तिनीहरूले यहोवाको इच्छा गरे
शुद्ध उपासना बढाउन राजीखुसीले दिने
इस्राएलीहरूले आफ्नै आँखाले यहोवाको उद्धार शक्ति देखे। मिश्री सेनाबाट भाग्न चमत्कारपूर्ण ढंगमा लाल समुद्र दुई भाग भएर ओबानो जमिनमा परिणत भएको तिनीहरूले देखे। अर्कोतर्फ तिनीहरूले त्यही पानीले तिनीहरूलाई लखट्ने मिश्रीहरू सबैलाई स्वाहा गरेको टाढाबाट देखे। यहोवाले तिनीहरूको जीवन बचाउनुभयो!—प्रस्थान १४:२१-३१.
तर दुःखको कुरा, केही इस्राएलीहरूले तिनीहरूको निम्ति परमेश्वरले गर्नुभएका कुराहरू हल्कासित लिए। मोशा सीनै पर्वतमा छँदा हारूनलाई तिनीहरूको सबै गरगहना दिएर उपासनाको निम्ति मूर्ति बनाइदिनु भने। मोशा तल ओर्लंदा यी विद्रोहीहरू खाइरहेका, पिइरहेका, नाचिरहेका र सुनको बाछालाई ढोगिरहेका देखे! त्यस्तो विद्रोह मच्चाउने झन्डै ३,००० मानिसहरूलाई यहोवाको निर्देशनमा मारियो। त्यस दिन परमेश्वरका जनहरूले यहोवालाई ऐकान्तिक भक्ति चढाउनुपर्नेबारे महत्त्वपूर्ण पाठ सिके।—प्रस्थान ३२:१-६, १९-२९.
यस घटनाको तुरुन्तै पछि परमेश्वरको आज्ञाअनुरूप मोशाले यताउता ओसार्न मिल्ने बासस्थान वा उपासनाको पाल बनाउने तयारी थाले। यस निर्माण कार्यको निम्ति महँगा सामग्री तथा सीप भएका कामदारहरू चाहिने थियो। यी सबै कहाँबाट जुटाउने? अनि हामीले यस बाइबल विवरणबाट के सिक्नसक्छौं?
सरसामग्री तथा सीपहरूको योगदान
यहोवाले इस्राएलीहरूलाई मोशा मार्फत् यस्तो आज्ञा दिनुभयो: “आफ्नो बीचबाट परमप्रभुको निम्ति भेटी ल्याओ। राजी-खुशीसँग दिन चाहनेले परमप्रभुको भेटीको रूपमा त्यो ल्याओस्।” कस्तो प्रकारको भेटी? मोशाले बताएका सामग्रीहरूमध्ये सुन, चाँदी, पीतल, ऊन, कपडा, छाला र बहुमूल्य रत्न इत्यादि।—प्रस्थान ३५:५-९.
त्यस्तो उदार भेटी चढाउन आवश्यक वस्तु इस्राएलीहरूसित प्रशस्त थियो। स्मरण रहोस्, तिनीहरूले मिश्र छोड्दा थुप्रै लुगाफाटाहरूका साथै सुन तथा चाँदीहरू पनि लगेका थिए। अनि भनौं भने, ‘तिनीहरूले मिश्रीहरूलाई लूटेका थिए।’a (प्रस्थान १२:३५, ३६) पहिला इस्राएलीहरूले झूटा उपासनाको निम्ति मूर्ति बनाउन राजीखुसीले आफ्ना गरगहनाहरू दिएका थिए। के तिनीहरू अहिले साँचो उपासनाको निम्ति भेटीहरू चढाउन पनि त्यत्तिकै उत्सुक हुनेथिए?
तर याद गर्नुहोस्, मोशाले प्रत्येक व्यक्तिले कति दिनुपर्छ भनेर तोकेनन् नता दिन उक्साउन अरू मानिसलाई लाजमा नै पारे। बरु “राजी-खुशीसँग दिन चाहने” सबैलाई तिनले आग्रह गरे। मोशाले परमेश्वरका जनहरूलाई बलजफती गर्नुपर्ने कुनै आवश्यकता नै देखेनन्। प्रत्येक व्यक्तिले आफ्नो गच्छेले भ्याएअनुसार दिनेछ भनी तिनी निर्धक्क थिए।—२ कोरिन्थी ८:१०-१२ तुलना गर्नुहोस्।
तथापि, यस निर्माण कार्यको निम्ति सरसामग्रीहरूको चन्दाबाहेक अरू कुरा पनि चाहिन्थ्यो। यहोवाले इस्राएलीहरूलाई यसो पनि भन्नुभयो: “तिमीहरूमध्येका जति ज्ञानी छन्, तिनीहरू सबै आएर परमप्रभुले आज्ञा गर्नुभएका सबै कुरा बनाऊन्।” हो, यस निर्माण कार्यको निम्ति दक्ष कालिगडहरूको पनि आवश्यकता थियो। साँच्चै, यस निर्माण कार्य पूरा गर्न सिकर्मी, नकर्मी र सुनारलगायत “सबै किसिमका शिल्पकारीहरू” चाहिनेथ्यो। निस्सन्देह, यहोवाले कालिगडहरूको सीप परिचालन गर्न निर्देशन दिनुहुनेथियो र यसको श्रेय सबै उहाँलाई नै जानेछ।—प्रस्थान ३५:१०, ३०-३५; ३६:१, २.
इस्राएलीहरूले आफ्नो स्रोत तथा सीप दिने निमन्त्रणाप्रति उत्सुकतासाथ सकारात्मक प्रतिक्रिया देखाए। बाइबल विवरण यसो भन्छ: “जस जसका हृदय प्रेरणाले भऱ्यो, र हरेक जसको मन इच्छुक भयो, तिनीहरूले भेट हुने पालको काम त्यसका सबै सेवाका काम र पवित्र पोशाकको निम्ति परमप्रभुको लागि भेटी ल्याए। राजी-खुशी मन भएका पुरुष र स्त्री दुवैले मुन्द्री, कुण्डल, छाप लाउने औंठी र बाजु, र सुनका गहना सबै ल्याए। भेटी ल्याउने प्रत्येकले परमप्रभुकहाँ सुनको भेटी ल्यायो।”—प्रस्थान ३५:२१, २२.
हाम्रोलागि पाठ
आज परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्ने महत्त्वपूर्ण कार्य स्वैच्छिक चन्दाद्वारा सम्पन्न हुन्छ। अक्सर यो वित्तीय सहयोग हो। अर्कोचाहिं मसीही भाइ तथा बहिनीहरूले आफ्नो अनुभवको ठूलो भण्डार राज्यभवन, सम्मेलन भवन तथा शाखा कार्यालयहरू निर्माण कार्यमा प्रयोग गर्छन्। अनि संसारभरि सयौं बेथेल घरहरूमा गरिने कामहरूको लागि विभिन्न प्रकारका सीप आवश्यक हुन्छ। राजीखुसीले त्यस्तो भेटी चढाएका सबै मानिसहरूको कडा परिश्रम यहोवाले कहिल्यै बिर्सनु हुन्न भनी निर्धक्क हुन सकिन्छ! —हिब्रू ६:१०.
हामी प्रत्येकले मसीही सेवकाईमा भाग लिंदा पनि यही कुरा लागू हुन्छ। जोसिलो भई प्रचारकार्यमा भाग लिन हामी सबैलाई समय निकाल्न आग्रह गरिन्छ। (मत्ती २४:१४; एफिसी ५:१५-१७) कसै कसैले यो कार्य पूर्ण-समय सुसमाचारक वा अग्रगामीको हैसियतमा गर्छन्। विभिन्न परिस्थितिको कारण कतिपयचाहिं अग्रगामीको रूपमा सेवकाईमा त्यति समय बिताउन सक्दैनन्। यद्यपि, तिनीहरूले पनि यहोवालाई प्रसन्न तुल्याइरहेका छन्। बासस्थानमा प्रत्येकले कति चढाउनुपर्छ भनेर यहोवाले कुनै रकम तोक्नुभएको थिएन। तर हामी प्रत्येकले आफ्नो सारा प्राण, हृदय, मन र बलले उहाँको सेवा गरेको चाहनुहुन्छ। (मर्कूस १२:३०) हामीले त्यसो गरिरहेका छौं भने साँचो उपासना बढाउन हामीले चढाएको स्वैच्छिक भेटीको लागि उहाँले हामीलाई इनाम दिनुहुन्छ भनी निश्चिन्त हुनसक्छौं।—हिब्रू ११:६.
[फुटनोट]
a त्यो चोरी थिएन। इस्राएलीहरूले मिश्रीहरूबाट चन्दा मागे र ती स्वेच्छाले दिइएको थियो। यसबाहेक, मिश्रीहरूसित इस्राएलीहरूलाई दासत्वमा राख्ने अधिकार थिएन। त्यसैले तिनीहरूले परमेश्वरका जनहरूले वर्षौं गरेको कडा परिश्रमको ज्याला तिर्नुपर्थ्यो।