प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w09 ६/१ pp. १७-२१
  • “सुकर्ममा जोशिलो” हुनुहोस्‌!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “सुकर्ममा जोशिलो” हुनुहोस्‌!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • प्रचार गर्ने र सिकाउने काममा जोस
  • जोसिलो भएर सेवा गर्ने किशोरकिशोरीहरू
  • जोसका साथ चेतावनीहरू सुन्‍नुहोस्‌
  • असल आचरणको महत्त्व
  • यहोवाको घरको निम्ति जोस देखाउनुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • के तपाईं “असल कामहरूमा जोसिलो” हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • सारा हृदयले यहोवाको सेवा गर्नुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • हाम्रो लागि लेखिएका कुराहरूमा के तपाईंले आफ्नो मन लगाउनुहुनेछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
w09 ६/१ pp. १७-२१

“सुकर्ममा जोशिलो” हुनुहोस्‌!

“[ येशूले ] हामीलाई हाम्रा सब अधर्मबाट उद्धार गर्नलाई र उहाँको निम्ति सुकर्ममा जोशिलो भएका उहाँकै आफ्ना एक खास पवित्र जाति तुल्याउनलाई हाम्रो निम्ति आफैलाई अर्पण गर्नुभयो।”—ती. २:१४.

१. इस्वी संवत्‌ ३३, निसान १० मा येशू आउँदा मन्दिरको हातामा के हुन्छ?

घटना इस्वी संवत्‌ ३३, निसान १० को हो। निस्तार चाड सुरु हुन केही दिन मात्र बाँकी छ। उपासनाको लागि यरूशलेम आएको भीड मन्दिरको हातामा छन्‌ र चाडको उत्कट प्रतीक्षा गर्दैछन्‌। येशू मन्दिर आइपुग्दा त्यहाँ के हुन्छ? सुसमाचारका पुस्तकका तीन लेखक मत्ती, मर्कूस र लूकाअनुसार किन्‍ने र बेच्नेहरूलाई येशूले दोस्रो पटक त्यहाँबाट धपाउनुहुन्छ। अनि उहाँले सराफीहरूका टेबल र ढुकुर बेच्नेहरूका आसन पल्टाइदिनुहुन्छ। (मत्ती २१:१२; मर्कू. ११:१५; लूका १९:४५) तीन वर्षअगाडि यस्तै कदम चाल्दा उहाँमा जत्ति जोस थियो त्यसमा रत्तिभर कमी आएको छैन।—यूह. २:१३-१७.

२, ३. येशूको जोस मन्दिर शुद्ध पार्ने काममा मात्र सीमित थिएन भनेर हामी कसरी थाह पाउँछौं?

२ येशूले त्यसबेला देखाएको जोस मन्दिर शुद्ध पार्ने काममा मात्र सीमित थिएन भनेर मत्तीको विवरणले देखाउँछ। मन्दिरमा उहाँकहाँ आएका अन्धा र लङ्‌गडाहरूलाई पनि उहाँ निको पार्दै हुनुहुन्थ्यो। (मत्ती २१:१४) लूकाले लिपिबद्ध गरेअनुसार येशूले अरू काम पनि गर्नुभयो। “[येशू] मन्दिरमा दिनहुँ शिक्षा दिनुहुन्थ्यो।” (लूका १९:४७; २०:१) त्यसकारण प्रचारकार्यमा येशूको जोस प्रस्टै देखिन्थ्यो।

३ पछि प्रेरित पावलले तीतसलाई पत्र लेखे र येशूबारे यसरी बताए: “[येशूले] हामीलाई हाम्रा सब अधर्मबाट उद्धार गर्नलाई र उहाँको निम्ति सुकर्ममा जोशिलो भएका उहाँकै आफ्ना एक खास पवित्र जाति तुल्याउनलाई हाम्रो निम्ति आफैलाई अर्पण गर्नुभयो।” (ती. २:१४) आज हामी के-कस्ता तरिकामा “सुकर्ममा जोशिलो” हुन सक्छौं? अनि यहूदाका असल राजाहरूको उदाहरणले हामीलाई कसरी प्रोत्साहन दिन सक्छ?

प्रचार गर्ने र सिकाउने काममा जोस

४, ५. यहूदाका चार राजाहरूले सुकर्ममा जोसिलो भएको कुरा कसरी प्रमाणित गरे?

४ आसा, यहोशापात, हिजकियाह र योशियाह सबैले यहूदाबाट मूर्तिपूजाको जरै उखेल्ने अभियान सुरु गरे। आसाले “विदेशी वेदीहरू र डाँडाहरूमा भएका पूजा-थानहरू हटाए, देवी बनाएका खामाहरू भत्काइदिए, र अशेरा-देवीहरूलाई ढालिदिए।” (२ इति. १४:३) यहोशापात यहोवाको उपासनाप्रतिको जोसले यत्ति उत्साहित भए कि तिनले “यहूदाका डाँडाहरूका पूजा-थानहरू र अशेरा-देवीहरू हटाइदिए।”—२ इति. १७:६; १९:३.a

५ हिजकियाहले यरूशलेममा आयोजना गरेको सात दिने पवित्र निस्तार चाडपछि “उपस्थित भएका सबै इस्राएलीहरू यहूदाका शहरहरू हुँदो गएर ती सबै खतम नहोउञ्जेल तिनीहरूले पवित्र मानेका खामाहरू टुक्रा टुक्रा पारिदिए र अशेरा-देवीहरू ढालिदिए, औ यहूदा र बिन्यामीन, एप्रैम र मनश्‍शेभरिका डाँडाहरूमा भएका पूजा गर्ने थानहरू र वेदीहरू भत्काइदिए।” (२ इति. ३१:१) बालक योशियाह राजा हुँदा आठ वर्षका मात्र थिए। ऐतिहासिक विवरण यसो भन्छ: “तिनको शासनको आठौं वर्षमा तिनी बालकै छँदा तिनले आफ्ना पुर्खा दाऊदका परमेश्‍वरको अगुवाइ खोज्न शुरु गरे। औ बाह्रौं वर्षमा यहूदा र यरूशलेममा डाँडाका पूजा-थानहरू र अशेरा-देवी र खोपेर बनाएका र धातुका मूर्तिहरू हटाउन शुरु गरे।” (२ इति. ३४:३) तसर्थ, यी चारै राजाहरू सुकर्ममा जोसिला थिए।

६. यहूदाका वफादार राजाहरूले गरेको अभियानसित हाम्रो प्रचारकार्यलाई किन दाँज्न सकिन्छ?

६ यसरी नै आज हामी पनि मानिसहरूलाई मूर्तिपूजालगायत झूटा धार्मिक शिक्षाबाट मुक्‍त हुन मदत दिने अभियानमा भाग लिन्छौं। घर-घरमा प्रचार जाँदा हामी सबै किसिमका मानिसलाई भेट्‌ने अवसर पाउँछौं। (१ तिमो. २:४) एउटी सानी एसियाली केटी आफ्नी आमाले घरमा विभिन्‍न मूर्तिहरूअगाडि पूजापाठ गरेको सम्झन्छिन्‌। ती सबै मूर्तिले साँचो परमेश्‍वरको प्रतिनिधित्व कसरी गर्न सक्ला भन्‍ने तर्क गर्दै यी केटी साँचो परमेश्‍वर चिन्‍न सकियोस्‌ भनेर अक्सर प्रार्थना गर्थिन्‌। एकदिन उनको घरको ढोका ढकढक्याइयो। ढोका खोल्दा त दुई जना साक्षी पो आएका रहेछन्‌। ती साक्षीहरू उनलाई साँचो परमेश्‍वरको विशेष नाउँ—यहोवाबारे सिकाउन तयार भए। मूर्तिहरूबारे वास्तविकता थाह पाउँदा उनी औधी हर्षित भइन्‌। अहिले उनी जोडतोडले प्रचारकार्यमा लागेर अरूलाई यहोवाबारे सिक्न मदत दिंदै प्रशंसायोग्य जोस देखाइरहेकी छिन्‌।—भज. ८३:१८; ११५:४-८; १ यूह. ५:२१.

७. यहोशापातको समयमा सहर-सहरमा गएर शिक्षा दिएका शिक्षकहरूको अनुकरण गर्न हामी के गर्न सक्छौं?

७ घर-घरको प्रचारमा भाग लिंदा हामी आफूलाई खटाइएको इलाका कत्तिको विस्तृत रूपमा ढाक्छौं? चाखलाग्दो कुरा, आफ्नो शासनकालको तेस्रो वर्षमा यहोशापातले पाँच जना अफिसर, नौ जना लेवी र दुई जना पूजाहारी पठाए। मानिसहरूलाई यहोवाको व्यवस्था सिकाउन उनले तिनीहरूलाई सबै सहरमा जान अह्राए। तिनीहरूको अभियान यत्ति प्रभावकारी भयो कि वरपर देशका मानिसहरू यहोवाको भय मान्‍न थाले। (२ इतिहास १७:९, १० पढ्‌नुहोस्‌) विभिन्‍न समय र फरक-फरक दिनमा मानिसलाई घरमा भेट्‌ने प्रयास गर्दा परिवारका छुट्टा-छुट्टै सदस्यसँग कुराकानी गर्न सक्नेछौं।

८. साक्षीकार्यलाई हामी कसरी अझ विस्तार गर्न सक्छौं?

८ वर्तमान समयमा परमेश्‍वरका थुप्रै सेवक आफ्नो घर छोडेर जोसिला साक्षीहरूको आवश्‍यकता भएको ठाउँमा बसाइँ सर्न इच्छुक भएका छन्‌। के तपाईं पनि त्यसो गर्न सक्नुहुन्छ? त्यसरी बसाइँ सर्न नसक्ने हामीमध्ये कोही हाम्रै इलाकाका अर्कै भाषा बोल्नेहरूलाई साक्षी दिने प्रयास गर्न सक्छौं। आफ्नो इलाकामा थुप्रै देशका मानिस भेटिने भएकोले ८१ वर्षका रोनले ३२ विभिन्‍न भाषामा अभिवादन गर्न सिके! हालै उनले सडकमा एक अफ्रिकी दम्पती भेटे र योरूबा भनिने तिनीहरूकै भाषामा तिनीहरूलाई अभिवादन गरे। ‘तपाईं पहिला अफ्रिका पनि जानुभएको थियो कि’ भनेर तिनीहरूले रोनलाई सोधे। छैन भनेर जवाफ दिएपछि तिनीहरूले रोनलाई फेरि सोधे, ‘त्यसोभए तपाईंले हाम्रो भाषा कसरी जान्‍नुभयो त?’ यसले गर्दा साक्षी दिने राम्रो बाटो खुल्यो। तिनीहरूले खुसीसाथ केही पत्रिका स्वीकारे र आफ्नो ठेगाना दिए। ती दम्पतीले बाइबल अध्ययन सुरु गर्न सकून्‌ भनेर रोनले तिनीहरूको इलाकाको मण्डलीलाई त्यो ठेगाना पठाइदिए।

९. प्रचारकार्यमा बाइबलबाटै पढ्‌नु किन महत्त्वपूर्ण छ? कुनै एउटा उदाहरण दिनुहोस्‌।

९ यहोशापातको आज्ञाअनुसार सहर-सहर गएका शिक्षकहरूसित “परमप्रभुको व्यवस्थाको पुस्तक” थियो। बाइबल परमेश्‍वरको वचन भएकोले हामी विश्‍वभरि नै मानिसहरूलाई बाइबलबाटै सिकाउने प्रयास गर्छौं। प्रचारमा मानिसहरूले बाइबलको महत्त्व बुझून्‌ भनेर हामी बाइबलबाटै पढ्‌ने विशेष प्रयास गर्छौं। लिन्डा नाउँकी साक्षी बहिनीलाई एउटी घरधनीले आफ्नो श्रीमान्‌लाई मस्तिष्कघात भएकोले एकछिन पनि छोड्‌न नमिल्ने बताइन्‌। तिनले यसरी बिलौना गरिन्‌: “खै! मैले त्यस्तो के नै गरेकी थिएँ र ईश्‍वरले ममाथि यस्तो दुःख ल्याउनुभयो!” लिन्डाले भनिन्‌: “म तपाईंलाई एउटा कुरामा विश्‍वस्त गराउन सक्छु कि?” त्यसपछि उनले याकूब १:१३ पढिन्‌ र यसो भनिन्‌: “हामी र हामीले माया गर्नेहरूले भोगेको दुःख ईश्‍वरले दिएको सजाय होइन।” यस्तो कुरा सुनेपछि घरधनीले लिन्डालाई अँगालो हालिन्‌। लिन्डा भन्छिन्‌: “बाइबलबाट सुनाएर मैले सान्त्वना दिन सकें। हामीले बाइबलबाट पढ्‌ने पदहरू कहिलेकाहीं घरधनीले पहिला कहिल्यै सुनेका हुँदैनन्‌।” त्यस कुराकानीले गर्दा ती स्त्रीसित नियमित रूपमा बाइबल अध्ययन सुरु भयो।

जोसिलो भएर सेवा गर्ने किशोरकिशोरीहरू

१०. आजका ख्रीष्टियान किशोरकिशोरीका लागि योशियाह कसरी असल उदाहरण हुन्‌?

१० योशियाहको उदाहरणलाई फेरि विचार गर्दा हामी के थाह पाउँछौं भने तिनी युवावस्थामै साँचो उपासनाको पछि लागे र मूर्तिपूजाविरुद्ध व्यापक अभियान सुरु गर्दा तिनी लगभग २० वर्षका थिए। (२ इतिहास ३४:१-३ पढ्‌नुहोस्‌) आज पनि थुप्रै किशोरकिशोरी प्रचारकार्यमा यस्तै जोस देखाउँछन्‌।

११-१३. जोसका साथ यहोवाको सेवा गर्ने वर्तमान समयका किशोरकिशोरीबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

११ नजिकैको सहरमा फ्रान्सेली भाषाको समूह स्थापना भयो भन्‍ने खबर सुन्दा इङ्‌गल्यान्डमा बस्ने हन्‍ना १३ वर्षकी थिइन्‌। त्यतिबेला तिनी स्कूलमा फ्रान्सेली भाषा सिक्दै थिइन्‌। छोरीलाई त्यहाँको सभामा जान दिन तिनका बुबा सहमत भए। हन्‍ना अहिले १८ वर्षकी भइन्‌ र नियमित अग्रगामीको रूपमा फ्रान्सेली भाषामा जोसिलो भएर साक्षी दिन्छिन्‌। के तपाईं पनि अर्कै भाषा सिकेर अरूलाई यहोवाबारे सिक्न मदत गर्न सक्नुहुन्छ?

१२ रेचेलले परमेश्‍वरको आदर हुने लक्ष्यहरूको पछि लाग्नेसम्बन्धी भिडियो (परस्यु गोल्स द्याट अनर गड) हेरेर आनन्द उठाइन्‌। सन्‌ १९९५ मा यहोवाको सेवा सुरु गर्दा आफूले राख्ने गरेको सोचाइबारे तिनी यसो भन्छिन्‌: “मलाई लाग्थ्यो, मैले सच्चाइलाई आफ्नो बनाएकी छु।” त्यसपछि तिनी भन्छिन्‌: “त्यो नाटक हेरेपछि मैले के बुझें भने मैले धेरै वर्षदेखि सामान्य कुरामात्र गर्दै आएकी रहेछु। सच्चाइको लागि मैले लडन्त लड्‌नैपर्छ, व्यक्‍तिगत अध्ययन र प्रचारकार्यमा अझ धेरै समय बिताउनैपर्छ र त्यसबारे अझ धेरै विचार गर्नैपर्छ।” रेचेललाई अहिले आफूले अझ जोसका साथ यहोवाको सेवा गरिरहेको जस्तो लाग्छ। परिणामस्वरूप तिनले के अनुभव गरेकी छिन्‌? “यहोवासितको मेरो सम्बन्ध बलियो भएको छ। मेरो प्रार्थना अझ अर्थपूर्ण भएको छ, अझ गहिरा-गहिरा कुराहरू अध्ययन गर्न र झनै सन्तुष्ट हुन सकेकी छु। अनि बाइबल विवरणहरू मलाई अझ वास्तविक लाग्न थालेको छ। यसले गर्दा प्रचारकार्यबाट मैले धेरै आनन्द पाउन सकेकी छु र यहोवाको वचनबाट अरूलाई सान्त्वना मिलेको देख्न पाउँदा साँचो सन्तुष्टि पाउन सकेकी छु।”

१३ ल्यूक नाउँ गरेका किशोरचाहिं भविष्यमा के गर्ने भन्‍नेबारे युवायुवतीलाई निर्णय गर्न मदत दिने भिडियो (यङ पिपल आस्क—ह्वाट विल आइ डु विथ माइ लाइफ?) हेरेर प्रोत्साहित भए। यो भिडियो हेरेपछि ल्यूकले लेखे: “मैले जीवनमा के गरिरहेको छु भनेर सोच्न यो भिडियोले मलाई बाध्य बनायो।” उनी यसरी स्वीकार्छन्‌: “विगतमा मलाई उच्च शिक्षा हासिल गरेर सर्वप्रथम आर्थिक रूपमा सुरक्षित हुनुपर्ने अनि मात्र आध्यात्मिक लक्ष्यहरूको पछि लाग्नुपर्ने दबाब आउँथ्यो। यस्तो दबाबले हामीलाई यहोवासित बलियो सम्बन्ध गाँस्न मदत गर्दैन बरु झनै कमजोर बनाउँछ।” किशोर भाइबहिनीहरू हो, तपाईंहरूले स्कूलमा सिकेका कुरालाई हन्‍नाले जस्तै प्रचारकार्य अझै फैलाउनको लागि प्रयोग गर्न सकिन्छ कि भनेर किन विचार नगर्ने? अनि साँच्चै परमेश्‍वरको आदर हुने लक्ष्य जोसका साथ पछ्याएर रेचेलको उदाहरण किन अनुकरण नगर्ने? धेरै किशोरकिशोरीको लागि पासो साबित भएका खतरालाई पन्छाएर ल्यूकको उदाहरण पछ्याउनुहोस्‌।

जोसका साथ चेतावनीहरू सुन्‍नुहोस्‌

१४. यहोवा कस्तो उपासना स्वीकार्नुहुन्छ र यसो गरिरहन आज किन सजिलो छैन?

१४ हामीले गर्ने उपासना यहोवाले स्वीकारेको चाहन्छौं भने हामी स्वच्छ हुनैपर्छ। यशैया यस्तो चेतावनी दिन्छन्‌: “गइहाल, गइहाल, त्यहाँबाट जाऊ! अशुद्ध थोक नछोऊ! हे परमप्रभुका पात्र बोक्ने हो, त्यसको [अर्थात्‌, बेबिलोनको] बीचबाट निस्केर जाऊ। तिमीहरू आफैलाई शुद्ध पार।” (यशै. ५२:११) यशैयाले यी शब्द लेख्नुभन्दा धेरै वर्षअघि नै असल राजा आसा यहूदामा अनैतिकतालाई जरैसमेत उखेल्ने अभियानमा बडो मेहनतसाथ लागे। (१ राजा १५:११-१३ पढ्‌नुहोस्‌) शताब्दीयौंपछि प्रेरित पावलले तीतसलाई येशूले आफ्ना अनुयायीहरूलाई पवित्र पारेर ‘सुकर्ममा जोसिलो भएका उहाँकै जाति’ बनाउन आफूलाई अर्पण गर्नुभयो भनेर बताए। (ती. २:१४) आजको यो अनैतिक समाजमा विशेषगरि किशोरकिशोरीलाई नैतिक रूपमा स्वच्छ रहिरहन सजिलो छैन। उदाहरणका लागि परमेश्‍वरका हामी सम्पूर्ण सेवकले—चाहे हामी जवान हौं या वृद्ध—विज्ञापन पाटीमा, टि भीमा, चलचित्रमा अनि अझ विशेषगरि इन्टरनेटमा पाइने अश्‍लील सामग्रीबाट दूषित हुनदेखि जोगिन लडन्त लड्‌नैपर्छ।

१५. खराबीलाई घृणा गर्ने बानी विकास गर्न हामीलाई केले मदत गर्न सक्छ?

१५ परमेश्‍वरको चेतावनी सुन्‍न हामीले देखाउने जोसले हामीलाई खराबीलाई घृणा गर्ने बानी विकास गर्न मदत गर्न सक्छ। (भज. ९७:१०; रोमी १२:९) “अश्‍लील सामग्रीको शक्‍तिशाली आकर्षणदेखि मुक्‍त” हुन हामीले यसप्रति घृणा जगाउनैपर्छ भनेर एक जना ख्रीष्टियानले बताए। चुम्बकसँगै टाँसिएका स-साना चुम्बकीय धातुलाई एक-एक गरेर अलग पार्न तिनीहरूलाई त्यसरी आकर्षण गर्ने शक्‍तिभन्दा अझ शक्‍तिशाली शक्‍ति चाहिन्छ। त्यसैगरि अश्‍लील सामग्रीको पासोमा पर्ने प्रलोभनलाई प्रतिरोध गर्न कडा मेहनत चाहिन्छ। तर अश्‍लील सामग्रीले हामीलाई पुऱ्‍याउने हानिबारे बुझ्दा हामी त्यसप्रति घृणा विकास गर्न सक्नेछौं। एक जना भाइले इन्टरनेटमा अश्‍लील साइटमा जाने आफ्नो बानी त्याग्न कडा मेहनत गरे। उनले आफ्नो कम्प्युटरलाई परिवारका सबैले राम्ररी देख्ने ठाउँमा सारे। त्यसको अलावा उनले आफैलाई शुद्ध पार्ने र सुकर्ममा जोसिलो हुने दृढ संकल्प गरे। उनले अर्को कदम पनि चाले। व्यापारको सिलसिलामा इन्टरनेट प्रयोग गर्नुपर्ने भएकोले आफ्नी पत्नी सँगै भएको बेला मात्र इन्टरनेट प्रयोग गर्ने व्यवस्था मिलाउने अठोट गरे।

असल आचरणको महत्त्व

१६, १७. हाम्रो असल आचरणले हामीलाई देख्नेहरूमा कस्तो प्रभाव पार्न सक्छ? कुनै एउटा अनुभव भन्‍नुहोस्‌।

१६ जवान केटाकेटीले यहोवाको सेवामा कत्ति असल मनोभाव देखाएका छन्‌ र त्यसले देख्नेहरूमा कत्ति राम्रो प्रभाव पारेको छ! (१ पत्रुस २:१२ पढ्‌नुहोस्‌) छाप्ने मेसिन मर्मत गर्न लन्डन बेथेलमा एक दिन बिताएका एक जना व्यक्‍तिले त्यहाँ भ्रमण गरेपछि यहोवाका साक्षीहरूप्रतिको आफ्नो पूरा विचार नै परिवर्तन गरे। स्थानीय साक्षीसित बाइबल अध्ययन गरिरहेकी तिनकी पत्नीले आफ्नो पतिको मनोवृत्तिमा परिवर्तन आएको याद गरिन्‌। पहिला तिनी यहोवाका साक्षीहरू आफ्नो घरमा आएको मन पराउँदैनथे। तर बेथेलमा मर्मतकार्य सिध्याएर फर्केपछि भने तिनले आफूलाई त्यहाँ दयालु व्यवहार गरिएकोमा बेथेलबारे असल-असल टिप्पणी गरे। कसैले पनि फोहोर बोली बोलेनन्‌ भनेर तिनले टिप्पणी गरे। सबै जना धीरजी थिए र वातावरण शान्त थियो। विशेषगरि तिनी जवान भाइबहिनीलाई देखेर प्रभावित भए। किनकि ती भाइबहिनीले सुसमाचार प्रकाशित गर्न आफ्नो समय र शक्‍ति लगाउँदै तलबको आशा नगरी जोसका साथ काम गरेको तिनले देखे।

१७ त्यसैगरि परिवारको पालनपोषण गर्न जागिर खाने भाइबहिनी पूरा मनतनले काम गर्छन्‌। (कल. ३:२३, २४) काम दिने मालिकहरू यस्ता इमानदार जागिरेलाई गुमाउन चाहँदैनन्‌। त्यसैले उनीहरूको जागिर सुरक्षित भएको छ।

१८. हामी कसरी “सुकर्ममा जोशिलो” हुन सक्छौं?

१८ यहोवामाथि हामीले गर्ने भरोसा, उहाँका निर्देशनहरूप्रतिको हाम्रो आज्ञाकारिता र सभा हुने भवनप्रति हामीले देखाउने चासो हामीले यहोवाको घरप्रति जोस देखाउन सक्ने केही तरिका हुन्‌। त्यसका साथै, राज्य प्रचार र चेला बनाउने काममा हामी सक्दो भाग लिन चाहन्छौं। चाहे हामी जवान हौं वा वृद्ध, उपासनासित सम्बन्धित कुराहरूमा शुद्ध स्तर अनुरूप चल्न सक्दो प्रयास गरेमा थुप्रै लाभ उठाउन सक्नेछौं। अनि हामी सधैं नै “सुकर्ममा जोशिलो” मानिसको रूपमा चिनिनेछौं।—ती. २:१४. (w09 6/15)

[फुटनोट]

a आसाले झूटा देवताहरूसित सम्बन्धित डाँडाका पूजा-थानहरू हटाएका तर यहोवाको उपासना गर्ने डाँडाका थानहरू भने नहटाएका हुन सक्छन्‌। अथवा आसाको शासनकालको अन्तिम वर्षहरूमा डाँडाका पूजा-थानहरू पुनर्निर्माण गरिएको र त्यसलाई तिनका छोरा यहोशापातले हटाएका पनि हुन सक्छन्‌।—१ राजा १५:१४; २ इति. १५:१७.

बाइबलमा दिइएका उदाहरण र वर्तमान समयका उदाहरणबाट

• प्रचार गर्ने र सिकाउने काममा भाग लिएर जोस देखाउने विषयमा के सिक्नुभयो?

• ख्रीष्टियान किशोरकिशोरी “सुकर्ममा जोशिलो” हुन सक्ने विषयमा के सिक्नुभयो?

• भ्रष्ट आनीबानीबाट मुक्‍त हुने विषयमा के सिक्नुभयो?

[पृष्ठ १९-मा भएको चित्र]

प्रचार गर्दा के तपाईं सधैं बाइबलबाट पढेर सुनाउनुहुन्छ?

[पृष्ठ २१-मा भएको चित्र]

स्कूलमा हुँदा अर्को भाषा बोल्न सिकेमा तपाईंले प्रचारकार्यलाई अझ फैलाउन मदत पाउन सक्नुहुन्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने