येशू ख्रीष्ट उहाँ पृथ्वीमा आउनुभएको थियो भन्ने प्रमाण
के तपाईं अल्बर्ट आइनस्टाइन नाउँ गरेको मानिसको अस्तित्व थियो भनी विश्वास गर्नुहुन्छ? तपाईंले नहिचकिईकन गर्छु भनी जवाफ दिनुहोला तर किन? अधिकांश मानिसहरूले तिनलाई व्यक्तिगत रूपमा भेटेका छैनन्। यद्यपि, तिनका उपलब्धिहरूबारे भरपर्दा रिपोर्टहरूले तिनको अस्तित्वको प्रमाण दिन्छ। तिनले पत्ता लगाएका वैज्ञानिक कुराहरूको प्रयोगद्वारा तिनको अस्तित्वको प्रभाव महसुस गर्न सकिन्छ। उदाहरणका लागि, आणविक शक्तिबाट उत्पन्न विद्युत्बाट थुप्रै मानिसहरूले लाभ उठाउँछन् जसको आइनस्टाइनको प्रख्यात समीकरण, E=mc2 सँग नजिकको सम्बन्ध छ (उत्पादन शक्ति भनेको नाश भएको पिण्डलाई प्रकाशको गतिको वर्गले गुणन गर्दा निस्कने परिणाम)।
यही तर्क येशू ख्रीष्टलाई पनि लागू हुन्छ जसलाई इतिहासको सबैभन्दा प्रभावकारी व्यक्ति भनी मानिन्छ। उहाँबारे लेखिएका कुराहरू र उहाँले पार्ने प्रभावहरूको प्रत्यक्ष प्रमाणले उहाँको अस्तित्वको शंका गर्ने ठाउँ नै नहुने गरी प्रमाण दिन्छ। अघिल्लो लेखमा उल्लेख गरिएअनुसार पुरातात्त्विक उत्खननमा भेटिएको याकूबको शिलालेख चाखलाग्दो कुरा भए तापनि येशूको अस्तित्वको प्रमाण यो वा अन्य कुनै पुरातात्त्विक महत्त्वका कुराहरूमा भर पर्दैन। तथ्य कुरा के हो भने, हामीले येशूको अस्तित्वको प्रमाण इतिहासकारहरू र उहाँका अनुयायीहरूले उहाँबारे लेखेको विषयवस्तुहरूमा पाउन सक्छौं।
इतिहासकारहरूको गवाही
उदाहरणका लागि, प्रथम शताब्दीका यहूदी इतिहासकार फ्लेभियस जोसेफसको गवाहीलाई विचार गर्नुहोस् जो एक जना फरिसी थिए। तिनले जूइश एन्टीक्वीटिज नाउँ गरेको आफ्नो पुस्तकमा येशू ख्रीष्टबारे उल्लेख गरेका छन्। जोसेफसले मसीहको रूपमा येशू पहिलो चोटि उल्लेख गरेको प्रमाणिकताबारे कसै-कसैले शंका गरे तापनि दोस्रो चोटि उल्लेख गर्दा कमैले मात्र शंका व्यक्त गर्छन् भनी यशिभा विश्वविद्यालयका प्राध्यापक लुइस एच. फिल्डम्यान बताउँछन्। त्यहाँ जोसेफसले यसो भने: “[मुख्य पूजाहारी अनानसले] महासभाका न्यायकर्ताहरूलाई बोलाए र तिनीहरूसामु ख्रीष्ट भनिने येशूको भाइ याकूबलाई खडा गराए।” (जूइश एन्टीक्वीटिज, २०, २००) हो, एक जना फरिसी, जो येशूका कट्टर विरोधी थिए, तिनीहरूले “येशूको भाइ, याकूबको” अस्तित्व स्वीकारे।
येशूको अस्तित्वको प्रभाव उहाँका अनुयायीहरूको गतिविधिमा झल्किन्थ्यो। सा.यु. ५९ तिर प्रेरित पावललाई रोममा थुनामा राख्दा यहूदीहरूको प्रमुख मानिसले तिनलाई यसो भने: “यस पन्थको विषयमा ता हामीलाई यति थाह छ, कि जताततै मानिसहरू यसको विरुद्ध मात्रै बोल्दछन्।” (प्रेरित २८:१७-२२) तिनीहरूले येशूका चेलाहरूलाई “यस पन्थ” भने। तिनीहरूको विरुद्धमा जताततै बोलिन्थ्यो भने पक्कै पनि संसारका इतिहासकारहरूले तिनीहरूबारे रिपोर्ट गर्नेछन्, होइन र?
सा.यु. ५५ तिर जन्मेका, संसारका महान् इतिहासकार मानिने ट्यासिटसले पनि आफ्नो पुस्तक एनल्स-मा मसीहीहरूबारे उल्लेख गरेका छन्। सा.यु. ६४ मा रोममा लागेको ठूलो आगोको लागि नेरोले मसीहीहरूमाथि लगाएको दोषबारे तिनले यस्तो लेखे: “नेरोले तिनीहरूमाथि दोष लगाए र जनताले अत्यन्तै घृणा गर्ने मसीही भनिने समूहलाई सबैभन्दा क्रूर सास्ती दिए। ख्रीष्टस [ख्रीष्ट] अथवा जसबाट मसीहीधर्म सुरु भयो, टाइबेरियसको शासनकालमा, हाम्रा एक जना बडाहाकिम पोन्तियस पिलातसको हातबाट तिनले मृत्युदण्ड भोग्नुपरेको थियो।” यो विवरण येशूसम्बन्धी बाइबलमा दिइएको जानकारीसँग मेल खान्छ।
येशूका अनुयायीहरूबारे टिप्पणी गर्ने अर्का लेखक बिथनियाका बडाहाकिम प्लाइनी द यंगर हुन्। मसीहीहरूलाई कसरी ठेगानमा ल्याउने भनेर सा.यु. १११ तिर प्लाइनीले सम्राट् ट्राजानलाई चिठी लेखे। मसीही भएको भनी झूटो अभियोग लागेका मानिसहरूले आफू मसीही होइन भनी प्रमाणित गर्नको लागि देवीदेवताहरूलाई बिन्ती गर्नुका साथै ट्राजानका मूर्तिलाई उपासना गर्नुपर्नेछ भनी प्लाइनीले लेखे। प्लाइनीले अझ यस्तो लेखे: “साँच्चैका मसीहीहरूलाई यी सबै गर्न जबरजस्ती गरेर केही फाइदा छैन।” यसले पनि ख्रीष्टको अस्तित्वको यथार्थताको प्रमाण दिन्छ जसका अनुयायीहरू उहाँको खातिर आफ्नो ज्यान समेत दिन तयार थिए।
प्रथम दुई शताब्दीका इतिहासकारहरूले येशू ख्रीष्ट अनि उहाँका अनुयायीहरूबारे उल्लेख गरेका कुराहरूको सारांश निकालेपछि दी इनसाइक्लोपीडिया ब्रिटानिका (२००२ संस्करण) यस्तो निष्कर्ष निकाल्छ: “यी छुट्टाछुट्टै विवरणहरूले पुरातन समयमा पनि मसीहीधर्मका विरोधीहरूले समेत येशूको अस्तित्वबारे शंका गरेनन् भनी प्रमाणित गर्छ। उहाँको अस्तित्वबारे शंका पहिलो चोटि १८ औं शताब्दीको अन्तमा, १९ औं शताब्दीको दौडान र २० औं शताब्दीको सुरुमा गरिएको थियो र त्यसको पनि पर्याप्त आधार थिएन।”
येशूका अनुयायीहरूको गवाही
“नयाँ नियमले येशूको जीवन र भाग्यको ऐतिहासिक पुनर्निर्माणको लागि आवश्यक सबैजसो प्रमाणहरू दिन्छ र उहाँको महत्त्वबारे प्रारम्भिक मसीहीहरूले लगाएको अर्थबारे पनि बताउँछ” भनी दी इनसाक्लोपीडिया अमेरिकाना बताउँछ। आलोचकहरूले येशूको अस्तित्वको प्रमाणस्वरूप येशूलाई अस्वीकार गर्न पनि सक्छन्। यद्यपि, धर्मशास्त्रीय विवरणमा आधारित दुइटा तर्कले विशेष गरी येशू यस पृथ्वीमा साँच्चै आउनुभएको थियो भनी प्रमाणित गर्न मदत गर्छ।
हामीले माथि उल्लेख गरेझैं आइनस्टाइनका महान् सिद्धान्तहरूले तिनको अस्तित्वको प्रमाण दिन्छ। त्यस्तै गरी, येशूका शिक्षाहरूले पनि उहाँको अस्तित्वको वास्तविकतालाई प्रमाणित गर्छ। उदाहरणका लागि, येशूले दिनुभएको डाँडाको प्रख्यात उपदेशलाई लिनुहोस्। (मत्ती अध्याय ५-७) त्यस उपदेशले पारेको प्रमाणबारे प्रेरित मत्तीले यस्तो लेखे: “भीड उहाँका शिक्षाले छक्क परे। किनकि उहाँले तिनीहरूका शास्त्रीहरूले झैं होइन, तर अख्तियार भएकाले जस्तो गरी सिकाउनुहुन्थ्यो।” (मत्ती ७:२८, २९) शताब्दीऔंको दौडान उक्त उपदेशले मानिसहरूमाथि पारेको प्रभावको सन्दर्भमा प्राध्यापक हान्स डेटर बेट्सले यसो भने: “डाँडाको उपदेशको प्रभाव यहूदी र मसीहीधर्म वा भन्ने हो भने पश्चिमी संस्कृतिमा मात्र सीमित छैन।” तिनले यो उपदेश “विश्वभरि नै मनमोहक हुनु अचम्मको” कुरा हो भने।
डाँडाको उपदेशमा पाइने केही संक्षिप्त र व्यावहारिक शब्दहरूको बुद्धि विचार गर्नुहोस्: “जसले तिम्रो दाहिने गाला चट्काउला त्यसलाई अर्कोतिरको पनि फर्काइदेओ।” “होशियार बस, तिमीहरू मानिसहरूले देखून् भन्ने हेतुले धर्म-कर्म नगर।” “भोलिको निम्ति फिक्री नगर, किनकि भोलिको दिनले आफ्नो फिक्री आफै गर्नेछ।” “आफ्ना मोतीहरू सूँगुरका अगाडि नफाल।” “माग, तिमीहरूलाई दिइनेछ।” “मानिसहरूले तिमीहरूलाई जे जसो गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर।” “साँघुरो ढोकाबाट भित्र पस।” “तिनीहरूका फलबाट तिमीहरूले तिनीहरूलाई चिन्नेछौ।” “हरेक असल रूखले बढिया फल फलाउँछ।”—मत्ती ५:३९; ६:१, ३४; ७:६, ७, १२, १३, १६, १७.
निस्सन्देह, तपाईंले यीमध्ये कुनै-कुनै अभिव्यक्ति वा त्यसको सार सुन्नुभएको होला। सायद तपाईंको भाषामा यी उखानको रूपमा प्रचलित पनि होलान्। यी सबै डाँडाको उपदेशबाट लिइएका हुन्। यस उपदेशले थुप्रै मानिस र संस्कृतिमा पारेको प्रभावले पनि “महान् शिक्षकको” अस्तित्वको सुस्पष्ट प्रमाण दिन्छ।
कल्पना गर्नुहोस्, कोही व्यक्तिले येशू ख्रीष्ट भन्ने मानिसको परिकल्पना गऱ्यो। अनि मानिलिनुहोस्, त्यस व्यक्तिले असाध्यै सिपालु भएर यी शिक्षाहरू बनायो र यो सबै श्रेय बाइबलको येशूलाई दियो। त्यस परिकल्पनाकारले के भरसक येशू तथा उहाँका शिक्षाहरू आमजनतालाई स्वीकार्य हुने खालको बनाउँदैन र? यद्यपि, प्रेरित पावलले यस्तो टिप्पणी गरे: “यहूदीहरू ता चिह्न माग्छन्, औ ग्रीकहरू ज्ञानका खोजमा छन्, तर ती बोलावट भएकाहरूका निम्ति, चाहे यहूदीहरू होस्, चाहे ग्रीकहरू होस्, ख्रीष्ट परमेश्वरको शक्ति र परमेश्वरको ज्ञान हुनुहुन्छ।” (१ कोरिन्थी १:२२, २३) ख्रीष्ट मारिनुभएको सन्देश नता यहूदी न राष्ट्रहरूको लागि नै आकर्षक थियो। तर प्रथम शताब्दीका मसीहीहरूले उद्घोषणा गरेका ख्रीष्ट उहाँ नै हुनुहुन्थ्यो। झुन्ड्याइएको ख्रीष्टको किन चित्रण गरिन्छ? यस प्रश्नको एउटै मात्र चित्तबुझ्दो जवाफ हुनेछ, मसीही युनानी धर्मशास्त्रका लेखकहरूले येशूको जीवनी र मृत्युबारे तथ्य कुराहरू रेकर्ड गरे।
येशूको ऐतिहासिकतालाई समर्थन गर्ने अर्को तर्क, उहाँका अनुयायीहरूले उहाँको शिक्षाको प्रचार गर्न अथक प्रयास गरे। येशूले आफ्नो सेवकाई सुरु गर्नुभएको लगभग ३० वर्षपछि पावलले सुसमाचार “स्वर्गमनि भएका सारा सृष्टिमा प्रचारियो” भन्न सके। (कलस्सी १:२३) हो, विरोधको बावजूद येशूका शिक्षाहरू पुरातन संसारभरि नै फैलियो। मसीही भएको नाताले आफै पनि सतावटको सिकार भएका पावलले यस्तो लेखे: “यदि ख्रीष्ट बिउँतनुभएको होइन भनेता, हाम्रो प्रचार व्यर्थ हो, र तिमीहरूको विश्वास पनि व्यर्थै भयो!” (१ कोरिन्थी १५:१२-१७) पुनरुत्थान हुनु नभएको ख्रीष्टबारे प्रचार गर्नु व्यर्थको हुने थियो भने अस्तित्वमै नभएको ख्रीष्टको प्रचार गर्नु झनै व्यर्थको हुनेथियो। हामीले प्लाइनी दि यंगरको रिपोर्टमा पढेझैं प्रथम शताब्दीका मसीहीहरू ख्रीष्ट येशूको खातिर मर्नसमेत तयार थिए। तिनीहरूले ख्रीष्टको लागि आफ्नो ज्यान खतरामा राखे किनभने उहाँ वास्तविक व्यक्ति हुनुहुन्थ्यो र सुसमाचारको पुस्तकमा रेकर्ड गरेझैं उहाँ यस पृथ्वीमा आउनुभएको थियो।
तपाईंले प्रमाण देख्नुभएको छ
मसीही प्रचारकार्यमा भाग लिनको लागि येशू ख्रीष्टको पुनरुत्थानमा विश्वास गर्नु अत्यावश्यक थियो। येशूले आज पनि पार्नुहुने प्रभावलाई अनुभव गरेर तपाईंले पनि मनको आँखाबाट पुनरुत्थान हुनुभएका ख्रीष्टलाई चित्रण गर्न सक्नुहुन्छ।
येशूलाई झुन्ड्याइनुभन्दा केही समयअघि उहाँले आफ्नो भावी उपस्थितिबारे विस्तृत भविष्यवाणी गर्नुभयो। उहाँले आफ्नो पुनरुत्थान अनि शत्रुहरूलाई सजाय दिने समयको पर्खाइमा परमेश्वरको दायाँ बाहुलीमा बस्ने विषयमा पनि संकेत गर्नुभयो। (भजन ११०:१; यूहन्ना ६:६२; प्रेरित २:३४, ३५; रोमी ८:३४) त्यसपछि उहाँले कारबाही गर्नुहुनेछ र शैतान तथा त्यसका दूतहरूलाई स्वर्गबाट फ्याँकिदिनुहुनेछ।—प्रकाश १२:७-९.
त्यो सबै कहिले हुनेछ? येशूले आफ्ना चेलाहरूलाई ‘उहाँको उपस्थिति र जगत्को अन्तको चिह्न’ दिनुभयो। उहाँको अदृश्य उपस्थितिको चिह्नस्वरूप ठूलठूला युद्ध, अनिकाल, भूँइचालो, झूटा अगमवक्ताहरू देखा पर्ने, अधर्मीहरूको वृद्धि र रोग बिमार पनि हुने थियो। त्यस्ता विपत्तिजनक घटनाहरू हुने आशा गर्न सकिन्थ्यो किनभने शैतान अर्थात् दियाबललाई फ्याँक्नुको अर्थ “पृथ्वी[लाई] . . . धिक्कार” हुनेछ। दियाबल “आफ्नो अल्प समय थाह पाएर . . . ठूलो क्रोधसँग” यस पृथ्वीमा आएको छ। यसबाहेक, “सारा संसारमा सब जातिहरूलाई” परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्नु पनि चिह्नमा समावेश छ।—मत्ती २४:३-१४; प्रकाश १२:१२; लूका २१:७-१९.
येशूले भविष्यवाणी गर्नुभएका घटनाहरू पूरा भएका छन्। सन् १९१४ मा प्रथम विश्वयुद्ध सुरु भएदेखि हामीले येशू ख्रीष्टको अदृश्य उपस्थितिको प्रमाण देखेका छौं। उहाँले परमेश्वरको राज्यको राजाको हैसियतमा शासन गरिरहनुभएको छ र ठूलो प्रभाव पारिरहनुभएको छ। तपाईंको हातमा यस पत्रिका हुनु पनि यस पृथ्वीमा परमेश्वरको राज्य प्रचारकार्य भइरहेको कुराको प्रमाण हो।
येशूको अस्तित्वले पार्ने थप प्रभावबारे बुझ्न तपाईंले बाइबल अध्ययन गर्नुपर्छ। येशूको उपस्थितिसम्बन्धी विवरणबारे यहोवाका साक्षीहरूसँग सोध्नुभए कसो होला?
[पृष्ठ ५-मा भएका चित्रहरू]
जोसेफस, ट्यासिटस र प्लाइनी द यंगरले येशू ख्रीष्ट र उहाँका अनुयायीहरूको उल्लेख गरे
[स्रोत]
All three images: © Bettmann/CORBIS
[पृष्ठ ७-मा भएको चित्र]
येशू वास्तविक व्यक्ति हुनुहुन्थ्यो भनी प्रारम्भिक मसीहीहरू विश्वस्त थिए