के तपाईंबारे अरूलाई गलतफहमी भएको छ?
आन्टोनियो जिल्ल परे। अकस्मात् कुनै कारणविना तिनको असल मित्र लियोनार्दोले तिनीप्रति अमित्रैलो व्यवहार गर्न थालेका थिए।a विभिन्न अवसरमा आन्टोनियोको अभिवादनको बेवास्ता गरियो र दुई जना सँगै हुँदा पनि तिनीहरूबीच एउटा पर्खाल भएजस्तो महसुस हुन्थ्यो। आन्टोनियोलाई तिनले नै भनेको वा गरेको केही कुराको तिनको साथीले गलत अर्थ लगाएको हुन् कि भन्ने डर भयो। तर तिनले त्यस्तो के गरेका थिए र?
बेलाबखतमा गलतफहमीहरू भइरहन्छन्। धेरैजसो त्यति गम्भीर प्रकारका हुँदैनन् र त्यसलाई सजिलै सुल्झ्याउन सकिन्छ। विशेष गरी, गलतफहमी हटाउने धेरै प्रयास गर्दा गर्दै पनि गलतफहमी रहिरह्यो भने निराशलाग्दो हुन्छ। किन गलतफहमीहरू हुन्छन्? गलतफहमीमा मुछिएका मानिसहरूलाई त्यसले कसरी प्रभाव पार्छ? तपाईंले गर्नुभएका केही कुराको अरूले गलत अर्थ लगायो भने तपाईंले के गर्न सक्नुहुन्छ? तपाईंबारे अरूले जस्तोसुकै सोचाइ राखे तापनि के त्यसले केही फरक पर्छ र?
गलतफहमीहरू हुन्छन्
अरू मानिसले हाम्रो सोचाइ अनि मनसाय पढ्न नसक्ने भएकोले ढिलो होस् वा चाँडो कसैले हाम्रो वचन तथा कार्यको गलत अर्थ लगाउनसक्छ। गलतफहमीका सम्भाव्यताहरू प्रशस्त छन्। कहिलेकाहीं हामी आफ्नो विचार स्पष्ट र यथार्थसँग बताउनसक्दैनौं। पछाडिबाट आइरहेको हल्ला र अन्य केही कारणले गर्दा अरूलाई हाम्रो कुरामा पूरा ध्यान दिन गाह्रो हुनसक्छ।
केही खास प्रकारको आनीबानी र तरिकाको पनि गलत अर्थ लगाइन्छ। उदाहरणका लागि, डरछेरुवा व्यक्तिलाई अरू कसैले अमित्रैलो, भावशून्य वा घमण्डी मान्छे भन्ने अर्थ लगाउन सक्छ। कसै कसैले केही खास परिस्थितिहरूमा विगतको अनुभवले गर्दा व्यावहारिक नभई भावनात्मक प्रतिक्रिया देखाउनसक्छन्। सांस्कृतिक र भाषिक भिन्नताले गर्दा मानिसहरूले एकअर्कालाई सजिलै बुझ्न सक्दैनन्। अझ यसमा गलत जानकारी र अरूको कुरा काट्ने चलन त छँदैछ। कहिलेकाहीं सुरुमा भनिएको वा गरिएको कुरा पछि अर्कै हुन गएमा छक्क मान्नुपर्दैन। यो सबै कुरा गरे तापनि आफ्नो मनसायको गलत अर्थ लगाइएको महसुस गर्नेहरूलाई यसले खासै सान्त्वना दिंदैन।
उदाहरणका लागि, आन्नाले आफ्नो साथी सँगै नहुँदा उनको लोकप्रियताबारे राम्रै मनले टिप्पणी गरेकी थिइन्। तर तिनकी मित्रलाई पूर्णतया अर्कै कुरा सुनाइएछ र त्यसपछि त आन्ना छक्क पर्ने गरी त्यस मित्रले केही मानिसहरूको अगाडि नै तिनले केही केटा साथीहरूले आफूसँग हेलमेल गर्न मन पराएकोमा आन्नाले आरिस गरेको लाञ्छना लगाइन्। आन्नाको टिप्पणीको पूर्णतया गलत अर्थ लगाइएको थियो र तिनको आफ्नो साथीलाई कुनै हानि गर्ने उद्देश्यले टिप्पणी गरेको थिइन भनी बताउन लाख प्रयास गरे तापनि केही सीप लागेन। यस परिस्थितिले धेरै पीडा उत्पन्न गऱ्यो र आन्नालाई गलतफहमी हटाउन धेरै समय लाग्यो।
अरूले तपाईंबारे कस्तो सोचाइ राख्छन् भन्ने कुरा तिनीहरूले तपाईंको मनसायको कस्तो अर्थ लाउँछन् त्यसमा निर्भर हुन्छ। त्यसैकारण, तपाईंको मनसायको मानिसहरूले गलत अर्थ लगाउँदा नराम्रो लाग्नु स्वाभाविकै हो। तपाईंलाई गलत अर्थ लगाइनुपर्ने कुनै कारण नै थिएन भनेर तपाईंलाई रिस पनि उठ्नसक्छ। तपाईंको निम्ति त्यस्ता विश्लेषणहरू पक्षपातपूर्ण, आलोचनात्मक वा पूर्णतया गलत हुनसक्छ र विशेष गरी यस्तो आलोचनात्मक कुरा गर्ने मानिस तपाईंले कदर गर्नुहुने मानिस हो भने त झनै तपाईंलाई एकदमै चित्त दुख्नसक्छ।
तपाईंको आलोचना गरिएको देखेर तपाईंलाई रिस उठे तापनि अरूको विचारको आदर गर्नु उचित हुनेछ। अरूले के भन्ठान्छन्, त्यसलाई बेवास्ता गर्नु मसीही मार्ग होइन र हामी कहिल्यै आफ्नो वचन र कार्यले अरूलाई नराम्रो प्रभाव पारेको चाहँदैनौं। (मत्ती ७:१२; १ कोरिन्थी ८:१२) त्यसैकारण कहिलेकाहीं तपाईंले अरूको गलत धारणा सच्याउने प्रयास गर्नुपर्छ। अरूले मन पराउला कि नपराउला भनेर औधी चिन्तित हुनु पनि राम्रो होइन र यसले गर्दा आत्म-सम्मान गुमाउने र तिरस्कृत भएको महसुस हुनसक्छ। आखिर, तपाईंको साँचो मूल्यमान्यता अरूले तपाईंबारे के सोच्छन् त्यसमा निर्भर हुँदैन।
अर्कोतर्फ, तपाईं विरुद्ध गरिएको आलोचना सही भएको तपाईंले थाह पाउनुहोला। यसले गर्दा पनि नमीठो लाग्न सक्छ तर तपाईंले स्वेच्छा र इमानदारसाथ तपाईंको असिद्धतालाई स्वीकार्नुभयो भने त्यस्ता अनुभव लाभकारी हुनसक्छ र त्यसले आवश्यक परिवर्तनहरू गर्न प्रेरित गर्नसक्छ।
नकारात्मक नतिजाहरू
गलतफहमीको कारण गम्भीर नतिजा हुन पनि सक्छ वा हुन पनि सक्दैन। उदाहरणका लागि, तपाईंले कुनै भोजनालयमा एउटा मान्छे ठूलठूलो स्वरले कुरा गरिरहेको सुन्नुभयो भने तपाईंले या त त्यो मानिस अरूसित छिट्टै घुलमिल हुने वा धाक देखाउने रहेछ भन्ने निष्कर्षमा पुग्नुहोला। तपाईंको अनुमान गलत पनि हुनसक्छ। तिनले कुरा गरिरहेको मानिस राम्रोसँग सुन्न नसक्ने हुनसक्छ। अथवा तपाईंलाई कुनै पसले ठुस्स परेर बसेको जस्तो लाग्नसक्छ तर तिनलाई बिसञ्चो लागिरहेको पनि हुनसक्छ। त्यस्ता गलतफहमीहरूले गर्दा नकारात्मक सोचाइ त आउला तर त्यसले कुनै गम्भीर वा चिरस्थायी परिणाम उत्पन्न नगर्नसक्छ। तर कहिलेकाहीं गलतफहमीको कारण ठूलो आपत् पर्नसक्छ। यस सन्दर्भमा पुरातन इस्राएलको इतिहासको दुईवटा उदाहरणलाई विचार गर्नुहोस्।
अम्मोनका राजा नाहाशको मृत्युपछि तिनको ठाउँमा शासन गर्न थालेका तिनको छोरा हानूनलाई सहानुभूति प्रकट गर्न दाऊदले आफ्ना सेवकहरू पठाए। तथापि, ती सेवकहरू अम्मोनी इलाकामा जासुस गर्न आएका हुन् भनी गतल अर्थ लगाइयो जसले गर्दा हानूनले ती सेवकहरूको पहिला बेइज्जती गरे र पछि इस्राएलसँग युद्ध पनि गरे। फलस्वरूप, कम्तीमा पनि ४७,००० मानिसको मृत्यु भयो र यो सबै असल मनसायको गलत अर्थ लगाइएको कारण भएको थियो।—१ इतिहास १९:१-१९.
त्योभन्दा अघि इस्राएलको इतिहासमा अर्को पनि गलतफहमी भएको थियो र यसलाई अर्कै ढंगमा सुल्झाइयो। रूबेनी, गादी र मनश्शेका आधा कुलले यर्दन नदी नजिकै सबैको ध्यानाकर्षण हुने वेदी बनाए। इस्राएलका बाँकी अन्य मानिसहरूले यस कार्यलाई अवफादारी र यहोवा विरुद्ध विद्रोह गरेको ठाने। त्यसैकारण तिनीहरू लडाइँ गर्न जम्मा भए। तर कुनै महत्त्वपूर्ण कदम चाल्नुअघि ती इस्राएलीहरूले यसलाई अवफादारी काम ठान्दै क्रोध व्यक्त गर्न सन्देशवाहक पठाए। तिनीहरूले सन्देशवाहक पठाएर राम्रै गरे किनभने वेदीका निर्माताहरूले तिनीहरूको शुद्ध उपासनाबाट तर्किने कुनै मनसाय नभएको कुरा बताए। अर्कोतर्फ, त्यो वेदीले यहोवाप्रति वफादारीको सम्झनाको रूपमा काम गर्ने थियो। यस गलतफहमीको कारण रक्तपात हुनसक्थ्यो तर बुद्धि प्रयोग गरेको कारण त्यस्तो कुनै गम्भीर नतिजा भएन।—यहोशू २२:१०-३४.
प्रेमको मनोभावसाथ कुराहरू स्पष्ट पार्नुहोस्
यी विवरणहरू तुलना गर्नु निर्देशनमूलक हुन्छ। निस्सन्देह, विवाद भइरहेको विषयलाई स्पष्ट गर्नु नै बुद्धिमानी कुरा हो। पछिल्लो विवरणमा दुई पक्षले वार्ता गरेको कारण कति जनाको ज्यान बच्यो, कसलाई के थाह? प्रायजसो अरू साँचो मनसाय तपाईंले बुझ्न नसक्दा तपाईंको ज्यान त खतरामा नपर्ला तर मित्रता खतरामा पर्नसक्छ। त्यसैले, तपाईंसँग अरूले अनुचित व्यवहार गरेजस्तो तपाईंलाई लाग्यो भने के तपाईंले वास्तवमा कुरा राम्ररी बुझ्नुभएको छ कि त्यत्तिकै तपाईं तिनीहरूको गलत अर्थ लगाइरहनुभएको छ? अर्को व्यक्तिको मनसाय के थियो? तिनलाई सोध्नुहोस्। के तपाईं आफ्नो गलत अर्थ लगाइएको महसुस गर्नुहुन्छ? यसबारे कुरा गर्नुहोस्। घमण्डी भएर ठुस्स नपर्नुहोस्।
गलतफहमी हटाउने उत्कृष्ट प्रेरणा येशूले दिनुभयो: “तिमीले वेदीमा आफ्नो भेटी चढ़ाउँदा तिम्रो विरुद्धमा तिम्रो भाइको हृदयमा केही छ भनी तिमीलाई याद भयो भने, त्यही वेदीको सामु तिम्रो भेटी छोड़, र बाटो लाग। पहिले आफ्नो भाइसित मिलाप गर, त्यसपछि आएर आफ्नो भेटी चढाऊ।” (मत्ती ५:२३, २४) अतः तेस्रो व्यक्तिलाई बीचमा नल्याई त्यस व्यक्तिसँग व्यक्तिगत रूपमा कुरा गर्नु नै उचित हुनेछ। आफ्नो अपमान भएको ठान्ने व्यक्तिले अरूबाट कुरा सुन्नुपऱ्यो भने मामिला झनै बिग्रिन सक्छ। (हितोपदेश १७:९) प्रेमको मनोभावसाथ मिलाप गर्ने तपाईंको उद्देश्य हुनुपर्छ। स्पष्ट, सरल र दोष नलगाउने शब्दहरूमा शान्तपूर्वक समस्याबारे बताउनुहोस्। यस परिस्थितिले गर्दा तपाईं कस्तो महसुस गर्नुहुन्छ, बताउनुहोस्। त्यसपछि अर्को व्यक्तिको विचार पनि राम्ररी सुन्नुहोस्। हतारहतार गलत मनसाय औंल्याइहाल्ने नगर्नुहोस्। अर्को व्यक्तिको कुनै गलत मनसाय थिएन भनी विश्वास गर्न राजी हुनुहोस्। प्रेमले “सबै कुराको पत्यार गर्छ” भनी नबिर्सनुहोस्।—१ कोरिन्थी १३:७.
निस्सन्देह, गलतफहमीहरू हटिसक्दा पनि अझै चित्त दुखेको हुनसक्छ वा नकारात्मक परिणामहरू हुनसक्छन्। के यसलाई समाधान गर्न सकिन्छ? आवश्यक भएमा साँचो हृदयले माफी माग्नु पक्कै पनि बेस हुनेछ र समस्या सुल्झाउन व्यावहारिक ढंगमा गर्नसक्ने कुनै पनि काम गर्नुपर्छ। त्यस्तो परिस्थितिमा प्रभावित पक्षले यो प्रेरित सल्लाह पालन गर्नुपर्छ: “एउटाले अर्कोलाई सहेर, कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने, एउटाले अर्कोलाई क्षमा गर, जसरी प्रभुले पनि तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी तिमीहरूले पनि क्षमा गर, र यी सबै कुराहरूभन्दा बढ़ी प्रेम धारण गर, जो सिद्धताको गाँठो हो।”—कलस्सी ३:१३, १४; १ पत्रुस ४:८.
हामी असिद्ध भइञ्जेलसम्म गलतफहमीहरू हुने नै छन् र चित्त दुख्नेछ। गल्ती सबैबाट हुनसक्छ वा भावशून्य अथवा अप्रिय कुरा मुखबाट फुत्किनसक्छ। बाइबलले यसो भन्छ: “धेरै कुरामा हामी चुक्तछौं। जो मानिस वचनमा चुक्तैन, त्यो आफ्नो सारा शरीरमा पनि लगाम कस्नसक्ने सिद्ध मानिस हुन्छ।” (याकूब ३:२) यहोवा परमेश्वर यसबारे सजग हुनुभएकोले उहाँले हामीलाई यस्ता सल्लाहहरू दिनुभएको छ: “रीस देखाउन छिटो नगर्, किनभने रीस मूर्खको मनमा हुन्छ। त्यसबाहेक, मानिसहरूले भनेका सबै कुरामा ध्यान नदेऊ, नत्रता तिम्रै नोकरले तिम्रो निन्दा गरेको तिमीले सुन्नेछौ। किनभने तिमीले पनि कति चोटि अरूहरूको निन्दा गरेका छौ भनी तिमीलाई राम्रै थाह होला।”—उपदेशक ७:९, २१, २२.
“मनको इच्छा परमप्रभुलेनै जाँच गर्नुहुन्छ”
आफूबारे अरूको गलतफहमी हटाउन सकिएन भने नि? निराश नहुनुहोस्। जति सक्नुहुन्छ, मसीही गुणहरू खेती गर्नुहोस् र प्रकट गर्नुहोस्। आफूले उन्नति गर्नुपर्ने ठाउँमा उन्नति गर्न यहोवासँग मदत माग्नुहोस्। आखिर, तपाईंको साँचो मूल्य अरू मानिसहरूले निर्धारण गर्ने होइन। यहोवाले मात्र तपाईंको सही ‘जाँच गर्न सक्नुहुन्छ।’ (हितोपदेश २१:२) येशूको पनि सम्मान गरिएको थिएन र मानिसहरूले उहाँलाई घृणा गर्थे तर यसले उहाँप्रति यहोवाको दृष्टिकोणमा कुनै फरक परेन। (यशैया ५३:३) कसै कसैले तपाईंको गलत अर्थ लगाए तापनि तपाईंले यहोवालाई “आफ्नो हृदयको दुःख” पोखाउन सक्नुहुन्छ र उहाँले तपाईंलाई बुझ्नुहुन्छ भनी विश्वस्त हुन सक्नुहुन्छ किनभने “परमप्रभुले मानिसले झैं हेर्दैनन्। मानिसले रूप हेरीकन विचार गर्छ तर परमप्रभुले हृदय हेरीकन विचार गर्छन्।” (भजन ६२:८; १ शमूएल १६:७) तपाईंले असलै गरिरहनुभयो भने तपाईंबारे गलत धारणा भएका मानिसहरूले समयको अन्तरालमा आफ्नो गल्ती थाह पाउने छन् र आफ्नो दृष्टिकोणमा परिवर्तन गर्नेछन्।—गलाती ६:९; २ तिमोथी २:१५.
के तपाईंले यस लेखको सुरुमा उल्लेख गरिएको आन्टोनियोलाई सम्झनुभएको छ? धर्मशास्त्रीय सल्लाह पछ्याउने साहस बटुलेर तिनले आफ्नो मित्र लियोनार्दोलाई तिनले गरेको कुन काम चित्त बुझेन भनी सोधे। नतिजा? लियोनार्डो त अक्क न बक्क भए। आन्टोनियोले तिनलाई चित्त दुख्ने केही पनि काम नगरेको र आफूले पनि आन्टोनियोसँग अमित्रैलो व्यवहार गर्ने कुनै मनसाय नराखेको आश्वासन दिए। तिनी अमित्रैलो देखिएको भए तिनी आफ्नै विचारमा मग्न भएको कारणले मात्र हुनसक्छ। आफ्नो साथीको अनजानमा चित्त दुखाएको कारण लियोनार्डोले माफी मागे र यो कुरा तिनलाई सम्झाइ दिएकोमा धन्यवाद दिए। अरूलाई पनि त्यस्तै गलत छाप पर्न नदिन तिनी भविष्यमा अझ होसियार हुने कुरा बताए। तिनीहरूबीचको सबै तनाउ हरायो र दुई साथीहरू पहिलाभन्दा झनै घनिष्ठ भए।
आफ्नो गलत अर्थ लगाइँदा कहिल्यै रमाइलो महसुस हुँदैन। तथापि, तपाईंले गलतफहमी हटाउन सम्भव भएसम्म सबै कदम चाल्नुभयो अनि प्रेम र क्षमासम्बन्धी धर्मशास्त्रीय सिद्धान्त लागू गर्नुभयो भने सम्भवतः तपाईंले पनि त्यस्तै असल नतिजा हासिल गर्नुहुनेछ।
[फुटनोट]
a यस लेखमा केही नाउँहरू परिवर्तन गरिएका छन्।
[पृष्ठ २३-मा भएका चित्रहरू]
प्रेम र क्षमा दिने मनोभावसहित कुरा स्पष्ट पार्नुभयो भने नतिजा आनन्ददायी हुनसक्छ