प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w10 १०/१ pp. ११-१५
  • “कसले यहोवाको मनलाई जानेको छ?”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “कसले यहोवाको मनलाई जानेको छ?”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • गलत झुकाव राख्नदेखि होसियार हुनुहोस्‌
  • हामी कसरी “ख्रीष्टको मन” प्राप्त गर्न सक्छौं
  • मोशासित यहोवाको व्यवहार
  • अब्राहामसित यहोवाको व्यवहार
  • हाम्रो लागि पाठ
  • यहोवाको मार्ग सिक्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • महान्‌ मोशाको भूमिकालाई कदर गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • तपाईँ यहोवालाई कत्तिको राम्ररी चिन्‍नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • “हामी दृष्टिले होइन तर विश्‍वासले हिंड़छौं”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
w10 १०/१ pp. ११-१५

“कसले यहोवाको मनलाई जानेको छ?”

“कसले प्रभुको [ “यहोवाको,” NW] मनलाई जानेको छ, र त्यसले उहाँलाई सिकाउनसक्छ? तर अब हामीसँग ता ख्रीष्टको मन छ।”—१ कोरि. २:१६.

१, २. (क) धेरै मानिसले अनुभव गर्ने एउटा अप्ठ्यारो कुरा के हो? (ख) हामीले आफ्नो सोचाइ र यहोवाको सोचाइबारे कुन कुरा बिर्सनु हुँदैन?

के तपाईंले कहिल्यै अर्को मानिसको सोचाइ बुझ्न गाह्रो भएको महसुस गर्नुभएको छ? तपाईंको हालै मात्र विवाह भएको होला अनि आफ्नो श्रीमान्‌ वा श्रीमतीले के सोचिरहेको छ भनेर बुझ्नै नसकेको महसुस गर्नुभएको हुन सक्छ। हो, लोग्नेमानिस र स्वास्नीमानिसको सोचाइ मात्र होइन, बोल्ने तरिका पनि फरक हुन्छ। त्यति मात्र कहाँ हो र, कुनै-कुनै संस्कृतिमा लोग्नेमानिस र स्वास्नीमानिसको भाषा एउटै भए तापनि तिनीहरूको स्थानीय भाषाबीच केही भिन्‍नता हुन सक्छ! साथै, संस्कृति अनि भाषाको भिन्‍नताले गर्दा सोच्ने तरिका र व्यवहार पनि फरक हुन सक्छ। तथापि, अरूलाई जति राम्ररी चिन्‍नुहुन्छ, त्यति नै तिनीहरूको सोचाइ बुझ्ने मौका पाउनुहुनेछ।

२ त्यसैले हाम्रो सोचाइ र यहोवाको सोचाइबीच आकाश-जमिनको अन्तर भएकोमा छक्क मान्‍नु पर्दैन। यहोवाले भविष्यवक्‍ता यशैयामार्फत इस्राएलीहरूलाई भन्‍नुभयो: “मेरा विचारहरू तिमीहरूका विचार होइनन्‌। तिमीहरूका चाल मेरा चाल होइनन्‌।” यही कुरालाई प्रस्ट्याउँदै यहोवाले अझ यसो भन्‍नुभयो: “किनकि जसरी आकाश पृथ्वीभन्दा अग्लो छ, त्यसरीनै मेरो चाल तिमीहरूको चालभन्दा र मेरो विचार तिमीहरूको विचारभन्दा अग्लो छ।”—यशै. ५५:८, ९.

३. “परमप्रभुको घनिष्ठता” प्राप्त गर्न हामीले प्रयास गर्न सक्ने दुइटा तरिका के हुन्‌?

३ तर के यसको मतलब हामीले यहोवाको सोचाइ बुझ्ने कोसिससमेत गर्नु हुँदैन भनेको हो? अहँ, होइन। हुनत हामीले यहोवाको सम्पूर्ण सोचाइ पूर्णतया कहिल्यै बुझ्न सक्दैनौं। तैपनि बाइबलले हामीलाई “परमप्रभुको घनिष्ठता” प्राप्त गर्न प्रोत्साहन दिन्छ। ( भजन २५:१४; हितोपदेश ३:३२ पढ्‌नुहोस्‌) हामी यहोवा परमेश्‍वरसित नजिक हुन सक्ने एउटा तरिका, उहाँको वचन बाइबलमा लिपिबद्ध उहाँका गतिविधिलाई वास्ता गरेर अनि त्यसमा ध्यान दिएर हो। (भज. २८:५) अर्को तरिका, “ख्रीष्टको मन” जान्‍ने प्रयास गरेर हो, जो “अदृश्‍य परमेश्‍वरको प्रतिरूप” हुनुहुन्छ। (१ कोरि. २:१६; कल. १:१५) बाइबल विवरणहरू अध्ययन गर्न अनि मनन गर्न समय निकाल्यौं भने हामीले यहोवाका गुणहरू र उहाँको सोचाइ बुझ्न थाल्नेछौं।

गलत झुकाव राख्नदेखि होसियार हुनुहोस्‌

४, ५. (क) हामीले कस्तो गलत झुकाव राख्नु हुँदैन? व्याख्या गर्नुहोस्‌। (ख) इस्राएलीहरू कस्तो गलत सोचाइ राख्न पुगे?

४ यहोवाका गतिविधिबारे मनन गर्दा हामीले परमेश्‍वरलाई मानव स्तरअनुसार न्याय गर्ने झुकाव राख्नु हुँदैन। यस झुकावबारे भजन ५०:२१ मा लिपिबद्ध यहोवाका शब्दहरूले यस्तो छनक दिन्छ: “तैंले मलाई तँजस्तै हो भनी ठानिस्‌।” यही कुरासित सहमत हुँदै एक बाइबल विद्वान्‌ले लगभग १७५ वर्षअघि यसो भनेका थिए: “मानिसहरू आफूले बनाएका स्तरअनुसार परमेश्‍वरको न्याय गर्न खोज्छन्‌ अनि आफूले पालन गर्न उचित ठानेका नियमहरू परमेश्‍वरले पनि पालन गर्नुपर्छ भन्ठान्छन्‌।”

५ आफ्नो स्तर अनि इच्छाको आधारमा यहोवा यस्तो हुनुहुन्छ, उस्तो हुनुहुन्छ भन्‍ने धारणा राख्नदेखि हामी होसियार हुनुपर्छ। यस विषयमा होसियार हुनु किन महत्त्वपूर्ण छ? किनभने धर्मशास्त्र अध्ययन गर्दै जाँदा यहोवाको कुनै-कुनै कार्य हाम्रो सीमित अनि त्रुटिपूर्ण दृष्टिकोणबाट त्यति सही नलाग्न सक्छ। पुरातन समयका इस्राएलीहरू त्यस्तो सोचाइ राख्न पुगे अनि यहोवाले गर्नुभएको व्यवहारबारे तिनीहरूले गलत निष्कर्ष निकाले। यहोवाले तिनीहरूलाई के भन्‍नुभयो, ध्यान दिनुहोस्‌: “तिमीहरू भन्छौ, ‘परमप्रभुको काम न्यायसंगत छैन।’ हे इस्राएलका घराना, अब सुन, के मेरो काम न्यायसंगत छैन? के ठीक मार्गमा नचल्ने ता तिमीहरू होइनौ र?”—इज. १८:२५.

६. अय्यूबले कस्तो पाठ सिके अनि तिनको अनुभवबाट हामी कसरी लाभ उठाउन सक्छौं?

६ आफ्नो स्तरले यहोवाको न्याय गर्ने गल्ती गर्नदेखि जोगिन मदत गर्ने एउटा महत्त्वपूर्ण तरिका, हाम्रो दृष्टिकोण सीमित हुनुका साथै कहिलेकाहीं असाध्यै त्रुटिपूर्ण हुन्छ भनेर मानिलिनु हो। अय्यूबले यो पाठ सिक्नुपरेको थियो। कष्ट भोग्नुपर्दा अय्यूबलाई निराशाले पिरोल्यो र तिनी अलि आत्मकेन्द्रित हुन पुगे। त्यतिबेला तिनले यसमा मुछिएका ठूलठूला विवाद बिर्से। तर यहोवाले तिनलाई फराकिलो विचार राख्न मायालु मदत दिनुभयो। यहोवाले अय्यूबलाई ७० भन्दा धेरै प्रश्‍न सोध्नुभयो तर तिनले एउटै प्रश्‍नको जवाफ दिन सकेनन्‌। यसरी अय्यूबले जानेको कुरा कत्ति सीमित छ भनेर बुझ्न यहोवाले तिनलाई मदत गर्नुभयो। फलतः नम्र भई अय्यूबले आफ्नो दृष्टिकोण छाँटकाँट गरे।—अय्यूब ४२:१-६ पढ्‌नुहोस्‌।

हामी कसरी “ख्रीष्टको मन” प्राप्त गर्न सक्छौं

७. येशूको क्रियाकलापलाई केलाउँदा हामी कसरी यहोवाको सोचाइ बुझ्ने मदत पाउँछौं?

७ आफूले भन्‍ने र गर्ने सबै कुरामा येशूले आफ्नो बुबाको दुरुस्तै अनुकरण गर्नुभयो। (यूह. १४:९) त्यसैले येशूको क्रियाकलापलाई केलाउँदा यहोवाको सोचाइ बुझ्ने मदत पाउँछौं। (रोमी १५:५; फिलि. २:५) त्यसोभए आउनुहोस्‌, सुसमाचारको पुस्तकमा लिपिबद्ध दुइटा विवरण केलाऔं।

८, ९. यूहन्‍ना ६:१-५ मा लिपिबद्ध विवरणअनुसार कस्तो परिस्थिति आइपरेकोले गर्दा येशूले फिलिपलाई प्रश्‍न सोध्नुभयो र उहाँले उक्‍त प्रश्‍न सोध्नुको कारण के थियो?

८ यो दृश्‍य कल्पना गर्नुहोस्‌। इस्वी संवत्‌ ३२ को निस्तार चाडभन्दा ठीकअघिको कुरा हो। येशूका प्रेरितहरू गालीलभरि रोमाञ्चकारी प्रचारकार्यमा भाग लिएर भर्खरै फर्केका थिए। तिनीहरू थाकेको हुँदा येशूले तिनीहरूलाई गालील समुद्रको उत्तरपूर्वपट्टिको अनकन्टार ठाउँमा लैजानुभयो। तथापि, हजारौं मानिस उहाँहरूको पछि लागे। यस भीडलाई निको पार्नुका साथै धेरै कुरा सिकाइ सक्नुभएपछि यत्ति ठूलो भीडलाई कसरी व्यवस्थित गर्ने, कसरी खुवाउने भन्‍ने समस्या उत्पन्‍न भयो। यस्तो अनकन्टार ठाउँमा यत्ति धेरै मानिसलाई कहाँबाट खाना ल्याएर खुवाउने? यस आवश्‍यकतालाई ध्यानमा राख्दै येशूले त्यही इलाकाका फिलिपलाई सोध्नुभयो: “हामी कहाँबाट रोटी किनौं र यिनीहरूलाई खानदिऔं?”—यूह. ६:१-५.

९ येशूले फिलिपलाई किन यो प्रश्‍न सोध्नुभयो? अब के गर्ने भनेर उहाँलाई चिन्ता लागेकोले हो कि? अहँ, त्यसो त होइन। उहाँ वास्तवमा के सोच्दै हुनुहुन्थ्यो? त्यही भीडमा उपस्थित प्रेरित यूहन्‍ना यसो भन्छन्‌: “यो [येशूले] तिनको परीक्षा गर्दै भन्‍नुभएको थियो, किनभने उहाँले जे गर्न लाग्नुभएको थियो उहाँ आफैलाई थाह थियो।” (यूह. ६:६) यतिखेर येशूले आफ्ना चेलाहरूको विश्‍वास कत्तिको बलियो भएछ भनेर जाँचिरहनुभएको थियो। यो प्रश्‍न सोधेर उहाँले चेलाहरूको ध्यान खिच्न सक्नुभयो अनि तिनीहरूले पनि येशूले गर्न सक्ने कुरामा आफ्नो विश्‍वास देखाउने मौका पाए। तर तिनीहरूले यो मौका गुमाए र आफ्नो दृष्टिकोण कत्तिको साँघुरो रहेछ भनी देखाए। ( यूहन्‍ना ६:७-९ पढ्‌नुहोस्‌) त्यसपछि येशूले जे गरेर देखाउनुभयो, त्यसबारे चेलाहरूले कल्पनासमेत गरेका थिएनन्‌। उहाँले ती हजारौं भोका मानिसलाई चमत्कारपूर्ण ढङ्‌गमा खुवाउनुभयो।—यूह. ६:१०-१३.

१०-१२. (क) येशूले यूनानी आइमाईको बिन्ती तुरुन्तै पूरा नगर्नुको कारण के हुन सक्छ? व्याख्या गर्नुहोस्‌। (ख) अब हामी कुन कुरा विचार गर्नेछौं?

१० यो विवरणले हामीलाई अर्को एउटा घटनामा येशूको सोचाइ बुझ्न मदत गर्न सक्छ। यस ठूलो भीडलाई खुवाइसकेपछि येशू र उहाँका प्रेरितहरू इस्राएलको सीमापारि उत्तरतिर टायर र सीदोनको इलाकामा जानुभयो। त्यहाँ उहाँहरूले एउटी यूनानी आइमाईलाई भेट्‌नुभयो, जसले आफ्नी छोरीलाई निको पारिदिन येशूलाई बिन्ती गरी। सुरुमा येशूले त्यस स्त्रीलाई ध्यानै दिनुभएन। तर उनले कर गरिरहेकी हुँदा येशूले भन्‍नुभयो: “पहिले केटा-केटीलाई तृप्त हुनदेउ। किनकि केटाकेटीहरूको रोटी लिएर कुकुरहरूलाई [“कुकुरका छाउराहरूलाई,” NW] फालिदिनु ठीक होइन।”—मर्कू. ७:२४-२७.

११ येशूले सुरुमा त्यस स्त्रीलाई मदत गर्न किन इन्कार गर्नुभयो? के येशूले त्यस स्त्रीलाई पनि फिलिपलाई जस्तै परीक्षा गर्दै हुनुहुन्थ्यो? अनि विश्‍वास प्रदर्शन गर्ने यस मौकामा उनले कस्तो प्रतिक्रिया देखाउनेछिन्‌ भनेर हेर्दै हुनुहुन्थ्यो कि? उहाँको बोली कस्तो थियो भनेर यो लिखित विवरणबाट त ठम्याउन सक्दैनौं तर जे होस्‌, त्यस स्त्रीले हार खाइनन्‌। उहाँले कुकुर नभनी “कुकुरका छाउराहरू” भन्‍नुभएको हुँदा त्यस स्त्रीले येशूको कुरा नमीठो मानिनन्‌। सायद येशूले यस्तो आमा वा बुबाजस्तो व्यवहार गर्दै हुनुहुन्थ्यो, जो आफ्नो बच्चाको आग्रह पूरा गरिदिने सोचमा त छन्‌ तर बच्चा कत्तिको गम्भीर छ भनी जाँच्न आफ्नो मनसाय हावभावले प्रकट गर्दैनन्‌। तर जे होस्‌, त्यस स्त्रीले विश्‍वास देखाइसकेपछि भने येशूले खुसीसाथ उनको बिन्ती पूरा गरिदिनुभयो।— मर्कूस ७:२८-३० पढ्‌नुहोस्‌।

१२ सुसमाचारको पुस्तकका यी दुइटा विवरणले “ख्रीष्टको मन” बुझ्न अनमोल अन्तरदृष्टि प्रदान गर्छ। यी विवरणहरूले यहोवाको मन अझ राम्ररी बुझ्न कसरी मदत गर्न सक्छ, अब हेरौं।

मोशासित यहोवाको व्यवहार

१३. येशूको सोचाइ राम्ररी जान्यौं भने कस्तो मदत पाउन सक्छौं?

१३ येशूको सोचाइ राम्ररी जान्यौं भने धर्मशास्त्रमा लिपिबद्ध गाह्रा विवरणहरू पनि बुझ्ने मदत पाउँछौं। उदाहरणको लागि, इस्राएलीहरूले उपासना गर्न सुनको बाछो बनाएपछि यहोवाले मोशालाई के भन्‍नुभयो, विचार गर्नुहोस्‌। परमेश्‍वरले भन्‍नुभयो: “मैले यी मानिसहरूलाई देखें। यिनीहरू ता हठी मानिसहरू रहेछन्‌। यसैकारण अब मलाई नरोक्‌ र मेरो क्रोध यिनीहरूमाथि दन्किओस्‌। म यिनीहरूलाई भस्म पार्नेछु। औ तँबाटनै म एउटा ठूलो जाति बनाउनेछु।”—प्रस्थ. ३२:९, १०.

१४. यहोवाको कुराप्रति मोशाले कस्तो प्रतिक्रिया देखाए?

१४ त्यही विवरण अझ यसो भन्छ: “मोशाले परमप्रभु आफ्ना परमेश्‍वरलाई आग्रहपूर्वक भने, ‘हे प्रभो, तपाईंले आफ्नो ठूलो सामर्थ्य र शक्‍तिशाली हातले मिश्रबाट निकालेर ल्याउनुभएका आफ्ना मानिसहरूमाथि तपाईंको क्रोध किन यति साह्रो उठेको छ? मिश्रीहरूले किन यसो भन्‍ने मौका पाऊन्‌? “कुभलो चिताएर, र पर्वतहरूहुँदो तिनीहरूलाई मार्न, र तिनीहरूलाई पृथ्वीबाट नाश गर्न उहाँले तिनीहरूलाई लानुभयो।” यसकारण तपाईं आफ्नो भयङ्‌कर क्रोधलाई शान्त गर्नुहोस्‌, र आफ्ना मानिसहरूलाई हानि गर्नदेखि आफ्नो मन बदल्नुहोस्‌। आफ्ना दासहरू अब्राहाम, इसहाक र याकूबलाई सम्झनुहोस्‌, जुनहरूसित तपाईंले आफ्नै नाउँमा शपथ खाएर यसो भन्‍नुभएको थियो, “म तिमीहरूको वंशलाई आकाशका ताराहरूजस्तै बढाउनेछु, औ मैले भनेको यो सारा देश तिमीहरूका वंशलाई दिनेछु, र तिनीहरू सधैंसम्म त्यसको अधिकारी हुनेछन्‌।” ’ तब आफ्ना मानिसहरूलाई हानि गर्नदेखि परमप्रभुले आफ्नो मन बदल्नुभयो।”—प्रस्थ. ३२:११-१४. a

१५, १६. (क) यहोवाले भन्‍नुभएको कुराले गर्दा मोशाले कस्तो मौका पाए? (ख) कुन अर्थमा यहोवाले “मन बदल्नुभयो”?

१५ के मोशाले साँच्चै यहोवाको सोचाइ सच्याउनुपरेको थियो? त्यसो त पक्कै थिएन! आफूले के गर्ने सोच राखेको छु भनेर यहोवाले बताइसक्नुभए तापनि यो नै उहाँको अन्तिम निर्णयचाहिं थिएन। वास्तवमा, येशूले फिलिप र यूनानी आइमाईको जाँच गरेजस्तै यहोवाले पनि मोशाको जाँच गर्दै हुनुहुन्थ्यो। मोशालाई आफ्नो धारणा व्यक्‍त गर्ने मौका दिइयो।b यहोवाले मोशालाई इस्राएल र आफूबीचको मध्यस्थकर्ता नियुक्‍त गर्नुभएको थियो अनि मोशाको यो भूमिकालाई उहाँले कदर गर्नुभयो। के अब मोशा निराश हुनेथिए? के मोशाले यही मौकाको फाइदा उठाउँदै इस्राएललाई चटक्कै बिर्सेर आफ्नै शाखासन्तानबाट एउटा पराक्रमी राष्ट्र बनाइदिनुहोस्‌ भनेर यहोवालाई उक्साउन खोज्नेथिए?

१६ मोशाको जवाफले यहोवाको न्यायमा तिनको विश्‍वास र भरोसा देखायो। मोशाको प्रतिक्रियाबाट तिनले आफ्नै स्वार्थपूर्ति गर्न खोजेको नभई यहोवाको नामप्रति चिन्ता व्यक्‍त गरेको देखियो। तिनी परमेश्‍वरको नाम बदनाम भएको हेर्न चाहँदैनथिए। यसरी मोशाले “यहोवाको मन” बुझेको देखाए। (१ कोरि. २:१६) परिणाम के भयो? प्रेरित विवरणअनुसार यहोवाले “आफ्नो मन बदल्नुभयो” किनभने आफूले चाल्ने कदमबारे उहाँले पक्का गरी सक्नुभएको थिएन। हिब्रू भाषालाई विचार गर्ने हो भने उक्‍त अभिव्यक्‍तिको अर्थ केवल यति हो: यहोवाले सारा राष्ट्रमाथि जुन विपत्ति ल्याउने सोच राख्नुभएको थियो, त्यो विपत्ति ल्याउनुभएन।

अब्राहामसित यहोवाको व्यवहार

१७. अब्राहामको चिन्ताको विषयमा यहोवाले कसरी निकै धैर्य देखाउनुभयो?

१७ यहोवाले आफ्ना सेवकहरूलाई तिनीहरूको विश्‍वास र भरोसा देखाउने मौका दिनुहुन्छ भन्‍ने अर्को उदाहरण, अब्राहामले सदोमको विषयमा गरेको बिन्तीसित सम्बन्धित छ। उक्‍त विवरणअनुसार यहोवाले अब्राहामलाई आठ-आठ चोटि बिन्ती गर्न दिएर निकै धैर्य देखाउनुभयो। एक चोटि त अब्राहामले यस्तो व्यग्र बिन्ती गरे: “दुष्टको साथमा धर्मी-जनलाई मार्ने काम तपाईंबाट कहिल्यै नहोस्‌। धर्मीको दशा पनि दुष्टको जस्तै हुनु ता तपाईंबाट पर रहोस्‌। सारा पृथ्वीका न्यायकर्त्ताले उचित न्याय गर्नु हुन्‍न र?”—उत्प. १८:२२-३३.

१८. यहोवाले अब्राहामसित गर्नुभएको व्यवहारबाट हामी के सिक्न सक्छौं?

१८ यस विवरणबाट हामी यहोवाको सोचाइबारे के सिक्न सक्छौं? यहोवाले सही निर्णय गरून्‌ भनेर के अब्राहामले तर्क गरेर उहाँलाई बुझाउनुपर्ने थियो र? अहँ, पक्कै थिएन। हुनत यहोवाले आफ्नो निर्णयको कारणबारे सुरुमै बताउन सक्नुहुन्थ्यो। तर यसरी एकपछि अर्को प्रश्‍न गर्ने मौका दिएर यहोवाले अब्राहामलाई उहाँको निर्णय स्वीकार्न अनि उहाँको सोचाइ बुझ्न समय दिनुभयो। साथै, अब्राहामले यहोवाको दया र न्याय कत्तिको गहन छ भनेर पनि बुझ्ने मौका पाए। हो, यहोवाले अब्राहामलाई साथीजस्तो व्यवहार गर्नुभयो।—यशै. ४१:८; याकू. २:२३.

हाम्रो लागि पाठ

१९. हामी कसरी अय्यूबको अनुकरण गर्न सक्छौं?

१९ हामीले “यहोवाको मन”-बारे के सिक्यौं? यहोवाको मनलाई राम्ररी बुझ्न हामीले आफ्नो सोचाइलाई उहाँको वचनअनुसार ढाल्न दिनुपर्छ। हामीले कहिल्यै पनि आफ्नो सीमितताको घेरामा यहोवालाई जबरजस्ती राख्नु हुँदैन अनि हाम्रो स्तर अनि सोचाइअनुसार उहाँको न्याय गर्नु हुँदैन। अय्यूबले भने: “[परमेश्‍वर] मजस्तै मानिस हुनुहुन्‍न, कि म उहाँलाई जवाफ दिनसक्छु अथवा अदालतमा हामी एउटा अर्कोको सामना गर्नसक्छौं।” (अय्यू. ९:३२) अय्यूबले जस्तै हामीले पनि यहोवाको मन बुझ्न थाल्यौं भने यस्तो उद्‌गार व्यक्‍त गर्न उत्प्रेरित हुनेछौं: “यी ता उहाँको शक्‍तिको एक छेउ मात्र हुन्‌, औ हामीले सुन्‍ने उहाँको मधुर-स्वर कति मधुरो छ। परमेश्‍वर साँच्चिनै कस्तो महान्‌ हुनुहुन्छ भनी कसले पत्ता लाउनसक्छ र?”—अय्यू. २६:१४.

२०. धर्मशास्त्र पढ्‌दै जाँदा कुनै विवरण बुझ्न गाह्रो भयो भने के गर्नुपर्छ?

२० धर्मशास्त्र पढ्‌दै जाँदा कुनै विवरण बुझ्न गाह्रो भयो अनि खासगरि त्यस सन्दर्भमा यहोवाको सोचाइ के होला भनेर ठम्याउनै सकेनौं भने के गर्ने? त्यस विषयमा अनुसन्धान गरिसकेपछि पनि स्पष्टसित बुझ्न सकेनौं भने यसलाई हामी यहोवामाथि आफ्नो भरोसाको जाँचको रूपमा लिन सक्छौं। तर नबिर्सनुहोस्‌, कहिलेकाहीं यी नबुझेका विवरणले यहोवाका गुणहरूमा हाम्रो विश्‍वास देखाउने मौका दिन्छ। उहाँले गर्नुहुने सबै कुरा हामी बुझ्न सक्दैनौं भनेर नम्र भई स्वीकारौं। (उप. ११:५) यसो गऱ्‍यौं भने प्रेरित पावलका यी शब्दहरूसित सहमत हुन उत्साहित हुनेछौं: “अहा! परमेश्‍वरका बुद्धि र ज्ञान दुवैका सम्पत्ति कस्तो गहिरो छ! उहाँका इन्साफ कति अगम, र उहाँको मार्ग अभेद्य छ! किनभने प्रभुको [“यहोवाको,” NW] मनलाई कसले जानेको छ? अथवा उहाँको सल्लाहकार को भएको छ? अथवा उहाँलाई पहिले कसले दियो, र फेरि त्यसलाई फिर्ता दिइनेछ? किनभने उहाँका, उहाँद्वारा र उहाँमा सबै कुराहरू छन्‌। उहाँलाईनै सदा सर्वदा महिमा होस्‌। आमिन।”—रोमी ११:३३-३६. ( w10 -E 10/15)

[फुटनोट]

a योसित मिल्दोजुल्दो विवरण गन्ती १४:११-२० मा पाइन्छ।

b केही शास्त्रविद्‌अनुसार प्रस्थान ३२:१० मा “अब मलाई नरोक्‌” भनी अनुवाद गरिएको मौलिक हिब्रू भनाइलाई एउटा निमन्त्रणा अर्थात्‌ यहोवा र इस्राएल राष्ट्रको ‘फाटोको बीचमा’ खडा भएर बिन्ती गर्न मोशाले पाएको मौकाको रूपमा लिन सकिन्छ। (भज. १०६:२३; इज. २२:३०) तर जे होस्‌, यहोवालाई आफ्नो धारणा खुलस्त व्यक्‍त गर्न मोशालाई गाह्रो भएन भन्‍ने कुरा स्पष्ट छ।

के तपाईंले सम्झनुभएको छ?

• आफ्नो स्तरअनुसार यहोवाको न्याय गर्ने झुकाव नराख्न हामीलाई केले मदत गर्नेछ?

• येशूको व्यवहार बुझ्यौं भने कसरी “परमप्रभुको घनिष्ठता” प्राप्त गर्न सक्छौं?

• यहोवाले मोशा र अब्राहामसित गर्नुभएको कुराकानीबाट तपाईंले के सिक्नुभयो?

[पृष्ठ १३-मा भएको चित्र]

यहोवाले मोशा र अब्राहामसित गर्नुभएको व्यवहारबाट उहाँको सोचाइबारे के सिक्न सक्छौं?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने