो गर्न उस्काउने कारण तथा भावनाहरू विभिन्न हुँदा रहेछन् भनेर यस्ता उदाहरणहरूले देखाउँछ।
द वर्ल्ड बुक इन्साइक्लोपीडिया भन्छ, “बदला लिन वा राजनैतिक मत व्यक्त गर्न सार्वजनिक सम्पत्तिको तोडफोड गरिन्छ। कहिलेकाहीं ‘रमाइलोको’ लागि मात्र पनि जवान तथा वयस्क दुवैले यस्तो अपराध गर्छन्।” तथापि, सार्वजनिक सम्पत्तिको दुरुपयोग केटाकेटीपन मात्र नभएर विनाशकारी हुनसक्छ। कहिलेकाहीं घातक पनि हुनसक्छ। जस्तै: “रमाइलो गर्न” मन लागेर एक हूल केटाहरूले सुतिरहेको एक व्यक्ति माथि प्रज्वलनशील तरल पदार्थ खन्याएर आगो लगाइदिए। उक्त इन्डियन व्यक्तिको पछि अस्पतालमा मृत्यु भयो। एउटा रिपोर्टअनुसार “ती केटाहरूले सडकमा त्यस्ता कैयन् भिखारीहरूलाई जलाइए तापनि कुनै कानुनी कारबाही नगरेको देखेर तिनीहरूले पनि त्यसो गरेमा कसैले केही गर्दैनन् होला भन्ठानेका रहेछन्।” सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्दा मानिसहरूको ज्यान जाओस् वा नजाओस् अपूरणीय आर्थिक र भावनात्मक क्षति भने अवश्य हुन्छ। यसकारण, सार्वजनिक सम्पत्तिको दुरुपयोगलाई केले नियन्त्रण वा अन्त गर्नसक्छ?
सार्वजनिक सम्पत्तिको दुरुपयोग हुनदेखि कसले रोक्नसक्छ?
के प्रहरी र स्कूलहरूले सार्वजनिक सम्पत्तिको दुरुपयोग हुनदेखि रोक्नसक्छन्? एउटा समस्या त, अख्तियारवालाहरू “मान्छेको ज्यान नजाने” अपराधमाभन्दा लागूपदार्थ बेचबिखन अथवा हत्याजस्ता गम्भीर अपराधहरूको समाधान गर्नमै व्यस्त हुन्छन्। एक जना प्रहरीअफिसर अनुसार, युवायुवतीहरूले सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेर संकटमा पर्दा आमाबाबुले प्रायजसो “तिनीहरूको संगत, तिनीहरू पढ्ने स्कूल या त तिनीहरूलाई पक्रने प्रहरीलाई दोष दिन्छन्। शिक्षा तथा नियम कानुन लागू गर्नाले सार्वजनिक सम्पत्तिको दुरुपयोग कम गर्न सकिएला तर आमाबाबुको मनोवृत्तिमा कुनै हेरफेर भएन भने नि? नाबालिग सुधार गृहका एक अफिसर भन्छन्: “गर्ने काम केही नभएकोले बोर लागेपछि केटाकेटीहरू यस्तो बिगार गर्छन्। [केटाकेटीहरू] राति अबेरसम्म त्यतिकै डुलिरहन्छन्। तिनीहरूलाई रेखदेख गर्ने कुनै अभिभावक नभएकाले नै होला—नत्रत तिनीहरू त्यतिकै डुल्ने नै थिएनन्।”
थुप्रै ठाउँहरूमा सार्वजनिक सम्पत्तिको दुरुपयोग गम्भीर समस्या भए तापनि यसलाई कसरी सुधार्न सकिन्छ, विचार गर्नुहोस्। सुरुमा उल्लेख गरिएका सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्ने केटाहरूले आमूल परिवर्तन गरे। अहिले तिनीहरूले समाज विरोधी गतिविधिहरूलाई चटक्कै छाडेका छन्। पहिले सार्वजनिक सम्पत्तिको दुरुपयोग गरी हिड्ने ती अपराधीहरूलाई आफ्नो जीवनशैली परिवर्तन गर्न केले मदत गऱ्यो? साथै सार्वजनिक सम्पत्तिको दुरुपयोग कम गर्ने मात्र नभई त्यसको नामोनिसान नै मेटाइयो भने के तपाईं चकित पर्नुहुनेछ? हामी तपाईंलाई यसपछिको लेख पढ्न आमन्त्रित गर्छौं।
[फुटनोट]
a नाउँ परिवर्तन गरिएका छन्।