विभिन्न भाषा बोल्नेहरूलाई एकत्रित गर्ने
१ परमेश्वरको वचन पूरा हुँदैछ! ‘सबै जातका विभिन्न भाषा बोल्ने’ मानिसहरूले धमाधम सत्य अँगाल्दैछन्। (जक. ८:२३) भारतमा यहोवाका साक्षीहरूले सबै ‘कुल, मानिस र भाषा भाषाका’ मानिसहरूलाई “महा संकष्ट[बाट]” बच्ने आशा लिएर यहोवासामु निष्कलंक खडा हुन कसरी मदत गरिरहेका छन्?—प्रका. ७:९, १४.
२ परमेश्वरको संगठनले प्रबन्ध मिलाउँछ: परिचालक निकायले लगभग २४ वटा भारतीय भाषामा बाइबल साहित्य उपलब्ध गर्ने प्रबन्ध मिलाएको छ। यसो गर्दा देशका सम्पूर्ण मानिसहरूले सुसमाचारको महत्त्व छर्लंग बुझ्न सक्नेछन्। धेरैभन्दा धेरै भाषाहरूमा साहित्य तयार गर्नु र प्रकाशित गर्नु निकै ठूलो कार्यभार हो। यसमा योग्य अनुवादकहरूको टोली गठन गर्नु र यी सबै भाषाहरूमा हाम्रो साहित्य अनुवाद गर्न चाहिने सहयोग जुटाउनुका साथै मुद्रण र ढुवानी पनि समावेश छ। तथापि, मुख्य भूमिका भने प्रत्येक राज्य प्रकाशकहरूले खेल्छन् किनकि उनीहरूले नै मानिसहरूसमक्ष बाइबलको जीवनदायी सन्देश पुऱ्याउने काम गर्छन्।
३ चुनौती स्वीकार्ने: थुप्रै मानिसहरू आफ्नो गृह नगरबाहेक अन्य ठूलठूला शहरहरूमा बसोबास गरिरहेका हुन्छन्। के हामी अन्य भाषाका साहित्यहरू लिएर यस्ता मानिसहरूलाई प्रभावकारी ढंगमा सुसमाचार सुनाउन तत्पर छौं? परमेश्वरका थुप्रै सेवकहरूले यस्तो तत्परता देखाउँछन् र कतिले त आफ्नो इलाकामा बोलिने अन्य भाषामा सरल प्रस्तुति सिक्ने कोसिससमेत गरेका छन्। भारतीय सांकेतिक भाषामा कुरा गर्नेहरूलाई समेत प्रचार गरिएको छ। पहिला कहिल्यै यहोवाबारे नसुनेका वा बाइबलबारे थाह नभएका मानिसहरूले परमेश्वरको वचनको सत्य स्वीकारिरहेका छन्।—रोमी १५:२१.
४ अन्य भाषा बोल्ने मानिसहरूले देखाएको चासोलाई हामी कसरी कायम राख्न सक्छौं? हाम्रो शहरमा त्यस्तो भाषा बोल्ने मण्डली छ भने, हामी त्यस्तो इच्छुक व्यक्तिको ठेगाना प्लिज फलो अप (S-43) फारममार्फत त्यस मण्डलीलाई दिन सक्छौं। मण्डली छैन भने हामी त्यो भाषा जान्ने स्थानीय प्रकाशकलाई खबर गर्न सक्छौं। यस्ता मानिसहरूलाई भेट्न हामीलाई आग्रह गरिएमा के हामी त्यस्तो व्यक्तिलाई गएर भेट्न थप प्रयास गर्नेछौं? यस प्रकार हाम्रो इलाकाको समुदायका सबै मानिसहरूलाई उनीहरूले सबैभन्दा राम्ररी बुझ्ने भाषामा सुसमाचार घोषणा गर्न सक्छौं।—कल. १:२५.
५ राज्य सन्देशले सबै पृष्ठभूमि र भाषाका मानिसहरूलाई आकर्षित गर्छ। त्यसैले आउनुहोस्, यो सन्देश उनीहरू सबैलाई सुनाउने मौका खोजौं।