प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w12 १/१ pp. ४-६
  • गरिबी नामेट पार्ने प्रयास

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • गरिबी नामेट पार्ने प्रयास
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सबैका लागि संवृद्धि भन्‍ने सिद्धान्त
  • के मार्शल प्लानले गरिबी हटायो?
  • विदेशी सहयोगले किन आशा गरेजस्तो परिणाम हासिल गर्न सकेन?
  • गरिबीको कारण
  • चाँडै, कोही गरिब हुनेछैन!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • गरिबहरूका लागि सुसमाचार
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • गरिबी स्थायी समाधान पत्ता लगाउने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • गरिबी मुक्‍त संसार नजिकै
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
w12 १/१ pp. ४-६

गरिबी नामेट पार्ने प्रयास

धनीहरूले आफ्नो लागि गरिबी नामेट पारिसकेका छन्‌। तर सम्पूर्ण मानिसजातिलाई गरिबीबाट मुक्‍त गर्ने प्रयासहरू भने सधैं असफल भएको छ। किन? किनभने धनीहरू अक्सर आफ्नो धनसम्पत्ति वा ओहदा अरू कसैसित बाँड्‌न चाहँदैनन्‌। प्राचीन इस्राएलका राजा सुलेमानले लेखे: “अत्याचारमा परेकाहरूको आँसु मैले देखें, औ मैले के देखें भने तिनीहरूलाई सान्त्वना दिने कोही हुँदैन रहेछ। अत्याचारीहरूको पक्षमा शक्‍ति थियो।”—उपदेशक ४:१.

के प्रभावशाली तथा शक्‍तिशाली मानिसहरूले संसारबाट गरिबी निर्मूल पार्न सक्छन्‌? सुलेमानले प्रेरणा पाएर यस्तो लेखे: “ती सबै व्यर्थ हुन्‌ र बतासलाई खेदेको जस्तो मात्र हो। जे बाङ्‌गो छ त्यो सोझो बन्‍नसक्‍तैन।” (उपदेशक १:१४, १५) यस तथ्यलाई वर्तमान समयमा गरिबी हटाउन गरिएका प्रयासहरूले स्पष्ट पार्छ।

सबैका लागि संवृद्धि भन्‍ने सिद्धान्त

उन्‍नाइसौं शताब्दीमा केही राष्ट्रले व्यापार र उद्योगधन्दाद्वारा अकुत धनसम्पत्ति जम्मा गर्दा केही प्रभावशाली व्यक्‍तिहरूले गरिबीको विषयलाई गम्भीर ध्यान दिन थाले। के पृथ्वीको स्रोतसाधनलाई अझ समान हिसाबले बाँडफाँड गर्न सकिन्छ?

धनसम्पत्ति निष्पक्ष ढङ्‌गले वितरण हुनेगरि संसारभरि वर्गविहीन समाज निर्माण गर्न समाजवाद वा साम्यवाद उपयुक्‍त हुन्छ भन्‍ने कसै-कसैको धारणा थियो। धनीहरूलाई यो धारणा पटक्कै चित्त नबुझ्नु स्वाभाविक थियो। तर “प्रत्येकबाट उसको क्षमताअनुसार अनि प्रत्येकलाई उसको आवश्‍यकताअनुसार” भन्‍ने नारा सर्वत्र लोकप्रिय हुन थाल्यो। सबै राष्ट्रले समाजवादको नीति अपनाएको खण्डमा संसारभरि चरम सुख छाएको समाज निर्माण हुनेछ भनी थुप्रैले आशा गरेका थिए। केही सम्पन्‍न राष्ट्रले समाजवादको केही-केही नीति अपनाए अनि सबै नागरिकलाई “कोक्रोदेखि चितासम्म” हेरचाह गर्ने निश्‍शुल्क सरकारी सुविधा उपलब्ध गराए। तिनीहरूले मानिसको ज्यानै लिन सक्ने गरिबीलाई निर्मूल पारेको दाबी गरे।

तर समाजवादले निःस्वार्थ समाजको लक्ष्य भने कहिल्यै हासिल गर्न सकेन। सबै नागरिकले आफ्नो होइन तर समाजको हितको लागि काम गर्नेछन्‌ भन्‍ने लक्ष्य साकार हुन सकेन। आफ्नो सम्पत्ति गरिबलाई बाँड्‌दा तिनीहरू झन्‌ अल्छी हुन्छन्‌ भनी कतिपय धनीहरूले अप्रसन्‍नता व्यक्‍त गरे। यसर्थ बाइबलका शब्दहरू सत्य साबित भएका छन्‌: “संसारमा यस्तो कुनै धर्मी मानिस छैन जसले सबै काम ठीक गर्छ र कहिल्यै भूल गर्दैन। . . . जब परमेश्‍वरले मानिसलाई सृजनुभयो तब उहाँले त्यसलाई सोझो बनाउनुभयो, तर मानिस आफैले चाहिं अनेकौं छलहरू रच्दछ।”—उपदेशक ७:२०, २९.

अरू थुप्रैले राखेको एउटा आशा “अमेरिकन ड्रिम” थियो। त्यो हो, मेहनत गर्न चाहने जो कोही पनि धनी बन्‍न सक्छ भन्‍ने सपना। संसारका थुप्रै राष्ट्रले प्रजातन्त्र, खुला अर्थनीति र खुला बजारजस्ता नीति अपनाए। यस्ता नीतिले गर्दा अमेरिका धनी भएजस्तो देखिन्थ्यो। तर अमेरिका धनी हुनुको पछाडि यसको बलियो राजनैतिक प्रणाली मात्र थिएन। त्यसैले सबै राष्ट्रले अमेरिकन ड्रिमको नीति अपनाउन सकेनन्‌। अमेरिकाको संवृद्धिमा अथाह प्राकृतिक स्रोतसाधन र सर्वसुलभ अन्तरराष्ट्रिय पारवहन मार्गको पनि महत्त्वपूर्ण भूमिका थियो। साथै, प्रतिस्पर्धात्मक संसारको आर्थिक प्रणालीले धनी हुने विजेता मात्र होइन दरिद्र हुने हरुवाहरू पनि जन्माउँछ। के धनी राष्ट्रहरूले अझै पनि गरिब अवस्थामा रहेका राष्ट्रहरूलाई मदत गर्न सक्छन्‌?

के मार्शल प्लानले गरिबी हटायो?

दोस्रो विश्‍वयुद्धपछि युरोप तहसनहस हुनुका साथै त्यहाँका थुप्रै मानिस भोकमरीको चपेटामा परेका थिए। युरोपमा समाजवादको प्रभाव बढ्‌दै गएकोमा अमेरिकी सरकार चिन्तित थियो। त्यसैले आफ्नो नीतिको समर्थन गर्ने देशहरूमा उद्योग र कृषिलाई उकास्न अमेरिकी सरकारले चार वर्षसम्म मनग्गे पैसा दिइरहेको थियो। युरोपलाई उकास्न लागू गरिएको यो मार्शल प्लानले सफलता हासिल गरेको निष्कर्ष निकालियो। पश्‍चिमी युरोपमा अमेरिकी प्रभाव बढ्यो अनि ज्यानै लिन सक्ने गरिबी लगभग निर्मूल भयो। के संसारभरि गरिबी निर्मूल गर्ने तरिका यही थियो?

मार्शल प्लानको सफलताले गर्दा अमेरिकी सरकारले संसारभरिका गरिब राष्ट्रहरूलाई आर्थिक सहयोग दिएर कृषि, स्वास्थ्य सेवा, शिक्षा र यातायातजस्ता क्षेत्रमा मदत गर्न थाल्यो। यसो गर्नुको मुख्य कारण आफ्नै स्वार्थ हो भनेर अमेरिकाले खुलेआम स्वीकाऱ्‍यो। अरू देशले पनि विदेशी सहयोग दिएर आफ्नो प्रभाव बढाउन खोजे। साठी वर्षपछि हेर्दा के पाइयो भने मार्शल प्लान कार्यान्वयनको लागि भन्दा कैयौं गुणा बढी रकम खर्च गर्दासमेत परिणाम निराशाजनक थियो। हुनत पूर्वी एसियाका कुनै-कुनै गरिब राष्ट्र निकै धनी भए। अन्य ठाउँमा पनि यस्तो विदेशी सहयोगले गर्दा बाल मृत्यु दर घट्यो र अझ धेरै केटाकेटीले शिक्षा हासिल गर्न पाए। तैपनि तीमध्ये थुप्रै राष्ट्र गरिबको गरिबै थिए।

विदेशी सहयोगले किन आशा गरेजस्तो परिणाम हासिल गर्न सकेन?

सम्पन्‍न राष्ट्रहरूलाई युद्धपछिको अवस्थाबाट उकास्नभन्दा गरिब राष्ट्रहरूको गरिबी हटाउन मुस्किल साबित भएको छ। युरोपमा उद्योग, व्यापार र यातायातको सुविधा पहिलेदेखि नै थियो। अर्थतन्त्रमा केही सुधार मात्र गरे पुग्थ्यो। गरिब राष्ट्रहरूमा विदेशी सहयोगले सडक, स्कूल, स्वास्थ्य-चौकी बनाए तापनि मानिसहरू अझ पनि गरिबीको चपेटामा थिए किनभने ती मुलुकहरूमा व्यापार, प्राकृतिक स्रोतसाधन र पारवहन मार्गहरूको सुविधा थिएन।

गरिबीको चक्र जटिल छ र सजिलै तोड्‌न सकिंदैन। उदाहरणको लागि, गरिबीले गर्दा रोग लाग्छ अनि रोग लागेपछि गरिब भइन्छ। कुपोषणको सिकार भएका बालबालिकाहरू शारीरिक र मानसिक तवरमा अत्यन्तै कमजोर हुन्छन्‌ जसले गर्दा तिनीहरू हुर्किएर सन्तान जन्माए तापनि आफ्ना छोराछोरीको स्याहार गर्न नसक्ने हुन्छन्‌। साथै, धनी राष्ट्रहरूले उब्रेको खानेकुरा गरिब राष्ट्रलाई “सहयोग”-को रूपमा पठाउँदा स्थानीय किसान र खुद्रा वितरकहरू बेरोजगार हुन्छन्‌। यसले गरिबी झनै बढाउँछ। गरिब राष्ट्रलाई पैसा पठाउँदा एउटा अर्को चक्र सुरु हुन सक्छ: अर्को देशले पठाएको सहयोग सजिलै दुरुपयोग हुन सक्छ। यसले गर्दा भ्रष्टाचारको चक्र सुरु हुन्छ, जसको परिणामस्वरूप गरिबी अझ बढ्‌न सक्छ। वास्तवमा विदेशी सहयोग असफल हुनुको कारण के हो भने यसले गरिबीको मूल कारणलाई सुल्झाउन सकेको छैन।

गरिबीको कारण

राष्ट्र, सरकार र व्यक्‍तिविशेषले आफ्नै स्वार्थपूर्ति गर्न खोज्दा चरम गरिबीको अवस्था सृजना हुन्छ। उदाहरणको लागि, धनी राष्ट्रका सरकारहरूले विश्‍वबाट गरिबी हटाउन त्यति महत्त्व दिंदैनन्‌ किनभने तिनीहरू प्रजातान्त्रिक प्रणालीबाट चुनिएका हुन्छन्‌ र आफ्ना मतदाताहरूलाई रिझाउनुपर्ने हुन्छ। यसैले तिनीहरू गरिब राष्ट्रका किसानहरूलाई आफ्नो उपज धनी राष्ट्रहरूलाई बेच्न निषेध गर्छन्‌ किनभने त्यसो गर्न दियो भने धनी राष्ट्रका व्यापारीहरूको व्यापार बन्द हुन्छ। साथै, धनी राष्ट्रका नेताहरूले आफ्नो देशका किसानहरूलाई भारी मात्रामा अनुदान दिन्छन्‌ अनि गरिब राष्ट्रका किसानहरूले उनीहरूसित प्रतिस्पर्धा गर्नै सक्दैनन्‌।

कुरा स्पष्ट छ, गरिबी आफ्नै स्वार्थ पूरा गर्न खोज्ने मानिस र सरकारको चाहनाले निम्त्याएको समस्या हो। बाइबल लेखक सुलेमानले यस्तो लेखे: ‘एउटा मानिसले अर्को मानिसलाई दु:ख दिइरहेको छ।’—उपदेशक ८:९.

त्यसोभए गरिबीको अन्त हुने कुनै आशै छैन त? मानिसको स्वभाव परिवर्तन गर्न सक्ने के त्यस्तो कुनै सरकार छ? (w11-E 06/01)

[पृष्ठ ६-मा भएको पेटी]

गरिबी हटाउने नियम

यहोवा परमेश्‍वरले प्राचीन इस्राएल राष्ट्रलाई नियमहरूको एउटा सँगालो दिनुभएको थियो। ती पालन गरेको खण्डमा गरिबी हुनेथिएन। तिनीहरूलाई दिइएको व्यवस्थाअनुसार पुजारी कुल लेवीबाहेक प्रत्येक परिवारले जमिनको हिस्सा पाउँथ्यो। परिवारको पुर्ख्यौली जमिन सुरक्षित रहन्थ्यो किनभने त्यो जमिन सधैंको निम्ति बेच्न पाइँदैनथ्यो। हरेक ५० वर्षमा सबै जमिन त्यसको सुरुको मालिक वा उसको परिवारलाई फिर्ता गर्नुपर्थ्यो। (लेवी २५:१०, २३) यदि बिरामी परेको, विपत्ति आएको वा अल्छी भएकोले जमिन बेच्नु परेमा उक्‍त विशेष-उत्सवमा त्यो जमिनको लागि कुनै रकम नलिई सुरुको मालिकलाई नै फिर्ता गर्नुपर्थ्यो। यसो गर्दा कुनै पनि परिवार पुस्तौं-पुस्तासम्म गरिब रहिरहँदैनथ्यो।

परमेश्‍वरको व्यवस्थाको अर्को दयालु प्रबन्ध भनेको कठिन अवस्थामा परेको व्यक्‍तिले आफूलाई दासको रूपमा बेच्न सक्थ्यो। तिनले आफ्नो ऋण चुक्‍ता गर्न आफ्नो बिक्रीको मोल सुरुमै पाउन सक्थे। सातौं वर्षको अन्तसम्ममा पनि आफ्नो कर्जा चुक्‍ता गरेर आफूलाई मुक्‍त गर्न सकेनन्‌ भने त्यसपछि तिनलाई स्वतन्त्रता दिनुका साथै तिनले पुनः खेतीपाती गर्न सकून्‌ भनेर बीउ-बिजन र गाईवस्तु दिनुपर्थ्यो। साथै, गरिबीले गर्दा पैसा सापटी लिनुपरेको खण्डमा तिनीसित ब्याज लिन व्यवस्थाले निषेध गरेको थियो। गरिबहरूले सिलाबाला बटुल्न सकून्‌ भनेर व्यवस्थाले बाली काट्‌दा कुना-कुनासम्म निखारेर नकाट्‌नू भन्‍ने आज्ञा दिएको थियो। यसप्रकार कोही पनि इस्राएलीले मागेर खानु पर्नेथिएन।—व्यवस्था १५:१-१४; लेवी २३:२२.

तर इतिहास पल्टाएर हेर्ने हो भने कोही-कोही इस्राएली गरिबीको चपेटामा परे। कसरी यस्तो भयो? इस्राएल राष्ट्रले यहोवाको व्यवस्था पालन गरेन। यसले गर्दा आज थुप्रै मुलुकमा भएझैं कोही धनी जमिनदार भए भने अरू कतिपय चाहिं जग्गाविहीन गरिब। कोही-कोही इस्राएली गरिब भए किनभने तिनीहरूले परमेश्‍वरको व्यवस्था उल्लङ्‌घन गरे अनि अरूको वास्तै नगरी आफ्नै मात्र स्वार्थ पूरा गर्न खोजे।—मत्ती २२:३७-४०.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने