प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w11 १/१५ pp. १७-२१
  • अविवाहित अवस्थाको पूरापूर सदुपयोग गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अविवाहित अवस्थाको पूरापूर सदुपयोग गर्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • एउटा अनुपम वरदान
  • युवावस्थामा अविवाहित
  • ढल्कँदो उमेरमा अविवाहित
  • आजीवन अविवाहित
  • आफ्नो अवस्थाको पूरापूर सदुपयोग गर्नुहोस्‌
  • ‘ग्रहण गर्नुहोस्‌’
    हाम्रो राज्य सेवकाई—२००३
  • अविवाहित—बाधाबिना क्रियाकलाप गर्न सकिने ढोका
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • विवाह गर्ने र अविवाहित रहनेबारे बुद्धिमानी सल्लाह
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • अविवाहित तर यहोवाको सेवामा सन्तुष्ट
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
w11 १/१५ pp. १७-२१

अविवाहित अवस्थाको पूरापूर सदुपयोग गर्नुहोस्‌

“जो अविवाहित रहन सक्छ, त्यो अविवाहित नै रहोस्‌।”—मत्ती १९:१२.

१, २. (क) येशू, पावल र अरूले अविवाहित अवस्थाप्रति कस्तो दृष्टिकोण राखे? (ख) कसै-कसैलाई अविवाहित अवस्था किन वरदानजस्तो नलाग्न सक्छ?

परमेश्‍वरले मानिसलाई दिनुभएको अत्यन्तै बहुमूल्य उपहारमध्ये विवाह एउटा हो भन्‍ने कुरामा कुनै शङ्‌का छैन। (हितो. १९:१४) तर थुप्रै अविवाहित ख्रीष्टियनले पनि रमाइलो र सन्तोषजनक जीवन बिताइरहेका छन्‌। कहिल्यै विवाह नगरेका ९५ वर्षीय भाइ ह्‍यारल्ड यसो भन्छन्‌: “अरूसित समय बिताउँदा र अरूको अतिथि-सत्कार गर्दा रमाइलो लाग्ने भए तापनि एक्लै हुँदा म कहिल्यै एक्लो महसुस गर्दिनँ। मलाई लाग्छ, मैले अविवाहित रहने वरदानै पाएको छु।”

२ विवाह एउटा वरदान भएजस्तै येशू ख्रीष्ट र प्रेषित पावल दुवैले अविवाहित अवस्थालाई पनि परमेश्‍वरले दिनुभएको वरदान भने। ( मत्ती १९:११, १२; १ कोरिन्थी ७:७ पढ्‌नुहोस्‌) हुनत सम्पूर्ण अविवाहितहरूले विवाह नै नगर्ने छनौट गरेका होइनन्‌। कहिलेकाहीं परिस्थितिले गर्दा सुहाउँदो जोडी भेट्टाउन गाह्रो हुन्छ। अथवा सम्बन्धविच्छेद वा जोडीको मृत्युले गर्दा कोही-कोही विवाह गरेको वर्षौंपछि अचानक एक्लो बन्‍न पुग्छन्‌। त्यसोभए अविवाहित अवस्था कुन अर्थमा वरदान हुन सक्छ? अनि अविवाहित ख्रीष्टियनहरूले कसरी आफ्नो अविवाहित अवस्थाको पूरापूर सदुपयोग गर्न सक्छन्‌?

एउटा अनुपम वरदान

३. अविवाहित ख्रीष्टियनहरूलाई अक्सर कस्ता फाइदा हुन्छन्‌?

३ अविवाहित व्यक्‍तिसित अक्सर विवाहित व्यक्‍तिसित भन्दा धैरै समय र स्वतन्त्रता हुन्छ। (१ कोरि. ७:३२-३५) यी नै कारणले गर्दा अविवाहित व्यक्‍तिले सेवाको काम विस्तार गर्न सक्छन्‌ र तिनी अरूप्रतिको प्रेममा ठूलो मनका हुन अनि यहोवासित अझ नजिक हुन सक्छन्‌। त्यसैकारण थुप्रै ख्रीष्टियनले अविवाहित रहनुको फाइदा बुझेका छन्‌ र केही समयको लागि भए पनि ‘अविवाहित रहने’ निर्णय गरेका छन्‌। अरू कतिले भने सुरुदेखि नै अविवाहित रहने सोचाइ त राखेका थिएनन्‌ होला। तर परिस्थिति परिवर्तन हुँदा तिनीहरूले आफ्नो अवस्थालाई प्रार्थनापूर्वक केलाए अनि यहोवाको मदतले गर्दा आफू पनि अविवाहितै रहने अठोट गर्न सकिन्छ भन्‍ने कुरा बुझे। यसरी, परिस्थिति परिवर्तन हुँदा तिनीहरूले यसलाई स्वीकारे र अविवाहित रहने निर्णय गरे।—१ कोरि. ७:३७, ३८.

४. अविवाहित ख्रीष्टियनहरूले परमेश्‍वरको सेवामा किन अपूर्ण महसुस गर्नुपर्दैन?

४ यहोवा वा उहाँको सङ्‌गठनबाट चिनिन वा आफ्नो कदर गरिन विवाह गर्नै पर्छ भन्‍ने छैन भनी अविवाहित ख्रीष्टियनहरूलाई थाह छ। परमेश्‍वरको प्रेमबाट हामीमध्ये कोही पनि वञ्चित छैनौं। (मत्ती १०:२९-३१) कसैले र कुनै कुराले पनि हामीलाई परमेश्‍वरको प्रेमबाट अलग पार्न सक्दैन। (रोमी ८:३८, ३९) चाहे विवाहित हौं या अविवाहित, परमेश्‍वरको सेवामा अपूर्ण महसुस गर्नुपर्ने कुनै कारण छैन।

५. अविवाहित अवस्थाको सदुपयोग गरेर पूरापूर आशिष्‌ पाउन के गर्नुपर्छ?

५ सङ्‌गीत वा खेलकुदको क्षेत्रमा पाएको वरदानलाई तिखार्दै लगेजस्तै अविवाहित अवस्थाको पूरापूर सदुपयोग गर्न पनि प्रयास गर्नुपर्छ। त्यसोभए आजका अविवाहित ख्रीष्टियनहरू—चाहे भाइ होऊन्‌ या बहिनी, जवान होऊन्‌ या वृद्ध, आफ्नै छनौटले गर्दा अविवाहित रहेका होऊन्‌ या परिस्थितिले गर्दा—तिनीहरूले कसरी आफ्नो अवस्थाको पूरापूर सदुपयोग गर्न सक्छन्‌? प्रारम्भिक ख्रीष्टियन मण्डलीको केही प्रोत्साहनदायी उदाहरण विचार गरौं र कस्तो पाठ सिक्न सकिन्छ, हेरौं।

युवावस्थामा अविवाहित

६, ७. (क) फिलिपका कुमारी छोरीहरूले परमेश्‍वरको सेवामा कस्तो सुअवसर पाए? (ख) तिमोथीले आफ्नो अविवाहित अवस्थाको कसरी पूरापूर सदुपयोग गरे र युवावस्थामै सेवा गर्न इच्छुक भएकोले कस्ता आशिष्‌ पाए?

६ प्रचारक फिलिपका चार जना कुमारी छोरी थिए र तिनीहरूसित पनि प्रचारकार्यप्रति बुबाको जस्तै जोस थियो। (प्रेषि. २१:८, ९) पवित्र शक्‍तिका चमत्कारपूर्ण वरदानमध्ये भविष्यवाणी गर्ने वरदान एक थियो र योएल २:२८, २९ मा गरिएको भविष्यवाणीको पूर्तिअनुरूप यी युवतीहरूले उक्‍त वरदान प्रयोग गरे।

७ आफ्नो अविवाहित अवस्थाको सदुपयोग गर्ने एक जवान व्यक्‍ति तिमोथी थिए। शैशवकालदेखि नै तिनले आफ्नी आमा युनिस र बज्यै लोइसबाट “पवित्र लेखोटहरू” सिकेका थिए। (२ तिमो. १:५; ३:१४, १५) तर इस्वी संवत्‌ ४७ तिर पावलले पहिलो पटक तिनीहरूको गृह-नगर लिस्त्रा भ्रमण गरेपछि मात्र सम्भवतः तिनीहरू ख्रीष्टियन भएका थिए। दुई वर्षपछि पावलले दोस्रो पटक भ्रमण गर्दा तिमोथी सायद २० वर्ष पुगनपुग वा भर्खरै २० वर्ष नाघेका थिए। उमेरमा कलिलो र सच्चाइमा अलि नयाँ भए तापनि लिस्त्रा र नजिकको आइकोनियमका ख्रीष्टियन एल्डरहरूले तिनको “असाध्यै तारिफ गर्थे।” (प्रेषि. १६:१, २) त्यसैले पावलले तिमोथीलाई आफ्नो सहयात्री हुन निम्तो दिए। (१ तिमो. १:१८; ४:१४) तिमोथीले कहिल्यै विवाह गरेनन्‌ भनेर हामी यकिनका साथ भन्‍न त सक्दैनौं। तर हामीलाई यो थाह छ, तिनले पावलबाट पाएको निम्तो आफ्नो युवावस्थामा खुसीसाथ स्वीकारे अनि त्यसपछि धेरै वर्षसम्म अविवाहित मिसनरी र निरीक्षकको रूपमा सेवा गरिरहे।—फिलि. २:२०-२२.

८. मर्कूस नाम गरेको यूहन्‍नालाई सेवाको काममा अघि बढ्‌न केले मदत गऱ्‍यो र त्यसो गरेकोमा तिनले कस्ता आशिष्‌ पाए?

८ मर्कूस नाम गरेको यूहन्‍नाले पनि जवान छँदा आफ्नो अविवाहित अवस्थाको पूरापूर सदुपयोग गरे। तिनी र तिनकी आमा मरियम अनि तिनका आफन्त बर्णाबास यरूशलेम मण्डलीको सुरु-सुरुका सदस्य थिए। मर्कूसको परिवारले आरामदायी जीवन बिताइरहेका थिए होलान्‌ किनभने सहरमा तिनीहरूको आफ्नै घर थियो र एउटी नोकर्नी पनि थिई। (प्रेषि. १२:१२, १३) यस्ता सुविधा पाएका मर्कूस जवान भए तापनि आत्म-विलासी वा आत्म-केन्द्रित थिएनन्‌। तिनको ध्यान घरजम गर्न र आरामदायी पारिवारिक जीवन बिताउनमा केन्द्रित थिएन। पहिला प्रेषितहरूसँग गरेको सङ्‌गतिले गर्दा सायद तिनमा मिसनरी सेवा गर्ने चाहना जागेको हुन सक्छ। त्यसैले तिनी उत्सुक हुँदै पावल र बर्णाबासको पहिलो मिसनरी यात्रामा सँगै गए र उनीहरूको सेवा गरे। (प्रेषि. १३:५) पछि तिनले बर्णाबाससित यात्रा गरे र अझै पछि बेबिलोनमा पत्रुससित सेवा गरेको कुरा बाइबल विवरणबाट थाह पाउन सक्छौं। (प्रेषि. १५:३९; १ पत्रु. ५:१३) मर्कूस कहिलेसम्म अविवाहित रहे, हामीलाई थाह छैन। तर अरूको सेवा गर्न र परमेश्‍वरको सेवामा अझ धेरै गर्न इच्छुक व्यक्‍तिको रूपमा तिनले असाध्यै राम्रो नाम कमाए।

९, १०. सेवाको काम विस्तार गर्न आजका अविवाहित जवान ख्रीष्टियनहरूका लागि कस्ता मौकाहरू छन्‌? एउटा उदाहरण दिनुहोस्‌।

९ आज पनि मण्डलीका थुप्रै जवानले परमेश्‍वरको सेवा विस्तार गर्न आफ्नो अविवाहित अवस्थालाई खुसीसाथ प्रयोग गर्छन्‌। मर्कूस र तिमोथीले जस्तै तिनीहरूले पनि आफू अविवाहित भएकोले गर्दा “कुनै अलमलविना निरन्तर प्रभुको सेवा गर्न” सकिन्छ भनी बुझेका छन्‌। (१ कोरि. ७:३५) यो साँच्चै ठूलो फाइदा हो। अविवाहितहरूका लागि विभिन्‍न मौका छन्‌—अग्रगामी सेवा गर्ने, राज्य प्रचारकहरूको आवश्‍यकता धेरै भएको ठाउँमा सेवा गर्ने, विदेशी भाषा सिक्ने, राज्यभवन वा शाखा कार्यालयको निर्माणमा मदत गर्ने, मिनिस्टेरियल ट्रेनिङ स्कूलमा भाग लिने र बेथेल सेवा गर्ने। यदि तपाईं जवान हुनुहुन्छ र विवाह गर्नुभएको छैन भने के तपाईं यी मौकाहरूको पूरापूर सदुपयोग गर्दै हुनुहुन्छ?

१० मार्क नाम गरेका भाइले २० वर्ष नपुग्दै अग्रगामी सेवा सुरु गरे र मिनिस्टेरियल ट्रेनिङ स्कूलमा पनि भाग लिए। तिनले संसारको विभिन्‍न ठाउँमा बेग्लाबेग्लै जिम्मेवारी निर्वाह गरिसकेका छन्‌। पूर्ण-समय सेवामा बिताएको २५ वर्षलाई फर्केर हेर्दै तिनी यसो भन्छन्‌: “मैले मण्डलीका सबैसित प्रचारकार्यमा भाग लिएर, तिनीहरूलाई गोठालो भेट गरेर, खानाको लागि घरमा बोलाएर र एक-अर्काको उत्थानको लागि जमघटहरूको प्रबन्ध गरेर मण्डलीका सबैलाई प्रोत्साहन दिन प्रयास गरेको छु। यसो गरेकोले म असाध्यै आनन्दित हुन सकेको छु।” मार्कको यस टिप्पणीले देखाएझैं अरूलाई दिंदा सबैभन्दा आनन्दित हुन सकिन्छ र पवित्र सेवामा व्यस्त हुँदा अरूलाई दिने थुप्रै मौका मिल्छ। (प्रेषि. २०:३५) तपाईं जवानहरूको व्यक्‍तिगत रुचि, खुबी वा अनुभव जस्तोसुकै होस्‌, आज तपाईंहरूले प्रभुको सेवामा गर्न सक्ने काम प्रशस्त छन्‌।—१ कोरि. १५:५८.

११. विवाह गर्न हतार नगर्दा कस्ता फाइदा हुन्छन्‌?

११ प्रायजसो जवान व्यक्‍तिहरू पछि गएर विवाह गर्न चाहन्छन्‌। तैपनि विवाह गर्न हतार नगर्नुमा ठोस कारणहरू छन्‌। पावल जवानहरूलाई यौन इच्छा अत्यन्तै प्रबल हुने “बैंस पार” नगरेसम्म मात्र भए पनि पर्खन प्रोत्साहन दिन्छन्‌। (१ कोरि. ७:३६) आफैलाई चिन्‍न र सुहाउँदो जोडी छान्‍न चाहिने अनुभव हासिल गर्न समय लाग्छ। विवाह वाचा गर्नु भनेको जिन्दगीभर रहनुपर्ने गम्भीर निर्णय हो।—उप. ५:२-५.

ढल्कँदो उमेरमा अविवाहित

१२. (क) विधवा हन्‍नाले आफ्नो परिवर्तित अवस्थाको सामना कसरी गरिन्‌? (ख) तिनले कस्तो सुअवसर पाइन्‌?

१२ लूकाको सुसमाचारको पुस्तकमा हन्‍नाको विवरण पाउँछौं र तिनको पति विवाह गरेको सात वर्षमै अचानक मर्दा सायद तिनी असाध्यै दुःखी भइन्‌। तिनीहरूका छोराछोरी थिए कि थिएनन्‌ वा हन्‍नाले पुनःविवाह गर्ने विचार गरिन्‌ कि गरिनन्‌, हामीलाई थाह छैन। तर ८४ वर्षको उमेरमा पनि हन्‍ना विधवा नै थिइन्‌ भनेर बाइबल बताउँछ। बाइबलले बताएको कुराबाट हामी यो निष्कर्षमा पुग्न सक्छौं, हन्‍नाले आफ्नो परिवर्तित अवस्थालाई यहोवासित अझ नजिक हुन प्रयोग गरिन्‌। “तिनी कहिल्यै मन्दिर छोड्‌दैनथिन्‌ अनि उपवास बसेर र उत्कट बिन्ती चढाएर रात-दिन पवित्र सेवा गर्थिन्‌।” (लूका २:३६, ३७) त्यसैले परमेश्‍वरको उपासना तिनको जीवनमा सबैभन्दा महत्त्वपूर्ण थियो। त्यसो गर्न दृढ सङ्‌कल्प र प्रयास गर्नुपऱ्‍यो तर तिनले त्यसको ठूलो इनाम पाइन्‌। तिनले बालक येशूलाई देख्ने सुअवसर पाइन्‌ र निकट भविष्यमा मसीहले ल्याउने मुक्‍तिबारे अरूलाई बताइन्‌।—लूका २:३८.

१३. (क) तबीता मण्डलीमा सक्रिय थिइन्‌ भनेर केले देखाउँछ? (ख) भलाइ गरेकी र दया देखाएकी हुँदा तबीताले कस्तो इनाम पाइन्‌?

१३ तबीता नाम गरेकी एउटी स्त्री जोप्पामा बस्थिन्‌ जुन यरूशलेमको उत्तर-पश्‍चिमी प्राचीन बन्दरगाह थियो। बाइबलले उनको पतिबारे नबताएकोले गर्दा सायद त्यसबेला उनी अविवाहित थिइन्‌। “उनी थुप्रै असल काम र दानपुण्य गर्थिन्‌।” स्पष्टतः उनी खाँचोमा परेका विधवा तथा अरूका लागि लुगाहरू बनाउँथिन्‌। यसैले उनलाई अरूले असाध्यै माया गर्थे। जब उनी अकस्मात्‌ बिरामी परिन्‌ र मरिन्‌, तब यस प्रिय बहिनीलाई पुनर्जीवित गरिदिनू भनी बिन्ती गर्न सम्पूर्ण मण्डलीले पत्रुसलाई खबर पठायो। पछि, उनी पुनर्जीवित भएको समाचार जोप्पाभरि फैलियो र धेरै जनाले प्रभुमा विश्‍वास गर्न थाले। (प्रेषि. ९:३६-४२) यीमध्ये केहीलाई त तबीताले नै असाधारण दया देखाएर मदत गरेकी हुनुपर्छ।

१४. अविवाहित ख्रीष्टियनहरूलाई यहोवासित अझ नजिक हुन केले उत्प्रेरित गर्छ?

१४ हन्‍ना र तबीताजस्तै मण्डलीका थुप्रै भाइबहिनी ढल्कँदो उमेरमा पनि अविवाहितै हुन्छन्‌ वा पछि अविवाहित बन्‍न पुग्छन्‌। कसै-कसैले सुहाउँदो जोडी नभेट्टाएका हुन सक्छन्‌। अरू भने सम्बन्धविच्छेद भएका वा विधवा हुन सक्छन्‌। मनको कुरा पोख्न पति वा पत्नी नभएकोले अविवाहित ख्रीष्टियनहरूले अक्सर यहोवामा अझ धेरै भर पर्न सिक्छन्‌। (हितो. १६:३) यसरी भर पर्नुलाई बेथेलमा सेवा गरेको ३८ वर्षभन्दा धेरै भइसकेको अविवाहित बहिनी सिल्भिया आशिष्‌ ठान्छिन्‌। तिनी भन्छिन्‌, “अरूलाई प्रोत्साहन दिंदा-दिंदा कहिलेकाहीं त म आफै थकित हुन्छु। त्यसैले मलाई चाहिं कसले प्रोत्साहन दिने होला जस्तो लाग्छ।” तर तिनी यसो पनि भन्छिन्‌, “मलाई चाहिएको कुराबारे मलाई भन्दा यहोवालाई राम्ररी थाह छ भनी भरोसा राख्दा उहाँसित अझ नजिक हुने मदत पाउँछु। अनि प्रोत्साहन मैले सधैं पाएकी छु, कहिलेकाहीं त सोच्दै नसोचेको माध्यमबाट।” हामी यहोवासित अझ नजिक हुँदा उहाँले सधैं हामीप्रति कोमल र दयालु व्यवहार गर्नुहुन्छ।

१५. अविवाहित ख्रीष्टियनहरू अरूलाई प्रेम देखाउने सन्दर्भमा कसरी “ठूलो मनका” हुन सक्छन्‌?

१५ अविवाहित अवस्थाले प्रेम देखाउने सन्दर्भमा “ठूलो मनका” हुने विशेष मौका दिन्छ। ( २ कोरिन्थी ६:११-१३ पढ्‌नुहोस्‌) विगत ३४ वर्ष पूर्ण-समय सेवामा बिताएकी अविवाहित बहिनी जोलेन भन्छिन्‌, “मैले आफ्नै उमेरका मानिसहरूसित मात्र होइन, सबै किसिमका मानिससित घनिष्ठ सम्बन्ध विकास गर्न निकै प्रयास गरेकी छु। अविवाहित अवस्थाले यहोवा, परिवार, भाइबहिनी र छिमेकीबाट केही लिने होइन तर दिने राम्रो मौका प्रदान गर्छ। मेरो उमेर चढ्‌दै जाँदा अविवाहित भएकोमा म झनै खुसी महसुस गर्छु।” मण्डलीका वृद्ध-वृद्धा, अशक्‍त, एकल आमाबाबु, जवान र अरूले अविवाहितहरूबाट पाएको निःस्वार्थ मदतको साँच्चै कदर गर्छन्‌। जब हामी अरूलाई प्रेम देखाउँछौं, तब हामी आफै पनि अझ खुसी महसुस गर्छौं। के तपाईं पनि अरूलाई प्रेम देखाउने सन्दर्भमा “ठूलो मनका” हुन सक्नुहुन्छ?

आजीवन अविवाहित

१६. (क) येशू किन आजीवन अविवाहित रहनुभयो? (ख) पावलले आफ्नो अविवाहित अवस्थालाई कसरी बुद्धिमानीसाथ प्रयोग गरे?

१६ येशूले विवाह गर्नुभएन; उहाँले आफूलाई सुम्पिइएको सेवाको कामको लागि तयारी गर्नु र त्यसलाई पूरा गर्नुपर्ने थियो। उहाँले विस्तृत यात्रा गर्नुभयो, बिहान सबेरैदेखि राती अबेरसम्म काम गर्नुभयो र अन्तमा आफ्नो जीवन बलिदान दिनुभयो। अविवाहित रहनु उहाँको सन्दर्भमा लाभदायी थियो। प्रेषित पावलले हजारौं किलोमिटर यात्रा गरे र सेवाको दौडान भीषण कठिनाइहरू सामना गरे। (२ कोरि. ११:२३-२७) तिनले पहिला विवाह गरेको हुन सक्छ तर प्रेषितको जिम्मेवारी सँभालेपछि भने तिनले अविवाहितै रहने छनौट गरे। (१ कोरि. ७:७; ९:५) येशू र पावल दुवैले सेवाको कामको खातिर सम्भव भएसम्म आफ्नो उदाहरण अनुकरण गर्न अरूलाई प्रोत्साहन दिए। तर तिनीहरूमध्ये कसैले पनि परमेश्‍वरको सेवक अविवाहित रहनै पर्छ भनी बताएनन्‌।—१ तिमो. ४:१-३.

१७. आज केहीले कसरी येशू र पावलको उदाहरण पछ्याएका छन्‌ अनि यस्ता त्याग गर्नेहरूको यहोवा कदर गर्नुहुन्छ भनी हामी किन विश्‍वस्त हुन सक्छौं?

१७ सेवाको काममा अझ राम्ररी लाग्न सकियोस्‌ भनेर आज पनि केहीले सोचविचार गरेर अविवाहित रहने छनौट गरेका छन्‌। सुरुमा उल्लेख गरिएका ह्‍यारल्डले बेथेल सेवामा ५६ वर्षभन्दा धेरै समय बिताइसकेका छन्‌। तिनी भन्छन्‌, “मैले बेथेलमा दस वर्ष पूरा गरुन्जेलसम्ममा थुप्रै विवाहित जोडीले बिरामीको कारण वा बूढाबूढी भएका आमाबाबुलाई हेरविचार गर्नुपरेको कारण बेथेल छोडेको देखें। मेरा आमाबाबु दुवैको मृत्यु भइसकेको थियो। म बेथेललाई यत्ति माया गर्थें कि विवाह गरेर यस सुअवसरलाई खतरामा पार्न चाहन्‍नथें।” त्यसैगरि, वर्षौं अग्रगामी सेवा गरिसकेकी मार्गरेटले धेरै वर्षअघि यसो भनिन्‌, “विवाह गर्ने मौका नै नआएको त होइन तर त्यतातिर त्यति ध्यानै गएन। बरु, अविवाहित अवस्थाले पाएको स्वतन्त्रताले गर्दा सेवाको काममा व्यस्त हुन सकें। यसले गर्दा मैले अपार आनन्द पाएकी छु।” हो, साँचो उपासनाको लागि यस्ता निःस्वार्थ त्याग गर्नेहरूलाई यहोवाले कहिल्यै बिर्सनुहुनेछैन।— यशैया ५६:४, ५ पढ्‌नुहोस्‌।

आफ्नो अवस्थाको पूरापूर सदुपयोग गर्नुहोस्‌

१८. अविवाहित ख्रीष्टियनहरूलाई अरूले कसरी प्रोत्साहन दिन र समर्थन गर्न सक्छन्‌?

१८ यहोवाको सेवा गर्न भरमग्दुर प्रयास गरिरहेका सम्पूर्ण अविवाहित ख्रीष्टियनहरू हाम्रो निष्कपट प्रशंसा र प्रोत्साहन पाउन योग्यका छन्‌। हामी तिनीहरू प्रत्येकलाई माया गर्छौं र मण्डलीमा पुऱ्‍याउने अमूल्य योगदानको लागि तिनीहरूको कदर गर्छौं। हामी साँचो अर्थमा तिनीहरूको ख्रीष्टियन “दाजुभाइ, दिदीबहिनी, आमा, छोराछोरी” भइदियौं भने तिनीहरूले कहिल्यै एक्लो महसुस गर्नुपर्ने छैन।— मर्कूस १०:२८-३० पढ्‌नुहोस्‌।

१९. आफ्नो अविवाहित अवस्थाको पूरापूर सदुपयोग गर्न तपाईं के गर्न सक्नुहुन्छ?

१९ चाहे तपाईं स्वेच्छाले अविवाहित हुनुभएको होस्‌ वा परिस्थितिले गर्दा, यी धर्मशास्त्रीय र वर्तमान समयका उदाहरणले खुसी र फलदायी जीवन बिताउन सकिन्छ भन्‍ने कुरामा तपाईंलाई विश्‍वस्त पारोस्‌। केही उपहार अर्थात्‌ वरदानको हामी उत्सुकतापूर्वक आशा गर्छौं भने कतिपयचाहिं हामीले पटक्कै आशा गरेका हुँदैनौं। कुनै उपहारको तुरुन्तै कदर गरिन्छ तर कुनैको भने कदर गर्न केही समय लाग्छ। त्यसैले धेरै कुरा हाम्रो मनोवृत्तिमा भर पर्छ। आफ्नो अविवाहित अवस्थाको पूरापूर सदुपयोग गर्न तपाईं के गर्न सक्नुहुन्छ? यहोवासित अझ नजिक हुनुहोस्‌, परमेश्‍वरको सेवामा व्यस्त हुनुहोस्‌ र अरूलाई प्रेम देखाउन ठूलो मनको हुनुहोस्‌। अविवाहित अवस्थालाई परमेश्‍वरको दृष्टिकोणबाट हेऱ्‍यौं र यस वरदानलाई बुद्धिमानीसाथ प्रयोग गऱ्‍यौं भने अविवाहित अवस्था पनि विवाहजस्तै इनामदायी हुन सक्छ।

के तपाईंलाई याद छ?

• अविवाहित अवस्था कुन अर्थमा वरदान हुन सक्छ?

• युवावस्थामा अविवाहित रहनु कसरी आशिष्‌ हुन सक्छ?

• यहोवासित अझ नजिक हुन र अरूलाई प्रेम देखाउनमा ठूलो मनको हुन अविवाहित ख्रीष्टियनहरूसित कस्ता मौका छन्‌?

[पृष्ठ १८-मा भएको चित्र]

के तपाईं परमेश्‍वरको सेवा गर्दा पाइने मौकाहरूको पूरापूर सदुपयोग गर्दै हुनुहुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने