प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w03 ७/१५ pp. २९-३१
  • युसिबियस “चर्च इतिहासको पिता”?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • युसिबियस “चर्च इतिहासको पिता”?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • तिनका उल्लेखनीय लेखोटहरू
  • तिनको द्विपक्षीय मनसाय
  • तिनको विस्तृत अनुसन्धान
  • सत्यका प्रेमी?
  • सिक्नुपर्ने पाठ
  • के तपाईंलाई सम्झना छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • महान्‌ कन्स्टेन्टाइन—मसीहीधर्मका योद्धा?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
w03 ७/१५ pp. २९-३१

युसिबियस “चर्च इतिहासको पिता”?

सा.यु. ३२५ मा रोमी सम्राट्‌ कन्स्टेन्टाइनले सबै विशपहरूलाई नाइसियामा भेला हुन आह्वान गरे। तिनको उद्देश्‍य: परमेश्‍वरको पुत्रसँगको सम्बन्धबारे एकदमै विवादमा रहेको विषय सुल्झाउनु। त्यहाँ भेला भएका पुरुषहरूमध्ये एक जना त्यस समयका सबैभन्दा बुद्धिमान्‌ व्यक्‍ति ठानिने सिजेरियाका युसिबियस पनि थिए। युसिबियसले लगनशील भई धर्मशास्त्र अध्ययन गरेका थिए र तिनी मसीही एकेश्‍वरवादका समर्थक थिए।

इन्साइक्लोपीडिया ब्रिटानिका-अनुसार नाइसियाको परिषद्‌मा “कन्स्टेन्टाइन आफैले अध्यक्षता ग्रहण गरे र सक्रियतासाथ छलफल अघि बढाए र . . . पितासँग ख्रीष्टको सम्बन्धमा परिषद्‌ले जारी गरेको धर्मसिद्धान्त, ‘पितासँग एकै हुनुहुन्छ’ भन्‍ने निर्णायक सिद्धान्त तिनी आफैले प्रस्तावित गरे . . . सम्राट्‌देखि अत्यन्तै प्रभावित भएर उपस्थित दुई जना बाहेक बाँकी सबै विशपहरूले आफ्नो इच्छा विपरीत भए तापनि त्यस धार्मिक सिद्धान्तमा हस्ताक्षर गरे।” के युसिबियस ती हस्ताक्षर नगर्ने दुई जनामध्ये थिए? तिनले लिएको अडानबाट हामी कस्तो पाठ सिक्न सक्छौं? आउनुहोस्‌, हामी युसिबियसको पृष्ठभूमि, तिनको योग्यता र उपलब्धिहरूलाई हेरौं।

तिनका उल्लेखनीय लेखोटहरू

सम्भवतः युसिबियसको जन्म सा.यु. २६० तिर प्यालेस्टाइनमा भएको थियो। कलिलै उमेरदेखि तिनले सिजेरियाराको चर्चका प्रमुख पाम्फिलससित संगत गर्न थाले। पाम्फिलसको धर्मविज्ञानसम्बन्धी स्कूलमा भर्ना भएपछि युसिबियस एक जना जेहनदार विद्यार्थी भए। तिनले पाम्फिलसको विशाल पुस्तकालयको व्यापक प्रयोग गरे। युसिबियस आफ्नो अध्ययन र अझ विशेष गरी बाइबलको अध्ययनमा तल्लीन भए। तिनी पाम्फिलसको वफादार मित्र पनि भए र तिनले पछि आफूलाई “पाम्फिलसको युसिबियस” भनेर पनि सम्बोधन गरे।

आफ्ना लक्ष्यहरूको सन्दर्भमा युसिबियसले यस्तो उल्लेख गरे: “मेरो उद्देश्‍य, पवित्र प्रेरितहरूका उत्तराधिकारीहरूको विवरणका साथसाथै हाम्रो उद्धारकको समयदेखि अहिलेसम्म बितेको समयबारे लेख्ने; चर्चको इतिहासमा कुन तरिकामा कतिवटा महत्त्वपूर्ण घटनाहरू भए बताउने; र सबैभन्दा प्रतिष्ठित चर्चका प्रमुख भएकाहरूको र प्रत्येक युगमा ईश्‍वरीय वचन मौखिक वा लिखित रूपमा उद्‌घोषणा गरेकाहरूको नाउँ उल्लेख गर्ने हो।”

हिस्ट्री अफ द क्रिश्‍चियन चर्च भन्‍ने शीर्षक भएको अत्यन्तै सम्मानित पुस्तकको लागि युसिबियसको सम्झना गरिन्छ। सा.यु. ३२४ तिर प्रकाशित तिनको दस खण्डे पुस्तक पुरातन समयदेखिको चर्चको इतिहासको सबैभन्दा महत्त्वपूर्ण पुस्तक मानिन्छ। यस उपलब्धिको कारण युसिबियस चर्च इतिहासको पिता भनेर चिनिए।

चर्च हिस्ट्री-बाहेक युसिबियसले क्रनिकल नाउँको दुई खण्डे पुस्तक पनि लेखे। पहिलो खण्ड संसारको इतिहासको सार थियो। चौथो शताब्दीमा यो संसारको कालक्रमसम्बन्धी छलफलको लागि सन्दर्भस्रोत भयो। दोस्रो खण्डले ऐतिहासिक घटनाका तिथिहरू उल्लेख गरेको थियो। समानान्तर स्तम्भहरू चलाएर युसिबियसले विभिन्‍न राष्ट्रका शाही उत्तराधिकारीहरूको क्रम देखाए।

युसिबियसले मार्टियर्स अफ प्यालेस्टाइन र लाइफ अफ कन्स्टेन्टाइन नाउँ भएको अर्को दुइटा ऐतिहासिक पुस्तक लेखे। पहिलो पुस्तकले सा.यु. ३०३-१० को अवधिलाई ढाकेको छ र त्यस अवधिका शहीदहरूबारे छलफल गरेको छ। युसिबियस ती घटनाहरूका प्रत्यक्षदर्शी भएको हुनुपर्छ। दोस्रोचाहिं सा.यु. ३३७ मा सम्राट्‌ कन्स्टेन्टाइनको मृत्युपछि चार भागको रूपमा प्रकाशित पुस्तकमा महत्त्वपूर्ण ऐतिहासिक विवरणहरू थिए। ऐतिहासिक तथ्यहरू मात्र उल्लेख गर्नुको साटो यो गुणगानले भरिएको छ।

युसिबियसको अपोलोजेटिक कार्यहरूमा समकालीन रोमी राज्यपाल हियरोकल्सलाई दिइएको जवाफ पनि समावेश छ। हियरोकल्सले मसीहीहरूको विरुद्धमा लेख्दा युसिबियसले त्यसको प्रत्युत्तर दिए। यसबाहेक, धर्मशास्त्र ईश्‍वरीय प्रेरणा भएको पुस्तक हो भन्‍ने पक्षमा तिनले ३५ वटा पुस्तक लेखे र यस किसिमका पुस्तकहरूमध्ये सबैभन्दा महत्त्वपूर्ण तथा विस्तृत मानिन्छ। यसमध्ये पहिलो १५ वटाले हिब्रूका पवित्र लेखोटलाई मसीहीहरूले स्वीकारेको प्रमाण दिन खोजेको छ। बाँकी २० वटाचाहिं मसीहीहरूले यहूदी नियमहरूमा मात्र सीमित नरहेर र नयाँ सिद्धान्त तथा चलनहरू स्वीकार्नु सही हो भनी प्रमाण दिइएको थियो। यी पुस्तकहरूले समष्टिगत रूपमा युसिबियसले बुझेअनुसार मसीही धर्मको प्रतिरक्षा गर्छ।

युसिबियस झन्डै ८० वर्ष बाँचे (सा.यु. २६०-३४० तिर) र पुरातन समयका धेरै पुस्तक लेख्ने लेखकहरूमध्ये भए। तिनका लेखोटहरूमा प्रथम तीन शताब्दीका घटनाहरूदेखि सम्राट्‌ कन्स्टेन्टाइनको समयसम्म समेटिएको छ। आफ्नो जीवनको उत्तरार्द्धमा लेखकको हैसियतमा तिनका कार्यहरूसँगसँगै सिजेरियाका विशपको रूपमा गरेका गतिविधिहरू पनि गाँसिए। युसिबियस मुख्यतया इतिहासकारको रूपमा चिनिए तापनि तिनी आफ्नो धर्मका पक्षधर, टोपोग्राफर, प्रचारक, आलोचक र व्याख्यात्मक लेखक पनि थिए।

तिनको द्विपक्षीय मनसाय

युसिबियसले किन पहिला कहिल्यै नगरेका ठूलठूला काममा हात हाले? यसको जवाफ के हो भने, तिनी नयाँ युगमा प्रवेश गर्नुअघि परिवर्तनको समयमा बाँचिरहेको छु भनी विश्‍वास गर्थे। तिनीअघिका पुस्ताहरूमा थुप्रै महत्त्वपूर्ण घटनाहरू घटेका थिए र यो भावी पिंढीको लागि लिपिबद्ध गर्नुपर्छ भन्ठान्थे।

युसिबियसको थप उद्देश्‍य पनि थियो, त्यो हो आफ्नो धर्मको पक्षधर। मसीहीधर्मको सुरुआतकर्ता परमेश्‍वर हुनुहुन्छ भनी तिनी विश्‍वास गर्थे। तर कसै-कसैले भने तिनको यस धारणाको विरोध गरिरहेका थिए। युसिबियसले यस्तो लेखे: “नयाँ कुरा पत्ता लगाउने भन्दै ठूलठूला गल्ती गरेका र ज्ञान पत्ता लगाएको भन्‍ने झूटो दाबी गरेकाहरूको नाउँ, गल्ती गरेको संख्या र समय दिन चाहन्छु किनभने यिनीहरूले ख्रीष्टको बगाललाई डरलाग्दा ब्वाँसाहरूले जस्तै निर्मम भई तहसनहस गरेका छन्‌।”

के युसिबियसले आफूलाई एक जना मसीही भन्ठान्थे? सम्भवतः भन्ठान्थे किनभने तिनले ख्रीष्टलाई “हाम्रा उद्धारक” भनेर संकेत गरे। तिनले यसो भने: “हाम्रा उद्धारकको विरुद्धमा तिनीहरूले युक्‍ति रच्ने बित्तिकै सम्पूर्ण यहूदी राष्ट्रमाथि आइपरेको विपत्तिको विवरण, अन्यजातिहरूले ईश्‍वरीय वचनमाथि आक्रमण गरेको तरिका र समय, विभिन्‍न समयावधिमा रगत बगाउनु र सास्ती भोग्नुपरे तापनि यसको पक्ष लिएका व्यक्‍तिहरूको चरित्रको व्याख्याका साथसाथै हाम्रो आफ्नै समयमा खुलमखुल्ला आफ्नो वफादारी व्यक्‍त गरेकाहरू र तिनीहरू सबैलाई हाम्रो उद्धारकले कृपाका साथ स्वीकारेको बताउने . . . मेरो मनसाय छ।”

तिनको विस्तृत अनुसन्धान

युसिबियसले व्यक्‍तिगत तवरमा पढेका र उल्लेख गरेका पुस्तकहरूको संख्या विशाल छ। सामान्य युगको प्रथम तीन शताब्दीका प्रतिष्ठित व्यक्‍तिहरूबारे थाह भएको पनि युसिबियसका लेखोटहरूद्वारा मात्रै हो। महत्त्वपूर्ण अभियानहरूबारे उपयोगी जानकारीहरू तिनकै लेखोटमा मात्र देखिन्छ। तिनीहरू ज्ञानका स्रोतहरूबाट हुन्‌ जुन अहिले उपलब्ध छैनन्‌।

विषयवस्तुहरू संकलन गर्न युसिबियस लगनशील हुनुका साथै पर्याप्त अध्ययन गर्थे। तिनले होसियारीसाथ विश्‍वासयोग्य र अविश्‍वासयोग्य रिपोर्टहरूलाई छुट्याउँथे। यद्यपि, तिनका कार्यहरू त्रुटिरहित भने छैनन्‌। कहिलेकाहीं तिनले गलत अर्थ लगाउँछन्‌ र मानिसहरू तथा तिनीहरूका कार्यसमेत बुझ्दैनन्‌। कालक्रममा पनि तिनी कहिलेकाहीं सही छैनन्‌। युसिबियससित आफ्ना विषयवस्तु प्रस्तुत गर्ने कलात्मक सीपको पनि कमी थियो। यस्ता स्पष्टै देखिने त्रुटिहरूको बावजुद तिनका थुप्रै लेखोट अमूल्य सम्पदाको रूपमा लिइन्छ।

सत्यका प्रेमी?

पिता र पुत्रको सम्बन्धसम्बन्धी नसुल्झिएको विवादबारे युसिबियस चिन्तित थिए। के युसिबियसले विश्‍वास गरेझैं पुत्रभन्दा पहिल्यै पिताको अस्तित्व थियो? वा पिता र पुत्र सँगसँगै अस्तित्वमा थिए? “तिनीहरूको सँगसँगै अस्तित्वमा हुँदो हो त कसरी पिता, पिता हुन्छ र पुत्र, पुत्र हुन्छ?” भनी तिनले प्रश्‍न गरे। तिनले आफ्नो विश्‍वासको समर्थन गर्दै धर्मशास्त्रबाट यूहन्‍ना १४:२८ उद्धृत गरे जहाँ ‘पिता येशूभन्दा महान्‌ हुनुहुन्छ’ भनिएको छ र यूहन्‍ना १७:३ पनि उद्धृत गरे जहाँ येशूलाई एक मात्र सत्य परमेश्‍वरले “पठाउनुभयो” भनिएको छ। कलस्सी १:१५ र यूहन्‍ना १:१ लाई संकेत गर्दै युसिबियसले परमेश्‍वरको पुत्र अर्थात्‌ लोगोस वा वचन “अदृश्‍य परमेश्‍वरको प्रतिरूप” भनी तर्क गरे।

तर छक्क लाग्दो कुरा के छ भने, नाइसिया परिषद्‌को समापनमा युसिबियसले आफ्नो भन्दा विपरीत विचारधारालाई नै समर्थन गरे। परमेश्‍वर र पुत्र समान हुनुहुन्‍न भने तिनको धर्मशास्त्रीय विश्‍वासको बावजुद तिनले सम्राट्‌कै पक्ष लिए।

सिक्नुपर्ने पाठ

युसिबियसले नाइसियाको परिषद्‌को दबाबमा परेर किन गैरधर्मशास्त्रीय सिद्धान्तलाई समर्थन गरे? के तिनको मनमा राजनैतिक लक्ष्यहरू थिए? पहिलो त, तिनी परिषद्‌मा किन उपस्थित भए? सबै विशपहरूलाई बोलाइएको भए तापनि थोरै संख्या अर्थात्‌ ३०० जना मात्र उपस्थित भए। के युसिबियस आफ्नो सामाजिक ओहदा जोगाउन चिन्तित थिए कि? अनि सम्राट्‌ कन्स्टेन्टाइनले तिनको किन अत्यन्तै सम्मान गर्थे? युसिबियस परिषद्‌मा राजाको दाहिने हातमा बसेका थिए।

स्पष्टतः युसिबियसले ‘संसारको भाग नहुनु’ भनी येशूले आफ्ना अनुयायीहरूलाई दिनुभएको आदेशलाई बेवास्ता गरे। (यूहन्‍ना १७:१६; १८:३६) “हे व्यभिचारी हो, संसारसँगको मित्रता परमेश्‍वरसँगको दुश्‍मनी हो भन्‍ने कुरा के तिमीहरूलाई थाह छैन?” भनी चेला याकूबले प्रश्‍न गरे? (याकूब ४:४) अनि पावलको यो सल्लाह कत्ति उपयुक्‍त छ: “विश्‍वास नगर्नेहरूसँग समान भएर एउटै हलोमा नजोतियौ।” (२ कोरिन्थी ६:१४) ‘पितालाई आत्मा र सत्यतामा पुज्दै’ हामी संसारबाट अलग रहौं।—यूहन्‍ना ४:२४.

[पृष्ठ ३१-मा भएको चित्र]

नाइसियाको परिषद्‌ चित्रण गर्ने चित्र

[स्रोत]

Scala/Art Resource, NY

[पृष्ठ २९-मा भएको चित्रको स्रोत]

Courtesy of Special Collections Library, University of Michigan

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने