प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w20 डिसेम्बर pp. २२-२७
  • तपाईँ कसरी निराशासित लड्‌न सक्नुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईँ कसरी निराशासित लड्‌न सक्नुहुन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • त्रुटिपूर्ण अवस्था र कमीकमजोरीसित जुझ्नुपर्दा
  • स्वास्थ्य समस्यासित जुझ्नुपर्दा
  • आफूले चाहेको सुअवसर नपाउँदा
  • इलाकाका मानिसहरूले हाम्रो सन्देशप्रति चासो नदेखाउँदा
  • निरुत्साहित हुँदा के गर्ने?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • जसै दिन नजीक नजीक आइपुग्छ, एउटाले अर्कोलाई प्रोत्साहन दिने गर
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • यहोवालाई सबैभन्दा उत्तम सेवा चढाएर आनन्दित हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • प्रलोभनको प्रतिरोध गर्न र निराशाको सामना गर्न बल पाएका छौं
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
w20 डिसेम्बर pp. २२-२७

अध्ययन लेख ५२

तपाईँ कसरी निराशासित लड्‌न सक्नुहुन्छ?

“आफ्नो भारी यहोवामा बिसाऊ र उहाँले तिमीलाई सम्हाल्नुहुनेछ।”—भज. ५५:२२.

गीत ३३ बिसाऊ भारी यहोवामा

परिचयa

१. निराशाले हामीलाई कसरी असर गर्न सक्छ?

हरेक दिन हामी समस्याहरूको सामना गर्छौँ र त्यससित जुझ्न हामी आफ्नोतर्फबाट सक्दो गर्छौँ। तर निराश भएको बेला समस्याहरूको सामना गर्न गाह्रो हुन्छ भनेर के तपाईँ सहमत हुनुहुन्‍न र? हामी निराशालाई चोरसित तुलना गर्न सक्छौँ, जसले हामीबाट आत्मविश्‍वास, साहस र आनन्द लुटेर लैजान सक्छ। हितोपदेश २४:१० र फुटनोट यसो भन्छ: “सङ्‌कष्टको समयमा तिमी निराश भयौ भने तिम्रो बल घट्‌नेछ।” हो, निराशाले जीवनका समस्याहरू सफलतापूर्वक सामना गर्न नसक्नेगरि हामीलाई शिथिल बनाउन सक्छ।

२. कस्ता कुराहरूले गर्दा हामी निराश हुन सक्छौँ र यस लेखमा हामी के छलफल गर्नेछौँ?

२ हामी थुप्रै कुराले गर्दा निराश हुन सक्छौँ—केही आन्तरिक हुन्छन्‌ त केही बाह्‍य। यसमा त्रुटिपूर्ण अवस्था, कमीकमजोरी र स्वास्थ्य समस्या समावेश छन्‌। यहोवाको सेवामा आफूले चाहेको असाइनमेन्ट नपाउँदा वा हाम्रो सन्देशप्रति चासो नदेखाउने इलाकामा प्रचार गर्नुपर्दा पनि हामी निराश हुन सक्छौँ। यस लेखमा निराशासित जुझ्न हामीले गर्न सक्ने केही कुराहरू छलफल गर्नेछौँ।

त्रुटिपूर्ण अवस्था र कमीकमजोरीसित जुझ्नुपर्दा

३. आफ्नो त्रुटिपूर्ण अवस्थाबारे सन्तुलित दृष्टिकोण राख्न हामीलाई केले मदत गर्न सक्छ?

३ आफ्नो त्रुटिपूर्ण अवस्था र कमीकमजोरीबारे सन्तुलित दृष्टिकोण राख्न पक्कै पनि सजिलो छैन। आफूबाट भएका गल्तीहरूले गर्दा यहोवाले मलाई उहाँको नयाँ संसारमा कहिल्यै स्वागत गर्नुहुनेछैन भन्‍ने सोचाइ हाम्रो मनमा आउन सक्छ। यस्तो सोचाइ हानिकारक हुन सक्छ। हामीले आफ्नो त्रुटिपूर्ण अवस्थालाई कसरी हेर्नुपर्छ? येसु ख्रिष्टबाहेक “सबैले पाप गरेका छन्‌” भनी बाइबल बताउँछ। (रोमी ३:२३) तर यहोवा हाम्रा गल्तीमा मात्र ध्यान दिनुहुन्‍न र हामीबाट कुनै त्रुटि नभएको आशा गर्नुहुन्‍न। बरु उहाँ हामीलाई माया गर्नुहुन्छ र हामीलाई मदत गर्न इच्छुक हुनुहुन्छ। उहाँ धीरजी पनि हुनुहुन्छ। आफ्ना कमीकमजोरीसित लड्‌न र आफूबारे सन्तुलित दृष्टिकोण राख्न हामीले गरिरहेको सङ्‌घर्ष उहाँ देख्नुहुन्छ र उहाँ हामीलाई मदत गर्न तयार हुनुहुन्छ।—रोमी ७:१८, १९.

चित्रहरूको सँगालो: १. एक बहिनी टेबुलमा बसेर प्रार्थना गर्दै छिन्‌। २. ती बहिनी ईश्‍वरतान्त्रिक निर्माण परियोजनामा खाना बाँड्‌दै छिन्‌। ३. ती बहिनी अस्पतालमा भएका एक दम्पतीलाई खाना लिएर भेट्‌न गएकी छिन्‌। पत्नीले बिरामी पतिलाई सान्त्वना दिँदै छिन्‌।

हामीले विगतमा गरेको र अहिले गरिरहेको असल कामहरू दुवै यहोवालाई थाह छ (अनुच्छेद ५ हेर्नुहोस्‌)d

४-५. पहिलो युहन्‍ना ३:१९, २० मा बताइएको कुन कुराले दुई बहिनीलाई निराशासित लड्‌न मदत गऱ्‍यो?

४ डेबोरा र मारियाको उदाहरण विचार गर्नुहोस्‌।b सानो छँदा अरूले गरेको व्यवहारले गर्दा आफूलाई कसैले माया गर्दैन जस्तो डेबोरालाई लाग्थ्यो। उनले अरूबाट खासै प्रशंसा पाइनन्‌। यसले गर्दा उनले आफूबारे नकारात्मक दृष्टिकोण राख्न थालिन्‌। उनलाई आफूबाट सानातिना गल्तीहरू हुँदा कुनै कुरा ठीकसित गर्न सक्दिनँ जस्तो लाग्थ्यो। मारियाको पनि त्यस्तै समस्या थियो। तिनलाई पनि तिनका आफन्तहरूले राम्रो व्यवहार गरेनन्‌। यसले गर्दा तिनले आफू बेकामको छु भन्‍ने भावनासित सङ्‌घर्ष गर्नुपऱ्‍यो। बाइबलका सत्य कुराहरू सिकेपछि तिनले आफू यहोवाको नाम बहन गर्नसमेत अयोग्य भएको महसुस गरिन्‌।

५ तैपनि यी दुई बहिनीले यहोवाको सेवा गर्न छोडेनन्‌। किन? एउटा कारण त, तिनीहरूले व्यग्र प्रार्थना गरेर आफ्नो भारी यहोवामा बिसाए। (भज. ५५:२२) स्वर्गमा बस्नुहुने मायालु बुबालाई हाम्रो विगतका तीता अनुभवहरू र हाम्रो नकारात्मक सोचाइले हामीलाई कसरी असर गरिरहेको छ भनेर थाह छ। यो कुरा यी दुई बहिनीले बुझे। तर उहाँले हामीमा भएका असल गुणहरू पनि देख्नुहुन्छ, जुन हामी आफैलाई याद नहुन सक्छ।—१ युहन्‍ना ३:१९, २० पढ्‌नुहोस्‌।

६. कसैको खराब बानी फर्कँदा तिनलाई कस्तो लाग्न सक्छ?

६ कोही व्यक्‍तिले आफूमा नराम्ररी जरा गाडेको खराब बानी हटाउन निकै सङ्‌घर्ष गरिरहेको हुन सक्छ। तर त्यो बानी फेरि फर्कन सक्छ र यस्तो हुँदा तिनी निराश हुन सक्छन्‌। पक्कै पनि आफूले पाप गर्दा दोषी महसुस गर्नु स्वाभाविक हो। (२ कोरि. ७:१०) तर हामीले अचाक्ली दोषी महसुस गरेर यस्तो सोच्ने हदसम्म पुग्नु हुँदैन: ‘म बेकामको छु। यहोवाले मलाई कहिल्यै क्षमा दिनुहुन्‍न।’ यस्तो सोचाइ सही होइन किनकि यसले हामीलाई यहोवाको सेवा गर्नदेखि तर्काउन सक्छ। हितोपदेश २४:१० मा के भनिएको छ, सम्झनुहोस्‌ त—निराश भयौँ भने हाम्रो बल घट्‌नेछ। बरु प्रार्थनामा यहोवासामु गएर र क्षमा मागेर उहाँसित ‘मामिला सुल्झाउनुहोस्‌।’ (यसै. १:१८, फुटनोट) तपाईँले मनैदेखि पश्‍चात्ताप गर्नुभएको छ भने उहाँले तपाईँलाई क्षमा दिनुहुनेछ। यसबाहेक एल्डरहरूसित कुरा गर्नुहोस्‌। आध्यात्मिक रूपमा निको हुन तिनीहरूले तपाईँलाई धीरजी हुँदै मदत गर्नेछन्‌।—याकु. ५:१४, १५.

७. सही काम गर्न सङ्‌घर्ष गरिरहेका छौँ भने हामी किन निराश हुनु पर्दैन?

७ झाँ-लुक नाम गरेका फ्रान्सका एक एल्डर कमीकमजोरीसित सङ्‌घर्ष गरिरहेकाहरूलाई यसो भन्छन्‌: “यहोवाको नजरमा धर्मी मानिस ऊ होइन जसले कहिल्यै गल्ती गर्दैन, बरु ऊ हो जसले आफ्ना गल्तीहरू महसुस गर्छ र सधैँ पश्‍चात्ताप गर्छ।” (रोमी ७:२१-२५) त्यसैले आफ्ना कमीकमजोरीसित सङ्‌घर्ष गर्दै हुनुहुन्छ भने आफू बेकामको छु भन्‍ने नसोच्नुहोस्‌। नबिर्सनुहोस्‌, हामीमध्ये कोही पनि आफ्नै बलबर्कतमा यहोवासामु धर्मी ठहरिन सक्दैनौँ। परमेश्‍वरले फिरौतीमार्फत देखाउनुभएको असीम अनुग्रह हामी सबैलाई चाहिन्छ।—एफि. १:७; १ युह. ४:१०.

८. निराश हुँदा हामी कसको मदत लिन सक्छौँ?

८ हाम्रो आध्यात्मिक परिवारले हामीलाई प्रोत्साहन दिनेछन्‌। हामीले कुरा गर्न खोज्दा तिनीहरूले हाम्रो कुरा सुन्छन्‌ र तिनीहरूका आश्‍वासनदायी शब्दहरूले हाम्रो मनलाई हल्का बनाउन सक्छ। (हितो. १२:२५; १ थिस्स. ५:१४) निराशासित सङ्‌घर्ष गरेकी नाइजेरियाकी जोइ बहिनी यसो भन्छिन्‌: “मण्डलीका दाजुभाइ दिदीबहिनी नभएको भए म कुन हालतमा हुन्थेँ होला? उहाँहरूबाट पाएको प्रोत्साहन यहोवा मेरो प्रार्थनाको जवाफ दिनुहुन्छ भन्‍ने कुराको प्रमाण हो। मन भाँचिएकाहरूलाई कसरी प्रोत्साहन दिने भनेर समेत मैले उहाँहरूबाट सिकेकी छु।” तर हामीलाई प्रोत्साहन चाहिएको कुरा हाम्रा दाजुभाइ दिदीबहिनीलाई सधैँ थाह नहुन सक्छ। त्यसैले परिपक्व भाइ वा बहिनीकहाँ गएर आफूलाई मदत चाहिएको कुरा बताउन हामी आफै अग्रसर हुनुपर्छ।

स्वास्थ्य समस्यासित जुझ्नुपर्दा

९. भजन ४१:३ र ९४:१९ ले हामीलाई कसरी प्रोत्साहन दिन्छ?

९ मदतको लागि यहोवालाई पुकार्नुहोस्‌। बिरामी हुँदा र विशेषगरि दीर्घकालीन रोगसित लड्‌नुपर्दा सकारात्मक सोच राख्न हामीलाई गाह्रो हुन सक्छ। हुनत यहोवाले अहिले हामीलाई चमत्कारपूर्ण तरिकामा निको पार्नुहुन्‍न तर उहाँले हामीलाई सान्त्वना दिनुहुन्छ र सहने बल दिन सक्नुहुन्छ। (भजन ४१:३; ९४:१९ पढ्‌नुहोस्‌) उदाहरणको लागि, हामीलाई घरायसी काम गर्न वा बजार जान मदत चाहिँदा यहोवाले सङ्‌गी ख्रिष्टियनहरूलाई उत्प्रेरित गर्न सक्नुहुन्छ। उहाँले हाम्रा दाजुभाइ दिदीबहिनीलाई हामीसँगै प्रार्थना गर्न उत्प्रेरित गर्नुहुन्छ। अथवा उहाँले आफ्नो वचनमा पाइने सान्त्वनादायी कुरा सम्झन हामीलाई मदत गर्न सक्नुहुन्छ, जस्तै: आउँदै गरेको नयाँ संसारमा रोगबिमार र पीडाविनाको त्रुटिरहित जीवनको आशा।—रोमी १५:४.

१०. दुर्घटनाको बाबजुद इसाङ्‌ किन निराश भइरहेनन्‌?

१० नाइजेरियाका इसाङ्‌ दुर्घटनामा परे र तिनलाई पक्षघात भयो। डाक्टरले तिनी अब कहिल्यै हिँड्‌न सक्दैनन्‌ भनेर बताए। तिनले भने: “म असाध्यै निराश भएँ र मेरो मन छियाछिया भयो।” तर के तिनी सधैँ निराश भइरहे? भएनन्‌! तिनलाई केले मदत गऱ्‍यो? तिनी भन्छन्‌: “म र मेरी पत्नीले यहोवालाई प्रार्थना गर्न र उहाँको वचन पढ्‌न कहिल्यै छोडेनौँ। परमेश्‍वरको नयाँ संसारमा पाइने जीवनको आशालगायत अन्य असल कुराहरूको लागि हामी कृतज्ञ भइरह्‍यौ।”

चित्रहरूको सँगालो: १. निराश भएका एक भाइ ह्वीलचेयरमा छन्‌ र सास फेर्न तिनले अक्सिजन लिइरहेका छन्‌। २. ती भाइ प्रसन्‍न मुद्रामा ट्रली साक्षी दिइरहेका छन्‌।

शारीरिक रूपमा अशक्‍त भएकाहरूले पनि अर्थपूर्ण तरिकामा प्रचारकार्यमा भाग लिएर आनन्द पाउन सक्छन्‌ (अनुच्छेद ११-१३ हेर्नुहोस्‌)

११. गम्भीर रोगसित लडिरहेको बेला सिन्डी कसरी आनन्दित भइरहन सकिन्‌?

११ मेक्सिकोमा बस्ने सिन्डीलाई प्राणघातक रोग लागेको पत्ता लाग्यो। तिनले यो कसरी सामना गरिन्‌? उपचार चलिरहँदा तिनले प्रत्येक दिन साक्षी दिने लक्ष्य राखिन्‌। तिनी लेख्छिन्‌: “यसो गर्दा मैले शल्यक्रियामा अनि आफूले भोगिरहेको दुखाइ र पीडामा ध्यान दिनुको सट्टा अरू मानिसहरूमा ध्यान दिन सकेँ। म यसो गर्ने गर्थेँ: डाक्टरहरू र नर्सहरूलाई उहाँहरूको परिवारको हालचाल सोध्थेँ। त्यसपछि उहाँहरूले यस्तो गाह्रो पेसा रोज्नुको कारण सोध्थेँ। यसो गर्दा कुन विषयले उहाँहरूको मन छुन सक्छ भनेर बुझ्न सक्थेँ। उहाँहरूमध्ये धेरैले बिरामीहरूले अक्सर ‘तपाईँ कस्तो हुनुहुन्छ?’ भनेर सोध्ने गर्दैनन्‌ भने। यस्तो चासो देखाएकोमा धेरैले धन्यवाद व्यक्‍त गरे। कसै-कसैले त आफ्नो ठेगाना र फोन नम्बरसमेत दिए। जीवनको यस्तो कठिन घडीमा यहोवाको मदत पाएर यति धेरै आनन्द अनुभव गर्न सकेकोमा म आफै छक्क परेँ!”—हितो. १५:१५.

१२-१३. बिरामी वा अशक्‍त भएका कोही-कोहीले कसरी प्रचारकार्यमा भाग लिन सकेका छन्‌ र कस्तो नतिजा हासिल गरेका छन्‌?

१२ बिरामी वा अशक्‍तहरू प्रचारकार्यमा आफूले चाहेजति गर्न नसक्दा निराश हुन सक्छन्‌। तैपनि धेरै जना साक्षी दिन सफल भएका छन्‌। अमेरिकामा लोरेल नाम गरेकी बहिनी ३७ वर्षसम्म सास फेर्न मदत गर्ने मेसिनको भरमा बाँचिन्‌। तिनलाई क्यान्सर र गम्भीर किसिमको छालाका रोगहरूले सतायो अनि ठूलठूला शल्यक्रिया गर्नुपऱ्‍यो। यस्तो चरम अशक्‍तताको बाबजुद तिनले प्रचार गर्न छोडिनन्‌। तिनले आफ्नो घरमा आउने नर्सहरू र स्वास्थ्यकर्मीहरूलाई प्रचार गरिन्‌। नतिजा कस्तो भयो? तिनले कम्तीमा पनि १७ जनालाई बाइबलको सही ज्ञान लिन मदत गरिन्‌!c

१३ फ्रान्सका रिचर्ड नाम गरेका एल्डर आफ्नै घरमा वा नर्सिङ होममा सीमित भएर बस्नुपरेकाहरूलाई एउटा व्यावहारिक सल्लाह दिन्छन्‌। तिनी भन्छन्‌: “हाम्रा केही साहित्यहरू मानिसहरूले देख्नेगरि राख्नको लागि म सुझाव दिन्छु। यसले मानिसहरूको चासो जगाउँछ र कुराकानी गर्ने बाटो खुल्छ। यसरी कुरा गर्न पाउँदा घरघरमा जान नसक्ने हाम्रा प्रिय दाजुभाइ दिदीबहिनीले प्रोत्साहन पाउँछन्‌।” घरमै सीमित हुनुपरेकाहरूले चिठी लेखेर र टेलिफोन साक्षीकार्यमा भाग लिएर प्रचार गर्न सक्छन्‌।

आफूले चाहेको सुअवसर नपाउँदा

१४. राजा दाउदले हाम्रो लागि कस्तो उदाहरण बसाले?

१४ उमेर, स्वास्थ्य वा अन्य कारणले गर्दा हामीले मण्डलीमा वा सर्किटमा आफूले चाहेको असाइनमेन्ट वा सुअवसर नपाउन सक्छौँ। यस सन्दर्भमा हामीले राजा दाउदको उदाहरणबाट सिक्न सक्छौँ। परमेश्‍वरको मन्दिर बनाउने दाउदको ठूलो धोको थियो। तर यस कामको लागि परमेश्‍वरले अर्कै व्यक्‍तिलाई रोज्नुभएको छ भनेर थाह पाउँदा तिनले ती व्यक्‍तिलाई पूर्ण समर्थन गरे। तिनले यस कामको लागि प्रशस्त अनुदानसमेत दिए। हाम्रो लागि कस्तो राम्रो उदाहरण!—२ समु. ७:१२, १३; १ इति. २९:१, ३-५.

१५. ह्‍युगले निराशालाई कसरी जिते?

१५ फ्रान्सका ह्‍युग नाम गरेका भाइले आफ्नो स्वास्थ्य समस्याले गर्दा एल्डरको रूपमा सेवा गर्न छोडे र तिनी घरमा सानातिना काम गर्न पनि असमर्थ भए। तिनी भन्छन्‌: “सुरुमा त मैले आफूलाई बेकामको महसुस गरेँ र एकदमै निराश भएँ। तर समय बित्दै जाँदा मैले आफ्नो सीमितता स्विकार्नुपर्ने कुरा बुझेँ र अहिले यहोवाको सेवामा जे-जति गरिरहन सकेको छु, त्यसमै आनन्दित हुन सकेँ। मैले हार नमान्‍ने दृढ सङ्‌कल्प गरेको छु। थकाइले चुर भएका गिदोन र तिनका ३०० जना मानिसजस्तै म पनि लडिरहनेछु।”—न्याय. ८:४.

१६. हामी स्वर्गदूतहरूको उदाहरणबाट के सिक्न सक्छौँ?

१६ वफादार स्वर्गदूतहरू हाम्रो लागि राम्रो उदाहरण हुन्‌। राजा आहाबको शासनकालमा यहोवाले ती दुष्ट राजालाई कसरी झुक्क्याउन सकिन्छ भनेर स्वर्गदूतहरूलाई सोध्नुभयो। स्वर्गदूतहरूले आ-आफ्नो विचार व्यक्‍त गरे। तर परमेश्‍वरलाई एक जना स्वर्गदूतको विचार चित्त बुझ्यो र उहाँले तिनी सफल हुनेछन्‌ भन्‍नुभयो। (१ राजा २२:१९-२२) के अरू वफादार स्वर्गदूतहरूले निराश भएर ‘मैले बेकार आफ्नो समय बरबाद गरेँ’ भन्‍ने सोचे होलान्‌? तिनीहरूले पक्कै त्यस्तो सोचेनन्‌। स्वर्गदूतहरू साँच्चै नम्र छन्‌ र तिनीहरू सबै कुराको श्रेय यहोवालाई दिन चाहन्छन्‌।—न्याय. १३:१६-१८; प्रका. १९:१०.

१७. कुनै सेवाको सुअवसर नपाएकोले निराश भएका छौँ भने हामीले के गर्नुपर्छ?

१७ परमेश्‍वरको नाम वहन गर्ने र उहाँको राज्यको घोषणा गर्ने सुअवसरमा आफ्नो ध्यान केन्द्रित गर्नुहोस्‌। हामीले असाइनमेन्टहरू पाउन सक्छौँ वा गुमाउन सक्छौँ। तर हाम्रो असाइनमेन्टले हामीलाई परमेश्‍वरको नजरमा अनमोल ठहऱ्‍याउने होइन। हामी नम्र छौँ भने मात्र यहोवा र हाम्रा दाजुभाइ दिदीबहिनीको नजरमा अनमोल हुनेछौँ। त्यसैले नम्र रहिरहन यहोवासित मदत माग्नुहोस्‌। परमेश्‍वरको वचनमा पाइने नम्रताका उदाहरणहरूमा मनन गर्नुहोस्‌। राजीखुसीले हाम्रा दाजुभाइ दिदीबहिनीको सेवा गर्नुहोस्‌।—भज. १३८:६; १ पत्रु. ५:५.

इलाकाका मानिसहरूले हाम्रो सन्देशप्रति चासो नदेखाउँदा

१८-१९. इलाकाका मानिसहरूले हाम्रो सन्देशप्रति चासो नदेखाए तापनि हामी आफ्नो आनन्द कसरी कायम राखिराख्न सक्छौँ?

१८ इलाकाका मानिसहरूले हाम्रो सन्देशप्रति चासो नदेखाएकोले वा घरघरको प्रचारकार्यमा मानिसहरूलाई भेट्‌न नसकेकोले के तपाईँ कहिल्यै निराश हुनुभएको छ? यस्तो बेला आफ्नो आनन्द कायम राखिराख्न अथवा त्यसलाई अझै बढाउन के गर्न सकिन्छ? “प्रचारकार्यलाई अझै अर्थपूर्ण बनाउने तरिकाहरू” भन्‍ने पेटीमा केही व्यावहारिक सुझावहरू दिइएका छन्‌। प्रचारकार्यप्रति सही दृष्टिकोण राख्नु पनि महत्त्वपूर्ण छ। यसमा के समावेश छ?

१९ परमेश्‍वरको नाम र उहाँको राज्यको घोषणा गर्ने काममा आफ्नो ध्यान केन्द्रित गर्नुहोस्‌। जीवनतर्फ लैजाने बाटोमा हिँड्‌नेहरू थोरै हुनेछन्‌ भनेर येसुले स्पष्ट पार्नुभयो। (मत्ति ७:१३, १४) प्रचारकार्यमा भाग लिँदा हामीले यहोवा, येसु र स्वर्गदूतहरूसँगै काम गर्ने सुअवसर पाइरहेका हुन्छौँ। (मत्ति २८:१९, २०; १ कोरि. ३:९; प्रका. १४:६, ७) यहोवाले उहाँको सेवा गर्न चाहनेहरूलाई आफूतर्फ खिच्नुहुन्छ। (युह. ६:४४) कसैले हाम्रो सन्देशप्रति चासो नदेखाए तापनि अर्को पटक तिनले हाम्रो सन्देश सुन्‍न सक्छन्‌।

प्रचारकार्यलाई अझै अर्थपूर्ण बनाउने तरिकाहरू

  1. १. मानिसहरू प्रायः घरमै हुने समयमा प्रचारमा जानुहोस्‌।

  2. २. मानिसहरू भेटिने ठाउँहरूमा जानुहोस्‌, जस्तै: बजार, पार्क र बस स्टप।

  3. ३. प्रचारकार्यका विभिन्‍न पक्षमा भाग लिनुहोस्‌, जस्तै: चिठी लेख्ने, सडक साक्षी र सार्वजनिक साक्षीकार्यका अरू पक्षहरू।

  4. ४. कुराकानी गर्ने सीप तिखार्नुहोस्‌।

  5. ५. हाम्रो इलेक्ट्रोनिक सामग्रीहरू राम्ररी चलाउन सिक्नुहोस्‌।

  6. ६. कुनै पत्रिका वा पुस्तिका खास समूहका मानिसहरूका लागि तयार पारिएको हो भने इलाकामा त्यस्ता मानिसहरू खोज्नुहोस्‌।

  7. ७. धेरै प्रचार नभएको वा अझ फलदायी इलाकामा प्रचार गर्न जानुहोस्‌, यसको लागि तपाईँ अर्को भाषा सिक्न सक्नुहुन्छ।

२०. निराशासित लड्‌नेबारे हामी यर्मिया २०:८, ९ बाट के सिक्न सक्छौँ?

२० हामी भविष्यवक्‍ता यर्मियाबाट धेरै कुरा सिक्न सक्छौँ। तिनलाई असाध्यै गाह्रो इलाकामा प्रचार गर्न खटाइएको थियो। तिनले “दिनभर” मानिसहरूको अपमान र ठट्टा सहनुपऱ्‍यो। (यर्मिया २०:८, ९ पढ्‌नुहोस्‌) एकचोटि त तिनी असाध्यै निराश भए र प्रचार गर्न छोडूँ कि जस्तो तिनलाई लाग्यो। तर तिनले प्रचार गर्न छोडेनन्‌। किन? “यहोवाको वचन”-बारे बोल्न नपाएकोले तिनलाई आफूभित्र आगो थुनेर राखेझैँ भयो र तिनी नबोली बस्नै सकेनन्‌। आफ्नो दिमाग र हृदय परमेश्‍वरको वचनले भरेका छौँ भने हामीले पनि त्यस्तै महसुस गर्नेछौँ। यो हाम्रो लागि बाइबल पढ्‌ने र मनन गर्ने थप कारण हो। यसो गर्दा हाम्रो आनन्द अझ बढ्‌नेछ र हाम्रो प्रचारकार्य पनि अझ अर्थपूर्ण हुन सक्छ।—यर्मि. १५:१६.

२१. जुनसुकै कारणले गर्दा तपाईँ निराश हुनुभए तापनि यसलाई तपाईँ कसरी जित्न सक्नुहुन्छ?

२१ अगाडि उल्लेख गरिएको डेबोरा भन्छिन्‌: “निराशा सैतानले हामीविरुद्ध चलाउने शक्‍तिशाली हतियार हुन सक्छ।” सैतानका हतियारहरू यहोवा परमेश्‍वरको शक्‍तिको अगाडि एकछेउ पनि छैन। त्यसैले तपाईँ जुनसुकै कारणले निराश हुनुभएको भए तापनि यहोवा परमेश्‍वरलाई मदतको लागि उत्कट बिन्ती गर्नुहोस्‌। उहाँले त्रुटिपूर्ण अवस्था र कमीकमजोरीसित जुझ्न तपाईँलाई मदत दिनुहुनेछ। रोगसित लडिरहनुभएको बेला उहाँ तपाईँको साथमा हुनुहुनेछ। सेवाका सुअवसरहरूप्रति सन्तुलित दृष्टिकोण राख्न उहाँले तपाईँलाई मदत गर्नुहुनेछ। प्रचारकार्यप्रति सकारात्मक दृष्टिकोण राख्न पनि उहाँले तपाईँलाई मदत गर्नुहुनेछ। साथै स्वर्गमा बस्नुहुने बुबालाई आफ्नो चिन्ता-फिक्री सबै पोखाउनुहोस्‌। उहाँको मदत पाएर तपाईँ निराशालाई जित्न सक्नुहुन्छ।

निराशासित लड्‌न निम्न पदहरूले कसरी मदत गर्छ?

  • १ युहन्‍ना ३:१९, २०

  • भजन ४१:३

  • यर्मिया २०:८, ९

गीत ४१ मेरो बिन्ती सुनिदिनुहोस्‌

a हामी सबै जना कहिलेकाहीँ निराश हुन्छौँ। असाध्यै निराश भएको बेला हामीले गर्न सक्ने केही खास कुराहरू यस लेखमा छलफल गर्नेछौँ। यहोवाको मदत पाएर हामीले निराशालाई जित्न सक्छौँ भनेर पनि यस लेखबाट बुझ्नेछौँ।

b केही नाम परिवर्तन गरिएका छन्‌।

c लोरेल निस्बेटको जीवनी जनवरी २२, १९९३ को ब्यूँझनुहोस्‌!-मा (अङ्‌ग्रेजी) पढ्‌नुहोस्‌।

d चित्रको व्याख्या: एउटी बहिनी केही समय निराश भएकी थिइन्‌ तर तिनले विगतमा यहोवाको सेवामा गरेका कामहरू सम्झन्छिन्‌ र उहाँलाई प्रार्थना गर्छिन्‌। आफूले पहिला गरेको र अहिले गरिरहेको काम परमेश्‍वर सम्झनुहुन्छ भनेर तिनी पक्का छिन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने