प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w04 ८/१५ pp. ४-७
  • सबैभन्दा उपयोगी सल्लाह पत्ता लगाउने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सबैभन्दा उपयोगी सल्लाह पत्ता लगाउने
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • विवाहमा वफादारिता
  • हाम्रा छोराछोरीको पालनपोषण
  • सबैभन्दा उपयोगी सल्लाहको सदुपयोग गर्नुहोस्‌
  • ‘बुद्धिमान्‌ मानिसले के भन्छ, सुन’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • सल्लाह सुन्‍नुहोस्‌, अनुशासन स्वीकार्नुहोस्‌
    एक मात्र साँचो परमेश्‍वरको उपासना गर्नुहोस्‌
  • वर्तमान समयका लागि व्यवहारिक किताब
    सबैका लागि उपयोगी किताब
  • परमेश्‍वरको वचन सत्य हो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
w04 ८/१५ pp. ४-७

सबैभन्दा उपयोगी सल्लाह पत्ता लगाउने

सफल जीवन साँच्चै मनमोहक हुन्छ। राम्रो सल्लाह र यसै सल्लाह अनुरूप चल्ने इच्छा नै यस जटिल संसारमा सफल जीवन प्राप्त गर्ने प्रमुख कुञ्जीहरू हुन्‌। तथापि, मानिसहरूले उपयोगी सल्लाहप्रति ध्यान दिने इच्छुकता सधैं देखाएका छैनन्‌। स्वतन्त्र भई जीवन बिताउनुपर्छ भनी दाबी गर्ने मानिसहरू थुप्रै छन्‌। हो, बाइबल रेकर्डले देखाएअनुसार ईश्‍वरीय सार्वभौमिकताको मूल शत्रु, शैतानले प्रथम मानवलाई स्वतन्त्रता दिने कुरा बतायो। उत्पत्ति ३:५ मा त्यसले हव्वालाई गरेको दाबी यसरी लिपिबद्ध गरिएको छ: “परमेश्‍वर जान्‍नुहुन्छ कि जुन दिन तिमीहरू त्यो [असल र खराबको ज्ञान दिने रूखको फल] खान्छौ त्यही दिन तिमीहरूका आँखा खुल्नेछन्‌, र असल र खराबको ज्ञान पाएर तिमीहरू पनि परमेश्‍वरजस्तै हुनेछौ।”

आफ्नै विचारधाराको भरमा मात्र चल्दा के आदम र हव्वा त्यसपछि पनि कुनै प्रतिकूल परिणाम नभोगीकनै सफलतापूर्वक बाँचिरहन सके? अहँ, कदापि सकेनन्‌। असल र खराब छुट्याउन सक्छौं भन्ठान्दा भोग्नुपरेका परिणामहरूको कारण तिनीहरू छिट्टै निराश भए। यसैको फलस्वरूप तिनीहरूले परमेश्‍वरको अनुमोदन गुमाउनुका साथै असिद्ध अवस्थामा कष्टकर जीवन बिताउनुपऱ्‍यो, अन्ततः त्यसले तिनीहरूलाई मृत्युसम्म पुऱ्‍यायो। (उत्पत्ति ३:१६-१९, २३) मृत्युले हामी सबैलाई असर गर्छ। बाइबल यसो भन्छ: “एउटै मानिसद्वारा [आदमद्वारा] पाप संसारमा प्रवेश भयो र पापबाट मृत्यु, त्यसरीनै मृत्यु सबै मानिसमा व्याप्त भयो। किनकि सबैले पाप गरेका छन्‌।”—रोमी ५:१२.

आदम र हव्वाले गरेको छनौटका प्रतिकूल परिणामहरू भोग्नुपरे तापनि मानिसको सृष्टिकर्ताबाट आउने सल्लाह लागू गर्नु बुद्धिमानी हो भन्‍ने कुरामा धेरै जना अझै पनि विश्‍वस्त हुन सकेका छैनन्‌। तथापि, बाइबल ‘परमेश्‍वरबाट प्रेरणा भएको . . . र उपयोगी हुन्छ’ भनेर बाइबलमा बताइएको छ अनि यसले हामीलाई “हरेक सुकर्ममा पूर्णरूपले सुसज्जित भई सिद्ध” हुन मदत गर्न सक्छ। (२ तिमोथी ३:१६, १७) बाइबलमा पाइने सल्लाह पालन गऱ्‍यौं भने हामी निश्‍चय पनि खुसी हुनेछौं। यसको सल्लाह लागू हुने प्रमुख क्षेत्र पारिवारिक जीवन हो।

विवाहमा वफादारिता

बाइबलअनुसार, विवाह स्थायी होस्‌ भन्‍ने परमेश्‍वरको उद्देश्‍य थियो। (उत्पत्ति २:२२-२४; मत्ती १९:६) यसबाहेक, धर्मशास्त्रले “ओछ्यान नबिटुलिओस्‌” भनी बताउँछ। त्यसको मतलब हो, विवाहबाहिर यौनसम्बन्ध राखेर यो बन्धनलाई बिटुलो पार्नु हुँदैन। (हिब्रू १३:४) तथापि, तपाईंलाई थाहै होला कि आज थुप्रै विवाहहरूले यो स्तर पूरा गर्दैनन्‌। काम गर्ने ठाउँमा आफ्नो वैवाहिक जोडीबाहेक अन्य व्यक्‍तिहरूसित बेमतलबले जिस्कने कसै-कसैको बानी हुन्छ। आफ्नो लोग्ने वा स्वास्नीबाहेक अरू कसैप्रति रोमान्टिक चासो राखेर समय बिताउनको लागि अरू कतिपयले चाहिं आफ्नो परिवारलाई ढाँट्‌ने गर्छन्‌। तरुणी केटीसँग बस्दा जवान र खुसी भएको अनुभूति हुन्छ भनी तर्क गर्दै अघिल्लो लेखमा उल्लेख गरिएको भेरोनिकाले अनुभव गरेजस्तै अरू कसै-कसैले त अझ आफ्नो लोग्ने वा स्वास्नीलाई त्याग्नेसमेत गर्छन्‌।

यद्यपि, हर हालतमा आफूलाई खुसी पार्ने सङ्‌कल्प गर्दा चिरस्थायी आनन्द प्राप्त हुनेछैन। रोनाल्ड यस कुराको पुष्टि गर्न सक्छन्‌। आफ्नो जीवनलाई अझ राम्रो बनाउन सक्छु भन्‍ने कुरामा विश्‍वस्त हुँदै छ वर्षदेखि गोप्य रूपमा प्रेम गर्दै आएको एउटी आइमाईसँग नयाँ परिवार सुरु गर्न तिनले आफ्नी पत्नीलाई नै त्यागे। ती आइमाईबाट तिनको एक छोरा र एक छोरी भइसकेका थिए। तथापि, तिनले आफ्नो विवाह तोडेको केही समयपछि तिनकी प्रेमिकाले तिनलाई त्यागिन्‌! अन्तमा रोनाल्ड आफ्ना आमाबाबुसित बस्न गए। तिनले आफ्नो अवस्थालाई “अपमानजनक” भनी वर्णन गरे। त्यो त एउटा उदाहरण मात्र हो। स्वार्थी इच्छाहरूले उत्पन्‍न गर्ने यस्तो व्यवहारको कारण सम्बन्ध विच्छेद र परिवार टुक्रिने क्रम अहिले जति पहिला कहिल्यै भएको थिएन र यसको परिणामस्वरूप वयस्क तथा केटाकेटी दुवै वर्गका अनगन्ती व्यक्‍तिविशेषहरूलाई मर्का परिरहेको छ।

अर्कोतर्फ, बाइबलको सल्लाह पालन गर्दा साँचो आनन्द प्राप्त हुन्छ। यो कुरा अनुभव गर्ने रोबर्टो यसो भन्छन्‌: “धन्‍न, बाइबलमा दिइएको सल्लाहले गर्दा मैले आफ्नी पत्नीलाई गुमाउनुपरेन। लोग्ने वा स्वास्नीबाहेक अर्को व्यक्‍ति जतिसुकै आकर्षक देखिए तापनि त्यस व्यक्‍तिप्रति मोहित भयौं भने, हामी साँचो आनन्द प्राप्त गर्न सक्दैनौं। बाइबलको शिक्षाले मलाई धेरै वर्षदेखि मेरो साथ दिंदै आएकी आफ्नो जीवनसाथीको कदर गर्न मदत गरेको छ।” “आफ्नो जवानीपनको स्वास्नीलाई धोका नदेओस्‌” भन्‍ने बाइबलको सल्लाहले रोबर्टोको जीवनमा अहम्‌ भूमिका खेल्यो। (मलाकी २:१५) अन्य कस्ता पक्षहरूमा हामी ईश्‍वरीय सल्लाहबाट लाभ उठाउन सक्छौं?

हाम्रा छोराछोरीको पालनपोषण

छोराछोरीको पालनपोषण गर्ने सन्दर्भमा आमाबाबुले तीन थुप्रो सीमा तोक्नु हुँदैन भन्‍ने धारणा केही दशकअघि निकै लोकप्रिय भएको थियो। कसरी सोच्ने अनि कसरी व्यवहार गर्ने भन्‍ने विषयमा छोराछोरीलाई आफै निर्णय गर्न दिने कुरा व्यावहारिक देखिन्थ्यो। यसको उद्देश्‍य उनीहरूको विकासलाई कुण्ठित हुन नदिनु थियो। कुनै-कुनै ठाउँहरूमा त अझ विद्यार्थीहरूलाई आफूले चाहे जस्तो गर्न मिल्ने शैक्षिक प्रणालीको व्यवस्था गरिएको थियो, जसमा अरू कुराहरूमध्ये पनि कक्षामा उपस्थित हुने कि नहुने भन्‍ने सन्दर्भमा विद्यार्थीहरू आफैले निर्णय गर्न सक्थे र मनोरञ्जनको मात्रा वा उनीहरूलाई दिइने निर्देशन आफैले छनौट गर्न सक्थे। यस किसिमको एउटा स्कूलको नीति “वयस्कहरूको विचार अनि हस्तक्षेपविना केटाकेटीहरूलाई खुलेर आफ्ना भावनाहरू व्यक्‍त गर्न लगाउनु थियो।” आज, मानव व्यवहारसम्बन्धी सल्लाहकारहरू कुनै-कुनै किसिमको अनुशासन दिने सन्दर्भमा अझै पनि असहमति जनाउँछन्‌ जबकि आमाबाबुले मायालु अनुशासन दिनु जरुरी देख्छन्‌।

परिणाम के भएको छ? छोराछोरीको पालनपोषण गर्दा उनीहरूलाई मनपरी गर्न दिनाले छोराछोरीलाई अत्यधिक मात्रामा स्वतन्त्रता मिलेको छ भन्‍ने सोचाइ राख्ने मानिसहरू थुप्रै छन्‌। उनीहरूको विचारमा यसैले गर्दा . . . अपराधको बिगबिगी तथा लागूपदार्थको दुर्व्यसन बढेको हो। संयुक्‍त राज्य अमेरिकामा गरिएको सर्वेक्षणमा भाग लिएका करिब ७० प्रतिशत मानिसहरूको विचारमा केटाकेटी तथा जवान मानिसहरूले आमाबाबुको निर्देशन चाहिएजति पाउँदैनन्‌। किशोर-किशोरीहरूले स्कूलमा गोली हानाहान गर्नुका साथै अन्य जघन्य अपराधहरू गर्नुको कारण बताउँदा थुप्रै मानिसहरू “आमाबाबुको फितलो नियन्त्रणलाई” दोष दिन्छन्‌। अनि परिणाम त्यति दुःखदायी नहुँदासमेत आमाबाबु तथा छोराछोरी दुवैले छोराछोरीको राम्रोसँग पालनपोषण नगर्नुका पीडादायी नतिजाहरू भोग्छन्‌।

यस सन्दर्भमा बाइबल के भन्छ? आमाबाबुले आफ्नो अख्तियार प्रेमपूर्वक अनि दृढतासाथ चलाउनुपर्छ भन्‍ने धर्मशास्त्रीय सल्लाह छ। बाइबल यसो भन्छ: “बालकको हृदयभित्र मूर्खता गाडिएको हुन्छ, खूब पिटाइले त्यो त्यसबाट पूरै निकालिदिन्छ।” (हितोपदेश २२:१५) हो, आमाबाबुले दिने अनुशासन परिस्थिति सुहाउँदो हुनुपर्छ। कुनै पनि किसिमको अनुशासन दिंदा कोमलता, आत्मसंयम र विचारशीलतालाई ध्यान दिनु आवश्‍यक छ। यसरी अनुशासन दिनु भनेको प्रेमको चिह्न हो। आमाबाबुले आफ्नो अख्तियार कठोरतापूर्वक नभई मायालु ढङ्‌गमा चलाउँदा सफलता प्राप्त हुने सम्भावना धेरै हुन्छ।

यो सुझाव लागू गर्दाका राम्रा परिणामहरू प्रत्यक्ष छन्‌। हालसालै विवाह गरेका मेक्सिकोका ३० वर्षीय आरटुरो यसो भन्छन्‌: “बुबाले हाम्रो परिवारमा उहाँको र आमाको अख्तियार चल्छ भन्‍ने कुरा मेरो दाइ र भाइ अनि मलाई स्पष्ट पार्नुभएको थियो। हामीलाई अनुशासन दिन उहाँहरू कहिल्यै हिचकिचाउनुभएन। यद्यपि, हामीसँग कुराकानी गर्न उहाँहरूले सधैं समय निकाल्नुहुन्थ्यो। अहिले त म वयस्क भइसकें र आफ्नो सन्तुलित जीवनको म निकै कदर गर्छु अनि मैले पाएको असल डोऱ्‍याइको कारण नै यो सम्भव हुन सकेको हो भन्‍ने कुरा मलाई थाह छ।”

सबैभन्दा उपयोगी सल्लाहको सदुपयोग गर्नुहोस्‌

परमेश्‍वरको वचन बाइबलमा मानिसहरूलाई चाहिने सबैभन्दा उपयोगी सल्लाह पाइन्छ। यसमा पाइने निर्देशन परिवारभित्र मात्रै सीमित छैन। यसले हामीलाई विभिन्‍न तरिकाहरूमा सुसज्जित हुन मदत गर्छ किनभने यसले हामीलाई आफ्नै भलाइको लागि आफ्नो जीवन बुद्धिको उच्च स्रोतद्वारा निर्देशित हुनुपर्छ भन्‍ने कुरा राजीखुसीसाथ स्वीकार्न इन्कार गर्ने मानिसहरू भएको संसारमा कसरी चल्नुपर्छ भन्‍ने कुरा सिकाउँछ।

मानिसजातिको सृष्टिकर्ता यहोवा परमेश्‍वरले भजनहार दाऊदमार्फत यस्तो आश्‍वासन दिनुभयो: “म तँलाई शिक्षा दिनेछु, र तैंले कुन मार्गमा चल्नुपर्ने हो सो तँलाई सिकाउनेछु। तँमाथि नजर राखेर म तँलाई सल्लाह दिनेछु।” (भजन ३२:८) खतराहरूबाट हामीलाई जोगाउन सृष्टिकर्ताले हामीमाथि नजर राख्नुको अर्थ के हो भनेर के तपाईं कल्पना गर्न सक्नुहुन्छ? यद्यपि, हामी प्रत्येकले आफूलाई सोध्नुपर्ने प्रश्‍न हो: ‘मेरो सुरक्षाको लागि यहोवाले दिनुहुने डोऱ्‍याइलाई के म नम्रतापूर्वक स्वीकार्नेछु?’ उहाँको वचन मायालुपूर्वक हामीलाई यसो भन्छ: “तेरो सारा भरोसा परमेश्‍वरमा राख्‌, र तेरो आफ्नै समझ-शक्‍तिमा भरोसा नगर्‌। आफ्नो सबै चालमा उहाँलाई सम्झी र उहाँले तेरा बाटोहरू सुगम तुल्याइदिनुहुनेछ।”—हितोपदेश ३:५, ६.

यहोवालाई चिन्‍न प्रयास अनि समर्पण आवश्‍यक छ तर बाइबलमार्फत मानिसजातिले यहोवालाई चिन्‍न सम्भव छ। यहोवाले चाहनुहुने जीवन शैलीमा “अहिले भइरहेको र पछि हुनेसमेत जीवनको प्रतिज्ञा” छ। यसले प्रदान गर्ने लाभहरूलाई विचार गर्ने हो भने, यो साँच्चै एउटा ठूलो इनाम हो।—१ तिमोथी ४:८; ६:६.

बाइबलले प्रदान गर्ने अन्तरदृष्टि र यसअनुसार जीवन बिताउँदा प्राप्त हुने आशिष्‌हरूद्वारा तपाईं आकर्षित हुनुभएको छ भने, परमेश्‍वरको वचन पढ्‌ने अनि त्यसमा मनन गर्ने कार्यलाई आफ्नो जीवनमा प्राथमिकता दिनुहोस्‌। यसो गर्दा तपाईंले आज अनि आगामी दिनमा आइपर्ने जस्तोसुकै चुनौतीहरूको सफलतापूर्वक सामना गर्ने मदत पाउनुहुनेछ। साथै, परमेश्‍वरको नयाँ संसारमा बाँच्ने आशाबारे पनि तपाईंले सिक्नुहुनेछ, जहाँ सबै जना यहोवाद्वारा सिकाइएका हुनेछन्‌ र तिनीहरूले प्रशस्त शान्ति पाउनेछन्‌।—यशैया ५४:१३.

[पृष्ठ ५-मा भएको चित्र]

बाइबलको सल्लाहले वैवाहिक बन्धनलाई बलियो बनाउन सक्छ

[पृष्ठ ६-मा भएका चित्रहरू]

बाइबलको सल्लाह असल निर्देशनको आधार हो र यो पालन गर्दै रमाइलो पनि गर्न सकिन्छ

[पृष्ठ ७-मा भएका चित्रहरू]

बाइबलको सल्लाह लागू गर्ने व्यक्‍तिहरूले सन्तुलित जीवनको आनन्द उठाउन सक्छन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने