२ परमेश्वरको सही ज्ञान लिनुहोस्
“अनन्त जीवन यही हो, कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्वरलाई . . . चिनून्।”—यूहन्ना १७:३.
चुनौती: केहीले परमेश्वर वास्तविक हुनुहुन्न भन्छन्। अरूले चाहिं उहाँ कुनै व्यक्ति होइन तर एउटा असीम शक्ति मात्र हो भन्ठान्छन्। परमेश्वर वास्तविक व्यक्ति हुनुहुन्छ भनेर विश्वास गर्नेहरूले पनि उहाँ अनि उहाँका गुणहरूबारे आपसमा बाझिने शिक्षा सिकाउँछन्।
कसरी पार लगाउने? परमेश्वरलाई चिन्ने अर्थात् उहाँबारे ज्ञान लिने एउटा तरिका भनेको उहाँले बनाउनुभएका कुराहरू हेरेर हो। प्रेरित पावलले भने: “[परमेश्वरको] अदृश्य गुण, अर्थात् उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव, संसारको सृष्टिदेखिनै बनिएका कुराबाट थाह पाएर, उहाँको कामद्वारा बुझ्न सकिने र छर्लङ्गै देखिने भएको छ।” (रोमी १:२०) सृष्टिका विभिन्न कुराहरूलाई राम्ररी नियाल्दा तपाईंले हाम्रो सृष्टिकर्ताको बुद्धि र शक्तिबारे धेरै कुरा थाह पाउन सक्नुहुन्छ।—भजन १०४:२४; यशैया ४०:२६.
तर परमेश्वरको व्यक्तित्वबारे सही ज्ञान लिने हो भने प्रत्येकले उहाँको वचन बाइबल आफैले जाँचेर हेर्नु आवश्यक छ। अरूको कठपुतली नबन्नुहोस्। बरु, बाइबलको यो सल्लाह पालन गर्नुहोस्: “यस संसारसित एकै चालका नहोओ, तर तिमीहरूको मनको परिवर्तनले तिमीहरू बदलियौ। औ परमेश्वरका असल, मनपर्ने र सिद्ध इच्छा के रहेछ भनी तिमीहरू जाँचेर पत्ता लगाओ।” (रोमी १२:२) उदाहरणको लागि, परमेश्वरबारे बाइबलले बताउने निम्न तथ्यहरूलाई विचार गर्नुहोस्।
परमेश्वरको व्यक्तिगत नाउँ छ। परमेश्वरको व्यक्तिगत नाउँ मौलिक बाइबलमा हजारौं पटक उल्लेख गरिएको थियो। नेपाली बाइबलमा प्रस्थान ६:३ को पादटिप्पणीमा यो नाउँ दिइएको छ: “अब्राहाम, इसहाक र याकूबकहाँ म सर्वशक्तिमान परमेश्वरको रूपमा देखा परें, तर मेरो परमप्रभु [अर्थात्, “यहवे,” पादटिप्पणी] नाउँले ता तिनीहरूकहाँ प्रकट भइनँ।”
यहोवा परमेश्वरका भावनाहरू छन् जसलाई मानव क्रियाकलापले असर गर्छ। इस्राएलीहरूलाई मिश्रको दासत्वबाट छुटाइसकेपछि बेला-बेलामा तिनीहरूले परमेश्वरको बुद्धिमानी सल्लाहलाई बेवास्ता गरे। तिनीहरूको विद्रोही व्यवहारले उहाँलाई “दुःखित” तुल्यायो। तिनीहरूको कामले ‘इस्राएलका पवित्र जनलाई झोंक उठायो।’—भजन ७८:४०, ४१.
परमेश्वरले हामी व्यक्तिविशेषको ख्याल राख्नुहुन्छ। आफ्ना चेलाहरूसित कुरा गर्दा येशूले भन्नुभयो: “के एक पैसामा दुई भँगेरा बिक्तैनन्? तीमध्ये एउटा पनि तिमीहरूका पिताको इच्छाविना भूइँमा खस्नेछैन। तर तिमीहरूका शिरका केशहरू समेत पनि सबै गन्ती भएका छन्। यसकारण तिमीहरू नडराओ, तिमीहरू धेरै भँगेराहरूभन्दा बढ्ता मूल्यका छौ।”—मत्ती १०:२९-३१.
परमेश्वरले जात वा संस्कृति हेरेर कसैलाई काखा, कसैलाई पाखा गर्नुहुन्न। प्रेरित पावलले एथेन्समा भएका ग्रीकहरूलाई “पृथ्वीको सतहमाथि बास गर्नालाई [परमेश्वरले] एउटै मानिसबाट हरेक जातिलाई बनाउनुभयो” भनी बताए। तिनले यसो पनि भने, ‘परमेश्वर हामी हरेकबाट टाढा हुनुहुन्न।’ (प्रेरित १७:२६, २७) प्रेरित पत्रुसले भने: “परमेश्वरले मानिसहरूको पक्षपात गर्नुहुन्न, तर हरेक जातिमा जो उहाँसँग डराउँछ, र उचित काम गर्छ, त्यसलाई उहाँले स्वीकार गर्नुहुन्छ।”—प्रेरित १०:३४, ३५.
इनाम: केहीमा “जोश त छ, तर समझअनुसारको होइन।” (रोमी १०:२) यदि तपाईंलाई परमेश्वरबारे बाइबलले वास्तवमा के सिकाउँछ त्यो थाह छ भने बहकिनबाट जोगिन सक्नुहुन्छ साथै “परमेश्वरको नजीक” पनि हुन सक्नुहुन्छ।—याकूब ४:८. (w09 5/1)
थप जानकारीको लागि बाइबलले वास्तवमा के सिकाउँछ?a पुस्तकको “परमेश्वरबारे साँचो शिक्षा के हो?” अध्याय १ हेर्नुहोस्।
[फुटनोट]
a यहोवाका साक्षीहरूद्वारा प्रकाशित।
[पृष्ठ ६-मा भएको चित्र]
परमेश्वरलाई चिन्ने एउटा तरिका भनेको उहाँले बनाएका कुराहरू हेरेर हो