प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w99 ७/१५ pp. २१-२३
  • फलदायी कुराकानी—सफल वैवाहिक जीवनको कुञ्जी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फलदायी कुराकानी—सफल वैवाहिक जीवनको कुञ्जी
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • फलदायी कुराकानीमा के के समावेश छन्‌
  • फलदायी कुराकानी गर्ने बाधाहरू
  • कसरी फलदायी कुराकानी गर्ने
  • आपसी कुराकानीद्वारा वैवाहिक सम्बन्ध बलियो बनाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • तपाईंको विवाहलाई स्थायी बन्धन बनाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • वर्तमान संसारमा विवाह सफल हुन सक्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • ११. सफल वैवाहिक जीवन
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
w99 ७/१५ pp. २१-२३

फलदायी कुराकानी—सफल वैवाहिक जीवनको कुञ्जी

सन्‌ १७७८ मा रबर्ट बेरनले दुइटा उत्तोलक भएको ताल्चा बनाए। यही ताल्चाको आधारमा अहिलेका ताल्चाहरू बनाइएका हुन्‌। तिनले बनाएको ताल्चाको एउटै साँचोले ताल्चाका दुइटै उत्तोलक खोल्थ्यो।

त्यसै गरी, वैवाहिक जीवन सफल बनाउन पतिपत्नी सँगै मिलेर काम गर्नुपर्छ। सफल विवाहबाट प्राप्त हुने अनमोल आनन्दको ताल्चा खोल्न र त्यो आनन्द अनुभव गर्न फलदायी कुराकानी गर्नु अत्यावश्‍यक छ।

फलदायी कुराकानीमा के के समावेश छन्‌

फलदायी कुराकानीमा के समावेश छ? एउटा शब्दकोशले कुराकानीलाई “सोचाइ र विचार पोख्नु वा आदानप्रदान गर्नु अथवा बोली, लेखाइ वा इशाराद्वारा सूचना आदानप्रदान गर्नु” भनी परिभाषित गरेको छ। अतः कुराकानी गर्नु भनेको भावना तथा विचारहरूको आदानप्रदान हो। अनि फलदायी कुराकानी उत्थानदायी, स्फूर्तिदायी, सदगुणी, प्रशंसायोग्य अनि सान्त्वनादायी हुन्छ।—एफिसी ४:२९-३२; फिलिप्पी ४:८.

एकअर्काप्रतिको विश्‍वास, भरोसा र समझदारीले फलदायी कुराकानीको बाटो खोल्छ। यस्ता गुणहरू विवाहलाई आजीवन सम्बन्ध सम्झेर त्यस्तै बनाउने निष्कपट संकल्प गर्दा विकास हुन्छ। यस्तो सम्बन्धबारे टिप्पणी गर्दै १८ औं शताब्दीका निबन्धकार जोसेफ एडिसनले यसरी लेखे: “पारस्परिक सान्त्वना र खुसीका लागि असंख्य मानिसहरूको भीडबाट एकअर्कालाई रोज्ने दुई व्यक्‍तिहरू एकअर्काका कमी कमजोरी तथा असल गुणहरू अंगाल्दै आजीवन मिजासपूर्ण, दयालु, विवेकशील, क्षमाशील, धैर्यवान्‌ अनि आनन्दमय सम्बन्धमा बाँधिन्छन्‌।” यस्तो मिलन हुनु साह्रै खुसीको कुरा हो! यस्ता रत्नझैं गुणहरूले तपाईंको विवाह अझ राम्रो बनाउनसक्छ किनकि फलदायी कुराकानी गरेर तपाईं यी गुणहरू प्राप्त गर्न सक्नुहुन्छ।

फलदायी कुराकानी गर्ने बाधाहरू

थुप्रै दम्पतीहरू मीठा सपनाहरू सजाएर, असाध्यै खुसी तथा उल्लसित भएर बैवाहिक विवाह बन्धनमा बाँधिन्छन्‌। तथापि, विवाह गरेको केही समय नबित्दै थुप्रैको खुसी तथा उल्लास वाफसरी उडेर जान्छ अनि सपनाहरू भताभुङ्‌ग हुन्छन्‌। आपसी विश्‍वास घोर निराशा, क्रोध, वैमनस्यता र तीव्र घृणामा समेत परिणत हुनसक्छ। तब विवाह “आजीवन” सहनै पर्ने एउटा बाध्यता मात्र हुन्छ। त्यसोभए, सफल विवाहका लागि आवश्‍यक कुराकानी राम्ररी गर्न वा लगातार गरिरहनका लागि केही वाधाहरू पार गर्नुपर्छ।

फलदायी कुराकानी गर्ने एउटा बाधा हो, आफ्नो कुनै कुनै कुरा वा मनसायप्रति पति वा पत्नीले कस्तो प्रतिक्रिया देखाउने होला भन्‍ने आशंका। उदाहरणका लागि, पति वा पत्नीले आफ्नो गम्भीर शारीरिक कमजोरीहरू थाह पाएपछि आफूलाई त्याग्ने पो हुन्‌ कि भन्‍ने आशंका उब्जिनसक्छ। भर्खरै देखा परेको शारीरिक रोग वा कमजोरीहरूले रूपरंग नै अर्कै बनाइदिन्छ अथवा अशक्‍त बनाउँछ भनेर पति वा पत्नीलाई कसरी बताउने? यस्तो अवस्थामा नलुकाइकन कुराकानी गर्नु अनि भविष्यका लागि गहन सोचविचार गरेर योजना बनाउनु अत्यावश्‍यक छ। कोमल भएर माया गरिरहनेछु भन्‍ने आश्‍वासन दिंदा पति वा पत्नीप्रतिको व्यक्‍तिगत चासो झल्किनसक्छ र विवाहलाई साँच्चै सन्तोषजनक बनाउन मदत मिल्नसक्छ। विवाहमा यो हितोपदेश पूरापुर लागू हुनुपर्छ: “मित्र सब समय एक प्रेमी साथी हुन्छ, औ दाज्यू-भाइ चाहिं दुःखमा सहभागी हुनलाई जन्मेको हुन्छ।”—हितोपदेश १७:१७.

फलदायी कुराकानी गर्ने अर्को बाधा हो, द्वेष। आनन्दित विवाहलाई दुई जना क्षमाशील व्यक्‍तिको मिलन हो भन्‍नु अति उपयुक्‍त छ। यो भनाइअनुसार चल्न विवाहित जोडीले प्रेरित पावलको व्यवहारिक सल्लाह पालन गर्ने सक्दो प्रयास गर्नुपर्छ। तिनले यस्तो सल्लाह दिए: “घाम अस्ताउन अघिनै तिमीहरूको रीस मरोस।” (एफिसी ४:२६) रिस वा द्वेष नराखी उक्‍त सल्लाह व्यवहारमा उतार्न विनम्र भएर कुराकानी गर्नु आवश्‍यक छ। सफल वैवाहिक जीवनको आनन्द उठाउने पति वा पत्नीले पछिसम्म रिस, झगडा र ईर्ष्या गरिरहँदैनन्‌। (हितोपदेश ३०:३३) तिनीहरू परमेश्‍वरको अनुकरण गर्ने प्रयास गर्छन्‌ किनकि उहाँ द्वेष राख्नुहुन्‍न। (यर्मिया ३:१२) साँच्चै, तिनीहरू हृदयबाटै एकअर्कालाई क्षमा गर्छन्‌।—मत्ती १८:३५.

एकअर्कासित बोल्न छाड्‌नु, दोहोरो कुराकानीको लागि अर्को बाधा हो। एकअर्कासित बोल्न छाड्‌नुमा अँध्यारो मुख लगाउने, लामो सुस्केरा तान्‍ने, यन्त्र मानवझैं चुपचाप काम गर्ने वा एक जना मात्र बोलेको बोलेकै गर्ने हुनसक्छ। यस्तो व्यवहार गर्ने पति वा पत्नीले आफ्नो दुःख व्यक्‍त गरिरहेको हुन्छ। तर चुपचाप अनि अँध्यारो मुख लगाएर बस्नुभन्दा खुल्लमखुल्ला तथा मीठो तरिकामा आफ्ना भावनाहरू पोखाउँदा विवाह सुमधुर हुँदै जान्छ।

घनिष्ठ वैवाहिक सम्बन्धमा राम्रो कुराकानी कायम गर्नका लागि हटाउनुपर्ने अर्को बाधा हो, पति वा पत्नीको कुरा राम्ररी नसुन्‍ने वा अरूको कुरा पटक्कै नसुन्‍ने बानी। असाध्यै थकित वा व्यस्त भएकोले एकअर्काको कुरा राम्ररी सुन्‍ने मानसिक तथा भावनात्मक बल हामीसँग नहुनसक्छ। एक जनालाई कुनै कुनै कामकुराबारे खुलस्तसित कुराकानी भइसकेको जस्तो लागे तापनि अर्कोले चाहिं पहिलोपल्ट सुन्दैछु भन्‍ने जिद्धी गर्दा भनाभन सुरु हुनसक्छ। स्पष्टतः राम्ररी कुराकानी नगर्नाले यस्ता कठिनाइहरू खडा हुन्छन्‌।

कसरी फलदायी कुराकानी गर्ने

मायालु र फलदायी कुराकानी गर्ने समय निकाल्नु अति महत्त्वपूर्ण छ! कतिले टिभीमा अरूको जीवनबारे कार्यक्रमहरू हेर्नमा निकै समय बिताउँछन्‌ र आफ्नो जीवनका लागिचाहिं त्यति समय निकाल्न सक्दैनन्‌। तसर्थ, फलदायी कुराकानी गर्न कहिलेकाहीं टिभी बन्द गर्नु आवश्‍यक हुन्छ।

तथापि, बोल्ने एउटा समय भएझैं चुप्प लाग्ने समय पनि छ। बुद्धिमान्‌ मानिसले यसो भने: “सबै कुराको लागि समय छ, . . . चूप्प लाग्ने एउटा समय छ, बोल्ने एउटा समय।” अरूलाई भन्‍ने शब्दहरू उचित हुनुपर्छ। हितोपदेश भन्छ, “ठीक बेलामा भनिएको कुरा झन्‌ कति असल हुन्छ।” (उपदेशक ३:१, ७; हितोपदेश १५:२३) त्यसकारण, महत्त्वपूर्ण विषय वा आफ्नो हृदयको कुरा बताउने सबैभन्दा उत्तम समय कहिले हो, पक्का गर्नुहोस्‌। आफैलाई यस्ता प्रश्‍नहरू सोध्नुहोस्‌: ‘के मेरो पति वा पत्नी थकित छ वा तिनको मन हल्का र स्फूर्तिदायी छ? मैले भन्‍न चाहेको विषयले मनै झसंग पार्ने पो हो कि? यस विषयमा यसअघि कुरा गर्दा मैले प्रयोग गरेका शब्दहरूप्रति मेरो पति वा पत्नीले कसरी आपत्ति जनाएका थिए?’

अरूको कुरा समर्थन गर्दा वा स्वीकार्दा आफूलाई फाइदा हुन्छ जस्तो देखिएमा मानिसहरूले राम्रो प्रतिक्रिया देखाउँछन्‌ भनेर याद गर्नु बेस हुन्छ। पति वा पत्नीबीच तनाउ उत्पन्‍न भएको छ भने एक जनाले यसो भन्‍नसक्छन्‌: “मलाई एउटा कुराले पिरोलिरहेको छ, यसलाई अहिल्यै सुल्झाइ हालौ न!” निस्सन्देह, परिस्थितिअनुसार शब्दहरू प्रयोग गर्नुपर्छ तर यसो भने कसो होला: “प्रिये, हामीले यसअघि छलफल गरेको विषयबारे अनि त्यसलाई कसरी हल गर्न सकिन्छ भनेर सोचिरहेको छु।” कसो भने तपाईंको पति वा पत्नीलाई मन पर्ला?

हो, कुरा स्तुत गर्ने ढंग एकदमै महत्त्वपूर्ण छ। प्रेरित पावलले यसरी लेखे: “तिमीहरूको वचन नूनले स्वादिलो पारेको जस्तै अनुग्रहसहितको होस्‌।” (कलस्सी ४:६) मीठो स्वर तथा शब्दहरू प्रयोग गर्ने कोसिस गर्नुहोस्‌। नबिर्सनुहोस्‌, “दयालु वचन तपतप चुहुने महतस्तै हो, जिब्रोलाई मीठो बनाउने र शरीरलाई स्वास्थ्यकर बनाउने त्यो हुन्छ।”—हितोपदेश १६:२४.

केही दम्पतीहरूले घरको काम बाँडीचुँडी गर्दा कुराकानी गर्ने राम्रो वातावरण पाउनसक्छन्‌। यसरी मिलेर काम गर्दा आपसी सहयोगको भाव बढ्‌नुका साथै फलदायी कुराकानी गर्ने समय मिल्छ। अन्य दम्पतीहरूका लागि चाहिं फलदायी कुराकानी गर्न कुनै काम नगरी केही समय सँगै बिताउनु असल र लाभदायक हुन्छ।

राम्ररी मिलेर बस्ने दम्पतीहरूले कसरी आपसी कुराकानी गर्छन्‌ भनेर ध्यान दिनाले पनि अक्सर थुप्रै कुराहरू सिक्न सकिन्छ। तिनीहरू कसरी मिलेर बस्न सकेका होलान्‌? मेलमिलापमा रहेकाले अनि व्यक्‍तिगत प्रयास, धैर्य र मायालु चासोसहित एकअर्कासित खुल्लमखुल्ला कुराकानी गरेकाले हुनसक्छ। स्पष्टतया, तिनीहरूले अझै पनि थुप्रै कुराहरू सिक्नुपर्छ किनकि वैवाहिक बन्धन स्वतः सफल हुँदैन। त्यसैले पति वा पत्नीको दृष्टिकोण विचार गर्नु, आवश्‍यकतालाई ध्यान दिनु अनि बुद्धिमानी साथ कुरा गरेर तनाउपूर्ण स्थिति समाधान गर्नु अति महत्त्वपूर्ण छ। (हितोपदेश १६:२३) तपाईं विवाहित हुनुहुन्छ भने, सुखद्‌ वैवाहिक जीवन बिताउने कोसिस गर्नुहोस्‌ अनि आफ्नो पति वा पत्नीसँग नहिचकिचाइ माफी माग्ने गर्नुहोस्‌। यसो गर्नाले तपाईंको विवाह सफल बनाउन अवश्‍य मदत मिल्नेछ।

मानिसहरूले सुखद्‌ र स्थायी विवाहको आनन्द उठाऊन्‌ भन्‍ने यहोवा परमेश्‍वर चाहनुहुन्छ। (उत्पत्ति २:१८, २१) तर सफल विवाहको कुञ्जी त वैवाहिक सम्बन्धमा बाँधिने व्यक्‍तिहरूकै हातमा छ। दुई जना मायालु व्यक्‍तिले फलदायी कुराकानी गर्न सिकेर सफल विवाहको ताल्चा खोल्ने परिश्रम गर्नुपर्छ।

[पृष्ठ २२-मा भएको चित्र]

टिभी बन्द गर्नाले कुराकानी गर्न प्रशस्त समय मिल्नसक्छ

[पृष्ठ २३-मा भएको चित्रहरू]

फलदायी कुराकानीले दुई हृदयलाई स्थायी प्रेममा बाँध्न मदत गर्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने