सार्वजनिक सम्पत्तिको दुरुपयोगलाई हटाउन सकिन्छ
“किशोरकिशोरीहरूले गर्ने सार्वजनिक सम्पत्तिको दुरुपयोग वयस्क र तिनीहरूको स्तरप्रतिको अनादर र दुस्मनीको अभिव्यक्ति हो भनेर पहिलेदेखि मानिलिंदै आएको छ” भनी लेखकद्वय, जेन नर्मन र माइरन् डब्ल्यु. ह्यारिस भन्छन्। पहिलेदेखि चल्दै आएको यस परिस्थितिलाई परिवर्तन गर्न सकिंदैन भन्ने थुप्रै जवानहरूको सोचाइ भए तापनि “आमाबाबुले आफ्ना छोराछोरीको राम्ररी रेखदेख गरेमा अनि तिनीहरूलाई त्यति पट्टाइ नलाग्ने हो भने” किशोरकिशोरीहरूले गर्ने सार्वजनिक सम्पत्तिको दुरुपयोग कम गर्न सकिन्छ भन्ने एक तिहाइ मानिसको सोचाइ छ। किशोरकिशोरीलाई व्यस्त राखेर अनि आमाबाबुले तिनीहरूको राम्ररी रेखदेख गरेर सार्वजनिक सम्पत्तिको दुरुपयोग कम त होला तर के त्यसो गर्दैमा त्यसको पूरै समाधान हुन सक्ला र?
एक्लै हुँदा किशोरकिशोरीहरू शान्त नै हुन्छन् तर अर्को साथी पायो कि नचाहिंदो र बदमासी गरेर अरूको ध्यानाकर्षण गर्ने कोसिस गर्छन्। नेल्सोन पनि त्यस्तै थिए। आफ्नो रिस र असन्तुष्टि पोख्न तिनी लागूपदार्थ र मद्यसेवन गरेर सार्वजनिक सम्पत्तिको विनाश गर्थे। क्याथोलिक चर्चमा भूमिसुधार र श्रम अधिकारबारे प्रवचन सुनेपछि जुजे उत्तेजित भएर हडतालमा भाग लिने विचार गरे र आफ्नो विरोध जनाउन सार्वजनिक सम्पत्तिको तोडफोड गर्ने योजना बनाए। तथापि, नेल्सोन र जुजे दुवैले हूलदंगा वा सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्नुभन्दा धेरै उत्तम कुरा भेट्टाए।
सार्वजनिक सम्पत्तिको दुरुपयोगको केही गम्भीर कारणहरू
कुनै कुनै युवायुवतीहरू सार्वजनिक सम्पत्तिको दुरुपयोग किन गर्छन् भनेर अब हामी राम्ररी जाँचौं। थुप्रै युवायुवतीहरू अन्योलमा परेका छन् र “यस संसारलाई बौलाहा मानिसहरूले भरिएको बौलाहा ठाउँ भन्छन्।” तथापि, धेरैको सोचाइ विपरीत एउटा रिपोर्टले यसो भन्यो: “आफ्नो जीवनमा के गर्ने भनेर किशोरकिशोरीहरू सुर्ताउछन्। वयस्कहरूले भन्दा तिनीहरू धेरै चिन्ता गर्छन्।” कुनै युवा वा युवतीले सार्वजनिक सम्पत्तिको दुरुपयोग जानाजानी गरेको होस् या अनजानमा, सो गर्दा तिनीहरूले बाहिर व्यक्त गर्न नसकेका आफ्ना नैराश्यहरू, समाधान गर्न नसकेका समस्याहरू तथा पूरा गर्न नसकेका आवश्यकताहरू व्यक्त गरिरहेका हुन्छन्। यस लेखको प्रारम्भमा उल्लेख गरिएको अध्ययनअनुसार “सार्वजनिक सम्पत्तिको दुरुपयोगबारे प्रश्न गरिएका किशोरकिशोरीहरूमध्ये एक जनाले पनि त्यसको पक्षमा बोलेनन् वा समर्थन गरेनन्। सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्नेहरूले समेत त्यसको समर्थन गरेनन्।”
युवायुवतीहरूले मूल्यांकन र प्रोत्साहन विरलै पाउलान्। शिक्षाको महत्त्व बढ्दै गएकोले अनि प्रायजसो जागिर पाउनको निम्ति कुनै खास विषयमा उच्च शिक्षा वा प्राविधिक सीप चाहिने भएकोले युवायुवतीहरू असक्षम महसुस गर्नसक्छन्। साथै, युवायुवतीले गर्नसक्ने भन्दा बढी जोड दिएर आमाबाबु, शिक्षक र साथीभाइहरू तिनीहरूको आलोचना र तिनीहरूको क्षमताले भ्याएको भन्दा बढी माग गर्न सक्छन्। आफूदेखि दिक्क लागेकोले पनि थुप्रैले विरोध अथवा सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्छन्। त्यसो भए आमाबाबुको माया र रेखदेख पाएमा के यस्ता मानसिक वेदना कम नहोला र?
भित्तामा कोर्न र अन्य प्रकारका बाल अपराधहरू रोक्न कुनै कुनै अख्तियारवालाहरूले छाडे जस्तो देखिए तापनि चिन्ता गर्ने व्यक्तिहरू अझै पनि शिक्षक र स्कूलका कर्मचारीहरूले सार्वजनिक सम्पत्तिको दुरुपयोग कम गर्न मदत पुऱ्याउलान् भनेर आशा गर्छन्। कानुन लागू गर्ने सन्दर्भमा द वर्ल्ड बुक इनसाइक्लोपीडिया यसो भन्छ: “सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्नेहरूलाई जरिवाना तिर्न लगाएर तथा कैद गरेर सजाय दिइन्छ। कुनै कुनै स्थानीय सरकारहरूसित छोराछोरीहरूले सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेमा, त्यसको दोष आमाबाबुलाई लगाउने कानुनहरू हुन्छन्। तर प्रायजसो सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्नेहरूलाई सजाय दिइएको छैन। त्यस्ता परिस्थितिहरूमा कानुन लागू गर्न गाह्रो हुन्छ अनि यस्ता सार्वजनिक सम्पत्तिको नोक्सानी भएका प्रायजसो केसहरू कानुनी कार्यान्वयन गर्नुपर्ने गरी गम्भिर हुँदैनन्।” एउटा रिपोर्टअनुसार यस्ता अपराधीहरूमध्ये तीन प्रतिशत मात्र पक्राउमा परेका छन्।
अपराधको मूल कारण हटाउने सबैभन्दा राम्रो तरिका आमाबाबुले छोराछोरीको रेखदेख राम्ररी गर्नु हो भनेर तपाईं पक्कै पनि सहमत हुनुहुन्छ होला। तर पारिवारिक जीवन बिग्रँदा सारा समुदायलाई नै असर गर्छ। युवायुवतीहरूको समस्याका केही कारणहरू “आमाबाबुको कमजोर रेखदेख, नियम र दोहोरो कुराकानीको कमी, बेवास्ता अथवा भावशून्यता” हुन् भनेर ब्राजिलस्थित साऊ पाऊलु विश्वविद्यालयका प्राध्यापक आना ल्युएज भिएरा डे माटोसले टिप्पणी गरिन्।
येशूका यी शब्दहरू आज हाम्रै समयमा पूरा भइरहेका हामीले देखेका छौं: “अधर्म बढ़ने हुनाले धेरैका प्रेम सेलाएर जानेछ।” (मत्ती २४:१२) अनि २ तिमोथी ३:१-४ मा लिपिबद्ध गरिएका शब्दहरू सत्य साबित भइरहेका छन् भन्दा कसैको दुई मत नहोला। प्रेरित पावलले लेखे: “यो जान, कि आखिरी दिनमा डरलाग्दो समय आउनेछ। किनभने मानिसहरू स्वार्थी, धनका लोभी, अहंकारी, हठी, निन्दक, आमा-बाबुको आज्ञा पालन नगर्ने, बैगुणी, र अपवित्र, स्वाभाविक प्रेम रहितका, खुशी नहुने, अर्कालाई दोष लाउने, असंयमी, निष्ठूर, असल नरूचाउने, विश्वासघाती, उत्ताउला, दिमागी, परमेश्वरभन्दा बरु सुख-विलास निको मान्ने।” यथार्थको कुरा के हो भने, यस्ता स्वभाव भएका मानिसहरूसित संगत मात्र गर्नाले पनि बाल अपराधीहरू हुन्छन्। तापनि हामीले हरेस खानु हुँदैन। साधारणतया सम्बन्धित समुदायहरूले सार्वजनिक सम्पत्तिको दुरुपयोग हटाउन असफल भएका छन् तर अशिष्ट तथा लापरवाह व्यवहार त्यागेर आफ्नो जीवनशैलीमा आमूल परिवर्तन गर्न सफल भएका मानिसहरू पनि छन्। तिनीहरूले सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्न चटक्क छाडेका छन्।
युवायुवतीहरूको लागि भरपर्दो सल्लाह
सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्नेहरू र अन्य व्यक्तिहरूलाई आ-आफ्ना व्यक्तित्वमा आमूल परिवर्तन गर्न केले मदत गऱ्यो? शिक्षक तथा आमाबाबुहरूलाई पत्याउन गाह्रो लाग्ला तर बाइबलले उत्तम र वर्तमान समयको लागि उपयोगी डोऱ्याइ प्रदान गर्छ। ती पालन गरेर पहिला सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्नेहरू परमेश्वरले तोक्नुभएको यो नियम पालन गर्न उत्प्रेरित भएका छन्: “खराबी गर्न भीड़सँग नलाग्।” (प्रस्थान २३:२) आफूले पहिला कहिल्यै नबुझेका धार्मिक विश्वास र सिद्धान्तबारे बाइबलबाट सत्य कुरा थाह पाएर थुप्रै मानिसहरू त्यसतर्फ आकर्षित भएका छन्। अनि सिकेका कुराले तिनीहरूलाई सुधार गर्न मदत गरेको छ। साऊ पाऊलुको जुजे नाउँ गरेको युवकलाई विचार गर्नुहोस्। उपासना गर्दा मूर्तिको प्रयोग गर्नुपर्छ भन्ने विश्वासमा तिनलाई हुर्काइएको थियो। जब तिनलाई परमेश्वरको नाउँ यहोवा हो अनि उहाँ मूर्तिपूजा मन पराउनु हुन्न भनेर थाह भयो तब तिनले परमेश्वरलाई प्रसन्न किसिमका तुल्याउने परिवर्तनहरू गरे।—प्रस्थान २०:४, ५; भजन ८३:१८; १ यूहन्ना ५:२१; प्रकाश ४:११.
हिंस्रक गुन्डागिरी र हडतालहरूबाट नैराश्य मात्र पाएका नेल्सोनले भविष्यको लागि साँचो आशा पाएका छन् र त्यसले तिनलाई निकै सान्त्वना दिएको छ। तिनी भन्छन्: “पहिले नराम्रो संगति र लागू पदार्थ सेवन गरेर परिवारबाट तिरस्कृत हुन्थें भने अहिले घरमा सबैभन्दा बढी आदर पाउने म नै भएको छु। मेरा ठूला दाइहरूलाई सल्लाह दिनुपर्दा मेरो बुबा प्रायजसो मलाई अह्राउनुहुन्छ। यहोवाका साक्षीहरूसित अध्ययन गर्न थालेदेखि जीवनको उद्देश्य बुझेको हुनाले अहिले म आनन्दित छु।” अनि परमेश्वरको राज्यले पृथ्वीलाई प्रमोदवन बनाउनेछ भनेर थाह पाउनु, हिंस्रक वातावरणमा बस्ने बानी भइसकेको शहरिया केटो मार्कोको लागि हृदयस्पर्शी अनुभव भएको छ।—प्रकाश २१:३, ४.
पहिले गुन्डागिरी, सडकमा झगडा र सार्वजनिक सम्पत्तिको दुरुपयोग गरी हिंड्ने समूहको सदस्यलाई पनि विचार गर्नुहोस्। अनाथ भएकोले भाल्टरको बाल्यावस्था दुखैदुःखमा बितेको थियो। भ्रष्ट र दुष्ट रीतिरिवाजले भरिएको यस संसारमा परमेश्वरका मानिसहरू पनि छन् भनेर थाह पाउँदा तिनको मनमा गहिरो प्रभाव पऱ्यो। तिनीहरू आफ्नो जीवनमा बाइबलका सिद्धान्तहरू लागू गर्न प्रयास गर्नुको साथै अनुकम्पा, चासो र कृपा पनि देखाउँछन् भन्ने थाह पाउँदा तिनी छक्क परे। भाल्टर भन्छन्: “येशूको प्रतिज्ञाअनुसार, अहिले मैले ‘दाज्यू-भाइ, दिदी-बहिनी, आमा र बाबुहरू’ भेको ठूलो परिवार पाएको छु। अनि जहाँसम्म भविष्यको कुरा छ, म परमेश्वरको धार्मिक सरकारमा सबै मानिसहरूसित आनन्द र एकतामा बस्ने समयको प्रतिक्षा गर्छु।”—मर्कूस १०:२९, ३०; भजन ३७:१०, ११, २९.
विद्रोहभन्दा उत्तम कुरा
पहिले सार्वजनिक सम्पत्ति दुरुपयोग गर्ने यी व्यक्तिहरूले सहमानवहरूप्रति चासो र मायामात्र नदेखाएर “खराबीलाई घृणा” गर्न पनि सिकेका छन्। (भजन ९७:१०; मत्ती ७:१२) तपाईं नि? व्यापक रूपमा फैलिएको सार्वजनिक सम्पत्तिको दुरुपयोगको शिकार हुनेहरूमध्ये हुनुहुन्छ भने मात्र पनि परमेश्वरको वचन अध्ययन गर्नाले स्वर्गमा हुनुहुने मायालु पिता हुनुहुँदो रहेछ भनेर तपाईंले जान्नुहुनेछ। उहाँ तपाईंको फिक्री गर्नुहुँदो रहेछ भनेर तपाईंले बुझ्नुहुनेछ। (१ पत्रुस ५:६, ७) व्यक्तिगत कमजोरी वा गरिबीको बावजूद परमेश्वरले तपाईंलाई आध्यात्मिक तवरमा उन्नति गर्ने मदत दिन सक्नुहुन्छ। वास्तवमा, यो मात्रै पनि एकदमै अद्भुत अनुभव हो!
यहोवा र उहाँको पुत्र, येशू ख्रीष्ट सबै मानिसहरूले बाइबलको सत्य सिक्ने मौका पाओस् भनेर चाहनुहुन्छ। परमेश्वरको वचनले मानिसहरूलाई सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्न रोक्ने मात्र होइन। ईश्वरीय सिद्धान्त लागू गर्दै अझ उन्नति गर्न पनि उत्प्रेरित गर्नसक्छ। फलस्वरूप, तिनीहरू स्वच्छ र असल चालचलनका लागि नाउँ कमाउने अन्तरराष्ट्रिय भातृत्व अर्थात् यहोवाका साक्षीहरूका विश्वव्यापी मण्डलीको सदस्य बन्नेछन्। एफिसी ४:२४ अनुरूप यी इमान्दार मसीहीहरूले “नयाँ मानिसलाई धारण ग[रेका छन्], जो परमेश्वरअनुसार धार्मिकता र सत्यको पवित्रतामा सृष्टि भएको छ।” चाँडै यो पृथ्वी यस्ता मानिसहरूले मात्र भरिनेछ किनभने यस्तै मानिसहरूले मात्र सधैंको लागि बाँच्न पाउनेछन्।—लूका २३:४३ तुलना गर्नुहोस्।
सार्वजनिक सम्पत्तिको दुरुपयोग नहुने नयाँ संसार सम्भव छ
सार्वजनिक सम्पत्तिको दुरुपयोगलाई साँच्चै निर्मूल पार्न सकिन्छ भनेर के तपाईं विश्वास गर्नुहुन्छ? गर्नुहुन्छ भने, यस्तो आमूल परिवर्तन कसरी हुनेछ? परमेश्वरको राज्यले यो दुष्ट रीतिरिवाजलाई चाँडै हटाउनेछ। त्यसपछि पनि फेरि परमेश्वरको धार्मिक व्यवस्थाको जानाजानी उल्लंघन भएमा पृथ्वीका बासिन्दाहरू नै जिम्मेवार हुनेछन्। (यशैया २४:५, ६ तुलना गर्नुहोस्।) “अपराधीहरू चाहिं सबै सँगसँगै नाश हुनेछन्” भने धार्मिकतालाई प्रेम गर्नेहरूलाई बचाइनेछ। “परमप्रभुले मदत गरेर तिनीहरूलाई जोगाउनुहुन्छ, उहाँले तिनीहरूलाई दुष्टबाट जोगाएर बचाउनुहुन्छ, किनभने तिनीहरू उहाँको शरण परेका हुन्छन्।”—भजन ३७:३८-४०.
हो, सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्नेहरूलाई जरैसमेत उखेलेर फ्याँकिनेछ। साथै सारा अपराध, अत्याचार, पीडा र दुष्टतालाई पनि। त्यसको सट्टा नयाँ पृथ्वीमा शान्ति, साँचो धार्मिकता, शान्त र सुरक्षा हुनेछ। यशैया ३२:१८ ले के हनेछ भनेर यसरी शाब्दिक रूपमा भन्छ: “मेरो प्रजा चाहिं शान्त डेरा, सुरक्षित बासहरू र शान्तमय विश्रामका ठाउँहरूमा बस्नेछन्।” हो, प्रेम र चासो देखाउने मानिसहरू एउटा सुन्दर विश्वव्यापी प्रमोदवनमा बास गर्नेछन्।
पहिले सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्नेहरू अहिले अरू लाखौं व्यक्तिहरू सँगसँगै यहोवा परमेश्वरसित घनिष्ठ सम्बन्धको आनन्द उठाइरहेका छन्। तिनीहरू अब सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्दैनन्। के तपाईं पनि परमेश्वरको वचनको डोऱ्याइअनुसार चलेर परमेश्वरको नयाँ पृथ्वीमा जीवन पाउन चाहनुहुन्छ? चाहनुहुन्छ भने, यहोवाको घोषणालाई रेकर्ड गर्ने पुरातन समयका भजनरचयिताको अनुकरण गर्नुभए कसो होला: “म तँलाई शिक्षा दिनेछु, र तैंले कुन मार्गमा चल्नुपर्ने हो सो तँलाई सिकाउनेछु। तँमाथि नजर राखेर म तँलाई सल्लाह दिनेछु।”—भजन ३२:८.
[पृष्ठ ७-मा भएको चित्र]
आमाबाबुको रेखदेख र मायाले केटाकेटीलाई जोगाउँछ