प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w99 १०/१५ pp. २३-२७
  • के तपाईं विदेशी भूमिमा सेवा गर्न सक्नुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईं विदेशी भूमिमा सेवा गर्न सक्नुहुन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सही मनसाय आवश्‍यक
  • खर्च हिसाब गर्नुहोस्‌
  • सबैभन्दा ठूलो चुनौती
  • घरको सम्झनाले पिरोल्यो भने नि?
  • अनि बालबच्चाहरू नि?
  • बसाइँ सर्दा प्राप्त हुने आशिष्‌हरू
  • अनि तपाईं नि?
  • तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—इक्वेडरमा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • सेवाको काम विस्तार गर्ने तरिकाहरू
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
  • विदेशी भाषाको इलाकामा सेवा गर्दा आफ्नो आध्यात्मिक स्वास्थ्यको ख्याल राख्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
w99 १०/१५ pp. २३-२७

के तपाईं विदेशी भूमिमा सेवा गर्न सक्नुहुन्छ?

“मैले धेरै पहिलेदेखि मिसनरी सेवा गर्ने सपना संगालेर राखेको थिएँ। अविवाहित भएकोले म प्रचारकहरूको आवश्‍यकता बढी भएको ठाउँ, सं. रा. अ. को टेक्ससमा सेवा गरिरहेको थिएँ। विवाहपछि मैले पत्नीको साथ पाएँ। छोरी जन्मेपछि मैले ‘अबचाहिं मिसनरी सेवा गर्ने मेरो योजना विफल भयो’ भनेर सोचें। तर यहोवाले सपना साँचो बनाइ दिनसक्नुहुन्छ, त्यसमा पनि विशेष गरी उहाँको इच्छासित सम्बन्धित सपना हो भने।”—जेसी, हाल श्रीमती र तीन छोराछोरीसित इक्वेडरमा सेवारत।

“गिलियड मिसनरी स्कूलबाट तालिमै नलिई यस्तो गर्नसकूँला भनेर त मैले कहिल्यै चिताएको थिइनँ। मेरो कुनै बाइबल विद्यार्थीहरूले भाषण दिंदा वा प्रचार गर्दा म रोमाञ्चित हुन्थें र म यहोवालाई यस्तो मौका दिनुभएको लागि धन्यवाद दिन्थें।”—कारेन, आठ वर्षसम्म दक्षिण अफ्रिकामा अग्रगामी गर्ने अविवाहित स्त्री।

“संयुक्‍त राज्यमा पूर्ण-समय प्रचार गरेको १३ वर्षपछि मेरी श्रीमती र मैले नयाँ चुनौतीहरू खोज्ने महसुस गऱ्‍यौं। हामी पहिलेभन्दा निकै खुसी छौं; यो साँच्चै उदेकलाग्दो जीवनशैली हो।”—टम, तिनी आफ्नी श्रीमती लिण्डासित अमेजन प्रान्तमा अग्रगामी गरिरहेका छन्‌।

यी मूल्यांकनले भरिएका अभिव्यक्‍तिहरू वाचटावर बाइबल स्कूल अफ गिलियडमा आफ्नो परिस्थितिका कारण मिसनरी तालिम लिन नसक्ने व्यक्‍तिहरूको हो। तथापि, विदेशी भूमिमा सेवा गर्दा पाइने आनन्द तथा चुनौतीहरू तिनीहरूले अनुभव गरेका छन्‌। यो कसरी सम्भव भयो? के यस्तो सेवा तपाईंको लागि पनि हो?

सही मनसाय आवश्‍यक

विदेशी भूमिमा सफल हुन साहसी भएर मात्र पुग्दैन। निरन्तर लागिरहन सक्नेहरू सही मनसाय भएकै कारण टिक्न सकेका हुन्‌। प्रेरित पावलजस्तै तिनीहरू पनि आफूलाई परमेश्‍वरसमक्ष मात्र नभई मानिसहरूसामु पनि ऋणी ठान्छन्‌। (रोमी १:१४) आफ्नै गाउँ तथा शहरको सेवकाईमा व्यस्त रहेर तिनीहरूले प्रचार गर्ने ईश्‍वरीय आज्ञा पालन गर्नसक्थे। (मत्ती २४:१४) तर सुसमाचार सुन्‍ने मौका विरलै पाउनेहरूप्रति तिनीहरूले आफूलाई ऋणी ठाने, तिनीहरूलाई मदत गर्नुपर्ने आवश्‍यकता महसुस गरे।

अर्को उत्प्रेरणादायी मनसाय, इलाकामा काम गर्ने इच्छा हो र त्यस्तो इच्छा जाग्नु उचित पनि छ। अर्को माझीले थुप्रो माछा मारेको देखेपछि उसैले माछा मारिरहेको ठाउँमा माछा मार्न हामीमध्ये को पो अघि नसर्ला? त्यसै गरी, अन्य मुलुकहरूमा भएका असाधारण वृद्धिका प्रोत्साहनदायी रिपोर्टहरू सुनेर थुप्रै मानिसहरू “एक थुप्रो माछा” भएको ठाउँमा जान उत्साहित भएका छन्‌।—लूका ५:४-१०.

खर्च हिसाब गर्नुहोस्‌

थुप्रै मुलुकहरूमा विदेशी धार्मिक स्वयम्‌सेवकहरूलाई जागिर खान दिइँदैन। त्यसैकारण, विदेशी मुलुकमा सेवा गर्न चाहनेहरू अक्सर आर्थिक तवरमा बलियो हुनैपर्छ। यस्तो आर्थिक चुनौतीको सामना कसरी गरिएको छ? आवश्‍यक पुँजीका लागि थुप्रैले आफ्नो घर बेचेका छन्‌ वा बहालमा दिएका छन्‌। अरू थुप्रैले चाहिं आफ्नो व्यापार नै बेचेका छन्‌। कतिपयले आफ्नो लक्ष्य पूरा गर्न पैसा जोगाए। कोहीचाहिं वर्ष/दुई वर्षजति विदेशी भूमिमा सेवा गरेपछि स्वदेश फर्केर काम गरी केही पुँजी जम्मा गरेर फेरि विदेशी भूमिमै जान्छन्‌।

विकासोन्मुख राष्ट्रमा पक्कै हुने एउटा फाइदाचाहिं के हो भने, यहाँ विकसित मुलुकहरूको दाँजोमा भाउबेसा अक्सर एकदम सस्तो हुन्छ। यसले गर्दा कोही कोही सीमित पेन्सनमा पनि राम्ररी गाँस, बास र कपास पूरा गरेर बस्न सकेका छन्‌। हो, घरखर्च कति लाग्छ भन्‍ने कुरा व्यक्‍तिविशेषले बिताइरहेको जीवनशैलीमा भर पर्छ। विकासोन्मुख राष्ट्रहरूमा पनि निकै आरामदायी जीवन बिताउन सकिन्छ तर त्यसको लागि निकै खर्च लाग्छ।

स्पष्टतः बसाइँ सर्नु अगावै कति खर्च लाग्छ हिसाब गरिहाल्नुपर्छ। यद्यपि, आर्थिक अवस्थाबारे मात्र हिसाब गरेर पुग्दैन। यस सन्दर्भमा उत्तर अमेरिकामा सेवा गरिसकेका केही व्यक्‍तिहरूको टिप्पणीबाट केही जानकारी लाभकारी हुनसक्छ।

सबैभन्दा ठूलो चुनौती

फिनल्याण्डका मार्कु भन्छन्‌, “स्पेनी भाषा सिक्न मैले निकै प्रयास गर्नुपऱ्‍यो। मैले भाषा नजानेकोले तुरुन्तै सेवकाई सेवकको रूपमा सेवा गरिहाल्ने अवस्था त आइपर्दैन भन्ठानें। तर दुई महिनामै मलाई मण्डली पुस्तक अध्ययन सञ्चालन गर्न आग्रह गरिंदा त म छक्कै परें! हो, मलाई निकै पटक लाजमर्दो अवस्थाको सामना गर्नुपऱ्‍यो। विशेष गरी म नाउँ याद गर्नै सक्दिनथें। एकदिन मैले सान्चो भन्‍ने भाइलाई ‘भाइ चान्चो (सुंगुर),’ भनेछु र बहिनी सालामेआलाई ‘मालासेआ (दुष्ट)’ भनेर बोलाएको त कहिल्यै बिर्सन्‍नँ। धन्‍न, त्यहाँका भाइबहिनीहरू साह्रै धीरजी थिए।” तैपनि क्षेत्रीय निरीक्षकको रूपमा त्यस देशमा मार्कुले र आफ्नी श्रीमती सिलिनले आठ वर्षसम्म सेवा गरे।

लेखको सुरुमा उल्लिखित जेसीका श्रीमती क्रिस भन्छिन्‌: “हामी यहाँ आएको तीन महिना मात्र भएको बेला हाम्रो पहिलो क्षेत्रीय निरीक्षकको भ्रमण सुरु भयो। उहाँले कुनै दृष्टान्त उल्लेख गरिरहनुभएको थियो र कुन्‍नि के हो भनेर हाम्रो मन छुन खोज्दै हुनुहुन्थ्यो तर उहाँले भन्‍न खोज्नुभएको कुरा मैले बुझ्नै सकिनँ। हलभित्रै मेरा आँखाबाट बर्रर आँसु झार्न थालें। म सुँक्क सुँक्क गरेर हैन कि क्वाँ क्वाँ रुन थालें। सभा सिद्धिएपछि मलाई त्यसो हुनुको कारण क्षेत्रीय निरीक्षकलाई बताउने कोसिस गरें। उहाँ एकदम दयालु हुनुहुँदो रहेछ र अरूले भनेजस्तै उहाँले पनि मलाई ‘तेन पासेन्स्या, एर्माना (‘धैर्य गर्नुहोस्‌, बहिनी’) भन्‍नुभयो। दुई/तीन वर्षपछि हाम्रो फेरि भेट भयो र त्यतिबेला ४५ मिनेटसम्म कुरा गर्नसक्दा हामी दुवैलाई निकै खुसी लाग्यो।”

“अध्ययन गर्न जरुरी छ,” अर्को भाइ भन्छन्‌। “भाषा सिक्न जत्ति प्रयास गर्छौं हामी आफ्नो बोलीचालीमा त्यत्ति नै उन्‍नति गर्छौं।”

यस्ता प्रयासहरूको परिणाम निकै फलदायी हुन्छ भनेर हामी सबैलाई थाह छ। नयाँ भाषा सिक्ने प्रयास गर्दा व्यक्‍तिविशेषको नम्रता, धैर्यता अनि लगनशीलता बढ्‌छ। अरूलाई सुसमाचार प्रचार गर्ने अवसरको ठूलो ढोका पनि खोलिन्छ। उदाहरणका लागि, स्पेनी भाषा सिक्दा एक व्यक्‍ति संसारभरि ३० करोडभन्दा बढी मानिसहरूले बोल्ने भाषामा कुराकानी गर्नसक्ने हुन्छ। पछि आफ्नो देश फर्कने थुप्रैले आफूले सिकेको भाषा कौशलता प्रयोग गरेर स्पेनी भाषा बोल्नेहरूसित कुरा गर्नसकेका छन्‌।

घरको सम्झनाले पिरोल्यो भने नि?

आफ्नो श्रीमान्‌ ग्यारीसँगसँगै अमेजन प्रान्तमा सेवा गरेकी डेबोरा सम्झिन्छिन्‌, “१९८९ मा पहिलोपटक इक्वेडर आउँदा मलाई घरको सम्झनाले साह्रै पिरोलेको थियो। मण्डलीका भाइबहिनीहरूमा भर पर्न सिकें। उहाँहरू मेरो परिवारजस्तै हुनुभयो।”

लेखको सुरुमा उल्लिखित कारेन यस्तो अनुभव सुनाउँछिन्‌: “घरको सम्झनाले पिरोल्दा म प्रत्येक दिन क्षेत्र सेवकाईमा भाग लिएर बिर्सने प्रयास गर्थें। यसो गर्दा म दिउँसै घरबारे सपना देखिरहेकी हुन्‍नथें। अनि मैले विदेशी भूमिमा सेवा गरिरहेको हुँदा मेरा आमाबुबाले गर्व गर्नुहुन्छ भनेर पनि सम्झन्थें। आमाले सधैं यी शब्दहरूद्वारा प्रोत्साहन दिनुहुन्थ्यो: ‘यहोवाले तिम्रो हेरविचार मैलेभन्दा पनि राम्ररी गर्न सक्नुहुन्छ।’ ”

जापानकी माकीको ठट्टा गर्दै भन्छिन्‌: “दिनभर क्षेत्र सेवकाईमा हिंडेपछि म एकदम थाक्छु। त्यसकारण घरको सम्झनाले पिरोल्न थाल्दा म अक्सर भुसुक्कै निदाइहाल्छु। त्यसले गर्दा घरको सम्झनाले मलाई धेरैबेरसम्म पिरोल्न पाउँदैन।”

अनि बालबच्चाहरू नि?

केटाकेटीहरू पनि छन्‌ भने शिक्षाजस्तो तिनीहरूको आवश्‍यकतालाई पनि ध्यान दिनैपर्छ। यस सम्बन्धमा कसै कसैले घरैमा शिक्षादीक्षा दिएका छन्‌ भने अन्य कतिपयले आफ्ना छोराछोरीलाई स्थानीय स्कूलमा भर्ना गरेका छन्‌।

अल आफ्नी श्रीमती, दुई बच्चा र आमासहित दक्षिण अमेरिका सरे। तिनी भन्छन्‌: “छोराछोरीलाई स्कूलमा भर्ना गर्दा तिनीहरूले त्यहाँको भाषा छिट्टै सिकेको हामीले देख्यौं। तीन महिनामा नै तिनीहरू फरर्र बोल्नसक्ने भए।” अर्कोतिर माइक र क्यारीका दुई किशोर छोराहरूले मान्यताप्राप्त स्कूल मार्फत पत्राचारद्वारा आफ्नो अध्ययन जारी राखे। माइक र क्यारीको अवलोकन यस्तो छ: “यसरी अध्ययन गर्ने सम्पूर्ण भार छोराछोरीलाई मात्र सुम्पनु नहुने कुरा हामीले सिक्यौं। हामी पनि मुछिनु आवश्‍यक छ र छोराहरूले तिनीहरूले पाएको विषयवस्तु राम्ररी पढ्‌न भ्याइरहेका छन्‌ कि छैनन्‌ पक्का गर्नुपर्छ।”

अस्ट्रेलियाका डेभिड र जानिता आफ्ना दुई छोराहरूबारे यसो भन्छन्‌: “हामी हाम्रा छोराहरूले मानिसहरूले कसरी जीवन बिताइरहेका छन्‌ त्यो प्रत्यक्ष देखून्‌ भन्‍ने चाहन्थ्यौं। हाम्रो जीवनशैली सामान्य छ भनेर अनुमान लगाउनु सजिलो छ तर वास्तवमा संसारका थोरै व्यक्‍तिहरूले मात्र हामीले जस्तै जीवन बिताइरहेका छन्‌। जुनसुकै राष्ट्र वा संस्कृति होस्‌, संसारभरि ईश्‍वरतान्त्रिक सिद्धान्तहरूले कसरी काम गरिरहेको छ, त्यो पनि तिनीहरूले देखेका छन्‌।”

“हाम्रो परिवार बेलाइतबाट बसाइँ सर्दा म चार वर्षको मात्र थिएँ,” केन सम्झँदै बताउँछन्‌। “मैले सोचेजस्तो खरको छाना भएको माटोको घरमा बस्न नपाउँदा म निराश भएँ तापनि जवानहरूले बिताउन पाउनसक्ने सबैभन्दा रोचक जीवन बिताउन पाएकोमा खुसी भएँ। यस्तो मौका नपाउने केटाकेटीहरू सम्झँदा मलाई माया लाग्छ! मिसनरी तथा विशेष अग्रगामीहरूसितको संगति पाएर मैले नौ वर्षको उमरेदेखि सहायक अग्रगामी गर्न थालें।” हाल केन परिभ्रमण निरीक्षक छन्‌।

“इक्वेडर अहिले हाम्रो घर भएको छ,” जेसीकी छोरी गाब्रिएला सहमती जनाउँछिन्‌। “मेरा आमाबाबुले यहाँ आउने निर्णय गर्नुभएकोमा म साह्रै खुसी छु।”

अर्कोतिर, विभिन्‍न कारणहरूले गर्दा काँटछाँट गर्न नसक्ने केटाकेटीहरू पनि छन्‌ र त्यसले गर्दा तिनीहरूको परिवार स्वदेश फर्कनु पऱ्‍यो। त्यसैकारण विदेशमा सर्नुअघि उक्‍त मुलुकमा एक पटक घुम्न जानु उचित छ। यसप्रकार प्रत्यक्ष देखिएका कुराहरूको आधारमा निर्णय गर्नसकिन्छ।

बसाइँ सर्दा प्राप्त हुने आशिष्‌हरू

विदेशमा सर्दा थुप्रै चुनौतीहरू हुन्छन्‌, थुप्रै त्यागहरू गर्नुपर्ने हुन्छ। तर के बसाइँ सर्नु असलै साबित भएको छ त? सर्नेहरूको मुखबाटै यसको जवाफ सुनौं।

जेसी: “आम्बाटो शहरमा सरेको दस वर्षभित्र मण्डलीको संख्या २ बाट बढेर ११ पुगेको हामीले देख्यौं। त्यसमध्ये पाँचवटा मण्डलीहरू स्थापित गर्ने र दुइटा राज्यभवनहरू बनाउने विशेषाधिकार पनि पायौं। हामीले वर्षको दुई जना जति बाइबल विद्यार्थीहरूलाई बप्तिस्मा लिन योग्यको बनाउन सक्नुको आनन्द पनि उठायौं। यहाँ अझ दस वर्षअघि नै आउन पाएको भए कत्ति हुन्थ्यो, मलाई यही एउटा कुराको अफसोस लाग्छ।”

लिण्डा: “सुसमाचार अनि हाम्रो प्रयासप्रति मानिसहरूले देखाएको मूल्यांकनले हामीलाई असाध्यै प्रोत्साहित गरेको छ। उदाहरणका लागि, जंगलमा रहेको एउटा सानो गाउँमा आल्फन्सो नाउँ गरेका एक बाइबल विद्यार्थी थिए। तिनले आफ्नो इलाकामा जनभाषण दिंदा फाइदा हुने कुरा बुझे। तिनी भर्खरै काठले बनेको आफ्नो नयाँ घरमा सरेका थिए र उक्‍त गाउँमा काठको घर हातैमा गन्‍न सकिन्थ्यो। त्यो सानो शहरभरि यहोवालाई सुहाउने घर तिनको मात्र हुनसक्छ भन्‍ने निर्णय गरिसकेपछि तिनी खरले छाएको आफ्नो पुरानै घरमा फर्के र त्यो नयाँ घर भाइहरूलाई राज्यभवनको रूपमा प्रयोग गर्न दिए।”

जीम: “संयुक्‍त राज्य अमेरिकामा भन्दा दस गुणा बढी समय हामी यहाँ सेवकाईमा बिताउँछौं। यसको अलावा, यहाँको जीवनशैली अमेरिकामा जस्तो तनाउयुक्‍त छैन। त्यसकारण, अध्ययन तथा क्षेत्र सेवकाईको लागि प्रशस्त समय हुनु स्वभाविकै हो।”

सान्ड्रा: “बाइबल सत्यले मानिसहरूमा असल परिवर्तनहरू गरेको देख्न पाउँदा म असाध्यै सन्तुष्ट हुन्छु। एक पटक मैले किराना पसलको ६९ वर्षीया साहूनी, आमाडासित बाइबल अध्ययन गरेकी थिएँ। तिनी जहिले पनि दस भाग दूधमा दुई भाग पानी मिसाउने गर्दिरहेछिन्‌। यसको अतिरिक्‍त पानी मिसाएको यो दूध बेच्दा पनि कहिल्यै भरि दूध नदिएर ग्राहकहरूलाई ठग्ने पनि गर्दिरहेछिन्‌। तर ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ पुस्तकको अध्याय १३ मा ‘इमानदारीको परिणाम आनन्द’ भन्‍ने उपशीर्षक अध्ययन गरिसकेपछि आमाडाले यस्तो गलत काम गर्न बन्द गरिन्‌। यसको केही समयपछि नै तिनले बप्तिस्मा लिएको देख्न पाउँदा मलाई असाध्यै आनन्द लाग्यो!”

कारेन: “यहाँ जत्ति यहोवामा भर परेकी अनि उहाँको निम्ति यत्तिबिध्न कामलाग्दो भएको त पहिले कहिल्यै थिएन। यहोवासितको मेरो मित्रता अझ घनिष्ठ र बलियो भएको छ।”

अनि तपाईं नि?

वर्षौंदेखि हजारौं साक्षीहरू विदेशी भूमिमा बसाइँ सरेर सेवा गर्दै आएका छन्‌। कोही वर्षदिन दुई वर्षजति बस्छन्‌ भने अरू कतिपय त सधैंभरिका लागि बस्छन्‌। विदेशी भूमिमा परमेश्‍वरको राज्यसम्बन्धी कामकुरालाई अगाडि बढाउने उद्देश्‍य लिएर तिनीहरू अनुभव, आध्यात्मिक परिपक्वता र घरखर्च टार्ने पैसा लिएर पुग्छन्‌। जागिरको अभावले गर्दा स्थानीय राज्य प्रकाशकहरूले सेवा गर्न नसकेको इलाकाहरूमा तिनीहरू सेवा गर्न सक्षम भएका छन्‌। अन्कन्टार ठाउँमा पनि प्रचार गर्न सकियोस्‌ भन्‍ने विचार राखेर थुप्रैले गाडी किनेका छन्‌। शहरमा बस्न रुचाउने अरूहरूचाहिं थोरै प्राचीनहरू भएका ठूलो मण्डलीहरूमा सेवा गर्न गएका छन्‌। यद्यपि, तिनीहरू सबै आध्यात्मिक आशिष्‌हरूको सम्बन्धमा आफूले दिएभन्दा बढी पाएको र त्यस्तो होला भनेर आशा नगरेको उल्लेख गर्छन्‌।

के तपाईं पनि विदेशी भूमिमा सेवा गर्ने विशेषाधिकारलाई स्वीकार्न सक्नुहुन्छ? परिस्थितिले साथ दिन्छ भने यसरी बसाइँ सर्न सकिने सम्भावनाहरूबारे अनुसन्धान गर्नुहुने हो कि? पहिले अनि अत्यावश्‍यक कदम त तपाईंले सेवा गर्ने विचार गर्नुभएको सोसाइटीको शाखा कार्यालयलाई चिठी लेख्नुहोस्‌। तपाईंले हासिल गर्नुहुने सुस्पष्ट जानकारीले तपाईंको योजना सफल पार्न मदत गर्नेछ। यसको अतिरिक्‍त अगस्त १५, १९८८ को प्रहरीधरहरा लेखमा “आफ्ना देश र आफ्ना कुटुम्ब छोडेर . . . आऊ” शीर्षक भएको लेखमा थुप्रै व्यवहारिक सुझाउहरू पाउन सक्नुहुन्छ। सही योजना बनाएर तथा यहोवाको आशिष्‌ पाएर सायद तपाईंले पनि विदेशी भूमिमा सेवा गर्दा पाइने आनन्द उठाउन सक्नुहुन्छ होला।

[पृष्ठ २४-मा भएको चित्र]

टम र लिण्डा श्‍वार इण्डियन समुदायमा जान अन्कन्टार गोरेटोमा

[पृष्ठ २५-मा भएको चित्र]

थुप्रै व्यक्‍तिहरू इक्वेडरको राजधानी क्विटोमा सेवा गरिरहेका छन्‌

[पृष्ठ २५-मा भएको चित्र]

एन्डिस पर्वतमालामा प्रचार गर्दै माकीको

[पृष्ठ २६-मा भएको चित्र]

हिलबिग परिवार गत पाँच वर्षदेखि इक्वेडरमा सेवा गर्दैछन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने