अग्रगामी मनोभाव देखाउनुहोस्
१. अग्रगामी मनोभावलाई तपाईं कसरी व्याख्या गर्नुहुन्छ?
१ अहिले नै अग्रगामीहरूको रूपमा सेवा गर्न सके तापनि, नसके तापनि सबै राज्य प्रकाशकहरूले अग्रगामी मनोभाव देखाउन सक्छन्। उनीहरू साँच्चै प्रचार गर्ने र चेला बनाउने आज्ञा पालन गर्न चाहन्छन्। (मत्ती २८:१९, २०; प्रेरि. १८:५) उनीहरू मानिसहरूको ख्याल राख्छन् र आफ्नो सेवकाई पूरा गर्न त्यागहरू गर्छन्। (मत्ती ९:३६; प्रेरि. २०:२४) सत्य सिक्न अरू मानिसहरूलाई मदत गर्नका लागि यहोवाका सेवकहरू जे गर्न पनि इच्छुक हुन्छन्। (१ कोरि. ९:१९-२३) आउनुहोस्, यस्तो मनोभाव देखाएका प्रचारक फिलिपको उदाहरणलाई विचार गरौं।
२. सेवकाईको लागि प्राचीन तथा सेवकाई सेवकहरूले कसरी फिलिपको जोस अनुकरण गर्न सक्छन्?
२ प्रचार गर्ने र सिकाउने: फिलिपले प्रथम शताब्दीको मण्डलीमा गहन जिम्मेवारीहरू वहन गरेका थिए। (प्रेरि. ६:१-६) यद्यपि, तिनी मुख्यतया सुसमाचारका एक जना जोसिला प्रचारक थिए। (प्रेरि. ८:४०) त्यस्तै गरी आज आफूलाई सुम्पिएका जिम्मेवारीहरू सँभाल्दा प्राचीन तथा सेवकाई सेवकहरूले सेवकाईमा उत्साहजनक रूपमा नेतृत्व लिएर अग्रगामी मनोभाव देखाउन सक्छन्। यसले मण्डलीको जोसलाई बढाउँछ!—रोमी १२:११.
३. परीक्षाहरूको सामना गर्दा हामी कसरी अग्रगामी मनोभाव प्रदर्शित गर्न सक्छौं?
३ स्तिफनसको मृत्युपछि चर्किएको सतावटले चेलाहरूको जीवनमा निकै ठूलो गोलमाल मच्चायो। तथापि, फिलिपले निरन्तर प्रचार गरिरहे र सामरीहरूलाई प्रचार गर्न सुरु गर्ने सन्दर्भमा तिनले महत्त्वपूर्ण भूमिका निभाए। (प्रेरि. ८:१, ४-६, १२, १४-१७) परीक्षाहरूको सामना गर्दा निरन्तर सुसमाचार सुनाउनुका साथै आफूले भेट्ने सबै जनालाई निष्पक्ष भई प्रचार गरेर हामी तिनको उदाहरण अनुकरण गर्न सक्छौं।—यूह. ४:९.
४. एक जना शिक्षकको हैसियतमा फिलिपले कस्तो उदाहरण बसाले?
४ परमेश्वरको वचनका एक जना शिक्षकको हैसियतमा फिलिपको कौशलता इथियोपियाली नपुंसकसँगको कुराकानीको विवरणमा देख्न सकिन्छ। (प्रेरि. ८:२६-३८) बाइबल प्रयोग गर्ने क्षमता विकास गर्नु र ‘धर्मशास्त्रबाट तर्क’ गर्नु भनेको पनि हामीले अग्रगामी मनोभाव देखाउन सक्ने अर्को तरिका हो। (प्रेरि. १७:२, ३) फिलिपजस्तै हामी पनि जहाँ-जहाँ मानिसहरू भेटिन्छन् त्यहाँ-त्यहाँ र हरेक उपयुक्त अवसरमा सुसमाचार प्रचार गर्न खोज्छौं।
५. आफ्ना छोराछोरीको मनमा अग्रगामी मनोभाव हालिदिन मसीही आमाबाबुलाई कुन कुराले मदत गर्न सक्छ?
५ परिवार तथा मण्डली: फिलिपको मनोवृत्ति र उदाहरणले तिनका छोरीहरूमा पक्कै पनि सकारात्मक प्रभाव परेको हुनुपर्छ। (प्रेरि. २१:९) त्यस्तै गरी, आफ्नो जीवन राज्यका गतिविधिहरूमा केन्द्रित गर्ने आमाबाबुहरूले आफ्ना छोराछोरीलाई पनि त्यसै गर्न प्रोत्साहन दिन्छन्। हप्ताको अन्तमा थकित नै भए तापनि अरूलाई उत्सुकतापूर्वक प्रचार गर्ने आमा वा बुबाले बच्चाको मनमा अमेट छाप छोड्न सक्छन्।—हितो. २२:६.
६. आफ्नो मण्डलीका अग्रगामीहरूप्रति हामी कसरी मूल्याङ्कन देखाउन सक्छौं?
६ फिलिपले पावल र लूकाजस्ता यहोवाको सेवामा कडा मेहनत गर्ने जोसिला मसीहीहरूलाई अतिथिसत्कार देखाए। (प्रेरि. २१:८, १०) आज कसरी हामी जोसिला व्यक्तिहरूलाई हाम्रो मूल्याङ्कन देखाउनुका साथै सहयोग गर्न सक्छौं? सेवकाईमा थोरैले मात्र भाग लिएको दिन बिहान अथवा अपराह्नमा अग्रगामीहरूसित काम गर्ने प्रस्ताव राख्न सक्छौं होला। (फिलि. २:४) उत्थानदायी कुराकानीको लागि हामी उनीहरूलाई आफ्नो घरमा आमन्त्रित गर्न पनि सक्छौं। हाम्रो परिस्थिति जस्तोसुकै भए तापनि हामी सबै जनाले अग्रगामी मनोभाव प्रदर्शित गर्ने प्रयास गरिरहन सकौं।