प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w08 ९/१ pp. ६-८
  • नजिकै छ बगैंचारूपी पृथ्वी!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नजिकै छ बगैंचारूपी पृथ्वी!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • एउटा वास्तविक सरकार
  • “पृथ्वीका नष्टकारीहरूलाई नष्ट” गर्ने
  • बगैंचारूपी पृथ्वी पुनर्स्थापित
  • विश्‍वास गर्ने कारणहरू
  • परमेश्‍वरको राज्य के हो?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • येशूले परमेश्‍वरको राज्यको विषयमा सिकाएको कुरा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • परमेश्‍वरको राज्यबारे सत्य कुरा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
  • परमेश्‍वरको राज्य के हो?
    बाइबलले वास्तवमा के सिकाउँछ?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
w08 ९/१ pp. ६-८

नजिकै छ बगैंचारूपी पृथ्वी!

“हे हाम्रा स्वर्गमा बस्ने पिता, तपाईंको नाउँ पवित्र गरिओस्‌। तपाईंको राज्य आओस्‌। तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्‌।” —मत्ती ६:९, १०.

प्रभुको प्रार्थना भनेर चिनिने यो चिरपरिचित प्रार्थनाले मानिसजातिलाई आशा प्रदान गर्छ। कसरी?

प्रभुको प्रार्थनामा बताइएअनुसार परमेश्‍वरको राज्यले अहिले स्वर्गमा परमेश्‍वरको इच्छा पूरा गरेझैं यस पृथ्वीमा पनि निश्‍चयै उहाँको इच्छा पूरा गर्नेछ। अनि पृथ्वी पुनः सुन्दर बगैंचा होस्‌ भन्‍ने परमेश्‍वरको इच्छा छ। (प्रकाश २१:१-५) परमेश्‍वरको राज्य वास्तवमा के हो अनि यसले पृथ्वीलाई फेरि कसरी सुन्दर बगैंचा बनाउनेछ?

एउटा वास्तविक सरकार

परमेश्‍वरको राज्य एउटा वास्तविक सरकार हो। कुनै पनि सरकार चल्नको लागि शासक, नीति-नियम र प्रजा चाहिन्छ। के परमेश्‍वरको राज्यमा पनि यी सबै कुरा छन्‌? निम्न तीन प्रश्‍नहरूको जवाफमा बाइबलले के भन्छ, याद गर्नुहोस्‌:

परमेश्‍वरको राज्यका शासकहरू को-को हुन्‌? (यशैया ३३:२२) यहोवा परमेश्‍वरले आफ्ना पुत्र येशू ख्रीष्टलाई त्यो राज्यको शासन गर्न नियुक्‍त गर्नुभएको छ। (मत्ती २८:१८) यहोवाको निर्देशनमा येशूले “हरेक कुल, भाषा, मानिस र जाति”-बाट सीमित संख्या चुन्‍नुभएको छ जसले उहाँसँगै “पृथ्वीमाथि राज्य” गर्नेछन्‌।—प्रकाश ५:९, १०.

परमेश्‍वरको राज्यमा प्रजाहरूले कस्ता नीति-नियम पालन गर्नुपर्नेछ? कतिपय नीति-नियम तथा आज्ञाको सन्दर्भमा त्यहाँका प्रजाले केही खास कुरा गर्नै पर्छ। यसमध्ये सबैभन्दा महत्त्वपूर्ण नीति-नियमलाई औंल्याउँदै येशूले यसो भन्‍नुभयो: “तैंले परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्ना सारा हृदयले, र आफ्ना सारा प्राणले, र आफ्ना सारा समझले प्रेम गर्नू। प्रमुख र प्रथम आज्ञा यही हो। दोस्रो चाहिं त्यही जस्तो हो, तैंले आफ्ना छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नू।”—मत्ती २२:३७-३९.

अन्य नीति-नियम अनुसार परमेश्‍वरको राज्यका प्रजाहरू केही कुराबाट अलग रहनुपर्छ। उदाहरणका लागि, बाइबलले यस्तो स्पष्ट विवरण दिएको छ: “अधर्मीहरू परमेश्‍वरको राज्यको हकदार हुँदैनन्‌ भन्‍ने के तिमीहरूलाई थाह छैन? न ठगियौ। व्यभिचारीहरू, मूर्तिपूजकहरू, जारी गर्नेहरू, लुच्चाहरू, पुरुषगामीहरू, चोरहरू, लोभीहरू, मतवालाहरू, गाली गर्नेहरू, लुटाहाहरू परमेश्‍वरको राज्यको हकदार हुनेछैन।”—१ कोरिन्थी ६:९, १०.

परमेश्‍वरको राज्यका प्रजाहरू को हुन्‌? येशूले परमेश्‍वरका राज्यका प्रजालाई नम्र खाले भेडासित तुलना गर्नुभयो। उहाँले यसो भन्‍नुभयो: “तिनीहरूले मेरो सोर सुन्‍नेछन्‌, औ तिनीहरू एकै बगाल र एकै गोठालाका हुनेछन्‌।” (यूहन्‍ना १०:१६) परमेश्‍वरको राज्यका प्रजा हुनको लागि म असल गोठालोको पछि लाग्छु भनेर मुखले भन्‍नु मात्र पर्याप्त छैन तर उहाँको आज्ञा पालन पनि गर्नुपर्छ। येशू यसो भन्‍नुहुन्छ: “मलाई प्रभु, प्रभु, भन्‍ने सबै स्वर्गको राज्यमा पस्न पाउनेछैन। तर त्यो, जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्दछ।”—मत्ती ७:२१.

त्यसैले परमेश्‍वरको राज्यका प्रजाहरूले येशूले जस्तै यहोवाको नाउँ बहन गर्छन्‌ अनि कदर पनि। (यूहन्‍ना १७:२६) “राज्यको . . . सुसमाचार”-बारे अरूलाई सिकाउनू भन्‍ने येशूको आज्ञा तिनीहरू पालन गर्छन्‌। (मत्ती २४:१४; २८:१९, २०) साथै एकअर्काप्रति साँचो प्रेम देखाउँछन्‌।—यूहन्‍ना १३:३५.

“पृथ्वीका नष्टकारीहरूलाई नष्ट” गर्ने

परमेश्‍वरको राज्यले यस पृथ्वीमा चाँडै नै महत्त्वपूर्ण परिवर्तन ल्याउन कदम चाल्नुहुनेछ भनेर अहिलेको विश्‍व परिस्थितिले संकेत गर्छ। हामी यो कुरा कसरी थाह पाउन सक्छौं? दुइ हजार वर्ष अगाडि “परमेश्‍वरको राज्य नजीकै छ” भन्‍ने कुरालाई संकेत गर्ने विभिन्‍न पक्ष समेटिएको चिह्नबारे येशूले बताउनुभएको थियो। (लूका २१:३१) अघिल्लो लेखमा बताइएझैं, ती चिह्नहरू अहिले संसारभरि नै स्पष्ट रूपमा देखिएको छ।

त्यसपछि के हुनेछ? येशू जवाफ दिनुहुन्छ: “त्यस बेला यस्तो महा संकष्ट हुनेछ, जो जगत्‌को शुरूदेखि अहिलेसम्म भएको छैन, नता फेरि कहिल्यै हुनेछ।” (मत्ती २४:२१) यो, मानिसले ल्याउने विपत्ति होइन। बरु, “पृथ्वीका नष्टकारीहरूलाई नष्ट गर्नालाई” परमेश्‍वरले चाल्नुहुने कदम हो यो। (प्रकाश ११:१८) स्वार्थी कामकुरा गरेर यो ग्रहलाई विनाशको ढोकामै पुऱ्‍याउने दुष्ट व्यक्‍तिहरूलाई यस पृथ्वीबाट ‘जरैसमेत उखेलिनेछ।’ तर परमेश्‍वरलाई स्वीकार्य सेवा चढाउने “निर्दोष मानिसहरू त्यहाँ रहनेछन्‌।”—हितोपदेश २:२१, २२.

यस्तो ठोस कदम चाल्न यहोवासित ठोस कारण छ। किन? यो उदाहरणलाई विचार गर्नुहोस्‌: तपाईंको सानो घर छ। त्यहाँ भाडामा बस्ने केही मानिस राम्रै व्यवहार गर्छन्‌ अनि विचारशील पनि छन्‌। तिनीहरू भाडा तिर्छन्‌ अनि घरको राम्रो हेरविचार गर्छन्‌। तर अरू भने घर बिगारिदिने खालका र स्वार्थी छन्‌। तिनीहरूले भाडा तिर्न मान्दैनन्‌ र घर पनि नराम्ररी बिगारीदिएका छन्‌। बारम्बार चेतावनी दिंदा-दिंदै पनि तिनीहरूको खराब व्यवहार यथावत्‌ छ। तपाईं के गर्नुहुन्छ? घरधनी भएको नाताले पक्कै पनि तपाईं ती खराब व्यक्‍तिहरूलाई निकालिदिनुहुन्छ नि, हैन र!

त्यसैगरि, यहोवा परमेश्‍वर पनि यो पृथ्वी र यसमा भएका यावत्‌ थोकका सृजनाहार हुनुभएकोले क-कसलाई यो पृथ्वीमा राख्ने त्यसको निर्णय गर्ने अधिकार उहाँसित छ। (प्रकाश ४:११) उहाँको इच्छालाई बेवास्ता गर्ने र अरूको अधिकारमा हस्तक्षेप गर्ने दुष्ट व्यक्‍तिहरूलाई यस संसारबाट हटाउने छु भनेर यहोवाले भन्‍नुभएको छ।—भजन ३७:९-११.

बगैंचारूपी पृथ्वी पुनर्स्थापित

येशूको हातमा रहेको परमेश्‍वरको राज्यले चाँडै नै यस पृथ्वीमा शासन गर्नेछ। येशूले यो नयाँ सुरुआतलाई “नयाँ सृष्टि” भन्‍नुभयो। (मत्ती १९:२८) त्यतिबेला कस्तो अवस्था हुनेछ? निम्न बाइबल प्रतिज्ञाहरूलाई याद गर्नुहोस्‌:

भजन ४६:९. “पृथ्वीको अन्तसम्मै उहाँले युद्धहरू रोक्नुहुन्छ।”

यशैया ३५:१. “उजाड र निर्जल-भूमि हर्षित हुनेछ। मरूभूमि रमाउनेछ। वसन्तको फूलझैं त्यो फक्रनेछ।”

यशैया ६५:२१-२३. “छानिएकाहरूले आफ्ना हातले गरेका काम धेरै दिनसम्मै भोग गर्नेछन्‌। किनभने तिनीहरूले व्यर्थमा परिश्रम गर्नेछैनन्‌, नता विपदको दिनको निम्ति बालकहरू जन्माउनेछन्‌।”

यूहन्‍ना ५:२८, २९. “बेला आउँछ, जब चिहानमा हुनेहरू सबैले [ येशूको] सोर सुन्‍नेछन्‌। औ . . . निस्किआउनेछन्‌।”

प्रकाश २१:४. “[ परमेश्‍वरले] तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीडा फेरि केही हुनेछैन।”

विश्‍वास गर्ने कारणहरू

के तपाईं बाइबल प्रतिज्ञाहरूमा विश्‍वास गर्नुहुन्छ? धेरैले विश्‍वास गर्ने छैनन्‌ भनी बाइबलमा भविष्यवाणी गरिएको थियो। लेखिएको छ: “पहिलेनै यो जान, कि पछि-पछिका दिनहरूमा गिल्ला गर्नेहरू . . . आफ्नै अभिलाषामा यसो भन्दै आउनेछन्‌, ‘उहाँको आगमनको प्रतिज्ञा कहाँ गयो? किनभने पिता-पुर्खाहरू मरेका दिनदेखिनै सृष्टिको शुरूदेखि जस्तैगरी सबै कुरा चलिआएका छन्‌।’ ” (२ पत्रुस ३:३, ४) तर यो तिनीहरूको ठूलो भूल हो। बाइबलको कुरालाई विश्‍वास गर्न सक्ने, मात्र चारवटा कारणलाई विचार गर्नुहोस्‌:

(१) परमेश्‍वरले प्राचीन समयमा पनि पृथ्वीका दुष्ट व्यक्‍तिहरू विरुद्ध कदम चाल्नुभएको थियो। नूहको दिनको जलप्रलय यसको एउटा उल्लेखनीय उदाहरण हो।—२ पत्रुस ३:५-७.

(२) अहिलेको विश्‍व परिस्थितिबारे परमेश्‍वरको वचनले सही भविष्यवाणी गरेको थियो।

(३) “सृष्टिको शुरूदेखि जस्तैगरी सबै कुरा चलिआएका” छैनन्‌। पहिला कहिल्यै नभएको सामाजिक, नैतिक र वातावरणीय ह्रासको चपेटामा परेको छ हाम्रो पृथ्वी।

(४) परमेश्‍वरको “राज्यको . . . सुसमाचार” सारा संसारभरि प्रचार गरिंदैछ र यसले चाँडै “अन्त हुनेछ” भन्‍ने कुराको संकेत गर्छ।—मत्ती २४:१४.

यहोवाका साक्षीहरू तपाईंलाई परमेश्‍वरको वचन बाइबल अध्ययन गर्न निमन्त्रणा दिन्छन्‌। यसबाट तपाईंले परमेश्‍वरको राज्यमा पाइने अनन्त जीवनको आशाबारे अझ धेरै सिक्न सक्नुहुनेछ। (यूहन्‍ना १७:३) हो, सुन्दर भविष्यले मानिसजातिलाई कुरिरहेको छ। एकदमै राम्रो क्षण अगाडि नै छ! के तपाईं त्यो भविष्यको भाग बन्‍नुहुनेछ? (w08 8/1)

[पृष्ठ ७-मा भएको ठूलो अक्षरको क्याप्सन]

‘पहिला जस्तो थियो अहिले पनि त्यस्तै छ नि’ भन्‍नेहरू सधैं ठूलो भूलमा परेका छन्‌

[Caption on page ८]

के तपाईं यो भविष्यको भाग बन्‍नुहुनेछ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने