निरुत्साहित हुँदा के गर्ने?
निरुत्साहको सामना कसरी गर्न सकिन्छ? यहोवाका साक्षीहरूका मण्डलीहरूको नियमित भ्रमण गर्ने थुप्रै परिभ्रमण निरीक्षकहरूलाई उक्त प्रश्न सोधिएको थियो। तिनीहरूका जवाफले व्यक्तिविशेष निरुत्साहित हुनुका कारणहरू विश्लेषण गर्न अनि मसीहीलाई असर गर्नसक्ने यो अवस्था हटाउन मदत गर्नसक्छ।
निरुत्साहको सामना गर्न विश्लेषण गरेर मात्र पुग्दैन। निरुत्साहका लक्षणहरूमा प्रार्थना वा व्यक्तिगत अध्ययनप्रति चासो हराउनु, सभामा अनियमित हुनु, जोस हराउनुका साथै मसीही संगती सेलाएर जानुसमेत समावेश हुनसक्छ। तथापि, मुख्य लक्षणचाहिं प्रचारको काममा जोस हराउनु हो। आउनुहोस्, लक्षणहरू जाँचौं अनि त्यसलाई हटाउन के गर्न सकिन्छ, विचार गरौं।
हाम्रो प्रचारको काममा हुने निरुत्साह
चेला बनाउने काममा कठिनाइहरूको सामना गर्नुपर्नेछ भनेर येशू ख्रीष्टलाई थाह थियो। (मत्ती २८:१९, २०) प्रचार गर्न जाने आफ्ना अनुयायीहरूमाथि सतावट आइपर्नेछ भनेर थाह भएकोले उहाँले तिनीहरूलाई “ब्वाँसाका बीचमा भेडाझैं गरी” पठाउनुभयो। (मत्ती १०:१६-२३) यद्यपि, तिनीहरू निरुत्साहित हुनु आवश्यक थिएन। भनौं भने, प्रार्थनापूर्वक यहोवामा भर पर्ने परमेश्वरका सेवकहरू अक्सर सतावटको कारण बलिया भएका छन्।—प्रेरित ४:२९-३१; ५:४१, ४२.
येशूका चेलाहरूले सधैं यस्तो घोर सतावटको सामना गर्नु परेन होला तर मानिसहरू अक्सर तिनीहरूको कुरा सुन्न इन्कार गर्थे। (मत्ती १०:११-१५) त्यसै गरी, आज यहोवाका साक्षीहरूले सधैं सजिलैसित प्रचार गर्न सकेका छैनन्।a थुप्रै मानिसहरू परमेश्वरमाथि विश्वास गर्नु नगर्नु व्यक्तिगत कुरा हो भन्ठान्छन् र अरूसित यसबारे छलफल गर्न रुचाउँदैनन्। अरू कतिपयचाहिं धार्मिक संगठनप्रति पूर्वाग्रह भएकोले ती संगठनसित सरोकार राख्न चाहँदैनन्। निस्सन्देह, भावशून्यता, राम्रा नतिजाहरूको कमी वा अन्य विभिन्न समस्याहरू निरुत्साहको जड हुनसक्छ। यी अवरोधहरू कसरी सामना गर्न सकिन्छ?
असल नतिजाहरू प्राप्त गर्ने
हामीले सेवकाईबाट उठाउने आनन्द केही हदसम्म प्राप्त नतिजाहरूमा निर्भर हुन्छ। त्यसो भए, सेवकाईलाई हामी कसरी अझ फलदायी बनाउनसक्छौं त? नबिर्सनुहोस्, हामी “मानिसहरूका जालहारी” हौं। (मर्कूस १:१६-१८) पुरातन इस्राएलमा जालहारीहरू राती माछा मार्न जान्थे किनभने रातको समयमा धेरै माछा मार्न सकिन्थ्यो। हामीले पनि प्रायजसो मानिसहरू घरैमा हुनुका साथै हाम्रो सन्देश सुन्ने मनस्थितिमा भएको समयमा “जाल हान्न” आफ्नो इलाकाको विश्लेषण गर्नुपर्छ। त्यो समय, साँझपख, सप्ताहन्त वा अरू कुनै पनि बेला हुनसक्छ। एक परिभ्रमण निरीक्षककाअनुसार, दिनभरि काम गर्ने मानिसहरू भएको ठाउँमा यसो गर्नु व्यवहारिक हुन्छ। साँझपख साक्षी दिंदा असल नतिजाहरू प्राप्त भएको तिनले पाए। टेलिफोन र अनौपचारिक साक्षी दिएर पनि हामी धेरैभन्दा धेरै मानिसहरूसँग सम्पर्क राख्नसक्छौं।
सेवकाईमा लगनशील हुनाले असल नतिजा प्राप्त हुन्छ। पूर्वी युरोप र अफ्रिकी देशहरूमा राज्य प्रचारकार्यमा राम्रो उन्नति भइरहेको छ। फलतः त्यहाँ निकै वृद्धि भइरहेको छ। त्यसै गरी, पहिला अफलदायी ठानिएका ठाउँहरूका साथै दोहऱ्याई तेहऱ्याई प्रचार गरिसकिएका इलाकाहरूमा थुप्रै मण्डलीहरू स्थापित भएका छन्। तथापि, तपाईंको इलाकामा यस्तो नतिजाहरू प्राप्त गर्नुभएको छैन भने नि?
असल मनोवृत्ति राख्ने
येशूले राख्नुभएका लक्ष्यहरू स्पष्टसित मनमा राख्नाले सेवकाईमा सामना गर्नुपर्ने भावशून्यताले हामीलाई निरुत्साहित नहुन मदत गर्छ। आफ्ना चेलाहरूले भीडका भीड मानिसहरूको धर्म परिवर्तन गरेको होइन बरु योग्य व्यक्तिहरू खोजेको ख्रीष्ट चाहनुहुन्थ्यो। इस्राएलीहरूले प्राचीन समयका अगमवक्ताहरूको कुरा नसुनेजस्तै थुप्रै मानिसहरूले सुसमाचार स्वीकार्ने छैनन् भनेर उहाँले थुप्रै चोटि भन्नुभयो।—इजकिएल ९:४; मत्ती १०:११-१५; मर्कूस ४:१४-२०.
“आत्मामा दरिद्र हुनेहरू[ले]” कृतज्ञतासहित ‘राज्यको सुसमाचार’ ग्रहण गर्छन्। (मत्ती ५:३; २४:१४) तिनीहरू परमेश्वरले चाहनुभएअनुसार उहाँको सेवा गर्न चाहन्छन्। तसर्थ, हाम्रो क्रियाकलापका नतिजा सन्देश सुनाउने हाम्रो झुकाउसित भन्दा पनि मानिसहरूको हृदयसित बढी सम्बन्धित छ। निस्सन्देह, घत लाग्दो तरिकामा सुसमाचार सुनाउन हामीले सक्दो प्रयास गर्नुपर्छ। तथापि, नतिजाचाहिं परमेश्वरकै हातमा छ किनकि येशूले यसो भन्नुभयो: “मलाई पठाउने पिताले त्यसलाई खिंच्नुभएन भने कोही मकहाँ आउनसक्तैन।”—यूहन्ना ६:४४.
हाम्रो प्रचारकार्यले गर्दा मानिसहरू यहोवाको नाउँसित परिचित हुन्छन्। चाहे मानिसहरूले सुनून या नसुनून्, हाम्रो प्रचारकार्यले यहोवाको महिमित नाउँको पवित्रिकरण गर्न सहयोग पुऱ्याउँछ। यसबाहेक, प्रचारकार्यद्वारा हामी ख्रीष्टका चेलाहरू हौं भनेर प्रमाणित गर्छौं। अनि हामीले अहिले भइरहेको महत्त्वपूर्ण कार्यमा भाग लिने विशेषाधिकार पाएका छौं।—मत्ती ६:९; यूहन्ना १५:८.
निरुत्साह अनि सम्बन्ध
चाहे परिवारमा होस् या मण्डलीमा, केही मानव सम्बन्धहरूले पनि निरुत्साहित बनाउनसक्छ। उदाहरणका लागि, अरूले आफूलाई नबुझेको जस्तो लाग्छ। सँगी विश्वासीहरूको असिद्धताका असरहरूले पनि हामीलाई निरुत्साहित बनाउनसक्छ। तर यस अवस्थामा पनि बाइबलले हामीलाई निकै मदत गर्नसक्छ।
विश्वभरिका “भाइ-बन्धुहरू” मिलेर ठूलो आध्यात्मिक परिवार बनेको छ। (१ पत्रुस २:१७) तर व्यक्तित्व बाझिएर कठिनाइहरू उत्पन्न भयो भने हामी एकताबद्ध मानिसहरू हौं भन्ने भावना सेलाउन सक्छ। प्राप्त प्रमाणअनुसार, प्रथम शताब्दीका मसीहीहरूमाझ पनि यस्ता समस्याहरू विद्यमान थियो। त्यसैकारण त प्रेरित पावलले एकताबद्ध भएर बस्नु भनेर तिनीहरूलाई बारम्बार सम्झाउनुपऱ्यो। उदाहरणका लागि, तिनले दुई मसीही स्त्रीहरू “इयोदिया र सिन्तकेलाई” आपसी मतभिन्नता सुल्झाउन आग्रह गरे।—१ कोरिन्थी १:१०; एफिसी ४:१-३; फिलिप्पी ४:२, ३.
हामीबीच पनि यस्तै समस्या छ भने हामी भाइबहिनीहरूप्रति कसरी निष्कपट प्रेम जगाउनसक्छौं? तिनीहरूका लागि पनि ख्रीष्ट मर्नुभएको हो अनि हामीले जस्तै तिनीहरूले पनि उहाँको छुटकाराको बलिदानमा विश्वास गर्छन् भन्ने सम्झेर। थुप्रै भाइबहिनीहरू हाम्रो खातिर आफ्नो ज्यान खतरामा राखेर येशू ख्रीष्टको अनुकरण गर्न तयार छन् भनेर पनि हामीले बिर्सनु हुँदैन।
केही वर्षअघिको कुरा हो, फ्रान्सको पेरिसमा एक जवान साक्षीले राज्यभवनबाहिर बम राखिएको सुटकेश नहिच्किचाई टपक्क टिपे। अनेकन् भऱ्याङहरू दौडदै ओर्लेपछि तिनले त्यो सुटकेश फोहरामा फ्याँके र त्यहाँ बम विस्फोट भयो। यसरी आफ्नो जीवनको खतरा मोल्न कुन कुराले उत्प्रेरित गऱ्यो भन्ने प्रश्नको उत्तरमा तिनले यसो भने: “हाम्रो जीवन खतरामा छ भनेर थाह पाएँ। त्यसैले सबै जना मर्नुभन्दा म एक्लै मर्नु असल हो भन्ने मलाई लाग्यो।”b येशूको उदाहरण हुबहु पछ्याउने यस्ता सँगी साक्षीहरूसित संगत गर्न पाउनु कस्तो राम्रो आशिष्!
यसबाहेक, दोस्रो विश्वयुद्धको दौडान यातना शिविरमा परेका यहोवाका साक्षीहरूले देखाएको सहयोगको भावनालाई पनि मनन गर्नसक्छौं।c हालसालै मलावीका हाम्रा भाइबहिनीहरूले मसीहीहरूको हैसियतमा त्यसै गरी विश्वासी भई आफ्नो निष्ठा कायम राखे। हाम्रो मण्डलीका भाइबहिनीहरूले पनि परिस्थितिले माग गरेमा त्यस्तै त्यागहरू गर्नेछन् भन्ने विचारले के हामीलाई दिनहुँ सामना गर्नुपर्ने तनाउ र मतभिन्नता हल्का ठान्न वा कम गर्न उत्प्रेरित गर्दैन र? ख्रीष्टको मन खेती गऱ्यौं भने सँगी उपासकहरूसँगको दिन-दिनको बसउठ निरुत्साहको होइन तर स्फूर्तिको स्रोत बन्नेछ।
निरुत्साहित बनाउने व्यक्तिगत भावनाहरू
“आशा साकार नहुँदा मन मर्छ, तर इच्छा पूर्ण हुनुनै जीवनको सहारा हो।” (हितोपदेश १३:१२) यहोवाका केही सेवकहरूलाई यो रीतिरिवाजको अन्त आफूले सोचेजस्तो छिटो नआएको महसुस भएको छ। हामी बाँचिरहेको ‘डरलाग्दो समयको’ सम्बन्धमा थुप्रै मसीहीहरू पनि अविश्वासीहरूको जस्तै सोचाइ राख्छन्।—२ तिमोथी ३:१-५.
तथापि, अविश्वासीहरू जस्तो नभई मसीहीहरू यी कठिन परिस्थितिहरूमा येशूको उपस्थितिको “चिह्न” देखेर आनन्दित हुनुपर्छ। त्यसले अब चाँडै परमेश्वरको राज्यले दुष्ट रीतिरिवाजको अन्त गर्नेछ भनेर संकेत गर्छ। (मत्ती २४:३-१४) “महा संकष्ट[सम्म]” परिस्थिति झन् झन् खराब हुँदै जानेछ। यद्यपि, परिस्थिति खराब हुँदै गए तापनि यी घटनाहरू आनन्दको स्रोत हुन् किनकि यसले परमेश्वरको आउँदै गरेको संसारको घोषणा गर्छ।—मत्ती २४:२१; २ पत्रुस ३:१३.
वर्तमान कामकुराहरूमा परमेश्वरको राज्यको हस्तक्षेप बेवास्ता गरेको खण्डमा जुनै पनि मसीही भौतिक लक्ष्यहरूतर्फ झन् झन् उन्मुख हुँदै जानसक्छ। तिनले आफ्नो सबै समय र शक्ति जागिर तथा मनोरञ्जनजस्ता कुराहरूमा खर्च गरे भने धर्मशास्त्रीय जिम्मेवारीहरू पूरा गर्न निकै गाह्रो पर्नसक्छ। (मत्ती ६:२४, ३३, ३४) फलतः तिनी निराश अनि निरुत्साहित हुन पुग्छन्। एक परिभ्रमण निरीक्षकले यसो भने: “यो रीतिरिवाजमा नयाँ संसारको जस्तो जीवन बिताउन खोज्नु अव्यवहारिक कुरा हो।”
निरुत्साह हटाउने दुइटा उत्तम तरिका
निरुत्साहका कारणहरू थाह पाएपछि व्यक्तिविशेषले त्यसलाई कसरी प्रभावशाली तरिकामा हटाउनसक्छ? एउटा उत्तम तरिका हो, व्यक्तिगत अध्ययन। किन? एक जना परिभ्रमण निरीक्षक यसो भन्छन्: “व्यक्तिगत अध्ययनले आफूले गरिररहेको काम गर्नुको कारण याद दिलाउँछ।” अर्को परिभ्रमण निरीक्षक अझ यसो भन्छन्: “दायित्वको भावले प्रचार गर्दा कहिलेकाहीं बोझ बन्न सक्छ।” तर राम्रो व्यक्तिगत अध्ययन गर्नाले झन् झन् नजिकिंदै गइरहेको अन्तको समयमा आफूले पूरा गर्नुपर्ने भूमिका आँखासामु प्रस्ट राख्न हामीलाई मदत गर्छ। परमेश्वरको इच्छा पूरा गरेर साँचो आनन्द प्राप्त गर्न राम्रो आध्यात्मिक भोजन लिनु आवश्यक छ भनेर धर्मशास्त्रले पनि हामीलाई बारम्बार सम्झाउँछ।—भजनसंग्रह १:१-३; १९:७ -१०; ११९:१, २.
प्राचीनहरूले प्रोत्साहनदायी गोठालोरूपी भेट गरेर अरूलाई निरुत्साहको सामना गर्न मदत गर्नसक्छन्। प्राचीनहरूले यस्ता व्यक्तिगत भेटघाटको दौडान त्यस्ता निरुत्साहितहरूले धेरै सह्रानीय काम गरिरहेका छन् भनी देखाउनुका साथै यहोवाका जनहरूमाझ महत्त्वपूर्ण स्थान छ भनेर बताउनसक्छन्। (१ कोरिन्थी १२:२०-२६) एक जना प्राचीनले सँगी विश्वासीहरूबारे यसो भने: “तिनीहरू बहुमूल्य छन् भनेर जोड दिन म तिनीहरूले बितेको समयमा गरेका कामहरू स्मरण गराउँछु। तिनीहरू यहोवाको नजरमा मूल्यवान् छन् अनि उहाँको पुत्रको रगत तिनीहरूको खातिर दिइएको हो भनेर बताउँछु। यस्तो कुरा सबैले मन पराउँछन्। बाइबल पदहरू उल्लेख गर्दै यसरी प्रोत्साहन दिंदा निरुत्साहित व्यक्तिहरूले फेरि पारिवारिक प्रार्थना, अध्ययन र बाइबल पढाइ गर्नेजस्ता नयाँ लक्ष्यहरू राख्नसक्छन्।—हिब्रू ६:१०.
गोठालोरूपी भेट गर्दा प्राचीनहरूले परमेश्वरलाई रिझाउन असम्भव छ भन्ने भान पर्न दिनुहुँदैन। बरु, प्राचीनहरूले निरुत्साहित भएका सँगी विश्वासीहरूलाई येशूका अनुयायीहरूले बोक्नुपर्ने भारी हल्का छ भन्ने बुझ्न मदत गर्नसक्छन्। फलतः हाम्रो मसीही सेवा आनन्दको स्रोत बन्छ।—मत्ती ११:२८-३०.
निरुत्साहलाई पूरै हटाउने
कारण जेसुकै होस्, निरुत्साह एउटा महामारी हो। यससित संघर्ष गर्नैपर्छ। तथापि, यस संघर्षमा हामी एक्लो छैनौं भनेर नबिर्सनुहोस्। निरुत्साहित भएका छौं भने, मसीहीहरूको र विशेष गरी प्राचीनहरूको मदत स्वीकारौं। यसो गरेर हामी निरुत्साहका भावनाहरू कम गर्नसक्छौं।
सबैभन्दा महत्त्वपूर्ण कुरा, निरुत्साहको सामना गर्न परमेश्वरको मदत माग्नु आवश्यक छ। प्रार्थनापूर्वक यहोवामा भर पऱ्यौं भने निरुत्साहलाई पूरै हटाउन उहाँले हामीलाई मदत दिन सक्नुहुन्छ। (भजनसंग्रह ५५:२२; फिलिप्पी ४:६, ७) तथापि, उहाँका जनहरूको हैसियतमा हामी जुनसुकै अवस्थामा पनि भजनरचयिताका जस्तै भावनाहरू व्यक्त गर्नसक्छौं। तिनले यसरी गाए: “ती मानिसहरू धन्य हुन्, जसले आनन्दको सोर चिन्छन्। हे परमप्रभु, तिनीहरू तपाईंको मोहोड़ाको प्रकाशमा हिंड़छन्। तिनीहरू दिनभरि तपाईंकै नाउँमा रमाउँछन्, र तिनीहरू तपाईंकै धार्मिकतामा उच्च पारिन्छन्। किनकि तपाईं तिनीहरूको शक्तिको महिमा हुनुहुन्छ र तपाईंकै निगाहमा हाम्रो सीङ ठाड़ो हुनेछ।”—भजनसंग्रह ८९:१५-१७.
[फुटनोटहरू]
a मे १५, १९८१ प्रहरीधरहरा-को “घरघरको सेवकाई चुनौतीपूर्ण छ” लेख हेर्नुहोस्।
b वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित फेब्रुअरी २२, १९८५ को ब्यूँझनुहोस्! पृष्ठ १२ र १३ हेर्नुहोस्।
c अगस्त १५, १९८० को प्रहरीधरहरा-को “ ‘मृत्यु यात्रामा’ बाँचे” र जून २२, १९८५ को ब्यूँझनुहोस्!-को “नाजी जर्मनीमा निष्ठा कायम राख्ने” लेखहरू हेर्नुहोस्।
[पृष्ठ ३१-मा भएको चित्र]
मायालु प्राचीनहरूको उत्थानदायी गोठालोरूपी भेटले मसीहीहरूलाई निरुत्साहको सामना गर्न मदत दिनसक्छ