प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w02 २/१५ pp. १३-१७
  • तिनीहरूले आफ्नो शरीरको छेस्को सहे

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तिनीहरूले आफ्नो शरीरको छेस्को सहे
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • परीक्षाहरू किन छेस्कोजस्तै हुन्‌
  • मपीबोशेतलाई पिरोलिरहेको छेस्को
  • नहेम्याहले परीक्षाहरू सहे
  • अरू थुप्रै विश्‍वासी जनहरूले सहे
  • के तिमीले कहिल्यै एक्लो महसुस गरेका छौ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • पावलको ‘शरीरको छेस्को’
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • “शरीरमा एक किसिमको छेस्को” सहने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • पाठकहरूको प्रश्‍न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
w02 २/१५ pp. १३-१७

तिनीहरूले आफ्नो शरीरको छेस्को सहे

“मलाई शरीरमा एक किसिमको छेस्को, . . . मलाई मुक्का लाउनालाई शैतानको एउटा दूत दिएको थियो।”—२ कोरिन्थी १२:७.

१. आज मानिसहरूले सामना गरिरहेका केही समस्याहरू के-के हुन्‌?

के तपाईंले कुनै परीक्षा सामना गरिरहनुभएको छ? यदि छ भने, तपाईं एक्लो हुनुहुन्‍न। अहिलेको यस “डरलाग्दो समयमा” विश्‍वासी मसीहीहरूले कठोर विरोध, पारिवारिक समस्या, बिरामी, आर्थिक चिन्ता, भावनात्मक तनाउ, प्रिय जनको मृत्यु र अरू थुप्रै चुनौतीहरू सामना गरिरहेका छन्‌। (२ तिमोथी ३:१-५) कुनै-कुनै देशमा अनिकाल तथा युद्धको कारण थुप्रैको जीवन खतरामा परेको छ।

२, ३. हामीले भोग्नुपर्ने छेस्कोरूपी समस्याहरूले गर्दा कस्तो नकारात्मक मनोवृत्ति आउन सक्छ र त्यो कसरी खतरनाक साबित हुन सक्छ?

२ विशेष गरी त्यस्ता थुप्रै समस्याहरू एकै चोटि आइपऱ्‍यो भने त्यसले मानिसहरूलाई अत्यन्तै विचलित तुल्याउँछ। हितोपदेश २४:१० ले के भन्छ, ध्यान दिनुहोस्‌: “सुदिनमा तेरो बल घट्यो भनेदेखि विपत्‌को दिनमा तँ झन्‌ कति असहाय हुनेछस्‌।” हो, समस्याहरू आइपर्दा हतोत्साहित भयौं भने हामीलाई नभई नहुने बल गुमाउन सक्छौं र अन्तसम्म धीरजी रहने हाम्रो संकल्प कमजोर हुन सक्छ। तर कसरी?

३ कुरा के हो भने, निराश हुँदा हामीले आफ्नो सन्तुलन गुमाउन सक्छौं। उदाहरणका लागि, आफ्नो सानो समस्यालाई पनि ठूलो बनाएर आफूलाई बढ्‌तै दया देखाउन थाल्न सक्छौं। कसै-कसैले परमेश्‍वरलाई यस्तो बिलौना पनि गर्लान्‌, “तपाईंले मलाई किन यी सबै हुन दिनुभएको?” कुनै व्यक्‍तिको मनमा यस्ता नकारात्मक मनोवृत्तिले जरा गाड्‌न थाल्यो भने तिनको आनन्द तथा भरोसा हरण हुन सक्छ। परमेश्‍वरको सेवक अत्यन्तै निराश भएर “विश्‍वासको उत्तम लडन्त” लड्‌न छोड्‌ने हदसम्म पुग्न सक्छन्‌।—१ तिमोथी ६:१२.

४, ५. कुनै-कुनै अवस्थामा किन शैतानले गर्दा हामीले समस्याहरू भोग्नुपर्छ तर हामी कुन कुरामा निर्धक्क हुन सक्छौं?

४ हामीले भोग्ने समस्याहरूको लागि यहोवाको पटक्कै दोष छैन। (याकूब १:१३) कतिपय परीक्षाहरू त हामी उहाँप्रति विश्‍वासी हुन खोजेकोले गर्दा आइपर्छन्‌। साँच्चै भनौं भने, यहोवाको सेवा गर्ने सबैले आफूलाई प्रमुख शत्रु, शैतान अर्थात्‌ दियाबलको तारो बनाइरहेका हुन्छन्‌। आफ्नो बाँकी रहेको थोरै समयमा त्यो दुष्ट अर्थात्‌ “यस संसारको देवले” यहोवालाई प्रेम गर्ने सबैलाई उहाँको इच्छा गर्नबाट अलग्याउने प्रयास गर्छ। (२ कोरिन्थी ४:४) शैतानले हाम्रो विश्‍व भ्रातृत्वका सबै भाइहरूमाथि जति सक्छ बढी दुःखकष्ट ल्याउन खोज्छ। (१ पत्रुस ५:९) हुन त हो, हाम्रा सबै समस्याहरूको प्रत्यक्ष कारण शैतान होइन तर त्यसले हामीले भोग्ने समस्याहरूको नाजायज फाइदा उठाएर हामीलाई कमजोर बनाउन खोज्छ।

५ शैतान र त्यसका हतियारहरू जतिसुकै भयानक भए तापनि हामी त्यसलाई हराउन सक्छौं! हामी यस कुरामा कसरी निर्धक्क हुन सक्छौं? किनभने यहोवा परमेश्‍वर हाम्रो खातिर लड्‌नुहुन्छ। आफ्ना सेवकहरू शैतानका युक्‍तिहरूबारे अनजान नहोऊन्‌ भनेर उहाँले जानकारी प्रदान गर्नुभएको छ। (२ कोरिन्थी २:११) भनौं भने, साँचो मसीहीहरूले भोग्ने परीक्षाहरूबारे परमेश्‍वरको वचनले थुप्रै कुरा बताएको छ। प्रेरित पावलको सन्दर्भमा बाइबलले “शरीरमा एक किसिमको छेस्को” भन्‍ने अभिव्यक्‍ति चलाए। किन? आउनुहोस्‌, परमेश्‍वरको वचनले त्यस वाक्यांशलाई कसरी वर्णन गर्छ, हामी हेरौं। त्यसपछि भने परीक्षाहरूमाथि विजयी हुन यहोवाको मदत चाहिने हामी मात्र होइनौं रहेछ भनी प्रस्ट हुनेछ।

परीक्षाहरू किन छेस्कोजस्तै हुन्‌

६. पावलले “शरीरमा एक किसिमको छेस्को” भन्‍नुको अर्थ के थियो र त्यो छेस्को के हुन सक्छ?

६ धेरै परीक्षा भोगिसकेका पावल यस्तो लेख्न उत्प्रेरित भए: “मलाई शरीरमा एक किसिमको छेस्को, र म हर्षले नफुलूँ भनेर मलाई मुक्का लाउनालाई शैतानको एउटा दूत दिएको थियो।” (२ कोरिन्थी १२:७) पावलको शरीरमा यो छेस्को के थियो? छाला छेडेर भित्रसम्म गएको छेस्को अत्यन्तै पीडादायी हुन्छ। त्यसकारण, यस वाक्यांशले पावललाई अत्यन्तै पीडा भएको कुरालाई संकेत गरिरहेको हुन सक्छ। त्यो शारीरिक, भावनात्मक वा दुवै पीडा हुन सक्छ। पावलको आँखा कमजोर वा तिनलाई अन्य कुनै शारीरिक बिमारी भएको हुन सक्छ। अथवा त्यो छेस्को पावल एक जना प्रेरित हुन्‌ भनी शंका गर्ने र तिनको प्रचार तथा शिक्षण कार्यलाई महत्त्वहीन ठान्‍ने व्यक्‍तिहरू हुन सक्छ। (२ कोरिन्थी १०:१०-१२; ११:५, ६, १३) जे होस्‌, त्यो छेस्को पावलको शरीरमा अझै थियो र त्यसलाई हटाउन सजिलो थिएन।

७, ८. (क) ‘मुक्का लाउनु’ भन्‍ने अभिव्यक्‍तिको अर्थ के हो? (ख) हामीले अहिले भोग्ने जस्तोसुकै छेस्को सहनु किन अत्यावश्‍यक छ?

७ ध्यान दिनुहोस्‌, त्यस छेस्कोले पावललाई मुक्का लाइरहन्थ्यो। चाखलाग्दो कुरा के छ भने, पावलले यहाँ प्रयोग गरेको युनानी क्रिया “औंलाको जोर्नी” भन्‍ने अर्थ बुझाउने शब्दबाट लिइएको हो। त्यो शब्द मत्ती २६:६७ मा शाब्दिक रूपमा र १ कोरिन्थी ४:११ मा लाक्षणिक अर्थमा प्रयोग गरिएको छ। ती पदहरूमा मुक्का लगाए भन्‍ने अर्थ बताइएको छ। यहोवा र उहाँका दासहरूप्रति शैतानको अचाक्ली घृणालाई विचार गर्दा पावललाई मुक्का लगाइरहने छेस्को देखेर दियाबल खुसी भएको हुनुपर्छ। आज, हामीलाई पनि शरीरमा एक किसिमको छेस्कोले पिरोलिरहँदा शैतान खुसी हुन्छ।

८ तसर्थ, पावलले जस्तै हामीले पनि त्यस्ता छेस्कोहरूको कसरी सामना गर्ने भनेर जान्‍नुपर्छ। त्यसो गर्नुमा हाम्रो जीवन निर्भर छ! नबिर्सनुहोस्‌, यहोवाले हामी नयाँ संसारसम्मै जीवित रहेको चाहनुहुन्छ, जहाँ यी छेस्कोरूपी समस्याहरू पटक्कै हुनेछैनन्‌। हामीलाई यो अनमोल इनाम जित्न मदतको लागि परमेश्‍वरले आफ्नो पवित्र वचन, बाइबलमा थुप्रै उदाहरणहरू दिनुभएको छ जसबाट हामी उहाँका विश्‍वासी सेवकहरूले कसरी शरीरमा एक किसिमको छेस्को सहन सके भनेर बुझ्न सक्नेछौं। तिनीहरू हामीजस्तै साधारण, असिद्ध मानिसहरू थिए। “गवाहीका मेघ[मध्ये]” कतिपयको उदाहरणलाई विचार गर्दा “हाम्रा सामनेमा राखिदिएको दौड धीरजसँग” दौड्‌न मदत पाउन सक्छौं। (हिब्रू १२:१) तिनीहरूले सहेको कुरामा मनन गर्दा शैतानले हामी विरुद्ध प्रयोग गर्ने जुनसुकै छेस्को पनि सहन सक्छौं भन्‍ने कुरामा हाम्रो विश्‍वास बढ्‌न सक्छ।

मपीबोशेतलाई पिरोलिरहेको छेस्को

९, १०. (क) मपीबोशेतले कुन कारणले गर्दा शरीरमा एक किसिमको छेस्को अनुभव गर्नुपऱ्‍यो? (ख) राजा दाऊदले मपीबोशेतप्रति कस्तो दया देखाए र हामी कसरी दाऊदको अनुकरण गर्न सक्छौं?

९ दाऊदको मित्र, जोनाथनको छोरा मपीबोशेतलाई विचार गर्नुहोस्‌। मपीबोशेत पाँच वर्षको हुँदा तिनले आफ्नो बुबा, जोनाथन र हजुरबुबा, राजा शाऊलको हत्या भएको खबर सुने। यस केटाको धाईआमा अतालिन्‌ र उसले “तिनलाई बोकेर भागी, तर त्यो हतार हतार गरी जाँदा तिनी लड़े, र लंगड़ा भए।” (२ शमूएल ४:४) यो अपांग अवस्था मपीबोशेतको लागि ठूलो छेस्को भएको हुनुपर्छ र हुर्कंदै जाँदा तिनले निकै अप्ठ्यारा परिस्थितिहरूको सामना गर्नुपरे होलान्‌।

१० केही वर्षपछि राजा दाऊदले जोनाथनप्रतिको ठूलो प्रेमको खातिर मपीबोशेतलाई दया देखाए। दाऊदले शाऊलको जम्मै सम्पत्ति उसैलाई सुम्पे र शाऊलको नोकर सीबालाई तिनको जग्गा-जमिन हेरचाह गर्ने जिम्मा लगाए। दाऊदले मपीबोशेतलाई यसो भने: “तिमी मेरो टेबलमा बसेर मसँगै खानेछौ।” (२ शमूएल ९:६-१०) निस्सन्देह, दाऊदले दया देखाउँदा मपीबोशेतले ठूलो सान्त्वना पाउनुका साथै तिनको अपांग अवस्थाको पीडा कम गर्न मदत मिल्यो। कस्तो राम्रो पाठ! शरीरमा एक किसिमको छेस्को भोगिरहेकाहरूलाई हामीले पनि दया देखाउनुपर्छ।

११. सीबाले मपीबोशेतबारे कस्तो झूटा कुरा गऱ्‍यो र उसले बताएको कुरा झूटो थियो भनेर हामी कसरी थाह पाउन सक्छौं? (पादटिप्पणी हेर्नुहोस्‌।)

११ पछि, मपीबोशेतले आफ्नो शरीरमा अर्को छेस्को पनि सहनुपऱ्‍यो। तिनको नोकर सीबाले राजा दाऊदलाई तिनको विषयमा भए नभएको कुरा लगाए। त्यतिबेला दाऊद आफ्नो छोरा अब्शालोमको विद्रोहको कारण यरूशलेमबाट भागिरहेका थिए। सीबाले मपीबोशेत राजाको सिंहासन हडप्ने लोभमा यरूशलेममै बसेका हुन्‌ भन्‍ने झूटो कुरा लाए।a दाऊदले सीबाको झूटो कुरा पत्याए र मपीबोशेतको सारा सम्पत्ति त्यस फटाहालाई दिए!—२ शमूएल १६:१-४.

१२. मपीबोशेतले आफ्नो अवस्थाप्रति कस्तो प्रतिक्रिया देखाए र तिनी हाम्रोलागि किन असल उदाहरण हो?

१२ तथापि, अन्तमा मपीबोशेतले दाऊदलाई भेटेपछि सबै तथ्य कुरा बताए। तिनले दाऊदलाई साथ दिन तयारी गर्दै थिए तर सीबाले तिनलाई छक्याए र राजाकहाँ तिनको सट्टा आफू जाने कुरा गरे। के दाऊदले आफ्नो गल्ती सच्याए? केही हदसम्म। तिनले सर-सम्पत्ति ती दुई जनालाई बाँडिदिए। यस अवस्थामा पनि मपीबोशेतले अर्को छेस्को सहनुपऱ्‍यो। के तिनी साह्रै निराश भए? के तिनले साह्रै अन्याय भयो भन्दै दाऊदको निर्णयको विरोध गरे? गरेनन्‌, तर राजाको इच्छालाई नम्रतासाथ स्वीकारे। तिनले सकारात्मक पक्षलाई हेरे र इस्राएलको वैधानिक राजा सुरक्षित फर्कन सकेकोमा रमाए। मपीबोशेतले अपांग अवस्था, झूट र निराशा सबै सहेर उत्कृष्ट उदाहरण बसाले।—२ शमूएल १९:२४-३०.

नहेम्याहले परीक्षाहरू सहे

१३, १४. यरूशलेमका पर्खालहरू पुनर्निर्माण गर्न फर्कंदा नहेम्याहले कस्ता छेस्काहरू सहनुपऱ्‍यो?

१३ सा.यु.पू. पाँचौं शताब्दीमा पर्खालहरू भत्किएको यरूशलेम शहर फर्केका नहेम्याहले सहनुपरेको लाक्षणिक छेस्कोलाई विचार गर्नुहोस्‌। तिनले त्यो शहर साँच्चै असुरक्षित हुनुका साथै पुनर्स्थापना गर्न फर्केका यहूदीहरू पनि अव्यवस्थित, निरुत्साहित र यहोवाको नजरमा अशुद्ध छन्‌ भनी थाह पाए। आर्ट-जारसेज राजाले यरूशलेमका पर्खालहरू पुनर्निर्माण गर्ने अधिकार दिएको भए तापनि यो अभियान वरपरका राष्ट्रका राज्यपालहरूलाई मन परेको थिएन भनेर नहेम्याहले बुझे। “इस्राएलको भलोलाई चाहने कोही एक जना मानिस आएका छन्‌ भन्‍ने कुरा . . . सुनेर तिनीहरू साह्रै अप्रसन्‍न भए।”—नहेम्याह २:१०.

१४ ती विदेशी विद्रोहीहरूले जसरी भए पनि नहेम्याहको कामलाई रोक्न खोजे। तिनीहरूको धम्की, झूट, गलत कुरा, डर त्रासलगायत तिनलाई निराश पार्न पठाइएका जासुसहरू तिनको लागि शरीरमा एक किसिमको छेस्को भएको हुनुपर्छ। के तिनी शत्रुहरूको चालको सिकार भए? भएनन्‌! तिनले परमेश्‍वरमा पूरा भरोसा राखे, तिनी अलिकति पनि ढलपल भएनन्‌। यस प्रकार, नहेम्याहले यरूशलेमका पर्खालहरू पुनर्निर्माण गर्दा यहोवाले नहेम्याहलाई मायालु सहयोग प्रदान गर्नुभएको कुरा प्रमाणित भयो।—नहेम्याह ४:१-१२; ६:१-१९.

१५. यहूदीहरूमाझ व्याप्त कस्ता समस्याहरूले नहेम्याहलाई असाध्यै पिरल्यो?

१५ राज्यपालको हैसियतमा नहेम्याहले परमेश्‍वरका जनहरूमाझ व्याप्त थुप्रै समस्याहरू पनि सामना गर्नुपऱ्‍यो। यी कठिनाइहरू तिनलाई असाध्यै पिरोल्ने छेस्कोहरूझैं थिए किनभने त्यसले यहोवासितको मानिसहरूको सम्बन्धलाई असर गर्थ्यो। धनीहरूले चर्को कर उठाइरहेका थिए भने गरिबहरूले चाहिं ऋण र फारसलाई कर बुझाउन आफ्नो जग्गाजमिन बेच्नुका साथै आफ्ना बालबच्चालाई दासत्वमा बेच्नु परिरहेका थिए। (नहेम्याह ५:१-१०) थुप्रै यहूदीहरूले विश्राम दिन भंग गर्नुका साथै लेवीहरू र मन्दिरलाई कुनै सहयोग पुऱ्‍याइरहेका थिएनन्‌। साथै, कतिपयले त “अश्‍दोद, अम्मोन र मोआबका स्त्रीहरूलाई” विवाह गरेका थिए। यो सबै देखेर नहेम्याहलाई साह्रै दुःख लागेको हुनुपर्छ! तर यस्ता कुनै पनि छेस्कोको कारण तिनले लत्तो छोडेनन्‌। पटक-पटक तिनी परमेश्‍वरको धार्मिक नियमको जोसिलो समर्थकको रूपमा खडा भए। हामी पनि नहेम्याहजस्तै होऔं र अरूको गलत आचरणले गर्दा यहोवाको वफादार सेवा गर्नदेखि नपन्छिऔं।—नहेम्याह १३:१०-१३, २३-२७.

अरू थुप्रै विश्‍वासी जनहरूले सहे

१६-१८. इसहाक, रिबेका, हन्‍ना, दाऊद र होशेले कस्तो पारिवारिक कलह भोग्नुपऱ्‍यो?

१६ बाइबलमा त्यस्ता थुप्रै व्यक्‍तिहरूको उदाहरण छ, जसले छेस्कोरूपी कष्टदायी परिस्थिति सहे। पारिवारिक समस्या पनि एउटा छेस्को हो। एसावकी दुइटी पत्नीहरूले गर्दा तिनको आमाबाबु “इसहाक र रिबेकाको जीवन अमिलो हुन गयो।” रिबेकाले त ती केटीहरूले गर्दा आफ्नो जीवन नै हैरान भइसक्यो समेत भने। (उत्पत्ति २६:३४, ३५; २७:४६) हन्‍नालाई पनि विचार गर्नुहोस्‌। तिनी निस्सन्तान भएकी हुँदा तिनलाई आफ्नो सौता, पनिन्‍नाले ‘दुःख दिन्थिन्‌।’ हुनसक्छ, हन्‍नाले यस्तो पीडा आफ्नो घरमा भोग्थिन्‌। सबै परिवार शिलोमा भेला हुँदा पनिन्‍नाले तिनलाई नातेदार तथा साथीहरू सबैको अगाडि पनि गिज्याउने गर्थिन्‌। यसो हुँदा छेस्को हन्‍नाको शरीरमा झन्‌ झन्‌ भित्र गडिंदै गएजस्तो भयो।—१ शमूएल १:४-७.

१७ आफ्नो ससुरा, राजा शाऊलको बेकारको डाहले गर्दा दाऊदले के-के सहनुपऱ्‍यो होला, विचार गर्नुहोस्‌ त। दाऊद आफ्नो ज्यान जोगाउन एन-गदीको उजाडस्थानको गुफामा लुके र त्यहाँ खतरनाक चट्टानहरू हुँदो भाग्नुपऱ्‍यो। आफूले शाऊल विरुद्ध केही खराबी नगर्दा नगर्दै पनि यस्तो अन्याय भोग्नुपर्दा तिनलाई असाध्यै रिस उठेको हुनुपर्छ। तैपनि, दाऊदले शाऊलको डाहको कारण वर्षौंसम्म भगुवा जीवन बिताउनुपऱ्‍यो।—१ शमूएल २४:१४, १५; हितोपदेश २७:४.

१८ अगमवक्‍ता होशेले भोग्नुपरेको पारिवारिक कलह कल्पना गर्नुहोस्‌। तिनकी पत्नी व्यभिचारी भइन्‌। पत्नीको अनैतिकता तिनको हृदयमा चसचस घोच्ने छेस्कोसरह भएको हुनुपर्छ। अनि त्यस्तो अवैध सम्बन्धबाट तिनकी पत्नीले दुईटा सन्तान जन्माउँदा तिनलाई झनै कस्तो वेदना भयो होला!—होशे १:२-९.

१९. अगमवक्‍ता मीकायालाई कस्तो सतावट दिइयो?

१९ अर्को प्रकारको छेस्को हो, सतावट। अगमवक्‍ता मीकायाको अनुभवलाई विचार गर्नुहोस्‌। राजा आहाबको चारैतिर झूटा अगमवक्‍ताहरू हुनु अनि आहाबले तिनीहरूको सरासर झूटो कुरा पत्याउँदा धर्मी मीकायालाई साह्रै पीडादायी भएको हुनुपर्छ। त्यसकारण, सबै अगमवक्‍ताहरूले “झूट बोल्ने आत्मा[ले]” बोलिरहेका छन्‌ भनी मीकायाले आहाबलाई बताउँदा ती ठगहरूको मूलीले के गरे? “मीकायालाई मुखमा हिर्काए!” रामोत-गिलादलाई जित्न खोज्नु बेकार हुनेछ भन्‍ने यहोवाको चेताउनी पालन नगर्ने आहाबको व्यवहार झनै नराम्रो थियो। आहाबले मीकायालाई कैदीलाई दिने रोटी र पानी मात्र दिएर थुनामा हाले। (१ राजा २२:६, ९, १५-१७, २३-२८) यर्मिया र तिनका हत्याराहरूले तिनीप्रति कस्तो व्यवहार गरेका थिए, त्यो पनि नबिर्सनुहोस्‌।—यर्मिया २०:१-९.

२०. नाओमीले कस्तो किसिमको छेस्को सहनुपऱ्‍यो र तिनले कस्तो इनाम पाइन्‌?

२० प्रिय जनको मृत्यु पनि शरीरमा एक किसिमको छेस्कोसरह हुने दुःखदायी अवस्था हुन सक्छ। नाओमीले आफ्नो पति तथा दुई छोराको मृत्युको दुःख सहनुपऱ्‍यो। यस्तो पीडा सहँदै तिनी बेतलेहेम फर्किन्‌। तिनले मलाई नाओमी होइन, मारा भनी बोलाउनु भनेर आफ्ना साथीहरूलाई भने जुन नाउँले तिनले भोगेकी पीडालाई झल्काउँछ। तर अन्तमा यहोवाले तिनको धीरजको इनामस्वरूप एउटा नाति दिनुभयो र त्यही नाति मसीहको पूर्वज भए।—रूथ १:३-५, १९-२१; ४:१३-१७; मत्ती १:१, ५.

२१, २२. अय्यूबले कस्तो क्षति भोग्नुपऱ्‍यो र तिनले कस्तो प्रतिक्रिया देखाए?

२१ अय्यूबले आफ्ना दश जना प्रिय सन्तानको अकस्मात्‌ हिंसात्मक मृत्यु भएको खबरका साथै आफ्ना सबै गाईवस्तु तथा नोकरचाकरको क्षति भोग्नुपर्दा कस्तो महसुस गरे होलान्‌। छिनभरमै तिनको सारा संसार डुबेझैं भयो! यी घटनाहरूले गर्दा अलमल्लमा परेका अय्यूबलाई शैतानले रोगको सिकार बनाइदिए। अय्यूबलाई यो घातक रोगको कारण मृत्यु होला जस्तो लागेको हुनुपर्छ। असह्‍य पीडा महसुस भएको कारण तिनले बरु मर्नु नै बेस होला भन्ठाने।—अय्यूब १:१३-२०; २:७, ८.

२२ अझ यतिले मात्र नपुगेझैं तिनकी पत्नीले असाध्यै दुःखी अनि विचलित हुँदै तिनलाई यसो भनिन्‌: “परमेश्‍वरलाई सरापेर मरे असल हुन्छ।” दुखिरहेको घाउमा यो कस्तो छेस्को थियो! त्यसपछि, अय्यूबका तीन जना साथीहरूले तिनलाई सान्त्वना दिनुको साटो बांगोटिंगो तर्क गर्दै यो तिनको गुप्त पापको कारण भएको हुनुपर्छ भन्‍ने आरोप लगाए अनि तिनलाई नै दोषी ठहराए। तिनीहरूको गलत तर्कले गर्दा यो छेस्को तिनको घाउमा झन्‌-झन्‌ भित्र गाडिंदै गयो। साथै नबिर्सनुहोस्‌, अय्यूबलाई यी सबै नराम्रा कुराहरू हुनुको कारण र तिनको जीवन बच्ने छ कि छैन भन्‍ने कुरा थाह थिएन। यद्यपि, “यो सबै कुरामा अय्यूबले पाप गरेनन्‌। तिनले परमेश्‍वरलाई अन्यायको दोष पनि लगाएनन्‌।” (अय्यूब १:२२; २:९, १०; ३:३; १४:१३; ३०:१७) एकै चोटि थुप्रै छेस्कोले घोचे तापनि तिनले आफ्नो निष्ठा कहिल्यै तोडेनन्‌। कस्तो प्रोत्साहनजनक कुरा!

२३. हामीले भर्खरै छलफल गरेका विश्‍वासी जनहरूले कसरी विभिन्‍न किसिमको छेस्को सहन सके?

२३ माथि उल्लेख गरिएकाझैं उदाहरणहरू अन्य थुप्रै छन्‌ र त्यस्ता थुप्रै उदाहरणहरू बाइबलमा पाइन्छ। यी सबै विश्‍वासी सेवकहरूले लाक्षणिक छेस्कोहरू सहनुपऱ्‍यो। अनि तिनीहरूले कस्तो बेग्लाबेग्लै समस्याहरू सामना गरे! यद्यपि, तिनीहरू सबैमा एउटा कुराचाहिं समान थियो। तिनीहरूमध्ये कसैले पनि यहोवाको सेवा गर्न छाडेनन्‌। आफूले भोग्नुपरेको कष्टदायी परीक्षाहरूको बावजूद तिनीहरूले यहोवाबाट बल प्राप्त गरेर शैतानलाई परास्त गरे। कसरी? यसपछिको लेखले यस प्रश्‍नको जवाफ दिनेछ र हाम्रो शरीरमा पनि एक किसिमको छेस्को हुँदा कसरी सहन सक्छौं भनेर देखाउनेछ।

[फुटनोट]

a मपीबोशेतजस्तो कृतज्ञ, विनम्र मानिसले त्यस्तो महत्त्वकांक्षी षड्यन्त्र रचेको हुन सक्दैन। तिनलाई आफ्नो बुबा जोनाथनको विश्‍वासी जीवनबारे राम्ररी थाह थियो। राजा शाऊलको छोरा भए तापनि जोनाथनले इस्राएलमाथि राजा हुन यहोवाले दाऊदलाई छान्‍नुभएको छ भनेर नम्रतापूर्वक स्वीकारे। (१ शमूएल २०:१२-१७) मपीबोशेतका ईश्‍वरभीरु बुबा र दाऊदको वफादार मित्रको हैसियतमा जोनाथनले आफ्नो सानो छोरालाई यसरी राज्य शक्‍ति हडप्न सिकाएको हुन सक्दैन थियो।

तपाईं कस्तो जवाफ दिनुहुन्छ?

• हामीले भोग्ने समस्याहरू किन शरीरको छेस्कोसित तुलना गर्न सकिन्छ?

• मपीबोशेत र नहेम्याहले सहनु परेका केही छेस्कोहरू के-के हुन्‌?

• शरीरमा विभिन्‍न किसिमको छेस्को सहने पुरुष तथा स्त्रीहरूको धर्मशास्त्रीय उदाहरणहरूमध्ये तपाईंको मन छोएको अनुभव कुनचाहिं हो र किन?

[पृष्ठ १५-मा भएका चित्रहरू]

मपीबोशेतले आफ्नो अपांग अवस्था, झूट र निराशा सहनुपऱ्‍यो

[पृष्ठ १६-मा भएको चित्र]

नहेम्याहले सतावटको बावजूद धैर्य धारण गरे

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने