प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w02 ७/१ pp. २०-२२
  • के तपाईंको शिक्षा प्रभावकारी छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंको शिक्षा प्रभावकारी छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • एज्राको उदाहरणबाट सिक्ने
  • “एज्राले . . . मन दिएका थिए”
  • यहोवाको “व्यवस्था अध्ययन गर्न”
  • पारिवारिक तवरमा “परमप्रभुको व्यवस्था अध्ययन गर्न”
  • “पालन गर्न”
  • “इस्राएलमा धर्म-विधि र धार्मिकविचार सिकाउन”
  • एज्राले परमेश्‍वरको व्यवस्था सिकाए
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • एज्राको पुस्तकका विषेशताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • अचानक समस्या आइपर्दा यहोवाले साथ दिनुहुन्छ भनेर ढुक्क हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • एज्राको आचरणबाट यहोवाको महिमा भयो
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
w02 ७/१ pp. २०-२२

के तपाईंको शिक्षा प्रभावकारी छ ?

आमाबाबु, प्राचीन, सुसमाचारका उद्‌घोषकहरू सबै जना शिक्षक हुनुपर्छ। आमाबाबुले छोराछोरीलाई सिकाउँछन्‌, प्राचीनहरूले मसीही मण्डलीका सदस्यहरूलाई सिकाउँछन्‌ अनि सुसमाचारका उद्‌घोषकहरूले नवजिज्ञासुहरूलाई सिकाउँछन्‌। (व्यवस्था ६:६, ७; मत्ती २८:१९, २०; १ तिमोथी ४:१३, १६) आफ्नो शिक्षालाई अझ प्रभावकारी बनाउन तपाईं के गर्न सक्नुहुन्छ? एउटा तरिका हो, तपाईंले परमेश्‍वरको वचनमा वर्णन गरिएका योग्य शिक्षकहरूको उदाहरण तथा तरिकालाई नकल गर्न सक्नुहुन्छ। जस्तै, एज्रा।

एज्राको उदाहरणबाट सिक्ने

एज्रा २,५०० वर्षअघि बेबिलोनमा बसोबास गर्ने हारूनको वंशका पूजाहारी थिए। तिनी सा.यु.पू. ४६८ मा यरूशलेम गएर त्यहाँका यहूदीहरूमाझ शुद्ध उपासनालाई बढाउने प्रयास गरे। (एज्रा ७:१, ६, १२, १३) यसको लागि तिनले मानिसहरूलाई परमेश्‍वरको व्यवस्था सिकाउनुपर्थ्यो। एज्राले आफ्नो शिक्षालाई प्रभावकारी बनाउन के गरे? तिनले केही महत्त्वपूर्ण कदमहरू चाले। एज्रा ७:१० मा उल्लेख गरिएका यी कदमहरूलाई ध्यान दिनुहोस्‌:

“एज्राले [१] परमप्रभुको व्यवस्था अध्ययन गर्न र [२] पालन गर्न औ [३] इस्राएलमा धर्म-विधि र धार्मिकविचार सिकाउन [४] मन दिएका थिए।” आउनुहोस्‌, हामी यी हरेक कदमहरूलाई छोटकरीमा विचार गरौं र त्यसबाट के सिक्न सक्छौं, हेरौं।

“एज्राले . . . मन दिएका थिए”

एक जना किसानले बीउ छर्नुअघि हलो जोतेर माटोलाई मलिलो पारेझैं एज्राले पनि परमेश्‍वरको वचन ग्रहण गर्न प्रार्थनापूर्वक मन दिएका थिए अर्थात्‌ हृदय तयार पारेका थिए। (एज्रा १०:१) अर्को शब्दमा भन्‍ने हो भने, तिनले यहोवाको शिक्षामा ‘मन लगाएका’ थिए।—हितोपदेश २:२.

त्यस्तै गरी राजा यहोशापातले ‘अगुवाइ खोज्न परमेश्‍वरतिर मन लगाए’ भनेर बाइबलले बताउँछ। (२ इतिहास १९:३) त्यसको ठीक विपरीत, “आफ्नो हृदय ठीक नराख्ने” इस्राएलको पुस्तालाई “अट्टेरी र वागी” भनेर वर्णन गरिएको छ। (भजन ७८:८) यहोवाले “हृदयको त्यो गुप्त मानिस” देख्नुहुन्छ। (१ पत्रुस ३:४) हो, “नम्रहरूलाई उहाँले आफ्नो मार्ग सिकाउनुहुनेछ।” (भजन २५:९) तसर्थ, शिक्षकहरूले पनि आज एज्राको यो उदाहरणलाई पछ्याएर प्रार्थनापूर्वक आफ्नो मनलाई तयार पार्नु अत्यन्तै महत्त्वपूर्ण छ!

यहोवाको “व्यवस्था अध्ययन गर्न”

योग्य शिक्षक बन्‍न एज्राले परमेश्‍वरको वचन अध्ययन गर्थे। के तपाईंलाई डाक्टरले सल्लाह वा सुझाउ दिंदा त्यसलाई राम्ररी सुन्‍ने अनि राम्रोसित बुझेको हो कि होइन भनेर पक्का गर्नुहुन्‍न र? पक्कै गर्नुहुन्छ किनभने तपाईंको स्वास्थ्य खतरामा छ। उसोभए, यहोवाले हामीलाई आफ्नो वचन बाइबल र “विश्‍वासी अनि बुद्धिमान दास” मार्फत भनिरहनु भएका कुरा वा सल्लाहलाई झन्‌ कत्ति गहिरिएर ध्यान दिनुपर्ला त। अनि ती सल्लाहहरू हाम्रै जीवनका लागि हुन्‌! (मत्ती ४:४; मत्ती २४:४५-४७) हो, डाक्टरको सल्लाह गलत हुन सक्छ तर “परमप्रभुको व्यवस्था निर्दोष छ।” (भजन १९:७) हामीले त्यसको सत्यताबारे अरूसित सरसल्लाह गरिरहनु पर्दैन।

बाइबलमा समाविष्ट इतिहासका पुस्तकहरूले (सुरुमा एज्राले यी पुस्तकहरू लेख्दा एउटै खण्ड थियो) एज्रा एकदमै निपुण विद्यार्थी थिए भनेर देखाउँछ। ती पुस्तकहरू लेख्न तिनले थुप्रै जानकारीमूलक स्रोतहरूको अध्ययन गरे।a बेबिलोनबाट भर्खरै फर्केका यहूदीहरूलाई आफ्नो राष्ट्रको इतिहासबारे संक्षिप्त जानकारी चाहिएको थियो। तिनीहरूसित आफ्ना धार्मिक उत्सवहरू, मन्दिरमा गरिने सेवा अनि लेवीहरूका कामबारे पर्याप्त ज्ञान थिएन। तिनीहरूका लागि आफ्नो वंशानुगत अभिलेख अपरिहार्य थियो। एज्राले त्यस्ता विषयहरूमा विशेष ध्यान दिए। मसीहको आगमन नहोउन्जेल यहूदीहरू एउटा राष्ट्रको रूपमा आफ्नै देश, मन्दिर, पूजाहारी र शासकहरूका साथमा रहनुपर्ने थियो। एज्राले जम्मा गरेका ती जानकारीहरूले गर्दा एकता र साँचो उपासना कायम रहन सक्यो।

एज्राको तुलनामा तपाईंको अध्ययन गर्ने बानी कस्तो छ? लगनशील भई बाइबल अध्ययन गर्दा तपाईंले प्रभावकारी ढंगमा बाइबल सिकाउन सक्नुहुनेछ।

पारिवारिक तवरमा “परमप्रभुको व्यवस्था अध्ययन गर्न”

यहोवाको व्यवस्था अध्ययन गर्ने भनेको व्यक्‍तिगत तवरमा मात्र होइन। पारिवारिक अध्ययन यसो गर्ने सर्वोत्तम मौका हो।

नेदरल्याण्ड्‌सका दम्पती यान र युलियाले आफ्ना दुई छोराहरू जन्मेको दिनदेखि नै ठूलो स्वरले पढेर सुनाउने गर्थे। अहिले ईभो १५ वर्ष र एडो १४ वर्ष पुगिसकेका छन्‌। तिनीहरू अहिले पनि हप्ताको एकपल्ट पारिवारिक अध्ययन गर्छन्‌। यान यसो भन्छन्‌: “हाम्रो उद्देश्‍य अध्ययनमा तीनथुप्रो सामग्रीहरू समावेश गर्नु होइन, बरु छलफल गरिएका कुराहरू छोराहरूले बुझून्‌ भन्‍ने हो।” तिनी अझ यसो भन्छन्‌: “हाम्रा छोराहरू धेरै अनुसन्धान गर्छन्‌। तिनीहरू आफूले कहिल्यै नसुनेका शब्दहरू बुझ्ने प्रयास गर्छन्‌ र बाइबलका पात्रहरूबारे पढ्‌दा ती व्यक्‍तिहरू कुन समयका हुन्‌, को हुन्‌, के काम गर्थे भन्‍ने जस्ता थुप्रै कुराहरू जाँच्ने गर्छन्‌। तिनीहरूले पढ्‌न जानेदेखि नै इन्साइट अन द स्क्रिप्चर्स, शब्दकोश तथा इन्साइक्लोपीडिया पल्टाएर अनुसन्धान गर्ने गरेका छन्‌। यसले पारिवारिक अध्ययनलाई अझ रमाइलो बनाउँछ। उनीहरू सधैं पारिवारिक अध्ययन कुन बेला होला भनेर पर्खिरहेका हुन्छन्‌।” यसबाट भएको थप लाभ हो, तिनीहरू दुवै भाषिक ज्ञानमा आफ्ना कक्षाका अरू केटाहरूभन्दा अग्रपंक्‍तिमा आउँछन्‌।

नेदरल्याण्ड्‌सकै अर्का दम्पती जोन र टीनिले आफ्ना छोरा एस्ली (अहिले २४ वर्ष पुगेर अर्कै मण्डलीमा अग्रगामीको रूपमा कार्यरत) र छोरी लिन्डासँग (हाल २० वर्ष पुगेर असल जवान भाइसित विवाहित) अध्ययन गरे। तथापि, तिनीहरूले प्रकाशनमै छापिएका प्रश्‍नोत्तरहरू चलाउनुको सट्टा छोराछोरीको उमेर तथा आवश्‍यकतालाई ध्यानमा राखेर पारिवारिक अध्ययन गरे। तिनीहरूले कुन तरिका चलाए?

आफ्ना छोराछोरीले “पाठकका प्रश्‍नहरू” (प्रहरीधरहरा-बाट) र “बाइबलको दृष्टिकोण”-का (ब्यूँझनुहोस्‌!-बाट) चाखलाग्दा विषयहरू छान्थे भनेर जोन बताउँछन्‌। पछि, तिनीहरूले तयारी गरेका कुराहरू प्रस्तुत गर्थे, जसले गर्दा पारिवारिक छलफल सधैं चाखलाग्दो हुन्थ्यो। यसरी जवानहरू अनुसन्धान गर्न र आफ्नो अध्ययनको परिणाम छलफल गर्न पनि खप्पिस भए। के तपाईं पनि आफ्ना छोराछोरीसित “परमप्रभुको व्यवस्था अध्ययन” गर्नुहुन्छ? यसरी तपाईंले आफ्नो व्यक्‍तिगत शिक्षण क्षमता विकास गर्ने मात्र होइन तर आफ्ना छोराछोरीहरूलाई पनि अझ प्रभावकारी शिक्षकहरू हुन मदत गर्नुहुनेछ।

“पालन गर्न”

एज्राले आफूले सिकेका कुराहरू पालन गरे। उदाहरणका लागि, बेबिलोनमै छँदा तिनको जीवन शैली सुविधा सम्पन्‍न थिए होलान्‌। तैपनि, तिनले टाढाका आफ्ना मानिसहरूलाई मदत गर्न सकिन्छ भन्‍ने कुरा थाह पाएपछि बेबिलोनको सुखसयलको सट्टा धेरै टाढा पर्ने शहर यरूशलेमको असुविधा, समस्या तथा जोखिमले भरिएको जीवन रोजे। स्पष्टतया, एज्राले बाइबलको ज्ञान मात्र हासिल गरिरहेका थिएनन्‌ तर आफूले सिकेका कुराहरूअनुरूप काम गर्न तयार थिए।—१ तिमोथी ३:१३.

पछि, यरूशलेममा रहँदा एज्राले फेरि आफूले सिकेका र सिकाएका कुराहरू पालन गरेर देखाए। इस्राएलीहरूले परदेशी आइमाईहरूसित विवाह गरेको कुरा सुनेपछि तिनले देखाएको प्रतिक्रियाबाट स्पष्ट भयो। तिनले ‘आफ्नो पोशाक र खाष्टो फारे, र आफ्नो कपाल र दाह्रीका केश उखेलेर बेलुकी समयसम्मै अवाक्‌ भइरहे’ भनेर बाइबल अभिलेखले बताउँछ। तिनले यहोवाको सामु आफू ‘चूर्ण अवस्थामा पुगेको र आफ्नो अनुहार उठाउन पनि लज्जित भएको’ महसुस गरे।—एज्रा ९:१-६.

तिनलाई परमेश्‍वरको व्यवस्थाको अध्ययनले साह्रै असर पारेको थियो! ती मानिसहरूको अनाज्ञाकारीताले गर्दा भोग्नुपर्ने दुःखदायी परिणामहरू एज्राको सामु स्पष्ट थियो। स्वदेश फर्कन पाएका यहूदीहरूको संख्या पनि थोरै थियो। तिनीहरू वैवाहिक बन्धनद्वारा छ्यासमिस भए भने अन्ततः तिनीहरू पनि वरपरका मूर्तिपूजक राष्ट्रहरूजस्तै हुनेथिए र शुद्ध उपासना यस पृथ्वीबाट सजिलै विलाउने थियो!

खुसीको कुरा, एज्राको वफादार भय तथा जोसको उदाहरणले इस्राएलीहरूलाई आफ्नो मार्ग सुधार्न उत्प्रेरित गऱ्‍यो। तिनीहरूले आफ्ना विदेशी पत्नीहरू त्यागे। तीन महिनाभित्र सबै कुरा सुल्झियो। परमेश्‍वरको व्यवस्थाप्रति एज्राको व्यक्‍तिगत वफादारीले तिनको शिक्षालाई अझ बढी प्रभावकारी बनायो।

आज पनि त्यही कुरा लागू हुन्छ। एक जना मसीही बुबाले यसो भने: “केटाकेटीहरू तपाईंले भनेजस्तो गर्दैनन्‌। तपाईंले गरेजस्तै गर्छन्‌!” मसीही मण्डलीमा पनि त्यही सिद्धान्त लागू हुन्छ। असल उदाहरण बसाल्ने प्राचीनहरूले आफ्नो शिक्षा मण्डलीले पालन गर्ने आशा गर्न सक्छन्‌।

“इस्राएलमा धर्म-विधि र धार्मिकविचार सिकाउन”

एज्राको शिक्षा प्रभावशाली हुनुमा अर्को एउटा कारण छ। तिनले आफ्नै विचारधाराहरू सिकाएनन्‌ तर तिनले “धर्म-विधि र धार्मिकविचार” सिकाए। ती हुन्‌, यहोवाको धर्म-विधि अर्थात्‌ व्यवस्था। यो तिनले पूजाहारीको हैसियतमा पूरा गर्नुपर्ने दायित्व थियो। (मलाकी २:७) तिनले धार्मिक विचार सिकाए र व्यवस्थाअनुसारै न्यायी र निष्पक्ष ढंगमा आफूले सिकाएका कुराहरू आफ्नो व्यवहारमा उतारे। अख्तियारमा रहनेहरूले धार्मिक विचार प्रकट गर्दा स्थायित्व कायम हुन्छ र स्थायी फल फलाउँछ। (हितोपदेश २९:४) त्यस्तै गरी परमेश्‍वरको वचनबारे ज्ञान हासिल गरेका मसीही प्राचीन, आमाबाबु तथा राज्यका उद्‌घोषकहरूले यहोवाको धर्म-विधि तथा धार्मिक विचारहरू मण्डली, आफ्ना परिवार तथा जिज्ञासु व्यक्‍तिहरूलाई सिकाउँदा आध्यात्मिक स्थायित्व कायम हुन्छ।

के तपाईंले पनि विश्‍वासी एज्राको उदाहरणलाई पूर्णतया अनुकरण गर्नुभएको खण्डमा तपाईंको शिक्षा अझ बढी प्रभावकारी हुनेछैन र? त्यसकारण, तपाईंले पनि ‘यहोवाको व्यवस्था अध्ययन गर्न, पालन गर्न, धर्म-विधि र धार्मिकविचार सिकाउन मन दिनुहोस्‌।’—एज्रा ७:१०.

[फुटनोट]

a तिनले प्रयोग गरेका २० वटा स्रोतको सूची यहोवाका साक्षीहरूद्वारा प्रकाशित इन्साइट अन द स्क्रिप्चर्स खण्ड १ को पृष्ठ ४४४-५ मा पाउन सकिन्छ।

[पृष्ठ २२-मा भएको पेटी/चित्र]

एज्राको शिक्षालाई कुन कुराले प्रभावकारी बनायो?

१. तिनले आफ्नो मनलाई तयार पारे

२. तिनले यहोवाको व्यवस्था अध्ययन गरे

३. आफूले सिकेका कुराहरूलाई पालन गर्ने सन्दर्भमा राम्रो उदाहरण बसाले

४. तिनले धर्मशास्त्रीय विचारधारा सिकाए

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने