प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w11 १०/१५ pp. १३-१७
  • विवाह गर्ने र अविवाहित रहनेबारे बुद्धिमानी सल्लाह

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विवाह गर्ने र अविवाहित रहनेबारे बुद्धिमानी सल्लाह
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • गम्भीर व्यक्‍तिगत निर्णय
  • अविवाहित अवस्थालाई सफल बनाउने
  • विवाह गर्न चाहने अविवाहितहरू
  • वास्तविकता सामना गर्न तयार हुनुहोस्‌
  • यहोवा हामी नैतिक रूपमा स्वच्छ रहेको चाहनुहुन्छ
  • बाइबल सल्लाह पालन गर्दाका फाइदाहरू
  • अविवाहित—बाधाबिना क्रियाकलाप गर्न सकिने ढोका
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • अविवाहित तर यहोवाको सेवामा सन्तुष्ट
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • अविवाहित रहने र विवाह गर्ने विषयमा बाइबलले के भन्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • अविवाहित अवस्थाको पूरापूर सदुपयोग गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
w11 १०/१५ pp. १३-१७

विवाह गर्ने र अविवाहित रहनेबारे बुद्धिमानी सल्लाह

“जे तिमीहरूका लागि उचित छ, त्यो गर्न र कुनै अलमलविना निरन्तर प्रभुको सेवा गर्न तिमीहरूलाई उत्प्रेरित गर्छु।”—१ कोरि. ७:३५.

१, २. विवाह गर्ने वा अविवाहित रहने सन्दर्भमा बाइबलले दिएको सल्लाह किन खोज्नुपर्छ?

विपरीत लिङ्‌गका व्यक्‍तिसित व्यवहार गर्दा हामी कहिले खुसी त कहिले दुःखी हुन्छौं अनि विभिन्‍न किसिमका चिन्ताहरू पनि सामना गर्ने गर्छौं। यस्ता भावनासित प्रभावकारी रूपमा लड्‌नको लागि हामीले परमेश्‍वरको डोऱ्‍याइ खोज्नुपर्छ। तर यीबाहेक अन्य कारणहरूले गर्दा पनि हामीले उहाँको डोऱ्‍याइ खोज्नुपर्छ। जस्तै: विवाह नगरीकन आनन्दित जीवन बिताइरहेका व्यक्‍तिले तिनको परिवार अनि साथीभाइले विवाह गर्न दबाब दिएको महसुस गर्न सक्छन्‌। अथवा विवाह गर्न चाहिरहेको व्यक्‍तिले आफूलाई सुहाउने जोडी नभेट्टाइरहेको हुन सक्छ। अनि अरू कतिपयले भने पति-पत्नी भइसकेपछि आइपर्ने जिम्मेवारीलाई कसरी राम्रोसँग पूरा गर्ने भनेर तयारी गर्नको लागि डोऱ्‍याइ खोजिरहेका हुन सक्छन्‌। अनि विवाहित र अविवाहित दुवैले आफूलाई यौन अनैतिकताबाट सुरक्षित राख्नुपर्ने हुन्छ।

२ यस्ता परिस्थितिहरूको सामना गर्नुपर्दा कहिलेकाहीं हामीलाई हाँसीखुसी जीवन बिताउन गाह्रो हुन सक्छ। तर यो भन्दा पनि महत्त्वपूर्ण कुरा यसले यहोवासितको हाम्रो सम्बन्धलाई असर गर्छ। कोरिन्थका ख्रीष्टियनहरूलाई पहिलो पत्र लेख्दा पावलले अध्याय ७ मा विवाह गर्ने वा अविवाहित रहने सन्दर्भमा सल्लाह दिएका छन्‌। आफ्नो पत्र पढ्‌नेहरू ‘जे उचित छ, त्यो गर्न र कुनै अलमलविना निरन्तर प्रभुको सेवा गर्न उत्प्रेरित’ होऊन्‌ भन्‍ने पावल चाहन्थे। (१ कोरि. ७:३५) यो महत्त्वपूर्ण विषयमा पावलले दिएको सल्लाह विचार गर्दा आफ्नो विवाहित वा अविवाहित अवस्थालाई कसरी पूर्ण रूपमा यहोवाको सेवामा चलाउन सकिन्छ, सोच्नुहोस्‌।

गम्भीर व्यक्‍तिगत निर्णय

३, ४. (क) अविवाहित साथी वा नातेदारप्रति अचाक्ली चिन्तित हुँदा कहिलेकाहीं कस्तो अप्ठ्यारो परिस्थिति खडा हुन सक्छ? (ख) विवाहबारे सन्तुलित दृष्टिकोण राख्न पावलको सल्लाहले हामीलाई कसरी मदत गर्न सक्छ?

३ प्रथम शताब्दीको यहूदी समाजमा जस्तै अहिले पनि थुप्रै ठाउँका मानिसहरूले विवाहलाई एकदमै महत्त्व दिने गर्छन्‌। यदि कुनै व्यक्‍तिको विवाह गर्ने उमेर नाघिसकेको छ भने तिनको चिन्ता गर्ने साथीभाइ वा नातागोताले तिनलाई सल्लाह-सुझाव दिने गर्छन्‌। सायद उनीहरूले तिनलाई आफ्नो लागि सुहाउने जोडी खोज्न अझै पहल गर्न सल्लाह दिन सक्छन्‌ अथवा ‘तिम्रो लागि त फलाना केटा/केटी सुहाउँछ नि!’ भन्‍न सक्छन्‌ वा विभिन्‍न चलाखी अपनाएर केटा वा केटीलाई थाहै नदिई भेटाइदिन सक्छन्‌। यसले गर्दा अप्ठ्यारो परिस्थिति सृजना हुन सक्छ, मित्रता टुट्‌न सक्छ अनि कसैको भावनामा ठेस पुग्न सक्छ।

४ पावलले कहिल्यै पनि विवाह गर्ने वा अविवाहित रहने सन्दर्भमा अरूलाई दबाब दिएनन्‌। (१ कोरि. ७:७) पावलकी पत्नी नभए तापनि तिनले आनन्दित भएर यहोवाको सेवा गरे र तिनले वैवाहिक जीवनको आनन्द उठाउने अरूको अधिकारको पनि कदर गरे। अहिले पनि विवाह गर्ने या नगर्ने भनेर निर्णय गर्ने अधिकार प्रत्येक ख्रीष्टियनसित छ। अरू कसैले पनि तिनीहरूलाई ‘यसो गर वा उसो गर’ भनेर सल्लाह दिनु हुँदैन।

अविवाहित अवस्थालाई सफल बनाउने

५, ६. पावलले किन अविवाहित रहने सल्लाह दिए?

५ पावलले कोरिन्थका ख्रीष्टियनहरूलाई लेखेका शब्दहरूलाई विचार गर्ने हो भने तिनी अविवाहित रहने कुरालाई सकारात्मक दृष्टिकोणले हेर्थे भनेर हामी थाह पाउन सक्छौं। ( १ कोरिन्थी ७:८ पढ्‌नुहोस्‌) चर्चका कोही-कोही अविवाहित अगुवाहरू आफूलाई विवाहितहरूको तुलनामा श्रेष्ठ सम्झन्छन्‌ तर अविवाहितै रहेका पावलले भने आफूलाई त्यस्तो सम्झेनन्‌। बरु यी प्रेषितले अविवाहित सेवकहरूले सुसमाचार सुनाउँदा पाउने आनन्द तथा फाइदाहरूबारे प्रस्ट पारे। ती फाइदाहरू के-के हुन्‌?

६ प्रायजसो, अविवाहित ख्रीष्टियनहरू यहोवाको सेवामा विभिन्‍न असाइनमेन्ट स्वीकार्न सक्ने अवस्थामा हुन्छन्‌। तर विवाहितहरूलाई भने त्यसो गर्न आफ्नो परिस्थितिले नदिन सक्छ। अविवाहित रहेका पावलले “अन्यजातिहरूको प्रेषित” हुने विशेष सुअवसर पाए। (रोमी ११:१३) प्रेषित अध्याय १३ देखि २० पढ्‌नुहोस्‌ अनि पावल र तिनका सँगी मिसनरीहरूले विभिन्‍न ठाउँमा गएर प्रचार गरेको अनि ती ठाउँहरूमा मण्डली स्थापना गरेको विवरण विचार गर्नुहोस्‌। पावलले त्यतिबेला जे-जस्तो कठिन परिस्थितिहरूको सामना गरे, त्यो आज हामीमध्ये कमैले मात्र सामना गरेका छौं। (२ कोरि. ११:२३-२७, ३२, ३३) तर थुप्रैलाई चेला बन्‍न मदत गर्दा आफूले पाएको आनन्दको तुलनामा ती कठिन परिस्थितिहरू तिनको लागि केही पनि थिएन। (१ थिस्स. १:२-७, ९; २:१९) यदि पावल विवाहित भएका भए वा तिनको परिवार भएको भए तिनले यी सबै काम गर्न सक्थे होलान्‌ र? अहँ सक्ने थिएनन्‌।

७. आफ्नो अविवाहित अवस्थालाई राज्य प्रचारकार्यमा सक्दो भाग लिन प्रयोग गरेका ख्रीष्टियनहरूको उदाहरण बताउनुहोस्‌।

७ थुप्रै अविवाहित ख्रीष्टियनहरूले अहिलेको आफ्नो अवस्थालाई राज्य प्रचारकार्यमा सक्दो भाग लिन प्रयोग गरेका छन्‌। बोलिभियाका अविवाहित अग्रगामीहरू, सारा र लिम्बानिया वर्षौंदेखि प्रचार नभएको एउटा गाउँमा बसाइँ सरे। त्यो गाउँमा बिजुली नपुगेकोले उनीहरूलाई समस्या पर्ने थियो कि? उनीहरूले यसो भने: “यो ठाउँमा रेडियो, टिभीजस्ता अलमल्याउने कुराहरू केही पनि नभएकोले मानिसहरू पढेर समय बिताउन मन पराउँछन्‌।” केही गाउँलेहरूले ती अग्रगामीहरूलाई यहोवाका साक्षीहरूको एकदमै पुरानो साहित्यहरू देखाए। अहिले प्रकाशितसमेत नहुने ती साहित्यहरू तिनीहरू अझै पनि पढ्‌दै थिए। ती बहिनीहरूले प्रायः प्रत्येक ढोकामा चासो दिने मानिसहरू भेट्‌ने गर्थे। त्यसैले इलाका सिध्याउन निकै मुस्किल हुन्थ्यो। एउटी वृद्ध महिलाले उनीहरूलाई यसो भनिन्‌: “पक्कै पनि अन्त नजिकै हुनुपर्छ किनभने यहोवाका साक्षीहरू यहाँसम्म आइपुगिसके।” केही समय नबित्दै त्यस गाउँका केही मानिसहरू मण्डलीका सभाहरूमा आउन थाले।

८, ९. (क) अविवाहित रहने विषयमा कुरा गर्दा पावलको मनमा के थियो? (ख) अविवाहित ख्रीष्टियनहरूले कस्ता फाइदाहरू उठाउन सक्छन्‌?

८ यो कुरा साँचो हो, विवाहित ख्रीष्टियनहरूले पनि चुनौतीपूर्ण इलाकाहरूमा प्रचार गरेर राम्रा नतिजाहरू हासिल गरेका छन्‌। तर अविवाहित अग्रगामीहरूले सजिलै स्वीकार्न सक्ने कुनै-कुनै असाइनमेन्ट विवाहित अनि बालबच्चा भएका व्यक्‍तिहरूलाई स्वीकार्न गाह्रो हुन सक्छ। सुसमाचार सुनाउन अझ पनि थुप्रै काम गर्न बाँकी छ भन्‍ने कुरा मनमा राख्दै पावलले स्थानीय मण्डलीहरूलाई पत्र लेखे। आफूले जस्तै अरूले पनि आनन्द उठाएको तिनी चाहन्थे। त्यसैकारण तिनले अविवाहित रहेर यहोवाको सेवा गर्नु राम्रो हो भने।

९ अमेरिकाका एक जना अविवाहित अग्रगामी बहिनीले यस्तो लेखिन्‌: “कसै-कसैको विचारमा विवाह नगरेका मानिसहरूले आनन्द प्राप्त गर्न सक्दैनन्‌। तर यहोवासितको मित्रताले नै अनन्त खुसी दिन्छ भनेर मैले बुझेकी छु। हुनत, अविवाहित रहनु भनेको एक किसिमको त्याग नै हो। तैपनि यदि तपाईंले यो अवस्थाको पूरापूर फाइदा उठाउनुभयो भने यो तपाईंको लागि बहुमूल्य वरदान साबित हुनेछ।” आनन्द प्राप्त गर्ने सन्दर्भमा तिनी यसो भन्छिन्‌: “अविवाहित अवस्था आनन्द प्राप्त गर्नमा बाधा होइन बरु मदतकारी साबित हुन सक्छ। विवाहित-अविवाहित जोसुकै भए तापनि यहोवाले कसैलाई काखा, कसैलाई पाखा गर्नुहुन्‍न। उहाँ सबैलाई कोमल स्नेह देखाउनुहुन्छ।” अहिले तिनी राज्य प्रचारकको एकदमै खाँचो परेको इलाकामा आनन्दसाथ सेवा गर्दैछिन्‌। यदि तपाईं अविवाहित हुनुहुन्छ भने अरूलाई सत्य सिकाउने कामलाई विस्तृत रूपमा फैलाउन आफ्नो स्वतन्त्रताको सदुपयोग गर्न सक्नुहुन्छ कि? यसो गर्नुभयो भने तपाईंले पनि अविवाहित अवस्थालाई यहोवाबाट पाएको अमूल्य वरदानको रूपमा लिन सक्नुहुनेछ।

विवाह गर्न चाहने अविवाहितहरू

१०, ११. विवाह गर्न चाहने तर सुहाउँदो जोडी नपाएकाहरूलाई यहोवाले कसरी मदत गर्नुहुन्छ?

१० केही समयसम्म अविवाहित रहेपछि यहोवाका थुप्रै विश्‍वासी सेवकहरूले जीवनसाथी रोज्ने निर्णय गर्न सक्छन्‌। यस्तो बेलामा डोऱ्‍याइ चाहिने भएकोले तिनीहरू सुहाउने जोडी भेट्टाउन यहोवासित मदत माग्छन्‌।—१ कोरिन्थी ७:३६ पढ्‌नुहोस्‌।

११ यदि तपाईं आफूले जस्तै सारा ज्यानले यहोवाको सेवा गर्ने जीवनसाथी चाहनुहुन्छ भने यो विषयलाई प्रार्थनामा राख्नुहोस्‌। (फिलि. ४:६, ७) जति नै लामो प्रतीक्षा गर्नुपरे तापनि हरेस नखानुहोस्‌। मायालु परमेश्‍वर यहोवा हाम्रो मदतगार हुनुहुन्छ भनेर भरोसा गर्नुहोस्‌ अनि उहाँले तपाईंलाई आवश्‍यकताअनुसार भावनात्मक रूपमा सम्हाल्नुहुनेछ।—हिब्रू १३:६.

१२. विवाहको प्रस्ताव आउँदा कुनै ख्रीष्टियनले किन होसियारीसाथ विचार गर्नुपर्छ?

१२ विवाह गर्न चाहने ख्रीष्टियनलाई कहिलेकाहीं आध्यात्मिक रूपमा अपरिपक्व वा विश्‍वासमा नभएको व्यक्‍तिबाट विवाहको प्रस्ताव आउन सक्छ। यदि तपाईंलाई पनि त्यस्तै प्रस्ताव आएको छ भने यो कुरा मनमा राख्नुहोस्‌: अविवाहित रहनुपर्दा तपाईंले जस्तो भावनात्मक पीडा महसुस गरिरहनुभएको छ, त्योभन्दा पनि कैयौं गुणा ठूलो पीडा जीवनसाथी रोज्ने सन्दर्भमा गलत छनौट गर्दा महसुस गर्नुहुनेछ। चाहे वैवाहिक जीवन सुखी होस्‌ वा दुःखी, एक चोटि विवाह गरेपछि बाँकी जीवन तिनीसितै बिताउनुपर्छ भन्‍ने कुरा नबिर्सनुहोस्‌। (१ कोरि. ७:२७) हरेस खाएर तुरुन्तै विवाह गर्ने निर्णय नगर्नुहोस्‌ किनभने यसो गर्दा तपाईंले पछि पुर्पुरोमा हात राख्नुपर्ने हुन सक्छ।—१ कोरिन्थी ७:३९ पढ्‌नुहोस्‌।

वास्तविकता सामना गर्न तयार हुनुहोस्‌

१३-१५. विवाह गर्न लागेका जोडीहरूले वैवाहिक जीवनमा आइपर्न सक्ने कस्ता-कस्ता समस्याहरूबारे विवाहअघिको भेटघाटमा छलफल गर्नुपर्छ?

१३ पावलले अविवाहित रहेर यहोवाको सेवा गर्ने सल्लाह दिए तापनि तिनले विवाह गर्ने निर्णय गर्नेहरूलाई हेय दृष्टिले हेरेनन्‌। बरु तिनको प्रेरित निर्देशनले विवाहित जोडीहरूलाई वैवाहिक जीवनको वास्तविकता सामना गर्न र तिनीहरूको वैवाहिक सम्बन्धलाई स्थायी बनाउन मदत गर्छ।

१४ कुनै-कुनै जोडीले आफ्नो वैवाहिक जीवनबाट जे आशा गरेका हुन्छन्‌, पछि गएर त्यस्तो नहुन सक्छ। विवाहअघि केही जोडीहरूले आफूहरूबीचको प्रेम एकदमै प्रगाढ छ र यस्तो प्रेम अरू कसैको छैन भनेर सोचेका हुन्छन्‌ अनि विवाह गरिसकेपछि सधैंभरि खुसी-खुसी जीवन बिताउने सपना सङ्‌गालेका हुन्छन्‌। तिनीहरू कल्पनामा रमाएर विवाह गर्न तम्सिन्छन्‌ र तिनीहरूको सुखमय वैवाहिक जीवनलाई कुनै पनि कुराले तहसनहस पार्न सक्दैन भनेर विश्‍वस्त हुन्छन्‌। यस्तो सोचाइ राख्नु वास्तविकताप्रति आँखा चिम्लनु हो। विवाहित जोडीहरू रोमान्टिक हुँदा त्यसले तिनीहरूलाई आनन्दित हुन मदत गर्छ तर यसले नै विवाहित जोडीहरूलाई वैवाहिक जीवनमा आइपर्ने सम्पूर्ण समस्याहरू सुल्झाउन योग्य बनाउँछ भन्‍ने चाहिं होइन।—१ कोरिन्थी ७:२८ पढ्‌नुहोस्‌। a

१५ विवाह गरेको सुरु-सुरुतिर धेरैजसो जोडी छक्क पर्छन्‌ अथवा निराशसमेत हुन्छन्‌ किनभने तिनीहरूले आफूहरूबीच थुप्रै असमानता भएको याद गर्न थाल्छन्‌। पैसा कसरी खर्च गर्ने, फुर्सदको समय कसरी बिताउने, कहाँ बस्ने अनि सासू-ससुरालाई कहिले-कहिले भेट्‌न जाने भन्‍ने कुराहरूमा तिनीहरूको राय बिलकुलै फरक हुन सक्छ। अनि दुवैको व्यक्‍तित्व फरक हुने हुँदा एकअर्काको व्यवहारदेखि झिजो लाग्न सक्छ। विवाह अगाडि भेटघाट गर्दा यस्ता कुराहरूप्रति आँखा चिम्लन सजिलो हुन्छ तर यही कुराले पछि वैवाहिक जीवनमा तनाव उत्पन्‍न गर्न सक्छ। त्यसैले विवाह गर्न लागेका जोडीहरूले यस्ता कुराहरूबारे पहिल्यै छलफल गर्नु राम्रो हुन्छ।

१६. वैवाहिक जीवनमा आइपर्ने चुनौतीहरू कसरी सामना गर्ने भन्‍ने विषयमा पति-पत्नी किन आपसमा सहमत हुनुपर्छ?

१६ वैवाहिक जीवनमा सफल र आनन्दित हुन दुवैले मिलेर चुनौतीहरूको सामना गर्नुपर्छ। बालबच्चा कसरी हुर्काउने अनि वृद्ध आमाबाबुको स्याहारसुसार कसरी गर्ने भन्‍ने विषयमा छलफल गरेर दुवै जनाले सहमतिको बाटो पहिल्याउनुपर्छ। पारिवारिक जीवनमा आइपर्ने गाह्रा परिस्थितिहरूको कारण उनीहरूले आफ्नो सम्बन्ध कमजोर हुन दिनु हुँदैन। बाइबलमा दिइएको सल्लाह लागू गरेर तिनीहरूले थुप्रै समस्याहरू समाधान गर्न, सहन अनि आनन्दित जीवन बिताउन सक्नेछन्‌।—१ कोरि. ७:१०, ११.

१७. विवाहित व्यक्‍तिहरूले “संसारकै कुराहरूको विषयमा फिक्री” गर्नुको कारण के हो?

१७ पावलले १ कोरिन्थी ७:३२-३४ मा ( पढ्‌नुहोस्‌) वैवाहिक जीवनको अर्को वास्तविकताबारे बताएका छन्‌। विवाहित व्यक्‍तिहरूले “संसारकै कुराहरूको विषयमा फिक्री गर्छ।” जस्तो कि गाँस, बास, कपास अनि अरू भौतिक कुराहरू। किन? अविवाहित रहँदा कुनै भाइले आफूलाई पूर्ण रूपमा सेवाको काममा समर्पण गरेका हुन सक्छन्‌। तर विवाह गरेपछि चाहिं तिनले पतिको रूपमा आफ्नो केही समय अनि शक्‍ति आफ्नी पत्नीको लागि खर्च गर्नुपर्ने हुन्छ। अनि यसरी तिनले आफ्नी पत्नीलाई खुसी पार्न सक्छन्‌। पत्नीको सन्दर्भमा पनि यही भन्‍न सकिन्छ। पति-पत्नीले एकअर्कालाई समय दिनुपर्छ भनेर यहोवालाई थाह छ। पहिला अविवाहित छँदा यहोवाको सेवामा लगाएको समय अनि शक्‍ति विवाह गरिसकेपछि कहिलेकाहीं आफ्नो पति अथवा पत्नीको लागि खर्च गर्नुपर्ने हुन्छ र यसो गऱ्‍यो भने वैवाहिक जीवन सफल हुन्छ भनेर यहोवालाई थाह छ।

१८. सामाजिक गतिविधिको सन्दर्भमा विवाहपछि कसै-कसैले के-कस्तो छाँटकाँट गर्नुपर्ने हुन्छ?

१८ हामीले सिक्नुपर्ने अरू पाठ पनि छ। एकअर्काको ख्याल राख्न पति-पत्नीले यहोवाको सेवा गर्न बिताएको समय त खर्च गर्नुपर्छ भने के तिनीहरूले अविवाहित छँदा सामाजिक जमघटको लागि खर्च गर्ने गरेको समय एकअर्काको ख्याल राख्न खर्च गर्नु पर्दैन र? विवाहपछि पनि आफ्नो पति पहिलाकै साथीहरूसित खेल्नमा व्यस्त हुन्छन्‌ भने पत्नीलाई कस्तो लाग्ला, सोच्नुहोस्‌ त! अथवा पत्नीले पनि पहिलाजस्तै साथीसँगीहरूसित रमाइलो गर्न समय बिताउँछिन्‌ भने पतिलाई कस्तो लाग्ला? यसरी बेवास्ता गरिएको पति वा पत्नीले चाँडै नै एकाकीपन, बेखुसी अनि माया नपाएको महसुस गर्न सक्छन्‌। पति-पत्नी दुवैले आफ्नो वैवाहिक जीवनलाई बलियो बनाउन यथासक्दो गर्दा यस्ता समस्याहरू हटाउन सकिन्छ।—एफि. ५:३१.

यहोवा हामी नैतिक रूपमा स्वच्छ रहेको चाहनुहुन्छ

१९, २०. (क) विवाहित व्यक्‍तिहरू पनि किन अनैतिक प्रलोभनदेखि मुक्‍त छैनन्‌? (ख) लामो समयसम्म छुट्टाछुट्टै समय बिताउने पति-पत्नीले कस्तो खतराको सामना गर्नुपर्ने हुन्छ?

१९ यहोवाका सेवकहरू नैतिक रूपमा पवित्र रहने सन्दर्भमा दृढ छन्‌। त्यसैले कसै-कसैले नैतिक रूपमा शुद्ध रहनको लागि विवाह गर्ने निर्णय गर्छन्‌। तर विवाह गर्दैमा यौन अनैतिकताबाट सुरक्षित रहन सकिन्छ भन्‍ने होइन। बाइबलकालीन समयमा चारैतिर पर्खालले घेरिएका ठूलठूला सहरहरूले मानिसहरूलाई सुरक्षा प्रदान गर्थ्यो तर यसको लागि ती मानिसहरू सहरभित्रै बस्नुपर्थ्यो। कोही मानिस सहरबाहिर गएमा यताउता घुमिरहेका लुटेराहरू अथवा डाँकुहरूले तिनीहरूलाई लुट्‌न वा मार्न सक्थे। त्यसैगरि, विवाहका प्रबन्धकर्ता यहोवाले यौनबारे तोकिदिनुभएको सीमाभित्र रहेको खण्डमा मात्र विवाहित व्यक्‍तिहरू अनैतिकताबाट सुरक्षित रहन सक्छन्‌।

२० यो सीमाबारे पावलले १ कोरिन्थी ७:२-५ मा बताएका छन्‌। आफ्नो पतिसित यौनसम्बन्ध राख्ने अधिकार पत्नीको मात्र हुन्छ अनि आफ्नी पत्नीसित यौनसम्बन्ध राख्ने अधिकार पनि पतिले मात्र पाएका हुन्छन्‌। पति-पत्नी दुवैले एकअर्कालाई दिनुपर्ने “हक” अर्थात्‌ विवाहित व्यक्‍तिले पाउनुपर्ने यौनसम्बन्धी हक दिनुपर्छ। तर केही पति-पत्नीहरू लामो समयसम्म छुट्टाछुट्टै समय बिताउँछन्‌। छुट्टाछुट्टै समयमा बिदा मनाउने वा कामको सिलसिलामा घरबाट टाढा जाने गरेर केही पति-पत्नीले एकअर्कालाई दिनुपर्ने “हक” नदिइरहेका हुन सक्छन्‌। “असंयम”-को कारण सैतानको प्रलोभनमा परेर कसैले आफ्नो पति वा पत्नीबाहेक अरूसित यौनसम्बन्ध राख्यो भने त्यो कत्ति दुःख लाग्दो कुरा हुनेछ! आफ्नो विवाहलाई धरापमा नपारी परिवारको पालनपोषण गर्ने परिवारको शिरलाई यहोवा आशिष्‌ दिनुहुन्छ।—भज. ३७:२५

बाइबल सल्लाह पालन गर्दाका फाइदाहरू

२१. (क) विवाह गर्ने या अविवाहित रहने भनेर निर्णय गर्न किन गाह्रो छ? (ख) पहिलो कोरिन्थी अध्याय ७ मा दिइएको सल्लाह किन उपयोगी छ?

२१ विवाह गर्ने या अविवाहित रहने निर्णय जीवनमा गरिने असाध्यै कठिन निर्णयहरूमध्ये एक हो। हामी सबै जना त्रुटिपूर्ण छौं र यसले अरूसितको हाम्रो सम्बन्धमा समस्या निम्त्याउन सक्छ। त्यसैले यहोवाको अनुमोदन पाएका वा उहाँबाट आशिष्‌ पाएका व्यक्‍तिहरूले समेत—चाहे तिनीहरू विवाहित होऊन्‌ वा अविवाहित—निराशाहरूको सामना त गर्नै पर्ने हुन्छ। तैपनि १ कोरिन्थी अध्याय ७ का बुद्धिमानी सल्लाहहरू लागू गर्नुभयो भने तपाईंले केही हदसम्म भए पनि आफ्नो समस्या कम गर्न सक्नुहुन्छ। विवाहित होऊन्‌ वा अविवाहित, जोसुकैले यहोवाको नजरमा “असल” काम गर्न सक्छन्‌। ( १ कोरिन्थी ७:३७, ३८ पढ्‌नुहोस्‌) यहोवाको अनुमोदन नै तपाईंले जीवनमा हासिल गर्न सक्ने सबैभन्दा ठूलो लक्ष्य हो। उहाँको अनुमोदन पाएर तपाईं आउँदै गरेको नयाँ संसारतर्फ अघि बढिरहन सक्नुहुनेछ। त्यतिबेला कुनै पनि पुरुष र स्त्रीले आपसी सम्बन्धमा अहिलेको जस्तो विभिन्‍न समस्या सामना गर्नुपर्ने छैन।

[फुटनोट]

a पारिवारिक आनन्दको रहस्य किताबको अध्याय २, अनुच्छेद १६-१९ हेर्नुहोस्‌।

के तपाईं जवाफ दिन सक्नुहुन्छ?

• कसैले पनि अरूलाई विवाह गर्न दबाब दिनु हुँदैन, किन?

• आफ्नो अविवाहित अवस्थालाई तपाईं कसरी यहोवाको सेवा गर्न उत्तम तरिकामा चलाउन सक्नुहुन्छ?

• विवाह गर्ने तयारी गरिरहेकाहरूले विवाह गर्दा आइपर्ने चुनौतीहरूको सामना गर्न कसरी तयारी गर्न सक्छन्‌?

• विवाह गर्दैमा यौन अनैतिकताबाट सुरक्षित रहन सकिंदैन, किन?

[पृष्ठ १४-मा भएको चित्र]

सेवाको काममा अझ बढी भाग लिन आफ्नो समय खर्चने अविवाहित ख्रीष्टियनहरूले आनन्द प्राप्त गर्छन्‌

[पृष्ठ १६-मा भएको चित्र]

विवाहपछि कसै-कसैले कस्तो छाँटकाँट गर्नुपर्ने हुन सक्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने