हामीलाई यहोवाको संगठन चाहिन्छ
के तपाईंले कहिल्यै मानिसहरूले यसो भनेको सुन्नुभएको छ, “म परमेश्वरमा त विश्वास गर्छु तर संगठित धर्ममा विश्वास गर्दिनँ।” कुनै समय जोसका साथ चर्च धाउने तर अहिले धर्मले आफ्नो आध्यात्मिक आवश्यकता पूरा नगरेकोले दिक्क भएकाहरूले अक्सर यस्तो दृष्टिकोण व्यक्त गर्छन्। साधारणतया धार्मिक संगठनहरूबाट मानिसहरू दिक्क भए तापनि अझै परमेश्वरको उपासना गर्न चाहेको बताउँछन्। तथापि, तिनीहरू परमेश्वरलाई चर्च वा अन्य कुनै संगठनमा मिलेर उपासना गर्नुको साटो आफ्नै तरिकामा गर्नु बेस भन्ठान्छन्।
बाइबल के भन्छ? के परमेश्वर मसीहीहरू कुनै एउटा संगठनसित सम्बन्धित भएको चाहनुहुन्छ?
संगठित हुँदा प्रथम शताब्दीका मसीहीहरूले लाभ उठाए
सा.यु. ३३ पेन्तिकोसमा यहोवाले केही विश्वासीहरूलाई नभई “एकै ठाउँमा भेला भएका” पुरुष तथा स्त्रीहरूको समूहलाई पवित्र आत्मा खन्याउनुभएको थियो। तिनीहरू यरूशलेम शहरको माथिल्लो कोठामा भेला भएका थिए। (प्रेरित २:१) त्यतिबेला स्थापना गरिएको मसीही मण्डली पछि अन्तरराष्ट्रिय संगठन बन्यो। ती प्रारम्भिक चेलाहरूलाई त्यो साँच्चै आशिष् साबित भयो। किन? एउटा कारण त तिनीहरूलाई परमेश्वरको राज्यको सुसमाचार “सारा संसारमा सब जातिहरूलाई” प्रचार गर्ने महत्त्वपूर्ण कार्यभार दिइएको थियो। (मत्ती २४:१४) मण्डलीमा भर्खरै मसीही भएकाहरूले प्रचारकार्य कसरी गर्ने भनेर अनुभवी सँगी विश्वासीहरूबाट सिक्नसक्थे।
चाँडै राज्य सन्देश यरूशलेमभन्दा टाढा टाढा फैलियो। सा.यु. ६२ र ६४ को बीचमा प्रेरित पत्रुसले हाल तुर्कीमा पर्ने “पोन्टस्, गलातिया क्यापडोसिया, एशिया र बिथिनिया[का]” मसीहीहरूलाई पहिलो पत्र लेखे। (१ पत्रुस १:१) प्यालेस्टाइन, लेबनन, सिरिया, साइप्रस, ग्रीस, क्रेट र इटालीमा पनि विश्वासीहरू थिए। सा.यु. ६०-६१ मा पावलले कलस्सीहरूलाई लेखेझैं सुसमाचार “स्वर्गमनि भएका सारा सृष्टिमा प्रचारियो।”—कलस्सी १:२३.
संगठनसित संगत गर्नुको दोस्रो फाइदा मसीहीहरूले एकअर्कालाई दिनसक्ने प्रोत्साहन थियो। मण्डलीसित संगत गर्दा मसीहीहरूले उत्प्रेरणादायी भाषणहरू सुन्नसक्थे, पवित्र धर्मशास्त्र सँगै अध्ययन गर्नसक्थे, विश्वास अझ बलियो बनाउने अनुभवहरू आदानप्रदान गर्नसक्थे र सँगी विश्वासीहरूको साथमा प्रार्थना गर्नसक्थे। (१ कोरिन्थी अध्याय १४) अनि परिपक्व मसीहीहरूले “परमेश्वरको बगालको गोठालो” गर्नसक्थे।—१ पत्रुस ५:२.
मण्डलीको सदस्यको हैसियतमा मसीहीहरूले एकअर्कालाई चिन्नसक्थे र फलस्वरूप आपसमा प्रेम बढ्थ्यो। मण्डलीसित संगत गर्दा प्रथम शताब्दीका मसीहीहरूले बोझ महसुस गर्नुको साटो उत्साहित र सुदृढ भए।—प्रेरित २:४२; १४:२७; १ कोरिन्थी १४:२६; कलस्सी ४:१५, १६.
एकताबद्ध विश्वव्यापी मण्डली वा संगठन चाहिनुको अर्को कारण, एकता बढाउन थियो। मसीहीहरूले “एउटै कुरा” बोल्न सिके। (१ कोरिन्थी १:१०) यो अत्यावश्यक थियो। मण्डलीका सदस्यहरू विभिन्न शैक्षिक तथा सामाजिक पृष्ठभूमिका थिए। तिनीहरू विभिन्न भाषा बोल्थे र निश्चय पनि तिनीहरूको व्यक्तित्व बेग्लाबेग्लै थियो। (प्रेरित २:१-११) कहिलेकाहीं विचारमा साँच्चै गम्भीर भिन्नताहरू हुन्थ्यो। तथापि, मसीहीहरूलाई मण्डलीभित्रै त्यस्ता भिन्नताहरू सुल्झाउन मदत गरियो।—प्रेरित १५:१, २; फिलिप्पी ४:२, ३.
स्थानीय प्राचीनहरूले समाधान गर्न नसकेका गम्भीर प्रश्नहरू पावलजस्ता परिपक्व परिभ्रमण निरीक्षकहरूसित छलफल गरिन्थ्यो। महत्त्वपूर्ण सैद्धान्तिक विषयहरू यरूशलेमस्थित केन्द्रीय शासकीय दलमा छलफल गरिन्थ्यो। सुरुमा शासकीय दलमा येशू ख्रीष्टका प्रेरितहरू थिए तर पछि यरूशलेमको मण्डलीका बूढा प्रधानहरू पनि समावेश गरियो। प्रत्येक मण्डलीले शासकीय दल तथा यसका प्रतिनिधिहरूलाई सेवकाई व्यवस्थित गर्न, सेवाका विभिन्न कार्यहरूको लागि मानिसहरू नियुक्त गर्न र सैद्धान्तिक विषयहरूमा निर्णयहरू गर्न परमेश्वरले दिनुभएको अख्तियार स्वीकारे। कुनै विषय शासकीय दलले समाधान गरेपछि मण्डलीले उक्त निर्णय स्वीकार्थ्यो र “सान्त्वनाको कुराले खुशी” हुन्थे।—प्रेरित १५:१, २, २८, ३०, ३१.
हो, यहोवाले प्रथम शताब्दीमा एउटा संगठन चलाउनुभयो। तर आज नि?
आज हामीलाई संगठन चाहिन्छ
प्रथम शताब्दीका मसीहीहरूले जस्तै यहोवाका साक्षीहरूले पनि आज परमेश्वरको राज्यबारे सुसमाचार प्रचार गर्ने कामलाई गम्भीरतापूर्वक लिन्छन्। तिनीहरूले यस काम गर्ने एउटा तरिका त बाइबल तथा बाइबल अध्ययन सहायकहरू वितरण गरेर हो र यसको लागि संगठन चाहिन्छ।
मसीही साहित्यहरू होसियारसाथ तयार गर्नुपर्छ, सही हो कि होइन जाँच्नुपर्छ अनि छापेर मण्डलीहरूमा पठाउनुपर्छ। अनि ती साहित्यहरू पढ्न चाहनेहरूकहाँ पुऱ्याउन मसीहीहरूले स्वयम्सेवा गर्नुपर्छ। यसरी करोडौं मानिसहरूले राज्य सन्देश सुन्न पाएका छन्। सुसमाचारको प्रकाशकहरूले आफ्नो प्रचार गतिविधि कुनै इलाकामा दोहोऱ्याई तेहऱ्याई र कुनै इलाकामा पटक्कै प्रचार नगरेको नहोस् भन्नको निम्ति सिलसिलेवार ढंगमा गर्छन्। यो सबैको निम्ति संगठन चाहिन्छ।
“परमेश्वरले मानिसहरूको पक्षपात” नगर्नु हुने भएकोले बाइबल तथा बाइबल साहित्यहरू अनुवाद गर्नुपर्छ। (प्रेरित १०:३४) हाल यस पत्रिका १३२ भाषामा र यसको सहपत्रिका ब्यूँझनुहोस्! ८३ भाषामा उपलब्ध छन्। यसको निम्ति विश्वभरि सुसंगठित अनुवादकको टोली आवश्यक हुन्छ।
मण्डलीका सदस्यहरूले मसीही सभा तथा सम्मेलनहरू धाउँदा प्रोत्साहन प्राप्त गर्छन्। तिनीहरूले जुरमुराउने बाइबल भाषणहरू सुन्छन्, धर्मशास्त्र सँगै अध्ययन गर्छन्, प्रोत्साहनजनक अनुभवहरू एकअर्कालाई बताउँछन् र सँगी विश्वासीहरूसित प्रार्थना गर्छन्। अनि प्रथम शताब्दीका भाइहरूले जस्तै मायालु परिभ्रमण निरीक्षकहरूबाट विश्वास बलियो बनाउँछन्। तसर्थ, मसीहीहरू आज “एकै बगाल र एकै गोठालाका” हुन्।”—यूहन्ना १०:१६.
निस्सन्देह, प्रथम शताब्दीका मसीहीहरूजस्तै यहोवाका साक्षीहरू पनि सिद्ध छैनन्। तैपनि तिनीहरू एकतामा काम गर्ने कोसिस गर्छन्। फलस्वरूप विश्वभरि राज्य प्रचारकार्य भइरहेको छ।—प्रेरित १५:३६-४०; एफिसी ४:१३.
[पृष्ठ ३१-मा भएको चित्र]
मसीहीहरू आज “एकै बगाल र एकै गोठालाका” हुन्