प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w17 मार्च pp. १८-२२
  • सारा हृदयले यहोवाको सेवा गर्नुहोस्‌!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सारा हृदयले यहोवाको सेवा गर्नुहोस्‌!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • आसाले आफ्नो हृदय “परमप्रभुमा सम्पूर्ण रूपले सुम्पेका थिए”
  • यहोशापातले यहोवाको अगुवाइ खोजे
  • हिजकियाहले जे असल थियो, त्यो गरिरहे
  • योशियाहले यहोवाको आज्ञा पालन गरे
  • सारा हृदयले यहोवाको सेवा गर्नुहोस्‌!
  • हाम्रो लागि लेखिएका कुराहरूमा के तपाईंले आफ्नो मन लगाउनुहुनेछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • “तिमीहरूको कामको प्रतिफल तिमीहरूले पाउनेछौ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • शान्ति छाएको समयमा बुद्धिमानी कदम चाल्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • यहोवा कसरी हाम्रो नजिक आउनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
w17 मार्च pp. १८-२२
आसा, यहोशापात, हिजकियाह र योशियाह

आसा, यहोशापात, हिजकियाह, योशियाह

सारा हृदयले यहोवाको सेवा गर्नुहोस्‌!

“हे परमप्रभु, सम्झना राख्नुहोस्‌, म तपाईंको सामुन्‍ने कस्तो विश्‍वास र सम्पूर्ण हृदयको भक्‍तिसाथ हिंडेको छु।”—२ राजा २०:३, NRV.

गीत: ५२, ६५

हामीले के सिक्यौं?

  • सारा हृदयले यहोवाको सेवा गर्नुको अर्थ के हो?

  • यहोवाले यहूदाका चार जना राजाको सेवा स्विकार्नुभएको कुराबाट के सिक्न सक्छौं?

  • चार जना राजामध्ये तपाईं कसको अनुकरण गर्न चाहनुहुन्छ? किन?

१-३. “सारा हृदय”-ले यहोवाको सेवा गर्नुको अर्थ के हो? उदाहरणसहित बताउनुहोस्‌।

हामी सबै त्रुटिपूर्ण छौं र गल्ती गर्छौं। तर खुसीको कुरा, यहोवाले येशूको फिरौतीको बलिदानको आधारमा हाम्रा गल्तीहरू क्षमा गर्नुहुन्छ। त्यसैले आफ्नो गल्तीको पश्‍चात्ताप गऱ्‍यौं र नम्र भई उहाँसित क्षमा माग्यौं भने उहाँले “हाम्रा पापअनुसारको व्यवहार” गर्नुहुन्‍न। (भज. १०३:१०) तर यहोवालाई दिनदिनै चढाउने उपासना उहाँले स्विकार्नुभएको चाहन्छौं भने दाऊदले सुलेमानलाई भनेझैं हामीले ‘आफ्नो सारा हृदयले उहाँको सेवा गर्नुपर्छ।’ (१ इति. २८:९) हामी त्रुटिपूर्ण मानिसहरूले कसरी आफ्नो सारा हृदयले उहाँको सेवा गर्न सक्छौं?

२ यो कुरा बुझ्न हामी राजा आसा र राजा अमस्याहको जीवनलाई तुलना गरेर हेर्न सक्छौं। हुन त यहूदाका यी दुवै राजाले यहोवाको नजरमा जे सही थियो, त्यही गरे। तर फरक के थियो भने राजा आसाले सारा हृदयले यहोवाको सेवा गरे। (२ इति. १५:१६, १७, NRV; २५:१, २; हितो. १७:३) दुवै राजा त्रुटिपूर्ण थिए र तिनीहरूले गल्ती गरे। तर राजा आसा परमेश्‍वरको मार्गबाट तर्किएनन्‌ किनभने तिनको हृदय पूर्णतया उहाँप्रति समर्पित थियो। (१ इति. २८:९) अर्कोतर्फ, राजा अमस्याह भने पूर्णतया यहोवाप्रति समर्पित थिएनन्‌। परमेश्‍वरका शत्रुहरूमाथि विजय हासिल गरेपछि तिनले ती राष्ट्रका देवताहरू ल्याए र पूजा गर्न थाले।—२ इति. २५:११-१६.

३ “सारा हृदय”-ले परमेश्‍वरको सेवा गर्ने हो भने उहाँप्रति सधैं भक्‍त भइरहनुपर्छ। बाइबलमा प्रयोग गरिएको “हृदय” अर्थात्‌ मनले अक्सर मानिसको भित्री व्यक्‍तित्वलाई बुझाउँछ। यसमा उसको इच्छा, सोचाइ, मनोभाव, झुकाव, क्षमता, उत्प्रेरणा र लक्ष्य समावेश छ। त्यसैले सारा हृदयले यहोवाको सेवा गर्ने व्यक्‍तिले देखावटी सेवा चढाउँदैन। उसले कर्तव्यबोधले वा झारा टार्ने हिसाबले यहोवाको उपासना गर्दैन। हामी नि? त्रुटिपूर्ण भए तापनि निष्कपट भई पूर्णतया परमेश्‍वरमा समर्पित छौं भने हामीले सारा हृदयले उहाँको सेवा गरिरहेका छौं भन्‍न मिल्छ।—२ इति. १९:९.

४. हामी कुन कुरा केलाउनेछौं?

४ सारा हृदयले परमेश्‍वरको सेवा गर्नुको अर्थ बुझ्न तनमनले उहाँको सेवा गर्ने यहूदाका चारजना राजाको जीवन केलाऔं। ती हुन्‌: आसा, यहोशापात, हिजकियाह र योशियाह। यी चारै जना राजाले गल्ती गरे। तैपनि तिनीहरूले यहोवाको अनुमोदन गुमाएनन्‌। परमेश्‍वरले किन तिनीहरूलाई सारा हृदयले उहाँको सेवा गर्ने व्यक्‍तिहरू ठान्‍नुभयो? हामी कसरी तिनीहरूको अनुकरण गर्न सक्छौं?

आसाले आफ्नो हृदय “परमप्रभुमा सम्पूर्ण रूपले सुम्पेका थिए”

५. आसाले कस्ता निर्णायक कदमहरू चाले?

५ इस्राएल राष्ट्र टुक्रिएर उत्तरी दस गोत्रे राज्य र यहूदा राज्य भएपछि आसा यहूदाका तेस्रो राजा भए। तिनले आफ्नो राज्यबाट मूर्तिपूजा हटाए अनि मन्दिरका पुरुषगामीहरूलाई त्यहाँबाट निकालिदिए। आसाले आफ्नै हजुरआमा माकालाई पनि “राजमाताको पदबाट हटाइदिए, किनभने अश्‍तारोत देवीको पूजा गर्नलाई एउटा घिनलाग्दो कुरो तिनले राखेकी थिइन्‌।” (१ राजा १५:११-१३) साथै आसाले मानिसहरूलाई “परमेश्‍वरको अगुवाइ खोज्न औ व्यवस्था र आज्ञा पालन गर्न भनी हुकुम गरे।” तिनले साँचो उपासनालाई अघि बढाउन सक्दो प्रयास गरे।—२ इति. १४:४.

६. कुशीहरूले आक्रमण गर्न आउँदा आसाले के गरे?

६ यहोवाको आशिष्‌ले गर्दा आसाको शासनकालको सुरुको दस वर्षसम्म यहूदामा शान्ति छायो। त्यसपछि कुशी जेरा दस लाख मानिस र तीन सय रथ लिएर यहूदाविरुद्ध लड्‌न आए। (२ इति. १४:१, ६, ९, १०) यस्तो सङ्‌कट आइपर्दा आसाले के गरे? तिनले यहोवामा पूरा भरोसा राखे। (२ इतिहास १४:११ पढ्‌नुहोस्‌) आसाले परमप्रभुलाई मनैदेखि प्रार्थना गरे; उहाँले तिनको प्रार्थना सुन्‍नुभयो र कुशीहरूको सेनालाई परास्त गर्नुभयो। (२ इति. १४:१२, १३) राजाहरू यहोवाप्रति वफादार नहुँदा समेत उहाँले आफ्नो नामको खातिर शत्रुहरूलाई हराएर तिनीहरूलाई विजयी तुल्याउनुभयो। (१ राजा २०:१३, २६-३०) तर यस पटक भने आसाले यहोवामाथि भरोसा राखेकोले उहाँले तिनको प्रार्थनाको जवाफ दिनुभयो। हुन त पछि तिनले मूर्ख कदमहरू पनि चाले। उदाहरणको लागि, तिनले यहोवासित मदत माग्नुको साटो अरामका राजासित मदत मागे। (१ राजा १५:१६-२२) तैपनि यहोवाले आसाको पूरै जीवन हेर्नुहुँदा तिनले आफ्नो हृदय “सारा जीवनभरि नै परमप्रभुमा सम्पूर्ण रूपले सुम्पेका” पाउनुभयो। हामी कसरी आसाको असल उदाहरण अनुकरण गर्न सक्छौं?—१ राजा १५:१४, NRV.

७, ८. यहोवाको सेवा गर्न तपाईं कसरी आसाको अनुकरण गर्न सक्नुहुन्छ?

७ आफ्नो हृदय सम्पूर्ण रूपले परमप्रभुमा सुम्पेका छौं कि छैनौं भनेर हामी प्रत्येकले जाँच्न सक्छौं। आफैलाई सोध्नुहोस्‌, ‘के म यहोवालाई खुसी बनाउन, साँचो उपासनाको पक्षमा खडा हुन अनि उहाँका जनहरूलाई कुप्रभावबाट जोगाउन कटिबद्ध छु?’ आफ्नै देशको “राजमाताको” विरुद्ध खडा हुन आसालाई कत्ति साहस चाहियो होला, सोच्नुहोस्‌ त! ती राजमाताजस्तो व्यक्‍ति तपाईंको वरपर कोही छैन होला। तर कुनै-कुनै अवस्थामा तपाईंले आसाको जस्तै जोस देखाउनुपर्ने हुन सक्छ। जस्तै: तपाईंको परिवारको सदस्य वा घनिष्ठ साथीले पाप गरे तर पश्‍चात्ताप नगरेकोले तिनलाई बहिष्कार गरियो। के तपाईं तिनीसित सङ्‌गत गर्न छोड्‌नुहुनेछ? तपाईंको हृदयले तपाईंलाई के गर्न लगाउनेछ?

८ पार लगाउनै नसकिने जस्तो समस्या आइपर्दा समेत आसाले जस्तै तपाईं पनि सम्पूर्ण हृदयले परमेश्‍वरमाथि भरोसा राखेको देखाउन सक्नुहुन्छ। आफूलाई यहोवाको साक्षी भनी चिनाउँदा स्कुलमा तपाईंलाई अरूले जिस्क्याउन वा हाँसोमा उडाउन सक्छन्‌। अथवा आध्यात्मिक गतिविधिमा भाग लिनको लागि छुट्टी लिंदा वा ओभरटाइम नगर्दा काम गर्ने ठाउँका साथीहरूले तपाईंको खिल्ली उडाउन सक्छन्‌। यस्ता अवस्थाहरूमा आसाले जस्तै यहोवालाई प्रार्थना गर्नुहोस्‌। उहाँमा भरोसा राख्नुहोस्‌ अनि साहसी हुनुहोस्‌; उहाँको नजरमा जे सही छ, त्यही गर्न नछोड्‌नुहोस्‌। नबिर्सनुहोस्‌, जसरी यहोवाले आसालाई बल दिनुभयो र मदत गर्नुभयो, त्यसरी नै उहाँले तपाईंलाई पनि बल दिनुहुनेछ।

९. प्रचार गर्दा यहोवालाई कसरी खुसी बनाइरहेका हुन्छौं?

९ परमेश्‍वरका सेवकहरू आफ्नो विषयमा मात्र सोच्दैनन्‌। आसाले साँचो उपासनालाई अघि बढाए। हामी पनि अरूलाई “परमेश्‍वरको अगुवाइ खोज्न” मदत गर्छौं। हामी यहोवालाई साँचो प्रेम गर्छौं र मानिसहरूले सुन्दर भविष्यको आशा पाऊन्‌ भन्‍ने चाहन्छौं। त्यसैले हामी उनीहरूलाई उहाँबारे बताउँछौं। हाम्रो यस्तो प्रयास देख्दा यहोवालाई कत्ति खुसी लाग्छ होला!

यहोशापातले यहोवाको अगुवाइ खोजे

१०, ११. तपाईं कसरी यहोशापातको उदाहरण अनुकरण गर्न सक्नुहुन्छ?

१० यहोशापात “आफ्ना पिता आसाको चालमा हिंडे।” (२ इति. २०:३१, ३२) कसरी? आफ्नो बुबाले जस्तै तिनले मानिसहरूलाई यहोवाको अगुवाइ खोज्न आग्रह गरे। तिनले मानिसहरूलाई “परमप्रभुको व्यवस्थाको पुस्तक”-बाट सिकाउन विभिन्‍न सहरमा अफिसरहरू पठाए। (२ इति. १७:७-१०) तिनी इस्राएलको उत्तरी राज्यको इलाका अर्थात्‌ एप्रैमसम्म गएर मानिसहरूलाई “परमेश्‍वरकहाँ फर्काएर ल्याए।” (२ इति. १९:४) राजा यहोशापातले “आफ्नो पूरा हृदयले परमप्रभुको अगुवाइ” खोजे।—२ इति. २२:९.

११ आज यहोवाले प्रबन्ध गर्नुभएको व्यापक शैक्षिक अभियानमा हामी सबैले भाग लिन सक्छौं। के तपाईंले हरेक महिना अरूलाई परमेश्‍वरको वचनबाट सिकाउने लक्ष्य राख्नुभएको छ? के तपाईं ती मानिसहरूले पनि यहोवाको सेवा गर्न थालेको हेर्न चाहनुहुन्छ? यो सिकाउने काममा लगनशील भई लाग्नुका साथै परमेश्‍वरको आशिष्‌ पाउँदा तपाईंले पनि कसैलाई बाइबल अध्ययन गराउन सक्नुहुन्छ होला। के तपाईंले यो लक्ष्य हासिल गर्न प्रार्थना गर्नुभएको छ? के तपाईं यो लक्ष्य हासिल गर्न आफ्नो फुर्सतको समयसमेत प्रयोग गर्न तयार हुनुहुन्छ? साँचो उपासनामा मानिसहरूलाई फर्काउन यहोशापात एप्रैमको इलाकासम्म गए। त्यसरी नै हामी पनि निष्क्रिय भएकाहरूलाई भेट्‌न जान सक्छौं। साथै मण्डलीका एल्डरहरूले आफ्नो इलाकामा बस्ने बहिष्कृत व्यक्‍तिहरूलाई भेट्‌न र मदत गर्न प्रबन्ध मिलाउँछन्‌, जसले गलत काम गर्न छोडिसकेका हुन सक्छन्‌।

१२, १३. (क) गाह्रो अवस्था सामना गर्नुपर्दा यहोशापातले के गरे? (ख) हामीले किन यहोशापातको अनुकरण गर्नुपर्छ?

१२ शत्रुहरूको ठूलो सैन्य-दलले आक्रमण गर्न आउँदा समेत यहोशापातले आफ्नो बुबाले जस्तै परमेश्‍वरमाथि पूरा भरोसा राखे। (२ इतिहास २०:२-४ पढ्‌नुहोस्‌) हुन त यहोशापात डराए! तैपनि तिनले “परमप्रभुको अगुवाइ खोज्न अठोट गरे।” तिनले “यो ठूलो सैन्यदलको सामना गर्न” आफ्ना मानिसहरूसित केही शक्‍ति छैन र आफूले के गर्नुपर्ने केही थाह छैन भनेर परमेश्‍वरलाई नम्र भई प्रार्थना गरे। तिनले यहोवामाथि पूरा भरोसा राख्दै यसो भने: “हामी आफ्ना आँखा तपाईंतिर उठाउँछौं।”—२ इति. २०:१२.

१३ यहोशापातलाई जस्तै कहिलेकाहीं हामीलाई पनि के गर्ने भनेर थाह नहुन सक्छ अनि डर पनि लाग्न सक्छ। (२ कोरि. ४:८, ९) तर नबिर्सनुहोस्‌, यहोशापातले सबैको अगाडि प्रार्थना गर्दा आफू कति कमजोर छु र मानिसहरूले पनि कस्तो महसुस गरिरहेका छन्‌ भनी बताए। (२ इति. २०:५) आफ्नो परिवारलाई परमेश्‍वरको सेवामा अघि बढ्‌न डोऱ्‍याइरहेका व्यक्‍तिहरूले पनि यहोशापातको अनुकरण गर्न सक्छन्‌। आफूले सामना गरिरहेको समस्याको लागि तिनीहरूले यहोवाको डोऱ्‍याइ र बल माग्न सक्छन्‌। परिवारसँगै प्रार्थना गर्दा यस्ता विषयहरू समावेश गर्न लाज नमान्‍नुहोस्‌। तपाईंको प्रार्थना सुनेपछि तपाईं यहोवामाथि कत्तिको भरोसा गर्नुहुँदो रहेछ भनेर तपाईंको परिवारले थाह पाउनेछन्‌। परमेश्‍वरले यहोशापातलाई मदत गर्नुभएझैं तपाईंलाई पनि मदत गर्नुहुनेछ।

हिजकियाहले जे असल थियो, त्यो गरिरहे

१४, १५. हिजकियाहले कसरी परमेश्‍वरमाथि पूरा भरोसा राखे?

१४ राजा हिजकियाह “परमप्रभुका भक्‍त भइरहे।” बुबा मूर्तिपूजक भए तापनि तिनले यहोवाको सेवा गरिरहे। तिनले “डाँडा-डाँडाहरूमा भएका पूजा गर्ने थानहरू हटाए, पवित्र खामाहरूलाई टुक्रा-टुक्रा पारे, र अश्‍तारोत देवीलाई ढाले र मोशाले बनाएका पीतलको साँपलाई टुक्रा-टुक्रा पारे।” हिजकियाहको समयसम्म आइपुग्दा मानिसहरूले त्यो पीतलको साँपलाई पुज्न थालिसकेका थिए। तर तिनी भने पूरा हृदयले यहोवाको भक्‍त भइरहे; “मोशालाई परमप्रभुले दिनुभएका आज्ञाहरू” तिनले पालन गरिरहे।—२ राजा १८:१-६.

१५ त्यतिबेलाको विश्‍वशक्‍ति अश्‍शूरले यहूदामाथि आक्रमण गरेर यरूशलेमको नामोनिसान मेटाउने धम्की दिंदा समेत हिजकियाहले यहोवामाथि पूरा भरोसा राखे। अश्‍शूरी राजा सनहेरीबले यहोवाको गिल्ला गरे अनि आत्मसमर्पण गर्न लगाउन हिजकियाहलाई धम्क्याए। तर शत्रुहरूबाट बचाउने यहोवाको शक्‍तिमा हिजकियाहले पूरा भरोसा राख्दै उहाँलाई प्रार्थना गरे। (यशैया ३७:१५-२० पढ्‌नुहोस्‌) परमेश्‍वरले हिजकियाहको प्रार्थनाको जवाफस्वरूप एक जना स्वर्गदूत पठाएर १,८५,००० अश्‍शूरीलाई मार्न लगाउनुभयो।—यशै. ३७:३६, ३७.

१६, १७. तपाईं कसरी हिजकियाहको अनुकरण गर्न सक्नुहुन्छ?

१६ पछि हिजकियाह सिकिस्त बिरामी परे। आफू यहोवाको सामने विश्‍वासी भई हिंडेको कुरा सम्झिदिन तिनले उहाँलाई बिन्ती गरे। (२ राजा २०:१-३, NRV पढ्‌नुहोस्‌) अहिले हाम्रो समयमा परमेश्‍वरले कुनै चमत्कार गरेर कसैलाई निको पार्नुहुन्‍न अनि हाम्रो जीवन लम्ब्याउनुहुन्‍न भनेर हामीले बाइबलबाट बुझेका छौं। तर हिजकियाहले जस्तै यहोवालाई यसरी प्रार्थना गर्न सक्छौं: “म तपाईंको सामुन्‍ने कस्तो विश्‍वास र सम्पूर्ण हृदयको भक्‍तिसाथ हिंडेको छु।” बिरामी भएर ओछ्यानमा पर्दा यहोवा तपाईंलाई सँभाल्न सक्षम हुनुहुन्छ र त्यसो गर्न उहाँ इच्छुक हुनुहुन्छ भनेर के तपाईं विश्‍वास गर्नुहुन्छ?—भज. ४१:३.

१७ हिजकियाहबाट हामी अर्को कुन कुरा सिक्न सक्छौं? कुनै कुराले परमेश्‍वरसितको सम्बन्धमा बाधा पुऱ्‍याइरहेको वा साँचो उपासनाबाट हाम्रो ध्यान अर्कैतिर मोडिरहेको हुन सक्छ। हिजकियाहको उदाहरणबारे मनन गर्दा के तपाईंले त्यस्तो बाधालाई हटाउनुपर्ने महसुस गर्नुभएको छ कि? आजकल धेरैजसो मानिस कतिपय लोकप्रिय व्यक्‍तिलाई भगवान्‌ सरह ठान्छन्‌। अनि ती व्यक्‍तिहरूबारे लेखिएका कुराहरू पढ्‌न सामाजिक सञ्जालमा धेरै समय बिताउँछन्‌। हामी तिनीहरूको अनुकरण पटक्कै गर्न चाहँदैनौं। हुन त केही ख्रीष्टियन आफ्नो परिवार वा घनिष्ठ साथीभाइसित सामाजिक सञ्जालमार्फत कुराकानी गर्न मन पराउँछन्‌। तर संसारका धेरैजसो मानिस सामाजिक सञ्जालको अचाक्ली प्रयोग गर्छन्‌; तिनीहरू आफूले चिन्दै नचिनेका पुरुष वा स्त्रीलाई पनि ‘फलो’ गर्छन्‌। त्यस्ता व्यक्‍तिहरूको फोटो हेर्न वा उनीहरूबारे लेखिएका कुराहरू पढ्‌न निकै समय बिताउँछन्‌। यस्ता कुराहरूमा समय बिताउँदा अनावश्‍यक कुराहरूमा चुर्लुम्मै डुब्ने खतरा हुन्छ। एक जना ख्रीष्टियन आफूले पोस्ट गरेको कुरा धेरैले ‘लाइक’ गरिरहेका छन्‌ भनेर घमन्डले फुल्न सक्छन्‌। अनि कसैले आफूलाई ‘फलो’ गर्न छोड्यो भने अरूले अपमान गरेको महसुस गर्छन्‌। के हामी पावल, अक्वीला वा प्रिस्किलाले आफ्नो फोटो ‘पोस्ट’ गर्ने वा यहोवाको उपासना नगर्नेहरूलाई ‘फलो’ गर्नेजस्ता कुरामा दिनदिनै धेरै समय बिताएको कल्पना गर्न सक्छौं र? बाइबलले बताएअनुसार “पावल वचन प्रचार गर्नमा व्यस्त” थिए। प्रिस्किला र अक्वीलाले पनि आफ्नो समय “परमेश्‍वरको मार्गबारे अझ सही तरिकामा” अरूलाई व्याख्या गर्न प्रयोग गरे। (प्रेषि. १८:४, ५, २६) हामी आफैलाई यो प्रश्‍न सोध्न सक्छौं: ‘के म मानिसहरूलाई भगवान्‌ सरह नठान्‍न अनि अनावश्‍यक कुराहरूमा धेरै समय नबिताउन सजग छु?’—एफिसी ५:१५, १६ पढ्‌नुहोस्‌।

योशियाहले यहोवाको आज्ञा पालन गरे

१८, १९. तपाईं कुन-कुन तरिकामा योशियाहको अनुकरण गर्न चाहनुहुन्छ?

१८ राजा योशियाह हिजकियाहका पनाति थिए। योशियाहले “आफ्नो सम्पूर्ण मन”-ले यहोवाको आज्ञा पालन गरे। (२ इति. ३४:३१) किशोरावस्थामै तिनले “आफ्ना पुर्खा दाऊदका परमेश्‍वरको अगुवाइ खोज्न शुरु गरे” अनि २० वर्षको छँदा यहूदाबाट मूर्तिपूजा हटाउन थाले। (२ इतिहास ३४:१-३ पढ्‌नुहोस्‌) परमेश्‍वरलाई मन पर्ने काम गर्ने सन्दर्भमा तिनी यहूदाका अरू राजाहरूभन्दा जोसिला थिए। तैपनि जब मोशाको व्यवस्था भेटियो र तिनलाई पढेर सुनाइयो, तब तिनले परमेश्‍वरको इच्छा अझ राम्ररी पूरा गर्नुपर्ने खाँचो महसुस गरे। यो व्यवस्थाको पुस्तक मोशा आफैले लेखेको पुस्तक हुन सक्छ। त्यसपछि योशियाहले अरूलाई पनि यहोवाको सेवा गर्न आग्रह गरे। फलस्वरूप योशियाहको जीवनकालभरि ‘परमेश्‍वरको भक्‍ति गर्नदेखि इस्राएलीहरू तर्केनन्‌।’—२ इति. ३४:२७, ३३.

१९ केटाकेटीहरूले योशियाहले जस्तै सानै उमेरदेखि यहोवालाई खोज्न थाल्नुपर्छ। पश्‍चात्तापी राजा मनश्‍शेले योशियाहलाई परमेश्‍वरको दयाबारे सिकाएको हुनुपर्छ। केटाकेटीहरू हो, आफ्नो परिवारका र मण्डलीका वफादार व्यक्‍तिहरूसित घनिष्ठ हुनुहोस्‌। यहोवाले तिनीहरूको लागि के-कस्ता असल काम गरिदिनुभयो भनेर सोध्नुहोस्‌। धर्मशास्त्र पढेर सुनाइँदा योशियाहको मन छोयो र तिनी कदम चाल्न जुरमुरिए। परमेश्‍वरको वचन पढ्‌नुभयो भने सायद तपाईं पनि कदम चाल्न जुरमुरिनुहुनेछ। त्यस्तो कदम चाल्दा तपाईं अझ आनन्दित हुनुहुनेछ, परमेश्‍वरसितको मित्रता प्रगाढ हुनेछ र उहाँको खोजी गर्न अरूलाई मदत दिन अग्रसर हुनुहुनेछ। (२ इतिहास ३४:१८, १९ पढ्‌नुहोस्‌) बाइबलको अध्ययन गर्दै जाँदा परमेश्‍वरलाई अझ राम्रो सेवा चढाउन के गर्न सकिन्छ भनेर थाह पाउनुहुनेछ। यस्तो कुरा थाह पाउनुभयो भने योशियाहले जस्तै आवश्‍यक परिवर्तन गर्नुहोस्‌।

सारा हृदयले यहोवाको सेवा गर्नुहोस्‌!

२०, २१. (क) हामीले छलफल गरेका चारै जना राजाले के गरे? (ख) अर्को लेखमा हामी के छलफल गर्नेछौं?

२० सारा हृदयले यहोवाको सेवा गर्ने यहूदाका चार जना राजाबारे छलफल गर्दा हामीले कस्ता कुराहरू सिक्न सक्यौं? तिनीहरू परमेश्‍वरको इच्छा पूरा गर्न जोसिला थिए र तिनीहरूले तनमनले उहाँको सेवा गरे। तिनीहरू उहाँको इच्छाअनुसार चल्न छोडेनन्‌। शक्‍तिशाली शत्रुहरूको सामना गर्दा समेत तिनीहरूले परमेश्‍वरको आज्ञा पालन गरिरहे। सबैभन्दा महत्त्वपूर्ण कुरा, तिनीहरूले असल मनसायले यहोवाको सेवा गरे।

२१ यी चारै जना राजा त्रुटिपूर्ण भएकोले गल्ती गरे। तर हृदय जाँच्नुहुने परमेश्‍वरले तिनीहरूले सारा हृदयले उहाँको सेवा गरेको पाउनुभयो। हामी पनि त्रुटिपूर्ण छौं। यहोवाले हामीलाई जाँच्नुहुँदा के हामीले पनि सारा हृदयले उहाँको सेवा गरिरहेको पाउनुहुनेछ? यसबारे अर्को लेखमा छलफल गर्नेछौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने