फिलिप—जोसिलो सुसमाचारक
धर्मशास्त्रमा अनुकरणीय विश्वास भएका थुप्रै पुरुष तथा स्त्रीहरूका विवरणहरू छन्। पहिलो शताब्दीका मसीही मिसनरी फिलिपलाई विचार गर्नुहोस्। तिनी प्रेरित थिएनन्। यद्यपि, राज्य सन्देश फैलाउन तिनलाई व्यापक तवरमा प्रयोग गरियो। भनौं भने, फिलिप “सुसमाचार प्रचार गर्ने” व्यक्ति भनी चिनिए। (प्रेरित २१:८) किन फिलिप सुसमाचार प्रचार गर्ने भनी कहलिए? अनि तिनीबाट हामी के सिक्नसक्छौं?
बाइबल विवरण हेर्दा सा.यु. ३३ पछिका घटनाहरूमा फिलिपको नाउँ उल्लेख भएको पाइन्छ। त्यतिखेर खाद्यान्न वितरण गर्दा आफ्ना वर्गका विधवाहरूलाई बेवास्ता गरियो भनी ग्रीक-यहूदीहरूले हिब्रूहरूका विरुद्ध गनगनाउन थाले। यो समस्या समाधान गर्न प्रेरितहरूले “नाउँ चलेका सात जना मानिस” नियुक्त गरे। ती छानिएकाहरूमध्ये फिलिप पनि एक थिए।—प्रेरित ६:१-६.
यी सात मानिसहरू “नाउँ चलेका” थिए। जेम्स मोफटको अनुवादअनुसार तिनीहरू “असल नाउँ कमाएका” व्यक्तिहरू थिए। हो, नियुक्त गरिएको समयमा तिनीहरूले व्यवहारिक ढंगमा सोचविचार गर्नसक्ने आध्यात्मिक मानिसहरू भनी नाउँ कमाइसकेका थिए। अहिले मसीही निरीक्षकहरूको हैसियतमा सेवा गर्नेहरू पनि तिनीहरूजस्तै पुरुषहरू हुन्। यस्ता पुरुषहरूलाई सजिलै नियुक्त गरिंदैन। (१ तिमोथी ५:२२) तिनीहरूले “मण्डली बाहिरकाहरूबाट असल नाउँ पाएका हुनुपर्छ” अनि सँगी मसीहीहरूले तिनीहरू व्यवहारिक र शुद्ध मनका छन् भनेर चिनेका हुनुपर्छ।—१ तिमोथी ३:२, ३, ७; फिलिप्पी ४:५.
प्राप्त प्रमाणअनुसार, आफूले पाएको जिम्मेवारीलाई फिलिपले यरूशलेममा राम्ररी निर्वाह गरे। तथापि, केही समयपछि घोर सतावट सुरु भयो अनि ख्रीष्टका अनुयायीहरू तितरबितर भए। अरू अनुयायीहरू जस्तै फिलिप पनि शहरबाट भागे तर तिनको सेवकाई भने रोकिएन। धेरै समय नबित्दै तिनी नयाँ क्षेत्र अर्थात् सामरियामा प्रचार गर्न व्यस्त भए।—प्रेरित ८:१-५.
नयाँ क्षेत्रहरूमा सेवा गर्ने
आफ्ना चेलाहरूले “यरूशलेममा, सारा यहूदियामा, सामरियामा र पृथ्वीको अन्तसम्म” प्रचार गर्नेछन् भनी येशूले भविष्यवाणी गर्नुभएको थियो। (प्रेरित १:८) फिलिपले सामरियामा प्रचार गर्दा उक्त शब्दहरू पूरा भए। यहूदीहरूले साधारणतया सामरीहरूलाई तुच्छ ठान्थे। तर फिलिपले तिनीहरू यस्ता होलान् अथवा उस्ता होलान् भन्ने अड्कल काटेनन् अनि तिनले आफ्नो निष्पक्ष व्यवहारको आशिष् पाए। हो, शिमोन नाउँको पहिलेको जादूगरलगायत थुप्रै सामरीहरूले बप्तिस्मा लिए।—प्रेरित ८:६-१३.
समयको अन्तरालमा यहोवाको दूतले फिलिपलाई यरूशलेमबाट मरुभूमिको बाटोहुँदो गाजातिर जाने निर्देशन दिए। फिलिपले बाटोमा इथियोपियाका एक अख्तियारवाला रथमा आउँदै गरेका भेटे। त्यस व्यक्तिले यशैयाको अगमवाणी पढिरहेका थिए। फिलिप तिनीकहाँ दौडेर गए अनि तिनीसित कुरा गर्न थाले। उक्त इथियोपियाली यहूदीधर्मका थिए र तिनीसँग परमेश्वरको धर्मशास्त्रबारे केही मात्रामा ज्ञान पनि थियो। यद्यपि, आफूले पढिरहेका कुरा बुझ्न कसैको मदत चाहिन्छ भनी तिनले विनम्रसाथ स्वीकारे। तसर्थ, तिनले फिलिपलाई रथमा चडेर तिनीसँगै बस्ने आग्रह गरे। फिलिपले साक्षी दिइसकेपछि तिनीहरू पानी भएको ठाउँमा आइपुगे। इथियोपियालीले सोधे, “मलाई बप्तिस्मा हुनालाई केले रोक्छ र?” फिलिपले तुरुन्त तिनलाई बप्तिस्मा दिए अनि खुसीले गद्गद हुँदै इथियोपियाली आफ्नो बाटो लागे। सायद यस नयाँ चेलाले आफ्नो गाउँघरतिर सुसमाचार फैलाए होलान्।—प्रेरित ८:२६-३९.
फिलिपले सामरीहरू र इथियोपियाली अख्तियारवालालाई प्रचार गरेका कुराबाट हामी के सिक्नसक्छौं? कुनै कुनै राष्ट्र, जात वा समाजका मानिसहरूले सुसमाचारमा चासो देखाउँदैनन् होला भनी अड्कल काट्नु हुँदैन। बरु, हामीले राज्यको सन्देश “सबै” मानिसहरूलाई सुनाउनुपर्छ। (१ कोरिन्थी ९:१९-२३) सबै मानिसहरूलाई प्रचार गऱ्यौं भने यस दुष्ट रीतिरिवाजको अन्त हुनुअघि ‘सबै देशका जातिहरूलाई चेला बनाउन’ यहोवाले हामीलाई प्रयोग गर्नुहुनेछ।—मत्ती २८:१९, २०.
फिलिपका थप सुअवसर
इथियोपियाली अख्तियारवालालाई प्रचार गरेपछि फिलिपले अश्दोदमा साक्षी दिए अनि “तिनी सिजरिया नपुगुञ्जेल बाटोका सबै शहरहरूमा सुसमाचार सुनाउँदै गए।” (प्रेरित ८:४०) प्रथम शताब्दीमा यी दुई शहरहरूका अधिकांश मानिसहरू अन्यजातिका थिए। उत्तरमा पर्ने सिजरियातिर लाग्दा फिलिपले लिड्डा र जोप्पाजस्ता प्रमुख यहूदी इलाकाहरूमा प्रचार गरे होलान्। त्यसैकारण, पछि यी इलाकाहरूमा चेलाहरू भएको हुनुपर्छ।—प्रेरित ९:३२-४३.
तत्पश्चात् करिब २० वर्षपछि फिलिपबारे अन्तिम पटक चर्चा गरिएको छ। आफ्नो तेस्रो मिसनरी यात्राको अन्तमा पावल जहाजबाट टोलेमाइस पुगे। पावलका सहयात्री लूका भन्छन्, “भोलिपल्ट हामी बिदा भएर सिजरियामा आयौं, र सुसमाचार प्रचार गर्ने फिलिपको घरमा पस्यौं।” त्यतिखेरसम्म फिलिपका “अगमवाणी बोल्ने चारवटी कन्ये-छोरीहरू” भइसकेका थिए।—प्रेरित २१:८, ९.
स्पष्टतः फिलिप सिजरियामा बसोबास गर्थे। तर तिनको मिसनरी जोस सेलाएको थिएन। त्यसैकारण त लूकाले तिनलाई “सुसमाचार प्रचार गर्ने” भने। यो अभिव्यक्तिले प्रचार नगरिएका इलाकाहरूमा सुसमाचार सुनाउन आफ्नो घर छोड्ने व्यक्तिलाई बुझाउँछ। फिलिपका अगमवाणी बोल्ने चारवटी कन्ये छोरीहरू थिए भन्ने तथ्यले तिनीहरूले आफ्नो बुबाको जोसिलो नमुना पछ्याएका थिए भनी देखाउँछ।
वर्तमान समयका मसीही आमाबाबुहरूले आफ्ना छोराछोरी नै सबैभन्दा महत्त्वपूर्ण चेलाहरू हुन् भनेर कहिल्यै बिर्सनु हुँदैन। आमाबाबुहरूले पारिवारिक जिम्मेवारीहरूको कारण केही ईश्वरतान्त्रिक कार्यभारहरू त्याग्नु परे तापनि तिनीहरू फिलिपजस्तै तनमनले परमेश्वरको सेवक भइरहन अनि उदाहरणीय बन्नसक्छन्।—एफिसी ६:४.
पावल र तिनका मित्रहरू आफ्नो घरमा आउँदा फिलिपको परिवारले अतिथिसत्कार गर्ने राम्रो सुअवसर पाए। तिनीहरूले एकअर्कालाई कति धेरै प्रोत्साहन दिन सके होला, कल्पना गर्नुहोस् त! लूकाले सायद यही अवसरमा फिलिपका क्रियाकलापहरूबारे विवरण संकलन गरे होलान्। ती विवरणहरू नै तिनले पछि प्रेरित अध्याय ६ र ८ मा समावेश गरे।
यहोवा परमेश्वरले राज्यसम्बन्धी कामकुरालाई अघि बढाउन फिलिपलाई विस्तृत रूपमा चलाउनुभयो। फिलिपले आफ्नो जोसले गर्दा नयाँ नयाँ क्षेत्रहरूमा सुसमाचार फैलाउनुका साथै आफ्नो घरपरिवारमा स्वास्थ्यकर आध्यात्मिक वातावरण सृजना गर्न सके। के तपाईं पनि यस्तै जिम्मेवारी तथा आशिष्हरू प्राप्त गर्न चाहनुहुन्छ? त्यसोभए, सुसमाचार प्रचारक फिलिपले देखाएका गुणहरू अनुकरण गर्नु बेस हुनेछ।