“तिनीहरूको सोर सारा पृथ्वीमा पुग्यो”
“सबै देशका जातिहरूलाई चेला बनाओ, र पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा देओ।”—मत्ती २८:१९.
१, २. (क) येशूले आफ्ना चेलाहरूलाई कस्तो आदेश दिनुभयो? (ख) प्रथम शताब्दीका मसीहीहरूले किन त्यति धेरै काम पूरा गर्न सके?
स्वर्गमा जानुभन्दा केही समयअघि येशूले आफ्ना चेलाहरूलाई एउटा आदेश दिनुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो: “सबै देशका जातिहरूलाई चेला बनाओ, र पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा देओ।” (मत्ती २८:१९) त्यो साँच्चै कस्तो उदेकलाग्दो काम थियो!
२ यसो विचार गर्नुहोस्! सा.यु. ३३ पेन्तिकोसमा झन्डै १२० जना चेलाले पवित्र आत्मा पाएपछि येशू नै प्रतिज्ञा गरिएको चिरप्रतीक्षित मसीह हुनुहुन्छ र उहाँद्वारा मात्र उद्धार पाउन सकिन्छ भनी अरूलाई बताएर उक्त आदेश पूरा गर्न थाले। (प्रेरित २:१-३६) त्यो सानो समूह कसरी “सबै देशका जातिहरू[सम्म]” पुग्न सक्थ्यो? मानवहरूको दृष्टिकोणबाट त यो असम्भव थियो तर “परमेश्वरबाट सबै कुरा सम्भव छ।” (मत्ती १९:२६) प्रारम्भिक मसीहीहरूले यहोवाको पवित्र आत्माको समर्थन पाएका थिए र तिनीहरूसित अविलम्बी भाव थियो। (जकरिया ४:६; २ तिमोथी ४:२) यसर्थ केही दशकभित्रै प्रेरित पावलले सुसमाचार “स्वर्गमनि भएका सारा सृष्टिमा प्रचारियो” भनी घोषणा गर्न सके।—कलस्सी १:२३.
३. शुद्ध मसीही “गहुँ” कसरी दृश्यबाट ओझेलमा पऱ्यो?
३ प्रथम शताब्दीभरि नै साँचो उपासना फैलिरह्यो। तथापि, शैतानले “सामा” रोप्नेछ र साँचो मसीही अर्थात् “गहुँ” कटनीको समय नआउन्जेल थुप्रै शताब्दीसम्म ओझेलमा पर्ने समय पनि आउनेछ भनेर येशूले भविष्यवाणी गर्नुभयो। प्रेरितहरूको मृत्युपछि यो भविष्यवाणी साँचो साबित भयो।—मत्ती १३:२४-३९.
आज तीव्र वृद्धि
४, ५. सन् १९१९ देखि अभिषिक्त मसीहीहरूले कुन काम सुरु गर्न थाले र त्यो किन एउटा ठूलो चुनौतीको कुरा थियो?
४ सन् १९१९ मा शुद्ध मसीही गहुँ सामाबाट अलग्याउने समय थियो। येशूको महान् आज्ञा अझै पनि लागू हुन्छ भनी अभिषिक्त मसीहीहरूलाई थाह थियो। तिनीहरू “आखिरी दिनमा” बाँचिरहेका छन् भनी दृढ विश्वास गर्थे र येशूको यस भविष्यवाणीबारे सजग थिए: “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।” (२ तिमोथी ३:१; मत्ती २४:१४) हो, धेरै काम गर्न बाँकी छ भनेर तिनीहरूलाई थाह थियो।
५ तथापि, सा.यु. ३३ मा चेलाहरूले जस्तै अभिषिक्त मसीहीहरूले भयंकर चुनौतीको सामना गर्नुपऱ्यो। थोरै देशहरूमा तिनीहरू केही हजारको संख्यामा मात्र थिए। आखिर तिनीहरूले “सारा संसारमा” कसरी सुसमाचार प्रचार गर्न सक्थे? स्मरण रहोस्, सिजरको समयमा पृथ्वीको जनसंख्या ३० करोड थियो भने प्रथम विश्वयुद्धपछि वृद्धि भएर २ अरब पुगिसकेको थियो। अनि २० औं शताब्दीभरि यो तीव्र गतिमा वृद्धि भइरहने थियो।
६. सुसमाचार फैलाउने सन्दर्भमा १९३० को दशकसम्ममा कस्तो प्रगति भइसकेको थियो?
६ तैपनि, यहोवाका अभिषिक्त सेवकहरूले तिनीहरूका प्रथम शताब्दीका भाइहरूले जस्तै यहोवामाथि पूर्ण विश्वास राख्दै आफूलाई दिइएको काम पूरा गर्न अघि बढे र उहाँको आत्मा तिनीहरूसँग थियो। सन् १९३० दशकको बीचसम्ममा लगभग ५६,००० सुसमाचारकहरूले ११५ वटा मुलुकमा बाइबल सत्य घोषणा गरिसकेका थिए। यतिखेर निकै काम भइसकेको थियो तर अझ थुप्रै गर्न बाँकी नै थियो।
७. (क) अभिषिक्त मसीहीहरूले कस्तो नयाँ चुनौती सामना गरे? (ख) “अरू भेडा[को]” समर्थन पाएर जम्मा गर्ने काम अहिलेसम्म कत्तिको अघि बढेको छ?
७ अनि प्रकाश ७:९ मा उल्लिखित “ठूलो भीड[को]” परिचयबारे थप समझ प्राप्त भएपछि नयाँ चुनौती खडा भयो र साथै ती परिश्रमी मसीहीहरूलाई मदतको पनि प्रतिज्ञा गरियो। पार्थिव आशा भएका “अरू भेडा[का]” विश्वासीहरूको अनगिन्ती भीड “हरेक जातिबाटको र सबै कुलको र मानिसको, र भाषा भाषा[बाट]” जम्मा गर्नुपर्ने थियो। (यूहन्ना १०:१६) यिनीहरूले ‘दिन-रात यहोवाको [पवित्र] सेवा’ गर्ने थिए। (प्रकाश ७:१५) यसको अर्थ, तिनीहरूले प्रचार र शिक्षण कार्यमा मदत गर्ने थिए। (यशैया ६१:५) फलस्वरूप, अभिषिक्त मसीहीहरू सुसमाचारकहरू हजारौं अनि लाखौंको संख्यामा वृद्धि भएको देख्दा रोमाञ्चित भए। सन् २००३ मा प्रचारकार्यमा भाग लिनेहरूको शिखर संख्या ६४,२९,३५१ पुग्यो र तिनीहरूमध्ये अधिकांश ठूलो भीडका हुन्।a अभिषिक्त मसीहीहरू यस मदतको लागि कृतज्ञ छन् र अरू भेडा पनि आफ्ना अभिषिक्त भाइहरूलाई समर्थन गर्ने सुअवसर पाएकोमा कृतज्ञ छन्।—मत्ती २५:३४-४०.
८. दोस्रो विश्वयुद्धको दौडान भीषण दबाब आइपर्दा यहोवाका साक्षीहरूले कस्तो प्रतिक्रिया देखाए?
८ गहुँ वर्ग फेरि स्पष्ट देखिन थालेपछि शैतानले यस विरुद्ध भीषण युद्ध सुरु गऱ्यो। (प्रकाश १२:१७) ठूलो भीड देखापर्न थालेपछि त्यसले कस्तो प्रतिक्रिया देखायो? त्यो अचाक्ली हिंस्रक भयो! दोस्रो विश्वयुद्धको दौडान विश्वभरि नै साँचो उपासनामाथि भएको आक्रमणमा त्यसको हात थियो भन्ने कुरामा के कुनै शंका छ? भिडन्तको दुवै पक्षमा मसीहीहरू एकदमै दबाबमा परे। थुप्रै प्रिय भाइबहिनीहरूले कठोर परीक्षाहरू भोग्नुपऱ्यो, कसै-कसैले आफ्नो विश्वासको लागि ज्यानसमेत गुमाउनुपऱ्यो। तैपनि, तिनीहरूले आफ्नो कार्यबाट भजनहारको जस्तै मनोभाव झल्काए: “परमेश्वरमा उहाँको वचनको प्रशंसा गर्नेछु, परमेश्वरमा मैले मेरो भरोसा राखेको छु, म डराउनेछैनँ, कसले मलाई के गर्नसक्छ?” (भजन ५६:४; मत्ती १०:२८) परमेश्वरको आत्माबाट बल प्राप्त गरेर अभिषिक्त मसीहीहरू तथा अरू भीड एकसाथ दृढ भए। (२ कोरिन्थी ४:७) फलस्वरूप “परमेश्वरको वचन बढ़दै गयो।” (प्रेरित ६:७) सन् १९३९ मा युद्ध सुरु हुँदा ७२,४७५ विश्वासी मसीहीहरूले प्रचारकार्यमा भाग लिएको रिपोर्ट गरे। तथापि, युद्ध अन्त भएको वर्ष १९४५ को अपूरो रिपोर्टअनुसार १,५६,२९९ सक्रिय साक्षीहरूले सुसमाचार फैलाउने कार्यमा भाग लिइरहेका थिए। शैतानको लागि कत्रो हार!
९. दोस्रो विश्वयुद्धको दौडान कुन-कुन नयाँ स्कूलहरूको घोषणा गरियो?
९ स्पष्टतः दोस्रो विश्वयुद्धको गन्जागोलको बावजुद यहोवाका साक्षीहरूले प्रचारकार्य पूरा हुनेछ वा छैन भनेर कहिल्यै शंका गरेनन्। वास्तवमा भन्ने हो भने, १९४३ मा युद्ध चरम बिन्दुमा पुगेको बेला दुइटा नयाँ स्कूलको घोषणा गरियो। एउटालाई अहिले ईश्वरतान्त्रिक सेवकाई स्कूल भनिन्छ, जुन प्रचार र चेला बनाउने काममा प्रत्येक साक्षीहरूलाई प्रशिक्षण दिन सबै मण्डलीहरूमा सञ्चालन गर्नुपर्ने थियो। अर्को, वाचटावर बाइबल स्कूल अफ गिलियड थियो, जुन विदेशी भूमिहरूमा प्रचारकार्य सुरु गर्न जाने मिसनरीहरूको प्रशिक्षणको लागि थियो। हो, अन्ततः युद्धको ज्वाला शान्त हुन थालेपछि साँचो मसीहीहरू आफ्नो गतिविधि अझ बढाउन तयार थिए।
१०. सन् २००३ को दौडान यहोवाका जनहरूको जोस कसरी देखियो?
१० अनि तिनीहरूले कस्तो अद्भुत काम गरे! ईश्वरतान्त्रिक सेवकाई स्कूलमा प्रशिक्षण पाएर, सबै—जवान र वृद्ध, आमाबाबु र छोराछोरी, अशक्तहरूले समेत—येशूको महान् आदेश पूरा गर्ने काममा भाग लिए र अझै लिइरहेका छन्। (भजन १४८:१२, १३; योएल २:२८, २९) सन् २००३ मा प्रत्येक महिना सरदर ८,२५,१८५ जनाले आफ्नो अविलम्बी भाव देखाउँदै अस्थायी वा नियमित रूपमा अग्रगामी सेवामा भाग लिए। सोही वर्ष, यहोवाका साक्षीहरूले परमेश्वरको राज्यको सुसमाचार अरूलाई बताउन १,२३,४७,९६,४७७ घण्टा बिताए। निश्चय पनि आफ्ना जनहरूको जोस देखेर यहोवा प्रसन्न हुनुहुन्छ!
विदेशी भूमिहरूमा
११, १२. कस्ता उदाहरणहरूले मिसनरीहरूको असल रेकर्ड प्रदर्शन गर्छ?
११ वर्षौंको दौडान गिलियडका स्नातकहरू र हालै मिनिस्टेरियल ट्रेनिङ स्कूलका स्नातकहरूले असाध्यै राम्रो रेकर्ड बसालेका छन्। उदाहरणका लागि, ब्राजिलमा १९४५ मा प्रथम मिसनरीहरू आइपुग्दा प्रकाशकहरू ४०० जना पनि थिएनन्। ती र त्यसपछि आएका मिसनरीहरूले जोसिला ब्राजिली भाइहरू सँगसँगै कडा मेहनत गरेका छन् र यहोवाले तिनीहरूको प्रयासमा प्रचुर मात्रामा आशिष् दिनुभएको छ। ब्राजिलको सुरुका ती दिनहरू सम्झने व्यक्तिलाई २००३ मा ६,०७,३६२ को नयाँ शिखर पुगेको देख्न पाउनु कस्तो रोमाञ्चकारी कुरा हो!
१२ जापानलाई लिनुहोस्। दोस्रो विश्वयुद्धअघि त्यस देशमा लगभग सय जना राज्यप्रचारक थिए। युद्धको दौडान क्रूर सतावटको कारण तिनीहरूको संख्या घट्यो र युद्धको अन्तसम्ममा मुठीभर साक्षीहरू मात्र आध्यात्मिक र शारीरिक तवरमा जीवित थिए। (हितोपदेश १४:३२) ती थोरै निष्ठा पालकहरू १९४९ मा पहिलो गिलियड प्रशिक्षित १३ जना मिसनरीहरूलाई स्वागत गर्न निश्चय पनि हर्षित भए र मिसनरीहरूले पनि चाँडै उत्साही, आतिथ्य जापानी भाइहरूसँग आत्मीय सम्बन्ध गाँसे। अहिले झन्डै ५० वर्षपछि, २००३ मा जापानले २,१७,५०८ प्रकाशकहरूको कुल शिखर संख्या रिपोर्ट गऱ्यो! यहोवाले त्यस देशमा साँच्चै प्रचुर मात्रामा आशिष् दिनुभएको छ। अन्य थुप्रै देशहरूको पनि यस्तै रिपोर्टहरू छन्। विदेशी भूमिमा प्रचार गर्न सक्षम भएकाहरूले सुसमाचार फैलाउने कार्यमा साँच्चै योगदान पुऱ्याएका छन् र त्यसैकारण २००३ मा संसारभरिको २३५ देश, टापु र इलाकाहरूमा सुसमाचार फैलियो। हो, ठूलो भीड “सबै देश[बाट]” आउँदैछ!
‘हरेक जाति, कुल र भाषा भाषाहरूबाट’
१३, १४. ‘सबै भाषामा’ सुसमाचार प्रचार गर्नुको महत्त्व यहोवाले कसरी देखाउनुभयो?
१३ प्राप्त रिपोर्टअनुसार सा.यु. ३३ पेन्तिकोसमा पवित्र आत्माद्वारा अभिषिक्त भइसकेपछि भेला भएका भीडसँग तिनीहरूले विभिन्न भाषामा बोल्नु नै तिनीहरूले गरेको पहिलो चमत्कार थियो। तिनीहरूको कुरा सुन्ने सबैजसोले अन्तरराष्ट्रिय भाषा, सायद युनानी बोल्न सक्थे। “भक्त” जनहरू भएकोले तिनीहरूले सम्भवतः मन्दिरमा चलाइने हिब्रू भाषा पनि बुझेको हुनुपर्छ। तर तिनीहरूले सानैदेखि नै बोलेको भाषामा सुसमाचार सुन्दा साँच्चै तिनीहरूको ध्यान आकर्षित भयो।—प्रेरित २:५, ७-१२.
१४ आज पनि विभिन्न भाषामा प्रचारकार्य गरिन्छ। ठूलो भीड एउटा जातिबाट मात्र होइन तर ‘कुल, मानिस र भाषा भाषाबाट’ आउनेछ भनी भविष्यवाणी गरिएको थियो। यसैसँग सहमत हुँदै यहोवाले जकरियामार्फत यस्तो भविष्यवाणी गर्नुभयो: “सबै जातिका विभिन्न भाषा बोल्नेहरूमध्ये दश जना मानिसले एउटा यहूदीको लुगा समातेर यसो भन्नेछन्, ‘हामी तपाईंसितै जानेछौं, किनभने हामीले सुनेका छौं कि परमेश्वर तपाईंसित हुनुहुन्छ।’ ” (छड्के अक्षर हाम्रो, जकरिया ८:२३) यहोवाका साक्षीहरूसँग अहिले विभिन्न भाषा बोल्ने वरदान नभए तापनि मानिसहरूलाई आफ्नै भाषामा सिकाउनुको महत्त्व तिनीहरूलाई थाह छ।
१५, १६. मिसनरी तथा अरूहरूले स्थानीय भाषामा प्रचार गर्ने चुनौतीको सामना कसरी गरेका छन्?
१५ हो, आज संसारमा व्यापक रूपमा बोलिने भाषाहरू थोरै छन्, जस्तै—अंग्रेजी, फ्रान्सेली र स्पेनी। तथापि, अन्य देशहरूमा सेवा गर्न आफ्नो मातृभूमि छोडेकाहरूले “अनन्त जीवनका लागि नियुक्त भएकाहरू[को]” लागि सुसमाचार अझ सजिलै उपलब्ध गराउन स्थानीय भाषा सिक्ने प्रयास गर्छन्। (प्रेरित १३:४८) त्यो गाह्रो हुन सक्छ। दक्षिण प्रशान्तको टुभालु मुलुकका भाइहरूलाई तिनीहरूको आफ्नै भाषाका साहित्यहरू चाहिएको हुँदा एक जना मिसनरीले त्यो चुनौती स्वीकारे। त्यस भाषामा एउटा पनि शब्दकोश उपलब्ध नभएकोले तिनले टुभालु भाषाका शब्दहरू बटुल्न थाले। समयमा, टुभालु भाषामा पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छb पुस्तक प्रकाशित गरियो। कुरासाओमा मिसनरीहरू पुग्दा त्यहाँको स्थानीय भाषा, पापियामेन्टोमा बाइबल साहित्य र शब्दकोश केही पनि थिएन। त्यो भाषाको लिखित रूप कस्तो हुनुपर्छ भन्ने विषयमा पनि निकै विवाद चलेको थियो। तैपनि, मिसनरीहरू पुगेको दुई वर्षभित्र त्यहाँको भाषामा पहिलो मसीही बाइबल पर्चा प्रकाशित गरियो। आज अंग्रेजी सँगसँगै १३३ भाषामा अर्धमासिक रूपमा प्रकाशित हुने प्रहरीधरहरा-मध्ये पापियामेन्टो पनि एउटा हो।
१६ नामिबियामा पुगेका प्रथम मिसनरीहरूले अनुवाद गर्न मदतको लागि स्थानीय एक जना साक्षी पनि पाएनन्। यसबाहेक, हाम्रा प्रकाशनहरूमा सामान्यतया व्यक्त गरिने धारणाहरूका लागि आवश्यक शब्दहरू एउटा स्थानीय नामा भाषामा थिएनन्, जस्तै “सिद्ध”। एक जना मिसनरी यसो भन्छन्: “मैले अनुवादको लागि प्रायजसो बाइबल अध्ययन गरिरहेका स्कूलका शिक्षकहरूलाई चलाएँ। तिनीहरूसँग बाइबलको त्यति ज्ञान नभएकोले प्रत्येक वाक्य सही छ वा छैन पक्का गर्न म तिनीहरूसँगै बसेर हेर्थें।” यसको बावजुद, लाइफ इन अ न्यु वर्ल्ड भन्ने पर्चा नामिबियाका चार वटा भाषामा अनुवाद गरियो। आज, क्वान्यामा र नोंगा भन्ने भाषामा प्रहरीधरहरा नियमित रूपमा प्रकाशित हुन्छ।
१७, १८. मेक्सिको तथा अन्य देशहरूमा कस्ता चुनौतीहरू सामना गरिंदैछ?
१७ मेक्सिकोको मुख्य भाषा स्पेनी हो। तथापि, त्यहाँ स्पेनका मानिसहरू आउनुअघि थुप्रै भाषाहरू बोलिन्थ्यो र अझै पनि कतिपय चल्तीमा छन्। तसर्थ, यहोवाका साक्षीहरूका साहित्यहरू अहिले मेक्सिकोको सात विभिन्न भाषाहरू र मेक्सिकोको सांकेतिक भाषामा पनि प्रकाशित हुन्छन्। अमेरिकी आदिवासी भाषाको पहिलो प्रकाशन माया भाषाको राज्य सेवकाई थियो। साँच्चै, मेक्सिकोमा भएका ५,७२,५३० राज्य प्रकाशकहरूमध्ये माया, एजटेक्स र अन्य समूहका हजारौं छन्।
१८ हालैका वर्षहरूमा लाखौं मानिसहरू आफ्नो घरबार छोडेर शरणार्थीको रूपमा विदेशी भूमिमा गएका छन् वा आर्थिक कारणले गर्दा बसाइँ सरेका छन्। फलस्वरूप अहिले आएर थुप्रै देशमा विदेशी भाषा बोल्ने इलाकाहरू खडा हुन सम्भव भएको छ। यहोवाका साक्षीहरूले यो चुनौतीलाई स्वीकारेका छन्। उदाहरणका लागि, इटालीमा इटालेलीबाहेक अन्य २२ विभिन्न भाषाका मण्डली तथा समूहहरू छन्। अन्य भाषाका मानिसहरूलाई प्रचार गर्ने काममा भाइहरूलाई मदत गर्न हालै इटालेली सांकेतिक भाषालगायत अन्य १६ भाषाका कक्षा आयोजना गरियो। अन्य थुप्रै देशहरूमा पनि ठूलो आप्रवासी जनसंख्यासम्म पुग्न त्यस्तै प्रयासहरू गरिंदैछ। हो, यहोवाको मदतले भाषा-भाषाबाट ठूलो भीड साँच्चै निस्कँदैछ।
“सारा पृथ्वीमा”
१९, २०. पावलका कुन शब्दहरू आज उल्लेखनीय ढंगमा पूरा भइरहेको छ? वर्णन गर्नुहोस्।
१९ प्रथम शताब्दीमा प्रेरित पावलले लेखे: “के तिनीहरूले सुनेनन्? निश्चय, तिनीहरूको सोर सारा पृथ्वीमा पुग्यो, औ तिनीहरूका कुरा संसारको अन्तसम्म।” (रोमी १०:१८) प्रथम शताब्दीमा त त्यस्तो भयो भने आज हाम्रो समयमा झन् कत्ति साँचो साबित भएको छ! सायद मानव इतिहासमा पहिला कहिल्यै नपुगेको संख्याले अर्थात् लाखौंले यसो भन्दै छन्: “हर बखत म परमप्रभुलाई धन्यको भन्नेछु, उहाँको प्रशंसा निरन्तर मेरो मुखमा हुनेछ।”—भजन ३४:१.
२० यसबाहेक, यो काम सुस्त भएको छैन। राज्य प्रकाशकहरूको संख्या बढिरहेको छ। प्रचारकार्यमा झन्-झन् धेरै समय बिताइँदैछ। लाखौं पुनःभेटहरू गरिंदैछन् र हजारौं बाइबल अध्ययनहरू सञ्चालन भइरहेका छन्। अनि चासो देखाउने नयाँ मानिसहरूको संख्या बढ्दैछ। गत वर्ष, येशूको मृत्युको स्मरणार्थमा उपस्थित हुने १,६०,९७,६२२ जनाको नयाँ शिखर पुग्यो। स्पष्टतः अझ धेरै गर्न बाँकी छ। भीषण सतावटको बेला धैर्य धारण गरेका हाम्रा भाइहरूको निष्ठाको हामी अनुकरण गरिरहौं। अनि १९१९ देखि यहोवाको सेवामा लागिरहेका हाम्रा सबै भाइहरूको जोसको अनुकरण गरौं। भजनहारका यी शब्दहरू सबैले गुञ्जाइरहून्: “सास हुने जति सबैले, परमप्रभुको प्रशंसा गर। परमप्रभुको प्रशंसा गर!”—भजन १५०:६.
[फुटनोट]
a यस पत्रिकाको पृष्ठ १८ देखि २१ मा वार्षिक रिपोर्ट हेर्नुहोस्।
b यहोवाका साक्षीहरूद्वारा प्रकाशित।
के तपाईं बुझाउन सक्नुहुन्छ?
• सन् १९१९ मा भाइहरूले कस्तो काम सुरु गरे र यो किन चुनौतीपूर्ण थियो?
• प्रचारकार्यलाई समर्थन गर्न कसलाई जम्मा गरियो?
• विदेशी भूमिहरूमा सेवा गर्ने मिसनरी तथा अरूहरूले कस्तो रेकर्ड बसालेका छन्?
• यहोवाले आज आफ्ना जनहरूको काममा आशिष् दिइरहनुभएको छ भनी देखाउन तपाईं कुन उदाहरण बताउन सक्नुहुन्छ?
[पृष्ठ १८-२१-मा भएको तालिका]
विश्वव्यापी यहोवाका साक्षीहरूको २००३ सेवा वर्ष रिपोर्ट
(छापिएको प्रकाशन हेर्नुहोस्)
[पृष्ठ १४, १५-मा भएका चित्रहरू]
दोस्रो विश्वयुद्धको गन्जागोलको बावजुद यहोवाका साक्षीहरूले प्रचारकार्य पूरा हुनेछ वा हुनेछैन भनेर कहिल्यै शंका गरेनन्
[स्रोत]
Explosion: U.S. Navy photo; others: U.S. Coast Guard photo
[पृष्ठ १६, १७-मा भएका चित्रहरू]
ठूलो भीड सबै कुल र भाषाबाट आउनेछ