प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w10 ७/१ pp. १५-१९
  • “तिमीहरू कस्तो किसिमका मानिस हुनुपर्छ?”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “तिमीहरू कस्तो किसिमका मानिस हुनुपर्छ?”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरलाई मनपर्ने गुणहरू खेती गर्नुहोस्‌
  • “निष्खोट र निष्कलङ्‌क” रहिरहनुहोस्‌
  • परीक्षाहरूले तपाईंलाई बलियो बनाउन दिनुहोस्‌
  • यहोवाको सेवामा सक्रिय रहनुहोस्‌
  • के तपाईंसित “पर्खने मनोवृत्ति” छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • तपाईंको धीरजमा ईश्‍वरीय भक्‍ति थप्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • तपाईं कस्तो किसिमको मानिस हुनुपर्छ?
    हाम्रो राज्य सेवकाई—१९९५
  • यहोवाको सङ्‌गठनसित नजिक हुनुहोस्‌
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
w10 ७/१ pp. १५-१९

“तिमीहरू कस्तो किसिमका मानिस हुनुपर्छ?”

“यी सबै कुराहरू यसरी पग्लन्छ भन्‍ने देखेर सबै पवित्र जीवन र भक्‍तिमा तिमीहरू कस्तो किसिमका मानिस हुनुपर्छ?”—२ पत्रु. ३:११.

१. पत्रुसको दोस्रो पत्रले त्यतिबेलाका ख्रीष्टियानहरूलाई गरेको आग्रह किन समयसुहाउँदो थियो?

प्रेरित पत्रुसले प्रेरणा पाएर दोस्रो पत्र लेख्नुअघि नै ख्रीष्टियान मण्डलीले धेरै सतावट भोगिसकेको थियो। तर यसको बाबजुद मण्डलीको जोस सेलाएको वा यसको वृद्धिमा कमी भएको थिएन। त्यसैले दियाबलले अर्को दाउपेच लगायो जुन यसअघि पनि धेरै चोटि सफल भइसकेको थियो। पत्रुसले खुलाएअनुसार “आँखा व्यभिचारले भरिएका” र “हृदयले लोभमा तालिम पाएका” झूटा शिक्षकहरू चलाएर शैतानले परमेश्‍वरका जनहरूलाई भ्रष्ट पार्न खोज्यो। (२ पत्रु. २:१-३, १४; यहू. ४) त्यसैकारण पत्रुसको दोस्रो पत्रले विश्‍वासी रहन हृदयस्पर्शी आग्रह गऱ्‍यो।

२. दोस्रो पत्रुसको तेस्रो अध्याय कुन विषयमा केन्द्रित छ र हामीले आफैलाई कस्ता प्रश्‍नहरू सोध्नुपर्छ?

२ पत्रुसले यस्तो लेखे: “यस डेरामा म होउञ्जेल तिमीहरूलाई सम्झना गराउँदै तिमीहरूलाई जागृत गराउन म उचित सम्झन्छु। किनभने म जान्दछु, कि . . . मेरो यो डेरा ढल्ने बेला चाँडैनै आउँदैछ। मेरो देहान्तपछि पनि तिमीहरूले यी कुराहरू सधैं सम्झ भनी म प्रयत्न गर्नेछु।” (२ पत्रु. १:१३-१५) हो, पत्रुसलाई आफ्नो मृत्यु नजिकै छ भनेर थाह थियो तर आफूले दिएका समयसुहाउँदा सम्झौटाहरू भने पछिसम्म पनि रहिरहोस्‌ भन्‍ने उनको इच्छा थियो। हुन पनि, ती सम्झौटाहरू बाइबलको भाग बन्यो र आज हामी सबैले ती पढ्‌न सक्छौं। पत्रुसको दोस्रो पत्रको तेस्रो अध्याय हाम्रो लागि खास चासोको विषय हो। किनभने यो वर्तमान रीतिरिवाजको “पछिपछिका दिनहरूमा” र प्रतीकात्मक आकाश र पृथ्वीको विनाशमा केन्द्रित छ। (२ पत्रु. ३:३, ७, १०) पत्रुस हाम्रो लागि कस्तो सल्लाह दिन्छन्‌? उनको सल्लाह पालन गर्दा हामीले कसरी यहोवाको अनुमोदन पाउन सक्नेछौं?

३, ४. (क) पत्रुसले कस्तो उद्‌गार व्यक्‍त गरे र के चेतावनी दिए? (ख) हामी कुन तीनवटा बुँदा विचार गर्नेछौं?

३ शैतानको संसार पग्लिजानेछ भनेर उल्लेख गरिसकेपछि पत्रुसले यस्तो लेखे: “सबै पवित्र जीवन र भक्‍तिमा तिमीहरू कस्तो किसिमका मानिस हुनुपर्छ?” (२ पत्रु. ३:११, १२) वास्तवमा यहाँ उनले प्रश्‍न सोधिरहेका थिएनन्‌ तर उत्प्रेरित गराउने उद्‌गार व्यक्‍त गरिरहेका थिए। यहोवाको इच्छा गर्ने र उहाँलाई मनपर्ने गुणहरू देखाउने मानिसहरू मात्र आउँदै गरेको “बदला दिने दिन”-मा बच्नेछन्‌ भनेर पत्रुसलाई थाह थियो। (यशै. ६१:२) त्यसैले उनले अझ यसो भने: “यसकारण तिमीहरू, हे प्रिय हो, यी कुराहरू अघिबाटै थाहा पाएका भएर होशियार रहो, नत्रता दुष्टहरूका [अर्थात्‌ झूटा शिक्षकहरूका] भ्रमबाट एकातिर लागेर तिमीहरू आफ्ना दृढताबाट पतित हुनेछौ।”—२ पत्रु. ३:१७.

४ “अघिबाटै थाहा पाएका” मानिसहरूमध्ये भएकोले पत्रुसलाई के थाह थियो भने पछिपछिका दिनमा सत्यनिष्ठ रहिरहन ख्रीष्टियानहरू अझै होसियार हुनुपर्ने थियो। पछि प्रेरित यूहन्‍नाले यसको कारण स्पष्टसित बताए। शैतान स्वर्गबाट तल फ्याँकिनेछ र “परमेश्‍वरको आज्ञा पालन गर्ने, र येशूको साक्षी दिने” जनहरूविरुद्ध त्यसले “ठूलो क्रोध” पोखाउनेछ भनेर यूहन्‍नाले पहिल्यै दर्शन पाइसकेका थिए। (प्रका. १२:९, १२, १७) परमेश्‍वरका वफादार अभिषिक्‍त सेवकहरूका साथै विश्‍वासी “अरू भेडा” पनि विजयी हुनेछन्‌। (यूह. १०:१६) तर व्यक्‍तिगत तवरमा आफू नि? के हामी सत्यनिष्ठ रहिरहनेछौं? निम्न क्षेत्रमा प्रयास गऱ्‍यौं भने हामी सत्यनिष्ठ रहिरहन सक्नेछौं: (१) परमेश्‍वरलाई मनपर्ने गुणहरू खेती गरेर, (२) नैतिक र आध्यात्मिक तवरमा निष्खोट र निष्कलङ्‌क रहिरहेर अनि (३) परीक्षाहरूप्रति सही दृष्टिकोण राखेर। आउनुहोस्‌, हामी यी बुँदाहरू विचार गरौं।

परमेश्‍वरलाई मनपर्ने गुणहरू खेती गर्नुहोस्‌

५, ६. हामीले कस्ता गुणहरू खेती गर्ने कोसिस गर्नुपर्छ र यसो गर्न किन “प्रयत्न” गर्नुपर्ने हुन्छ?

५ दोस्रो पत्रको सुरुतिरै पत्रुसले यस्तो लेखे: “तिमीहरूले सबै किसिमका प्रयत्नले तिमीहरूका विश्‍वासमा सद्‌गुण, सद्‌गुणमा बुद्धि, बुद्धिमा संयम, संयममा धीरज, धीरजमा भक्‍ति, भक्‍तिमा भ्रातृस्नेह, भ्रातृस्नेहमा प्रेम थप। किनकि यी कुराहरू तिमीहरूमा प्रशस्तसँग छन्‌ भने हाम्रा प्रभु येशू ख्रीष्ट चिन्‍ने ज्ञानमा तिनीहरूले तिमीहरूलाई बेकम्मा र निष्फल तुल्याउनेछैनन्‌।”—२ पत्रु. १:५-८.

६ हो, परमेश्‍वरलाई मनपर्ने गुणहरू खेती गर्न मदत दिने गतिविधिहरूमा भाग लिन “प्रयत्न” गर्नुपर्ने हुन्छ। जस्तै: सबै ख्रीष्टियान सभाहरू धाउन, दिनदिनै बाइबल पढ्‌न र व्यक्‍तिगत अध्ययनको राम्रो तालिका कायम राख्न प्रयत्न गर्नुपर्छ। अनि साँझको पारिवारिक उपासनालाई नियमित, रमाइलो र अर्थपूर्ण बनाउन राम्रो योजना हुनुका साथै कडा मेहनत पनि गर्नुपर्ने हुन सक्छ। तर तालिकाअनुसार गर्ने बानी बसिसकेपछि, अझ भनौं भने त्यसबाट हुने लाभ आफैले अनुभव गरिसकेपछि त्यो राम्रो बानी कायम राख्न सजिलो हुन्छ।

७, ८. (क) साँझको पारिवारिक उपासनाबारे कसै-कसैले के भनेका छन्‌? (ख) तपाईंले पारिवारिक उपासनाबाट कस्तो लाभ उठाइरहनुभएको छ?

७ पारिवारिक उपासनाको प्रबन्धबारे एउटी बहिनी यस्तो लेख्छिन्‌: “यसले गर्दा हामीले थुप्रै विषयमा सिक्ने मौका पाइरहेका छौं।” अर्की बहिनी भन्छिन्‌: “कुरा नलुकाई भन्‍नुपर्दा, मलाई मण्डली पुस्तक अध्ययन भइरहोस्‌ जस्तो लाग्थ्यो। किनभने त्यो मलाई सबैभन्दा मनपर्ने सभा थियो। तर अहिले बेलुकी पारिवारिक उपासना गर्न थालेपछि भने हामीलाई के चाहिन्छ र कहिले चाहिन्छ भन्‍ने कुरा यहोवा जान्‍नुहुन्छ भनेर मैले बुझेकी छु।” परिवारका एक शिर भन्छन्‌: “पारिवारिक उपासनाबाट हामीले निकै मदत पाएका छौं। हामी दम्पतीको लागि चाहिने खास आवश्‍यकतालाई ध्यानमा राखेर अध्ययन गर्दा साह्रै राम्रो भएको छ! पवित्र आत्माको फलका विभिन्‍न पक्ष देखाउने सन्दर्भमा उन्‍नति भइरहेको र प्रचारकार्यमा पनि अझै आनन्दित हुन सकेको हामी दुवैले महसुस गरेका छौं।” अर्को परिवारका एक जना शिर यसो भन्छन्‌: “छोराछोरीहरू आफैले अनुसन्धान गर्छन्‌ र धेरै कुरा सिकिरहेका छन्‌ अनि तिनीहरूले रमाइलो मानिरहेका छन्‌। यहोवालाई हाम्रो फिक्रीको विषय थाह छ र उहाँले हाम्रो प्रार्थनाको जवाफ दिनुहुन्छ भनेर यो प्रबन्धले हामीलाई अझै विश्‍वस्त बनाएको छ।” यो उत्कृष्ट आध्यात्मिक प्रबन्धप्रति के तपाईं पनि यस्तै महसुस गर्नुहुन्छ?

८ स-सानो कुराले पारिवारिक उपासनामा भाँजो हाल्न नदिनुहोस्‌। एक विवाहित दम्पतीले भने, “बितेको चार हप्तादेखि हरेक बिहीबार बेलुकी कुनै न कुनै कुराले हाम्रो अध्ययनलाई झन्डै-झन्डै रोकेको थियो तर हामीले त्यसो हुन दिएनौं।” हुन त, तपाईंले कहिलेकाहीं आफ्नो तालिका छाँटकाँट गर्नुपर्ने हुन सक्छ। तैपनि साँझको पारिवारिक उपासना एक हप्ता पनि नछुटाउन कटिबद्ध हुनुहोस्‌!

९. यहोवाले यर्मियालाई कसरी सँभाल्नुभयो र तिनको उदाहरणबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

९ भविष्यवक्‍ता यर्मिया हाम्रो लागि राम्रो उदाहरण हुन्‌। यहोवाले तिनलाई आध्यात्मिक रूपमा जसरी सँभाल्नुभएको थियो, त्यो तिनलाई आवश्‍यक थियो र त्यसप्रति तिनी एकदमै कृतज्ञ भए। यसरी पाएको मदतले गर्दा तिनले आफ्नो कुरा नसुन्‍ने मानिसहरूलाई प्रचार गर्न सहनशीलता देखाउन सके। तिनले भने, “परमप्रभुको वचन . . . जलिरहेको आगो हड्डीहरूका बीचमा थुनिराखेको जस्तै हुनेछ।” (यर्मि. २०:८, ९) यसले तिनलाई यरूशलेमको विनाशको बेला चरम उत्कर्षमा पुगेको कठिन अवस्था सहन पनि मदत गऱ्‍यो। आज हामीसित परमेश्‍वरको पूरै वचन लिखित रूपमा छ। जब हामी यसलाई लगनशील भई अध्ययन गर्छौं अनि परमेश्‍वरको विचारलाई आफ्नो विचार बनाउँछौं, तब यर्मियाजस्तै हामी पनि प्रचारकार्यमा सहनशील भई आनन्दित रहन, परीक्षाको घडीमा वफादार हुन अनि नैतिक तथा आध्यात्मिक रूपमा शुद्ध रहिरहन सक्नेछौं।—याकू. ५:१०.

“निष्खोट र निष्कलङ्‌क” रहिरहनुहोस्‌

१०, ११. “निष्खोट र निष्कलङ्‌क” रहन हामीले किन प्रयत्न गर्नै पर्छ र यसमा के-के गर्नु समावेश छ?

१० ख्रीष्टियान भएकोले, अन्तको समयमा बाँचिरहेका छौं भनेर हामीलाई थाह छ। त्यसैले यो संसार यहोवाको नजरमा घृणित कुराहरू, जस्तै: लोभ, यौन अनैतिकता र हिंसाजस्ता कुराहरूमा चुर्लुम्मै डुबेको देख्दा हामी छक्क पर्दैनौं। शैतानको दाउपेचलाई निचोडमा यसो भन्‍न सकिन्छ: ‘परमेश्‍वरका सेवकहरूलाई तर्साउन सकिएन भने तिनीहरूलाई भ्रष्ट बनाउन सकिन्छ होला।’ (प्रका. २:१३, १४) त्यसकारण हामीले पत्रुसको यो मायालु आग्रहलाई मनमा राख्नै पर्छ: “तिमीहरू प्रभुको दृष्टिमा निष्खोट र निष्कलङ्‌क ठहरिनलाई प्रयत्न गर।”—२ पत्रु. ३:१४.

११ “प्रयत्न गर” भन्‍ने अभिव्यक्‍ति पत्रुसले “सबै किसिमका प्रयत्न” गर भनी माथि उल्लेख गरिएको आग्रहसित मिल्दोजुल्दो छ। यी शब्दहरू व्यक्‍त गर्न पत्रुसलाई प्रेरित गर्ने यहोवा हुनुहुन्छ। उहाँलाई यो स्पष्टसित थाह छ कि “निष्खोट र निष्कलङ्‌क” रहन अर्थात्‌ शैतानको संसारको भ्रष्टताबाट कलङ्‌कित नहुन हामीले कडा प्रयास गर्नै पर्छ। प्रयास गर्नुमा हाम्रो हृदय खराब तृष्णाहरूबाट प्रभावित हुनदेखि सुरक्षित राख्नु समावेश छ। ( हितोपदेश ४:२३; याकूब १:१४, १५ पढ्‌नुहोस्‌) साथै हाम्रो ख्रीष्टियान जीवनशैली देखेर ताजुब हुने र हाम्रो विषयमा ‘खराबी बोल्ने’ मानिसहरूविरुद्ध दृढ अडान लिनु पनि समावेश छ।—१ पत्रु. ४:४.

१२. लूका ११:१३ मा हामी कस्तो आश्‍वासन पाउँछौं?

१२ आफ्नो असिद्धताको कारण जे असल छ, त्यही गर्न सङ्‌घर्ष गर्नुपर्छ। (रोमी ७:२१-२५) निष्कपट भएर माग्नेहरूलाई उदारतासाथ पवित्र आत्मा दिने यहोवामा भर पऱ्‍यौं भने मात्र हामी यो सङ्‌घर्षमा सफल हुने आशा गर्न सक्छौं। (लूका ११:१३) फलस्वरूप त्यस आत्माले हामीमा त्यस्ता गुणहरू विकास गर्छ, जसद्वारा परमेश्‍वरको अनुमोदन पाउन सक्छौं। साथै त्यस आत्माले यहोवाको दिन नजिकिंदै जाँदा जीवनमा अझ बढी आइपर्ने प्रलोभन मात्र होइन तर परीक्षाहरूको सामना गर्न पनि मदत गर्छ।

परीक्षाहरूले तपाईंलाई बलियो बनाउन दिनुहोस्‌

१३. जीवनमा परीक्षाहरू आइपर्दा सहन हामीलाई केले मदत गर्नेछ?

१३ यस पुरानो रीतिरिवाजमा बाँचुन्जेल हामीले विभिन्‍न परीक्षाहरू नभोगी सुखै छैन। तर निराश हुनुको साटो परीक्षाहरूलाई परमेश्‍वरप्रति आफ्नो प्रेम प्रमाणित गर्ने अनि उहाँ र उहाँको वचनमा आफ्नो विश्‍वास अझ मजबुत पार्ने मौकाको रूपमा हेरे कसो होला? चेला याकूबले यस्तो लेखे: “हे मेरा भाइ हो, तिमीहरू अनेक किसिमका परीक्षाहरूमा पर्दा पूरा आनन्द सम्झ। यो जानेर कि, तिमीहरूको विश्‍वासको जाँचले धीरज उत्पन्‍न गराउँछ।” (याकू. १:२-४) यो पनि नबिर्सनुहोस्‌, “भक्‍तहरूलाई परीक्षाबाट बचाउन . . . प्रभु जान्‍नुहुन्छ।”—२ पत्रु. २:९.

१४. यूसुफको उदाहरणबाट तपाईंले कस्तो प्रोत्साहन पाउनुभयो?

१४ याकूबको छोरा यूसुफलाई विचार गर्नुहोस्‌, जसलाई तिनका आफ्नै दाजुहरूले दास बन्‍न बेचिदिएका थिए। (उत्प. ३७:२३-२८; ४२:२१) के यस्तो निर्दयी व्यवहारले गर्दा यूसुफको विश्‍वास भताभुङ्‌ग भयो? के दुःख भोग्नुपरेको कारण तिनी परमेश्‍वरप्रति रुष्ट भए? भएनन्‌ भनी परमेश्‍वरको वचनले स्पष्टसित बताउँछ। तर यूसुफले भोग्नुपरेका परीक्षाहरू यति मात्रै थिएनन्‌। पछि तिनलाई बलात्कार गर्न खोजेको झूटो आरोप लगाइयो र झ्यालखानामा हालियो। यस पटक पनि परमेश्‍वरप्रति तिनको भक्‍ति पटक्कै ढलपल भएन। (उत्प. ३९:९-२१) बरु परीक्षाहरू भोगिसकेपछि तिनले अझ बल पाए र प्रशस्त इनाम पाए।

१५. नाओमीको उदाहरणबाट हामी के सिक्न सक्छौं?

१५ हो, परीक्षाहरूले गर्दा हामी दुःखित वा निराशसमेत हुन सक्छौं। यूसुफले पनि कहिलेकाहीं त्यस्तै महसुस गरे होलान्‌। परमेश्‍वर-का अरू विश्‍वासी सेवकहरूले पनि त्यस्तै महसुस गरेका थिए। आफ्ना पति र दुई छोरा गुमाएकी नाओमीलाई विचार गर्नुहोस्‌। तिनले यसो भनिन्‌: “मलाई नाओमी नभन। मलाई मारा भन [जसको अर्थ हो, “तीतो”], किनभने सर्वशक्‍तिमानले मसँग नमीठो व्यवहार गर्नुभएको छ।” (रूथ १:२०, २१, पादटिप्पणी) नाओमीको यस्तो प्रतिक्रिया स्वाभाविक थियो अनि तिनले त्यसो भन्‍नुको कारण हामी बुझ्न सक्छौं। तथापि यूसुफजस्तै तिनी परमेश्‍वरसितको सम्बन्धमा ढलपल भइनन्‌ र आफ्नो सत्यनिष्ठामा अडिग रहिरहिन्‌। यसकारण यहोवाले यी अमूल्य स्त्रीलाई इनाम दिनुभयो। (रूथ ४:१३-१७, २२) साथै शैतान र त्यसको दुष्ट संसारले पुऱ्‍याएको सबै हानिलाई उहाँले भावी प्रमोदवनमा सच्याउनुहुनेछ। “अघिअघिका कुराहरूको सम्झना हुनेछैन, नता ती स्मरणमा आउनेछन्‌।”—यशै. ६५:१७.

१६. प्रार्थनाबारे हाम्रो मनोवृत्ति कस्तो हुनुपर्छ र किन?

१६ हामीमाथि जस्तोसुकै परीक्षाहरू आइपरे तापनि परमेश्‍वरको प्रेमले हामीलाई सँभाल्नेछ। ( रोमी ८:३५-३९ पढ्‌नुहोस्‌) शैतानले हामीलाई निरुत्साहित पार्ने कोसिस गर्न भने छोड्‌नेछैन। तर हामी “शुद्ध मनको” भयौं र “प्रार्थनामा सचेत” रह्‍यौं भने शैतान विफल हुनेछ। (१ पत्रु. ४:७) येशूले भन्‍नुभयो: “तर आउनलागेका कुराहरूबाट उम्कन र मानिसको पुत्रको सामने खडा हुनसक्नलाई हर घडी प्रार्थना गर्दै जागा रहो।” (लूका २१:३६) येशूले यहाँ चलाउनुभएको “प्रार्थना” शब्दले व्यग्र भई गरिने अन्तरबिन्तीलाई बुझाउँछ। हामीलाई व्यग्र प्रार्थना गर्न आग्रह गरेर येशूले यो समय उहाँ र उहाँको पितासितको सम्बन्धलाई हल्कासित लिने समय होइन भनेर जोड दिनुभयो। परमेश्‍वरको नजरमा अनुमोदित अवस्थामा खडा रहेकाहरूले मात्र यहोवाको दिनमा बच्ने आशा गर्न सक्छन्‌।

यहोवाको सेवामा सक्रिय रहनुहोस्‌

१७. प्रचार गर्ने तपाईंको इलाका चुनौतीपूर्ण छ भने बाइबलकालीन भविष्यवक्‍ताहरूको राम्रो उदाहरणबाट कसरी लाभ उठाउन सक्नुहुन्छ?

१७ आध्यात्मिक गतिविधिहरूमा भाग लिंदा हामी स्फूर्ति पाउँछौं। यसले पत्रुसका यी शब्दहरूको सम्झना गराउँछ: “सबै पवित्र जीवन र भक्‍तिमा तिमीहरू कस्तो किसिमका मानिस हुनुपर्छ?” (२ पत्रु. ३:११) पवित्र जीवन र भक्‍तिका कामहरूमा सबैभन्दा महत्त्वपूर्ण काम सुसमाचार घोषणा गर्नु हो। (मत्ती २४:१४) हो, कुनै-कुनै इलाकामा प्रचारकार्य चुनौतीपूर्ण हुन सक्छ, सायद मानिसहरू सुसमाचार सुन्‍न नरुचाऊलान्‌ वा तिनीहरूले खेदो गर्लान्‌ वा दैनिक कामकुरामा तिनीहरू चुर्लुम्मै डुबेका होलान्‌। बाइबलकालीन समयका यहोवाका सेवकहरूले त्यस्तै मनोवृत्तिको सामना गर्नुपरेको थियो। तैपनि तिनीहरूले कहिल्यै हरेस खाएनन्‌ बरु परमेश्‍वरको सन्देश सुनाउन “घरिघरि” गइरहे। ( २ इतिहास ३६:१५, १६ पढ्‌नुहोस्‌; यर्मि. ७:२४-२६) तिनीहरूलाई सहन केले मदत गऱ्‍यो? आफूले पाएको जिम्मेवारीप्रति तिनीहरूले संसारको होइन, यहोवाको दृष्टिकोण राखे। साथै परमेश्‍वरको नाम वहन गर्न पाउनुलाई तिनीहरूले सबैभन्दा ठूलो सम्मान ठाने।—यर्मि. १५:१६.

१८. राज्य प्रचारकार्यले भविष्यमा परमेश्‍वरको नाम कसरी उच्च पार्नेछ?

१८ हामीले पनि यहोवाको नाम र उहाँको उद्देश्‍य घोषणा गर्ने सुअवसर पाएका छौं। एकछिन सोच्नुहोस्‌: हाम्रो प्रचारकार्यले गर्दा परमेश्‍वरका शत्रुहरूले उहाँको महान्‌ दिनको दौडान व्यक्‍तिगत तवरमा जवाफ दिनुपर्दा आफूले यसबारे थाहै नपाएको बहाना बनाउन सक्नेछैनन्‌। जसरी पुरातन समयमा फिरऊनले थाह पाएका थिए, त्यसरी नै आफूविरुद्ध कदम चाल्ने यहोवा नै हुनुहुन्छ भनेर तिनीहरूले थाह पाउनेछन्‌। (प्रस्थ. ८:१, २०; १४:२५) अर्कोतर्फ आफ्ना विश्‍वासी सेवकहरू नै उहाँका प्रतिनिधिहरू थिए भनी स्पष्ट पारेर यहोवाले उनीहरूको कदर गर्नुहुनेछ।—इजकिएल २:५; ३३:३३ पढ्‌नुहोस्‌।

१९. यहोवाले देखाउनुभएको धीरजको पूरापूर सदुपयोग गर्न चाहन्छौं भनेर हामी कसरी देखाउन सक्छौं?

१९ पत्रुसले दोस्रो पत्रको अन्ततिर सँगी विश्‍वासीहरूलाई लेखे: “प्रभुको धीरजनै मुक्‍ति हो भनी सम्झ।” (२ पत्रु. ३:१५) हो, यहोवाले जुन धीरज देखाइरहनुभएको छ, त्यसको पूरापूर सदुपयोग गरौं। कसरी? उहाँलाई मनपर्ने गुणहरू विकास गरेर, “निष्खोट र निष्कलङ्‌क” रहेर, परीक्षाहरूप्रति सही मनोवृत्ति राखेर अनि राज्य गतिविधिमा व्यस्त भएर। यसो गऱ्‍यौं भने हामी “नयाँ आकाश र नयाँ पृथ्वी”-ले सम्भव तुल्याउने अनन्त आशिष्‌हरू पाउन लायकका हुन सक्नेछौं।—२ पत्रु. ३:१३. ( w10-E 07/15)

के तपाईंलाई याद छ?

• परमेश्‍वरलाई मनपर्ने गुणहरू हामी कसरी खेती गर्न सक्छौं?

• हामी कसरी “निष्खोट र निष्कलङ्‌क” रहन सक्छौं?

• यूसुफ र नाओमीबाट हामी के सिक्न सक्छौं?

• प्रचारकार्यमा भाग लिन पाउनु किन ठूलो सुअवसर हो?

[पृष्ठ १७-मा भएको चित्र]

आफूमा र आफ्नो परिवारमा परमेश्‍वरलाई मनपर्ने गुणहरू खेती गर्न तपाईं पतिहरूलाई केले मदत गर्नेछ?

[पृष्ठ १८-मा भएका चित्रहरू]

यूसुफले परीक्षाहरूको सामना गरेको तरिकाबाट हामी के सिक्न सक्छौं?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने