पाठकहरूका प्रश्नहरू
यहोवाका साक्षीहरू मतदानप्रति कस्तो दृष्टिकोण राख्छन्?
बाइबलमा दिइएका स्पष्ट सिद्धान्तहरूले परमेश्वरका सेवकहरूलाई यस विषयमा ठीक दृष्टिकोण राख्न मदत दिन्छ। तथापि, मत खसाल्नु नै हुन्न भन्ने सिद्धान्त कतै पनि पाइँदैन। उदाहरणका लागि, आफ्नो व्यापारिक संगठनसित सम्बन्धित निर्णय गर्नुपर्दा सञ्चालक समितिले मतदान गर्न नहुने कुनै कारण छैन। यहोवाका साक्षीहरूको मण्डलीहरूमा सभाको समय तय गर्न तथा मण्डलीको पैसा कसरी चलाउने भन्नेबारे निर्णय गर्न हात उठाएर सहमति वा असहमति जनाउने गरिन्छ।
तथापि, राजनैतिक चुनावमा भाग लिनेबारे नि? निस्सन्देह, कुनै कुनै प्रजातान्त्रिक मुलुकहरूमा कुल जनसंख्याको ५० प्रतिशत मानिसहरूले चुनावमा भोट खसाल्दैनन्। तर यहोवाका साक्षीहरू न अरूको मत खसाल्ने अधिकारमा हस्तक्षेप गर्छन् न राजनैतिक चुनाव विरुद्ध कुनै अभियान नै चलाउँछन्। तिनीहरू निर्वाचित जनप्रतिनिधिलाई आदर गर्नुका साथै तिनीहरूको अधीनमा पनि बस्छन्। (रोमी १३:१-७) चुनावका कुनै उम्मेदवारको पक्षमा मतदान गर्ने कि नगर्ने भनेर हरेक यहोवाका साक्षीहरू आ-आफ्ना बाइबल प्रशिक्षित अन्तस्करणको साथै परमेश्वर र सरकारप्रतिको आफ्नो जिम्मेवारीको आधारमा व्यक्तिगत निर्णय गर्छन्। (मत्ती २२:२१; १ पत्रुस ३:१६) यसप्रकारको व्यक्तिगत निर्णय गर्दा साक्षीहरू विभिन्न पक्षहरूलाई विचार गर्छन्।
पहिलो, येशू ख्रीष्टले आफ्ना अनुयायीहरूबारे यसो भन्नुभयो: “तिनीहरू संसारका होइनन्, जस्तो म संसारको होइनँ।” (यूहन्ना १७:१४) यहोवाका साक्षीहरू यस सिद्धान्तलाई गम्भीरता साथ लिन्छन्। “यस संसारको” भाग नभएकाले तिनीहरू संसारको राजनैतिक मामिलाहरूमा तटस्थ रहन्छन्।—यूहन्ना १८:३६.
दोस्रो, पावलले वरपरका मानिसहरूलाई ख्रीष्टको प्रतिनिधित्व गर्ने एउटा “राजदूत” हुँ भनी आफूलाई चिनाए। (एफिसी ६:२०; २ कोरिन्थी ५:२०) अहिले येशू ख्रीष्ट, परमेश्वरको स्वर्गमा स्थापित राज्यको राजा हुनुहुन्छ भनेर यहोवाका साक्षीहरू विश्वास गर्छन् र यो कुरा तिनीहरूले राजदूतको हैसियतमा सब जातिहरूलाई सुनाउनैपर्छ। (मत्ती २४:१४; प्रकाश ११:१५) राजदूतहरू तटस्थ रहेको आशा गरिन्छ अनि तिनीहरूलाई पठाइएको देशको आन्तरिक मामिलामा हस्तक्षेप पनि गर्दैनन्। परमेश्वरको स्वर्गमा स्थापित राज्यको प्रतिनिधिको हैसियतमा यहोवाका साक्षीहरू पनि आफू बस्ने देशको राजनीतिमा हस्तक्षेप नगर्ने त्यस्तै दायित्व महसुस गर्छन्।
विचार गर्नुपर्ने तेस्रो पक्ष के हो भने, मत खसाल्ने व्यक्ति केही हदसम्म निर्वाचित उम्मेदवारको कार्यको निम्ति जिम्मेवार हुन्छ। (१ तिमोथी ५:२२ तुलना गर्नुहोस्।) मसीहीहरूले त्यो जिम्मेवारी वहन गर्न चाहन्छन् कि चाहँदैनन् होसियारीसाथ विचार गर्नुपर्छ।
चौथो, यहोवाका साक्षीहरू आफ्नो मसीही एकतालाई अत्यन्तै मूल्यवान् ठान्छन्। (कलस्सी ३:१४) धर्मले राजनीतिमा भाग लिंदा अक्सर त्यसका सदस्यहरूबीच विभाजन हुन्छ। येशू ख्रीष्टको अनुसरण गर्दै यहोवाका साक्षीहरू राजनीतिमा नमुछिएर आफ्नो मसीही एकता कायम राख्छन्।—मत्ती १२:२५; यूहन्ना ६:१५; १८:३६, ३७.
पाँचौं तथा अन्तिम बुँदा हो, राजनीतिमा तटस्थ रहेकोले सबै राजनैतिक पक्षका मानिसहरूलाई राज्यको महत्वपूर्ण सन्देश सुनाउन यहोवाका साक्षीहरूले वाक्स्वतन्त्रता पाएका छन्।—हिब्रू १०:३५.
माथि उल्लिखित धर्मशास्त्रीय सिद्धान्तहरूलाई ध्यानमा राख्दै, थुप्रै मुलुकका यहोवाका साक्षीहरू राजनैतिक चुनावमा मत नखसाल्ने व्यक्तिगत निर्णय गर्छन्। तिनीहरू त्यस्तो निर्णय गर्नलाई स्थानीय कानुनले स्वतन्त्रता दिएको छ। तथापि, नागरिकहरूले मतदान गर्नै पर्ने कानुन छ भने नि? त्यस्तो परिस्थितिमा हरेक साक्षीले के गर्ने भनेर आफैले होसियारी साथ बाइबल आधारित निर्णय गर्नुपर्छ। कसैले मतदान केन्द्रमा जाने निर्णय गर्छ भने, त्यो उसको आफ्नै निर्णय हो। मतदान कक्षमा उसले जे गर्छ, त्यो उक्त व्यक्ति र सृष्टिकर्ताको बीचको कुरा हो।
नोभेम्बर १५, १९५० अंकको प्रहरीधरहरा, पृष्ठ ४४५ र ४४६ ले यसो भन्यो: “नागरिकहरूले मत खसाल्नै पर्छ भन्ने सिजरको आज्ञा छ भने . . . [साक्षीहरू] मतदान केन्द्रको मतदान कक्षमा पस्नसक्छन्। त्यतिखेर तिनीहरूले मतपत्रमा चिह्न लगाउने वा लेख्नुपर्ने हुन्छ। मतदाताहरूले मतपत्रमा जे गर्छन् त्यो तिनीहरूको आफ्नै इच्छा हो। यसकारण, त्यतिखेर परमेश्वरको अगाडि उहाँका साक्षीहरूले उहाँका आज्ञाअनुरूप र आ-आफ्ना विश्वासअनुसार चल्नु आवश्यक पर्छ। मतपत्रलाई के गर्नुपर्छ भनेर तिनीहरूलाई निर्देशन दिनु हाम्रो जिम्मेवारी होइन।”
मसीही पत्नीको बेग्लै धर्म मान्ने पतिले मतदान केन्द्रमा जानै पर्छ भन्यो भने नि? उच्च अख्तियारवालाहरूको अधीनमा मसीहीहरू भएजस्तै तिनी पनि आफ्नो पतिको अधीनमा छिन्। (एफिसी ५:२२; १ पत्रुस २:१३-१७) आफ्नो पतिको आज्ञा मानेर तिनी मतदान केन्द्रमा जान्छिन् भने त्यो तिनको व्यक्तिगत निर्णय हो। कसैले पनि तिनको यस निर्णयबारे टीकाटिप्पणी गर्नु हुँदैन।—रोमी १४:४ तुलना गर्नुहोस्।
मत खसाल्नै पर्छ भन्ने कानुन त छैन तर मतदान केन्द्रमा नजानेहरूलाई सताइन्छ वा तिनीहरूको ज्यानलाई नै खतरा हुन्छ भने नि? अथवा मत खसाल्नु कानुनी आवश्यकता होइन तर भोट नखसालेको खण्डमा कुनै न कुनै तरिकाले कडा सजाय भोग्नुपर्छ भने नि? यस्तै तथा अन्य परिस्थितिहरूमा मसीही आफैले निर्णय गर्नुपर्छ। “हरेक मानिसले आफ्नै निज भार उठाउनुपर्छ।”—गलाती ६:५.
आफू बसेको देशमा चुनावको बेला कुनै कुनै यहोवाका साक्षीहरू मतदान केन्द्रमा गएको र कुनै नगएको देखेर ठोकर खाने मानिसहरू पनि हुनसक्छन्। तिनीहरूले भन्नसक्छन्, ‘यहोवाका साक्षीहरू एकनास छैनन्।’ तथापि, यस्ता व्यक्तिगत अन्तस्करणमा भर पर्ने मामिलामा हरेक मसीहीले यहोवा परमेश्वरको अघि आफै निर्णय गर्नुपर्छ भनेर मानिसहरूले बुझ्नुपर्छ।—रोमी १४:१२.
विभिन्न परिस्थितिहरूमा यहोवाका साक्षीहरूले जस्तोसुकै व्यक्तिगत निर्णय गरे तापनि तिनीहरू आफ्नो मसीही तटस्थता र वाक्स्वतन्त्रतालाई जोगाउने प्रयत्न गर्छन्। हरेक काममा बल, बुद्धि र कुनै पनि हालतमा आफ्नो विश्वाससित सम्झौता नगर्नको निम्ति मदत पाउन तिनीहरू यहोवा परमेश्वरमाथि भर पर्छन्। यसप्रकार तिनीहरू भजनरचयिताका यी शब्दहरूमा भरोसा गर्छन्: “मेरो चटान र किल्ला तपाईंनै हुनुहुन्छ। यसैकारण तपाईंकै नाउँको खातिर मलाई डोऱ्याउनु र अगुवाइ गर्नुहोस्।”—भजन ३१:३.