आदम र हव्वाले पाप गर्नेछन् भनेर परमेश्वरलाई पहिल्यै थाह थियो?
थुप्रै मानिस साँचो मनले यो प्रश्न सोध्ने गर्छन्। परमेश्वरले किन दुष्टता रहिरहन दिनुहुन्छ भन्ने प्रश्न उठ्दा प्रथम मानव जोडीले अदनको बगैंचामा गरेको पाप पनि सँगसँगै गाँसिएर आइहाल्छ। ‘परमेश्वरलाई सबै कुरा थाह हुन्छ’ भन्ने धारणाले गर्दा कोही-कोही सजिलै यस्तो निष्कर्षमा पुग्छन्, आदम र हव्वा अनाज्ञाकारी हुनेछन् भन्ने कुरा परमेश्वरलाई पक्कै पनि पहिल्यै थाह थियो।
त्रुटिरहित सृष्टि गरिएका मानव जोडीले पाप गर्नेछन् भन्ने कुरा परमेश्वरलाई साँच्चै पहिल्यै थाह थियो भने यसको अर्थ के हुनेछ? यस्तो धारणाले परमेश्वरप्रति नकारात्मक सोचाइहरू पैदा गर्छ। उहाँ निर्दयी, अन्यायी र कपटीजस्तो देखिन्छ। अन्तिम नतिजा नराम्रो हुनेछ भनेर पहिल्यै थाह हुँदाहुँदै पनि प्रथम मानव जोडीलाई त्यस्तो अवस्थामा पुऱ्याउने परमेश्वर कत्तिसम्मको क्रूर हुनुहोला भनेर कसै-कसैले सोच्न सक्छन्। इतिहासभरि भएका खराब काम र त्यसका दुःखदायी नतिजाका लागि परमेश्वर जिम्मेवार हुनुहुन्छ वा त्यसो नभए तापनि मतियार मात्र भने पनि हुनुहुन्छ जस्तो देखिन्छ। कसै-कसैको नजरमा हाम्रो सृष्टिकर्ता मूर्खजस्तो समेत देखिनुहुन्छ।
के यस्तो नकारात्मक वर्णन यहोवा परमेश्वरबारे बाइबलले बताएको कुरासित मेल खान्छ? यसको जवाफ पाउनअघि सृष्टिका कामहरू र यहोवाको व्यक्तित्वबारे बाइबलले के भन्छ, त्यो जाँचौं।
“त्यो साह्रै राम्रो थियो”
पृथ्वीका प्रथम मानवलगायत परमेश्वरको सृष्टिबारे उत्पत्तिको विवरण यसो भन्छ: “आफूले बनाउनुभएको हरेक कुरा परमेश्वरले हेर्नुभयो। औ हेर, त्यो साह्रै राम्रो थियो।” (उत्पत्ति १:३१) आफू वरपरको वातावरणमा घुलमिल हुन सक्ने किसिमले आदम र हव्वा त्रुटिरहित सृष्टि गरिएका थिए। तिनीहरूमा कुनै खोट थिएन। “साह्रै राम्रो” गरी सृष्टि गरिएकोले तिनीहरूबाट माग गरिएको असल आचरण देखाउन तिनीहरू पक्कै पनि सक्षम थिए। तिनीहरू “परमेश्वरकै स्वरूपमा” सृष्टि गरिएका थिए। (उत्पत्ति १:२७) त्यसकारण परमेश्वरका गुणहरू बुद्धि, वफादार प्रेम, न्याय र भलाइ केही हदसम्म भए पनि देखाउन सक्ने क्षमता तिनीहरूसित थियो। तिनीहरूले त्यस्ता गुणहरू प्रतिबिम्बित गर्दा तिनीहरूको आफ्नै फाइदा हुने र स्वर्गमा हुनुहुने बुबालाई पनि खुसी बनाउने खालका निर्णयहरू गर्न मदत मिल्ने थियो।
यहोवाले ती त्रुटिरहित बौद्धिक सृष्टिहरूलाई स्वतन्त्र इच्छा दिनुभयो। त्यसैले भनेजस्तो मात्र गर्ने कुनै रोबटजस्तै तिनीहरूलाई सृष्टि गरिएको थिएन। यसबारे विचार गर्नुहोस्। यीमध्ये कुन उपहारको तपाईं मोल गर्नुहुन्छ—कर्तव्यबोधले दिएको वा मनदेखि दिएको? जवाफ स्पष्ट छ, मनदेखि दिएको उपहारको तपाईं मोल गर्नुहुन्छ। ठीक त्यस्तै गरी आदम र हव्वाले पनि राजीखुसीले परमेश्वरको आज्ञा मान्ने छनोट गरेका भए यस्तो आज्ञाकारिताले उहाँको लागि ठूलो अर्थ राख्थ्यो। छनोट गर्ने सक्ने तिनीहरूको क्षमताले प्रथम मानव दम्पतीलाई प्रेमले उत्प्रेरित भई यहोवाको आज्ञा मान्न सक्षम बनायो।—व्यवस्था ३०:१९, २०.
धार्मिक, न्यायी र भलो
बाइबलले यहोवाका गुणहरूबारे हामीलाई बताएको छ। उहाँका यी गुणहरूले गर्दा उहाँबाट कुनै पनि पाप हुनै सक्दैन। यहोवा “धार्मिकता र न्यायलाई निको मान्नुहुन्छ” भनी भजन ३३:५ बताउँछ। त्यसैले याकूब १:१३ यसो भन्छ: “कुनै खराब मनसायले परमेश्वरको परीक्षा लिन सकिंदैन न त उहाँ आफैले कुनै खराब मनसायले कसैको परीक्षा लिनुहुन्छ।” परमेश्वर न्यायी र आदमको चासो राख्नुहुने भएकोले उहाँले तिनलाई यस्तो चेतावनी दिनुभयो: “बगैंचाका सबै रूखका फल तैंले संकोच नमानी खाए हुन्छ, तर असल र खराबको ज्ञान दिने रूखको फल चाहिं नखानू, किनभने जुन दिन तैंले त्यो खान्छस् त्यसै दिन तँ मर्नेछस्।” (उत्पत्ति २:१६, १७) प्रथम दम्पतीलाई चिरस्थायी जीवन र मृत्युमा एउटा रोज्न दिइएको थियो। नतिजा नराम्रो हुन्छ भन्ने कुरा पहिल्यै थाह हुँदाहुँदै परमेश्वरले एउटा खास पापबारे चेतावनी दिनु के कपटपूर्ण हुने थिएन र? “धार्मिकता र न्यायलाई निको” मान्नुहुने यहोवाले जुन कुरा प्राप्त गर्नै सकिंदैन, त्यो छनोट गर्न कदापि दिनुहुने थिएन।
यहोवा भलाइ गर्नमा पनि प्रशस्त हुनुहुन्छ। (भजन ३१:१९) येशूले परमेश्वरको भलाइबारे वर्णन गर्दै यसो भन्नुभयो: “तिमीहरूमध्ये कुन मानिस यस्तो होला, जसले आफ्नो छोराले रोटी माग्दा ढुङ्गा देला? अनि माछा माग्दा सर्प देला? त्यसकारण, यदि तिमीहरू पापी भईकन पनि आफ्ना छोराछोरीलाई राम्रा कुरा दिन जान्दछौ भने स्वर्गमा बस्नुहुने तिमीहरूका बुबाले उहाँसित माग्नेहरूलाई झन् कत्ति धेरै असल थोक दिनुहुनेछ!” (मत्ती ७:९-११) परमेश्वर आफ्ना सृष्टिहरूलाई “असल थोक” दिनुहुन्छ। मानिसलाई सृष्टि गरिएको तरिका अनि तिनीहरू बस्नको लागि बनाइएको प्रमोदवनले परमेश्वरको भलाइ प्रदर्शित गर्छ। के त्यस्तो असल सार्वभौम परमेश्वर त्यत्तिसम्मको क्रूर हुन सक्नुहुने थियो र? अहँ थिएन। मानिसले गरेको विद्रोहको लागि हाम्रो न्यायी र असल सृष्टिकर्तालाई दोष दिन मिल्दैन।
“एक मात्र बुद्धिमान्”
बाइबलले यहोवा “एक मात्र बुद्धिमान्” परमेश्वर पनि हुनुहुन्छ भनी बताउँछ। (रोमी १६:२७) परमेश्वरका स्वर्गदूतहरूले यस्तो असीम बुद्धिको साक्षी दिए। यहोवाले पृथ्वीमा विभिन्न कुरा सृष्टि गर्नुहुँदा तिनीहरू “रमाहटले कराए।” (अय्यूब ३८:४-७) यी बौद्धिक अदृश्य स्वर्गदूतहरूले एकदमै चासो दिएर अदनको बगैंचामा भएका घटनाहरू हेरे भन्ने कुरामा कुनै शङ्का छैन। असफल हुन्छ भन्ने कुरा पहिल्यै थाह हुँदाहुँदै आफ्नो अदृश्य छोराहरूको अगाडि विशाल ब्रह्माण्ड र पृथ्वीमा विभिन्न थरीका अद्भुत कुरा सृष्टि गर्नुभएपछि अद्वितीय दुई मानिस सृष्टि गर्नु के एक जना बुद्धिमान् परमेश्वरलाई सुहाउँथ्यो र? स्पष्टतया, त्यस्तो दुर्दशाको लागि योजना बनाउनु अतार्किक हुने थियो।
अझ पनि कसै-कसैले आपत्ति जनाउन सक्छन्, ‘तर एक मात्र बुद्धिमान् परमेश्वरलाई त्यत्ति पनि थाह नहोला र?’ हो, यहोवाको महान् बुद्धिको एउटा पक्ष “आदिदेखि अन्तसम्मको” कुराहरू थाह पाउन सक्ने उहाँको क्षमता हो। (यशैया ४६:९, १०) तर उहाँले आफ्नो अथाह शक्ति सधैं पूर्णरूपमा नचलाउनुभएझैं त्यो क्षमता पनि सधैं प्रयोग गर्नुहुन्न। भविष्यमा हुने कुरा पहिल्यै थाह पाउन सक्ने आफ्नो क्षमता कहिले चलाउने भनी यहोवा बुद्धिमानीसाथ छनोट गर्नुहुन्छ। उहाँले आफ्नो त्यो क्षमता परिस्थितिअनुसार अनि जतिबेला प्रयोग गर्न आवश्यक सम्झनुहुन्छ, त्यतिबेला प्रयोग गर्नुहुन्छ।
भविष्यमा हुने कुरा पहिल्यै थाह पाउन सक्ने क्षमता चलाउनदेखि आफैलाई रोक्ने कुरालाई आधुनिक प्रविधिको एउटा विशेषतासित तुलना गर्न सकिन्छ। कसैले पहिल्यै रेकर्ड गरिएको खेलकुद हेर्दा त्यस खेलको नतिजा कस्तो हुँदो रहेछ भनेर थाह पाउन तिनले पहिल्यै अन्ततिरको भाग हेर्ने छनोट गर्न सक्छन्। तर तिनले त्यसरी नै हेर्न सुरु गर्नुपर्छ भन्ने छैन। यदि तिनले पूरै खेल सुरुदेखि हेर्ने छनोट गर्छन् भने कसले तिनको आलोचना गर्न सक्छ र? त्यसैगरि सृष्टिकर्ताले पनि नतिजा कस्तो हुनेछ भनेर पहिल्यै थाह पाउने छनोट गर्नुभएन। बरु उहाँले पर्खने अनि पृथ्वीमा भएका आफ्ना छोराछोरीले के गर्दा रहेछन् भनी हेर्ने छनोट गर्नुभयो।
माथि उल्लेख गरिएझैं यहोवा बुद्धिमान् हुनुभएकोले प्रथम मानिसहरूलाई जे-जे भन्यो त्यही मात्र गर्ने रोबटजस्तो गरी सृष्टि गर्नुभएन। बरु उहाँले तिनीहरूलाई माया गरेर स्वतन्त्र इच्छासहित सृष्टि गर्नुभयो। तिनीहरूले सही मार्ग रोजेर आफ्नो प्रेम, कृतज्ञता र आज्ञाकारिता व्यक्त गर्न सक्थे। यसरी तिनीहरू आफू आनन्दित हुनुको साथै स्वर्गमा हुनुहुने बुबा यहोवालाई पनि अझ खुसी बनाउन सक्थे।—हितोपदेश २७:११; यशैया ४८:१८.
भविष्यमा हुने कुरा पहिल्यै थाह पाउन सक्ने आफ्नो क्षमताको परमेश्वरले प्रयोग नगर्नुभएका थुप्रै विवरण हामी बाइबलमा पाउन सक्छौं। उदाहरणको लागि, वफादार अब्राहामले आफ्नो छोरालाई बलि चढाउनै लाग्दा यहोवाले यसो भन्नुभयो: “अब मैले थाह पाएँ—तँ परमेश्वरसँग डराउँदो रहेछस्, किनकि तेरो छोरो, तेरो एकमात्र छोरालाई पनि मबाट तैंले रोकेर राखिनस्।” (उत्पत्ति २२:१२) साथै केही मानिसले आफ्नो खराब आचरणले परमेश्वरलाई “दु:खित तुल्याए।” तिनीहरूले के गर्नेछन् भन्ने कुरा परमेश्वरलाई पहिल्यै थाह भएको भए के उहाँलाई त्यस्तो दुःख लाग्ने थियो र?—भजन ७८:४०, ४१; १ राजा ११:९, १०.
त्यसकारण यस्तो निष्कर्षमा पुग्नु उचित छ—हाम्रो प्रथम आमाबाबुले पाप गर्ने कुरा थाह पाउन सबैभन्दा बुद्धिमान् परमेश्वरले भविष्यमा हुने कुरा पहिल्यै थाह पाउन सक्ने आफ्नो क्षमता प्रयोग गर्नुभएन। आफूलाई पहिल्यै थाह भइसकेको अवस्थामा मानिसहरूलाई राखेर फेरि त्यही कुरा दोहोऱ्याएर हेर्नेसम्मको मूर्ख उहाँ हुनुहुन्न।
“परमेश्वर प्रेम हुनुहुन्छ”
परमेश्वरको शत्रु सैतानले अदनको बगैंचामा विद्रोह गर्न लगाएपछि पाप र मृत्युजस्ता खराब नतिजाहरू देखा परे। त्यसैले सैतान “हत्यारा” हो। त्यसले आफूलाई ‘झूट र झूटको बुबा’ पनि प्रमाणित गऱ्यो। (यूहन्ना ८:४४) आफ्नो खराब मनसाय भएकोले त्यसले हाम्रो मायालु सृष्टिकर्ताको मनसाय पनि खराब छ भनेर आरोप लगाउने कोसिस गर्छ। मानिसले गरेको पापको दोष त्यसले आफ्नो स्वभावअनुसारै यहोवालाई लगाउन खोज्छ।
यहोवाले आदम र हव्वाले पाप गर्ने कुरा पहिल्यै थाह नपाउने छनोट गर्नुको सबैभन्दा सशक्त कारण हो—प्रेम। प्रेम परमेश्वरको मुख्य गुण हो। “परमेश्वर प्रेम हुनुहुन्छ” भनी १ यूहन्ना ४:८ बताउँछ। प्रेम सकारात्मक हुन्छ, नकारात्मक होइन। यसले अरूमा भएको असल कुरा हेर्छ। हो, प्रेमद्वारा उत्प्रेरित भएर यहोवा परमेश्वरले प्रथम मानव दम्पतीको भलो चाहनुभयो।
पृथ्वीमा भएका आफ्ना छोराछोरीले मूर्खतापूर्ण छनोट गर्न सक्ने भए तापनि हाम्रो मायालु परमेश्वरमा निराशावादी सोचाइ आएन वा उहाँले आफ्नो त्रुटिरहित सृष्टिहरूमा शङ्का गर्नुभएन। उहाँले तिनीहरूलाई चाहिने जति सबै थोक र आवश्यक सम्पूर्ण जानकारी दिनुभएको थियो। परमेश्वरले त्यसको बदलामा विद्रोह होइन, मायालु आज्ञाकारिताको आशा गर्नु उचित थियो। आदम र हव्वासित उहाँप्रति वफादार रहिरहन सक्ने क्षमता थियो भनेर परमेश्वरलाई थाह थियो, जुन कुरा पछि अब्राहाम, अय्यूब, दानियल र अरू थुप्रै त्रुटिपूर्ण मानिसले समेत प्रमाणित गरेर देखाए।
येशूले भन्नुभयो, “परमेश्वरको तर्फबाट . . . सबै कुरा सम्भव छ।” (मत्ती १९:२६) यो भनाइ सान्त्वनादायी छ। समयमा उहाँले पाप र मृत्युको सम्पूर्ण असरलाई हटाउन सक्नुहुन्छ र हटाउनु पनि हुनेछ भन्ने कुराको ग्यारेन्टी यहोवाको प्रेमका साथै उहाँका अन्य मुख्य गुणहरू न्याय, बुद्धि र शक्तिले दिन्छ।—प्रकाश २१:३-५.
कुरा स्पष्ट छ, प्रथम मानव दम्पतीले पाप गर्नेछन् भनेर यहोवालाई पहिल्यै थाह थिएन। मानिसको अनाज्ञाकारिता र त्यससँगसँगै आएको दुःखकष्टले गर्दा परमेश्वरले पीडा महसुस गर्नुभए तापनि यो अस्थायी मात्र हो र यसले पृथ्वी र यसमा बस्ने मानिसहरूको लागि आफ्नो चिरस्थायी उद्देश्य पूरा हुनदेखि रोक्न सक्दैन भनी उहाँलाई थाह थियो। यस उद्देश्यबारे र यसको महिमित पूर्तिबाट तपाईं कसरी लाभ उठाउन सक्नुहुन्छ, त्यसबारे अझ धेरै बुझ्नुभए कसो होला?a ( w11 -E 01/01)
[फुटनोट]
a पृथ्वीको लागि परमेश्वरको उद्देश्यबारे थप जानकारी पाउन यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय ३ हेर्नुहोस्।
[पृष्ठ १२-मा भएको ठूलो अक्षरको क्याप्सन]
यहोवाले प्रथम मानिसहरूलाई जे-जे भन्यो त्यही मात्र गर्ने रोबटजस्तो गरी सृष्टि गर्नुभएन
[पृष्ठ १३-मा भएको ठूलो अक्षरको क्याप्सन]
आदम र हव्वासित उहाँप्रति वफादार रहिरहन सक्ने क्षमता थियो भनेर परमेश्वरलाई थाह थियो