प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w11 १०/१ pp. १३-१५
  • के परमेश्‍वरको कुनै सङ्‌गठन छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के परमेश्‍वरको कुनै सङ्‌गठन छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • पुरातन इस्राएल—सङ्‌गठित राष्ट्र
  • प्रथम शताब्दीका ख्रीष्टियनहरू सङ्‌गठित थिए
  • परमेश्‍वरको प्रेमको अभिव्यक्‍ति
  • यहोवाले आफ्ना मानिसहरूलाई किन सङ्‌गठित पार्नुभएको छ?
    परमेश्‍वरबाट आएको सुसमाचार!
  • परमेश्‍वरको संगठनको भाग हुनुहोस्‌ र सुरक्षा पाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • परमेश्‍वरको दृश्‍य सङ्‌गठन
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • यहोवा व्यवस्थित परमेश्‍वर हुनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
w11 १०/१ pp. १३-१५

के परमेश्‍वरको कुनै सङ्‌गठन छ?

परमेश्‍वरले गर्नुभएको हरेक सृष्टि व्यवस्थित छ। उदाहरणको लागि, ब्रह्‍माण्डलाई विचार गर्नुहोस्‌। ब्रह्‍माण्ड करोडौं ताराले भरिए तापनि ती जथाभाबी छरिएका छैनन्‌। तिनीहरू समूहमा व्यवस्थित छन्‌, जसलाई तारापुञ्ज भनिन्छ र कुनै-कुनै तारापुञ्जमा अरबौं तारा हुन्छन्‌। अनि तारापुञ्जहरू करोडौंको सङ्‌ख्यामा भएको अनुमान गरिएको छ। कस्तो अचम्मलाग्दो तरिकामा व्यवस्थित!—१ कोरिन्थी १४:३३.

यस्तो व्यवस्थित रूप भौतिक सृष्टिमा मात्र सीमित छैन। स्वर्गमा परमेश्‍वरका स्वर्गदूतहरू पनि उहाँको उद्देश्‍यअनुसार व्यवस्थित तरिकामा सेवा गरिरहेका छन्‌ भनी बाइबल बताउँछ। भविष्यवक्‍ता दानियलले दर्शनमा परमेश्‍वरको स्वर्गीय दरबारमा स्वर्गदूतहरूको एक ठूलो जमात देखे: “हजारौंहजारले उहाँको सेवा गर्दथिए। लाखौंलाख उहाँको सामु खडा भइरहन्थे।” (दानियल ७:९, १०) परमेश्‍वरले पृथ्वीमा रहेका आफ्ना सेवकहरूलाई आवश्‍यक मदत दिन स्वर्गदूतहरू चलाउनुहुन्छ। यसरी करोडौंको सङ्‌ख्यामा रहेका स्वर्गदूतहरू एकताबद्ध भएर काम गर्न कत्ति व्यवस्थित हुनुपर्छ होला, कल्पना गर्नुहोस्‌ त!—भजन ९१:११.

सृष्टिकर्ता यहोवा परमेश्‍वर महान्‌ व्यवस्थापक हुनुभए तापनि उहाँ निरङ्‌कुश अनि तीनथुप्रो नीतिनियम बनाएर मानिसहरूलाई दुःख दिने खालको शासक हुनुहुन्‍न। बरु उहाँ दयालु हुनुहुन्छ अनि आफ्ना सबै सृष्टिको भलाइ चाहने आनन्दित परमेश्‍वर हुनुहुन्छ। (१ तिमोथी १:११; १ पत्रुस ५:७) यो कुरा पुरातन इस्राएल राष्ट्र र प्रथम शताब्दीका ख्रीष्टियनहरूसित उहाँले गर्नुभएको व्यवहारबाट स्पष्ट बुझ्न सकिन्छ।

पुरातन इस्राएल—सङ्‌गठित राष्ट्र

इस्राएलीहरूलाई साँचो उपासनाको लागि सङ्‌गठित गर्न यहोवा परमेश्‍वरले मोशालाई चलाउनुभयो। सीनैको उजाडस्थानमा तिनीहरूले प्रवासीको रूपमा पाल टाँगेर बसेको समयबारे विचार गर्नुहोस्‌। प्रत्येक परिवारलाई तिनीहरूलाई जहाँ मन लाग्छ, त्यहीं पाल टाँग्न दिइएको भए पक्कै भद्रगोल हुने थियो। हरेक कुलले कहाँ पाल टाँग्नुपर्छ भनी यहोवाले इस्राएल राष्ट्रलाई तोकेरै निर्देशनहरू दिनुभयो। (गन्ती २:१-३४) मोशाको व्यवस्थामा स्वास्थ्य र सरसफाइको सम्बन्धमा पनि स्पष्ट नियमहरू दिइएको थियो। जस्तै:- मानव दिसाको उचित व्यवस्थापन गर्नेबारे।—व्यवस्था २३:१२, १३.

इस्राएलीहरू प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्दा तिनीहरू विभिन्‍न क्षेत्रमा अरू राष्ट्रभन्दा एकदमै व्यवस्थित थिए। तिनीहरूलाई १२ कुलमा विभाजन गरिएको थियो। कुलअनुसार जमिन बाँडफाँड गरिएको थियो। यहोवाले मोशामार्फत दिनुभएको व्यवस्थाले तिनीहरूको जीवनको हरेक पक्षलाई समेट्‌थ्यो। जस्तै:- उपासना, वैवाहिक सम्बन्ध, परिवार, शिक्षा, व्यापार, भोजन, खेतीकिसानी, पशुपालन आदि।a केही नियम तोकेरै अनि विस्तृत तवरमा दिइएको भए तापनि ती सबै आफ्ना जनहरूप्रति यहोवाको चासोको अभिव्यक्‍ति थियो र ती नियमहरू पालन गरेमा तिनीहरू आनन्दित हुन सक्थे। ती मायालु प्रबन्धहरूअनुसार चल्दा इस्राएलीहरूले यहोवाको विशेष अनुमोदन पाउँथे।—भजन १४७:१९, २०.

हुनत मोशा प्रतिभाशाली नेता थिए तर सफल हुने/नहुने कुरा नेतृत्व लिने तिनको प्रतिभामा होइन, तर यहोवाको प्रबन्धमाथि तिनको भरोसामा निर्भर थियो। उदाहरणको लागि, उजाडस्थानमा यात्रा गर्दा इस्राएलीहरूलाई कुन बाटो भएर लैजाने भन्‍ने कुरा मोशाले कसरी निर्णय गरे? यहोवाले दिनमा बादलको खामो र रातीचाहिं आगोको खामो प्रयोग गरेर डोऱ्‍याउनुभयो। (प्रस्थान १३:२१, २२) यहोवाले मानिसहरू प्रयोग गरे पनि आफ्ना जनलाई व्यवस्थित रूपमा डोऱ्‍याउने वास्तवमा उहाँ आफै हुनुहुन्थ्यो। प्रथम शताब्दीमा पनि कुरा त्यस्तै थियो।

प्रथम शताब्दीका ख्रीष्टियनहरू सङ्‌गठित थिए

येशूका प्रेषित र चेलाहरूले जोसका साथ प्रचार गरेकोले प्रथम शताब्दीमा एसिया र युरोपका थुप्रै भूभागमा ख्रीष्टियन मण्डलीहरू स्थापित भए। ती मण्डलीहरू विभिन्‍न ठाउँमा छरिएका भए तापनि स्वतन्त्र रूपमा रहेका छुट्टै समूह थिएनन्‌। बरु तिनीहरू आपसमा एकताबद्ध थिए र प्रेषितहरूको मायालु निरीक्षणबाट तिनीहरूले लाभ उठाए। उदाहरणका लागि, क्रेटमा गएर “त्यहाँ सबै कुरा व्यवस्थित गर्न” प्रेषित पावलले तीतसलाई खटाए। (तीतस १:५, द जेरूशलेम बाइबल) अनि पावलले कोरिन्थमा भएको मण्डलीलाई पत्र लेख्दा त्यहाँका केही भाइलाई “व्यवस्थापन गर्ने क्षमता” भएकाहरू अथवा “व्यवस्थापकहरू” भनेर उल्लेख गरे। (१ कोरिन्थी १२:२८, द न्यु टेस्टामेन्ट इन मोर्डन स्पीच; द बाइबल इन कन्टेम्पररी ल्याङ्‌ग्वेज) तर त्यस्तो व्यवस्थापनको पछाडि कसको हात थियो? मण्डलीलाई ‘परमेश्‍वरले मिलाउनुभयो’ अर्थात्‌ व्यवस्थित गर्नुभयो भनी पावलले बताए।—१ कोरिन्थी १२:२४.

ख्रीष्टियन मण्डलीका निरीक्षकहरू सँगी विश्‍वासीहरूका मालिक थिएनन्‌। बरु तिनीहरू परमेश्‍वरको पवित्र शक्‍तिको डोऱ्‍याइबमोजिम चल्ने “सहकर्मीहरू” थिए र तिनीहरू “बगालको उदाहरण” भएको आशा गरिन्थ्यो। (२ कोरिन्थी १:२४; १ पत्रुस ५:२, ३) कुनै कमजोर मानिस अथवा त्रुटिपूर्ण मानिसहरूको समूहले नभई पुनर्जीवित हुनुभएका येशू ख्रीष्ट स्वयम्‌ले “मण्डलीको शिर”-को रूपमा सेवा गर्दै हुनुहुन्छ।—एफिसी ५:२३.

अरू मण्डलीहरूले भन्दा कोरिन्थमा भएको मण्डलीले एकदमै फरक तरिकामा कामकुरा सम्हाल्न थाल्दा पावलले तिनीहरूलाई यस्तो लेखे: “के परमेश्‍वरको वचन तिमीहरूबाट निस्केको हो वा यो तिमीहरूसम्म पुगेको मात्र हो?” (१ कोरिन्थी १४:३६) तिनीहरूको सोचाइ सच्याउन र आफूखुसी गर्नु हुँदैन भनी बुझाउन पावलले सोच्न बाध्य पार्ने यो प्रश्‍न गरेका थिए। प्रेषितहरूको निर्देशनबमोजिम चल्दा मण्डलीहरूको उन्‍नति भयो र सङ्‌ख्या बढ्‌दै गयो।—प्रेषित १६:४, ५.

परमेश्‍वरको प्रेमको अभिव्यक्‍ति

आज नि? आफूलाई धार्मिक सङ्‌गठनको भाग बनाउन कसै-कसैलाई मन नपर्न सक्छ। तथापि परमेश्‍वरले आफ्नो उद्देश्‍य पूरा गर्न सधैं आफ्नो सङ्‌गठनलाई चलाउनुहुन्छ भनी बाइबलका विवरणहरूबाट स्पष्ट हुन्छ। पुरातन इस्राएलमा उहाँले आफ्ना उपासकहरूलाई सङ्‌गठित पार्नुभयो र प्रथम शताब्दीका ख्रीष्टियनहरूलाई उपासनामा एकताबद्ध गर्नुभयो।

त्यसकारण यहोवा परमेश्‍वरले विगतमा झैं आज पनि आफ्ना जनहरूलाई डोऱ्‍याउनुहुन्छ भन्‍ने निष्कर्षमा पुग्नु तार्किक छैन र? हो, उहाँले आफ्ना उपासकहरूलाई सङ्‌गठित र एकताबद्ध गर्नु भनेको हामीप्रति उहाँको मायालु चासोको अभिव्यक्‍ति हो। आज पनि यहोवा मानिसजातिको लागि आफ्नो उद्देश्‍य पूरा गर्न आफ्नो सङ्‌गठन चलाउनुहुन्छ। हामी उहाँको सङ्‌गठनलाई कसरी चिन्‍न सक्छौं? तल दिइएका बुँदाहरू विचार गर्नुहोस्‌।

▪ साँचो ख्रीष्टियनहरू एउटा काम पूरा गर्न सङ्‌गठित छन्‌। (मत्ती २४:१४; १ तिमोथी २:३, ४) येशूले आफ्ना अनुयायीहरूलाई राज्यको सुसमाचार सबै देशमा प्रचार गर्न आज्ञा दिनुभयो। यो काम अन्तरराष्ट्रिय सङ्‌गठनविना असम्भव हुने थियो। उदाहरणको लागि, एक जनालाई तपाईं एक्लैले खाना पकाएर खुवाउनु केही गाह्रो नहुन सक्छ तर लाखौंलाई खुवाउनुपऱ्‍यो भने तपाईं एक्लैले सक्नुहुन्‍न। त्यसको लागि एकताबद्ध भएर काम गर्ने सङ्‌गठित मानिसहरूको एउटा समूह आवश्‍यक पर्छ। यो काम पूरा गर्न तिनीहरू “एकै हृदयको भएर” अथवा “काँधमा काँध मिलाएर” सेवा गर्छन्‌। (सपन्याह ३:९; NRV) विभिन्‍न राष्ट्र, जाति र भाषाका मानिसहरूलाई सुसमाचार सुनाउने काम एउटा एकताबद्ध सङ्‌गठनविना सम्भव हुने थियो र? अहँ, हुने थिएन।

▪ साँचो ख्रीष्टियनहरू एक-अर्कालाई सहयोग गर्न र प्रोत्साहन दिन सङ्‌गठित छन्‌। एक्लो पर्वतारोहीले आफूलाई जहाँ मन लाग्यो, त्यहीं चढ्‌ने निर्णय गर्न सक्छ। उसले सिकारु पर्वतारोहीको मुख ताक्नुपर्दैन। तर यदि ऊ कुनै दुर्घटना वा समस्यामा पऱ्‍यो भने उसलाई मदत गर्ने कोही पनि नहुने भएकोले उसको ज्यानै जोखिममा पर्न सक्छ। आफूलाई एक्लो बनाउनु पक्कै पनि बुद्धिमानी निर्णय होइन। (हितोपदेश १८:१) येशूको आज्ञा पालन गर्न ख्रीष्टियनहरूले एक-अर्कालाई सहयोग र समर्थन गर्नै पर्छ। (मत्ती २८:१९, २०) उन्‍नति गर्दै जान र हरेस नखान ख्रीष्टियन मण्डलीले सबैलाई बाइबलबाट अत्यावश्‍यक निर्देशन, प्रशिक्षण र प्रोत्साहन दिन्छ। हामीलाई निर्देशनहरू दिने र हामीले उपासना गर्ने व्यवस्थित ख्रीष्टियन सभाहरू नहुँदा हुन्‌ त यहोवाको मार्ग सिक्न हामी कहाँ पो जान सक्थ्‌यौं र?—हिब्रू १०:२४, २५.

▪ साँचो ख्रीष्टियनहरू एकताबद्ध भएर परमेश्‍वरको सेवा गर्न सङ्‌गठित छन्‌। येशूको सोर सुन्दा उहाँका भेडाहरू उहाँको नेतृत्वमा “एउटै बगालको” हुन्छन्‌। (यूहन्‍ना १०:१६) तिनीहरू स-साना चर्च वा गुटहरूमा टुक्रिएका छैनन्‌। न त बाइबलको शिक्षाको सन्दर्भमा नै तिनीहरूबीच कुनै मतभेद छ। बरु तिनीहरू सबै ‘एउटै कुरा बोल्छन्‌।’ (१ कोरिन्थी १:१०) एकतामा बस्न सङ्‌गठित हुनु आवश्‍यक छ र सङ्‌गठित हुन सङ्‌गठन चाहिन्छ। आपसमा एकता भएमा मात्रै परमेश्‍वरको आशिष्‌ पाउन सकिन्छ।—भजन १३३:१, ३.

परमेश्‍वर र बाइबल सत्यप्रतिको साँचो प्रेमले लाखौं मानिसलाई अगाडि छलफल गरिएका बुँदाहरू तथा बाइबलका अन्य शिक्षाअनुसार चल्ने एउटा सङ्‌गठनतर्फ आकर्षित गरेको छ। संसारभरि रहेका यहोवाका साक्षीहरू सङ्‌गठित र एकताबद्ध समूहको रूपमा परमेश्‍वरको इच्छाअनुसार चल्न सक्दो प्रयास गर्छन्‌। तिनीहरू परमेश्‍वरको यो प्रतिज्ञामा पूरा विश्‍वास गर्छन्‌: “म तिनीहरूमाझ बास गर्नेछु र तिनीहरूमाझ हिंडडुल गर्नेछु अनि म तिनीहरूको परमेश्‍वर हुनेछु र तिनीहरू मेरा जनहरू हुनेछन्‌।” (२ कोरिन्थी ६:१६) यहोवाको सङ्‌गठन सँगसँगै उहाँको उपासना गर्नुभयो भने यो सुन्दर आशिष्‌ तपाईंले पनि पाउन सक्नुहुनेछ। ( w11 -E 06/01)

[फुटनोट]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित धर्मशास्त्रमा अन्तरदृष्टि (अङ्‌ग्रेजी), खण्ड २, पृष्ठ २१४-२२० हेर्नुहोस्‌।

[पृष्ठ १३-मा भएको चित्र]

इस्राएलीहरूका लागि पाल टाँगेर बस्न मिलाइएको प्रबन्ध सुव्यवस्थित थियो

[पृष्ठ १५-मा भएको चित्र]

अन्तरराष्ट्रिय रूपमा प्रचारकार्य अघि बढाउन सङ्‌गठन आवश्‍यक छ

ढोका-ढोकाको प्रचारकार्य

राहतकार्य

सम्मेलनहरू

उपासनास्थलहरूको निर्माणकार्य

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने