आफ्नो सृष्टिकर्तालाई सम्झनुहोस्!
“दु:खको समय र वृद्धावस्था आउनअघिनै . . . आफ्ना सृष्टिकर्त्ताको सम्झना गर्।”—उपदेशक १२:१.
१. परमेश्वरप्रति समर्पित जवानहरूले आफ्नो युवावस्था र बल कसरी प्रयोग गर्न चाहनुपर्ने हो?
यहोवा आफ्ना सेवकहरूलाई उहाँको इच्छा पूरा गर्ने बल दिनुहुन्छ। (यशैया ४०:२८-३१) उहाँ जुनसुकै उमेरको व्यक्तिलाई त्यस्तो बल दिनुहुन्छ। तथापि, परमेश्वरप्रति समर्पित जवान व्यक्तिहरूले विशेष गरी आफ्नो युवावस्था र बल बुद्धिमानीसाथ प्रयोग गर्नुपर्ने हो। तसर्थ, “उपदेशक” अर्थात् राजा सुलेमानको सल्लाहलाई तिनीहरूले गम्भीरतासाथ लिनुपर्छ। तिनले यसरी आग्रह गरे: “दुःखको समय र वृद्धावस्था आउनअघिनै जब तैंले भन्नेछस्, ‘यिनमा मेरो मन लाग्दैन।’ आफ्नो युवावस्थामा आफ्ना सृष्टिकर्त्ताको सम्झना गर्।”—उपदेशक १:१; १२:१.
२. समर्पित मसीहीहरूका छोराछोरीले के गर्नुपर्ने हो?
२ सृष्टिकर्तालाई युवावस्थामा सम्झनु भनी सुलेमानले दिएको चेताउनी सर्वप्रथम इस्राएली युवा तथा युवतीहरूका लागि थियो। तिनीहरू यहोवालाई समर्पित राष्ट्रमा जन्मिएका थिए। तर आज समर्पित मसीहीहरूका छोराछोरीबारे के भन्न सकिन्छ? निस्सन्देह, तिनीहरूले पनि आफ्नो सृष्टिकर्तालाई सम्झनुपर्ने हो। किनकि तिनीहरूले यसो गरेमा उहाँको सम्मान गरिरहेका हुनेछन् र आफैले पनि फाइदा उठाइरहेका हुनेछन्।—यशैया ४८:१७, १८.
विगतका असल उदाहरण
३. यूसुफ, शमूएल र दाऊदले कस्तो उदाहरण बसाले?
३ बाइबलमा रेकर्ड गरिएका थुप्रै जवानहरूले आफ्नो सृष्टिकर्तालाई सम्झने व्यक्तिहरूको रूपमा असल उदाहरण बसालेका छन्। बुझ्ने भएदेखि नै याकूबका छोरा यूसुफले आफ्नो सृष्टिकर्ताको सम्झना गरे। पोतीफरकी श्रीमतीले अनैतिक यौन सम्बन्ध राख्न लोभ्याउँदा तिनले ठाडै इन्कार गरे र यसो भने: “कसरी यस्तो घोर दुष्ट काम गरेर परमेश्वरको विरुद्धमा मैले पाप गर्नु?” (उत्पत्ति ३९:९) लेवी शमूएलले बाल्यकालमा मात्र होइन आजीवन आफ्नो सृष्टिकर्ताको सम्झना गरे। (१ शमूएल १:२२-२८; २:१८; ३:१-५) बेतलेहेमका दाऊदले पनि कलिलै उमेरदेखि आफ्नो सृष्टिकर्तालाई पक्कै सम्झेको हुनुपर्छ। पलिश्ती दैत्य गोल्यतको सामना गर्नुपर्दा र यसो भन्दा परमेश्वरमाथि तिनले राखेको भरोसा जाहेर भयो: “तँ ता मसँग लड़न तरवार, भाला र बर्छा लिएर आएको छस्, तर म तँसँग लड़न तैंले धम्क्याएका इस्राएलको फौजका परमेश्वर, सेनाहरूका परमप्रभुको नाउँमा आएको छु। आजको दिन परमप्रभुले तँलाई मेरो हातमा सुम्पिदिनुहुनेछ। म तँलाई मार्नेछु, र तेरो टाउको का[ट्नेछु] . . . तब इस्राएलमा एउटा परमेश्वर हुनुहुँदो रहेछ भनी सारा संसारले थाह पाउनेछ। यहाँ भेला भएका सबैले जान्नेछन् कि परमप्रभुले तरवार, भालाद्वारा बचाउनुहुन्न। लड़ाइँ परमप्रभुकै हो, औ उहाँले तिमीहरू सबैलाई हाम्रो हातमा सुम्पिदिनुहुनेछ।” केहीबेरमा नै गोल्यत मारिए र पलिश्तीहरू भागाभाग गर्न थाले।—१ शमूएल १७:४५-५१.
४. (क) अराममा कैदमा लगिएकी इस्राएली केटीले र जवान राजा योशियाहले हाम्रो सृष्टिकर्तालाई सम्झेका थिए भनी के कुराले देखाउँछ? (ख) आफ्नो सृष्टिकर्तालाई सम्झनुभएको कुरा १२ वर्षीय येशूले कसरी देखाउनुभयो?
४ सृष्टिकर्तालाई सम्झने अर्को कलिलो व्यक्ति कैदमा लगिएकी इस्राएली केटी थिइन्। उनले अरामी सेनापति नामानकी श्रीमतीलाई साह्रै राम्रो साक्षी दिइन्। फलतः नामान परमेश्वरका अगमवक्ताकहाँ गए, कोर रोगबाट निको भए र यहोवाको उपासक भए। (२ राजा ५:१-१९) जवान राजा योशियाहले बडो बहादुरीका साथ यहोवाको शुद्ध उपासनाको प्रवर्धन गरे। (२ राजा २२:१–२३:२५) तर कलिलै छँदा आफ्नो सृष्टिकर्तालाई सम्झने उत्तम नमुनाचाहिं नासरतका येशूले बसाल्नुभयो। उहाँ १२ वर्षको हुनुहुँदा भएको घटना विचार गर्नुहोस्। उहाँका आमाबाबुले उहाँलाई निस्तार चाडको निम्ति यरूशलेम लगेका थिए। घर फर्कंदा तिनीहरूले येशू हराउनु भएको थाह पाएपछि फेरि फर्केर खोज्न हिंडे। तेस्रो दिन तिनीहरूले उहाँलाई मन्दिरमा शिक्षकहरूसित धर्मशास्त्रीय विषयमा छलफल गरिरहनुभएको भेट्टाए। आफ्नो आमाले चिन्तित भएर सोधखोज गर्दा येशूले जवाफमा यस्तो प्रश्न गर्नुभयो: “तपाईंहरूले मलाई किन खोजिरहनुभयो? के म आफ्ना पिताको घरमा हुनुपर्छ भन्ने तपाईंहरूलाई थाह थिएन?” (लूका २:४९) येशूले ‘आफ्नो पिताको घर’ अर्थात् मन्दिरमा आध्यात्मिक मूल्य तथा मान्यताहरूबारे जानकारीहरू प्राप्त गर्नु फाइदाजनक थियो। आज, हाम्रो सृष्टिकर्ताबारे सही ज्ञान प्राप्त गर्ने सर्वोत्तम स्थान यहोवाका साक्षीहरूको राज्यभवन हो।
यहोवालाई अहिल्यै सम्झनुहोस्
५. उपदेशक १२:१ मा लिपिबद्ध गरिएका उपदेशकको भनाइलाई तपाईं आफ्नै भाषामा कसरी व्याख्या गर्नुहुन्छ?
५ मनतनले यहोवाको उपासना गर्नेहरू सकेसम्म चाँडो उहाँको सेवा सुरु गर्ने र आजीवन गरिरहने इच्छा गर्छन्। तथापि, सृष्टिकर्तालाई नसम्झेर आफ्नो युवावस्था त्यसै खेर फाल्ने व्यक्तिको भविष्य कस्तो हुन्छ? ईश्वरीय प्रेरणा पाएर उपदेशकले भने: “दुःखको समय र वृद्धावस्था आउनअघिनै जब तैंले भन्नेछस्, ‘यिनमा मेरो मन लाग्दैन।’ आफ्नो युवावस्थामा आफ्ना सृष्टिकर्त्ताको सम्झना गर्।”—उपदेशक १२:१.
६. पाको उमेरका शिमियोन र हन्नाले आफ्नो सृष्टिकर्तालाई सम्झेका थिए भन्ने के प्रमाण छ?
६ वृद्धावस्थाको “दुःखको समय” कसैलाई मन पर्दैन। तर परमेश्वरलाई मनमा राख्ने वृद्ध व्यक्तिहरू भने आनन्दित हुन्छन्। उदाहरणका लागि, मन्दिरमा वृद्ध शिमियोनले बालक येशूलाई काखमा लिएर हर्षविभोर हुँदै यस्तो घोषणा गरे: “अब हे परमप्रभु, आफ्नो वचनअनुसार, तपाईंले आफ्नो दासलाई शान्तिसँग बिदा गर्नुहोस्। किनकि मेरो आँखाले तपाईंको उद्धार देखेको छ, जे तपाईंले सबै मानिसहरूका सामने तयार पार्नुभएको छ, अन्यजातिहरूलाई प्रकाशको निम्ति, र तपाईंको जाति इस्राएलको महिमाको निम्ति ज्योति।” (लूका २:२५-३२) चौरासी वर्षीया हन्नाले पनि आफ्नो सृष्टिकर्तालाई सम्झेकी थिइन्। तिनी नियमित तवरमा मन्दिर आउँथिन् र बालक येशूलाई मन्दिरमा ल्याइँदा तिनी त्यहीं थिइन्। “त्यही बेला आएर तिनले परमेश्वरलाई धन्यवाद दिइन्, र यरूशलेमको मुक्तिको बाटो हेर्ने सबैलाई उहाँको विषयमा भनिन्।”—लूका २:३६-३८.
७. परमेश्वरको सेवा गर्दागर्दै वृद्ध भएकाहरूको अवस्था कस्तो छ?
७ परमेश्वरको सेवा गर्दागर्दै वृद्ध भएका यहोवाका वर्तमान सेवकहरूले वृद्धावस्थाका पीडा तथा सीमिततासित जुझ्नु त पर्ला। यद्यपि, तिनीहरू साह्रै आनन्दित छन् र हामी तिनीहरूको विश्वासी सेवाको कत्ति मूल्यांकन गर्छौं! तिनीहरूले “परमप्रभुको आनन्द” पाएका छन् किनकि उहाँले पृथ्वीमा आफ्नो अजेय शक्ति प्रयोग गर्नुभएको र येशूलाई स्वर्गको शक्तिशाली राजा नियुक्त गर्नुभएको छ भनेर तिनीहरूलाई थाह छ। (नहेम्याह ८:१०) त्यसकारण, जवान तथा वृद्ध दुवैले यो उपदेश पालन गर्ने समय अहिल्यै हो: “जवान ठिटा र कुमारीहरू, वृद्ध मानिस र केटी-केटीहरू। तिनीहरू सबैले परमप्रभुको नाउँको प्रशंसा गरून्, किनकि उहाँको नाउँ मात्रै उच्च मानिएको छ, उहाँको महिमा पृथ्वी र आकाशको मास्तिर छ।”—भजनसंग्रह १४८:१२, १३.
८, ९. (क) कसका लागि “दुःखको समय” इनामदायी हुँदैन र किन? (ख) तपाईं उपदेशक १२:२ कसरी व्याख्या गर्नुहुन्छ?
८ आफ्नो सृष्टिकर्तालाई नसम्झने र उहाँको महिमित उद्देश्यको अर्थ नबुझ्नेहरूका लागि वृद्धावस्थाको “दुःखको समय” इनामदायी हुँदैन बरु, अति कष्टप्रद होला। तिनीहरूसित वृद्धावस्थाका परीक्षाहरू र शैतानलाई स्वर्गबाट तल झारेदेखि मानिसजातिमाथि आइपरेका विपत्तिहरूलाई थाम्ने आध्यात्मिक समझ छैन। (प्रकाश १२:७-१२) तसर्थ, “सूर्य र दिनको प्रकाशलाई अँध्यारोले ढ़ाक्नअघिनै, चन्द्रमा र ताराहरू धमिला हुन र मेघहरू वर्षामा परिणत हुनअघिनै” आफ्नो सृष्टिकर्ताको सम्झना गर भनेर उपदेशक हामीलाई आग्रह गर्छन्। (उपदेशक १२:२) यी शब्दहरूको महत्त्व के हो?
९ सुलेमान युवावस्थालाई प्यालेस्टाइनमा गृष्म ऋतुताक घाम, जून र ताराहरूले स्वच्छ आकाशमा आफ्नो ज्योति फैलाउने समयसित तुलना गर्छन्। त्यतिखेर चारैतिर सबथोक असाध्यै उज्यालो देखिन्छन्। तथापि, वृद्धावस्थामा मानिसको जिन्दगी एकपछि अर्को समस्याहरूको निरन्तर झरी पर्ने जाडोको मौसमजस्तै हुन्छ। (अय्यूब १४:१) सृष्टिकर्ताबारे थाह पाएर पनि बसन्त छाएको जवानीमा उहाँको सेवा नगर्नु कत्ति दुःखलाग्दो कुरा! यहोवाको सेवा गर्ने मौका खोज्नुको साटो व्यर्थका कुराहरू हासिल गर्न आफ्नो जवानी खेर फाल्ने मानिसहरूले माघे झरीको चिसो मौसमजस्तो वृद्धावस्थामा अन्धकारसिवाय केही फेला पार्दैनन्। तथापि, उमेर जतिसुकै होस्, हामी अगमवक्ता मोशालाई सहयोग गर्ने विश्वासी कालेबजस्तै ‘पूर्ण रूपले यहोवाको पछि लागौं।’—यहोशू १४:६-९.
बढ्दो उमेरका असरहरू
१०. (क) “घरको हेरचाहा गर्नेहरू” (ख) “बलिया मानिसहरू[ले]” केलाई चित्रण गर्छन्?
१० “जब घरको हेरचाहा गर्नेहरू थरथराउँछन्, र बलिया मानिसहरू झुक्छन्, जब जाँतो पिंध्ने स्त्रीहरू कम भएकाले गर्दा आफ्नो काम बन्द गर्छन्, र झ्यालबाट हेर्नेहरू फेरि कहिल्यै हेर्दैनन्” भनी सुलेमान अर्को समस्या औंल्याउँछन्। (उपदेशक १२:३) “घर[ले]” मानव शरीरको चित्रण गर्छ। (मत्ती १२:४३-४५; २ कोरिन्थी ५:१-८) त्यसका “हेरचाह गर्नेहरू” हातखुट्टाहरू हुन्, जसले शरीरको सुरक्षा गर्नुका साथै आवश्यकताहरू पूरा गर्छन्। बूढो भएपछि यी हातखुट्टाहरू कमजोर र लुला भएकाले थरथराउँछन्। “बलिया मानिसहरू” अर्थात् खुट्टाहरू बलिया खामाजस्ता हुँदैनन् बरु यति कमजोर अनि भर नपर्ने हुन्छन् कि, पाइलाहरू धरमरिन थाल्छन्। यद्यपि, यी सबका बावजूद वृद्ध सँगी विश्वासीहरू मसीही सभाहरूमा उपस्थित भएको देख्न पाउँदा के तपाईंलाई खुसी लाग्दैन?
११. लाक्षणिक अर्थमा भन्ने हो भने “जाँतो पिंध्ने स्त्रीहरू” र “झ्यालबाट हेर्नेहरू” को हुन्?
११ “जाँतो पिंध्ने स्त्रीहरू कम भएकाले गर्दा आफ्नो काम बन्द गर्छन्” तर कसरी? बुढेसकालमा दाँतहरू झरेर वा कीराले खाएर हराउन थाल्छन्। ठोस आहार चपाउन गाह्रो हुन थाल्छ वा चपाउनै नसक्ने हुनसक्छ। “झ्यालबाट हेर्नेहरू फेरि कहिल्यै हेर्दैनन्” अर्थात् हामीले संसार देख्नसक्ने आँखाहरू धमिलिन वा ठ्याम्मै नदेख्ने हुन थाल्छन्।
१२. (क) “गल्लीतिर जाने ढोकाहरू” कसरी “बन्द हुन्छन्”? (ख) राज्यका वृद्ध उद्घोषकहरूबारे तपाईंको के धारणा छ?
१२ उपदेशक अझ यसो भन्छन्, “जब गल्लीतिर जाने ढोकाहरू बन्द हुन्छन् र जाँतोको आवाज कम हुँदैजान्छ, जब चराको चिरबिरे आवाजमा मानिसहरू उठ्छन्, तर तिनीहरूका सबै गीत मधुरा हुन्छन्।” (उपदेशक १२:४, नयाँ संशोधित संस्करण) परमेश्वरको सेवा नगर्ने वृद्धहरूका मुखका दुई ढोकाहरू अर्थात् ओठहरू आफ्नो “घर” वा आफूमा भएका सम्पूर्ण कुराहरू सबै व्यक्त गर्न नसक्ने वा ठ्याम्मै व्यक्त गर्न नसक्ने हुन्छन्। त्यसैले जनजीवनका “गल्ली[लाई]” केही दिन सक्दैनन्। यद्यपि, परमेश्वरको राज्यका जोसिला उद्घोषकहरू पनि त्यस्तै हुन्छन् त? (अय्यूब ४१:१४) तिनीहरू घरघरको सेवकाईमा जाँदा विस्तारै हिंड्लान्, कसै कसैलाई त बोल्न पनि गाह्रो होला। तैपनि, तिनीहरू यहोवाको प्रशंसा भने गर्न छोड्दैनन्!—भजन ११३:१.
१३. उपदेशक वृद्ध व्यक्तिको अन्य समस्याहरूबारे के भन्छन् तर वृद्ध मसीहीहरूको सम्बन्धमा के कुरा भन्न सकिन्छ?
१३ दाँत नभएका गिजाहरूले खाना चपाउनु परेकोले जाँतोको आवाज कम हुँदै जान्छ। वृद्ध मानिस आफ्नो ओछ्यानमा मस्त निदाउन सक्दैन। चराको चिरबिरे आवाजले समेत उसको निद्रा खलबलिन्छ। उसले गाउने गीत दुइचारवटा मात्र हुन्छन् र ती गीतहरू गाउँदा पनि मधुरो सुनिन्छ। “सबै गीत” अर्थात् सुमधुर लयहरू “मधुरा हुन्छन्।” अरूले बजाएको बाजा र गाएको गीत वृद्ध व्यक्तिले त्यति राम्ररी सुन्न सक्दैन। तथापि, वृद्ध अभिषिक्त जनहरू र बुढ्यौलीले छोएका तिनका सहयोगीहरूले मसीही सभाहरूमा स्वर उचालेर परमेश्वरको प्रशंसाका गीतहरू गाउँछन्। तिनीहरूसँगसँगै मण्डलीमा यहोवाको प्रशंसा गर्न पाएकोमा हामी कत्ति रमाउँछौं!—भजन १४९:१.
१४. उमेर खाएकाहरूलाई कुन डरले पिरोल्छ?
१४ उमेर खाएका अधिकांश व्यक्तिहरू र त्यसमा पनि सृष्टिकर्तालाई तिरस्कार गर्नेहरू कत्ति दुःखी छन्! उपदेशक भन्छन्: “जब मानिसहरू अग्लो ठाउँदेखि र गल्लीका खतरादेखि डरले भरिएका हुन्छन्, जब हाँड़े-बदामको बोट सेतै फुलेर फक्रन्छ, र फटेंग्रो पेटले घस्रँदैहिंड्छ, र मनको कामना उत्तेजित रहँदैन [“भोक जगाउने फलले काम गर्दैन,” NW]—यी सबै हुनुभन्दा अघि नै उहाँको सम्झना गर। तब मानिस आफ्नो अनन्तको घरमा जानेछ, र मलामीहरू गल्लीमा यताउता लाग्नेछन्।” (उपदेशक १२:५, नयाँ संशोधित संस्करण) अग्लो भऱ्याङको टुप्पोमा पुग्दा थुप्रै वृद्धहरू लडिएला कि भन्ने डरले थरथर काँप्छन्। अग्लो ठाउँबाट केही चिज हेर्दासमेत तिनीहरू कहालिनसक्छन्। हूलमूलमा निस्कनै परेको बेला पनि चोटपटक लाग्ला वा चोरहरूले कुटपिट गर्ला भन्ने सोचाइले मात्र पनि तिनीहरू त्राहित्राहि हुन्छन्।
१५. “हाँड़े-बदामको बोट” कसरी “सेतै फुलेर फक्रन्छ” र फटेंग्रा कसरी “पेटले घस्रँदैहिंड्छ”?
१५ बूढो मानिसको सम्बन्धमा “हाँड़े-बदामको बोट सेतै फुलेर फक्रन्छ।” मतलब तिनको कपाल फुलेर हिउँजस्तो सेतै हुन्छ। फुलेको कपाल हाँड़े बदामको बोट सेतै फुलेर झरेजस्तै झर्छ। अनि तिनी ‘घस्रँदै हिंड्दा’ अर्थात् कुप्रो परेको शरीरमा लुला हातहरू ढाडमा राखेर वा कम्मरमा राखेर हिंड्दा मास्तिर फर्केको कुहिनाहरू देख्दा फटेंग्राजस्तै देखिंदा हुन्। हामीमध्ये कोही कोही झन्डै यस्तै देखिएका छौं भने पनि देख्नेहरूले हामी यहोवाका फूर्तिला अनि तेजिला सलहहरूको सेनाको रूपमा देखोस्!—प्रहरीधरहरा, मे १, १९९८ पृष्ठ ८-१३ हेर्नुहोस्।
१६. (क) “भोक जगाउने फलले काम गर्दैन” भन्नुको अर्थ के हो? (ख) मानिसको “अनन्तको घर” के हो र मृत्यु नजिकै छ भन्ने कस्ता संकेतहरू प्रस्टै देखिन्छन्?
१६ बूढाबूढीलाई खाना त्यति रुच्दैन। अगाडि भोक जगाउने फल राखिदिंदासमेत तिनलाई भोक लाग्दैन। “भोक जगाउने फलले काम गर्दैन” अर्थात् बूढो मान्छेको खानाप्रतिको रुचि घट्दै गएपछि यस्तो फलले समेत तिनको रुचि जगाउनसक्दैन। यी कुराहरूले तिनी “आफ्नो अनन्तको घरमा” अर्थात् चिहानमा जानै लागेका छन् भनी संकेत गर्छन्। आफ्नो सृष्टिकर्तालाई सम्झेको छैन वा घोर दुष्ट काम गरेको कारण पुनरुत्थानको बेला परमेश्वरले तिनलाई सम्झनु भएन भने चिहान नै सधैंको निम्ति तिनको घर हुनेछ। मृत्यु नजिकै छ भन्ने संकेत उमेर खाएका व्यक्तिहरूको ढोका अर्थात् मुखबाट सुस्केरा निस्कँदा वा वेदनाले भरिएका गुनासो गर्दा प्रस्टै देखिन्छन्।
१७. “चाँदीको तार” कसरी ‘चुँडिन्छ’ र “सुनको कचौरा[ले] के कुरालाई संकेत गर्छ?
१७ “चाँदीको तार चुँड़िनअघि र सुनको कचौरा फुटाइनअघि, माटोको गाग्री पँधेरामा टुक्राटुक्रा पारिनअघि र कूवामा चक्का चुँड़ाइनअघि” नै हामीलाई आफ्नो सृष्टिकर्ता सम्झन आग्रह गरिएको छ। (उपदेशक १२:६) “चाँदीको तार” मेरुदण्ड हुनसक्छ। मस्तिष्कसम्म खबर पठाउने यो उदेकलाग्दो मार्ग सुधार्नै नसकिने गरी क्षतिग्रस्त हुँदा मृत्यु निश्चित हुन्छ। “सुनको कचौरा[ले]” मेरुदण्डसित जोडिएको खपटाजस्तो खप्परमा भएको मस्तिष्कलाई जनाएको हुनसक्छ। सुनजस्तो बहुमूल्य मस्तिष्क फुटेर काम गर्न छाड्दा मृत्यु हुन्छ।
१८. “पँधेरामा” भएको प्रतिकात्मक “माटोको गाग्री” के हो र यो फुट्दा के हुन्छ?
१८ ‘पँधेरामा माटोको गाग्री’ चाहिं रगतको नदी बग्दै आइपुग्ने र फेरि सम्पूर्ण शरीरमा रक्त सञ्चार गर्ने मुटु हो। मृत्यु हुँदा मुटु पँधेरामा टुक्रा टुक्रा पारेर फुटाएको गाग्रीजस्तै हुन्छ। किनकि मृत्युपछि मुटुले रगत तान्न, जम्मा गर्न र शरीरलाई पोसिलो र फुर्तिलो बनाउन फेरि मुटुबाहिर पम्प गर्न सक्दैन। ‘चुँडिएको कूवाको चक्काले’ काम गर्न सक्दैन, मतलब जीवनरक्षक रक्तसञ्चार ठप्प बन्द हुन्छ। यसरी यहोवाले १७ औं शताब्दीका चिकित्सक विलियम हार्भेले रक्तसञ्चार हुन्छ भनेर प्रदर्शन गर्नुभन्दा धेरै पहिल्यै रक्तसञ्चार प्रणालीबारे सुलेमानलाई बताइसक्नु भएको थियो।
१९. मृत्युपछि उपदेशक १२:७ कसरी लागू हुन्छ?
१९ उपदेशक अझै यसो भन्छन्: “जसरी त्यो शुरू गरिएको थियो त्यसरीनै माटो माटैमा मिल्नअघि र आत्मा दिने परमेश्वरकहाँ जानअघि उहाँकोनै सम्झना गर्।” (उपदेशक १२:७) “कूवाको चक्का” चुँडिएपछि सुरुमा भूमिको माटोबाट बनिएको मानव माटोमै मिल्न पुग्छ। (उत्पत्ति २:७; ३:१९) आत्मा मर्छ किनकि परमेश्वरले दिनुभएको प्राण वा जीवनशक्ति हाम्रो सृष्टिकर्ताकहाँ नै फर्कन्छ र उहाँसित रहन्छ।—इजकिएल १८:४, २०; याकूब २:२६.
सम्झनेहरूको भविष्य कस्तो छ?
२०. भजन ९०:१२ मा लिपिबद्ध प्रार्थनाद्वारा मोशाले के बिन्ती गरिरहेका थिए?
२० हाम्रो सृष्टिकर्तालाई सम्झनु कत्तिको महत्त्वपूर्ण छ भनेर सुलेमानले निकै घतलाग्दो तरिकामा देखाए। निस्सन्देह, यहोवालाई सम्झनेहरू र सारा हृदयले उहाँको इच्छा पूरा गर्नेहरूको जीवन क्षणभंगुर र समस्यै समस्याले भरिएको छैन। वृद्ध होऊन् वा जवान, तिनीहरूको मनोवृत्ति मोशाको जस्तै छ। तिनले यसरी प्रार्थना गरे: “हाम्रो आयु ठीकसँग गन्न हामीलाई सिकाउनुहोस्, र हामी बुद्धिको हृदय प्राप्त गर्न सकौं।” परमेश्वरका विनम्र अगमवक्ताले आफू र इस्राएलीहरूलाई बुद्धिमानी भई ‘आ-आफ्नो आयुको’ मूल्यांकन गर्न र त्यसलाई उहाँले स्वीकार्नुहुने तरिकामा प्रयोग गर्न यहोवा परमेश्वरले देखाऊन् वा सिकाऊन् भन्ने आफ्नो तत्परता जाहेर गरे।—भजन ९०:१०, १२, नयाँ संशोधित संस्करण।
२१. यहोवाको महिमा गरेर दिन गन्ने हो भने हामीले के गर्नैपर्छ?
२१ विशेष गरी मसीही युवायुवतीहरूले सृष्टिकर्तालाई सम्झनू भन्ने उपदेशकको सल्लाह पालन गर्न दृढ निश्चय गर्नुपर्छ। परमेश्वरलाई पवित्र सेवा चढाउने कस्ता राम्रा मौकाहरू तिनीहरूले पाएका छन्! तथापि, जतिसुकै उमेर भए तापनि हामीले यो “अन्तको समय[मा]” यहोवाको महिमा गरेर आफ्नो दिन गन्न सिक्यौं भने, सधैं गनिरहन पाउनेछौं। (दानियल १२:४; यूहन्ना १७:३) निस्सन्देह, त्यसो गर्न हामीले हाम्रो सृष्टिकर्तालाई सम्झनैपर्छ। अनि परमेश्वरप्रतिको हाम्रो सम्पूर्ण दायित्व पनि पूरा गर्नैपर्छ।
तपाईं कस्तो जवाफ दिनुहुन्छ?
◻ जवानहरूलाई किन आफ्नो सृष्टिकर्तालाई सम्झने आग्रह गरिन्छ?
◻ धर्मशास्त्रमा आफ्नो सृष्टिकर्तालाई सम्झनेहरूमध्ये केही व्यक्तिहरू को हुन्?
◻ सुलेमानले वर्णन गरेका वृद्धावस्थाका केही असरहरू के हुन्?
◻ यहोवालाई सम्झनेहरूको भविष्य कस्तो छ?
[पृष्ठ १५-मा भएका चित्रहरू]
दाऊद, कैदमा लगिएकी इस्राएली केटी, हन्ना र शिमियोनले यहोवालाई सम्झे
[पृष्ठ १६-मा भएका चित्रहरू]
यहोवाका वृद्ध साक्षीहरू आनन्दित हुँदै हाम्रो सृष्टिकर्तालाई पवित्र सेवा चढाउँछन्