परमेश्वरका प्रतिज्ञाहरूमाथिको विश्वासद्वारा जिउने
“म परमेश्वर हुँ, औ मबाहेक अरू कोही छैनँ। म परमेश्वर हुँ, म जस्तै अरू कोही छैन। म आदिदेखि अन्तसम्मको, र प्राचीन समयदेखि अहिलेसम्म नभएका कुराहरू . . . घोषणा ग[र्छु]।”—यशैया ४६:९, १०.
१, २. पृथ्वीका कामकुरामा परमेश्वर कत्तिको सामेल हुनुहुन्छ भन्नेबारे कस्ता धारणाहरू छन्?
पृथ्वीका मामिलाहरूमा परमेश्वर कत्तिको सामेल हुनुहुन्छ? यसबारे थुप्रै धारणाहरू छन्। एउटा धारणाअनुसार परमेश्वर कदापि बिथोलित हुनुहुन्न। सबथोक सृष्टि गरिसक्नुभएपछि उहाँ मानिसजातिको पक्ष लिन या त अनिच्छुक हुनुहुन्छ या असमर्थ हुनुहुन्छ। यो धारणाअनुसार परमेश्वर त्यस्तो बुबासमान छन् जो आफ्नो छोरालाई नयाँ साइकलमा चढाएर बाटोतिर धकेलिदिन्छन् त्यसपछि आफूचाहिं लुरुलुरु एकातिर लाग्छन्। केटो एक्लै छ, ऊ लोट्न पनि सक्छ नलोट्न पनि सक्छ। परिणाम जेसुकै होस्, बुबालाई त्यसमा कुनै चासो रहेन।
२ अर्को धारणाअनुसार परमेश्वर हाम्रो जीवनको हर पक्षलाई सक्रियतासाथ डोऱ्याउनुहुन्छ र उहाँ आफ्नो सृष्टिका सम्पूर्ण पक्षहरूमा प्रत्यक्ष रूपले बिथोलित हुनुहुन्छ। तथापि, यदि यसो हो भने, परमेश्वर हितकारी कुराहरूका लागि मात्र होइन तर मानिसजातिलाई पिरोल्ने अपराध तथा आपद्विपद्का लागिसमेत जिम्मेवार हुनुहुन्छ भनेर कसै कसैले भन्न सक्नेभयो। तथापि, परमेश्वरले मानिसजातिसित गर्नुहुने व्यवहारबारे सही जानकारी पायौं भने उहाँबाट हामीले आशा गर्न सक्ने अनि नसक्ने कुरा थाह पाउन सक्नेछौं। यसो गर्दा उहाँले गर्नुभएका केही खास प्रतिज्ञाहरू पूरा हुने सम्बन्धमा हाम्रो विश्वास पनि बलियो हुनेछ।—हिब्रू ११:१.
३. (क) यहोवा उद्देश्यको परमेश्वर हुनुहुन्छ भनी हामी कसरी भन्नसक्छौं? (ख) यहोवालाई उद्देश्य ‘रच्नुहुने’ र ‘बनाउनुहुने’ किन भनिएको छ?
३ मानवजातिको मामिलामा परमेश्वर कत्तिको सरिक हुनुहुन्छ भन्ने प्रश्नको जवाफ पत्ता लगाउनुअघि यहोवा उद्देश्यको परमेश्वर हुनुहुन्छ भन्ने बुझ्नु आवश्यक छ। यो उहाँको नाउँबाटै प्रस्ट हुन्छ। “यहोवा” नाउँको अर्थ “उहाँले हुन दिनुहुन्छ” हो। सिलसिलाबद्ध तरिकामा काम गर्दै यहोवा आफैलाई आफ्ना प्रतिज्ञाहरू पूरा गर्ने व्यक्ति हुन दिनुहुन्छ। त्यसैकारण, यहोवालाई आफ्नो उद्देश्यसित सम्बन्धित भावी घटनाहरू वा कामकुराहरू ‘रच्नुहुने’ र बनाउनुहुने भनिएको छ। (२ राजा १९:२५; यशैया ४६:११) यी पदावलीहरू हिब्रू शब्द यात्सार-बाट लिइएको हो जुन “कुमाले” अर्थ लाग्ने शब्दसित सम्बन्धित छ। (यर्मिया १८:४) एक कुशल कुमालेले माटोको डल्लालाई सुन्दर भाँडोमा परिणत गर्नसके जस्तै यहोवाले आफ्नो इच्छा पूरा गर्न कामकुरालाई आकार दिन वा परिचालन गर्न सक्नुहुन्छ।—एफिसी १:११.
४. परमेश्वरले यस पृथ्वीलाई मानिसहरू बसोबास गर्न योग्य कसरी बनाउनुभयो?
४ उदाहरणका लागि, यस पृथ्वी सिद्ध तथा आज्ञाकारी मानिसहरूद्वारा आबाद गर्ने अत्यन्त मनोरम स्थान होस् भन्ने परमेश्वरको उद्देश्य थियो। (यशैया ४५:१८) प्रथम पुरुष तथा स्त्री सृष्टि गर्नुभन्दा धेरैअघि उहाँले यस पृथ्वी तिनीहरूको लागि तयार पार्नुभयो। उत्पत्तिका प्रथम अध्यायहरूमा परमेश्वरले दिन अनि रात, जमिन अनि समुद्र कसरी बनाउनुभयो भनी वर्णन गरिएको छ। उहाँले त्यसपछि हरियो बनस्पति तथा प्राणीहरू पनि सृष्टि गर्नुभयो। मानवको लागि यस किसिमले पृथ्वी तयार पार्न हजारौं वर्ष लागे तापनि अन्ततः सफलतासाथ पूरा भयो। प्रथम पुरुष तथा स्त्रीले जीवनको पूरापूर आनन्द उठाउनसकिने रमणीय अनि सम्पूर्ण कुराले पूर्ण प्रमोदवनमा अर्थात् अदनको बगैंचामा जीवन बिताउन थाले। (उत्पत्ति १:३१) यसरी यहोवा पृथ्वीको कामकुरामा प्रत्यक्षतः सामेल हुनुहुन्थ्यो र आफ्नो उच्च उद्देश्य पूरा गर्न सिलसिलाबद्ध तरिकामा काम गर्दै हुनुहुन्थ्यो। तर के मानव परिवार फैलन थालेपछि उहाँ सामेल हुन छोड्नुभयो त?
यहोवा मानिसहरूसित सीमित व्यवहार गर्नुहुन्छ
५, ६. यहोवा मानवहरूसित किन सीमित व्यवहार गर्नुहुन्छ?
५ यहोवासित मानिसजातिको प्रत्येक गतिविधि नियन्त्रण गर्ने शक्ति भए तापनि उहाँ त्यसो गर्नुहुन्न। यसका कारणहरू छन्। एउटा कारण हो, मानवहरू परमेश्वरकै स्वरूपमा सृजिएका थिए र तिनीहरूलाई स्वतन्त्र इच्छाका साथै असल र खराब छुट्ट्याउने अधिकार दिइएको थियो। यहोवा जबरजस्ती उहाँको आज्ञापालन गर्न लगाउनुहुन्न नता उहाँको औंलामा नाच्ने कठपुतली नै बनाउन चाहनुहुन्छ। (व्यवस्था ३०:१९, २०; यहोशू २४:१५) हामीले आफ्नो कामको लेखा दिनुपर्ने भए तापनि उहाँले मायालु ढंगमा हामीलाई आफ्नो जीवन आफ्नै इच्छाअनुसार बिताउने निकै स्वतन्त्रता दिनुभएको छ।—रोमी १४:१२; हिब्रू ४:१३.
६ भएभरको कुरा परमेश्वरले हातमा नलिनुको अर्को कारण शैतानले अदनमा उठाएको विवादसित सम्बन्धित छ। शैतानले यहोवाको सार्वभौमिकतालाई चुनौति दियो। त्यसले हव्वालाई दिएको मौकालाई तिनी र तिनको पति आदमले स्वाधीन हुन पाउने मौका सम्झेर स्वीकारे। (उत्पत्ति ३:१-६) फलतः शैतानको चुनौती मनासिब थियो कि थिएन भनी प्रमाणित गर्ने समय मिलोस् भनेर परमेश्वरले मानिसजातिलाई स्वयम् शासन गर्ने अनुमति दिनुभयो। त्यसैकारण, आज मानिसले गरिरहेका गल्तीको दोष परमेश्वरलाई दिन मिल्दैन। मोशाले विद्रोही व्यक्तिहरूबारे यस्तो लेखे: “तिनीहरूले उहाँसँग भ्रष्ट व्यवहार गरे, तिनीहरूको खोटको कारणले तिनीहरू उहाँको सन्तान हुनसक्तैनन्।”—व्यवस्था ३२:५.
७. पृथ्वी अनि मानवजातिका लागि यहोवाले कुन उद्देश्य साँच्नुभएको छ?
७ तथापि, स्वतन्त्र इच्छा तथा स्वतन्त्र सरकार चलाउने छनौट दिनुभए तापनि यहोवाले पृथ्वीको कामकुरामा रत्तीभर हस्तक्षेप नगर्ने नीति अपनाउनु भएको छैन। यदि उहाँले यो नीति अपनाउनुभएको भए, उहाँले आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुहुनेछ भन्ने आशा लगभग शून्य हुनेथियो। आदम र हव्वाले परमेश्वरको सार्वभौमिकताको विरोध गरे तापनि यहोवाले पृथ्वी अनि मानवजातिका लागि राख्नुभएको मायालु उद्देश्यमा हेरफेर गर्नुभएन। उहाँले पक्कै पनि यो पृथ्वीलाई प्रमोदवनमा परिणत गर्नुभएर सिद्ध, आज्ञाकारी तथा आनन्दित मानिसहरूले भर्नुहुनेछ। (लूका २३:४२, ४३) उत्पत्तिदेखि प्रकाशसम्म बाइबलको विवरणले यो लक्ष्य पूरा गर्न यहोवाले सिलसिलाबद्ध ढंगमा कसरी काम गरिरहनुभएको छ, व्याख्या गर्छ।
परमेश्वर आफ्नो उद्देश्य पूरा गर्न काम गर्नुहुन्छ
८. इस्राएलीहरूलाई प्रतिज्ञा गरिएको देशमा ल्याउन के गर्नुपर्थ्यो?
८ इस्राएल राष्ट्रसित गर्नुभएको व्यवहारबाट परमेश्वरले आफ्नो उद्देश्य पूरा गर्नुहुनेछ भनी देखाउनुभयो। उदाहरणका लागि, इस्राएलीहरूलाई मिस्र देशबाट छुटाएर दूध र मह बग्ने देश अर्थात् प्रतिज्ञा गरिएको देशमा लानेछु भनी यहोवाले मोशालाई विश्वस्त गराउनुभयो। (प्रस्थान ३:८) यो महत्त्वपूर्ण अनि ढाडस दिने खालको वचन थियो। सर्वप्रथमतः आफ्ना सहयात्रुहरूसहित ३० लाख बराबरका इस्राएलीहरूलाई तिनीहरूको प्रस्थानको घोर विरोध गर्ने शक्तिशाली राष्ट्रबाट छुटाउनु यसमा समावेश थियो। (प्रस्थान ३:१९) तिनीहरू पुग्ने राष्ट्र पनि सामर्थी हुनुका साथै तिनीहरूको आगमनको घोर विरोध गर्ने खालको थियो। (व्यवस्था ७:१) अनि बीचमा मरुभूमि थियो जहाँ इस्राएलीहरूलाई खाना र पानीको आवश्यकता पर्ने थियो। तथापि, त्यतिखेर यहोवाले मौकाको फाइदा उठाउनुहुँदै आफ्नो सर्वश्रेष्ठ शक्ति तथा ईश्वरत्त्व प्रकट गर्नुभयो।—लेवी २५:३८.
९, १०. (क) यहोशूले परमेश्वरका प्रतिज्ञाहरू भरपर्दा छन् भनेर कसरी प्रमाण दिनसके? (ख) आफ्ना विश्वासी जनहरूलाई परमेश्वरले प्रतिफल दिनसक्नुहुन्छ भनी विश्वस्त हुनु कत्तिको महत्त्वपूर्ण छ?
९ परमेश्वरले इस्राएलीहरूलाई मिस्रबाट छुटाउन थुप्रै शक्तिशाली कामहरू गर्नुभयो। सबैभन्दा पहिला उहाँले मिस्र राष्ट्रमाथि दसवटा विपत्तिहरू खन्याउनुभयो। अनि उहाँले लाल समुद्रलाई दुई फ्याक पार्नुभएर इस्राएलीहरूलाई उम्कने बाटो दिनुभयो भने तिनीहरूलाई लखेट्ने मिस्री सेनालाई त्यहीं नाश गर्नुभयो। (भजन ७८:१२, १३, ४३-५१) त्यसपछि उहाँले इस्राएलीहरूलाई ४० वर्षसम्म उजाडस्थानमा मन्न खुवाएर, पानीको प्रबन्ध गरिदिनुभएर अनि तिनीहरूका लुगाफाटा नफाटोस् र खुट्टा पनि नसुन्नियोस् भनेर हेरचाह गर्नुभयो। (व्यवस्था ८:३, ४) इस्राएलीहरू प्रतिज्ञा गरिएको देशमा पसिसकेपछि यहोवाले तिनीहरूलाई शत्रुहरूमाथि विजयी बनाउनुभयो। यहोवाका प्रतिज्ञाहरूमाथि बलियो विश्वास राख्ने यहोशू यी सबका प्रत्यक्षदर्शी थिए। त्यसैकारण आफ्नो जमानाका पाको मानिसहरूलाई तिनले निर्धक्क भई यसो भन्नसके: “परमप्रभु परमेश्वरले तिमीहरूका बारेमा भन्नुभएको सबै असल कुराहरूमा एउटा कुरा पनि फरक परेको छैन। तिमीहरूका निम्ति सबै पुगेको छ . . . भनी तिमीहरूको आफ्नो पूरा हृदयले र पूरा प्राणले थाह पाएकै छौ।”—यहोशू २३:१४.
१० पुरातन समयका यहोशूजस्तै आज मसीहीहरू परमेश्वर आफ्नो सेवकहरूको पक्ष लिन इच्छुक अनि सक्षम हुनुहुन्छ भनेर पूर्णतया विश्वस्त छन्। यो आस्था हाम्रो विश्वासको सार हो। प्रेरित पावलले लेखे: “विना विश्वास उहाँलाई रिझाउन असम्भव छ। किनभने जो परमेश्वरकहाँ आउँछ, त्यसले . . . उहाँलाई खोज्नेहरूलाई प्रतिफल दिनुहुन्छ भन्ने अवश्य विश्वास गर्नुपर्छ।”—हिब्रू ११:६.
परमेश्वर भविष्य थाह पाउन सक्नुहुन्छ
११. कुन कुन कुराहरूले परमेश्वरलाई आफ्ना प्रतिज्ञाहरू पूरा गर्न मदत गऱ्यो?
११ परमेश्वरले स्वतन्त्र इच्छा तथा स्वतन्त्र सरकार बनाउने मौका दिनुभए तापनि आफ्नो उद्देश्य पूरा गर्न उहाँसित बल र इच्छुकता दुवै छन् भनेर अहिलेसम्ममा बुझ्यौं। यद्यपि, परमेश्वरले गर्नुभएका केही खास प्रतिज्ञाहरू पूरा गर्न सहयोग पुऱ्याउने अर्को कारक तत्त्व पनि छ। यहोवा भविष्य देख्न सक्नुहुन्छ। (यशैया ४२:९) आफ्नो अगमवक्ता मार्फत परमेश्वरले यसो भन्नुभयो: “अघि अघिका पूराना कुराहरूलाई सम्झ, किनकि म परमेश्वर हुँ, औ मबाहेक अरू कोही छैनँ। म परमेश्वर हुँ, म जस्तै अरू कोही छैन। म आदिदेखि अन्तसम्मको, र प्राचीन समयदेखि अहिलेसम्म नभएका कुराहरू यसो भनेर घोषणा गर्छ, ‘मेरो उद्देश्य ठहर्नेछ, र म आफ्नो सबै इच्छा पूरा गर्नेछु।’ ” (यशैया ४६:९, १०) एक जना अनुभवी किसानलाई कहिले र कहाँ बीउ रोप्ने थाह भए तापनि परिणाम कस्तो हुने हो, अनिश्चित हुनसक्छ। तर ‘अनन्तका राजासित’ आफ्नो उद्देश्य पूरा गर्न भविष्यमा कहिले र कहाँ काम गर्नुपर्छ त्यसबारे सही ज्ञान छ।—१ तिमोथी १:१७.
१२. परमेश्वरले नूहको पालामा कसरी पूर्वज्ञान प्रयोग गर्नुभयो?
१२ परमेश्वरले नूहको पालामा पूर्वज्ञान कसरी प्रयोग गर्नुभयो ध्यान दिनुहोस्। पृथ्वीमा व्याप्त दुष्टताको कारण परमेश्वरले अनाज्ञाकारी मानवजातिलाई नाश गर्ने अठोट गर्नुभयो। यसको लागि उहाँले समय तोक्नुभयो र त्यो तोकिएको समय थियो १२० वर्ष। (उत्पत्ति ६:३) यसरी समय तोक्नुहुँदा यहोवाले दुष्टहरूको नाशलाई मात्र ध्यानमा राख्नुभएको थिएन। उहाँ दुष्टहरूलाई जुनसुकै बखत नाश गर्न सक्नुहुन्थ्यो। तर यहोवाको समय तालिकाले धर्मीहरूलाई जोगाउने समय पनि मिल्यो। (उत्पत्ति ५:२९ तुलना गर्नुहोस्।) असीमित बुद्धि भएकोले त्यो नाश हुनुअघि गर्नुपर्ने काम कहिले सुम्पनुपर्छ, उहाँलाई पहिल्यै थाह थियो। उहाँले नूहलाई चाहिने जति सबै जानकारी दिनुभयो। नूहले “आफ्ना परिवारलाई बचाउन” जहाज बनाउनुपर्थ्यो र दुष्टहरू विश्वव्यापी जलप्रलयमा नाश हुनेथिए।—हिब्रू ११:७; उत्पत्ति ६:१३, १४, १८, १९.
बृहत् निर्माण योजना
१३, १४. जहाज निर्माण गर्नु किन चुनौतीपूर्ण काम थियो?
१३ यो कार्यभारलाई नूहको दृष्टिकोणले हेर्नुहोस्। परमेश्वरका जन भएकाले नूहलाई यहोवाले अभक्तहरूको नाश गर्न सक्नुहुन्थ्यो भनेर थाह थियो। तथापि, परमेश्वरले यसरी दुष्टको नाश गर्नुअघि एउटा यस्तो काम पूरा गर्नुपर्ने थियो जसका लागि विश्वास आवश्यकता पर्थ्यो। जहाज बनाउनु एउटा बृहत् योजना हुनेथियो। परमेश्वरले यसको नापनक्सा तोकिदिनुभएको थियो। यो जहाज आधुनिक समयको खेल मैदानभन्दा ठूलो हुनेथियो भने पाँच तल्ले घर बराबर अग्लो हुनेथियो। (उत्पत्ति ६:१५) अनि यसको निर्माता अनुभवविहीन हुनुका साथै थोरै थिए। तिनीहरूसित आज पाइनेजस्तो अत्याधुनिक औजार तथा साधनहरू हुने थिएन। यसको अलावा, परमेश्वरसित भएजस्तो भविष्यबारे पूर्णज्ञान नभएकोले वर्षौंको दौडान यो निर्माणाधीन योजनालाई सघाउने वा बाधा पुऱ्याउने के कस्ता अवस्थाहरू आइपर्नेथिए, नूहलाई थाह थिएन। नूहको मनमा थुप्रै प्रश्न उब्जे होलान्। निर्माण सामग्रीहरू कसरी जुटाउने? जनावरहरूलाई कसरी भेला गराउने? के कस्ता खाद्य पदार्थ सञ्चय गर्ने र कत्ति परिमाणमा? अनि भविष्यवाणी गरिएको जलप्रलय कहिले हुने? इत्यादि।
१४ यसबाहेक त्यतिबेलाको समाज पनि विचारणीय थियो। दुष्टता व्याप्त थियो। दुष्ट स्वर्गदूत तथा आइमाईहरूका वर्णसंकर सन्तान शूरवीर नपीलहरूले पृथ्वीमा उपद्रव मच्चाइरहेका थिए। (उत्पत्ति ६:१-४, १३) यसबाहेक, जहाज निर्माण लुकीछिपी गर्नसकिने काम पनि थिएन। नूहले गरिरहेको काम देखेर र तिनले दिने जवाफ सुनेर मानिसहरू छक्क पर्ने थिए। (२ पत्रुस २:५) तिनीहरूले आफ्नो कामलाई समर्थन गर्लान् भनेर आशा गर्नु के मनासिब हुनेथियो होला त? पटक्कै हुनेथिएन! केही वर्षअघि विश्वासी हनोकले दुष्टहरूको सर्वनाशबारे घोषणा गरेका थिए। तिनको सन्देश यत्ति अलोकप्रिय भयो कि उहाँका शत्रुहरूले तिनको हत्या नगरून् भनेर परमेश्वरले “तिनलाई उठाइलानुभयो” अर्थात् तिनको आयु घटाइदिनुभयो। (उत्पत्ति ५:२४; हिब्रू ११:५; यहूदा १४, १५) नूहले पनि यस्तै अलोकप्रिय सन्देश उद्घोषणा गर्नु त थियो नै साथै जहाज पनि बनाउनुपर्ने थियो। जहाज निर्माण हुँदै जाँदा त्यसले नूहको जमानाका दुष्टहरू समक्ष नूहको विश्वासको सशक्त सम्झौटो हुनेथियो!
१५. कुन कारणले गर्दा नूहले आफ्नो कार्यभार पूरा गर्नसक्छु भन्ने भरोसा पाए?
१५ यस निर्माण कार्यमा परमेश्वरको समर्थन अनि आशिष् छ भनेर नूहलाई थाह थियो। आखिर यो काम अह्राउने स्वयम् यहोवा नै हुनुहुन्थ्यो नि, होइन र? यहोवाले तिनी र तिनको परिवार सिंगो जहाजमा प्रवेश गर्नेछन् र विश्वव्यापी जलप्रलयबाट जोगाइनेछन् भनेर नूहलाई आश्वस्त गराउनुभएको थियो। परमेश्वरले यो निश्चय नै हुनेछ भनी जोड दिन करारसमेत गर्नुभयो। (उत्पत्ति ६:१८, १९) यहोवाले यो कार्यभार सुम्पनुअघिनै यसमा के के बिथोलित हुनेछ, त्यो अनुमान लगाइसक्नुभएको र लेखाजोखा गरिसक्नुभएको थियो भनेर नूहले बुझेको हुनसक्छ। यसबाहेक, आवश्यक परेमा यहोवासित हस्तक्षेप गर्ने शक्ति छ भनेर पनि नूहलाई थाह थियो। अतः नूहलाई तिनको विश्वासले काम गर्न प्रेरित गऱ्यो। आफ्नो सन्तति अब्राहामजस्तै नूह पनि “जे [परमेश्वरले] प्रतिज्ञा गर्नुभएको छ, त्यो पूरा पनि गर्नसक्नुहुन्छ भन्ने कुरा उनलाई बिलकुल निश्चय भए।”—रोमी ४:२१.
१६. जहाज तयार हुँदै जाँदा नूहको विश्वास झन् झन् कसरी बलियो हुँदै गयो?
१६ वर्षौं बिते, जसै जहाज तयार हुँदैगयो नूहको विश्वास झन् बलियो भयो। निर्माण तथा योजनासम्बन्धी समस्याहरू समाधान गरिए। परीक्षाहरूमा सफल भइयो। कुनै पनि विद्रोहले यो कामलाई रोक्न सकेन। नूहको परिवारले यहोवाको समर्थन र सुरक्षा अनुभव गऱ्यो। यसरी नूह आफ्नो काममा लागिरहँदा ‘विश्वासको जाँचले धीरज उत्पन्न गरायो।’ (याकूब १:२-४) आखिर जहाज तयार भयो, जलप्रलय उर्लियो तर नूह र तिनको परिवार भने सकुशल बाँचे। पछि यहोशूले अनुभव गरेझैं नूहले पनि परमेश्वरको प्रतिज्ञा पूरा भएको अनुभव गर्न पाए। नूहको विश्वासले इनाम पायो।
यहोवा यस कार्यलाई समर्थन गर्नुहुन्छ
१७. कुन तरिकामा हाम्रो समय र नूहको समय मिल्दोजुल्दो छ?
१७ येशूले हाम्रो समय र नूहको समय मिल्दोजुल्दो हुनेछ भन्नुभएको थियो। परमेश्वरले फेरि दुष्टहरूलाई नाश गर्ने अठोट गर्नुभएको छ र यसको लागि उहाँले एउटा समय तोक्नुभएको छ। (मत्ती २४:३६-३९) उहाँले धर्मीहरूलाई जोगाउने तयारी पनि गरिरहनुभएको छ। नूहले जहाज बनाउनुपरेको थियो भने आज परमेश्वरका सेवकहरूले परमेश्वरको उद्देश्य घोषणा गर्नुका साथै उहाँको वचन सिकाउनु अनि चेला बनाउनुपरेको छ।—मत्ती २८:१९.
१८, १९. सुसमाचार प्रचारकार्यमा यहोवाको समर्थन छ भनी हामी कसरी भन्नसक्छौं?
१८ यहोवाले साथ नदिनुभएको भए नूहले जहाज बनाउनसक्ने थिएनन्। (भजन १२७:१ तुलना गर्नुहोस्।) त्यसै गरी, यहोवाको समर्थन नपाएको भए साँचो मसीही धर्म पनि अस्तित्वमा हुने थिएन वा भए पनि फस्टाउने थिएन। यो कुरा पहिलो शताब्दीका सम्मानित फरिसी तथा व्यवस्थाका गुरु गमलीएलले बुझे। यहूदी सभाघरले प्रेरितहरूलाई खत्तम पार्न खोज्दा तिनले यसरी सतर्क गराए: “यी मानिसहरूबाट अलग रहनुहोस्, र यिनीहरूलाई छोड़िदिनुहोस्, किनकि यिनीहरूको यो मत, अथवा यो काम मानिसहरूबाट रहेछ भने त्यो आफै मेटिनेछ। तर यदि परमेश्वरबाटै भएको रहेछ भनेता तपाईंहरूले तिनलाई मेटाउन सक्नुहुन्न।”—प्रेरित ५:३८, ३९.
१९ प्रथम शताब्दी अनि अहिले पनि भइरहेको प्रचार कार्य मानिसहरूको होइन तर परमेश्वरको हो भनी त्यसको सफलताले प्रमाणित गरेको छ। यसपछिको लेखमा यो कार्यलाई बृहत् रूपमा सफल बनाउन मदत गर्ने रोमाञ्चकारी परिस्थिति तथा विकासहरूबारे छलफल गरिनेछ।
हरेस नखानुहोस्!
२०. सुसमाचार प्रचार गर्दा हामीलाई क-कसले समर्थन गर्छन्?
२० हामी “डरलाग्दो समयमा” बाँचिरहेको भए तापनि यहोवाले कुनै पनि बेला सम्पूर्ण बागडोर आफ्नो हातमा लिनुसक्नुहुन्छ भनेर हामी पक्का हुनसक्छौं। यस दुष्ट रीतिरिवाजको अन्त गर्न परमेश्वरले तोक्नुभएको समय आउनुअघि गर्नु पर्ने सुसमाचार प्रचारको काम पूरा गर्न खोज्ने आफ्ना जनहरूलाई उहाँले समर्थन गर्नुका साथै थामिरहनुभएको छ। (२ तिमोथी ३:१; मत्ती २४:१४) उहाँको “सहकर्मी” हुन यहोवा हामीलाई निम्त्याउँदै हुनुहुन्छ। (१ कोरिन्थी ३:९) यस कार्यमा हामीसित ख्रीष्ट येशू हुनुहुन्छ अनि समर्थन र निर्देशनका लागि हामी स्वर्गदूतहरूमा भर पर्नसक्छौं भनेर नूहजस्तै हामी पनि विश्वस्त छौं।—मत्ती २८:२०; प्रकाश १४:६.
२१. कुन अटल विश्वास हामीले कहिल्यै गुमाउनुहुँदैन?
२१ नूह र तिनको परिवारले यहोवाका प्रतिज्ञाहरूमाथि विश्वास गरेको हुनाले जलप्रलयबाट जोगिए। आज नूहले जस्तै विश्वास देखाउनेहरू आउँदै गरेको “महा सकंष्टबाट” जोगिनेछन्। (प्रकाश ७:१४) हामी साँच्चै रोमाञ्चकारी समयमा बाँचिरहेका छौं। ऐतिहासिक घटनाहरू हुनै लागेका छन्! अब चाँडै परमेश्वरले धार्मिकताले बास गर्ने महिमित नयाँ स्वर्ग र नयाँ पृथ्वी बसाल्नुहुनेछ। (२ पत्रुस ३:१३) आफूले भन्नुभएजति सबै कुरा पूरा गर्न परमेश्वर सक्षम हुनुहुन्छ भन्ने कुरामा कहिल्यै तपाईंको विश्वास नडगमगाओस्।—रोमी ४:२१.
सम्झनुपर्ने बुँदाहरू
◻ यहोवाले सम्पूर्ण मानव गतिविधि किन नियन्त्रण गर्नुहुन्न?
◻ इस्राएलसित गर्नुभएको व्यवहारबाट यहोवासित आफ्नो उद्देश्य पूरा गर्ने क्षमता छ भनेर कसरी प्रस्ट हुन्छ?
◻ भविष्य थाह पाउनसक्ने यहोवाको क्षमता नूहको समयमा कसरी प्रकट भयो?
◻ परमेश्वरका प्रतिज्ञाहरूमाथि हाम्रो कस्तो भरोसा हुनुपर्ने हो?