प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w04 ४/१५ pp. १७-२२
  • वैरी संसारमा दया देखाउन प्रयास गर्ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • वैरी संसारमा दया देखाउन प्रयास गर्ने
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • परिवारभित्र दया
  • काम गर्ने ठाउँमा दया
  • स्कूलमा दया
  • छिमेकीहरूलाई दया
  • हाम्रो सेवकाईमा दया
  • मण्डलीका सभाहरूमा दया
  • दया देखाइरहनुहोस्‌
  • परमेश्‍वरका जनहरूले दयालाई प्रेम गर्नै पर्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • दयाले तपाईँलाई उत्प्रेरित गरोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • दया—बोली र व्यवहारद्वारा देखाइने गुण
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • परमेश्‍वरको असीम अनुग्रह पाएकोमा आभारी!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
w04 ४/१५ pp. १७-२२

वैरी संसारमा दया देखाउन प्रयास गर्ने

“मानिसमा हुने मनमोहक गुण उसको करुणा हो।”—हितोपदेश १९:२२, Nw.

१. दया देखाउन किन गाह्रो हुन सक्छ?

के तपाईं आफूलाई दयालु व्यक्‍ति ठान्‍नुहुन्छ? ठान्‍नुहुन्छ भने, आजको संसारमा बाँच्नु कठिन हुन सक्छ। हो, बाइबलमा दयालाई “आत्माको फल” भनेर चिनाइएको छ तर मसीही भनौदा मुलुकहरूमा समेत दया देखाउनु किन यत्तिको गाह्रो भएको छ? (गलाती ५:२२) हामीले अघिल्लो लेखमा भनेझैं यस प्रश्‍नको जवाफको केही भाग प्रेरित यूहन्‍नाले लेखेको कुरामा पाइन्छ—सारा संसार एउटा निर्दयी आत्मिक व्यक्‍ति, शैतान अर्थात्‌ दियाबलको नियन्त्रणमा परेको छ। (१ यूहन्‍ना ५:१९) येशू ख्रीष्टले शैतानलाई “संसारको शासक” भनेर चिनाउनुभयो। (यूहन्‍ना १४:३०) तसर्थ, यो संसार यसको विद्रोही शासकजस्तै छ जसको पतित व्यवहारले यसको मनोवृत्तिलाई झल्काउँछ।—एफिसी २:२.

२. दया देखाउने सन्दर्भमा कस्ता चुनौतीहरू आइपर्न सक्छन्‌?

२ अरूले हामीसित निर्दयी व्यवहार गर्दा हाम्रो जीवनमा प्रतिकूल असर पर्छ। ईर्ष्यालु छिमेकी, अमित्रैलो परदेशी अनि कहिलेकाहीं सोचविचारै नगरी व्यवहार गर्ने साथी र परिवारका सदस्यहरूले समेत यस्तो निर्दयी व्यवहार गर्न सक्छन्‌। छुच्चो मानिस र एकअर्कासँग चिच्याउने अनि सराप्ने मानिसहरूसित सम्पर्क भइरहँदाको तनावले पनि हामीलाई निराश बनाउन सक्छ। अरूले यस्तो दयाको कमी देखाउँदा हामी आफैमा वैरभाव उत्पन्‍न हुन सक्छ अनि हामीले पनि खराबीको बदला खराबी नै गर्ने विचार गर्न सक्छौं। त्यस्तो विचारले आध्यात्मिक तथा शारीरिक स्वास्थ्यमा समस्याहरू समेत ल्याउन सक्छ।—रोमी १२:१७.

३. कस्ता गम्भीर समस्याहरूले मानिसहरूको दयालु हुने इच्छुकतालाई परीक्षामा पार्छ?

३ विश्‍वको तनावपूर्ण परिस्थितिले गर्दा पनि हामीलाई दया देखाउन गाह्रो पर्न सक्छ। उदाहरणका लागि, आतङ्‌कवादको खतरा तथा आतङ्‌कवादी कामहरूका साथै विभिन्‍न राष्ट्रिय समूहले जैविक वा आणविक हतियारहरूको प्रयोग गर्ने सम्भावनाले गर्दा मानिसजातिले तनाव महसुस गर्छन्‌। साथै, लाखौं मानिसहरू गरिब छन्‌, थोरै खानेकुरा, आवास, लत्ताकपडा र स्वास्थ्यसेवामा गुजारा चलाउन बाध्य छन्‌। परिस्थिति सुध्रने आशै छैन जस्तो देखिंदा दया देखाउनु चुनौतीपूर्ण हुन सक्छ।—उपदेशक ७:७.

४. अरूलाई दया देखाउने विचार गर्दा कोही-कोही कस्तो गलत निष्कर्षमा पुग्न सक्छन्‌?

४ दया देखाउने भनेको खासै महत्त्वपूर्ण कुरा होइन र यो कमजोरीको चिह्न हुन सक्छ भन्‍ने निष्कर्षमा पुग्न समेत मानिसलाई धेरै बेर लाग्दैन। अरूले तिनको भावनाको कदरै नगरी जथाभावी व्यवहार गर्दा अन्याय भएको महसुस गर्न सक्छन्‌। (भजन ७३:२-९) तथापि, बाइबलले हामीलाई उचित निर्देशन दिंदै यसो भन्छ: “मीठो जवाफले क्रोधलाई शान्त गर्छ, तर नमीठो वचनले रीस उठाउँछ।” (हितोपदेश १५:१) एकअर्कासित घनिष्ठ सम्बन्ध भएका आत्माको फलका दुइटा पक्षहरू नम्रता र दया हुन्‌ अनि यी गुणहरू कठिन तथा चुनौतीपूर्ण परिस्थितिहरूको सामना गर्नुपर्दा प्रभावकारी हुन्छन्‌।

५. दया देखाउनुपर्ने जीवनका केही क्षेत्रहरू कुन-कुन हुन्‌?

५ हामी मसीहीहरूले परमेश्‍वरको आत्माको फल फलाएको देखाउनु अत्यन्तै महत्त्वपूर्ण भएको हुँदा हामीले तीमध्ये एउटा गुण कसरी देखाउन सक्छौं भनेर विचार गर्नु बेस हो—त्यो गुण हो, दया। के वैरी संसारमा दया देखाउने प्रयास गर्न सकिन्छ त? त्यसो हो भने, विशेष गरी तनावपूर्ण परिस्थितिहरूमा शैतानको प्रभावले हामीलाई दया नदेखाउन दबाब दिंदा पनि हामीले दया देखाउन सक्ने केही क्षेत्रहरू के हुन्‌? परिवारमा, काम गर्ने ठाउँमा, स्कूलमा, हाम्रा छिमेकीहरूसित, सेवकाईमा अनि सँगी विश्‍वासीहरूमाझ दया देखाउन प्रयास गर्ने तरिकाहरूबारे हामी विचार गरौं।

परिवारभित्र दया

६. परिवारभित्र दया किन एकदमै महत्त्वपूर्ण छ अनि यसलाई कसरी झल्काउन सकिन्छ?

६ यहोवाको आशिष्‌ र निर्देशन पाउन आत्माको फल अत्यावश्‍यक छ अनि यसलाई पूर्णतया खेती गर्नुपर्छ। (एफिसी ४:३२) आउनुहोस्‌, परिवारका सदस्यहरूले एकअर्कालाई दया देखाउनुपर्ने खास आवश्‍यकतामा ध्यान केन्द्रित गरौं। दिनहुँ व्यवहार गर्दा पति-पत्नीले एकअर्काप्रति अनि तिनीहरूले छोराछोरीप्रति दयालु तथा हेरचाह गर्ने मनोभाव झल्काउनुपर्छ। (एफिसी ५:२८-३३; ६:१, २) त्यस्तो दया परिवारका सदस्यहरूले एकअर्कासित कुरा गर्ने ढङ्‌गमा देखिनुपर्छ, छोराछोरीले आमाबाबुको सम्मान तथा आदर गर्नुपर्छ अनि आमाबाबुले पनि छोराछोरीसित उचित व्यवहार गर्नुपर्छ। प्रशंसा गर्न ढिलो तर दोष लगाउन छिटो नहुनुहोस्‌।

७, ८. (क) परिवारमा साँचो दया देखाउने हो भने हामी कस्तो किसिमको आचरणबाट अलग्गै बस्नुपर्छ? (ख) राम्रो कुराकानीले पारिवारिक बन्धन बलियो बनाउन कसरी योगदान पुऱ्‍याउँछ? (ग) तपाईंले आफ्नो परिवारमा कसरी दया देखाउन सक्नुहुन्छ?

७ हाम्रो परिवारमा भएकाहरूप्रति दयालु हुनुमा प्रेरित पावलको निम्न सल्लाह पालन गर्नु समावेश छ: “तिमीहरूले पनि रीस, क्रोध, डाह, निन्दा, आफ्नो मुखबाट निस्कने फोहोर बोली, यी सबै कुरा त्याग।” हरेक दिन मसीही परिवारहरूले एकअर्कासित आदरपूर्ण ढङ्‌गमा कुराकानी गर्नुपर्छ। किन? किनभने राम्रो कुराकानी भनेको बलियो, स्वस्थ परिवारको जीवनरक्‍त हो। मतभिन्‍नताहरू हुँदा विवाद कम गर्न, आफ्नो तर्कले जित्नुभन्दा समस्या सुल्झाउने प्रयास गर्नुहोस्‌। आनन्दित परिवारका सदस्यहरूले दया देखाउन र एकअर्काको अझ बढी हेरचाह गर्न उत्कट प्रयास गर्छन्‌।—कलस्सी ३:८, १२-१४.

८ दया भनेको सकारात्मक कुरा हो र यसले अरूको भलाइ गर्ने चाहना जगाउँछ। तसर्थ, हामी मित्रैलो ढङ्‌गमा परिवारका सदस्यहरूको निम्ति उपयोगी, विचारशील अनि मदतकारी हुन खोज्छौं। दया देखाउन व्यक्‍तिगत तथा सामूहिक प्रयासको खाँचो पर्छ र त्यसो गर्दा परिवारको असल नाउँ झल्कन्छ। फलस्वरूप, तिनीहरूले परमेश्‍वरको आशिष्‌ मात्र प्राप्त गर्ने होइन तर मण्डली र समुदायमा तिनीहरूले दयाका परमेश्‍वर यहोवाको आदर गरिरहेका हुनेछन्‌।—१ पत्रुस २:१२.

काम गर्ने ठाउँमा दया

९, १०. काम गर्ने ठाउँमा उत्पन्‍न हुन सक्ने केही समस्याहरू बताउनुहोस्‌ अनि त्यसलाई दयालु ढङ्‌गमा कसरी सामना गर्न सकिन्छ टिप्पणी गर्नुहोस्‌।

९ जागिरमा दैनिक कामको सिलसिलामा मसीहीहरूले सँगी कामदारहरूलाई दया देखाउने चुनौतीको सामना गर्न सक्छन्‌। कामदारहरूबीच प्रतिस्पर्धाको कारण छलकपटपूर्ण वा धूर्त व्यवहार गर्ने सँगी कामदारले गर्दा आफ्नो जागिर खतरामा पर्न सक्छ जसको फलस्वरूप, मालिकसामु आफ्नो नाउँ बदनाम हुन सक्छ। (उपदेशक ४:४) त्यस्ता अवस्थाहरूमा दया देखाउन सजिलो हुँदैन। तैपनि, सही व्यवहार गर्नु भनेको दयालु हुनु हो भन्‍ने कुरालाई विचार गर्दै यहोवाका सेवकले अप्ठ्यारा मानिसहरूको समेत जतिसक्दो मन जित्ने प्रयास गर्नुपर्छ। यस सन्दर्भमा अरूको हेरचाह गर्ने मनोवृत्तिले मदत पुऱ्‍याउन सक्छ। सायद तपाईंको सँगी कामदार वा तिनको परिवारको कुनै सदस्य बिरामी पर्दा चासो देखाउन सक्नुहुन्छ। तिनी अथवा तिनको परिवारलाई कस्तो छ भनेर सोध्दा मात्र पनि राम्रो असर पर्न सक्छ। हो, आफूले गर्न सकिन्छ भने मसीहीहरूले सकेसम्म मिलाप र शान्ति बढाउने प्रयास गर्नुपर्छ। कहिलेकाहीं हेरचाह र चासो देखाउने दयालु शब्द बोलिदिंदा मात्र पनि अवस्था सुध्रनेछ।

१० अरू परिस्थितिहरूमा मालिकले कामदाहरूलाई तिनकै सोचाइअनुसार गर्न जबरजस्ती गराउन अनि कुनै राष्ट्रवादी समारोहमा भाग लिन तथा गैरधर्मशास्त्रीय उत्सव मनाउन सबैलाई दबाब दिन सक्छन्‌। मसीही अन्तस्करणले सहभागी हुन अनुमति नदिंदा मतभेद हुन सक्छ। त्यस्तो अवस्थामा मालिकको इच्छाअनुसार गर्नु कति गलत हुनेछ भनेर पूरै बेलीबिस्तार लाउनु त्यति बुद्धिमानी नहुन सक्छ। आखिर, मसीहीहरूको विश्‍वास नमान्‍ने व्यक्‍तिहरूलाई ती समारोह वा उत्सवमा भाग लिनु नै सही कुरा जस्तो लाग्न सक्छ। (१ पत्रुस २:२१-२३) सायद तपाईंले व्यक्‍तिगत तवरमा भाग नलिनुको कारण दयालु ढङ्‌गमा बुझाउन सक्नुहुन्छ। व्यङ्‌ग्यात्मक टिप्पणीहरूको बदलामा तपाईंले पनि व्यङ्‌ग्यात्मक टिप्पणीहरू नगर्नुहोस्‌। मसीहीहरूले रोमी १२:१८ मा दिइएको यो उत्तम सल्लाह पालन गर्नु बेस हुनेछ: “हुनसक्छ भने, सक्दोभर सबै मानिसहरूसँग शान्तिमा रहो।”

स्कूलमा दया

११. स्कूलका साथीहरूलाई दया देखाउने सन्दर्भमा जवानहरूले कस्ता चुनौतीहरूको सामना गर्छन्‌?

११ सँगी विद्यार्थीहरूलाई दया देखाउनु जवानहरूको निम्ति साँच्चै चुनौतीपूर्ण हुन सक्छ। जवान मानिसहरू अक्सर आफ्ना सहपाठीहरूले स्वीकारोस्‌ भन्‍ने चाहन्छन्‌। कोही केटाहरू अरू विद्यार्थीहरूले आफूलाई असाध्यै पुरुषार्थी ठानोस्‌ भन्‍नाको लागि स्कूलमा दादागिरी देखाउने समेत गर्छन्‌। (मत्ती २०:२५) अरू जवान मानिसहरू भने पढाइ, खेलकुद वा अरू गतिविधिहरूमा अरूलाई आफ्नो खुबी देखाउन चाहन्छन्‌। आफ्नो खुबी देखाउने धुनमा तिनीहरू अक्सर सहपाठी र अरू विद्यार्थीहरूसित निर्दयी व्यवहार गर्छन्‌, आफूसित कुनै खुबी हुनु भनेको नै तिनीहरूको श्रेष्ठताको चिनारी हो भन्‍ने गलत सोचाइ राख्छन्‌। यस्ता व्यक्‍तिहरूको नक्कल गर्नदेखि जवान मसीही भाइ वा बहिनी होसियार हुनुपर्छ। (मत्ती २०:२६, २७) प्रेरित पावलले भने, “प्रेम धीरजी र दयालु हुन्छ” अनि प्रेमले “आफै सेखी गर्दैन, र घमण्डले फुल्दैन।” यसर्थ, निर्दयी व्यवहार गर्नेहरूको नराम्रो उदाहरण अनुकरण गर्ने होइन तर स्कूलका साथीहरूसित व्यवहार गर्दा धर्मशास्त्रीय सल्लाह पालन गर्नु मसीहीहरूको दायित्व हो।—१ कोरिन्थी १३:४.

१२. (क) शिक्षकहरूप्रति दयालु व्यवहार गर्नु जवान व्यक्‍तिहरूको निम्ति किन चुनौतीपूर्ण हुन सक्छ? (ख) निर्दयी हुने दबाब आउँदा जवानहरूले मदतको लागि कसमाथि भर पर्न सक्छन्‌?

१२ जवानहरूले आफ्ना शिक्षकहरूसित पनि दयालु व्यवहार गर्नुपर्छ। थुप्रै विद्यार्थीहरू शिक्षकलाई रिस उठाएर आफू दङ्‌ग पर्छन्‌। तिनीहरू स्कूलका नियमहरू तोड्‌ने गतिविधिहरूमा लागेर शिक्षकहरूप्रति आदर नदेखाउँदा आफू साह्रै बाठो भएको भन्ठान्छन्‌। डरधम्कीद्वारा अरूलाई पनि आफ्नो साथ दिन लगाउन खोज्छन्‌। जवान मसीही भाइ वा बहिनीले त्यस्ता गतिविधिमा साथ दिन इन्कार गर्दा तिनी खिसी वा दुर्व्यवहारको तारो बन्‍न सक्छन्‌। स्कूलमा वर्षभरि त्यस्ता परिस्थितिहरूको सामना गर्दा मसीहीको दया देखाउने सङ्‌कल्पलाई परीक्षामा पार्न सक्छ। तर यहोवाको वफादार सेवक हुनु कत्तिको महत्त्वपूर्ण छ भन्‍ने कुरा नबिर्सनुहोस्‌। उहाँले जीवनका यी कठिन घडीहरूमा आफ्नो आत्माद्वारा सँभाल्नुहुनेछ भनेर ढुक्क हुनुहोस्‌।—भजन ३७:२८.

छिमेकीहरूलाई दया

१३-१५. छिमेकीलाई दया देखाउन कुन कुराले अवरोध खडा गर्न सक्छ र यी चुनौतीहरूको सामना कसरी गर्न सकिन्छ?

१३ तपाईं घर, अपार्टमेन्ट, ट्रेलर पार्क अथवा अरू कुनै ठाउँमा बस्नुभए तापनि छिमेकीहरूको हितको लागि दया देखाउने तथा चासो प्रकट गर्ने तरिकाहरूबारे सोच्न सक्नुहुन्छ। यसो गर्न पनि सधैं सजिलो हुँदैन।

१४ तपाईंको जात, राष्ट्रियता वा धर्मको कारण तपाईंको घर नजिकै बस्ने छिमेकीले पूर्वाग्रह राख्छन्‌ भने नि? तिनीहरूले कहिलेकाहीं छुच्चो व्यवहार गर्छन्‌ वा तपाईंलाई पटक्कै वास्ता गर्दैनन्‌ भने नि? यहोवाका सेवकको हैसियतमा सकेसम्म दया देखाउनु लाभकारी हुनेछ। तपाईं एकदम अलग्गै छुट्टिनुहुनेछ, यसले साँच्चै यहोवाको प्रशंसा गर्नेछ जो दया देखाउने व्यक्‍तिको रूपमा उदाहरण हुनुहुन्छ। तपाईंले देखाउनुभएको दयाले गर्दा तपाईंको छिमेकीको मनोवृत्तिमा कहिले परिवर्तन आउनेछ भनेर तपाईंलाई थाह छैन। तिनी यहोवाको प्रशंसकसमेत हुन सक्छन्‌।—१ पत्रुस २:१२.

१५ दया कसरी देखाउन सकिन्छ? एउटा तरिका त, सबैले आत्माको फल फलाउँदै परिवारभित्र अनुकरणीय आचरण देखाएर हो। यो छिमेकीहरूले याद गर्न सक्छन्‌। कहिलेकाहीं तपाईं आफ्नो छिमेकीको लागि गुन गरिदिन सक्नुहुन्छ। नबिर्सनुहोस्‌, दयालु हुनु भनेको अरूको हितमा सक्रिय चासो राख्नु हो।—१ पत्रुस ३:८-१२.

हाम्रो सेवकाईमा दया

१६, १७. (क) हाम्रो जन सेवकाईमा दया देखाउनु किन महत्त्वपूर्ण छ? (ख) क्षेत्र सेवकाईको विभिन्‍न पक्षमा दया कसरी देखाउन सकिन्छ?

१६ मानिसहरूलाई तिनीहरूको घर, व्यापार थलो वा सार्वजनिक स्थानहरूमा भेट्‌ने संयुक्‍त प्रयास गर्दा हाम्रो मसीही सेवकाईको चिनारी दया हुनुपर्छ। सधैं दयालु हुनुहुने यहोवाको हामी प्रतिनिधित्व गर्छौं भनेर हामीले कहिल्यै बिर्सनु हुँदैन।—प्रस्थान ३४:६.

१७ तपाईंको सेवकाईमा दया देखाउने प्रयासमा कुन-कुन कुराहरू बिथोलित छन्‌? उदाहरणका लागि, सडक साक्षीमा भाग लिनुहुँदा कुराकानी छोटो बनाएर अनि मानिसहरूप्रति विचारशील भएर दया देखाउन सक्नुहुन्छ। सडकका पेटीहरूमा अक्सर मानिसहरूको भीड हुन्छ, त्यसकारण सडकका पेटीहरूमा अवरोध खडा गर्नदेखि होसियार हुनुहोस्‌। साथै, व्यापारिक इलाकाहरूमा साक्षी दिनुहुँदा पसलेहरूले ग्राहकहरूलाई हेर्नुपर्छ भन्‍ने कुरालाई मनमा राख्दै छोटो कुराकानी गरेर दया देखाउनुहोस्‌।

१८. हाम्रो सेवकाईमा दया देखाउने सन्दर्भमा विवेकले कस्तो भूमिका खेल्छ?

१८ घर-घरको सेवकाईमा विवेक चलाउनुहोस्‌। विशेष गरी मौसम खराब भएको बेलामा एउटै घरमा लामो समयसम्म नबस्नुहोस्‌। तपाईंको उपस्थितिले गर्दा घरधनी हडबडाउन थालेको वा उसलाई झिजो समेत लाग्न थालेको के तपाईं महसुस गर्न सक्नुहुन्छ? सायद तपाईं बस्नुहुने इलाकामा यहोवाका साक्षीहरू पटक-पटक एउटै घरमा जान्छन्‌। त्यसो हो भने, सधैं दयालु तथा मित्रैलो भएर विशेष चासो देखाउनुहोस्‌। (हितोपदेश १७:१४) त्यस दिन घरधनीले कुरा नसुन्‍नुको ठोस कारण थियो भनेर मानिलिने कोसिस गर्नुहोस्‌। नबिर्सनुहोस्‌, तपाईंको कुनै मसीही भाइ वा बहिनी चाँडै नै त्यस घरमा फेरि पुग्नेछन्‌। छुच्चो व्यक्‍ति भेट्‌नुभयो भने दया देखाउन विशेष प्रयास गर्नुहोस्‌। स्वर उचाल्ने वा निधार खुम्च्याउने नगर्नुहोस्‌ तर शान्त ढङ्‌गमा कुरा गर्नुहोस्‌। दयालु मसीहीले घरधनीलाई रिस उठाएर चर्को भनाभन गर्न उक्साउन चाहँदैन। (मत्ती १०:११-१४) सायद कुनै दिन त्यस व्यक्‍तिले सुसमाचार सुन्‍नेछ।

मण्डलीका सभाहरूमा दया

१९, २०. मण्डलीमा किन दया चाहिन्छ र यो कसरी देखाउन सकिन्छ?

१९ सँगी विश्‍वासीहरूलाई दया देखाउनु पनि त्यत्तिकै महत्त्वपूर्ण छ। (हिब्रू १३:१) हामी विश्‍वव्यापी भ्रातृत्वको भाग भएकोले एकअर्कासित व्यवहार गर्दा दया अत्यावश्‍यक छ।

२० कुनै मण्डलीले अर्को एउटा, दुइटा वा थुप्रै मण्डलीहरूसित मिलेर एउटै राज्यभवन चलाइरहेको छ भने अर्को मण्डलीका व्यक्‍तिहरूप्रति उचित मर्यादा देखाउँदै दयालु व्यवहार गर्नु महत्त्वपूर्ण छ। प्रतिस्पर्धा गर्ने खालको मनोभाव छ भने सभाको समय मिलाउन तथा सरसफाइ वा स्याहार-सम्भारजस्ता कामहरूको चाँजोपाँजो मिलाउन गाह्रो हुन्छ। केही मतभिन्‍नताहरू भए तापनि दयालु तथा विचारशील हुनुहोस्‌। यसो गर्दा दयाको विजय हुनेछ अनि तपाईंले अरूको हितको लागि देखाउनुभएको चासोमा यहोवाले साँच्चै आशिष्‌ दिनुहुनेछ।

दया देखाइरहनुहोस्‌

२१, २२. कलस्सी ३:१२ अनुसार हाम्रो के गर्ने सङ्‌कल्प हुनुपर्छ?

२१ दया भनेको एउटा अत्यन्तै व्यापक असर पार्ने गुण भएकोले यसले हाम्रो जीवनको सबै पक्षलाई छुन्छ। त्यसकारण हामीले यसलाई हाम्रो मसीही व्यक्‍तित्वको अभिन्‍न भाग बनाउनुपर्छ। अरूलाई दया देखाउनु भनेको हाम्रो बानी नै बन्‍नुपर्छ।

२२ हामी हरेक दिन एकअर्कासित दयालु होऔं अनि व्यक्‍तिगत तवरमा प्रेरित पावलका यी शब्दहरू लागू गरौं: “परमेश्‍वरका चुनिएकाहरूझैं पवित्र र प्रिय, सहानुभूतिको हृदय, दया, नम्रता, विनय, सहनशीलता धारण गर।”—कलस्सी ३:१२.

के तपाईंलाई सम्झना छ?

• दया देखाउनको निम्ति मसीहीलाई गाह्रो बनाउने कुरा के हो?

• आफ्नो परिवारमा दया देखाउनु किन महत्त्वपूर्ण छ?

• स्कूलमा, काम गर्ने ठाउँमा र छिमेकीहरूलाई दया देखाउन गाह्रो बनाउने केही चुनौतीहरू के-के हुन्‌?

• मसीहीहरूले तिनीहरूको जन सेवकाईमा कसरी दया देखाउन सक्छन्‌, बताउनुहोस्‌।

[पृष्ठ १८-मा भएको चित्र]

परिवारमा सबैले दया देखाउँदा एकता र सहयोग बढ्‌छ

[पृष्ठ १९-मा भएको चित्र]

सहकर्मी वा तिनको परिवार बिरामी पर्दा तपाईं दया देखाउन सक्नुहुन्छ

[पृष्ठ २०-मा भएको चित्र]

खिसी सहनुपरे तापनि धीरजी भई दया देखाइरहनेहरूलाई यहोवाले साथ दिनुहुन्छ

[पृष्ठ २१-मा भएको चित्र]

खाँचोमा परेको छिमेकीलाई मदत गर्नु भनेको दयालु काम हो

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने