प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w00 ८/१ pp. १४-१९
  • “विनयीसित बुद्धि हुन्छ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “विनयीसित बुद्धि हुन्छ”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • पावल—‘सेवक’ तथा ‘कारिन्दा’
  • हाम्रो विशेषाधिकारप्रति विनयी दृष्टिकोण
  • गिदोन—आफ्नो पिताको घरानाका “सबैभन्दा सानो”
  • विनयी हुनु र सावधानी अपनाउनु
  • येशू—विनयको सर्वश्रेष्ठ उदाहरण
  • विनयी येशूको अनुकरण गर्नुहोस्‌
  • नम्र हुनु अहिले पनि किन महत्त्वपूर्ण छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • विनम्रता शान्ति बढाउने गुण
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • गाह्रो अवस्थामा तपाईं नम्र रहन सक्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • एल्डरहरू हो, गिदोनको उदाहरणबाट सिक्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
w00 ८/१ pp. १४-१९

“विनयीसित बुद्धि हुन्छ”

“परमप्रभुले तँबाट के चाहनुहुन्छ? केवल यति, कि . . . तेरा परमेश्‍वरसित नम्र [ “विनयी,” Nw] भएर हिंड़नू।”–मीका ६:८.

१, २. विनयी हुनु भनेको के हो र यो अहंकारभन्दा कसरी भिन्‍न छ?

एक जना प्रतिष्ठित प्रेरित आफूतर्फ मानिसहरूको ध्यान खिंच्न इन्कार गर्छन्‌। एक साहसी इस्राएली न्यायकर्ता आफूलाई आफ्नो पिताको घरानाका सबैभन्दा सानो सदस्य हुँ भनी बताउँछन्‌। आजसम्म बाँचेकाहरूमध्ये सबैभन्दा महान्‌ पुरुष आफूसित असीमित अख्तियार छैन भनेर स्वीकार्छन्‌। यी प्रत्येक पुरुषहरू विनयी भाव प्रकट गर्छन्‌।

२ विनय अहंकारको विपरीत गुण हो। विनयी व्यक्‍ति आफ्नो क्षमता तथा योग्यताको ढ्‌वाङ फुक्दैन र धाक लाउने वा फूर्ति गर्ने गर्दैन। घमण्डी, फूर्ति देखाउनु वा महत्त्वाकांक्षी हुनुको साटो विनयी व्यक्‍ति आफ्ना सीमितताहरूप्रति सधैं सजग रहन्छ। यसकारण, अरूको भावना तथा दृष्टिकोणको ऊ आदर गर्छ अनि अरूलाई उचित सम्मान दिन्छ।

३. कुन अर्थमा “विनयीसित” बुद्धि हुन्छ?

३ अतः बाइबलले यसो भन्‍नु असलै हो: “विनयीसित बुद्धि हुन्छ।” (हितोपदेश ११:२, NW) विनयी व्यक्‍ति बुद्धिमान्‌ हुन्छ किनकि ऊ परमेश्‍वरले अनुमोदन गर्नुहुने मार्गमा चल्न चाहन्छ र अपमान ल्याउने अहंकार तिरस्कार गर्न चाहन्छ। (हितोपदेश ८:१३; १ पत्रुस ५:५) विनयी हुनुमा बुद्धिमानी छ भनेर परमेश्‍वरका थुप्रै सेवकहरूको जीवनशैलीबाट प्रस्टिएको छ। आउनुहोस्‌, यस्ता थुप्रै उदाहरणमध्ये सुरुको अनुच्छेदमा उल्लेख गरिएका तीन उदाहरण विचार गरौं।

पावल—‘सेवक’ तथा ‘कारिन्दा’

४. पावलले कुन विशिष्ट सुअवसरको आनन्द उठाए?

४ प्रारम्भिक मसीहीहरूमध्ये पावल प्रमुख हुनुको कारण बुझ्न सकिन्छ। आफ्नो सेवकाईको दौडान तिनले हजारौं किलोमिटर लामो जल तथा थल यात्रा गरे अनि थुप्रै मण्डली स्थापित गरे। यसको अतिरिक्‍त, यहोवाले पावललाई दर्शनहरू दिनुभयो। ती विदेशी भाषाहरूमा बोल्ने वरदान पनि दिनुभयो। (१ कोरिन्थी १४:१८; २ कोरिन्थी १२:१-५) उहाँले पावललाई १४ वटा पत्रहरू लेख्ने प्रेरणा पनि दिनुभयो जुन अहिले मसीही युनानी धर्मशास्त्रका भाग हुन्‌। स्पष्ट छ, अन्य प्रेरितहरूले भन्दा पावलले बढी परिश्रम गर्नुपरेको थियो।—१ कोरिन्थी १५:१०.

५. आफूबारे तिनको दृष्टिकोण विनयी थियो भनेर पावलले कसरी देखाए?

५ पावल, मसीही क्रियाकलापको अग्रपंक्‍तिमा भएका कारण कसै कसैले तिनले आफूलाई आकर्षणको केन्द्र बनाएर त्यसको फाइदा उठाएको साथै आफ्नो अख्तियार प्रदर्शन गरे होलान्‌ भनेर सोच्नसक्छन्‌। तथापि, त्यसो भएन। किनकि पावल विनयी थिए। तिनले आफैलाई “प्रेरितहरूमध्ये म सबैभन्दा सानो हुँ” भन्‍नुको अतिरिक्‍त “म ता प्रेरित भनिनँ पनि सुहाउँदिनँ। किनभने मैले परमेश्‍वरको मण्डलीलाई खेदो गरें” समेत भने। (१ कोरिन्थी १५:९) पहिले पहिले मसीहीहरूलाई सताउने गरेको हुनाले परमेश्‍वरको कृपादृष्टि नभएको भए सेवाको यो विशेष सुअवसर पाउनु त परै जाओस्‌, परमेश्‍वर नजिक आउन लायकको समेत आफू थिएन भन्‍ने कुरा पावलले कहिल्यै बिर्सेनन्‌। (यूहन्‍ना ६:४४; एफिसी २:८) तसर्थ, पावलले सेवकाईमा पाएको अपूर्व सफलताले आफूलाई अरूभन्दा उच्च तुल्याएको महसुस कहिल्यै गरेनन्‌।—१ कोरिन्थी ९:१६.

६. कोरिन्थीहरूसित व्यवहार गर्दा पावलले कसरी विनयी भाव देखाए?

६ विशेष गरी कोरिन्थीहरूसितको व्यवहारले पावल विनयी थिए भन्‍ने कुरा झल्कन्छ। तिनीहरूमध्ये कोही कोही अपोलोस, केफास र पावलजस्ता आफूले ठूला निरीक्षक ठानेका केही व्यक्‍तिद्वारा प्रभावित भएको जस्तो देखिन्छ। (१ कोरिन्थी १:११-१५) तर पावलले न कोरिन्थीकाहरूबाट प्रशंसा खोजे न त तिनीहरूले देखाएको सम्मानको फाइदा नै उठाए। तिनीहरूलाई भेट्‌न जाँदा, तिनी “बात र ज्ञानको सर्वश्रेष्ठतामा” गएका थिएनन्‌। बरु, पावलले आफू र आफ्ना साथीहरूबारे यसो भने: “यसरी मानिसले हामीलाई ख्रीष्टका सेवकहरू र परमेश्‍वरका रहस्यका कारिन्दाहरू सम्झोस्‌।”a—१ कोरिन्थी २:१-५; ४:१.

७. सल्लाह दिनुपर्दासमेत पावलले कसरी विनयी भाव देखाए?

७ कठोर सल्लाह तथा निर्देशन दिनुपर्दासमेत पावलले विनयी भाव देखाए। तिनले प्रेरितको अख्तियार प्रयोग गर्नुको साटो “परमेश्‍वरको कृपाद्वारा” र “प्रेमको खातिर” सँगी मसीहीहरूलाई निवेदन गरे। (रोमी १२:१, २; फिलेमोन ८, ९) पावलले किन त्यसो गरे? किनकि तिनी आफूलाई भाइहरूका ‘सहयोगी’ सम्झन्थे ‘विश्‍वासमा प्रभुत्व जमाउने’ व्यक्‍ति होइन। (२ कोरिन्थी १:२४) निस्सन्देह, विनयी भएका कारण पावल प्रथम शताब्दीका मसीही मण्डलीकाहरूका लागि विशेष प्रिय पात्र भएका थिए।—प्रेरित २०:३६-३८.

हाम्रो विशेषाधिकारप्रति विनयी दृष्टिकोण

८, ९. (क) किन हामीले आफूप्रति विनयी झुकाउ राख्नुपर्छ? (ख) जिम्मेवारी पाउनेहरूले कसरी विनयी भाव देखाउनसक्छन्‌?

८ पावलले आजका मसीहीहरूका लागि एउटा राम्रो उदाहरण छोडे। हामीलाई जुनसुकै जिम्मेवारी सुम्पिएको होस्‌, हामीमध्ये कसैले पनि आफूलाई अरूभन्दा उच्च ठान्‍नु हुँदैन। पावलले लेखे, “केही न केहीका मानिसले म केही हुँ भन्‍ने सम्झन्छ भनेता त्यसले आफैलाई धोका दिन्छ।” (गलाती ६:३) किन? किनकि, “सबैले पाप गरेका छन्‌, र परमेश्‍वरको महिमारहित हुनगएका छन्‌।” (रोमी ३:२३; ५:१२) हो, हामी सबैले आदमबाट पाप र मृत्यु पाएका छौं भनेर कहिल्यै बिर्सनु हुँदैन। विशेष सुअवसरले हामीलाई हाम्रो पापपूर्ण न्यून अवस्थाबाट माथि उकास्न सक्दैन। (उपदेशक ९:२) पावलको सम्बन्धमाझैं परमेश्‍वरको कृपा नहुँदो हो त, सुअवसरहरू प्राप्त गर्नु त परै जाओस्‌ परमेश्‍वर नजिकसमेत हामी आउनसक्ने थिएनौं।—रोमी ३:१२, २४.

९ यस कुरालाई ध्यानमा राख्दै विनयी व्यक्‍ति आफ्ना सुअवसरहरूदेखि न दंग परेर गर्व महसुस गर्छ न त आफ्ना उपलब्धिहरूको फूर्ति नै लगाउँछ। (१ कोरिन्थी ४:७) सल्लाह वा निर्देशन दिंदा उसले सँगी कामदारले जस्तै दिन्छ, मालिकले जस्तो होइन। पक्कै पनि, सँगी विश्‍वासीहरूबाट कुनै किसिमको प्रशंसा बटुल्न वा उनीहरूको अनुचित फाइदा उठाउनबाट परै बस्नुपर्छ। (हितोपदेश २५:२७; मत्ती ६:२-४) अरू व्यक्‍तिहरूले स्वेच्छाले गरेको प्रशंसा पो प्रशंसा हो, मागेर वा करकापमा परेर लिएको प्रशंसा, पनि के प्रशंसा। कसैले प्रशंसा गरिहालेमा पनि हामीले आफूलाई आवश्‍यक भन्दा बढ्‌ता ठान्‍नु हुँदैन।—हितोपदेश २७:२; रोमी १२:३.

१०. विनयी देखिएका कसै कसैसित वास्तवमा कसरी “विश्‍वासको खानी” हुनसक्छ, वर्णन गर्नुहोस्‌।

१० हामीलाई जिम्मेवारी सुम्पिएको छ भने, विनयी भावले आफूलाई ठूलो नसोच्ने वा हाम्रै प्रयासले मण्डलीमा फलिफाप भइरहेछ भन्‍ने सोचाइ राख्नदेखि परै बस्न मदत गर्नेछ। उदाहरणका लागि, हामी शिक्षण कलामा निपुण हौंला। (एफिसी ४:११, १२) तथापि, सभाहरूबाट हामीले सिक्ने केही महत्त्वपूर्ण पाठहरू मञ्चबाट मात्रै सिकिरहेका हुँदैनौं भनेर हामीले विनयी भई स्वीकार्नैपर्छ। के तपाईं छोराछोरी लिएर राज्य भवन आउने एक्ली आमा अथवा एक्लो बुबालाई देख्दा प्रोत्साहित हुनुहुन्‍न? अथवा निरन्तर आत्मसम्मान नभएको महसुस गर्ने निराश भाइबहिनीहरू विश्‍वासी भई सभाहरूमा आएको देख्दा के तपाईं प्रोत्साहित हुनुहुन्‍न? अथवा स्कूलमा र अन्त कतै, निरन्तर कुप्रभावहरूको सामना गर्नु परिरहेका युवायुवतीले आध्यात्मिक प्रगति गरिरहेको देख्दा के तपाईं प्रोत्साहित हुनुहुन्‍न? (भजन ८४:१०) यी व्यक्‍तिविशेष सायद अरूले त्यत्ति याद नगरेका साधारण व्यक्‍तिहरू होलान्‌। तिनीहरूले सामना गरिरहेको निष्ठाको जाँच, अरूले याद नगरेका हुनसक्छन्‌। यद्यपि, यिनीहरूसित प्राधान्यता पाएकाहरूसित जत्तिकै “विश्‍वासको खानी” हुनसक्छ। (याकूब २:५) नबिर्सनुहोस्‌, यहोवाको अनुमोदन पाउन विश्‍वासी हुनुपर्छ।—मत्ती १०:२२; १ कोरिन्थी ४:२.

गिदोन—आफ्नो पिताको घरानाका “सबैभन्दा सानो”

११. परमेश्‍वका स्वर्गदूतसित कुरा गर्ने सन्दर्भमा गिदोन कसरी विनयी भए?

११ मनश्‍शे कुलका हट्टाकट्टा जवान गिदोन इस्राएलमा गोलमाल मच्चिरहेको समयतिरका मानिस थिए। परमेश्‍वरका जनहरू मिद्यानीहरूको थिचोमिचोमा परेको सात वर्ष भइसकेको थियो। तथापि, आफ्ना जनहरूलाई जोगाउने यहोवाको समय आइसकेको थियो। यसकारण, एक जना स्वर्गदूत गिदोनकहाँ देखा परे र यसो भने: “तँ वीर मानिस होस्‌ औ परमप्रभु तँसँग हुनुहुन्छ।” गिदोन विनयी थिए। त्यसकारण, तिनी यो मनमै नचिताएको प्रशंसा पाउँदा मख्ख परेर बसेनन्‌। बरु, तिनले आदरपूर्वक उक्‍त स्वर्गदूतलाई यसो भने: “हजूर, सुन्‍नुहोस्‌, परमप्रभु साँच्चिनै हामीसँग हुनुहुन्छ भनेता यी सबै किन हामीलाई भएको?” स्वर्गदूतले कुरा प्रस्ट्याएर गिदोनलाई भने: “जा, इस्राएललाई मिद्यानीहरूका हातदेखि छुटा।” गिदोनले के जवाफ दिए? आफैलाई राष्ट्रिय विभूति सम्झदैं हत्त न पत्त अघि बढ्‌नुको साटो गिदोनले यस्तो जवाफ दिए: “हजूर, सुन्‍नुहोस्‌ म कसरी इस्राएललाई बचाउनसक्छु? मेरो गोत्रलाई हेर्नुहोस्‌ त्यो ता मनश्‍शेमा सबैभन्दा कमजोर छ, औ मेरा पिताको घरानामा म सबैभन्दा सानो छु।” कस्तो विनयी भाव!—न्यायकर्त्ता ६:११-१५.

१२. आफ्नो काम पूरा गर्ने सम्बन्धमा गिदोनले कसरी सावधानी अपनाए?

१२ युद्धमा पठाउनुअघि यहोवाले गिदोनलाई जाँच्नुभयो। कसरी? गिदोनलाई उसको बुबाले बालको निम्ति बनाएको वेदी भत्काउन लगाउनुका साथै नजिकैको पवित्र खाँबो ढाल्न लगाए। यो काम गर्न साहस चाहिन्थ्यो तर गिदोनले यो कार्य पूरा गर्दा विनयी भाव झल्काए र सावधानी अपनाए। दिनदहाडै यो काम पूरा गर्नुको साटो गिदोनले रातमा अक्सर सबैले त्यति याद नगर्ने बेला उक्‍त काम गरे। यसको अलावा, गिदोनले बडो होसियारीसाथ आफ्नो कार्यभार सम्हाले। सायद, तिनलाई उक्‍त वेदी अनि पवित्र खाँबो भत्काउन सहयोग गर्न र पहरा दिनका लागि तिनले आफूसित दस जना सेवकहरू लगे।b जे होस्‌, यहोवाको आशिष्‌ पाएर गिदोनले आफ्नो काम पूरा गरे। फलस्वरूप, परमेश्‍वरले इस्राएलीहरूलाई मिद्यानीहरूको हातबाट छुटाउन तिनलाई चलाउनुभयो।—न्यायकर्त्ता ६:२५-२७.

विनयी हुनु र सावधानी अपनाउनु

१३, १४. (क) हामीलाई सेवा गर्ने सुअवसर दिइँदा कसरी विनयी भाव झल्काउनसक्छौं? (ख) विनयी भाव झल्काउने सम्बन्धमा भाइ ए. एच. म्याकमिलनले कसरी राम्रो उदाहरण बसाले?

१३ गिदोनको विनयी भावबाट हामीले सिक्नसक्ने थुप्रै कुराहरू छन्‌। उदाहरणका लागि, हामीलाई सेवा गर्ने सुअवसर दिइँदा हामी कस्तो प्रतिक्रिया देखाउँछौं? के हामी त्यस सुअवसरका कारण प्राप्त हुने प्रतिष्ठा वा सम्मानबारे नै सबैभन्दा पहिले सोच्ने गर्छौं? अथवा उक्‍त कार्यभार पूरा गर्नसक्छौं कि सक्दैनौं भनेर विनयी भई प्रार्थनापूर्वक सोचविचार गर्छौं? सन्‌ १९६६ मा आफ्नो पार्थिव कार्य सिध्याउने भाइ ए. एच. म्याकमिलनले यस सम्बन्धमा राम्रो उदाहरण कायम राखे। वाच टावर सोसाइटीका प्रथम अध्यक्ष सि. टि. रसलले एक पटक भाइ म्याकमिलनलाई आफ्नो अनुपस्थितिमा कसलाई कार्यकारी अध्यक्षको रूपमा नियुक्‍त गर्न सकिएला भनेर सोधे। हुन त भाइ म्याकमिलनलाई आफ्नो सिफारिस गर्नु निकै सजिलो थियो तर छलफल गर्दा तिनले एक पटक पनि आफ्नो सिफारिस गरेनन्‌। अन्तमा, भाइ रसलले भाइ म्याकमिलनलाई बोलाएर उक्‍त कार्यकारी अध्यक्षको जिम्मेवारी सुम्पे। निकै वर्षपछि भाइ म्याकमिलनले लेखे, “म त अक्क न बक्क भएँ। . . . मैले यसबारे निकै पटक गम्भीरतासाथ सोचें र सकेजति गरेर उहाँलाई सघाउन म खुसी छु भन्‍नुअघि यस विषयमा प्रार्थना पनि गरें।”

१४ यसको केही समयपछि भाइ रसलको देहान्त भयो र वाच टावर सोसाइटीका अध्यक्षको पद रिक्‍त भयो। भाइ रसलको अन्तिम प्रचार यात्राको दौडान भाइ म्याकमिलन नै कार्यकारी अध्यक्ष भएकाले एक जना भाइले तिनलाई यसो भने: “म्याक, तपाईं अध्यक्ष हुने बलियो सम्भावना छ। भाइ रसल बाहिर जानुहुँदा तपाईं नै उहाँको विशेष प्रतिनिधि हुनुहुन्थ्यो र उहाँले हामीलाई तपाईंले भनेजस्तै गर्नू भन्‍नुभएको थियो। अहिले उहाँ हुनुहुन्‍न र अब कहिल्यै आउनुहुने पनि छैन। यसो हेर्दा तपाईंले नै सबथोक सम्हाल्नु पर्लाजस्तो छ।” भाइ म्याकमिलनले यस्तो जवाफ दिए: “भाइ, यसबारे मैले त्यसरी सोचेकै छैन। यो प्रभुको काम हो र प्रभुलाई त्यो पद सम्हाल्न जुन व्यक्‍ति उचित लाग्छ, त्यसैले नै त्यो पद सम्हाल्नेछ र मेरो विचारमा म पक्कै पनि यसको लागि योग्य छैन।” त्यसपछि, भाइ म्याकमिलनले यस पदका लागि अर्कै व्यक्‍तिको नाउँ सिफारिस गरे। गिदोनले जस्तै तिनले पनि आफूबारे विनयी दृष्टिकोण राखे।—हामीले पनि यस्तै दृष्टिकोण राख्यौं भने बेस हुनेछ।

१५. अरूलाई प्रचार गर्दा हामीले सावधानी अपनाउन सक्ने केही व्यावहारिक तरिकाहरू के हुन्‌?

१५ हामीले पनि आफ्नो काम पूरा गर्दा विनयी भाव झल्काउनुपर्छ। गिदोन सावधान थिए र तिनले आफ्नो विरोधीहरूलाई बित्थैमा रिस उठाउने काम नगर्ने प्रयास गरे। त्यसै गरी, हामी प्रचारमा गएर अरूसित कुरा गर्दा विनयी हुनुका साथै सावधान हुनु आवश्‍यक छ। हो, हामी “बहसहरू” र “हरेक अहंकारपूर्ण बाधालाई” खण्डन गर्ने आध्यात्मिक युद्धमा समावेश छौं। (२ कोरिन्थी १०:४, ५, नयाँ संशोधित संस्करण) तर अरूलाई होच्याउने वा हाम्रो सन्देशसित चिढिने जायज कारण हामीले दिनु हुँदैन। बरु, दुवै पक्ष सहमत हुने कुरामा जोड दिएर तथा हाम्रो सन्देशको सकारात्मक पक्षमा ध्यान खिंचेर हामीले तिनीहरूको विचारको कदर गर्नुपर्छ।—प्रेरित २२:१-३; १ कोरिन्थी ९:२२; प्रकाश २१:४.

येशू—विनयको सर्वश्रेष्ठ उदाहरण

१६. येशूले आफ्नो विषयमा विनयी हुनुहुन्छ भनेर कसरी देखाउनुभयो?

१६ विनयको उत्तम उदारण हुनुहुन्छ, येशू ख्रीष्ट।c आफ्नो पिता यहोवासित उहाँको घनिष्ठ सम्बन्ध भए तापनि, केही कुराहरू आफ्नो अधिकार बाहिर छ भनेर स्वीकार्न उहाँ कहिल्यै हिचकिचाउनु भएन। (यूहन्‍ना १:१४) उदाहरणका लागि, याकूब र यूहन्‍नाकी आमाले आफ्ना दुई छोराहरूलाई येशूले आफ्नो राज्यमा आफू छेउ राखून्‌ भनेर आग्रह गर्दा येशूले भन्‍नुभयो: “मेरो दाहिने र देब्रेपट्टि बस्नदिने मेरो हकमा छैन।” (मत्ती २०:२०-२३) अर्को अवसरमा येशूले खुलेआम यो पनि स्वीकार्नुभयो: “म आफै केही गर्नसक्‍तिनँ, . . . म आफ्नो इच्छा होइन, तर मलाई पठाउनेको इच्छा खोज्दछु।”—यूहन्‍ना ५:३०; १४:२८; फिलिप्पी २:५, ६.

१७. अरूसित व्यवहार गर्दा येशूले कसरी विनयी भाव प्रकट गर्नुभयो?

१७ असिद्ध मानवको तुलनामा येशू हर तवरमा उच्च हुनुहुन्थ्यो र उहाँले आफ्नो पिता यहोवाबाट अतुलनीय अख्तियार पाउनुभएको थियो। तापनि, येशूले चेलाहरूसित विनयी व्यवहार गर्नुहुन्थ्यो। आफूसित भएको ज्ञानको अपार भण्डार प्रकट गर्नुभएर उहाँले तिनीहरूलाई अवाक्‌ पार्नुभएन। उहाँ मानिसहरूको आवश्‍यकता बुझ्नुहुन्थ्यो, संवेदनशील अनि विचारशील हुनुहुन्थ्यो। (मत्ती १५:३२; २६:४०, ४१; मर्कूस ६:३१) येशू सिद्ध हुनु भए तापनि उहाँ सब थोक सिद्ध हुनैपर्छ भन्‍ने खालको हुनुहुन्‍नथ्यो। उहाँले चेलाहरूसित तिनीहरूको क्षमताभन्दा बढ्‌ता माग गर्नुभएन न त समझबाहिरका कुरा थोपर्नु भयो। (यूहन्‍ना १६:१२) त्यसैकारण त, थुप्रैले उहाँसँगको संगति एकदमै स्फूर्तिदायी पाए!—मत्ती ११:२९.

विनयी येशूको अनुकरण गर्नुहोस्‌

१८, १९. (क) आफूप्रतिको हाम्रो दृष्टिकोणमा र (ख) अरूसित व्यवहार गर्दा, हामी कसरी येशूको विनयी भाव अनुकरण गर्नसक्छौं?

१८ आजसम्म बाँचेकाहरूमध्ये सबैभन्दा महान्‌ पुरुष त विनयी हुनुहुन्थ्यो भने हामी झन्‌ कत्ति विनयी हुनुपर्छ। असिद्ध मानिसहरू अक्सर आफूसित सम्पूर्ण अख्तियार छैन भनेर स्वीकार्न चाहँदैनन्‌ तर येशूको अनुकरण गर्दै मसीहीहरूले विनयी हुने प्रयास गर्नैपर्छ। तिनीहरू घमण्डले फुलेर योग्य व्यक्‍तिहरूलाई जिम्मेवारी दिन इन्कार गर्दैनन्‌ न त अख्तियारप्राप्त व्यक्‍तिहरूले जिम्मेवारी सुम्पँदा घमण्डी भएर अस्वीकार गर्छन्‌। सहयोगी स्वभाव देखाउँदै तिनीहरू मण्डलीमा सबै काम “शिष्ट रुपले र नियमपूर्वक” हुनदिन्छन्‌।—१ कोरिन्थी १४:४०.

१९ अरूबाट हामीले आशा गर्ने कुराहरूमा व्यावहारिक हुन र उनीहरूको आवश्‍यकताप्रति विचारशील हुन पनि विनयी भावले हामीलाई मदत गर्छ। (फिलिप्पी ४:५) हामीसँग अरूसित नभएको विशेष क्षमता र शक्‍ति होला। यद्यपि, हामी विनयी छौं भने, अरूले सधैं हामीले चाहेजस्तै गरोस्‌ भन्‍ने आशा हामी गर्नेछैनौं। प्रत्येक व्यक्‍तिको आफ्नै सीमितता छ भन्‍ने जानेर हामी विनयी हुँदै अरूको कमी कमजोरीलाई स्थान दिनेछौं। पत्रुसले लेखे: “सबैभन्दा बढ़ता आपसमा प्रगाढ़ प्रेम राख। किनभने प्रेमलेनै असंख्य पापहरू ढाक्‍तछ।”—१ पत्रुस ४:८.

२०. विनयी भावको कमीलाई हटाउन हामी के गर्नसक्छौं?

२० विनयीसित साँच्चै नै बुद्धि हुँदो रहेछ भनेर हामीले सिक्यौं। तर तपाईंले आफूमा विनयी स्वभावको कमी वा अहंकारी झुकाउ पाउनुभयो भने के गर्ने? निरुत्साहित नहुनुहोस्‌। बरु, दाऊदको अनुकरण गर्नुहोस्‌। तिनले यसरी प्रार्थना गरे: “अहंकारका पापबाट आफ्नो दासलाई हटाउनुहोस्‌। तिनीहरूको प्रभुत्व ममाथि हुन नपाओस्‌।” (भजन १९:१३) पावल अनि गिदोनजस्ता मानिसहरू र अझ येशू ख्रीष्टको विश्‍वास अनुकरण गरेर हामी व्यक्‍तिगत तवरमा यी शब्दहरू सही रहेछन्‌ भनी महसुस गर्नेछौं: “विनयीसित बुद्धि हुन्छ।”—हितोपदेश ११:२, NW.

[Footnotes]

a “सेवकहरू” भनेर अनुवाद गरिएको युनानी शब्दले विशाल जहाजमा पछाडितिर बसेर ख्याउने दासलाई संकेत गर्छ। यसको विपरीत, “कारिन्दाहरू[लाई]” धेरै जिम्मेवारी, सरसम्पत्तिको हेरचाह गर्न सुम्पिएको हुनसक्छ। तर जे होस्‌, मालिकको नजरमा कारिन्दा र जहाजको पुछारमा बसेर ख्याउने सेवकबीच कुनै भिन्‍नता हुँदैन।

b गिदोनको सावधानी र होसियारीलाई कातरपन सम्झनु हुँदैन। यसको विपरीत हिब्रू ११:३२-३८ मा गिदोन ती व्यक्‍तिहरूमध्ये पर्नु तिनको साहसको पुष्टि थियो। तिनी “बलिया बनिए, लड़ाइँमा वीर भए।”

c विनयी हुनुमा आफ्नो सीमितता बुझ्नु पनि समावेश भएकोले यहोवालाई विनयी हुनुहुन्छ भन्‍नु पटक्कै मिल्दैन। तथापि, उहाँ विनम्र हुनुहुन्छ।—भजन १८:३५.

के तपाईंलाई सम्झना छ?

• विनयी हुनु भनेको के हो?

• हामी पावलको विनयी भाव कसरी अनुकरण गर्नसक्छौं?

• गिदोनको उदाहरणबाट हामी विनयी हुनुबारे के सिक्नसक्छौं?

• येशू कसरी विनयीको सर्वोत्तम उदाहरण हुनुभयो?

[पृष्‌ १५-मा भएको चित्र]

विनयी भएकाले पावल भाइहरूमाझ प्रिय थिए

[पृष्ठ १७-मा भएको चित्र]

परमेश्‍वरको इच्छा पूरा गर्दा गिदोनले सावधानी अपनाए

[पृष्ठ १८-मा भएको चित्र]

परमेश्‍वरको पुत्र येशू आफ्नो सम्पूर्ण क्रियाकलापमा विनयी हुनुभयो

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने