दयाले तपाईँलाई उत्प्रेरित गरोस्
बहिनी लिसाa आफूलाई बाइबल सत्यतर्फ आकर्षित गरेको कुराबारे यसरी बताउँछिन्: “भाइबहिनीहरूले देखाउनुभएको दयाले ममा गहिरो प्रभाव पाऱ्यो।” बहिनी आनले पनि त्यस्तै अनुभव गरिन्। तिनी यसो भन्छिन्: “साक्षीहरूले सिकाउनुभएको कुराले भन्दा पनि उहाँहरूले देखाउनुभएको दयाले मलाई बाइबल सत्यतर्फ आकर्षित गऱ्यो।” हुनत अहिले यी दुवै बहिनी बाइबल पढ्ने र मनन गर्ने गर्छन् तर सुरुमा तिनीहरूमा गहिरो प्रभाव पारेको कुरा भनेको भाइबहिनीले देखाएको दया नै थियो।
हामी कसरी अरूको मन छुने तरिकामा दया देखाउन सक्छौँ? आउनुहोस्, यसो गर्ने दुई वटा तरिका विचार गरौँ: आफ्नो बोलीद्वारा र कामद्वारा। त्यसपछि हामीले कसलाई दया देखाउनुपर्छ भनेर पनि बुझ्नेछौँ।
दयाले भरिएको बोली
हितोपदेश ३१:२६ मा गुणवती पत्नीको बोली “दयाले भरिएको” हुन्छ भनेर बताइएको छ। तिनको बोल्ने शैली र शब्दहरूमा दया झल्किन्छ। पतिहरू र बुबाहरूको बोलीमा पनि दया झल्किनुपर्छ। छोराछोरीसित रुखो बोली बोल्दा त्यसले उनीहरूमा नराम्रो प्रभाव पार्छ भन्ने कुरा धेरैजसो आमाबुबालाई थाह छ। यदि आमाबुबाले छोराछोरीसित रुखो बोली बोल्छन् भने उनीहरूले आमाबुबाको कुरा नटेर्न सक्छन्। त्यसैले छोराछोरीसित दयालु बोली बोल्न आमाबुबाले सक्दो कोसिस गर्नुपर्छ।
तपाईँ आमाबुबा हुनुहुन्न भने पनि कसरी दयाले भरिएको बोली बोल्न सक्नुहुन्छ? यसको जवाफ हितोपदेश ३१:२६ को पहिलो भागमा पाउँछौँ, जहाँ यसो भनिएको छ: “तिनको मुखबाट बुद्धिले भरिएका कुरा निस्कन्छन्।” यसमा हामीले चलाउने शब्दहरू र बोल्ने शैलीमा होस पुऱ्याउनु समावेश छ। बोल्नुअघि आफूलाई यस्तो प्रश्न सोध्नु बेस हुन्छ: ‘मेरो बोलीले तनावपूर्ण अवस्थालाई शान्त पार्छ कि अरूलाई झनै रिस उठाउँछ?’—हितो. १५:१.
हितोपदेश १२:१८ यसो भन्छ: “सोचविचार नगरी बोल्दा त्यसले तरबारले झैँ घोच्छ।” हामीले चलाउने शब्दहरू र हाम्रो बोल्ने शैलीले अरूलाई असर गर्न सक्छ भन्ने कुरा विचार गऱ्यौँ भने हामीले आफ्नो जिब्रोमा लगाम लगाउन सक्नेछौँ। दयाले हामीलाई घोच्ने शब्दहरू प्रयोग नगर्न र रुखो तरिकामा नबोल्न मदत गर्छ। (एफि. ४:३१, ३२) साथै हामी नकारात्मक सोचाइ राख्दैनौँ र त्यस्तो बोली बोल्दैनौँ। बरु दयालु अनि सकारात्मक बोली बोल्छौँ। यस सन्दर्भमा यहोवाले राम्रो उदाहरण बसाल्नुभएको छ। डराएका एलियालाई आश्वासन दिनुहुँदा उहाँले स्वर्गदूतमार्फत तिनीसित “सानो मधुर स्वर”-मा कुरा गर्नुभयो। (१ राजा १९:१२) तर दयालु हुनुमा दयालु बोली बोल्नु मात्र पर्याप्त छैन, त्यो काममा पनि देखाउनुपर्छ। कसरी?
दयालु व्यवहारले अरूमा राम्रो प्रभाव पार्छ
हामी दयालु बोली बोलेर मात्र होइन, अरूसित दयालु व्यवहार गरेर पनि यहोवाको अनुकरण गर्छौँ। (एफि. ४:३२; ५:१, २) अगाडि उल्लेख गरिएकी लिसाले साक्षीहरूले देखाएको दयाबारे यसो भनिन्: “हाम्रो परिवार अचानक अर्को ठाउँमा सर्नुपर्दा मण्डलीका दुई वटा दम्पतीले कामबाट छुट्टी लिएर हामीलाई सामानहरू प्याक गर्न मदत गरे। त्यतिबेला मैले बाइबल अध्ययन सुरु पनि गरेकी थिइनँ।” साक्षीहरूको यस्तो दयालु व्यवहारले गर्दा लिसा बाइबल सत्य अझ राम्ररी जाँच्न उत्प्रेरित भइन्।
सुरुमा उल्लेख गरिएकी आन साक्षीहरूले आफूप्रति देखाएको दयालु व्यवहारप्रति कृतज्ञ भइन्। तिनले यसो भनिन्: “संसारका मानिसहरूको व्यवहारले गर्दा म जसलाई पनि शङ्काको नजरले हेर्थेँ। म अरूमाथि भरोसा गर्नै सक्दिनथेँ।” तिनले यसो पनि भनिन्: “मैले साक्षीहरूलाई भेट्दा उनीहरूको मनसायमा पनि शङ्का गरेँ। ‘यिनीहरूले मलाई किन यति धेरै चासो देखाएका होलान्’ जस्तो लाग्थ्यो। तर मेरो अध्ययन सञ्चालकको दयालु बोली-व्यवहारले गर्दा मैले उहाँमाथि भरोसा गर्न सकेँ।” यसको नतिजा कस्तो भयो? तिनले यसो भनिन्, “मैले आफूले सिकिरहेका कुराहरूमा अझ बढी ध्यान दिन थालेँ।”
मण्डलीका भाइबहिनीको दयालु व्यवहारले गर्दा लिसा र आनको मनै छोयो अनि तिनीहरू यहोवाबारे अझ धेरै सिक्न उत्प्रेरित भए। यस्तो व्यवहारले गर्दा तिनीहरूले यहोवा अनि उहाँका सेवकहरूमाथि भरोसा गर्न सके।
यहोवाको अनुकरण गर्दै अरूसित दयालु व्यवहार गर्नुहोस्
आफू हुर्केको वातावरणले गर्दा कोही-कोही मुस्कुराएर दयालु तरिकामा बोल्छन् होला। यो पक्कै पनि प्रशंसनीय कुरा हो। तर आफू हुर्केको वातावरण वा स्वभावले गर्दा मात्र अरूप्रति दयालु तरिकामा बोल्छौँ भने हामीले परमेश्वरले चाहनुभएअनुसार दया देखाइरहेका हुँदैनौँ।—प्रेषित २८:२ तुलना गर्नुहोस्।
दया भन्ने गुण परमेश्वरको पवित्र शक्तिको फलको एउटा पक्ष हो। (गला. ५:२२, २३) त्यसैले यो गुण आफूमा विकास गर्न हामी पवित्र शक्तिमा भर पर्नुपर्छ। पवित्र शक्तिमा भर परेर अरूलाई दया देखाउँदा हामीले यहोवा अनि येसुको अनुकरण गरिरहेका हुन्छौँ। यसबाहेक हामी ख्रिष्टियनहरूले अरूप्रति निष्कपट चासो राख्ने भएकोले पनि अरूलाई दया देखाउँछौँ। यसो गर्न हामीलाई यहोवा अनि मानिसहरूप्रतिको प्रेमले उत्प्रेरित गर्छ। यसरी मनैदेखि र परमेश्वरले चाहनुभएअनुसार दया देखाउँदा हामीमा भएको यो गुण अझ सशक्त हुन्छ।
हामीले कसलाई दया देखाउनुपर्छ?
हामीसित दयालु व्यवहार गरेका वा हामीले चिनेका व्यक्तिहरूलाई दया देखाउन र कृतज्ञता व्यक्त गर्न हामीलाई सजिलो लाग्छ होला। (२ समु. २:६; कल. ३:१५) तर कुनै व्यक्ति हाम्रो दया पाउन लायकको छैन जस्तो लाग्छ भने नि?
यो कुरा विचार गरौँ: यहोवाले दया अर्थात् अनुग्रह देखाउने सन्दर्भमा उत्कृष्ट उदाहरण बसाल्नुभएको छ। उहाँको वचनले यो गुण विकास गर्ने सन्दर्भमा महत्त्वपूर्ण पाठ सिकाउँछ। “असीम अनुग्रह” भन्ने अभिव्यक्ति ख्रिष्टियन ग्रीक धर्मशास्त्रमा थुप्रै चोटि प्रयोग गरिएको छ। परमेश्वरले हामीलाई कसरी अनुग्रह देखाउनुभएको छ?
यहोवाले सबै मानिसजातिलाई जीवन धान्न चाहिने सबै कुरा दिनुभएर अनुग्रह देखाउनुभएको छ। (मत्ति ५:४५) वास्तवमा हामीले उहाँलाई चिन्नुअघि नै उहाँले हामीलाई अनुग्रह देखाइसक्नुभएको छ। (एफि. २:४, ५, ८) उदाहरणको लागि, उहाँले हाम्रो लागि एक मात्र प्यारो छोरा दिनुभयो। फिरौतीको प्रबन्ध परमेश्वरले “प्रशस्तगरि देखाउनुभएको असीम अनुग्रह” हो भनेर प्रेषित पावलले लेखे। (एफि. १:७) साथै हामीले पाप गरेर यहोवाको चित्त दुखाए तापनि उहाँले हामीलाई डोऱ्याउन र शिक्षा दिन कहिल्यै छोड्नुहुन्न। “सिमसिम पानी”-ले बिस्तारै जमिनलाई भिजाएजस्तै परमेश्वरको वचन र शिक्षाले पनि हामीलाई कोमलतासाथ डोऱ्याउँछ। (व्यव. ३२:२) यहोवाले हामीलाई यसरी अनुग्रह देखाउनुभएबापत हामीले उहाँलाई दिन सक्ने कुरा थोरै मात्र छ। वास्तवमा भन्नुपर्दा, यहोवाले हामीलाई असीम अनुग्रह नदेखाउनुभएको भए हामीले भविष्यको सुन्दर आशा पाउने थिएनौँ।—१ पत्रुस १:१३ तुलना गर्नुहोस्।
यहोवाको दया मनमोहक छ र यस गुणले हामीलाई सही काम गर्न उत्प्रेरणा दिन्छ। हामी दया देखाउने सन्दर्भमा पक्षपाती हुनु हुँदैन। बरु यहोवाको अनुकरण गर्दै हरेक दिन अरूलाई दया देखाउन कोसिस गर्नुपर्छ। (१ थिस्स. ५:१५) हामीले अरूलाई दया देखाइरह्यौँ भने हामी अरूको लागि कठाङ्ग्रिने जाडोमा न्यानो बनाउने आगोजस्तै भइरहेका हुन्छौँ। यसरी दया देखाउँदा हामी परिवारका सदस्य, भाइबहिनी, सहकर्मी, सहपाठी अनि छिमेकीको लागि सान्त्वनाको स्रोत भइरहेका हुन्छौँ।
तपाईँको परिवार वा मण्डलीमा तपाईँको दयालु बोली र कामबाट लाभ उठाउन सक्ने कोही छन् कि? तपाईँको मण्डलीको कसैलाई घरायसी काममा अथवा किनमेल गर्न मदत चाहिएको हुन सक्छ। साथै तपाईँले साक्षीकार्यमा भेट्नुभएको कुनै व्यक्तिलाई व्यावहारिक मदत चाहिएको हुन सक्छ।
यहोवाको अनुकरण गर्दै आफ्नो बोली र व्यवहारमा सधैँ दया झल्काइरहौँ!
a नामहरू परिवर्तन गरिएका छन्।