यहोवाले तपाईंको “शिरका केशहरू समेत” गन्नुभएको छ
“एउटा [ भँगेरा] पनि तिमीहरूका पिताको इच्छाविना भुइँमा खस्नेछैन। तर तिमीहरूका शिरका केशहरू समेत पनि सबै गन्ती भएका छन्।”—मत्ती १०:२९, ३०.
१, २. (क) परमेश्वरले मलाई त्याग्नुभयो भनी अय्यूबले महसुस गर्नुको कारण के थियो? (ख) के अय्यूबका अभिव्यक्तिहरूले तिनी यहोवाको विरुद्धमा खडा भएका थिए भन्ने बुझाउँछ? व्याख्या गर्नुहोस्।
“सहायताको लागि मैले तपाईंलाई पुकारें, तर तपाईंले मलाई जवाफ दिनुभएन, मेरो मामिला पेश गर्नलाई म खडा हुन्छु, तर तपाईं वास्ता गर्नुहुन्न। तपाईं मलाई निष्ठूरताको व्यवहार गर्नुहुन्छ, र आफ्नो सारा शक्तिले मलाई सताउनुहुन्छ।” यी शब्दहरू व्यक्त गर्ने व्यक्तिले असह्य पीडा भोगिरहेका थिए। तिनले यस्तो महसुस नगरून् पनि कसरी! तिनले आफूसित भएको सारा धनसम्पत्ति गुमाएका थिए, एउटा असामान्य विपत्तिले गर्दा आफ्ना सबै छोराछोरीको ज्यान गएको थियो अनि अहिले तिनलाई एउटा अति पीडादायी रोगले सताइरहेको थियो। ती मानिसको नाउँ अय्यूब थियो अनि तिनले भोगेको कहालीलाग्दो अनुभवबाट हामीले केही पाठ सिक्न सकौं भनेर बाइबलमा यो घटना लेखिएको छ।—अय्यूब ३०:२०, २१.
२ अय्यूबका अभिव्यक्तिहरू सुन्दा कतै तिनी परमेश्वरको विरुद्धमा खडा भएका थिए कि जस्तो देखिन्छ तर वास्तवमा त्यसो होइन। आफ्नो हृदयमा अय्यूबले जस्तो विचलित महसुस गरेका थिए, त्यही भावना मात्र व्यक्त गरिरहेका थिए। (अय्यूब ६:२, ३) आफ्ना सबै दुःखकष्टको कारण शैतान हो भनेर थाह नभएको हुँदा परमेश्वरले मलाई त्याग्नुभयो भन्ने गलत निष्कर्षमा अय्यूब पुगे। एक चोटि अय्यूबले यहोवालाई यसो समेत भने: “तपाई आफ्नो मुख किन लुकाउनुहुन्छ? र मलाई आफ्नो शत्रुझैं व्यवहार गर्नुहुन्छ?”—अय्यूब १३:२४.a
३. दुःख आइपर्दा हामीलाई कस्तो लाग्न सक्छ?
३ युद्ध, राजनैतिक वा सामाजिक उथलपुथल, प्राकृतिक प्रकोप, बूढ्यौली, रोगबिमार, अत्यन्तै गरिब अवस्था तथा सरकारी प्रतिबन्धहरूले गर्दा वर्तमान समयमा यहोवाका थुप्रै जनहरूले एकपछि अर्को कठिनाइ भोगेका छन्। सायद तपाईंले पनि कुनै न कुनै किसिमको दुःख भोगिरहनुभएको होला। तपाईंबाट यहोवाले आफ्नो मुख लुकाइरहनुभएको छ जस्तो तपाईंलाई कहिलेकाहीं लाग्न सक्छ। यूहन्ना ३:१६ का यी शब्दहरू तपाईंलाई राम्ररी थाह छ: “परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो।” तैपनि, दुःखकष्टबाट कहिल्यै छुटकारा नपाइएला जस्तो देखिंदा तपाईंलाई यस्तो लाग्न सक्छ: ‘के परमेश्वरले मलाई साँच्चै प्रेम गर्नुहुन्छ? मैले कस्तो कठिनाइ भोगिरहनुपरेको छ भनेर उहाँलाई थाह छ? के उहाँले मेरो चासो राख्नुहुन्छ?’
४. पावलले कस्तो अवस्था सहनुपऱ्यो अनि त्यस्तो अवस्थाले हामीमाथि कस्तो असर पार्न सक्छ?
४ प्रेरित पावललाई के भएको थियो, विचार गर्नुहोस्। तिनले यस्तो लेखे: “मलाई शरीरमा एक किसिमको छेस्को, र . . . मलाई मुक्का लाउनलाई शैतानको एउटा दूत दिएको थियो। यसको विषयमा यो मबाट हटोस् भनेर मैले तीनपल्ट प्रभुसित बिन्ती गरें।” यहोवाले तिनको बिन्ती सुन्नुभयो। तर कुनै चमत्कारपूर्ण ढङ्गमा समस्याको समाधान गरिनेछैन भनेर परमेश्वरले पावललाई सङ्केत गर्नुभयो। बरु, “शरीरमा एक किसिमको छेस्को” सहन पावलले परमेश्वरको शक्तिमा भर पर्नुपर्ने थियो।b (२ कोरिन्थी १२:७-९) पावलले जस्तै तपाईंले पनि कुनै एउटा कठिनाइ भोगिरहनुभएको हुन सक्छ। सायद तपाईं सोच्नुहोला, ‘मैले अहिले भोगिरहेको कठिनाइ हटाउन यहोवाले केही गर्नुभएजस्तो त लाग्दैन। तर त्यसो भन्दैमा उहाँलाई मेरो अवस्थाबारे केही थाह छैन वा उहाँले मेरो चासो राख्नुहुन्न भन्न मिल्छ र?’ त्यसो भन्न त पटक्कै मिल्दैन! येशूले आफ्ना प्रेरितहरू छान्नुभएको केही समयपछि उहाँले तिनीहरूलाई भन्नुभएको कुराले यहोवा आफ्ना प्रत्येक विश्वासी सेवकप्रति गहिरो चासो राख्नुहुन्छ भन्ने सत्यतालाई प्रस्ट पार्छ। आउनुहोस्, उहाँका ती शब्दहरूले आज हामीलाई कसरी प्रोत्साहन दिन सक्छ, हेरौं।
“नडराओ”—किन?
५, ६. (क) भविष्यमा आइपर्ने कुराहरूदेखि नडराउन येशूले आफ्ना प्रेरितहरूलाई कसरी मदत गर्नुभयो? (ख) आफूप्रति यहोवाको चासोमा पावलले कसरी विश्वस्तता देखाए?
५ प्रेरितहरूले येशूबाट असामान्य शक्ति पाए र तिनीहरूले “अशुद्ध आत्माहरू निकाल्ने र हरेक किसिमका रोग र बिमारहरू निको पार्ने अधिकार” पनि पाएका थिए। तर यसको मतलब तिनीहरूले परीक्षा तथा कठिनाइहरू कहिल्यै भोग्नुपर्ने छैन भन्ने चाहिं थिएन। तिनीहरूमाथि आइपर्ने केही कुराहरूबारे येशूले सबिस्तार बताउनुभयो। उहाँले तिनीहरूलाई यस्तो आग्रह गर्नुभयो: “शरीर मार्ने तर आत्मालाई चाहिं घात गर्न नसक्नेहरूसँग नडराओ।”—मत्ती १०:१, १६-२२, २८.
६ तिनीहरू किन डराउनु पर्दैन भनी बुझाउन येशूले आफ्ना प्रेरितहरूलाई दुइटा दृष्टान्त बताउनुभयो। उहाँले तिनीहरूलाई यसो भन्नुभयो: “के एक पैसामा दुइ भँगेरा बिक्तैनन्? तीमध्ये एउटा पनि तिमीहरूका पिताको इच्छाविना भुइँमा खस्नेछैन। तर तिमीहरूका शिरका केशहरू समेत पनि सबै गन्ती भएका छन्। यसकारण तिमीहरू नडराओ, तिमीहरू धेरै भँगेराहरूभन्दा बढ्ता मूल्यका छौ।” (मत्ती १०:२९-३१) याद गर्नुहोस्, विपत्ति आइपर्दा नडराउने र यहोवाले हाम्रो व्यक्तिगत तवरमा चासो लिनुहुन्छ भन्ने विश्वस्तताबीच सम्बन्ध छ भनेर येशूले देखाउनुभयो। स्पष्टतः प्रेरित पावलसित यस्तो विश्वस्तता थियो। तिनले यस्तो लेखे: “यदि परमेश्वर हामीतर्फ हुनुहुन्छ भने, हाम्रो विरुद्ध को हुनसक्छ? जसले आफ्नै निज पुत्रलाई बाँकी राख्नुभएन, तर हामी सबका निम्ति उहाँलाई सुम्पिदिनुभयो। उहाँले हामीलाई सबै थोक पनि उहाँको साथमा सित्तैंमा कसरी दिनुहुनेछैन र?” (रोमी ८:३१, ३२) तपाईंले जस्तोसुकै समस्याहरू सामना गर्नुपरे तापनि यहोवाप्रति वफादार रहुन्जेल उहाँले व्यक्तिगत तवरमा तपाईंको चासो राख्नुहुन्छ भन्ने कुरामा तपाईं पनि ढुक्क हुन सक्नुहुन्छ। येशूले आफ्ना प्रेरितहरूलाई दिनुभएको सल्लाहलाई अझ गहिरिएर विचार गऱ्यौं भने यहोवाले हामीप्रति व्यक्तिगत तवरमा चासो राख्नुहुन्छ भनेर अझ प्रस्ट हुनेछ।
भँगेराको मोल
७, ८. (क) येशूको समयमा भँगेराहरूलाई कस्तो दृष्टिकोणले हेरिन्थ्यो? (ख) मत्ती १०:२९ मा “भँगेरा” अर्थ बुझाउने युनानी शब्दको सानो रूप प्रयोग गर्नुको कारण के हो?
७ येशूले प्रयोग गर्नुभएका दृष्टान्तहरूले यहोवाले आफ्ना प्रत्येक सेवकप्रति राख्नुहुने चासोलाई एकदमै प्रभावकारी ढङ्गमा वर्णन गर्छ। सर्वप्रथम भँगेराको कुरालाई लिनुहोस्। येशूको समयमा भँगेराहरू भोजनको रूपमा प्रयोग गरिन्थ्यो तर तिनीहरूले अन्नबाली बिगार्ने हुँदा मानिसहरूले यसलाई बालीनालीको शत्रु ठान्थे। भँगेरा प्रशस्तै पाइने र सस्तो भएको हुँदा अहिलेको हिसाबमा हेर्ने हो भने दुइटा भँगेरा किन्न चार रूपियाँ पनि पर्दैनथ्यो। यसको दोब्बर पैसाले चारवटा होइन पाँचवटा भँगेरा किन्न सकिन्थ्यो—एउटा चराको त कुनै मोल नै नभएझैं सित्तैं दिइन्थ्यो!—लूका १२:६.
८ प्रायजसो ठाउँमा पाइने यो चराको साइज पनि विचार गर्नुहोस्। अरू चराहरूको तुलनामा, पूरा हुर्किसकेको भँगेरा पनि एकदमै सानो हुन्छ। तर मत्ती १०:२९ मा “भँगेरा” भनी अनुवाद गरिएको युनानी शब्दले खासमा साना भँगेरा भन्ने अर्थ बुझाउँछ। आफ्ना चेलाहरूले एकदमै सानो र कुनै मूल्य नभएको चरा कल्पना गरेको येशू चाहनुहुन्थ्यो भन्ने कुरा यसबाट प्रस्ट हुन्छ। एउटा पुस्तकअनुसार “येशूले एकदमै सानो चराबारे उल्लेख गर्नुभएको छ र त्यसको पनि एकदमै सानो रूप बुझाउन साना भन्ने शब्द प्रयोग गर्नुभएको छ!”
९. भँगेराबारे येशूको दृष्टान्तबाट कुन महत्त्वपूर्ण बुँदा प्रस्ट हुन्छ?
९ येशूले प्रयोग गर्नुभएको भँगेराको उपमाले एउटा महत्त्वपूर्ण बुँदालाई प्रस्ट पार्छ: मानिसहरूले मूल्यहीन ठान्ने कुरा यहोवा परमेश्वरको लागि महत्त्वपूर्ण हुन्छ। यस सत्यलाई अझ जोड दिंदै येशूले भन्नुभयो, यहोवाले चाल नपाई एउटा सानो भँगेरा पनि “भुइँमा खस्नेछैन।”c यसबाट सिक्न सकिने पाठ स्पष्ट छ। सबैभन्दा सानो र कुनै मूल्य नभएको चरालाई त यहोवाले याद गर्नुहुन्छ भने उहाँको सेवा गर्ने छनौट गरेका मानिसहरूको अवस्थाप्रति यहोवा परमेश्वरले झन् कति बढी चासो राख्नुहुन्छ!
१०. “तिमीहरूका शिरका केशहरू समेत पनि सबै गन्ती भएका छन्” भन्ने वाक्यको अर्थ के हो?
१० भँगेराको दृष्टान्तबाहेक येशूले यसो भन्नुभयो: “तिमीहरूका शिरका केशहरू समेत पनि सबै गन्ती भएका छन्।” (मत्ती १०:३०) यो छोटो तर गहन वाक्यले भँगेराबारे येशूले बताउनुभएको दृष्टान्तको बुँदालाई अझ जोड दिन्छ। विचार गर्नुहोस्: सामान्यतया मानिसको टाउकोमा लगभग १,००,००० वटा केश हुन्छ। दुइटा केशबीच खासै कुनै भिन्नता हुँदैन जस्तो देखिन्छ अनि कुनै एउटा केशलाई विशेष ध्यान दिएर हेर्नुपर्ने खाँचो पनि देखिंदैन। तैपनि, यहोवाले प्रत्येक केश हेर्नुहुन्छ र गन्ती गर्नुहुन्छ। यसकारण हाम्रो जीवनको विषयमा यहोवाले थाह पाउन नसक्ने त्यस्तो कुनै कुरा छ र? यहोवाले आफ्ना प्रत्येक सेवकको बनोट अवश्य बुझ्नुहुन्छ। निस्सन्देह, उहाँले “हृदय हेरीकन विचार” गर्नुहुन्छ।—१ शमूएल १६:७.
११. यहोवाले व्यक्तिगत तवरमा आफ्नो वास्ता गर्नुहुन्छ भन्ने विश्वास दाऊदले कसरी व्यक्त गरे?
११ निकै कठिनाइ भोगेका दाऊदलाई यहोवाले तिनको वास्ता गर्नुहुन्छ भन्ने कुरामा पूरा विश्वास थियो। तिनले यस्तो लेखे: “हे परमप्रभु, तपाईंले मलाई जाँचेर चिन्नुभएको छ। तपाईंले मेरो बसाइ र मेरो उठाइ जान्नुहुन्छ, तपाईंले टाढैबाट मेरो विचार बुझ्नुहुन्छ।” (भजन १३९:१, २) यहोवाले तपाईंलाई व्यक्तिगत तवरमा चिन्नुहुन्छ भनेर तपाईं पनि पक्का हुन सक्नुहुन्छ। (यर्मिया १७:१०) तपाईंको अस्तित्वको कुनै खास अर्थ नभएको हुँदा यहोवाको सर्वव्यापी नजर तपाईंमाथि पर्दैन भन्ने निष्कर्षमा तुरुन्तै नपुग्नुहोस्!
“मेरो आँसु तपाईंको भाँडामा हालिराख्नुहोस्”
१२. आफ्ना जनहरूले भोगिरहेका दुःखकष्टबारे यहोवालाई राम्ररी थाह छ भनेर हामी कसरी भन्न सक्छौं?
१२ यहोवाले आफ्ना प्रत्येक सेवकलाई चिन्नुहुन्छ। तर त्यति मात्र होइन, आफ्ना प्रत्येक सेवकले भोगिरहेको दुःखकष्टबारे पनि उहाँलाई राम्ररी थाह छ। उदाहरणका लागि, दासको रूपमा जीवन बिताइरहेका इस्राएलीहरूलाई थिचोमिचो गरिंदा यहोवाले मोशालाई यसो भन्नुभयो: “मिश्रमा भएका मेरा प्रजाको दुःख मैले देखेको छु, र कामदारीहरूका अत्याचारमा तिनीहरूले पुकारा गरेको मैले सुनेको छु, किनकि तिनीहरूको दुःख मलाई थाह छ।” (प्रस्थान ३:७) हामीले कठिनाइ भोगेको बेला हामीलाई के भइरहेको छ भनेर यहोवाले हेर्नुहुन्छ र हाम्रा चित्कारहरू सुन्नुहुन्छ भनेर थाह पाउनु कस्तो सान्त्वनादायी कुरा हो! हामीले भोगिरहेको दुःखकष्टको उहाँले अवश्य वास्ता गर्नुहुन्छ।
१३. यहोवाले आफ्ना सेवकहरूको दुःख साँच्चै महसुस गर्नुहुन्छ भनेर कुन कुराले देखाउँछ?
१३ उहाँसित सम्बन्ध गाँसिसकेका व्यक्तिहरूको यहोवाले चासो राख्नुहुन्छ भन्ने कुरा उहाँले इस्राएलीहरूलाई व्यक्त गर्नुभएको भावनाबाट अझ स्पष्ट हुन्छ। प्रायजसो अवस्थामा तिनीहरूको आफ्नै अट्टेरीपनले गर्दा दुःखकष्ट भोग्नुपरे तापनि यहोवाबारे यशैयाले यस्तो लेखे: “तिनीहरूका सारा दुःखमा उहाँ दुःखित हुनुभयो।” (यशैया ६३:९) यसकारण, यहोवाका विश्वासी सेवकको हैसियतमा तपाईंलाई दुःख हुँदा यहोवालाई पनि दुःख लाग्छ भनेर तपाईं पक्का हुन सक्नुहुन्छ। के यसले तपाईंलाई साहसी भई कठिनाइको सामना गर्न अनि उहाँको सेवा गर्न यथाशक्य प्रयास गरिरहन उत्प्रेरित गर्दैन र?—१ पत्रुस ५:६, ७.
१४. भजन ५६ कस्तो अवस्थामा लेखिएको थियो?
१४ यहोवाले चासो राख्नुहुन्छ र आफूले दुःख भोग्दा परमेश्वर पनि दुःखी महसुस गर्नुहुन्छ भन्ने राजा दाऊदको विश्वस्तता भजन ५६ मा प्रस्ट देखिन्छ अनि यो भजन दाऊदले हत्यारा राजा शाऊलबाट भागिरहेको अवस्थामा लेखेका थिए। दाऊद भागेर गात पुगे तर पलिश्तीहरूले चिनेपछि फेरि समातिने हो कि भनेर तिनी डराए। तिनले यस्तो लेखे: “मेरा शत्रुहरूले दिनभरिनै मलाई निल्नखोज्छन्, किनकि घमण्डसाथ मसित लडाइँ गर्नेहरू धेरै छन्।” एकदमै खतरनाक अवस्थामा भएको हुँदा दाऊदले यहोवालाई पुकारे। तिनले यसो भने: “दिनभरि तिनीहरूले मेरा कुराहरूको उल्टो अर्थ लाउँछन्, तिनीहरूका सारा युक्ति मेरो हानि गर्नमा हुन्छन्।”—भजन ५६:२, ५.
१५. (क) आफ्नो आँसु भाँडामा राख्नुहोस् वा पुस्तकमा लेख्नुहोस् भनी दाऊदले यहोवालाई बिन्ती गर्नुको अर्थ के हो? (ख) हाम्रो विश्वासको जाँच हुने अवस्था सहनुपर्दा हामी कुन कुराबारे पक्का हुन सक्छौं?
१५ भजन ५६:८ मा रेकर्ड गरिएझैं दाऊद यस्तो रोचक अभिव्यक्ति व्यक्त गर्छन्: “म भागी भागी हिंडेको वृतान्त तपाईंले लेख्नुभएको छ। मेरो आँसु तपाईंको भाँडामा हालिराख्नुहोस्, ती सबै तपाईंको पुस्तकमा छन्।” यहोवाको कोमल हेरचाहको कस्तो हृदयस्पर्शी वर्णन! तनावपूर्ण अवस्थामा हुँदा हामी आँसु बगाई-बगाई यहोवालाई पुकारौंला। सिद्ध मानिस येशूले पनि आँसु बगाउनुभएको थियो। (हिब्रू ५:७) यहोवाले तिनलाई हेर्नुहुन्छ र तिनको पीडा बिर्सनुहुनेछैन भनी दाऊद विश्वस्त थिए। तिनको आँसु भाँडामा राखेझैं वा किताबमा लेखेझैं हुनेछ भनेर तिनलाई थाह थियो। तपाईंका आँसुले भाँडा टन्नै भरिनेछ वा किताबका थुप्रै पानाहरू कोरिनेछन् जस्तो तपाईंलाई लाग्न सक्छ। यदि यसो हो भने तपाईंले सान्त्वना पाउन सक्नुहुन्छ। बाइबल हामीलाई यस्तो आश्वासन दिन्छ: “टुटेका हृदय भएकाहरू सबैको नजीक परमप्रभु हुनुहुन्छ, र पश्चातापी मन हुनेहरूलाई उहाँले बचाउनुहुन्छ।”—भजन ३४:१८.
परमेश्वरको घनिष्ठ मित्र बन्ने
१६, १७. (क) आफ्ना जनहरूले भोग्ने समस्याहरूको यहोवाले वास्ता गर्नुहुन्छ भनेर हामी कसरी थाह पाउँछौं? (ख) यहोवासित घनिष्ठ हुन उहाँले मानिसहरूको निम्ति के गर्नुहुन्छ?
१६ यहोवाले हाम्रो ‘शिरका केशहरू समेत सबै’ गन्ती गर्नुभएको छ भनेर जानेपछि हामीले कस्तो विचारशील र मायालु परमेश्वरको उपासना गर्ने सम्मान पाएका छौं भनेर बुझ्न सक्छौं। प्रतिज्ञा गरिएको नयाँ संसारमा मात्रै सबै दुःखकष्ट र पीडा हटाइनेछ तर यहोवाले अहिल्यै पनि आफ्ना जनहरूको लागि एउटा अद्भुत कुराको प्रबन्ध गर्नुभएको छ। दाऊदले यस्तो लेखे: “उहाँसँग डराउनेहरूसँगनै परमप्रभुको [“यहोवाको,” NW] घनिष्ठता रहन्छ। र उहाँले तिनीहरूलाई आफ्नो करार बताउनुहुनेछ।”—भजन २५:१४.
१७ ‘यहोवासितको घनिष्ठता।’ असिद्ध मानिसहरूलाई यो असम्भव लाग्न सक्छ! यद्यपि, उहाँसँग डराउने व्यक्तिहरूलाई यहोवाले आफ्नो बासस्थानमा पाहुना हुने निमन्त्रणा दिनुहुन्छ। (भजन १५:१-५) अनि यहोवाले आफ्ना पाहुनाहरूको लागि के गर्नुहुन्छ? दाऊदले भनेझैं उहाँले तिनीहरूलाई आफ्नो करार बताउनुहुन्छ। यहोवाले तिनीहरूमाथि भरोसा गरेर आफ्ना अगमवक्ताहरूमार्फत “रहस्य प्रकट” गर्नुहुन्छ किनभने यसो गर्दा तिनीहरूले उहाँको उद्देश्य के हो अनि ती उद्देश्यअनुरूप जीवन बिताउन के गर्नुपर्छ भनेर थाह पाउनेछन्।—आमोस ३:७.
१८. यहोवासित हामीले घनिष्ठ सम्बन्ध गाँसेको उहाँ चाहनुहुन्छ भनेर हामी कसरी भन्न सक्छौं?
१८ हामी असिद्ध मानिसहरू सर्वोच्च परमेश्वर यहोवाको घनिष्ठ मित्र बन्न सक्छौं भनेर थाह पाउनु साँच्चै हृदयस्पर्शी कुरा हो। वास्तवमा भन्ने हो भने, उहाँले हामीलाई त्यसै गर्न आग्रह गर्नुहुन्छ। बाइबल यसो भन्छ: “परमेश्वरको नजीक आओ, र उहाँ तिमीहरूका नजीक आउनुहुनेछ।” (याकूब ४:८) हामीले उहाँसित घनिष्ठ सम्बन्ध गाँसेको यहोवा चाहनुहुन्छ। अनि यस्तो सम्बन्ध गाँस्न सम्भव तुल्याउनको लागि उहाँले कदम चालिसक्नुभएको छ। येशूले चढाउनुभएको छुडौतीको बलिदानले सर्वशक्तिमान् परमेश्वरसित मित्रता गाँस्ने ढोका खोलेको छ। बाइबल यसो भन्छ: “हामी प्रेम गर्दछौं, किनभने पहिले उहाँले हामीलाई प्रेम गर्नुभयो।”—१ यूहन्ना ४:१९.
१९. यहोवासितको हाम्रो सम्बन्धलाई धीरजले कसरी अझ बलियो बनाउन सक्छ?
१९ अप्ठ्यारो अवस्था आइपर्दा पनि धीरजी भयौं भने परमेश्वरसितको यो घनिष्ठ सम्बन्ध अझ बलियो हुन्छ। चेला याकूबले यस्तो लेखे: “धीरजलाई त्यसको पूरा काम गर्न देओ। औ तिमीहरूमा कुनै कुराको अभाव नभएर सिद्ध र पूर्ण होओ।” (याकूब १:४) कठिनाइहरू आइपर्दा धीरजी भएको खण्डमा कुन “काम” पूरा हुन्छ? पावलको “शरीरमा एक किसिमको छेस्को” सम्झनुहोस् त। तिनको सन्दर्भमा धीरजले कुन काम पूरा गऱ्यो? आफ्ना परीक्षाहरूबारे पावलले यसो भने: “ख्रीष्टको शक्ति ममा बास गरोस् भनेर म बरु मेरो दुर्बलतामा ज्यादै खुशीसित घमण्ड गर्नेछु। यसकारण ख्रीष्टको निम्ति दुर्बलताहरूमा, हानिहरूमा, दरकारहरूमा, खेदोहरूमा, आपत्हरूमा म खुशी हुन्छु, किनभने दुर्बल हुँदा, म शक्तिमान हुन्छु।” (२ कोरिन्थी १२:९, १०) आवश्यक परेको खण्डमा, सहनको लागि यहोवाले शक्ति अर्थात् “असामान्य शक्ति” दिनुहुन्छ भनेर पावलले आफ्नै अनुभवबाट थाह पाए। यसले गर्दा तिनी ख्रीष्ट र यहोवा परमेश्वरसित अझ नजिक भए।—२ कोरिन्थी ४:७, NW; फिलिप्पी ४:११-१३.
२०. कठिनाइ सामना गर्नुपर्दा यहोवाले सहयोग र सान्त्वना दिनुहुनेछ भनेर हामी कसरी पक्का हुन सक्छौं?
२० यहोवाले तपाईंका परीक्षाहरू रहिरहन दिनुभएको हुन सक्छ। त्यसो हो भने, उहाँसँग डराउनेहरूलाई यहोवाले गर्नुभएको यो प्रतिज्ञा नबिर्सनुहोस्: “म तिमीलाई कुनै रीतिले छोड्नेछैनँ, म तिमीलाई त्याग्नेछैनँ।” (हिब्रू १३:५) तपाईं यस्तो सहयोग र सान्त्वना पाउन सक्नुहुन्छ। यहोवाले तपाईंको “शिरका केशहरू समेत पनि सबै गन्ती” गर्नुभएको छ। तपाईंले देखाउनुभएको धीरज उहाँले देख्नुहुन्छ। उहाँले तपाईंको पीडा महसुस गर्नुहुन्छ। उहाँले साँच्चै तपाईंको चासो राख्नुहुन्छ। अनि तपाईंको “काम र त्यो प्रेम, जो उहाँको नाउँतर्फ” तपाईंले देखाउनुभयो, उहाँले कहिल्यै बिर्सनुहुनेछैन।—हिब्रू ६:१०.
[फुटनोट]
a यस्तै अभिव्यक्तिहरू धर्मी दाऊद र कोरहका विश्वासी छोराहरूले पनि व्यक्त गरेका थिए।—भजन १०:१; ४४:२४.
b पावलको “शरीरमा एक किसिमको छेस्को” वास्तवमा के थियो भनेर बाइबलले बताएको छैन। हुनसक्छ, आँखा कमजोर भएकोले राम्ररी देख्न नसक्ने समस्या थियो। अथवा “शरीरमा एक किसिमको छेस्को” भन्ने अभिव्यक्तिले झूटा प्रेरितहरू वा अन्य व्यक्तिहरूलाई पनि बुझाउन सक्छ जसले पावल एक जना प्रेरित हुन् भनेर मानिलिएनन् र तिनको सेवकाईलाई पनि तिरस्कार गरे।—२ कोरिन्थी ११:६, १३-१५; गलाती ४:१५; ६:११.
c कोही-कोही विद्वान्हरूको विचारमा भँगेरा भुइँमा खस्नु भन्नाले मरेर भुइँमा खस्नुबाहेक अरू कुरालाई पनि सङ्केत गरिएको हुन सक्छ। तिनीहरूले बताएअनुसार मौलिक भाषामा प्रयोग गरिएको अभिव्यक्तिले चारा टिप्न भुइँमा जाने चरालाई पनि यसले सङ्केत गर्न सक्छ। यसो हो भने, चरा मर्दा मात्र होइन तर त्यसको सम्पूर्ण दिनचर्या परमेश्वरले याद गर्नुहुन्छ र त्यसको फिक्री गर्नुहुन्छ भन्ने बुझिन्छ।—मत्ती ६:२६.
के तपाईंलाई याद छ?
• कस्ता कुराहरूले गर्दा मानिसले आफू परमेश्वरबाट त्यागिएको महसुस गर्न सक्छ?
• भँगेराबारे अनि हाम्रो शिरका केशहरूको गन्तीबारे येशूले बताउनुभएको दृष्टान्तबाट हामी कस्तो पाठ सिक्न सक्छौं?
• यहोवाको “भाँडामा” वा उहाँको “पुस्तकमा” हाम्रो आँसु राख्नुको अर्थ के हो?
• हामी कसरी यहोवासित ‘घनिष्ठ’ हुन सक्छौं?
[पृष्ठ २२-मा भएको चित्र]
पावलको “शरीरमा एक किसिमको छेस्को” यहोवाले किन हटाइदिनुभएन?
[पृष्ठ २३-मा भएको चित्र]
भँगेराबारे येशूको दृष्टान्तबाट हामी के सिक्न सक्छौं?
[स्रोत]
© J. Heidecker/VIREO
[पृष्ठ २५-मा भएको चित्र]
नियमित तवरमा बाइबल पढ्यौं भने यहोवाले हाम्रो व्यक्तिगत तवरमा चासो राख्नुहुन्छ भन्ने आश्वासन पाउन सक्छौं