प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w17 जनवरी pp. २२-२६
  • गाह्रो अवस्थामा तपाईं नम्र रहन सक्नुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • गाह्रो अवस्थामा तपाईं नम्र रहन सक्नुहुन्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • हाम्रो परिस्थिति परिवर्तन हुँदा
  • अरूले आलोचना वा प्रशंसा गर्दा
  • अनिश्‍चितताको बादलले घेर्दा
  • नम्रता विकास गर्ने
  • नम्र हुनु अहिले पनि किन महत्त्वपूर्ण छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • विनम्रता शान्ति बढाउने गुण
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • “विनयीसित बुद्धि हुन्छ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • नम्र हुनुहोस्‌ र आफ्नो मर्यादामा रहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
w17 जनवरी pp. २२-२६
एक जना वृद्ध मानिसले यहूदाका भविष्यवक्‍तालाई बहकाउँदै

गाह्रो अवस्थामा तपाईं नम्र रहन सक्नुहुन्छ

“तेरा परमेश्‍वरसित नम्र भएर हिंड्‌नू।”—मीका ६:८.

गीत: ४८, ९५

निम्न अवस्थामा हामी कसरी नम्र रहन सक्छौं?

  • आफ्नो असाइनमेन्ट राम्ररी पूरा गर्न

  • कसैले आलोचना वा प्रशंसा गर्दा

  • सही निर्णय गर्न

१-३. नाम नखुलाइएका यहूदाका भविष्यवक्‍ताले के गरे? त्यसको परिणाम कस्तो भयो? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

इस्राएलका धर्मत्यागी राजा यारोबामको पालाको कुरा हो। यहोवाले तिनलाई कठोर न्यायदण्ड सुनाउन यहूदाका एक जना भविष्यवक्‍ता पठाउनुभयो। ती नम्र भविष्यवक्‍ताले यहोवाको आज्ञाअनुसारै त्यस धर्मत्यागी राजालाई उहाँको सन्देश सुनाए। यो सुनेर राजा यारोबाम रिसले चूर भए तर यहोवाले आफ्नो सेवकलाई राजाको हातबाट बचाउनुभयो।—१ राजा १३:१-१०.

२ ती भविष्यवक्‍ता घर फर्कंदै गर्दा अचानक एक जना वृद्धसित तिनको भेट भयो। नजिकैको बेतेलबाट आएका त्यस वृद्धले आफू यहोवाको भविष्यवक्‍ता भएको बताए। यहोवाले आफ्नो भविष्यवक्‍तालाई ‘इस्राएलमा केही खानपिन नगर्नू अनि आएको बाटो भएर नफर्कनू’ भन्‍ने आज्ञा दिनुभएको थियो। तर ती भविष्यवक्‍ताले बाटोमा भेटेका वृद्धको कुरा सुनेर यहोवाको आज्ञा उल्लङ्‌घन गरे। यो देखेर यहोवा अप्रसन्‍न हुनुभयो। पछि घर फर्कंदै गर्दा एउटा सिंहले यहोवाका ती भविष्यवक्‍तालाई माऱ्‍यो।—१ राजा १३:११-२४.

३ यहोवाका ती भविष्यवक्‍ता सुरुमा नम्र थिए तर पछि तिनी किन अहङ्‌कारी भए र त्यस फटाहा वृद्धको कुरा सुने? यसबारे बाइबलले केही बताएको छैन। हुन सक्छ, तिनले ‘परमेश्‍वरसित नम्र भएर हिंडिरहनुपर्छ’ भन्‍ने कुरा चटक्कै बिर्से। (मीका ६:८ पढ्‌नुहोस्‌) बाइबलमा प्रयोग गरिएको यहोवासित हिंड्‌नु भन्‍ने अभिव्यक्‍तिले उहाँमाथि भरोसा राख्नु, उहाँको सार्वभौमिकतालाई समर्थन गर्नु र उहाँको डोऱ्‍याइ पछ्याउनु भन्‍ने अर्थ बुझाउँछ। स्वर्गमा बस्नुहुने हाम्रो मायालु र सर्वशक्‍तिमान्‌ बुबासित नियमित तवरमा कुराकानी गर्न सम्भव छ अनि त्यस्तो गर्नै पर्छ भनेर नम्र व्यक्‍तिले राम्ररी बुझेको हुन्छ। यहूदाका ती भविष्यवक्‍ताले यहोवाले दिनुभएको निर्देशन अझ स्पष्टसित बुझाइदिनुहोस्‌ भनेर उहाँलाई बिन्ती गर्न सक्थे। तर तिनले त्यसो गरेको कुरा बाइबलमा पाउँदैनौं। कहिलेकाहीं हामीले पनि गम्भीर निर्णयहरू गर्नुपर्ने हुन्छ। अनि हामी जानुपर्ने सही बाटो कुन हो भनेर स्पष्ट नहुन सक्छ। त्यस्तो अवस्थामा नम्र भई यहोवाको डोऱ्‍याइ खोज्यौं भने गम्भीर गल्ती गर्नदेखि जोगिनेछौं।

४. यस लेखमा हामी कुन कुरा बुझ्नेछौं?

४ यसअघिको लेखमा ख्रीष्टियनहरू अहिले पनि नम्र हुनु किन महत्त्वपूर्ण छ र नम्र हुनुमा कस्ता कुराहरू मुछिएका छन्‌ भनेर बुझ्यौं। तर कस्ता अवस्थाहरूमा हाम्रो नम्रताको जाँच हुन सक्छ? त्यस्ता अवस्थाहरूमा कसरी नम्र रहिरहन सक्छौं? अनि यो मनमोहक गुण कसरी विकास गर्न सक्छौं? यी प्रश्‍नहरूको जवाफ पाउन हाम्रो नम्रताको जाँच हुने तीन वटा अवस्थाबारे विचार गरौं। अनि त्यस्ता अवस्थाहरूमा कसरी बुद्धिमानी कदम चाल्न सक्छौं, हेरौं।—हितो. ११:२.

हाम्रो परिस्थिति परिवर्तन हुँदा

५, ६. बर्जिल्लेले कसरी नम्रता देखाए?

५ व्यक्‍तिगत परिस्थिति वा असाइनमेन्ट परिवर्तन हुँदा नम्रताको जाँच हुन सक्छ। दाऊदले ८० वर्षीय बर्जिल्लेलाई आफूसित दरबारमा बस्ने प्रस्ताव राखे। यो सुन्दा बर्जिल्लेले ठूलो सम्मान पाएको महसुस गरेको हुनुपर्छ। दाऊदको प्रस्ताव स्विकारेको भए तिनी राजासँगै दरबारमा बस्न सक्थे। तर बर्जिल्लेले त्यो प्रस्ताव स्विकारेनन्‌। किन? तिनको उमेर ढल्किसकेको थियो। त्यसैले तिनले दाऊदलाई आफू राजाको निम्ति बोझ बन्‍न नचाहेको कुरा बताए। बरु बर्जिल्लेले आफ्नो सट्टा किमहामलाई राख्ने सुझाव दिए। किमहाम सम्भवतः बर्जिल्लेका छोरा थिए।—२ शमू. १९:३१-३७.

६ बर्जिल्ले नम्र भएको हुँदा तिनले यस्तो बुद्धिमानी निर्णय गर्न सके। दाऊदले दिएको जिम्मेवारी पूरा गर्न आफू अयोग्य भएकोले वा अवकासपछि आरामदायी जीवन बिताउन चाहेकोले बर्जिल्लेले त्यो प्रस्ताव अस्वीकार गरेका थिएनन्‌। तिनले आफ्नो अवस्था पहिलाको जस्तो नभएकोले अनि आफ्नो सीमितता बुझेकोले त्यस्तो निर्णय गरेका थिए। आफूले के गर्न सक्छु र के गर्न सक्दिनँ भनेर तिनले राम्ररी बुझेका थिए। (गलाती ६:४, ५ पढ्‌नुहोस्‌) ओहदा, प्रतिष्ठा वा नामको पछि मात्र दौडन्छौं भने त्यसले हामीलाई घमन्डी हुन र प्रतिस्पर्धा गर्न उक्साउनेछ र पछि गएर हामी निराश हुनुपर्नेछ। (गला. ५:२६) तर नम्र छौं भने परमेश्‍वरको महिमा गर्न र अरूलाई मदत गर्न हामी सङ्‌गी ख्रीष्टियनहरूसित मिलेर काम गर्नेछौं।—१ कोरि. १०:३१.

७, ८. आफूमाथि भर नपर्न नम्रताले कसरी मदत गर्छ?

७ थप जिम्मेवारीसँगै अक्सर थप अख्तियार पनि आउँछ। यस्तो अख्तियार पाउँदा नम्रताको जाँच हुन सक्छ। नहेम्याहले यरूशलेममा रहेका आफ्ना मानिसहरूको दुःखद अवस्थाबारे सुनेपछि तिनले यहोवालाई व्यग्र प्रार्थना गरे। (नहे. १:४, ११) यहोवाले नहेम्याहको प्रार्थनाको जवाफ दिनुभयो; राजा आर्ट-जारसेजले नहेम्याहलाई इस्राएलीहरू बसोबास गरिरहेको इलाकाको राज्यपाल नियुक्‍त गरे। नहेम्याहले ठूलो ओहदा, प्रशस्त धनसम्पत्ति अनि निकै अख्तियार पाएका थिए। तैपनि तिनी कहिल्यै आफ्नो अनुभव वा क्षमतामा भर परेनन्‌। तिनी परमेश्‍वरसित हिंडिरहे। तिनले व्यवस्थाको पुस्तकमा यहोवाको निर्देशन खोजिरहे। (नहे. ८:१, ८, ९) नहेम्याहले आफ्नो अख्तियार अरूमाथि प्रभुत्व जमाउन होइन, बरु अरूको हितको निम्ति प्रयोग गरे।—नहे. ५:१४-१९.

८ असाइनमेन्ट परिवर्तन हुँदा वा थप जिम्मेवारी पाउँदा आफूमाथि भर नपर्न नम्रताले कसरी मदत गर्छ भनी नहेम्याहको उदाहरणले देखाउँछ। एक जना एल्डर आफ्नै अनुभवमा मात्र भर परे भने प्रार्थना गरेर यहोवासित निर्देशन माग्नुको साटो आफ्नै तरिकाले मण्डलीको मामिला सँभाल्न थाल्नेछन्‌। अथवा कुनै भाइ वा बहिनीले पहिला निर्णय गर्ने अनि त्यसपछि त्यो निर्णयमा यहोवाले आशिष्‌ देऊन्‌ भनेर प्रार्थना गर्लान्‌। तर के त्यसो गर्नु नम्र हुनु हो? नम्र व्यक्‍तिले परमेश्‍वर आफूभन्दा कता हो कता महान्‌ हुनुहुन्छ र उहाँको प्रबन्धमा आफ्नो भूमिका के हो भन्‍ने कुरा कहिल्यै बिर्संदैन। सबैभन्दा महत्त्वपूर्ण कुरा, हाम्रो क्षमता होइन। विशेषगरि आफूले पहिला पनि सामना गरिसकेको अवस्था वा समस्या आइपर्दा आफूमाथि भर नपर्न हामी अझ सजग हुनुपर्छ। (हितोपदेश ३:५, ६ पढ्‌नुहोस्‌) हामी परमेश्‍वरको घरानाका सदस्य हौं। त्यसैले हामी कम्पनीको कर्मचारीजस्तै ठूलो ओहदा खोज्ने कुरामा होइन, बरु परिवार वा मण्डलीको सदस्यको रूपमा आफ्नो भूमिका कसरी पूरा गर्ने, त्यसमा ध्यान दिन्छौं।—१ तिमो. ३:१५.

अरूले आलोचना वा प्रशंसा गर्दा

९, १०. अरूले आलोचना गर्दा हामी कसरी नम्र भइरहन सक्छौं?

९ अरूले हाम्रो आलोचना गर्दा आफ्नो भावनालाई काबूमा राख्न गाह्रो हुन्छ। हुन त एल्काना हन्‍नालाई धेरै माया गर्थे तैपनि हन्‍ना दुःखी थिइन्‌। हन्‍ना बाँझी भएकीले तिनकी सौता पनिन्‍नाले तिनलाई दिनरात दुःख दिन्थिन्‌ र खसालेर कुरा गर्थिन्‌। त्यसैले हन्‍ना अक्सर रोइरहन्थिन्‌। एक चोटि हन्‍ना मन्दिरमा प्रार्थना गरिरहँदा प्रधान पुजारी एलीले तिनी मद्यले मात्तिएकी रहिछन्‌ भन्ठाने। यस्तो गलत आरोप लगाइँदा हन्‍नालाई कस्तो लाग्यो होला, कल्पना गर्नुहोस्‌ त! हन्‍ना नम्र थिइन्‌। त्यसैले यस्तो अवस्थामा पनि तिनले आफ्नो भावनालाई काबूमा राखिन्‌ र आदरपूर्वक एलीको प्रश्‍नको जवाफ दिइन्‌। तिनले गरेको मर्मस्पर्शी प्रार्थना बाइबलमा पाउँछौं। त्यस प्रार्थनामा तिनले परमेश्‍वरको प्रशंसा गर्नुका साथै आफ्नो विश्‍वास र कृतज्ञता व्यक्‍त गरेकी छिन्‌।—१ शमू. १:५-७, १२-१६; २:१-१०.

१० ‘खराबीलाई भलाइले जितिरहन’ पनि नम्रताले हामीलाई मदत गर्न सक्छ। (रोमी १२:२१) सैतानको संसारमा धेरै कुरा अन्यायपूर्ण छन्‌। कुकर्मीहरूको आचरणले गर्दा रिसले नमुरमुरिन हामीले सङ्‌घर्ष गर्नुपर्छ। (भज. ३७:१) मण्डलीमा कसैसित मनमुटाव भयो भने त्यसले दिने चोट अझ गहिरो हुन्छ। यस्तो अवस्थामा नम्र व्यक्‍तिले येशूको अनुकरण गर्छ। बाइबल यसो भन्छ: “अरूले गाली गर्दा उहाँले गाली फर्काउनुभएन। . . . बरु उचित ढङ्‌गमा न्याय गर्न सक्नुहुनेको हातमा आफूलाई सुम्पनुभयो।” (१ पत्रु. २:२३) बदला लिने काम यहोवाको हो भनेर येशूलाई थाह थियो। (रोमी १२:१९) ख्रीष्टियनहरूलाई पनि नम्र हुन अनि ‘खराबीको बदला खराबी नगर्न’ सल्लाह दिइएको छ।—१ पत्रु. ३:८, ९.

११, १२. (क) अरूले तारिफ वा अचाक्ली प्रशंसा गर्दा हामी कसरी नम्र रहन सक्छौं? (ख) पहिरन, कोरीबाटी र आचरणको सन्दर्भमा हामी कसरी नम्रता देखाउन सक्छौं?

११ अरूले हाम्रो अचाक्ली तारिफ वा प्रशंसा गर्दा पनि हाम्रो नम्रताको जाँच हुन सक्छ। घटनाक्रमले बेग्लै मोड लिंदा एस्तरले कस्तो मनोभाव देखाइन्‌, विचार गरौं। उनी असाध्यै राम्री थिइन्‌। उनले आफ्नो सौन्दर्य बढाउनको लागि एक वर्षसम्म विभिन्‍न किसिमको श्रृङ्‌गार सामाग्री, तेल र अत्तर प्रयोग गर्ने मौका पाइन्‌। फारस साम्राज्यको विभिन्‍न ठाउँबाट आएका स्त्रीहरूसित उनको दिनहुँ भेटघाट हुन्थ्यो। राजाले आफूलाई रानी बनाओस्‌ भनेर ती स्त्रीहरू राजाको सामु सकेसम्म राम्री देखिन चाहन्थे। तर एस्तर भने अरूसित प्रतिस्पर्धा गर्दिनथी, तिनी सबैको आदर गर्थिन्‌। राजाले उनलाई आफ्नी रानी बनाउन रोजे तैपनि उनी घमन्डी वा अहङ्‌कारी भइनन्‌।—एस्त. २:९, १२, १५, १७.

राज्यभवनमा भद्र र अभद्र पहिरन अनि कोरीबाटी

के हाम्रो पहिरन र कोरीबाटीले यहोवा अनि अरूप्रति आदर देखाउँछ? वा यसले हामी नम्र छैनौं भन्‍ने देखाउँछ? (अनुच्छेद १२ हेर्नुहोस्‌)

१२ नम्र छौं भने हाम्रो पहिरन, कोरीबाटी र आचरण सधैं भद्र हुनेछ अनि आफू र अरूप्रति आदर झल्काउने किसिमको हुनेछ। घमन्ड गरेर वा आफूप्रति अरूको अनावश्‍यक ध्यान खिचेर होइन तर “शान्त अनि नम्र मनोभाव” देखाएर अरूको मन जित्न सक्छौं भनेर हामीलाई थाह छ। (१ पत्रुस ३:३, ४ पढ्‌नुहोस्‌; यर्मि. ९:२३, २४) हाम्रो मनमा लुकेको घमन्डी मनोभाव पछि गएर व्यवहारमा प्रकट हुन्छ। उदाहरणको लागि, हामीले आफ्नो कुराकानीमा आफूले विशेष सुअवसर पाएको छु, गोप्य कुरा थाह छ वा जिम्मेवार दाजुभाइहरूसित विशेष सम्बन्ध छ भन्‍ने छनक दिइरहेका हुन सक्छौं। अथवा कुनै काम पूरा गर्न अरूले पनि सुझाव दिएको वा मदत गरेको भए तापनि सबै काम आफैले मात्र गरेको जस्तो भान पार्नेगरि कुरा गरिरहेका हुन सक्छौं। तर नम्रताको सन्दर्भमा येशूले राम्रो उदाहरण बसाल्नुभयो। उहाँले धेरैजसो हिब्रू धर्मशास्त्रबाट उद्धरण गरेर वा त्यसैलाई सङ्‌केत गरेर कुरा गर्नुहुन्थ्यो। त्यसैले मानिसहरूले उहाँको कुरा उहाँको आफ्नै दिमाग वा बुद्धिको उपज होइन, बरु यहोवाबाट आएको हो भनेर बुझ्न सक्थे।—यूह. ८:२८.

अनिश्‍चितताको बादलले घेर्दा

१३, १४. सही निर्णय गर्न नम्रताले हामीलाई कसरी मदत गर्न सक्छ?

१३ आफैले निर्णय गर्दा वा अरूले हामीलाई असर गर्ने निर्णयहरू गर्दा हाम्रो नम्रताको जाँच हुन सक्छ। प्रेषित पावल सिजरियामा छँदा भविष्यवक्‍ता अगाबसले तिनी यरूशलेम गए भने पक्राउ पर्नेछन्‌ भनेर बताए। तिनी मारिन पनि सक्थे। कुनै दुःखद घटना होला भन्‍ने डरले त्यहाँका भाइहरूले पावललाई यरूशलेम नजान बिन्ती गरे। तैपनि पावलले हर हालतमा यरूशलेम जाने निर्णय गरे। तिनी अतिविश्‍वस्त भएकोले यस्तो निर्णय गरेका थिएनन्‌। न त तिनी डरले लुत्रुक्क परेर बसे। तिनले आफ्नो पूरा भरोसा यहोवामा राखेका थिए। त्यसैले यहोवाले तिनलाई जहाँ जान डोऱ्‍याउनुभयो, त्यहाँ गएर आफ्नो असाइनमेन्ट पूरा गर्न तयार भए। यरूशलेम जाने पावलको अडान सुनेपछि भाइहरूले पनि तिनको निर्णयको कदर गरेर नम्रता देखाए।—प्रेषि. २१:१०-१४.

१४ कुनै निर्णय गर्दा परिणाम के होला भनेर सबै कुरा थाह नहुँदा वा कतिपय कुरा आफ्नो नियन्त्रणमा नहुँदा पनि हामी नम्र छौं भने सही निर्णय गर्न सक्छौं। उदाहरणको लागि, हाम्रो मनमा यस्तो सोचाइ आउन सक्छ: ‘अहिले पूर्ण-समय सेवा सुरु गरें तर पछि बिरामी परें भने के गर्ने? उमेर ढल्किंदै गइरहेका आमाबुबालाई हेरविचार गर्नुपऱ्‍यो भने के गर्ने? आफै बूढाबूढी भएपछि के गर्ने?’ यी विषयहरूमा जति नै प्रार्थना र अनुसन्धान गरे तापनि यस्ता खाले प्रश्‍नहरूको एक-एक जवाफ भने पाउन सक्दैनौं। (उप. ८:१६, १७) यहोवामाथिको भरोसाले हामीलाई आफ्नो सीमितता थाह पाउन मात्र होइन, त्यसलाई स्विकार्न पनि मदत गर्नेछ। अनुसन्धान, सरसल्लाह अनि डोऱ्‍याइको लागि प्रार्थना गरिसकेपछि परमेश्‍वरको पवित्र शक्‍तिले हामीलाई जतातिर डोऱ्‍याउँछ, त्यतैतिर कदम चाल्नुपर्छ। (उपदेशक ११:४-६ पढ्‌नुहोस्‌) यसो गऱ्‍यौं भने यहोवाले हाम्रो निर्णयमा आशिष्‌ दिन सक्नुहुन्छ अथवा हाम्रो योजना परिवर्तन गर्न मदत दिन सक्नुहुन्छ।—हितो. १६:३, ९.

नम्रता विकास गर्ने

१५. यहोवाबारे सोच्दा हामी कसरी नम्र हुन सक्छौं?

१५ नम्र हुनुका धेरै फाइदा छन्‌। त्यसोभए हामी कसरी अझै नम्र हुन सक्छौं? आउनुहोस्‌, चार वटा तरिका विचार गरौं। पहिलो, यहोवाका गुणहरू हाम्रोभन्दा कत्ति उत्कृष्ट छन्‌ र उहाँको ओहदा कत्ति उच्च छ भनेर गहिरिएर सोच्यौं भने हामी अझ नम्र हुन सक्छौं र उहाँप्रतिको श्रद्धाभाव बढाउन सक्छौं। (यशै. ८:१३) यो कुरा नबिर्सनुहोस्‌, हामी कुनै स्वर्गदूत वा मानिससित होइन तर सर्वशक्‍तिमान्‌ परमेश्‍वरसित हिंडिरहेका छौं। यो कुरा सम्झ्यौं भने “परमेश्‍वरको बलवान्‌ बाहुलीमुनि आफूलाई नम्र” बनाउन उत्प्रेरित हुनेछौं।—१ पत्रु. ५:६.

१६. यहोवाले देखाउनुभएको प्रेमबारे मनन गर्दा हामी कसरी नम्र हुन सक्छौं?

१६ दोस्रो, यहोवाले देखाउनुभएको प्रेमबारे मनन गऱ्‍यौं भने हामी नम्रता विकास गर्न सक्छौं। हाम्रो शरीरका जुन अङ्‌गहरूलाई हामी त्यति आदरयोग्य ठान्दैनौं, त्यसैलाई यहोवाले “झन्‌ बढी आदर” दिनुभएको छ भनी प्रेषित पावलले लेखे। (१ कोरि. १२:२३, २४) हाम्रो आ-आफ्नै सीमितता छ। तैपनि यहोवा हामी प्रत्येकको ख्याल राख्नुहुन्छ। उहाँ हामीलाई अरूसित तुलना गर्नुहुन्‍न अनि हामीले गल्ती गर्दा पनि हामीलाई माया गर्न छोड्‌नुहुन्‍न। यहोवाले माया गर्नुभएकोले नै हामी उहाँको घरानामा सुरक्षित महसुस गर्न सक्छौं।

१७. अरूको राम्रो कुरामा ध्यान दिन सिक्यौं भने हामीले कस्तो मदत पाउँछौं?

१७ तेस्रो, यहोवाले जस्तै अरूको राम्रा कुराहरूमा ध्यान दिन्छौं भने उहाँको सेवामा आफूले पाएको भूमिकाप्रति हाम्रो कृतज्ञता बढ्‌नेछ। अरूको ध्यान आफूतिर खिच्नु वा सधैं अरूलाई सल्लाह दिनुको साटो नम्र भई अरूसित सल्लाह माग्नेछौं अनि उनीहरूले दिएको सल्लाहअनुसार गर्न तयार हुनेछौं। (हितो. १३:१०) अरूले सेवाका सुअवसरहरू पाउँदा हामी उनीहरूसँगै रमाउनेछौं। अनि ‘संसारभरिका हाम्रा भाइहरूलाई’ यहोवाले कसरी आशिष्‌ दिइरहनुभएको छ भनी देख्दा हामी पनि उहाँको प्रशंसा गर्न जुरमुरिनेछौं।—१ पत्रु. ५:९.

१८. भद्रताको सन्दर्भमा परमेश्‍वरको जस्तै दृष्टिकोण राख्न हामी आफ्नो अन्तस्करणलाई कसरी तालिम दिन सक्छौं?

१८ चौथो, बाइबलको सिद्धान्तअनुसार आफ्नो अन्तस्करणलाई तालिम दियौं भने हामीले पनि यहोवाको जस्तै दृष्टिकोण राख्न सक्नेछौं। अनि उहाँले जुन कुरालाई भद्र र आदरणीय ठान्‍नुहुन्छ, हामीले पनि त्यस्तै ठान्‍नेछौं। नम्र भई सबै कामकुरा यहोवाको दृष्टिकोणबाट हेर्न सिक्यौं भने उहाँलाई मन पर्ने निर्णय गर्न सक्नेछौं। नियमित अध्ययन, प्रार्थनाका साथै आफूले सिकेको कुरा लागू गऱ्‍यौं भने हाम्रो अन्तस्करण बिस्तारै बलियो हुँदै जानेछ। (१ तिमो. १:५) साथै आफूभन्दा अरूलाई पहिलो स्थान दिन सिक्नेछौं। यी कुराहरू गऱ्‍यौं भने यहोवाले ‘हाम्रो तालिम पूरा गर्ने’ प्रतिज्ञा गर्नुभएको छ। हो, उहाँले हामीलाई नम्रता र उहाँलाई मन पर्ने अरू गुणहरू विकास गर्न मदत गर्नुहुनेछ।—१ पत्रु. ५:१०.

१९. सधैंभरि नम्र रहन हामीलाई केले मदत गर्नेछ?

१९ सुरुमा छलफल गरिएका यहूदाका भविष्यवक्‍ताको एउटा अहङ्‌कारपूर्ण कामले गर्दा तिनले आफ्नो ज्यान र यहोवासितको मित्रता गुमाउनुपऱ्‍यो। तर गाह्रो अवस्थामा पनि नम्र रहन सम्भव छ। यो कुरा हामीभन्दा अघिका वफादार सेवकहरू अनि अहिले हाम्रो समयका नम्र व्यक्‍तिहरूले प्रमाणित गरेका छन्‌। हामी यहोवासित जति लामो समय हिंड्‌छौं, त्यति नै नम्र हुँदै जानुपर्छ। (हितो. ८:१३) यहोवाको प्रबन्धमा अहिले हाम्रो भूमिका जस्तोसुकै भए तापनि उहाँसित हिंड्‌नु भनेको एउटा विशेष र अतुलनीय सुअवसर हो। यस्तो ठूलो सम्मानको कदर गर्नुहोस्‌। अनि नम्र भई सदासर्वदा यहोवासँगै हिंडिरहन सक्दो प्रयास गरिरहनुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने