प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w04 ११/१५ pp. १५-२०
  • दुष्ट विरुद्ध यहोवाको न्याय आउनेछ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • दुष्ट विरुद्ध यहोवाको न्याय आउनेछ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ईश्‍वरीय न्याय सधैं योग्य हुन्छ
  • ईश्‍वरीय न्यायबाट उम्कन सकिंदैन
  • “तिमीहरूका परमेश्‍वरसित भेट गर्न तिमीहरू तयार भइरहो”
  • ईश्‍वरीय न्यायले छनौट गर्छ
  • यहोवाको प्रतिकूल न्याय आउनेछ!
  • सोझाहरूका लागि आशा
  • साहसी भई परमेश्‍वरको वचन बोल्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • भविष्यवक्‍ताहरूलाई नमुनाको रूपमा लिनुहोस्‌—आमोस
    हाम्रो राज्य सेवा—२०१३
  • योएल र आमोसको पुस्तकका विशेषताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • हृदय जाँच्नुहुने यहोवालाई खोज्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
w04 ११/१५ pp. १५-२०

दुष्ट विरुद्ध यहोवाको न्याय आउनेछ

“तिमीहरूका परमेश्‍वरसित भेट गर्न तिमीहरू तयार भइरहो!”—आमोस ४:१२.

१, २. परमेश्‍वरले दुष्टताको अन्त गर्नुहुनेछ भनेर हामी किन विश्‍वस्त हुन सक्छौं?

के यहोवाले यस पृथ्वीबाट कहिल्यै दुष्टता र दुःखकष्टको अन्त गर्नुहुनेछ? अहिले २१ औं शताब्दीको सुरुमा त्यो प्रश्‍नले पहिलेभन्दा अझ टड्‌कारो रूप लिएको छ। जतासुकै हेरे तापनि मानिसले मानिसमाथि गरेको अमानवीय व्यवहारको प्रमाण हामी देख्छौं। हिंसा, आतङ्‌कवाद र भ्रष्टाचार मुक्‍त संसारको हामी कत्ति तीव्र इच्छा गर्छौं!

२ तैपनि एउटा सुसमाचार छ। त्यो हो—यहोवाले दुष्टताको नाश गर्नुहुनेछ भनेर हामी पूर्ण रूपमा विश्‍वस्त हुन सक्छौं। परमेश्‍वरका गुणहरूले उहाँले दुष्टको विरुद्धमा कदम चाल्नुहुनेछ भनेर पक्कासित देखाउँछ। यहोवा धर्मी र न्यायी हुनुहुन्छ। भजन ३३:५ मा उहाँको वचन हामीलाई यसो भन्छ: “उहाँले धर्मिकता र न्यायलाई निको मान्‍नुहुन्छ।” अर्को भजन यसो भन्छ: “अत्याचार निको मान्‍नेलाई [यहोवाको] आत्माले घृणा गर्छ।” (भजन ११:५) निस्सन्देह, धार्मिकता र न्याय प्रेम गर्ने सर्वशक्‍तिमान्‌ परमेश्‍वर यहोवाले, उहाँले घृणा गर्नुहुने कुरालाई सधैंभरि सहनुहुने छैन।

३. आमोसको भविष्यवाणीबारे थप विचार गर्दा कुन कुरामा जोड दिइनेछ?

३ यहोवाले दुष्टता हटाउनुहुनेछ भनेर हामी विश्‍वस्त हुन सक्ने अर्को कारण विचार गर्नुहोस्‌। बितेको समयमा उहाँले गर्नुभएका व्यवहारहरूको रेकर्डले यसको ग्यारेण्टी दिन्छ। दुष्टहरूसित यहोवाले गर्नुहुने एकनासे व्यवहारका उल्लेखनीय उदाहरणहरू बाइबलको पुस्तक आमोसमा पाइन्छन्‌। आमोसको भविष्यवाणीबारे थप विचार गर्दा यसले ईश्‍वरीय न्यायबारे तीनवटा कुरामा जोड दिनेछ। पहिलो, यो सधैं योग्य हुन्छ। दोस्रो, यसबाट उम्कन सकिंदैन। अनि तेस्रो, यसले छनौट गर्छ किनभने यहोवाले खराब व्यक्‍तिहरूमाथि न्याय ल्याउनुहुन्छ तर पश्‍चात्ताप गर्ने र योग्य व्यक्‍तिहरूलाई दया देखाउनुहुन्छ।—रोमी ९:१७-२६.

ईश्‍वरीय न्याय सधैं योग्य हुन्छ

४. यहोवाले आमोसलाई कहाँ पठाउनुभयो र कुन उद्देश्‍यका लागि?

४ आमोसको समयमा इस्राएलीहरू दुई राज्यमा विभाजित भइसकेका थिए। एउटा यहूदाको दक्षिणी दुई-गोत्रे राज्य थियो भने अर्को चाहिं इस्राएलको उत्तरी दस-गोत्रे राज्य। यहोवाले आमोसलाई तिनको गृहनगर यहूदाबाट इस्राएलमा पठाउनुभएर अगमवक्‍ताको रूपमा सेवा गर्न अह्राउनुभयो। त्यहाँ परमेश्‍वरले आमोसलाई ईश्‍वरीय न्याय घोषणा गर्न चलाउनुहुने थियो।

५. सुरुमा आमोसले कुन-कुन राष्ट्रहरू विरुद्ध भविष्यवाणी गरे अनि तिनीहरू प्रतिकूल ईश्‍वरीय न्याय भोग्न योग्यका हुनुको एउटा कारण के थियो?

५ आमोसले आफ्नो कामको सुरुवातमा बाटो बिराएको इस्राएलको उत्तरी राज्य विरुद्ध यहोवाको न्याय घोषणा गरेनन्‌। बरु, तिनले सुरुमा नजिकैका छवटा राष्ट्र विरुद्ध प्रतिकूल ईश्‍वरीय न्याय घोषणा गरे। ती राष्ट्रहरू सिरिया, पलिश्‍ती, टायर, एदोम, अम्मोन र मोआब थिए। तर के तिनीहरू साँच्चै परमेश्‍वरको प्रतिकूल न्याय भोग्न योग्यका थिए? पक्कै थिए! एउटा कारण त तिनीहरू यहोवाका जनहरूका कट्टर दुस्मनहरू थिए।

६. परमेश्‍वरले सिरिया, पलिश्‍ती र टायरमाथि किन विपत्ति ल्याउन लाग्नुभएको थियो?

६ उदाहरणका लागि “गिलादलाई . . . धूलोपीठो पारेको” कारण यहोवाले सिरियावासीहरूको निन्दा गर्नुभयो। (आमोस १:३) सिरियावासीहरूले यर्दन नदीको पूर्वमा पर्ने गिलादको भू-भाग खोसे र त्यहाँ भएका परमेश्‍वरका जनहरूलाई गम्भीर चोट पुऱ्‍याए। पलिश्‍ती र टायर नि? इस्राएलीहरूलाई निर्वासनमा लगेको वा कैदी बनाएको र तिनीहरूलाई एदोमीहरूको हातमा बेचिदिएकोमा पलिश्‍तीहरू दोषी थिए अनि केही इस्राएलीहरू टायरका दास-व्यापारीहरूको हातमा परे। (आमोस १:६, ९) परमेश्‍वरका जनहरूलाई दासत्वमा बेचेको कल्पना गर्नुहोस्‌ त! यहोवाले सिरिया, पलिश्‍ती र टायरमाथि विपत्ति ल्याउन लाग्नु कुनै अचम्मलाग्दो कुरा होइन।

७. इस्राएलसित एदोम, अम्मोन र मोआबको कुन कुरा समान थियो तर तिनीहरूले इस्राएलीहरूसित कस्तो व्यवहार गरे?

७ एदोम, अम्मोन र मोआबको इस्राएलसित र एक-अर्काबीच केही कुरा समान थियो। तीनैवटा राष्ट्रको इस्राएलीहरूसित नाता-सम्बन्ध थियो। एदोमीहरू अब्राहामका वंश थिए जो याकूबको जुम्ल्याहा दाइ एसावका सन्तान थिए। त्यसकारण एक अर्थमा तिनीहरू इस्राएलका दाजुभाइहरू थिए। अम्मोनी तथा मोआबीहरू अब्राहामका भतिजा लूतका सन्तानहरू थिए। तर एदोम, अम्मोन र मोआबले के तिनीहरूका इस्राएली नातेदारहरूप्रति भाइचाराको व्यवहार गरे त? बिलकुलै गरेनन्‌! एदोमले “आफ्ना दाज्यू-भाइहरू” विरुद्ध निर्दयतासाथ तरबार चलायो अनि कैदी इस्राएलीहरूप्रति अम्मोनीहरू क्रूर व्यवहार गर्थे। (आमोस १:११, १३) मोआबले परमेश्‍वरका जनहरूप्रति दुर्व्यवहार गरेको विवरण आमोसले प्रत्यक्ष रूपमा उल्लेख नगरे तापनि मोआबीहरूले इस्राएलको विरोध गरेको लामो इतिहास छ। ती तीन सगोत्री राष्ट्रहरूले कठोर सजाय भोग्ने थिए। यहोवाले तिनीहरूमाथि अग्निमय विनाश पठाउनुहुने थियो।

ईश्‍वरीय न्यायबाट उम्कन सकिंदैन

८. इस्राएल नजिकैका छवटा राष्ट्र विरुद्ध परमेश्‍वरले ल्याउनुहुने न्यायबाट तिनीहरू किन उम्कन सक्दैनथे?

८ निस्सन्देह, आमोसको भविष्यवाणीको सुरुमा उल्लेख गरिएका छवटा राष्ट्र प्रतिकूल ईश्‍वरीय न्यायको योग्यका थिए। साथै, तिनीहरूका लागि उम्कने कुनै बाटो थिएन। आमोस अध्याय १ को पद ३ देखि लिएर अध्याय २ को पद १ सम्ममा यहोवा छ पटक यसो भन्‍नुहुन्छ: “त्यसले पाउने दण्ड म रद्द गर्नेछैनँ।” आफ्नो वचनअनुसारै उहाँले ती राष्ट्रहरू विरुद्धको दण्ड रद्द गर्नुभएन। पछि तिनीहरू सबैले विपत्ति भोगे भनी इतिहासले प्रमाणित गर्छ। हुन पनि तिनीहरूमध्ये कम्तीमा पनि चार राष्ट्रहरू—पलिश्‍ती, मोआब, अम्मोन र एदोम—अन्ततः अस्तित्वबाटै हराएर गए!

९. यहूदाका बासिन्दाहरू कुन कुराको योग्य थिए र किन?

९ यसपछि आमोसको भविष्यवाणीले सातौं राष्ट्र अर्थात्‌ तिनको गृह-इलाका यहूदामा ध्यान केन्द्रित गऱ्‍यो। आमोसले यहूदाको राज्य विरुद्ध न्याय घोषणा गरेको सुन्दा इस्राएलको उत्तरी राज्यका तिनका स्रोताहरू अचम्ममा परेका हुन सक्छन्‌। यहूदाका बासिन्दाहरू किन प्रतिकूल न्यायका योग्य थिए? “परमप्रभुको व्यवस्थालाई अस्वीकार गरे[को]” कारण भनी आमोस २:४ बताउँछ। यसरी जानाजानी उहाँको व्यवस्थालाई इन्कार गरेको कुरालाई यहोवाले हल्कासित लिनुभएन। आमोस २:५ अनुसार, उहाँले यस्तो अगमवाणी गर्नुभयो: “म यहूदामा आगो लगाइदिनेछु, र त्यसले यरूशलेमका पर्खालहरू भस्म पार्नेछ।”

१०. यहूदा किन विपत्तिबाट उम्कन सकेन?

१० आउँदै गरेको विपत्तिबाट अविश्‍वासी यहूदा उम्कन सकेन। यहोवाले सातौं पटक यसो भन्‍नुभयो: “त्यसले पाउने दण्ड म रद्द गर्नेछैनँ।” (आमोस २:४) सा.यु.पू. ६०७ मा बेबिलोनीहरूद्वारा उजाड पारिंदा अगमवाणी गरिएअनुसारै यहूदाले सजाय पायो। दुष्टहरू ईश्‍वरीय न्यायबाट उम्कन सक्दैनन्‌ भन्‍ने कुरा हामीले फेरि एक पटक देख्यौं।

११-१३. आमोसले मुख्यतया कुन राज्य विरुद्ध भविष्यवाणी गरे र त्यहाँ के-कस्ता थिचोमिचोहरू भइरहेका थिए?

११ अगमवक्‍ता आमोसले भर्खरै सातवटा राष्ट्र विरुद्ध यहोवाको न्याय घोषणा गरेका थिए। भविष्यवाणी गर्ने तिनको काम पूरा भइसक्यो भनी सोचेकाहरूको अनुमान एकदमै गलत थियो। आमोसले घोषणा गर्नुपर्ने कुराहरू थुप्रै बाँकी थिए! तिनलाई मुख्यतया इस्राएलको उत्तरी राज्य विरुद्ध एउटा कठोर न्यायको सन्देश घोषणा गर्न अह्राइएको थियो। अनि इस्राएल प्रतिकूल ईश्‍वरीय न्यायको योग्य थियो किनभने त्यस राष्ट्रको खस्कँदो नैतिक तथा आध्यात्मिक अवस्था दयनीय थियो।

१२ आमोसको भविष्यवाणीले इस्राएलको राज्यमा सामान्य भइसकेको थिचोमिचोको भन्डाफोर गऱ्‍यो। यस सन्दर्भमा आमोस २:६, ७ यसो भन्छ: “परमप्रभुको यो वाणी छ: ‘इस्राएलका अपराधै अपराधको कारणले गर्दा त्यसले पाउने दण्ड म रद्द गर्नेछैनँ, किनभने तिनीहरू निर्दोषलाई चाँदीमा र कङ्‌गालीलाई एक जोर जुत्तामा बेच्छन्‌। तिनीहरू गरीबको थाप्लो धूलोमा कुल्ची–मिल्ची गर्दछन्‌, र पीड़ितहरूको न्याय बिगारिदिन्छन्‌।’ ”

१३ निर्दोषहरूलाई केवल “चाँदी[को]” लागि बेचिंदै थियो। यसको अर्थ सम्भवतः न्यायाधीशहरूले घूसको रूपमा चाँदी लिएर निर्दोषहरूलाई सजाय सुनाइरहेका थिए। ऋण दिनेहरूले कङ्‌गालीलाई “एक जोर जुत्तामा,” सायद अलिकता ऋणको कारण दासत्वमा बेचिरहेका थिए। निर्दयी मानिसहरूले “कुल्ची-मिल्ची” गरे वा ‘गरिबहरूलाई’ त्यस्तो स्तरमा ल्याउने उत्कट प्रयत्न गरे कि यी कङ्‌गालीहरूले आफ्नो टाउकोमा धूलो छर्कने थिए, जसले दुःख, शोक र अपमानलाई सङ्‌केत गर्छ। भ्रष्टाचार यति व्याप्त थियो कि “पीड़ितहरू[ले]” कतै पनि न्याय पाउने आशै गर्न सक्दैनथे।

१४. इस्राएलको दस-गोत्रे राज्यमा कस्ता व्यक्‍तिहरूले दुर्व्यवहार भोगिरहेका थिए?

१४ क-कसले दुर्व्यवहार भोगिरहेका थिए, याद गर्नुहोस्‌ त। तिनीहरू त्यस देशका “निर्दोष,” “कङ्‌गाली,” “गरीब” र “पीड़ित” बासिन्दाहरू थिए। इस्राएलीहरूसित बाँधिएको यहोवाको व्यवस्थाको करारअनुसार कमजोर तथा गरिबप्रति अनुकम्पा देखाउनुपर्थ्यो। तथापि, इस्राएलको दस-गोत्रे राज्यमा बसिरहेका व्यक्‍तिहरूको अवस्था अत्यन्तै दयनीय भएको हुन सक्छ।

“तिमीहरूका परमेश्‍वरसित भेट गर्न तिमीहरू तयार भइरहो”

१५, १६. (क) इस्राएलीहरूलाई किन “तिमीहरूका परमेश्‍वरसित भेट गर्न तिमीहरू तयार भइरहो” भनी चेतावनी दिइएको थियो? (ख) दुष्टहरू ईश्‍वरीय न्यायको कार्यान्वयनबाट उम्कन सकेनन्‌ भनी आमोस ९:१, २ ले कसरी देखाउँछ? (ग) सा.यु.पू. ७४० मा इस्राएलको दस-गोत्रे राज्यलाई के भयो?

१५ इस्राएलमा अनैतिकता र अरू पापहरू व्याप्त भएकोले गर्दा त्यस विद्रोही राष्ट्रलाई अगमवक्‍ता आमोसले यस्तो चेतावनी दिनु उपयुक्‍त थियो: “तिमीहरूका परमेश्‍वरसित भेट गर्न तिमीहरू तयार भइरहो!” (आमोस ४:१२) अविश्‍वासी इस्राएल आउँदै गरेको ईश्‍वरीय न्यायको कार्यान्वयनबाट उम्कन सक्ने थिएन किनभने आठौं पटक यहोवाले यस्तो घोषणा गर्नुभयो: “त्यसले पाउने दण्ड म रद्द गर्नेछैनँ।” (आमोस २:६) लुक्न खोज्ने दुष्टहरूबारे परमेश्‍वरले यसो भन्‍नुभयो: “तीमध्येका एउटा पनि भाग्न पाउनेछैन, एउटा पनि उम्कन पाउनेछैन। तिनीहरू पाताल खनेर भित्र गए तापनि मेरो हातले तिनीहरूलाई त्यहाँबाट तानेर ल्याउनेछ। तिनीहरू माथि स्वर्गमा उक्ले, तापनि म तिनीहरूलाई उँधो तानेर झार्नेछु।”—आमोस ९:१, २.

१६ दुष्टहरू “पाताल” खनेर भित्र गए तापनि अर्थात्‌ लाक्षणिक अर्थमा पृथ्वीको सबैभन्दा तल्लो भागमा लुक्ने प्रयास गरे तापनि यहोवाको न्यायको कार्यान्वयनबाट तिनीहरू उम्कन सक्दैनन्‌। न त तिनीहरू “माथि स्वर्गमा” उक्लेर अर्थात्‌ अग्ला पहाडहरूमा शरण खोजेर नै उम्कन सक्थे। यहोवाको चेतावनी स्पष्ट थियो: जहाँसुकै लुके तापनि उहाँले नभेट्टाउने ठाउँ कुनै छैन। ईश्‍वरीय न्यायमा इस्राएलको राज्यले आफ्ना दुष्ट कार्यहरूको लागि लेखा दिनुपर्ने कुरा समावेश थियो। अनि त्यो समय साँच्चै आयो। आमोसले तिनको भविष्यवाणी लिपिबद्ध गरेको लगभग ६० वर्षपछि, सा.यु.पू. ७४० मा विजय गर्दै अघि बढिरहेको अश्‍शूरीहरूको हातबाट इस्राएल राज्य पराजित भयो।

ईश्‍वरीय न्यायले छनौट गर्छ

१७, १८. आमोस अध्याय ९ ले परमेश्‍वरको दयाबारे कुन कुरा प्रकट गर्छ?

१७ ईश्‍वरीय न्याय सधैं उचित हुन्छ र यसबाट उम्कन सकिंदैन भन्‍ने कुरा बुझ्न आमोसको भविष्यवाणीले हामीलाई मदत गरेको छ। तर आमोसको पुस्तकले यहोवाको न्यायले छनौट गर्छ भन्‍ने कुरा पनि सङ्‌केत गर्छ। दुष्टहरू जहाँसुकै लुके तापनि यहोवाले तिनीहरूलाई भेट्टाउन र तिनीहरूमाथि न्याय कार्यान्वयन गर्न सक्नुहुन्छ। उहाँले दया देखाउन योग्य पश्‍चात्तापी तथा सोझा व्यक्‍तिहरूलाई पनि भेट्टाउन सक्नुहुन्छ। यो कुरा आमोसको पुस्तकको अन्तिम अध्यायमा सुन्दर ढङ्‌गमा प्रकाश पारिएको छ।

१८ आमोस अध्याय ९, पद ८ अनुसार यहोवाले यसो भन्‍नुभयो: “याकूबको घरानालाई मात्र म बिल्कुलै सर्वनाश पार्नेछैनँ।” पद १३ देखि १५ मा उल्लेख गरिएअनुसार यहोवाले उहाँका प्रजाहरूमध्ये “कैदमा गएकाहरूलाई फर्काएर ल्याउनेछु” भनी प्रतिज्ञा गर्नुभयो। तिनीहरूलाई दया देखाइने थियो र तिनीहरूले सुरक्षा तथा संवृद्धिको आनन्द उठाउने थिए। “कटनी गर्नेलाई हलो जोत्नेले उछिन्‍नेछ” भनी यहोवाले अगमवाणी गर्नुभयो। कल्पना गर्नुहोस्‌ त—कटनी यति धेरै हुने थियो कि अर्को पटक हलो जोतेर बीउ छर्ने समय आइसक्दा समेत कटनीको सबै काम पूरा भएको हुने थिएन!

१९. इस्राएल र यहूदाका शेष जनहरूलाई के भयो?

१९ पश्‍चात्ताप गर्ने योग्य जनहरूलाई दया देखाइएको कारण यहूदा र इस्राएल दुवै राष्ट्रमा दुष्टहरू विरुद्ध यहोवाको न्यायले छनौट गरेको थियो भनेर भन्‍न सकिन्छ। आमोस अध्याय ९ मा लिपिबद्ध पुनर्स्थापनासम्बन्धी यो भविष्यवाणीको पूर्तिमा इस्राएल तथा यहूदाका पश्‍चात्तापी शेष जनहरू सा.यु.पू. ५३७ मा बेबिलोनको कैदबाट फर्के। आफ्नो प्यारो मातृभूमिमा फर्केपछि तिनीहरूले शुद्ध उपासना पुनर्स्थापना गरे। तिनीहरूले सुरक्षित अवस्थामा आफ्ना घरहरू पुनर्निमाण गर्नुका साथै दाखबारी तथा बगैंचाहरू लगाए।

यहोवाको प्रतिकूल न्याय आउनेछ!

२०. आमोसले घोषणा गरेका न्यायसम्बन्धी सन्देशले हामीलाई कुन कुराबारे आश्‍वस्त पार्नुपर्छ?

२० आमोसले घोषणा गरेका ईश्‍वरीय न्यायको सन्देशबारे विचार गर्दा यसले हाम्रो समयमा यहोवाले दुष्टताको अन्त गर्नुहुनेछ भनेर हामीलाई आश्‍वस्त पार्नुपर्छ। हामी यो कुरामा किन विश्‍वास गर्न सक्छौं? पहिलो, दुष्टहरूसित यहोवाले गर्नुभएको व्यवहारका यी विगतका उदाहरणहरूले उहाँले हाम्रो समयमा कस्तो कदम चाल्नुहुनेछ भन्‍ने सङ्‌केत गर्छ। दोस्रो, इस्राएलको धर्मत्यागी राज्यमाथि ईश्‍वरीय न्यायको कार्यान्वयनले झूटो धर्मको विश्‍वसाम्राज्य, महान्‌ बेबिलोनको सबैभन्दा दोषी भाग मसीहीजगत्‌माथि परमेश्‍वरले विनाश ल्याउनुहुनेछ भनी पक्का गर्छ।—प्रकाश १८:२.

२१. मसीहीजगत्‌ किन परमेश्‍वरको प्रतिकूल न्यायको योग्य छ?

२१ मसीहीजगत्‌ प्रतिकूल ईश्‍वरीय न्यायको योग्य छ भन्‍ने कुरामा कुनै शङ्‌कै छैन। त्यसको दयनीय धार्मिक तथा नैतिक अवस्थाद्वारा नै यो कुरा छर्लङ्‌ग हुन्छ। मसीहीजगत्‌ तथा शैतानको बाँकी संसार यहोवाको न्यायको योग्य छ। यसबाट उम्कन पनि सकिंदैन किनभने न्याय कार्यान्वयन गर्ने समय हुँदा आमोस अध्याय ९ पद १ का शब्दहरू लागू हुनेछन्‌: “तीमध्येका एउटा पनि भाग्न पाउनेछैन, एउटा पनि उम्कन पाउनेछैन।” हो, दुष्टहरू जहाँसुकै लुकून्‌, यहोवाले तिनीहरूलाई भेट्टाउनुहुनेछ।

२२. दोस्रो थिस्सलोनिकी १:६-८ मा ईश्‍वरीय न्यायसम्बन्धी कस्ता बुँदाहरू स्पष्ट पारिएका छन्‌?

२२ ईश्‍वरीय न्याय सधैं योग्य हुन्छ, यसबाट उम्कन सकिंदैन र यसले छनौट गर्छ। प्रेरित पावलका शब्दहरूद्वारा यो कुरा देख्न सकिन्छ: “तिमीहरूलाई दुःख दिनेहरूलाई दुःख दिनुनै परमेश्‍वरको न्यायसंगत काम हो, र तिमी कष्ट पाउनेहरूलाई र हामीलाई पनि आरामी दिनलाई उहाँको शक्‍तिशाली स्वर्गदूतहरूसँग प्रभु येशू स्वर्गबाट बल्दो आगोमा प्रकाश हुँदा, परमेश्‍वरलाई नचिन्‍नेहरूलाई, हाम्रा प्रभु येशूको सुसमाचार नमान्‍नेहरूलाई बदला दिंदा।” (२ थिस्सलोनिकी १:६-८) आफ्ना अभिषिक्‍त जनहरूलाई दुःख दिनेहरूमाथि प्रतिकूल न्याय ल्याउनु “परमेश्‍वरको न्यायसंगत काम हो।” यो न्यायबाट उम्कन सकिनेछैन किनभने ‘उहाँको शक्‍तिशाली स्वर्गदूतहरूसँग प्रभु येशू बल्दो आगोमा प्रकाश हुँदा’ दुष्टहरू बच्नेछैनन्‌। “परमेश्‍वरलाई नचिन्‍नेहरूलाई” र “हाम्रा प्रभु येशूको सुसमाचार नमान्‍नेहरूलाई” मात्र येशूले बदला लिनुहुने भएकोले ईश्‍वरीय न्यायले छनौट पनि गर्नेछ। अनि दुःख भोग्ने ईश्‍वर-भीरु मानिसहरूलाई ईश्‍वरीय न्यायको कार्यान्वयनले सान्त्वना दिनेछ।

सोझाहरूका लागि आशा

२३. आमोसको पुस्तकबाट कस्तो आशा र सान्त्वना पाउन सकिन्छ?

२३ आमोसको भविष्यवाणीमा योग्य व्यक्‍तिहरूका लागि आशा र सान्त्वनाको अद्‌भुत सन्देश छ। आमोसको पुस्तकमा भविष्यवाणी गरिएअनुसार पुरातन समयका आफ्ना जनहरूलाई यहोवाले पूर्ण रूपमा विनाश गर्नुभएन। अन्ततः उहाँले कैदमा परेका इस्राएल र यहूदाका मानिसहरूलाई जम्मा गर्नुभयो, तिनीहरूको मातृभूमिमा फर्काएर तिनीहरूलाई प्रशस्त मात्रामा सुरक्षा तथा संवृद्धिको आशिष्‌ दिनुभयो। हाम्रो समयको लागि यसले कस्तो अर्थ राख्छ? ईश्‍वरीय न्यायको कार्यान्वयन गर्दा दुष्टहरू जहाँसुकै लुके तापनि यहोवाले तिनीहरूलाई भेट्टाउनुहुनेछ र उहाँले दयाको योग्य ठान्‍नुभएका व्यक्‍तिहरू यस पृथ्वीमा जहाँसुकै बसे तापनि उहाँ तिनीहरूलाई पनि फेलापार्न सक्नुहुन्छ भनेर यसले हामीलाई विश्‍वस्त बनाउँछ।

२४. यहोवाका वर्तमान समयका सेवकहरूले कुन-कुन तरिकामा आशिष्‌ पाएका छन्‌?

२४ दुष्टहरूमाथि यहोवाको न्याय आउने समय पर्खंदै गर्दा, उहाँका विश्‍वासी सेवकहरूको हैसियतमा हाम्रो अनुभव कस्तो छ? हो, यहोवाले हामीलाई प्रचुर मात्रामा आध्यात्मिक संवृद्धिको आशिष्‌ दिइरहनुभएको छ! हामी मसीहीजगत्‌का झूटा शिक्षाहरूको परिणामस्वरूप आएका झूट तथा विकृतिहरूबाट मुक्‍त उपासना शैलीको आनन्द उठाउँछौं। यहोवाले हामीलाई प्रचुर मात्रामा आध्यात्मिक आहारा पनि दिनुभएको छ। तथापि, यहोवाबाट यी प्रशस्त आशिष्‌हरूका साथमा एउटा ठूलो जिम्मेवारी पनि आउँछ भन्‍ने कुरा नबिर्सनुहोस्‌। आउँदै गरेको न्यायबारे हामीले अरूलाई चेतावनी दिएको परमेश्‍वर चाहनुहुन्छ। “अनन्त जीवनका लागि नियुक्‍त भएकाहरू” वा उचित मानसिक मनोवृत्ति भएकाहरूलाई भेट्टाउन हामी यथाशक्य गर्न चाहन्छौं। (प्रेरित १३:४८) हो, हामीले अहिले आनन्द उठाइरहेको आध्यात्मिक संवृद्धिबाट लाभ उठाउन हामी सकेसम्म धेरै व्यक्‍तिहरूलाई मदत गर्ने इच्छा गर्छौं। अनि दुष्टहरूमाथि आउँदै गरेको ईश्‍वरीय न्यायको कार्यान्वयनबाट तिनीहरू बचेको हामी चाहन्छौं। निस्सन्देह, यी आशिष्‌हरूको सहभागी हुन हाम्रो हृदयको अवस्था सही हुनै पर्छ। आमोसको भविष्यवाणीमा यो कुरा पनि प्रकाश पारिएको छ, जसबारे हामी अर्को लेखमा बुझ्नेछौं।

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• यहोवाका प्रतिकूल न्यायहरू सधैं योग्य हुन्छन्‌ भनी आमोसको भविष्यवाणीले कसरी देखाउँछ?

• ईश्‍वरीय न्यायबाट उम्कन सकिंदैन भन्‍ने कुरा देखाउन आमोस कस्तो प्रमाण पेस गर्छन्‌?

• परमेश्‍वरको न्यायले छनौट गर्छ भनी आमोसको पुस्तकले कसरी देखाउँछ?

[पृष्ठ १७-मा भएको चित्र]

इस्राएलको राज्य ईश्‍वरीय न्यायबाट उम्केन

[पृष्ठ १८-मा भएको चित्र]

सा.यु.पू. ५३७ मा इस्राएल र यहूदाका शेष जनहरू बेबिलोनको कैदबाट फर्किए

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने