युनानी दर्शन—के यसले मसीहीधर्मलाई सम्पन्न बनायो?
“मसीहीधर्मले गैरमसीही युनानी र रोमी संस्कृतिको विरोध गरे तापनि वास्तवमा यसले ती संस्कृतिका थुप्रै दर्शनहरूलाई अंगालेको छ।”—दी इन्साइक्लोपीडिया अमेरिकाना।
“मसीही” धारणामा निर्णायक प्रभाव पार्नेहरूमध्ये “सन्त” अगस्टिनले निर्विवाद ओहदा पाएका छन्। द न्यु इन्साइक्लोपीडिया ब्रिटानिका-अनुसार अगस्टिनले “नयाँ नियमको धर्मलाई प्लातोको युनानी दर्शनको परम्परासित मिसाएर मध्ययुगको रोमन क्याथोलिकवादी मसीहीजगत् र रेनेसाँस प्रोटेस्टेन्टवादीमा उक्त दर्शनको प्रवेश गराए।”
अगस्टिनको यो नासो चिरस्थायी साबित भयो। युनानी दर्शनले मसीहीजगत्माथि कुन हदसम्म प्रभाव पाऱ्यो, डग्लस टी. होल्डन भन्छन्: “मसीहीधर्मका सिद्धान्तहरूलाई युनानी दर्शनसित यसरी मिसाइयो कि, यसले नौ भाग युनानी, एक भाग मसीही विचार भएका व्यक्तिहरू जन्माउन थाल्यो।”
यस्ता दर्शनहरूले बामे सर्दै गरेका मसीहीधर्मलाई अझ बलियो बनायो, यसका शिक्षाहरूलाई अझ सम्पन्न पाऱ्यो अनि अझ बढी विश्वसनीय बनायो भन्ने दृढ विश्वास केही शास्त्रज्ञहरूको छ। यो कुरा साँचो हो त? कसरी र कहिलेदेखि युनानी दर्शनले प्रभाव जमाउन थाल्यो? युनानी दर्शनहरूले मसीहीधर्मलाई सम्पन्न बनायो वा प्रदूषित?
यस सन्दर्भमा सा.यु.पू. तेस्रो शताब्दीदेखि सा.यु. पाँचौं शताब्दीसम्म भएका केही प्रगतिहरू पत्ता लगाउनु ज्ञानवर्द्धक हुन्छ। यसका लागि हामी चार अनौठा पदावलीहरूलाई केलाउनेछौं: (१) “युनानवादी यहूदीधर्म,” (२) “मसीहीवादी युनानीधर्म,” (३) “युनानवादी मसीहीधर्म,” र (४) “मसीही दर्शन।”
“युनानवादी यहूदीधर्म”
“युनानवादी यहूदीधर्म” वास्तवमा अत्यन्त विरोधाभाषपूर्ण छ। सत्य परमेश्वर यहोवाले स्थापित गर्नुभएको हिब्रूहरूको मूल धर्मलाई झूटा धार्मिक विचारधाराहरूले दूषित पार्नुहुँदैन थियो। (व्यवस्था १२:३२; हितोपदेश ३०:५, ६) तथापि, वरपरका मिस्री, कनानी तथा बेबिलोनी झूटा धार्मिक रीतिरिवाज तथा विचारधाराहरूले सुरुदेखि नै यस उपासनाको शुद्धतामा कलंक लगाउने कोसिस गऱ्यो। दुःखको कुरा, इस्राएल राष्ट्रले आफ्नो साँचो उपासनालाई साह्रै नै बिटुलो पारे।—न्यायकर्त्ता २:११-१३.
शतकौंपछि, सा.यु.पू. चौथो शताब्दीमा पुरातन पलिस्ती महान् सिकन्दरको युनानी साम्राज्यको भाग भएपछि यो भ्रष्टता पहिलेभन्दा झन् झन् धँस्दै गयो। सिकन्दरले यहूदीहरूलाई आफ्नो सेनामा भर्ती गरे। यहूदीहरू र युनानीहरूबीचको सम्बन्धले यहूदी धार्मिक विचारधाराहरूमा निकै प्रभाव पाऱ्यो। यहूदी शिक्षामा युनानवादी विचारहरू देखा पर्नथाले। मुख्य पूजाहारी जेसनले होमरको शिक्षा प्रवर्धन गर्न सा.यु.पू. १७५ मा यरूशलेममा युनानी प्रतिष्ठान् खडा गरे।
चाखलाग्दो कुरा, सा.यु.पू. दोस्रो शताब्दीमा एक जना सामरीले बाइबल इतिहासलाई युनानवादी इतिहासको रूपमा प्रस्तुत गर्ने प्रयास गरेका थिए। वास्तवमा, जुडिथ, तोबिथजस्ता एपोक्रिफल यहूदी पुस्तकहरूमा युनानी यौन कथाहरूको संकेत पाइन्छ। यहूदीधर्म र बाइबललाई युनानी विचारधारासित मिलाउने प्रयास गर्ने थुप्रै यहूदी दार्शनिकहरू देखा परे।
यसको श्रेय पाउनेहरूमध्ये एक सा.यु. प्रथम शताब्दीका फिलो पनि हुन्। तिनले प्लातो (सा.यु.पू. चौथो शताब्दी), पाइथागोरस र स्टोइकका शिक्षाहरूलाई बिना अख्तियार प्रयोग गरे। फिलोको दृष्टिकोणबाट यहूदीहरू असाध्यै प्रभावित भएका थिए। यहूदी संस्कृतिमा युनानी विचारधाराले गरेको बौद्धिक अतिक्रमणबारे यहूदी ग्रन्थकार माक्स डीमन्ट भन्छन्: “प्लातोको शिक्षा, अरस्तुको तर्क अनि युक्लिडियनको विज्ञानद्वारा प्रभावित यहूदी शास्त्रज्ञहरूले तोरहलाई नयाँ रूप दिन थाले। . . . तिनीहरूले यहूदी लेखोटहरूमा युनानी तर्क थप्न थाले।”
समय बित्दै जाँदा, रोमीहरू युनानी साम्राज्यमाथि विजयी भए र यरूशलेममाथि अधिकार जमाए। यसले गर्दा अझ महत्त्वपूर्ण परिवर्तनहरू भए। सा.यु. तेस्रो शताब्दीसम्ममा प्लातोका विचारधाराहरूलाई समर्थन गर्ने अनि मिश्रण गर्न खोज्ने विद्वान्हरूको दार्शनिक तथा धार्मिक शिक्षाहरूले निर्णायक आकार लिइसकेको थियो। त्यो आज नवप्लोतोवादको नाउँले चिनिन्छ। यस किसिमको नयाँ विचारधाराले धर्मत्यागी मसीहीधर्ममा गहिरो प्रभाव नपार्ने त कुरै थिएन।
“मसीहीवादी युनानीधर्म”
वर्तमानयुगका प्रथम पाँच शताब्दीहरूमा केही खास विद्वान्हरूले युनानी दर्शन र बाइबलको प्रकटित सच्चाइलाई जोड्न खोजे। मसीहीधर्मको इतिहास (अंग्रेजी) नामक पुस्तक यसो भन्छ: “मसीही तत्त्वविज्ञानीहरूले युनानीहरूलाई ख्रीष्ट आउनुभन्दा दसकौंअघिदेखि परमेश्वरको ज्ञान प्राप्त गर्न अन्धाधुन्ध लड्ने योद्धाहरूको रूपमा चित्रण गरे। मानौं, फितलो युनानी दर्शनहरूको दलदलबाट येशूलाई निकाल्ने प्रयत्न गरेझैं, वा खोक्रो युनानी सिद्धान्तहरूबाट मसीहीधर्मको सृष्टि गर्न खोजेझैं।”
यस्ता विचारधाराका पूर्वगामी प्लोटिनसले (सा.यु.पू. २०५-२०७) मुख्यतया प्लातोको सिद्धान्तमा आधारित पद्धति विकास गरे। प्लोटिनसले आत्मा र शरीरदेखि अभिन्न हुन्छ भन्ने धारणा अघि सारे। प्राध्यापक इ. डब्लू. हप्किन्सले प्लोटिनसबारे यसो भने: “तिनको धार्मिक विचारधाराले . . . मसीही विचारधारा भएका नेताहरूमा निकै प्रभाव पारेको देखिन्छ।”
“युनानवादी मसीहीधर्म” र “मसीही दर्शन”
सा.यु. दोस्रो शताब्दीमा “मसीही” विचारीहरूले गैरमसीही पठितवर्गहरूलाई प्रभाव पार्ने जमर्को सुरु गरे। “भक्तिहीन गनथन र खण्डनहरू” अनि “झूटो ज्ञान” बारे प्रेरित पावलले दिएको सुस्पष्ट चेताउनीको बावजूद, यस्ता शिक्षकहरूले वरपरका युनानवादी संस्कृतिका दार्शनिक तत्त्वहरू मिसाइ शिक्षा दिन थाले। (१ तिमोथी ६:२०, नयाँ संशोधित संस्करण) फिलोले बसालेको नजिरले बाइबललाई प्लातोको विचारहरूसित मिलाउन सकिन्छ भन्ने विचार यस्ता शिक्षकहरूमा पलाएको हुनसक्छ।—२ पत्रुस १:१६ तुलना गर्नुहोस्।
बाइबलको सत्य यस्ता शिक्षाहरूको सिकार भयो भन्ने कुरामा कुनै शंका छैन। “मसीही” शिक्षकहरूले मसीहीधर्म युनान-रोमी मानववादसित मेल खान्छ भनेर देखाउन खोजे। (सा.यु. दोस्रो तथा तेस्रो शताब्दीका) एलेक्सजान्ड्रियाका क्लेमेन्ट र अर्जनले नवप्लातोवादलाई आधार बनाएर नयाँ नयाँ शिक्षाहरू दिन थाले जुन पछि गएर “मसीही दर्शन” कहलिन पुग्यो। मिलानका पादरी एम्ब्रोसले (सा.यु. ३३९-३९७) “अत्याधुनिक युनानी शिक्षाका साथै मसीही अनि गैरमसीही अर्थात् अझ विशेष गरी नवप्लातोवादी प्लोन्टिनसका . . . गैरमसीही शिक्षाहरू ग्रहण गरे।” तिनले शिक्षित रोमीहरू सामू मसीहीधर्मलाई युनानी तथा रोमी संस्कृतिहरूमा ढालिएको धर्मको रूपमा प्रस्तुत गरे। अगस्टिनले तिनकै उदाहरण पछ्याए।
एक शतकजतिपछि, डाइनसीयस आर्योपागीटले (स्युडो-डाइनसीयस भनेर पनि चिनिन्थे)जो, सायद एक जना सिरियाली सन्यासी थिए होलान्, नवप्लातोवादी दर्शनलाई “मसीही” धर्मविज्ञानसित गाँस्न खोजे। एउटा इन्साइक्लोपीडियाअनुसार तिनका “लेखोटहरूले मध्ययुगको मसीही शिक्षा र आध्यात्मिकतामा निकै नवप्लातोवादी शिक्षाहरू मिसाए। यसले आजसम्म त्यसका धार्मिक तथा भक्तिको आधारभूत पक्षहरूलाई असर पारिरहेको छ।” प्रेरित पावलले “मानिसहरूको कुलाचार . . . अनुसारका तत्त्वज्ञान, र फोस्रो छल[बारे]” दिएको चेताउनीको कत्रो घोर अपमान!—कलस्सी २:८.
भ्रष्ट प्रदूषक
“मसीही प्लातोवादीहरूले परमेश्वरले दिनुभएको प्रकाशलाई प्राथमिकता दिए र प्लातोवादी दर्शनलाई धर्मशास्त्रको ज्ञान तथा चर्चको परम्परालाई राम्ररी बुझ्ने अनि तिनको रक्षा गर्ने साधनहरूमध्ये सबैभन्दा उत्तम छ भन्ठाने” भन्ने कुरा सर्वविदितै छ।
स्वयम् प्लातोलाई पनि कसैले अमर आत्मा छ भनी विश्वस्त गराएको थियो। “मसीही” धर्मविज्ञानमा प्रवेश पाउने प्रमुख झूटा शिक्षाहरूमध्ये एउटा अमर आत्माको शिक्षा पनि हो। मसीहीधर्मलाई अझ लोकप्रिय बनाउन अमर आत्माको शिक्षा समावेश गरिएको हो भन्ने आधारमा त्यसलाई स्वीकार्नु कुनै हालतमा पनि जायज मान्न सकिंदैन। युनानी सभ्यताको केन्द्रबिन्दु एथेन्समा प्रचार गर्दा प्रेरित पावलले आत्माबारे प्लातोको शिक्षा सिकाएनन्। बरु, थुप्रैलाई बुझ्न गाह्रो भए तापनि तिनले पुनरुत्थानसम्बन्धी मसीही शिक्षा सिकाए।—प्रेरित १७:२२-३२.
युनानी दर्शन विपरीत, धर्मशास्त्रले मानिस सृष्टि गरिंदा उसको शरीरभित्र कुनै अर्को अमर तत्त्व हालिएको थिएन बरु, मानिस आफै शरीर अनि सक्रिय जीवन शक्ति भएको जीवित प्राणी भयो भनी स्पष्ट पार्छ। (उत्पत्ति २:७) मृत्युपश्चात् उसको अस्तित्व रहँदैन, त्यसपछि उसको कुनै पनि भाग जीवित रहिरहँदैन। (इजकिएल १८:४) उपदेशक ९:५ हामीलाई यसो भन्छ: “यो कुरो साँचो हो, कि जिउँदाहरूले हामी मर्नेछौं भनी जान्दछन्, तर मरेकाहरूले ता केही पनि जान्दैनन्। तिनीहरूका निम्ति केही प्रतिफल हुँदैन। तिनीहरू बिलकुलै बिर्सिजानेछन्।” बाइबलले आत्मा अमर छ भनेर सिकाउँदैन।
अर्को जाली शिक्षा मानवपूर्व येशूको ओहदासित अर्थात् उहाँ परमेश्वर बराबर हुनुहुन्थ्यो भन्ने शिक्षासित सम्बन्धित छ। प्रथम तीन शताब्दीका चर्च नामक पुस्तक (अंग्रेजी) यसो भन्छ: “त्रिएक शिक्षा . . . यहूदी र मसीही धर्मशास्त्रदेखि बिल्कुलै भिन्दै स्रोतबाट सुरु भएको हो।” त्यो स्रोत के थियो? समयको दौडान यो शिक्षा “अझ विकसित पारियो अनि पछि गएर प्लातोवादी विचार भएका धर्मपिताहरूले मसीहीधर्ममा त्यसलाई समावेश गरे।”
हुन पनि, समय बित्दै जाँदा चर्चका फादरहरू नवप्लातोवादबाट झन् झन् प्रभावित भए र त्रिएकवादीहरू बढ्न थाले। कहिल्यै मिलाउनै नसकिने चीजलाई मिलाउन अर्थात् तीन परमेश्वरहरूलाई एकै परमेश्वरमा गाभ्न तेस्रो शताब्दीको नवप्लातोवादी दर्शनले तिनीहरूलाई मदत गरेको हो कि भन्ने देखिन्छ। दार्शनिक तर्कहरू गरेर तिनीहरूले तीन व्यक्तिको व्यक्तित्वलाई ज्यूँ का त्यूँ राखेर पनि तिनीहरू तीनै एउटै परमेश्वर हुनसक्छन् भन्ने दाबी गरे!
तथापि, बाइबलले यहोवा एक मात्र सर्वशक्तिमान् परमेश्वर हुनुहुन्छ, येशू ख्रीष्ट उहाँभन्दा सानो छोराको रूपमा सृष्टि गरिनुभयो अनि पवित्र आत्मा परमेश्वरको सक्रिय शक्ति हो भनी प्रस्टै देखाउँछ। (व्यवस्था ६:४; यशैया ४५:५; प्रेरित २:४; कलस्सी १:१५; प्रकाश ३:१४) त्रिएक शिक्षाले एक मात्र साँचो परमेश्वरको अपमान गर्छ र मानिसहरूलाई अन्योलमा पारेर परमेश्वरलाई चिन्नै नसक्ने गरी टाढा लैजान्छ।
मसीही विचारधारामाथि नवप्लातोवादी प्रभावको सिकार बन्ने अर्को बाइबलीय शिक्षा धर्मशास्त्रमा आधारित हजार वर्षे राज्यको आशा पनि हो। (प्रकाश २०:४-६) अर्जन हजार वर्षे राज्य विरोधीको व्यक्तिको रूपमा चिनिन्छन्। तिनले बाइबलआधारित ख्रीष्टको हजार वर्षे शासनको किन यस्तो घोर विरोध गरे? द क्याथोलिक इन्साइक्लोपीडिया जवाफ दिन्छ: “तिनको शिक्षाको आधार, नवप्लातोवादको कारण . . . , [अर्जनले] हजार वर्षे राज्यको पक्ष लिनसकेनन्।”
सत्य
माथि उल्लिखित शिक्षाहरूको सत्यसित केही सरोकार छैन। यो सत्य बाइबलमा पाइने सम्पूर्ण मसीही शिक्षाको आधार हो। (२ कोरिन्थी ४:२; तीतस १:१, १४; २ यूहन्ना १-४) सत्यको एक मात्र स्रोत बाइबल हो।—यूहन्ना १७:१७; २ तिमोथी ३:१६.
तथापि, यहोवा, सत्य, मानवजाति अनि अनन्त जीवनको शत्रु अर्थात् “हत्यारा” अनि “झूटको पिता,” शैतान अर्थात् दियाबलले त्यो सत्यलाई बिटुलो पार्न थुप्रै कुटिल चालहरू चलेको छ। (यूहन्ना ८:४४; तुलना गर्नुहोस् २ कोरिन्थी ११:३) मसीही शिक्षाको आशय तथा सार परिवर्तन गर्न त्यसले चलाएको सशक्त हतियारहरूमध्ये गैरमसीही युनानी दर्शन पनि हो। यो वास्तवमा त्यसको विचारधाराको प्रतिबिम्ब हो।
मसीही शिक्षालाई यसरी युनानी दर्शनसित मिसाउने अस्वाभाविक काम वास्तवमा बाइबलको सत्यलाई काम नलाग्ने पार्नु, नम्र तथा सत्य खोज्ने व्यक्तिहरूसामू त्यसलाई हल्का अनि कमजोर बनाउनखोज्नु हो। (१ कोरिन्थी ३:१, २, १९, २०) बाइबलको शुद्ध अनि सुस्पष्ट शिक्षालाई अशुद्ध पारेर सही र गलत प्रस्टै छुट्ट्याउने सत्यको रेखालाई धमिलो पार्नु पनि त्यसको उद्देश्यमध्ये एक हो।
आज मण्डलीका शिर येशू ख्रीष्टको निर्देशनमा साँचो मसीही शिक्षा पुनर्स्थापित गरिएको छ। यसबाहेक, साँच्चै सत्य खोज्ने व्यक्तिहरूले साँचो मसीही मण्डलीलाई त्यसको फलद्वारा सजिलै चिन्न सक्छन्। (मत्ती ७:१६, २०) यस्ता व्यक्तिहरूलाई सत्यको स्वच्छ पानीसम्म पुऱ्याउन अनि हामी सबैका पिता यहोवाले पैतृक सम्पत्तिसरह दिनुभएको अनन्त जीवन हासिल गर्न मदत दिन यहोवाका साक्षीहरू इच्छुक छन्, उत्सुक छन्।—यूहन्ना ४:१४; १ तिमोथी ६:१९.
[पृष्ठ ११-मा भएको चित्र]
अगस्टिन
[पृष्ठ १०-मा भएको चित्रको स्रोत]
युनानी पद: Ancient Greek Writers पुस्तकबाट Plato’s Phaedo, 1957, Ioannis N. Zacharopoulos, Athens; प्लातो: Musei Capitolini, Roma